नारायणी–शङ्कर मानन्धर शिक्षा पुरस्कार कोषका तर्फबाट पूर्वप्रशासक तथा लेखक शङ्कर मानन्धरले शब्दयात्रा प्रकाशनलाई ३० हजार रुपियाँको चेक प्रदान गर्नुभएको छ । उहाँले प्रदान गर्नुभएको चेक शब्दयात्रा प्रकाशनका आजीवन सदस्य शिव बन्जाराले ग्रहण गर्नुभएको छ । शब्दयात्रा प्रकाशनबाट २०८१ सालमा समर्पण गरिने ‘शब्दयात्रा नारायणी–शङ्कर मानन्धर राष्ट्रिय योगप्रतिभा पुरस्कार’ का लागि उक्त रकम खर्च गरिनेछ । कोषका तर्फबाट ३० हजार रुपियाँ प्रदान गर्नुभएकोमा शङ्कर मानन्धरप्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार व्यक्त गर्दछ ।
प्रेमकुमार कर्माचार्यले लेख्नुभएको ‘मानबहादुर कर्माचार्य र गुर्जन ठाकुर’ नामक पुस्तिका पठनीय छ । यस पुस्तिकामा लेखकले आफ्ना पिताजी मानबहादुर कर्माचार्यको सामाजिक तथा शैक्षिक योगदानको उल्लेख गर्नुभएको छ । यसका साथै किंवदन्तीका रूपमा रहेको तर लोप हुन लागेको गुर्जन ठाकुरको कथालाई पनि उजागर गर्नुभएको छ । कसैको पनि योगदान ओझेलमा नपरोस् भन्ने उद्देश्यले यो पुस्तिका तयार पारेर उहाँले सबैले नेपाली समाजमा यसरी नै योगदान गर्नुपर्छ भन्न खोज्नुभएको छ ।