धुलिखेलका शिक्षासेवी, समाजसेवी तथा आध्यात्मिक व्यक्तित्व लक्ष्मीदास खाछे श्रेष्ठले लेख्नुभएको ‘धुलिखेलकी नानी भगवती’ नामक यो पुस्तिका २४ पृष्ठको मात्रै छ, तर यसभित्र नानी भगवतीका विषयमा सुनिएको किंवदन्ती, पूजा र जात्राका बारेमा सचित्र वर्णन छ । आधिकारिक व्यक्तिबाट लेखिएकाले यो आधिकारिक पनि छ । त्यसैले सांस्कृतिक, पुरातात्त्विक र ऐतिहासिक अध्ययनका लागि यो पुस्तिका पठनीय, मननीय र सङ्ग्रहणीय छ । भविष्यको पुस्ताका लागि यो पुस्तिका सुन्दर अभिलेख हो । सम्पदाको संरक्षण गर्ने दिशामा नयाँ पुस्तालाई पुरानो पुस्ताले हस्तान्तरण गर्नुपर्ने विषय नै यस्तै हो । लक्ष्मीदास खाछे श्रेष्ठले यो काम गरेर धुलिखेलको समाजलाई ठूलो गुन लगाउनुभएको छ ।
Home Blog
२७३. धुलिखेलकी नानी भगवती
शब्दयात्रा प्रकाशनमा नियात्रा अनुसन्धान केन्द्र पनि
शब्दयात्रा प्रकाशनबाट वरिष्ठ नियात्राकार पोष चापागाईंको सहयोगमा २०८३ वैशाख १ गते नयाँ कामको थालनी — (१) शब्दयात्रा प्रकाशनले नियात्रा अनुसन्धान केन्द्र खोल्न पुस्तकालयभित्र केही स्थान छुट्याउने । (२) नियात्रा विधाका पुस्तकहरू राख्न पोष चापागाईंका तर्फबाट छुट्टै दराजको व्यवस्था । (३) पोष चापागाईंबाट नियात्रा विधाका कृतिहरू प्रदान । (४) यसलाई नियात्रा विधाको आधिकारिक पुस्तकालय बनाउने अठोट । (५) नेपाली भाषामा लेखिएका नियात्रा विधाका कृतिहरू सङ्कलन गर्न आह्वान गर्ने । (६) नियात्रा विधासँग सम्बन्धित कार्यक्रम गर्ने । (७) नियात्रा अनुसन्धान केन्द्रका लागि छुट्टै कार्यविधि निर्देशिका बनाउने । (८) शब्दयात्रा प्रकाशनको सञ्चालक समितिले ‘नियात्रा अनुसन्धान केन्द्र व्यवस्थापन समिति’ बनाइदिने । (९) व्यवस्थापन समितिले कार्यविधि निर्देशिका बमोजिम नियात्रा अनुसन्धान केन्द्रको सञ्चालन गर्ने । (शब्दयात्रा प्रकाशनले आफ्नो पुस्तकालयमा तीन वर्षअघिदेखि महिला अनुसन्धान केन्द्र सञ्चालन गरेको छ, त्यहाँबाट विद्वतवृत्ति समर्पण गरी अनुसन्धान गराएको छ । नियात्रा अनुसन्धान केन्द्र शब्दयात्रा प्रकाशनको पुस्तकालयमा रहने दोस्रो अनुसन्धान केन्द्र हो ।)
गायक–गायिकालाई आभारपत्र समर्पण गरिने
शब्दयात्रा प्रकाशनद्वारा उत्पादन भई अक्षरधाम यु–ट्युब च्यानलमा राखिएका गानहरूमा स्वर दिनुभएका वसन्त कुइकेल, कालिका त्रिपाठी पन्त, कृष्णमणि कुइकेल, केदारनाथ तिमल्सिना, पुण्यवती घले, शिव बन्जारा आदिलाई आभारपत्र समर्पण गरिने भएको छ । उहाँहरूलाई आगामी वैशाख ५ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजना हुने कार्यक्रममा आभारपत्र समर्पण गरिनेछ । आभारपत्र ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा उहाँहरूप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार प्रकट गर्दछ ।
२७२. मतिपुराण
बलदेव थापाद्वारा लिखित ‘मतिपुराण’ नेपालको राजनीतिक, प्रशासनिक र सामाजिक क्षेत्रमा भएका विभिन्न प्रकारका विकृति–विसङ्गतिहरूमाथि संवादका माध्यमबाट गरिएका तीखा व्यङ्ग्यहरूको सङ्ग्रह हो । हास्य कम र व्यङ्ग्य बढी भएको यस सङ्ग्रहले गणतन्त्र कालमा राजनीतिक दल र तिनका नेताहरूले प्रशासन र कार्यकर्तालाई माध्यम बनाएर देशलाई कस्तो अवस्थामा पु¥याए र आफू कस्तो अवस्थामा पुगे भन्ने कुरा छर्लङ्ग पारिदिएको छ ।
डा. कुलप्रसाद कोइराला, डा. इन्दुल केसी र मच्छेश्वर सापकोटामा कृतज्ञतापत्र समर्पण गरिने
शब्दयात्रा प्रकाशनद्वारा उत्पादित गानहरूका विषयमा कृति सिर्जना गर्नुभएका डा. कुलप्रसाद कोइराला र डा. इन्दुल केसी तथा ती गानहरू उत्पादन गर्ने क्रममा सुपरिवेक्षण गर्नुभएका मच्छेश्वर सापकोटालाई शब्दयात्रा प्रकाशनले कृतज्ञतापत्र समर्पण गर्ने भएको छ । उहाँहरूलाई आगामी वैशाख ५ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजना हुने कार्यक्रममा कृतज्ञतापत्र समर्पण गरिनेछ । कृतज्ञतापत्र ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा डा. कुलप्रसाद कोइराला, डा. इन्दुल केसी र मच्छेश्वर सापकोटाप्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार प्रकट गर्दछ ।
एन्जिला तामाङलाई पुरस्कृत गरिने
शब्दयात्रा प्रकाशनले लेखक दामोदर घिमिरेद्वारा आफ्ना मातापिताको स्मृति र सम्मानमा कोष व्यवस्थापन गरिएको ‘शब्दयात्रा दुर्गादेवी–मेदनीप्रसाद घिमिरे पुरस्कार’ खोटाङ जिल्ला ऐसेलुखर्क गाउँपालिका वडा नं. ४ दिब्दी निवासी उद्यमी एन्जिला तामाङमा समर्पण गर्ने भएको छ । यो पुरस्कार आगामी वैशाख ५ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजना हुने कार्यक्रममा समर्पण गरिनेछ । पुरस्कार ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा एन्जिला तामाङप्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार प्रकट गर्दछ ।
लोकदोहोरी गायिका विष्णु परियारलाई सम्मान गरिने
स्नातकोत्तर तहमा ठाडोभाका लोकगीतका विषयमा शोधकार्य गरेकी र लोकदोहोरी गायनमा पनि सक्रिय रहेकी गायिका तथा शिक्षिका विष्णु परियार (लमजुङ) मा शब्दयात्रा प्रकाशनले २०८२ सालको ‘शब्दयात्रा मैया खड्का सारस्वत सम्मान’ समर्पण गर्ने भएको छ । आध्यात्मिक लेखक ओतबहादुर खड्काद्वारा आफ्नी धर्मपत्नीको स्मृति र सम्मानमा कोष व्यवस्थापन गरिएको यो सम्मान आगामी वैशाख ५ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजना हुने कार्यक्रममा समर्पण गरिनेछ । सम्मान ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा शिक्षिका तथा गायिका विष्णु परियारप्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार प्रकट गर्दछ ।
लोकगायक नीलमणि भण्डारीलाई सहयोगसहित सम्मान गरिने
शब्दयात्रा प्रकाशनले विकलाङ्ग लोकगायक नीलमणि भण्डारी (भोजपुर) लाई रु. १०,०००।– सहित सम्मान गर्ने भएको छ । आगामी वैशाख ५ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजना गरिने समारोहमा उहाँलाई सहयोगसहित सम्मान गरिनेछ । शब्दयात्रा प्रकाशनले साहित्यकार, कलाकार र पत्रकारलाई आर्थिक सहयोग गर्न अक्षरसेवी सहयोग कोष खडा गरेको छ । सो कोषमा धुलिखेलनिवासी केशव खुलाल क्षत्रीले पनि आफ्ना पिता टीकाबहादुर खुलाल क्षत्री र माता रमाकुमारी खुलाल क्षत्रीको स्मृति र सम्मानमा अक्षयकोषको स्थापना गर्नुभएको छ । उक्त अक्षयकोषको ब्याजबाट विकलाङ्ग लोकगायक नीलमणि भण्डारीलाई आर्थिक सहयोगसहित सम्मान गरिने भएको हो । उहाँले धेरै गीत, भजन र कवितामा आफ्नो स्वर दिनुभएको छ । सम्मान ग्रहण गर्न स्वीकृति दिनुभएकोमा उहाँप्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार प्रकट गर्दछ ।
२७१. हरि मञ्जुश्रीका जागरण गान
डा. इन्दुल केसीले लेख्नुभएको ‘हरि मञ्जुश्रीका जागरण गान’ उहाँको नवौँ कृति हो । यस पुस्तकको मूल विषय शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्री हुनुहुन्छ । हरि मञ्जुश्रीले लेखेर सङ्गीतबद्ध गर्नुभएका गानहरूमध्ये १० वटा गानका विषयमा यस पुस्तकमा चर्चा गरिएको छ । हरि मञ्जुश्रीको परिचयबाट सुरु भएर भजन–गान र जागरण गानका विषयमा परिचय गराउँदै ती गानहरूका बारेको टिप्पणी र जागरण गानसँग सम्बन्धित व्यक्तिहरूको उल्लेखका साथै उपसंहार तथा परिशिष्ट खण्डमा सम्बन्धित सामग्रीहरूको प्रस्तुति यस पुस्तकको विशेषता हो । यस पुस्तकले प्रा. डा. कुलप्रसाद कोइरालाले लेख्नुभएको ‘हरि मञ्जुश्रीका उद्बोधन गान’ पुस्तकमा नपरेका १० वटा जागरण गानको व्याख्या गरेको छ ।
सातजनालाई शब्दयात्रा सम्मान समर्पण
शब्दयात्रा प्रकाशनले सातजना राष्ट्रिय प्रतिभामा सम्मान समर्पण गरेको छ । सम्मान ग्रहण गर्नेहरूमा डा. हेमाङ्गराज अधिकारी, रामबाबु सुवेदी, डा. नारायणप्रसाद खनाल, ‘वनिता’ साहित्यिक पत्रिका, शैलेन्द्र सिम्खडा, चन्द्रप्रसाद न्यौपाने र लालबहादुर भुजेल हुनुहुन्छ ।
भाषासेवी डा. हेमाङ्गराज अधिकारीमा पद्मकला–भीमप्रसाद सुवेदी भाषासेवा सम्मान समर्पण गरियो । उहाँलाई उपहार, भेटी र किरीट कोष व्यवस्थापक प्रा. लालानाथ सुवेदीले तथा अभिवन्दनापत्र गीतिभास्कर मच्छेश्वर सापकोटाले समर्पण गर्नुभएको थियो । बालसाहित्यकार रामबाबु सुवेदीमा विष्णुमाया–टीकाप्रसाद बालसाहित्य समर्पण गरियो । उहाँलाई किरीट र उपहार सन्देश पराजुलीले, भेटी कोष व्यवस्थापककी अर्धाङ्गिनी माधवी पराजुलीले तथा अभिवन्दनापत्र डा. हेमाङ्गराज अधिकारीले समर्पण गर्नुभएको थियो । समालोचक डा. नारायणप्रसाद खनालमा हरिगोपाल प्रधान समालोचना सम्मान समर्पण गरियो । उहाँलाई भेटी र किरीट कोष व्यवस्थापक हरिगोपाल प्रधानले तथा अभिवन्दनापत्र रामबाबु सुवेदीले समर्पण गर्नुभएको थियो । उहाँहरूलाई चयन समितिका संयोजक प्रा. केदारनाथ श्रेष्ठले पुष्पमाला र उपहार समर्पण गर्नुभएको थियो । ‘वनिता’ साहित्यिक पत्रिकाका लागि सम्पादक लक्ष्मी उप्रेतीमा कृष्णलाल अधिकारी साहित्यिक पत्रिका सम्मान समर्पण गरियो । उहाँलाई माला चन्द्रप्रसाद न्यौपानेले, उपहार शैलेन्द्र सिम्खडाले, भेटी डा. नारायणप्रसाद खनालले, किरीट रामबाबु सुवेदीले र अभिवन्दनापत्र डा. हेमाङ्गराज अधिकारीले समर्पण गर्नुभएको थियो ।
यसै गरी हास्यव्यङ्ग्यकार शैलेन्द्र सिम्खडामा रुद्रलाल शर्मा हास्यव्यङ्ग्य सम्मान समर्पण गरियो । उहाँलाई भेटी र किरीट कोष व्यवस्थापक शारदाप्रसाद शर्माका तर्फबाट ढकलप्रसाद धितालले तथा अभिवन्दनापत्र डा. हेमाङ्गराज अधिकारीले समर्पण गर्नुभएको थियो । महाकाव्यकार चन्द्रप्रसाद न्यौपानेमा वसन्त शर्मा कविताकाव्य सम्मान समर्पण गरियो । उहाँलाई भेटी र किरीट कोष व्यवस्थापक कविप्रसाद प्याकुरेलका तर्फबाट कविता आचार्यले तथा अभिवन्दनापत्र शैलेन्द्र सिम्खडाले समर्पण गर्नुभएको थियो । अनुसन्धाता लालबहादुर भुजेलमा जयदेव अधिकारी अनुसन्धान सम्मान समर्पण गरियो । उहाँलाई भेटी र किरीट कोष व्यवस्थापक राजेन्द्र विरहीले तथा अभिवन्दनापत्र चन्द्रप्रसाद न्यौपानेले समर्पण गर्नुभएको थियो । उहाँहरू तीनैजनालाई चयन समितिका सदस्य लीलादेवी श्रेष्ठले पुष्पमाला र उपहार समर्पण गर्नुभएको थियो ।
कार्यक्रम शब्दयात्रा प्रकाशनको सभाकक्षमा यही चैत १४ गते शनिबार आयोजना गरिएको थियो ।