शब्दयात्रा प्रकाशनले २०८० सालको पहिलो चरणका सम्मानहरू समर्पण गरेको छ । त्यसै कार्यक्रममा केही पुस्तकहरू सार्वजनिक पनि गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि लेखक तथा पूर्वमन्त्री नवराज सुवेदी हुनुहुन्थ्यो । उहाँको शारीरिक अस्वस्थताका कारणले उहाँको प्रतिनिधिका रूपमा आख्यानकार भरत जङ्गम उपस्थित हुनुहुन्थ्यो । कार्यक्रमको सञ्चालन संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले र सभापतित्व प्रा. केदारनाथ श्रेष्ठले गर्नुभएको थियो ।
कार्यक्रममा बमकुमारी बुढामगर, प्रा. डा. पन्ना थापा, प्रा. सुवास केसी, वेदकुमारी न्यौपाने, डा. श्याम भट्टराई र षडानन्द गुरुकुल वेद विद्याश्रमलाई सम्मान गरिएको थियो भने भरत जङ्गम र सम्मानित व्यक्तिहरूले प्रा. रामकुमार पाँडे र गायत्रीकुमार चापागाईंद्वारा लिखित पुस्तकहरू सार्वजनिक गर्नुभएको थियो । चयन समितिका संयोजक शारदा घिमिरे भैलले सम्मानित व्यक्तित्वको विशेषताका बारेमा र कवि तथा समीक्षक पदम दाहालले सार्वजनिक गरिएका कृतिहरूका बारेमा जानकारी गराउनुभएको थियो । सम्मानित व्यक्तित्व बमकुमारी बुढामगर, प्रा. डा. पन्ना थापा, प्रा. सुवास केसी, वेदकुमारी न्यौपाने, डा. श्याम भट्टराई र षडानन्द गुरुकुल वेद विद्याश्रमका तर्फबाट दण्डपाणि अधिकारीलाई केदारनाथ श्रेष्ठले माला, कालिका त्रिपाठी पन्त र शारदा घिमिरे भैलले उपहार, गीता अधिकारी, सहदेव श्रेष्ठ र आनन्दराज श्रेष्ठले भेटी रकम तथा भरत जङ्गमले किरीट र अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो ।
इ. रोशन मञ्जुश्री अधिकारीबाट कार्यक्रमको छायाङ्कन तथा स्वराङ्कन, आख्यानकार नितिन मिश्रले उपलब्ध गराउनुभएको ‘म र म’ पुस्तक दामोदर घिमिरेबाट चयन समितिका सदस्यहरूलाई समर्पण र पूर्णबहादुर कर्माचार्यबाट कार्यक्रमको समीक्षासहित सभाविसर्जन गरिएको उक्त कार्यक्रममा लीलादेवी श्रेष्ठले कार्यक्रमको समुद्घाटन, कृष्णमणि कुइकेलले स्वागत भाषण, सकुल थापा र शारदाप्रसाद शर्माले सामग्री व्यवस्थापन, पुण्यवती घलेले अतिथि र सम्मानित व्यक्तित्व तथा कृतिकारलाई रुद्राक्षमाला अर्पण गर्नुभएको थियो ।
सहदीप पलान्चोकेले उपस्थित महानुभावहरूको उपस्थिति गराउनुभएको उक्त कार्यक्रममा नन्दिकेश्वर अधिकारी, हंसराज श्रेष्ठ र रामकृष्ण श्रेष्ठको तस्बिरमा माल्यार्पण गरिएको थियो भने कार्यालय व्यवस्थापक सङ्गीता केसीकी माता दामोदरी आचार्य केसीको निधनमा उहाँको आत्मशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो । सार्वजनिक गरिएका पुस्तकहरूका अतिरिक्त अन्य पुस्तकहरू पनि कार्यक्रममा उपस्थित सबैलाई निःशुल्क प्रदान गरिएको थियो ।