निबन्धकार गायत्रीकुमार चापागाईको संस्मरणात्मक र समीक्षात्मक निबन्धसङ्ग्रह ‘अग्रजले कोरेको गोरेटोमा हिँड्दा’ २८ वटा निबन्ध भएको उहाँको एघाह्रौँ कृति हो । यस कृतिमा उहाँको गद्यलेखनमा पाइने सिर्जनात्मक सामर्थ्य राम्ररी प्रकट भएको छ । यसभित्रका उहाँका निबन्धहरू मौलिक र गम्भीर छन् तथा बौद्धिकता र तार्किकताले भरिएका छन् । यस कृतिमा विभिन्न साहित्यकारका मौलिकता र मुख्य विशेषताको परिचय गराइएको छ । पाठकले यस कृतिमा समीक्षा, समालोचना, संस्मरण र नियात्राको एकैसाथ रसास्वादन गर्न पाउँछन् । कृतिकारका अनुभव र अनुभूति, श्रम र साधना, रुचि र समर्पण, विद्वत्ता र मौलिकता, ज्ञान र गरिमा यस कृतिमा प्रकट भएका छन् । अनुसन्धान र विश्लेषण गर्दाको उहाँको मिठासपूर्ण प्रस्तुतिले कृतिलाई रोचक बनाएको छ । कृतिकारको साहित्यिक लगनशीलताको यो बलियो उदाहरण हो ।