शब्दयात्रा प्रकाशनले २०८० सालमा समर्पण गरिने सम्मानहरूमध्ये पहिलो चरणमा छ विधाका सम्मानहरू समर्पण गरेको छ ।
सामाजिक अभियन्ताका रूपमा आजीवन सक्रिय रही आदिवासी समुदायमा चेतना विस्तार, समग्र नेपाली जनताको उत्थान र प्रगति, मानव–अधिकार, महिला सशक्तीकरण, लोकसंस्कृतिको संरक्षण, लेखन–प्रकाशन जस्ता कार्यबाट सामाजिक जागरणका क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएकोमा रोल्पाकी बमकुमारी बुढामगरलाई शब्दयात्रा हंसराज श्रेष्ठ सामाजिक जागरण सम्मान समर्पण गरिएको छ ।
लामो समयसम्म फार्मेसी विषयमा अध्यापन र औषधि सम्बन्धी अनुसन्धान गर्नुका साथै औषधि उत्पादन र वितरण, प्रविधि विकास र हस्तान्तरण, गुणस्तरको प्रत्याभूति र गुणस्तर नियन्त्रण जस्ता विषयहरू समेटिएका अनुसन्धानात्मक लेखहरू विभिन्न जर्नलहरूमा प्रकाशन गराउनुभएकोमा डोल्पाका प्रा. डा. पन्नाबहादुर थापालाई शब्दयात्रा रामकृष्ण श्रेष्ठ विज्ञान–प्रविधि सम्मान समर्पण गरिएको छ ।
शब्दयात्रा प्रकाशनबाट अघिल्लो वर्ष प्रकाशित कृतिहरूमध्ये कुनै एउटा कृतिका कृतिकारलाई हरेक वर्ष समर्पण गर्ने गरी संस्थापित शब्दयात्रा कल्याण लम्साल सिर्जना सम्मान २०७९ सालमा यस संस्थाबाट प्रकाशित ३६ वटा पुस्तकमध्ये पाठकमतका आधारमा सर्वोत्तम ठानिएको   Impressions and Expressions  कृतिका लागि काठमाडौंका प्रा. सुवास केसीलाई समर्पण गरिएको छ ।
लामो समयसम्म नेपाल सरकारको प्रशासनिक सेवामा संलग्न रही विभिन्न जिल्लाहरूमा कार्यरत रहेर पनि आफ्नो गृहस्थी जीवनलाई सुसञ्चालन गर्दै समय निकालेर साहित्यका विविध विधाहरूमा डेढ दर्जन साहित्यिक कृतिहरू सिर्जना गरेर नेपाली वाङ्मयलाई उपहार दिनुभएकोमा गोरखाकी वेदकुमारी न्यौपानेलाई शब्दयात्रा प्रशासनिक महिला प्रतिभा सम्मान समर्पण गरिएको छ ।
कवि तथा विद्यालयका प्रथम प्राचार्य नन्दिकेश्वर अधिकारी र उहाँभन्दा पछिका पाँच पुस्तासम्मका साहित्यकारहरूमध्ये कसैको पनि विषयमा अन्वेषणात्मक तथा समीक्षात्मक लेखहरू लेख्ने लेखकलाई हरेक वर्ष समर्पण गर्ने गरी संस्थापित शब्दयात्रा नन्दिकेश्वर अधिकारी शोध सम्मान हरि मञ्जुश्रीका विभिन्न कृतिहरूको समीक्षा गर्नुभएकोमा सर्लाहीका डा. श्याम भट्टराईलाई समर्पण गरिएको छ ।
नेपालकै पहिलो सामुदायिक शिक्षालयका संस्थापक आबाल ब्रह्मचारी षडानन्द अधिकारीको स्मृति र सम्मानस्वरूप उहाँको नाउँबाट उहाँकै जन्मभूमि तथा कर्मभूमि दिङला भोजपुरमा संस्थापित र सञ्चालित षडानन्द गुरुकुल वेद विद्याश्रमलाई वटुकहरूमा आध्यात्मिक चेतना, आत्मानुशासन, नैतिक चरित्र, कर्तव्यपरायणता र मानवीय भावनाको शिक्षा दिएकोमा शब्दयात्रा होम–तोत्र शिक्षा सम्मान समर्पण गरिएको छ ।
सम्मान ग्रहण गरिदिनुभएकोमा सम्मानित व्यक्तित्वहरूप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक कृतज्ञता व्यक्त गर्दछ ।