Home Blog Page 68

तीन पत्रकारलाई कदर गरिने

0
शब्दयात्रा प्रकाशनले २०७९ सालको ‘शब्दयात्रा प्रकाशन हरिगोपाल प्रधान कदरपत्र’ रेडियो पत्रकार शिव बन्जारा, अनलाइन पत्रकार भीम गौतम र फोटो पत्रकार प्रशान्त श्रेष्ठलाई प्रदान गर्ने भएको छ । शब्दयात्रा प्रकाशनका आजीवन सदस्य कृष्णमणि कुइकेलको संयोजकत्वमा गठित चयन समितिको सिफारिसका आधारमा उहाँहरूलाई कदर गर्ने निर्णय गरिएको हो । शब्दयात्रा प्रकाशनले हरेक वर्ष काभ्रेपलान्चोक जिल्लाका पत्रकारलाई कदर गर्ने गरेको छ ।

पत्रकारिता छात्रवृत्ति सुम्निमा मगरलाई

0
शब्दयात्रा प्रकाशनले २०७९ सालको ‘शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति’ काभ्रे बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा पत्रकारिता विषय लिई अध्ययनरत छात्रा सुश्री सुम्निमा मगरलाई प्रदान गर्ने भएको छ । सुम्निमा मगर पनौती नगरपालिका वडा नं. ८ मा अवस्थित सामुदायिक चोक निवासी मेकेन्द्र दर्लामी मगर र विन्दुमाया थिङकी छोरी हुन् । उनलाई छात्रवृत्ति दिने निर्णय शब्दयात्रा प्रकाशनका आजीवन सदस्य कृष्णमणि कुइकेलको संयोजकत्वमा गठित तीन सदस्यीय चयन समितिको सिफारिसका आधारमा गरिएको हो । काभ्रेपलान्चोक जिल्लाको कलेजमा पत्रकारिता विषय लिई पढ्ने गरिब तथा जेहेन्दार यसै जिल्लाकी छात्रालाई शब्दयात्रा प्रकाशनमार्फत हरेक वर्ष प्रदान गर्ने गरी लेखक तथा पूर्वप्रशासक द्रोणप्रसाद श्रेष्ठले यस छात्रवृत्तिको आर्थिक व्यवस्थापन गर्नुभएको हो ।

भावना थापा आजीवन सदस्य

0

काठमाडौँनिवासी समाजसेवी भावना थापा शब्दयात्रा प्रकाशनको आजीवन सदस्य बन्नुभएको छ । शब्दयात्रा प्रकाशन आफ्नो परिवारभित्र उहाँलाई हार्दिक स्वागत गर्दछ । 

राधाकृष्णको मन्दिर बनाइने

0

शब्दयात्रा प्रकाशनले राधा र कृष्णको युगल मूर्ति स्थापना गरी राधाकृष्ण मन्दिरको निर्माण गर्ने भएको छ । त्यसका लागि आर्थिक सहयोग गर्ने व्यक्तिहरूको नाउँ अभिलेखका रूपमा मन्दिरमै राखिने व्यवस्था गरिएको छ ।

भोजपुर अनुसन्धान विद्वतवृत्ति लालकुमार तामाङलाई

0

शब्दयात्रा प्रकाशनले २०७९ सालको ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ भोजपुर अनुसन्धान विद्वतवृत्ति’ लालकुमार तामाङलाई प्रदान गर्ने भएको छ । विद्वतवृत्तिको राशी १५ हजार रुपियाँ रहेको छ । शब्दयात्रा प्रकाशनको लघु अनुसन्धान परियोजना अन्तर्गत भोजपुरको विद्योदय माध्यमिक विद्यालयका विषयमा शोधप्रबन्ध लेखनका लागि उहाँलाई यो विद्वतवृत्ति प्रदान गर्न लागिएको हो । यो विद्वतवृत्ति भोजपुर जिल्लाका शैक्षिक तपस्वी प्रा. केदारनाथ श्रेष्ठको आर्थिक व्यवस्थापनमा शब्दयात्रा प्रकाशनमा खडा गरिएको हो भने साहित्यस्रष्टा भानुभक्त कुभिन्डेली शब्दयात्रा प्रकाशन र लालकुमार तामाङबीचको सम्बन्धसेतु बन्नुभएको हो । विद्वतवृत्ति प्राप्त गर्नुभएकोमा भोजपुरको विद्योदय माध्यमिक विद्यालयका शिक्षक लालकुमार तामाङलाई हार्दिक बधाई छ । 

सावित्री जङ्गम थापा आजीवन सदस्य

0
नेपालको पहिलो महिला महाप्रबन्धक, कुशल प्रशासक, साहित्यिक स्रष्टा, अग्रज समाजसेवी तथा ‘शब्दयात्रा प्रशासनिक महिला प्रतिभा सम्मान’ बाट सम्मानित व्यक्तित्व श्रीमती सावित्री जङ्गम थापा शब्दयात्रा प्रकाशनको आजीवन सदस्य बन्नुभएको छ । उहाँ शब्दयात्रा प्रकाशनका लागि घर बनाइदिने उदार दाता हुनुहुन्छ । शब्दयात्रा प्रकाशन पुस्तकालयको समुद्घाटन पनि उहाँबाटै भएको थियो । उहाँको नाउँबाट शब्दयात्रा प्रकाशनमा ‘श्रीमती सावित्री जङ्गम थापा अध्ययन–अनुसन्धान कक्ष’ खोलिएको छ । उहाँका धेरैवटा पुस्तक प्रकाशित छन् । उहाँको सम्मानस्वरूप हरि मञ्जुश्रीको सम्पादनमा अभिनन्दनग्रन्थ प्रकाशन गरिएको छ । उहाँजस्ती विदुषीलाई आजीवन सदस्यका रूपमा स्वागत गर्न पाएकोमा शब्दयात्रा प्रकाशन परिवारले हर्षको अनुभव गरेको छ ।

तिहारमा छिमेकी भेटघाट

0
शब्दयात्रा प्रकाशनको आयोजनामा हिजो २०७९ साल कार्तिक ६ गते आइतबार तिहारको उपलक्ष्यमा शुभकामना आदानप्रदान, छिमेकी भेटघाट तथा चियापान कार्यक्रमको आयोजना गरियो । शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्वमा गीतिभास्कर मच्छेश्वर सापकोटा र शिक्षासेवी रामप्रसाद अधिकारी विशेष अतिथि रहनुभएको उक्त कार्यक्रमको सञ्चालन सञ्चारकर्मी शिव बन्जाराले र छायाङ्कन प्रकृति प्याकुरेलले गर्नुभएको थियो । शारदाप्रसाद शर्मा, डा. इन्दुल केसी, केदारनाथ तिमिल्सिना र साधुराम गिरीले कवितावाचन गर्नुभएको उक्त कार्यक्रमको व्यवस्थापन सङ्गीता केसीले गर्नुभएको थियो । कार्यक्रममा गायक–गायिका मच्छेश्वर सापकोटा र सरस्वती सापकोटाले देउसी गीत गाउनुभएको थियो भने पुरुषोत्तम हुमागाईंले बाद्यवादनमा साथ दिनुभएको थियो । कार्यक्रममा शब्दयात्रा प्रकाशनका सदस्यहरू तथा माधव आचार्य, पूर्णबहादुर कार्की, चूडाप्रसाद चौलागाईं, नवराज तिमिल्सिना, देवीप्रसाद ढुङ्गाना, दीपकराम भण्डारी, भीमसेन सापकोटा, भुवन पाण्डे आदिसहित स्थानीय बासिन्दाहरूको उपस्थिति थियो ।

तीन सदस्यीय चयन समिति गठन

0

शब्दयात्रा प्रकाशनले काभ्रेपलान्चोक जिल्लामा सक्रिय रहेका पत्रकारहरूमध्ये हरेक वर्ष दुईजना पत्रकारलाई कदर गर्ने गरेकोमा यस वर्षदेखि एकजना फोटो पत्रकार समेत थप गरी तीनजनालाई कदर गर्ने भएको छ । कदरपत्र प्रदान गर्नुपर्ने पत्रकारहरूको चयन गर्न कृष्णमणि कुइकेललाई संयोजक तोकिएको हुँदा उहाँले सकुल थापा र पदमनाथ ढुङ्गानालाई सदस्य मनोनयन गरी तीन सदस्यीय चयन समिति बनाउनुभएको छ । काभ्रेपलान्चोक जिल्लामा पत्रकारिता विषय अध्ययन गरिरहेकी तर पढाइमा उत्तम भएर पनि आर्थिक अवस्था कमजोर भएकी काभ्रेपलान्चोक जिल्लाकै एउटी छात्रालाई शब्दयात्रा प्रकाशनले हरेक वर्ष ‘शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति’ प्रदान गर्ने गरेको छ । उक्त छात्रवृत्ति प्रदान गर्नुपर्ने छात्राको नाउँ सिफारिस गर्ने जिम्मा पनि उक्त समितिलाई नै दिइएको छ । शब्दयात्रा प्रकाशनले उक्त समितिबाट सिफारिस गरिएका पत्रकारहरूलाई कदरपत्र र छात्रालाई छात्रवृत्ति आगामी मङ्सिर महिनाको पहिलो साता प्रदान गर्नेछ । कदरपत्रको आर्थिक व्यवस्थापन श्री हरिगोपाल प्रधानले र छात्रवृत्तिको आर्थिक व्यवस्थापन श्री द्रोणप्रसाद श्रेष्ठले गर्नुभएको हो ।

रामकुमार दाहाललाई विकलाङ्ग छात्रवृत्ति प्रदान गरिने

0
शब्दयात्रा प्रकाशनले २०७९ सालको ‘शब्दयात्रा भूप–मुक्ति विकलाङ्ग छात्रवृत्ति’ सङ्खुवासभा जिल्लाको खाँदबारी नगरपालिका वडा नं. ९ तुम्लिङटारमा अवस्थित श्री मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयमा अध्ययनरत छात्र श्री रामकुमार दाहाललाई प्रदान गर्ने भएको छ । शब्दयात्रा प्रकाशन सङ्खुवासभा सम्पर्क केन्द्रका तर्फबाट संयोजक सुन्दरी घिमिरे खतिवडाले पठाउनुभएको सिफारिसका आधारमा उहाँलाई छात्रवृत्ति प्रदान गर्न लागिएको हो । आर्थिक अवस्था कमजोर भएका तर अध्ययनमा उत्तम रहेका रामकुमार दाहालले साहित्यिक क्षेत्रमा रुचि राखेर राम्रा कविताहरू सिर्जना गर्ने गर्नुभएको छ । छात्रवृत्तिको आर्थिक व्यवस्थापन भोजपुर दिङ्लामा जन्मेर हाल काठमाडौँमा बसोवास गर्नुभएका शिक्षासेवी तथा समाजसेवी डा. रूपनारायण श्रेष्ठले गर्नुभएको हो । उहाँले आफ्ना पितामाताको सम्मानस्वरूप शब्दयात्रा प्रकाशनमा छात्रवृत्तिका लागि अक्षयकोष राख्नुभएकाले त्यसैको ब्याजबाट शब्दयात्रा प्रकाशनले हरेक वर्ष विकलाङ्ग छात्रवृत्ति प्रदान गर्ने गरेको छ । छात्रवृत्तिको रकम र प्रमाणपत्र शब्दयात्रा प्रकाशन सङ्खुवासभा सम्पर्क केन्द्रमा पठाइनेछ र सम्पर्क केन्द्रले श्री रामकुमार दाहाललाई छात्रवृत्तिको रकम र प्रमाणपत्र प्रदान गर्नेछ ।

१८८. भगवतीचरणामृत

‘भगवतीचरणामृत’ महाकाव्यकार यज्ञप्रसाद उपाध्याय त्रिपाठीको तेस्रो महाकाव्य हो । यसमा सुरुमा प्रारम्भ, त्यसपछि प्रथमदेखि पञ्चदशसम्मका १५ सर्ग र अन्त्यमा उपसंहार छन् । ‘प्रारम्भ’ मा १५ श्लोक, प्रथम सर्गमा ८० श्लोक, द्वितीय, तृतीय, चतुर्थ, पञ्चम, षष्ठ र सप्तम सर्गमा १–१ सय श्लोक, अष्टम सर्गमा ८० श्लोक, नवौँ सर्गमा ९० श्लोक, दशम सर्गमा १२८ श्लोक, एकादश सर्गमा ११८ श्लोक, द्वादश र त्रयोदश सर्गमा १–१ सय श्लोक, चतुर्दश सर्गमा १२० श्लोक, पञ्चदश सर्गमा १०० श्लोक र उपसंहारमा १ श्लोक छन् भने १५ वटै सर्गको प्रारम्भमा श्लोकसङ्ख्या नदिई १–१ श्लोक राखिएका छन् । यसरी यस महाकाव्यमा कूल १५३७ श्लोक छन् ।