साहित्यकार वेदकुमारी न्यौपानेद्वारा लिखित नौवटा पुस्तकलाई यही २०८० साल वैशाख ९ गते शनिबार बनेपामा अवस्थित शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरियो । कार्यक्रम कवयित्री, नाटककार तथा आध्यात्मिक अभियन्ता लीला श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । प्रमुख अतिथिका रूपमा नेपालको पहिलो महिला महाप्रबन्धक, हालको समाज कल्याण परिषद् र महिला मन्त्रालयको अवधारणा ल्याउने विदुषी, शान्ति आश्रम र महिला सुरक्षा दबाब समूह जस्ता थुप्रै संस्थाको स्थापना गर्ने समाजसेवी तथा एक दर्जन कृतिका स्रष्टा सावित्री थापा उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रमको पहिलो चरणमा ‘पूर्णिमाको जून’ (कवितासङ्ग्रह)’, ‘शब्द’ (कवितासङ्ग्रह), ‘हराएको किनारा’ (गीतसङ्ग्रह) र ‘कहिले घाम कहिले छाया’ (मुक्तकसङ्ग्रह) नामक चार पुस्तकलाई लेखक तथा सम्पादक लक्ष्मी पोखरेल, लेखक तथा सम्पादक गीता अधिकारी, गायिका सरस्वती सापकोटा र कवयित्री अम्बिका धितालले सार्वजनिक गर्नुभएको थियो भने ती पुस्तकहरूमाथि कवयित्री मीरा चापागाईंले परिचयात्मक टिप्पणी गर्नुभएको थियो । दोस्रो चरणमा ‘प्रायोजित’ (रेडियो–नाटकसङ्ग्रह), ‘प्लास्टिक सर्जरी’ (लघुएकाङ्कीसङ्ग्रह) र ‘कुल्चिएका फूलहरू’ (एकाङ्कीसङ्ग्रह) नामक तीन पुस्तकलाई शिक्षासेवी डा. मीना सिंह खड्का, पत्रकार भगवती तिमल्सिना र चलचित्र निर्देशन गर्ने प्रथम महिला सुचित्रा श्रेष्ठले सार्वजनिक गर्नुभएको थियो भने ती पुस्तकहरूमाथि कवयित्री तथा नाटककार भवानी पाण्डेले परिचयात्मक टिप्पणी गर्नुभएको थियो । तेस्रो चरणमा ‘एक दिन’ (बालनाटक) र ‘साथीको माया’ (बालएकाङ्कीसङ्ग्रह) नामक दुई पुस्तकको सार्वजनिकीकरण समीक्षक तथा लेखिका डा. सीता सुवेदी र छात्रा सिमोन बस्नेतले गर्नुभएको थियो भने ती पुस्तकहरूमाथि कवयित्री तथा बालशिक्षासेवी शारदा घिमिरे भैलले परिचयात्मक टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा कृतिकार वेदकुमारी न्यौपानेले आफ्नो साहित्ययात्राको उत्प्रेरक गाथा प्रस्तुत गर्नुभएको थियो भने प्रमुख अतिथि सावित्री थापा र सभापति लीला श्रेष्ठले कार्यक्रमको विशेषताका बारेमा बोल्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले गर्नुभएको थियो भने स्वागत भाषण सञ्चालक सदस्य कृष्णमणि कुइकेलले, कृतिकारको चिनारी कवयित्री कालिका त्रिपाठी पन्तले र कार्यक्रमको समीक्षासहित सभाविसर्जन अतिथि कवि तथा अन्वेषक लालबहादुर भुजेलले गर्नुभएको थियो । यसै गरी रुद्राक्षको माला अर्पण शिक्षासेवी शिव बन्जाराले, कार्यक्रमको छायाङ्कन तथा स्वराङ्कन सफ्टवेयर इन्जिनियर रोशन अधिकारीले, आवश्यक सामग्रीको व्यवस्थापन कार्यालय व्यवस्थापक सङ्गीता केसीले, उपस्थिति पुस्तिकामा हस्ताक्षर गराउने कार्य व्यवसायी वेदप्रसाद गौतमले तथा प्रमुख अतिथि र अतिथिहरूलाई शब्दयात्रा प्रकाशनका तर्फबाट उपहार समर्पण लेखक दामोदर घिमिरेले गर्नुभएको थियो । उपस्थित सबैमा सबै पुस्तक निःशुल्क वितरण गरिएको थियो ।
कार्यक्रममा नौवटा पुस्तक नौजना महिला स्रष्टाबाट नौ गते सार्वजनिक गरिनु र कृतिकार, सभापति, प्रमुख अतिथि र टिप्पणीकार पनि महिला स्रष्टा नै हुनु यस कार्यक्रमको मुख्य विशेषता थियो ।
लेखकहरू केदारनाथ तिमल्सिना, चूडाप्रसाद चौलागाई, जीवनाथ अधिकारी, विष्णु ओली आदिसहित एक सयभन्दा बढी सङ्ख्याको उपस्थिति रहेको उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशन पुस्तकालयलाई लक्ष्मी पोखरेल, डा. मीना सिंह खड्का, अम्बिका धिताल, खुमादेवी पाण्डे र मुरहरि रायमाझीले पुस्तकहरू उपहार दिनुभएको थियो ।