शब्दयात्रा प्रकाशनले काभ्रेपलान्चोक जिल्लामा सक्रिय रहेका पत्रकारहरूमध्ये हरेक वर्ष दुईजना पत्रकारलाई कदर गर्ने गरेकोमा यस वर्षदेखि एकजना फोटो पत्रकार समेत थप गरी तीनजनालाई कदर गर्ने भएको छ । कदरपत्र प्रदान गर्नुपर्ने पत्रकारहरूको चयन गर्न कृष्णमणि कुइकेललाई संयोजक तोकिएको हुँदा उहाँले सकुल थापा र पदमनाथ ढुङ्गानालाई सदस्य मनोनयन गरी तीन सदस्यीय चयन समिति बनाउनुभएको छ । काभ्रेपलान्चोक जिल्लामा पत्रकारिता विषय अध्ययन गरिरहेकी तर पढाइमा उत्तम भएर पनि आर्थिक अवस्था कमजोर भएकी काभ्रेपलान्चोक जिल्लाकै एउटी छात्रालाई शब्दयात्रा प्रकाशनले हरेक वर्ष ‘शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति’ प्रदान गर्ने गरेको छ । उक्त छात्रवृत्ति प्रदान गर्नुपर्ने छात्राको नाउँ सिफारिस गर्ने जिम्मा पनि उक्त समितिलाई नै दिइएको छ । शब्दयात्रा प्रकाशनले उक्त समितिबाट सिफारिस गरिएका पत्रकारहरूलाई कदरपत्र र छात्रालाई छात्रवृत्ति आगामी मङ्सिर महिनाको पहिलो साता प्रदान गर्नेछ । कदरपत्रको आर्थिक व्यवस्थापन श्री हरिगोपाल प्रधानले र छात्रवृत्तिको आर्थिक व्यवस्थापन श्री द्रोणप्रसाद श्रेष्ठले गर्नुभएको हो ।