शब्दयात्रा प्रकाशनबाट समर्पित २०७९ सालको पुरस्कार ग्रहण गर्नेहरू — (१) भोजपुर प्रतिभा पुरस्कार पं. पुरुषोत्तम भट्टराई (२) रौतहट प्रतिभा पुरस्कार माधव काफ्ले (३) सङ्खुवासभा प्रतिभा पुरस्कार पदमप्रसाद पौडेल (४) काभ्रेपलान्चोक प्रतिभा पुरस्कार ओतबहादुर खड्का (५) भक्तपुर प्रतिभा पुरस्कार पशुपतिमान पःमाँ (६) सिन्धुली प्रतिभा पुरस्कार विश्वम्भर लामिछाने (७) रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार विमला अधिकारी देवकोटा (८) कर्मशीलता पुरस्कार कृष्णमणि कुइकेल (९) दूरदृष्टि नेतृत्व पुरस्कार कल्पना भट्ट ।
कवयित्री शारदा घिमिरे भैलको मुक्तकसङ्ग्रह ‘मुक्तक शारदीय’ १७५ वटा मुक्तकको सङ्कलन हो । यो सङ्ग्रह उहाँको लामो साधनाको परिणाम हो । काव्यात्मकता भरिएका सुन्दर मुक्तकहरूको यस सङ्ग्रहमा मानव–जीवनका प्रेम–प्रणय, दुःखसुख र आरोह–अवरोहका साथै सामाजिक विकृति–विसङ्गति जस्ता विषयहरू पनि प्रकट भएका छन् । अधिकार, कर्तव्य, स्वतन्त्रता, शान्ति, आध्यात्मिकता, मानवता, कर्तव्यनिष्ठा, नैतिक चरित्र, राष्ट्रप्रेम, प्रकृति, श्रद्धा, आशा र विश्वासलाई मुक्तकका विषयवस्तु बनाइएका छन् । यसरी विषयवस्तुको विविधतापूर्ण सौन्दर्य पाइने यस सङ्ग्रहका मुक्तकहरूमा मुक्तककारले मनमा उठेका विचार, भाव र अनुभूतिलाई कुशलताका साथ प्रस्तुत गर्न सक्नुभएको छ । उहाँका मुक्तकहरू गहन र अर्थपूर्ण छन् । मुक्तकहरूमा प्रयुक्त शब्दको संयोजन, भावको गाम्भीर्य र विचारको प्रस्तुतीकरणले उहाँका मुक्तकहरू मिठासपूर्ण बनेका छन् । अधिकांश मुक्तकहरू मुक्तक–सिर्जनाको विधि अनुरूपकै छन् र भावप्रेषणका दृष्टिले शक्तिशाली र मनोरम पनि छन् । भावविस्तार, शब्दप्रयोग र प्रस्तुतिशिल्पको सुन्दर सङ्गम रहेको यस सङ्ग्रहभित्रका मुक्तकहरूमा जीवनका विविधताहरू प्रतिबिम्बित भएकाले विभिन्न मनोपरिकार मन पराउने पाठकका लागि यो मुक्तकसङ्ग्रह रसयुुक्त बनेको छ ।

