Home Blog Page 55

पोष चापागाईंबाट २९६ पुस्तक–पत्रिका उपहार

0

नेपाली, हिन्दी र अङ्ग्रेजी भाषामा प्रकाशित १९९ वटा पुस्तक, ६५ वटा साहित्यिक पत्रिका र ३२ वटा परिचय पुस्तिका गरी जम्मा २९६ थान पाठ्यसामग्री नियात्राकार पोष चापागाईंले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि उपलब्ध गराउनुभएको छ । आज २०८० साल वैशाख २२ गते शुक्रबार आयोजित सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहमा उहाँले ती पुस्तकहरू हस्तान्तरण गर्नुभएको हो । पुस्तकालयका तर्फबाट सञ्चालक सदस्य हरिगोपाल प्रधानले पुस्तकहरू ग्रहण गर्नुभएको थियो । यस सहयोगका लागि शब्दयात्रा प्रकाशन परिवारका तर्फबाट उहाँप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

एघारजना जग्गादातालाई शब्दयात्रा सम्मान समर्पण

शब्दयात्रा प्रकाशनले आज २०८० साल वैशाख २२ गते एघाह्रजना जग्गादातालाई २०८० सालको दानशीलता सम्मान समर्पण गरेको छ । लेखक, समाजसेवी, पर्यटन व्यवसायी तथा धुलिखेल नगरका संस्थापक नगरप्रमुख बेलप्रसाद श्रेष्ठले शब्दयात्रा प्रकाशनमा राख्नुभएको अक्षयकोषको ब्याजबाट हरेक वर्ष यो सम्मान समर्पण गरिन्छ । यस सम्मानको नाउँ ‘शब्दयात्रा बेलप्रसाद श्रेष्ठ दानशीलता सम्मान’ रहेको छ । अघिल्ला वर्षहरूमा एक–एकजनालाई यो सम्मान समर्पण गर्ने गरिएको थियो । यस वर्षको सम्मानचाहिँ बनेपाको शब्दसाधक तीर्थको निकट रहेको नीलकण्ठेश्वर महादेवको नाउँमा जग्गा दान गरेर नीलकण्ठेश्वर धामको परिसर निर्माण गर्ने जग्गादाताहरूलाई समर्पण गरिएको हो । सम्मानित हुने जग्गादाताहरू कृष्णमणि कुइकेल, देवकी कुइकेल, ईश्वरीप्रसाद कुइकेल, ठाकुरप्रसाद कुइकेल, शम्भुप्रसाद कुइकेल, हरिप्रसाद कुइकेल, रामहरि कुइकेल, राममणि कुइकेल, गायत्रीदेवी कुइकेल, राजेन्द्रप्रसाद कुइकेल र नवराज पराजुली हुनुहुन्छ । उहाँहरूलाई शब्दयात्रा प्रकाशनका तर्फबाट डा. बलराम तिमल्सिनाले माला, पार्वती शर्माले रुद्राक्षमाला, मोहनमणि दाहालले पुस्तक, पोष चापागाईंले शिवनामी र बेलप्रसाद श्रेष्ठले अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो ।

सालिक र अभिलेखपत्र अनावरण

शब्दयात्रा प्रकाशनद्वारा आज २०८० साल वैशाख २२ गते आयोजित विशेष कार्यक्रममा शब्दयात्रा प्रकाशनका जग्गादाता कृष्णमणि कुइकेलका पिता तथा नीलकण्ठेश्वर धाम परिसर निर्माणका नेतृत्वकर्ता समाजसेवी छविलाल कुइकेलको अर्धकदको सालिक अनावरण गरियो । उहाँको सालिक पूर्वन्यायाधीश मोहनमणि दाहालले अनावरण गर्नुभएको थियो । यसै गरी नीलकण्ठेश्वर धाम परिसरका लागि जग्गा दान गर्ने जग्गादाताहरूको नाउँ अङ्कित अभिलेखपत्र पनि आजैको कार्यक्रममा अनावरण गरियो । उक्त अभिलेखपत्र नियात्राकार पोष चापागाईंले अनावरण गर्नुभएको थियो ।

विदुर विष्टबाट विद्वतवृत्तिका लागि एक लाख रुपियाँ प्राप्त

आफ्नी दिदी राधा विष्ट केसी र भिनाजु प्रह्लाद केसी (दुवै दिवङ्गत) को स्मृति र सम्मानमा विदुर विष्ट (काभ्रेपलान्चोक बनेपा, हाल न्युयोर्क अमेरिका) ले एक लाख रुपियाँ पठाइदिनुभएको छ । त्यो रकम विद्वतवृत्तिको अक्षयकोषका रूपमा बैङ्कमा राखी त्यसको ब्याजबाट हरेक वर्ष राधा विष्ट केसी र प्रह्लाद केसीको स्मृतिमा विद्वतवृत्ति प्रदान गरिनेछ । त्यस्तो विद्वतवृत्ति काभ्रेपलान्चोक जिल्लासँग सम्बन्धित कुनै पनि विषयमा अनुसन्धानात्मक सामग्री तयार गर्ने अनुसन्धातालाई दिइनेछ । अनुसन्धानको विषय शब्दयात्रा प्रकाशनले तोक्नेछ । शब्दयात्रा प्रकाशनलाई विश्वास गरेर विद्वतवृत्तिको अक्षयकोषका लागि एक लाख रुपियाँ पठाइदिनुभएकोमा विदुर विष्टप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

बाह्र वर्षभित्र

शब्दयात्रा प्रकाशनले स्थापना भएयताको १२ वर्षभित्र (२०६८ जेठ १५ देखि २०८० वैशाख १५ सम्म) गरेका कार्यहरू — (१) दानबाट बनेपामा जग्गा प्राप्ति । (२) बनेपामा षडानन्द अधिकारी, देवीप्रसाद सापकोटा, कृष्णलाल अधिकारी, नरबहादुर भारती र मेलवादेवी गुरुङको सालिक स्थापना । (३) धुलिखेलमा बेलप्रसाद श्रेष्ठको सालिक स्थापना । (४) पुस्तकालयको स्थापना, हाल करिब बाह्र हजार पुस्तक–पत्रिका रहेका । (५) शब्दयात्रा प्रकाशनको आफ्नै भवन र सभाकक्ष निर्माण । (६) सरस्वती र राधाकृष्णको मन्दिर निर्माण । (७) दुई सय एघाह्रवटा पुस्तक प्रकाशन । (८) साहित्यिक पत्रिकाको प्रकाशन । (९) साप्ताहिक पत्रिकाको प्रकाशन । (१०) साप्ताहिक रेडियो कार्यक्रम सञ्चालन । (११) अनुसन्धान केन्द्रको सञ्चालन । (१२) एक सय छयान्नब्बेजनालाई सम्मान । (१३) चौधजनालाई पुरस्कार । (१४) छजनालाई छात्रवृत्ति । (१५) तीसजनालाई कदरपत्र । (१६) एक सय आठ शिवलिङ्ग स्थापनामा सहकार्य ।

चयन समितिमा शारदा, गीता र कालिका

0

शब्दयात्रा प्रकाशनले २०८० सालको प्रथम चरणमा समर्पण गर्ने विभिन्न ७ विधाको सम्मानका लागि उपयुक्त व्यक्तित्वको चयन गर्न महिला साहित्यिक स्रष्टाहरू रहेको ३ सदस्यीय सम्मान्य व्यक्तित्व चयन समिति बनाएको छ । समितिको संयोजकमा शारदा घिमिरे भैल तथा सदस्यमा गीता अधिकारी र कालिका त्रिपाठी पन्त रहनुभएको छ । यस समितिलाई शब्दयात्रा प्रकाशनमा प्राप्त भएका नाउँ र योगदानको विवरण उपलब्ध गराइनेछ । तीमध्येबाट यस समितिले सम्मान्य व्यक्तित्वको चयन गर्नेछ । यस समितिले चयन गरेका व्यक्तित्वहरूलाई नै शब्दयात्रा प्रकाशनले सम्मान समर्पण गर्नेछ ।

साहित्यकार वेदकुमारी न्यौपानेका नौ पुस्तक सार्वजनिक

0

साहित्यकार वेदकुमारी न्यौपानेद्वारा लिखित नौवटा पुस्तकलाई यही २०८० साल वैशाख ९ गते शनिबार बनेपामा अवस्थित शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरियो । कार्यक्रम कवयित्री, नाटककार तथा आध्यात्मिक अभियन्ता लीला श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । प्रमुख अतिथिका रूपमा नेपालको पहिलो महिला महाप्रबन्धक, हालको समाज कल्याण परिषद् र महिला मन्त्रालयको अवधारणा ल्याउने विदुषी, शान्ति आश्रम र महिला सुरक्षा दबाब समूह जस्ता थुप्रै संस्थाको स्थापना गर्ने समाजसेवी तथा एक दर्जन कृतिका स्रष्टा सावित्री थापा उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रमको पहिलो चरणमा ‘पूर्णिमाको जून’ (कवितासङ्ग्रह)’, ‘शब्द’ (कवितासङ्ग्रह), ‘हराएको किनारा’ (गीतसङ्ग्रह) र ‘कहिले घाम कहिले छाया’ (मुक्तकसङ्ग्रह) नामक चार पुस्तकलाई लेखक तथा सम्पादक लक्ष्मी पोखरेल, लेखक तथा सम्पादक गीता अधिकारी, गायिका सरस्वती सापकोटा र कवयित्री अम्बिका धितालले सार्वजनिक गर्नुभएको थियो भने ती पुस्तकहरूमाथि कवयित्री मीरा चापागाईंले परिचयात्मक टिप्पणी गर्नुभएको थियो । दोस्रो चरणमा ‘प्रायोजित’ (रेडियो–नाटकसङ्ग्रह), ‘प्लास्टिक सर्जरी’ (लघुएकाङ्कीसङ्ग्रह) र ‘कुल्चिएका फूलहरू’ (एकाङ्कीसङ्ग्रह) नामक तीन पुस्तकलाई शिक्षासेवी डा. मीना सिंह खड्का, पत्रकार भगवती तिमल्सिना र चलचित्र निर्देशन गर्ने प्रथम महिला सुचित्रा श्रेष्ठले सार्वजनिक गर्नुभएको थियो भने ती पुस्तकहरूमाथि कवयित्री तथा नाटककार भवानी पाण्डेले परिचयात्मक टिप्पणी गर्नुभएको थियो । तेस्रो चरणमा ‘एक दिन’ (बालनाटक) र ‘साथीको माया’ (बालएकाङ्कीसङ्ग्रह) नामक दुई पुस्तकको सार्वजनिकीकरण समीक्षक तथा लेखिका डा. सीता सुवेदी र छात्रा सिमोन बस्नेतले गर्नुभएको थियो भने ती पुस्तकहरूमाथि कवयित्री तथा बालशिक्षासेवी शारदा घिमिरे भैलले परिचयात्मक टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा कृतिकार वेदकुमारी न्यौपानेले आफ्नो साहित्ययात्राको उत्प्रेरक गाथा प्रस्तुत गर्नुभएको थियो भने प्रमुख अतिथि सावित्री थापा र सभापति लीला श्रेष्ठले कार्यक्रमको विशेषताका बारेमा बोल्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले गर्नुभएको थियो भने स्वागत भाषण सञ्चालक सदस्य कृष्णमणि कुइकेलले, कृतिकारको चिनारी कवयित्री कालिका त्रिपाठी पन्तले र कार्यक्रमको समीक्षासहित सभाविसर्जन अतिथि कवि तथा अन्वेषक लालबहादुर भुजेलले गर्नुभएको थियो । यसै गरी रुद्राक्षको माला अर्पण शिक्षासेवी शिव बन्जाराले, कार्यक्रमको छायाङ्कन तथा स्वराङ्कन सफ्टवेयर इन्जिनियर रोशन अधिकारीले, आवश्यक सामग्रीको व्यवस्थापन कार्यालय व्यवस्थापक सङ्गीता केसीले, उपस्थिति पुस्तिकामा हस्ताक्षर गराउने कार्य व्यवसायी वेदप्रसाद गौतमले तथा प्रमुख अतिथि र अतिथिहरूलाई शब्दयात्रा प्रकाशनका तर्फबाट उपहार समर्पण लेखक दामोदर घिमिरेले गर्नुभएको थियो । उपस्थित सबैमा सबै पुस्तक निःशुल्क वितरण गरिएको थियो ।
कार्यक्रममा नौवटा पुस्तक नौजना महिला स्रष्टाबाट नौ गते सार्वजनिक गरिनु र कृतिकार, सभापति, प्रमुख अतिथि र टिप्पणीकार पनि महिला स्रष्टा नै हुनु यस कार्यक्रमको मुख्य विशेषता थियो ।
लेखकहरू केदारनाथ तिमल्सिना, चूडाप्रसाद चौलागाई, जीवनाथ अधिकारी, विष्णु ओली आदिसहित एक सयभन्दा बढी सङ्ख्याको उपस्थिति रहेको उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशन पुस्तकालयलाई लक्ष्मी पोखरेल, डा. मीना सिंह खड्का, अम्बिका धिताल, खुमादेवी पाण्डे र मुरहरि रायमाझीले पुस्तकहरू उपहार दिनुभएको थियो ।

शङ्कर मानन्धर आजीवन सदस्य

0

लेखक तथा पूर्वप्रशासक शङ्कर मानन्धर शब्दयात्रा प्रकाशनको आजीवन सदस्य बन्नुभएको छ । उहाँसमेत शब्दयात्रा प्रकाशनका सदस्यको सङ्ख्या ४२ पुगेको छ । उहाँले धेरै समयअघिदेखि सदस्यता लिन खोज्नुभए पनि सदस्यता प्रदान गर्न स्थगन गरिएको समय परेकाले उहाँलाई सदस्यता प्रदान गरिएको थिएन । स्थगन गरिएको समय सकिएकाले उहाँलाई सदस्यता प्रदान गरिएको हो । शब्दयात्रा प्रकाशनमा आजीवन सदस्यताको मात्रै प्रावधान छ । शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता प्राप्त गर्नुभएकोमा लेखक तथा पूर्वप्रशासक शङ्कर मानन्धरलाई हार्दिक बधाई छ ।

२०९. साथीको माया

वेदकुमारी न्यौपानेको ‘साथीको माया’ नामक प्रस्तुत बालएकाङ्कीसङ्ग्रहभित्र तीनवटा बालएकाङ्की रहेका छन् । तीनैवटा बालएकाङ्की सन्देशमूलक तथा मञ्चन गर्न उपयुक्त छन् । यी बालएकाङ्कीहरू अध्ययन तथा मञ्चन गराउँदा बालबालिका चरित्रवान् हुनेछन्, सामाजिक व्यवहारमा दक्ष हुनेछन्, उनीहरूको आचरण राम्रो हुनेछ र मानवीय भावना भएका सहयोगी बन्नेछन् ।

२०८. एक दिन

वेदकुमारी न्यौपानेको ‘एक दिन’ नामक बालगीतिनाटक एक दिनको घटनामा आधारित छ । यो गीतिनाटक सन्देशमूलक छ । बालबालिकाको चरित्र सुधार्न र जिज्ञासा समाधान गराउन यो पुस्तक सहयोगी हुन्छ । यो बालगीतिनाटकको अध्ययनबाट बालबालिका चरित्रवान् हुनेछन्, सामाजिक व्यवहारमा दक्ष हुनेछन्, उनीहरूको आचरण राम्रो हुनेछ र मानवीय भावना भएका सहयोगी बन्नेछन् ।