शब्दयात्रा प्रकाशनले आज राष्ट्रका छजना व्यक्तित्वलाई पुरस्कार समर्पण गरेको छ । मानवशास्त्री तथा समाजशास्त्री प्रा. डा. प्रेमकुमार खत्रीलाई शब्दयात्रा कृष्ण जोशी भोजपुर प्रतिभा पुरस्कार, महाकाव्यकार सोमराज अभयलाई शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार र लेखक तिलक प्रकाशलाई शब्दयात्रा भरत जङ्गम भक्तपुर प्रतिभा पुरस्कार समर्पण गरियो । यसै गरी योगप्रशिक्षक डा. चिन्तामणि गौतमलाई शब्दयात्रा नारायणी–शङ्कर राष्ट्रिय योगप्रतिभा पुरस्कार, सांस्कृतिक अभियन्ता विश्व उलकलाई शब्दयात्रा लीला–मध्यमार्ग काभ्रेपलान्चोक प्रतिभा पुरस्कार र सङ्घर्षशील व्यक्तित्व सुशीला ढकाललाई शब्दयात्रा सूर्यप्रसाद श्रेष्ठ कर्मशीलता पुरस्कार समर्पण गरियो । अग्रज समाजसेवी तथा लेखिका सावित्री जङ्गम थापाको प्रमुख आतिथ्यमा सम्पन्न आजको कार्यक्रमको सभापतित्व प्रा. केदारनाथ श्रेष्ठले गर्नुभएको थियो ।