काभ्रेपलान्चोक जिल्लाका समाजसेवी, उद्यमी तथा सहकारीकर्मी प्रह्लाद प्याकुरेलले शब्दयात्रा प्रकाशनको अक्षयकोषमा दुई लाख रुपियाँ राखिदिने घोषणा गर्नुभएको छ । शब्दयात्रा प्रकाशनको कार्यक्रममा सभापतिका रूपमा मन्तव्य व्यक्त गर्ने क्रममा उहाँले उक्त घोषणा गर्नुभएको हो ।
उहाँका अनुसार काभ्रेपलान्चोक जिल्लाका क्षमतावान् व्यक्तिहरूमध्ये सङ्घर्षशील रहेर उद्यमी बनेका, उद्यमीकै रूपमा समाजका लागि कुनै पनि विधाबाट योगदान दिएका र आफ्नो उद्यमशीलताबाट केही रोजगारी सिर्जना गर्न सक्षम बनेका व्यक्तिलाई हरेक वर्ष पुरस्कृत गर्नका लागि उहाँले अक्षयकोषको व्यवस्था गर्न लाग्नुभएको हो ।
शब्दयात्रा प्रकाशनलाई माया र विश्वास गर्नुभएकोमा शब्दयात्रा प्रकाशन परिवार समाजसेवी, उद्यमी तथा सहकारीकर्मी प्रह्लाद प्याकुरेलप्रति हार्दिक आभार व्यक्त गर्दछ ।
अर्को अक्षयकोषको घोषणा
बीस हजार रुपियाँ शब्दयात्रा पुस्तकालयलाई
आफ्नी आमा मनका श्रेष्ठको आत्मा परमात्मामा एकाकार होस् भन्ने कामना गर्दै भोजपुर घर भई हाल अमेरिकामा बसोवास गर्ने समुन्नत श्रेष्ठले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि २० हजार रुपियाँ पठाइदिनुभएको छ । उहाँले अनुसन्धानात्मक पुस्तकहरू किन्नका लागि पठाउनुभएको उक्त रकम उहाँका पिता द्रोणप्रसाद श्रेष्ठबाट शब्दयात्रा प्रकाशनले प्राप्त गरेको छ । शब्दयात्रा प्रकाशन परिवार मनका श्रेष्ठको आत्मा परमात्मामा एकाकार होस् भन्ने कामना गर्दै समुन्नत श्रेष्ठको समुन्नत र समुज्ज्वल भविष्यका लागि नीलकण्ठेश्वर महादेवसँग प्रार्थना गर्दछ ।
शारदाप्रसाद शर्मा पनि आजीवन सदस्य
शब्दयात्रा प्रकाशनले व्यङ्ग्यकवि शारदाप्रसाद शर्मालाई आजीवन सदस्यता प्रदान गरेको छ । शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता प्राप्त गर्नुभएकोमा शारदाप्रसाद शर्मालाई हार्दिक बधाई छ । शारदाप्रसाद शर्मासमेत शब्दयात्रा प्रकाशनका आजीवन सदस्यको सङ्ख्या ४१ पुगेको छ ।
विद्वतवृत्ति समर्पण
शब्दयात्रा प्रकाशनले २०७९ सालको ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ भोजपुर अनुसन्धान विद्वतवृत्ति’ भोजपु्रको विद्योदय माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक लालकुमार तामाङलाई समर्पण गरेको छ । उहाँ भोजपुरमा रहनुभएकाले उहाँका तर्फबाट शिक्षा मन्त्रालयका पूर्वसहसचिव चन्द्रबहादुर खड्काले विद्वतवृत्तिको प्रमाणपत्र ग्रहण गर्नुभएको थियो । उक्त प्रमाणपत्रको वाचन प्रा. केदारनाथ श्रेष्ठले र हस्तान्तरण प्रमुख अतिथि प्रा. डा देवमणि भट्टराई, प्रा. केदारनाथ श्रेष्ठ र लीलादेवी श्रेष्ठले संयक्त रूपमा गर्नुभएको थियो । विद्वतवृत्तिको पहिलो किस्ता लालकुमार तामाङको बैङ्क खातामा पठाइसकिएको छ । दोस्रो किस्ताको रकम अनुसन्धान प्रतिवेदन प्राप्त भएपछि पठाइनेछ ।
भोजपुर जिल्लाको शैक्षिक इतिहासका विषयमा अनुसन्धान गर्ने अनुसन्धातालाई शब्दयात्रा प्रकाशनद्वारा हरेक वर्ष प्रदान गर्ने गरी भोजपुर जिल्लाका शैक्षिक तपस्वी प्रा. केदारनाथ श्रेष्ठको आर्थिक व्यवस्थापनमा शब्दयात्रा प्रकाशनमा स्थापना गरिएको ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ भोजपुर अनुसन्धान विद्वतवृत्ति, २०७९’ शब्दयात्रा प्रकाशनको लघु अनुसन्धान परियोजना अन्तर्गत भोजपुरको विद्योदय माध्यमिक विद्यालयका विषयमा शोधप्रबन्ध लेखनका लागि समर्पण गरिएको हो ।
माच सार्वजनिक
शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित तथा शिक्षासेवी लोकेन्द्र ढकालद्वारा लिखित आध्यात्मिक लेखसङ्ग्रह ‘माच’ लाई सार्वजनिक गरिएको छ । प्रमुख अतिथि प्रा. डा. देवमणि भट्टराई, विशेष अतिथि गायत्रीकुमार तापागाईं र कृतिकार लोकेन्द्र ढकालले संयुक्त रूपमा ‘माच’ लाई सार्वजनिक गर्नुभएको हो । ‘माच’ का विषयमा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले बोल्नुभएको थियो । ‘माच’ मा पूर्वप्रकाशित १६ वटा लेख सङ्कलित छन् । शब्दयात्रा प्रकाशनबाट यसअघि लोकेन्द्र ढकालद्वारा लिखित ‘गोमाको फूलबारी’ नामक जीवनीपरक पुस्तक प्रकाशन गरिएको थियो । कार्यक्रम प्रह्लाद प्याकुरेलको सभापतित्वमा सम्पन्न भएको थियो ।
दुईजनालाई दस–दस हजार रुपियाँको छात्रवृत्ति समर्पण
शब्दयात्रा प्रकाशनले दुईजना छात्रलाई दस–दस हजार रुपियाँका दरले छात्रवृत्ति समर्पण गरेको छ । शब्दयात्रा प्रकाशनद्वारा संस्थापित तथा भोजपुर देउराली घर भई हाल काठमाडौँको पेप्सिकोलामा बस्ने लेखक तथा पूर्वप्रशासक द्रोणप्रसाद श्रेष्ठद्वारा व्यवस्थापित दस हजार रुपियाँ राशीको ‘शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति’ २०७९ सालका लागि काभ्रे बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा पत्रकारिता विषय लिई अध्ययनरत पनौती नगरपालिका वडा नं. ८ मा अवस्थित सामुदायिक चोक निवासी सुम्निमा मगरलाई प्रदान गरियो । काभ्रेपलान्चोक जिल्लाको कलेजमा पत्रकारिता विषय लिई पढ्ने गरिब तथा जेहेन्दार काभ्रेपलान्चोक जिल्लाकै छात्रालाई शब्दयात्रा प्रकाशनमार्फत हरेक वर्ष यो छात्रवृत्ति प्रदान गरिन्छ । सुम्निमा मगरलाई रुद्राक्षमाला गायत्रीकुमार चापागाईंले, छात्रवृत्ति रकम द्रोणप्रसाद श्रेष्ठले र प्रमाणपत्र प्रा. डा. देवमणि भट्टराईले अर्पण गर्नुभएको थियो । यसै गरी शब्दयात्रा प्रकाशनद्वारा संस्थापित तथा भोजपुर दिङ्ला तुङ्गेछा घर भई हाल काठमाडौँको शङ्खमूलमा बसोवास गर्ने सहप्राध्यापक डा. रूपनारायण श्रेष्ठद्वारा आफ्ना मातापिता भूपलक्ष्मी श्रेष्ठ र मुक्तिबहादुर श्रेष्ठका नाउँमा व्यवस्थापित दस हजार रुपियाँ राशीको ‘शब्दयात्रा भूप–मुक्ति विकलाङ्ग छात्रवृत्ति’ २०७९ सालका लागि सङ्खुवासभा जिल्ला खाँदबारी नगरपालिका वडा नं. ९ तुम्लिङटारमा अवस्थित मनकामना रत्न माध्यमिक विद्यालयमा अध्ययनरत विकलाङ्ग छात्र रामकुमार दाहाललाई प्रदान गरियो । यो छात्रवृत्ति शारीरिक रूपमा विकलाङ्ग र आर्थिक रूपमा विपन्न तर अध्ययनमा जेहेन्दार विद्यार्थीलाई हरेक वर्ष प्रदान गरिन्छ । कार्यक्रममा रामकुमार दाहालमा समर्पित रुद्राक्षमाला, छात्रवृत्ति रकम र प्रमाणपत्र उहाँलाई हस्तान्तरण गर्ने गरी उहाँका शिक्षक पदम दाहालले ग्रहण गर्नुभएको थियो । दुवै प्रमाणपत्र चयन समितिका संयोजक कृष्णमणि कुइकेलले वाचन गर्नुभएको थियो ।
रामप्रसाद अधिकारी अभिनन्दित
तीन पत्रकारलाई कदरपत्र समर्पण
शब्दयात्रा प्रकाशनले काभ्रेपलान्चोक जिल्लाका तीन पत्रकारलाई २०७९ सालको ‘शब्दयात्रा प्रकाशन हरिगोपाल प्रधान कदरपत्र’ समर्पण गरेको छ । रेडियो पत्रकारिताका क्षेत्रमा सुमधुर आवाज र कार्यक्रम सञ्चालनको कौशलबाट श्रोतावृन्दको मनमा आफ्नो अमिट छाप राख्न सफल हुनुभएका रेडियो पत्रकार शिव बन्जारालाई, छापा तथा अनलाइन पत्रकारिताका माध्यमबाट खोज तथा विकास पत्रकारिताका क्षेत्रमा आफ्नो अमिट छाप राख्न सफल हुनुभएका छापा तथा अनलाइन पत्रकार भीम गौतमलाई र फोटो पत्रकारिताका माध्यमबाट राष्ट्रिय स्तरमा आफ्नो र जन्मजिल्लाको विशिष्ट परिचय कायम गर्न सफल हुनुभएका फोटो पत्रकार प्रशान्त श्रेष्ठलाई कदरपत्र समर्पण गरिएको हो । तीनैजना पत्रकारलाई प्रा. डा. देवमणि भट्टराई र हरिगोपाल प्रधानले कदरपत्र, गायत्रीकुमार चापागाईंले रुद्राक्षमाला र पुष्पमाला तथा द्रोणप्रसाद श्रेष्ठले उपहार समर्पण गर्नुभएको थियो । शब्दयात्रा प्रकाशनद्वारा कृष्णमणि कुइकेलको संयोजकत्वमा गठित चयन समितिको सिफारिसका आधारमा उहाँहरूलाई कदरपत्र समर्पण गरिएको हो ।
कृतज्ञतापत्र प्रदान
नेपाली वाङ्मयको श्रीबृद्धिका निम्ति क्रियाशील संस्था शब्दयात्रा प्रकाशनले नीलकण्ठेश्वर धाम संरक्षण समितिलाई कृतज्ञतापत्र प्रदान गरेको छ । शब्दयात्रा प्रकाशनको सुदृढीकरण र स्थायीत्वका लागि पाँच वर्षसम्म आफ्नो भवनमा शब्दयात्रा प्रकाशनको कार्यालय सञ्चालन गर्न दिएकोमा हार्दिक आभार व्यक्त गर्दै समाजसेवी कृष्णमणि कुइकेलको अध्यक्षता रहेको नीलकण्ठेश्वर धाम संरक्षण समिति (बनेपा — ६, काभ्रेपलान्चोक) लाई कृतज्ञतापत्र प्रदान गरिएको हो । निकट छिमेकी रहेका शब्दयात्रा प्रकाशन र नीलकण्ठेश्वर धाम संरक्षण समितिले एक–अर्काका पूरकका रूपमा सहकार्य र सहयात्रा गर्दा दुवै संस्थाका माध्यमबाट नेपाली वाङ्मय प्रज्ज्वलित भइरहने विश्वास शब्दयात्रा प्रकाशनले व्यक्त गरेको छ । कृतज्ञतापत्र प्रा. डा. देवमणि भट्टराई र हरि मञ्जुश्रीले संयुक्त रूपमा प्रदान गर्नुभएको थियो भने कृष्णमणि कुइकेल र सङ्गीता केसीले संयुक्त रूपमा ग्रहण गर्नुभएको थियो ।
साधारण सभा सम्पन्न
आज २०७९ साल कार्तिक १९ गते शनिबार शब्दयात्रा प्रकाशनको नवौँ वार्षिक साधारण सभा संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले हरि मञ्जुश्रीलाई सर्वसम्मत रूपमा सञ्चालक समितिको अध्यक्ष पदमा पुनः चयन गरेको छ । सदस्यमा हरिगोपाल प्रधान, कृष्णमणि कुइकेल, केदारनाथ तिमल्सिना र लीलादेवी श्रेष्ठ चयन हुनुभएको छ । यसै गरी सभाले भरतमणि जङ्गमको संयोजकत्वमा हरि मञ्जुश्री र सुनील सापकोटा सदस्य रहेको विधान संशोधन प्रस्ताव समिति गठन गर्नुका साथै सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र आगामी वर्षको अनुमानित आयव्यय विवरण पारित गरी लेखापरीक्षकको नियुक्तिसमेत गरेको छ । कार्यक्रमको उद्घाटन भरतमणि जङ्गमले र कार्यक्रम सञ्चालन शारदाप्रसाद शर्माले गर्नुभएको थियो । नयाँ सञ्चालक समितिको प्रस्तावक समितिमा सकुल थापा, पदम दाहाल र ढुण्डिराज पोखरेल हुनुहुन्थ्यो । नयाँ सञ्चालक समितिलाई प्रा. केदारनाथ श्रेष्ठले शपथग्रहण गराउनुभएको थियो ।

