प्रस्ताव आह्वान —
परशु घिमिरेप्रति आभार !
आफूले लेखन तथा सम्पादन गरेका दुई कृति ‘इतिहासमा सिम्रौनगढ’ र ‘गुप्त भूमि हेलम्बू’ सञ्चारकर्मी तथा लेखक परशु घिमिरेले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि उपलब्ध गराउनुभएको छ । दुवै कृतिमा सम्बन्धित स्थानको इतिहास, पुरातत्त्व, संस्कृति, सामाजिक लोकजीवन आदिका विवरण अभिलेखबद्ध गरिएका छन् । गहन अनुसन्धान गरेर तयार पारिएका यस्ता महत्त्वपूर्ण कृतिहरू उपलब्ध गराउनुभएकोमा सञ्चारकर्मी तथा लेखक परशु घिमिरेप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार व्यक्त गर्दछ ।
बेलप्रसाद श्रेष्ठबाट पुस्तक प्रदान
‘शब्दयात्रा बेलप्रसाद श्रेष्ठ दानशीलता सम्मान’ का आर्थिक व्यवस्थापक, लेखक तथा धुलिखेलका सारथिका रूपमा सुपरिचित व्यक्तित्व बेलप्रसाद श्रेष्ठले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि नेपाली र अङ्ग्रेजी भाषाका ५७ थान पुस्तक–पत्रिका उपहारस्वरूप प्रदान गर्नुभएको छ । यस सहयोगका लागि शब्दयात्रा प्रकाशन परिवार उहाँप्रति हार्दिकतापूर्वक आभार व्यक्त गर्दछ ।
ज्योत्स्ना कोइरालाबाट १५ हजार रुपियाँ
शब्दयात्रा प्रकाशनद्वारा संस्थापित ‘शब्दयात्रा जीवनचन्द्र कोइराला सिन्धुली प्रतिभा पुरस्कार’ को अक्षयकोषमा थप गर्नका लागि ज्योत्स्ना कोइरालाले १५ हजार रुपियाँ उपलब्ध गराउनुभएको छ । यस सहयोगका लागि शब्दयात्रा प्रकाशन परिवार उहाँप्रति हार्दिकतापूर्वक आभार व्यक्त गर्दछ ।
पुस्तक किनेर कोषलाई सहयोग
पुस्तक बिक्रीबाट आएको रकम अक्षरसेवी सहयोग कोषमा राखिने भएकाले स्वेच्छिक मूल्य कायम गरेर पुस्तक किनिदिन शब्दयात्रा प्रकाशनमा आयोजित कार्यक्रममा आग्रह गरिएपछि करिब १५ मिनेटभित्र १० हजार ६५ रुपियाँको पुस्तक बिक्री भएको छ । पुस्तक किनिदिने सम्पूर्ण महानुभावहरूप्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार व्यक्त गर्दछ ।
पुरस्कार समर्पण तथा पुस्तक सार्वजनिक
शब्दयात्रा प्रकाशनको आयोजनामा यही २०७९ साल असोज ८ गते शनिबार पुरस्कार समर्पण तथा पुस्तक सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भयो । डा. शालिग्राम शर्माको सभापतित्व र डा. सुरेशराज शर्माको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको शुभारम्भ पानसमा दीप प्रज्ज्वलन गरी डा. नन्दीश अधिकारीले गर्नुभयो । सञ्चालन शिव बन्जाराले, सामग्रीको व्यवस्थापन हरिगोपाल प्रधान र सङ्गीता केसीले, छायाङ्कन तथा स्वराङ्कन प्रकृति प्याकुरेलले, मञ्चस्थ महानुभावहरूलाई रुद्राक्षको माला अर्पण केदारनाथ तिमल्सिनाले, स्वागत भाषण तथा प्रमुख अतिथि र अतिथिहरूलाई उपहार समर्पण कृष्णमणि कुइकेलले गर्नुभएको उक्त कार्यक्रममा ग्रन्थसम्पादक जीवनचन्द्र कोइरालाको तस्बिरमा माल्यार्पण र पुष्पार्पण गरी उहाँको आत्मशान्तिका लागि एक मिनेट मौन धारण गरिएको थियो । प्रजापति तिमिल्सिनाले स्वस्तिवाचन गर्नुभएको उक्त कार्यक्रममा उहाँलाई पुण्यवती घलेले टीका लगाइदिनुभयो भने पदम दाहालले दक्षिणा प्रदान गर्नुभयो । पुरस्कारका प्रमाणपत्रहरूको वाचन तथा पुरस्कारका सिफारिसकर्ताहरू र चयन समितिका सदस्यहरूलाई उपहार प्रदान शारदाप्रसाद शर्माले गर्नुभएको थियो भने संस्थाको, पुरस्कारको, पुरस्कृत व्यक्तित्वको र अतिथिहरूको चिनारी शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले गराउनुभएको थियो । कार्यक्रममा माधव काफ्ले, विश्वम्भर लामिछाने, विमला अधिकारी देवकोटा र कल्पना भट्टलाई पुरस्कृत गरिनुका साथै डा. शालिग्राम शर्माका देहात तापेर आयुर्वेद र अहर्निश उकालो तथा ढुण्डिराज पोखरेलका आत्मबोध र आत्मानुभूति नामक पुस्तकलाई सार्वजनिक गरिएको थियो ।
शेषराज शिवाकोटीबाट पुस्तक–पत्रिका उपहार
‘ज्ञानगुनका कुरा’ का संस्थापक सम्पादक, साहित्यिक पत्रकार, साहित्यकार तथा उच्च अदालतका पूर्व मुख्य न्यायाधीश शेषराज शिवाकोटीले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि केही पुस्तक–पत्रिकाहरू उपहारस्वरूप प्रदान गर्नुभएको छ । शब्दयात्रा प्रकाशन परिवार उहाँप्रति हार्दिक आभार व्यक्त गर्दछ ।
कोषलाई पुस्तक
कवि, कथाकार तथा निबन्धकार हरि अधिकारीले शब्दयात्रा प्रकाशनद्वारा संस्थापित अक्षरसेवी सहयोग कोषको सहायतार्थ आफ्नो पछिल्लो पुस्तक ‘सङ्कलित गद्यरचना’ १५ थान प्रदान गर्नुभएको छ । मूल्य ३५० रुपियाँ रहेको उक्त पुस्तकको बिक्रीबाट प्राप्त भएको रकम अक्षरसेवी सहयोग कोषमा राखिदिने गरी उहाँले ती पुस्तकहरू प्रदान गर्नुभएको हो । यस सहयोगका लागि शब्दयात्रा प्रकाशन उहाँप्रति हार्दिक आभार व्यक्त गर्दछ ।
दक्षिणा पनि अक्षरसेवी सहयोग कोषमा
शब्दयात्रा प्रकाशनले हरेक कार्यक्रममा स्वस्तिवाचन गराउँछ र स्वस्तिवाचन गर्ने व्यक्तिलाई दक्षिणा दिन्छ । २०७९ असोज ८ गते सम्पन्न कार्यक्रममा प्रजापति तिमिल्सिनाले स्वस्तिवाचन गर्नुभयो । उहाँलाई शब्दयात्रा प्रकाशनका तर्फबाट पुण्यवती घलेले टीका लगाइदिनुभयो भने पदम दाहालले दक्षिणा दिनुभयो । आफूले पाएको दक्षिणा प्रजापति तिमिल्सिनाले शब्दयात्रा प्रकाशनको अक्षरसेवी सहयोग कोषमा राखिदिने गरी शिव बन्जारालाई प्रदान गर्नुभयो । शब्दयात्रा प्रकाशन प्रजापति तिमिल्सिनाप्रति आभारी छ ।
चार पुस्तक सार्वजनिक
हिजो २०७९ साल असोज ८ गते शनिबार शब्दयात्रा प्रकाशनले चारवटा पुस्तक सार्वजनिक गरेको छ । कार्यक्रममा डा. शालिग्राम शर्माका दुई संस्मरणसङ्ग्रह ‘देहात तापेर आयुर्वेद (दोस्रो संस्करण)’ र ‘अहर्निश उकालो’ लाई नेपालका शैक्षिक शिरोभूषण डा. सुरेशराज शर्मा र कवि हरि अधिकारीले तथा ढुण्डिराज पोखरेलका दुई पुस्तक ‘आत्मबोध’ (कथासङ्ग्रह) र ‘आत्मानुभूति’ (कवितासङ्ग्रह) लाई साहित्यकारद्वय शेषराज शिवाकोटी र शीतल गिरीले सार्वजनिक गर्नुभएको हो ।

