Home Blog Page 57

राधा विष्ट केसी प्रह्लाद केसी विद्वतवृत्ति यसै वर्षदेखि प्रदान गरिने

0

विदुर विष्टको आर्थिक व्यवस्थापनमा संस्थापित राधा विष्ट केसी प्रह्लाद केसी काभ्रेपलान्चोक अनुसन्धान विद्वतवृत्ति शब्दयात्रा प्रकाशनले यही वर्षदेखि समर्पण गर्ने भएको छ । यो विद्वतवृत्ति काभ्रेपलान्चोक जिल्लासँग सम्बन्धित रहेर शब्दयात्रा प्रकाशनले तोकेको कुनै पनि विषयमा अनुसन्धानात्मक सामग्री तयार गर्ने अनुसन्धातालाई समर्पण गरिनेछ । विद्वतवृत्तिका लागि उहाँले शब्दयात्रा प्रकाशनमा अक्षयकोष राखिदिनुभएको छ । यस वर्षको विद्वतवृत्तिका लागि विदुर विष्टले थप १० हजार रुपियाँ पनि उपलब्ध गराउनुभएको छ ।

२११. ठुले

डायस्पोराको पहिलो कवितासङ्ग्रह प्रकाशन गर्नुभएका र बेलायतबाट छन्दोबद्ध कृति प्रकाशन गर्ने पहिलो कवि डा. गोपाल पौड्याल ‘मन्डने’ का २७ वटा कृतिहरूध्ये शब्दयात्रा प्रकाशनबाट प्रकाशन भएको यो दोस्रो कृति हो । यसअघि उहाँको खण्डकाव्य ‘अमरज्योति’ २०७९ सालमा यस संस्थाबाट प्रकाशनमा आएको थियो । डा. गोपाल पौड्याल ‘मन्डने’ को ‘ठुले’ नामक प्रस्तुत खण्डकाव्यमा दुई सर्ग र १९५ श्लोक छन्् । शार्दूलविक्रीडित छन्दमा लेखिएको यो खण्डकाव्य सामाजिक विषयवस्तुमा आधारित छ । विभिन्न पारिवारिक घटना, कोरोनाले ल्याएको दुष्प्रभाव, सामाजिक विकृति–विसङ्गति, आर्थिक दुरवस्था र आधुनिक नेपाली जीवनशैलीको चित्रण यसमा गरिएको छ ।

२१०. चौध भुवन

कथाकार सपूत कार्कीको दोस्रो कथासङ्ग्रह ‘चौध भुवन’ उहाँको पहिलो पुस्तक ‘पागल’ कथासङ्ग्रह प्रकाशन भएको ३५ औँ वर्षमा प्रस्तुत भएको दोस्रो पुस्तक हो । यस सङ्ग्रहमा १४ वटा कथा राखिएकाले पुस्तकको नाउँ नै ‘चौध भुवन’ राखिएको छ । पूर्वप्रकाशित कथाहरूको यस सङ्ग्रहले सपूत कार्कीको कथालेखन शिल्पका बारेमा स्पष्ट जानकारी दिनेछ । पारिवारिक, सामाजिक र राजनीतिक विषयवस्तुलाई लिएर लेखिएका यस सङ्ग्रहका कथाहरूले नेपालको विषम परिस्थिति, अमिल्दो परिवेश र विकृत मनोविज्ञानको चित्रण प्रभावकारी रूपबाट गरेका छन् । समाजले मसिना मानेका घटनाहरूले राष्ट्रिय जीवनमा दूरगामी रूपमा पार्ने नकारात्मक प्रभावको चित्रणले यस सङ्ग्रहलाई ओजपूर्ण बनाएको छ ।

एकै समारोहमा तीन कार्यक्रम

शब्दयात्रा प्रकाशनको आयोजनामा हिजो २०८० साल वैशाख २२ गते शुक्रबार कूर्मजयन्तीका दिन सालिक तथा अभिलेखपत्र अनावरण, सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण कार्यक्रम सम्पन्न गरियो । शब्दयात्रा शारदा थापा सभाकक्षमा भएको सो कार्यक्रम लेखक, समाजसेवी, पर्यटन व्यवसायी तथा धुलिखेल नगरका संस्थापक नगरप्रमुख बेलप्रसाद श्रेष्ठको प्रमुख आतिथ्य र आख्यानकार प्रजापति तिमिल्सिनाको सभापतित्वमा भएको थियो । कार्यक्रममा लेखक तथा पूर्वन्यायाधीश मोहनमणि दाहाल, नियात्राकार पोष चापागाईं, शिक्षासेवी डा. बलराम तिमल्सिना र लेखिका पार्वती शर्मा विशेष अतिथि हुनुहुन्थ्यो । शिक्षासेवी फणीन्द्रराज अधिकारीले पानसमा बत्ती बालेर कार्यक्रमको समुद्घाटन गर्नुभएको उक्त कार्यक्रम स्वस्तिवाचन र संस्थागत गानको प्रस्तुतिपछि अघि बढाइएको थियो । उक्त कार्यक्रमका सञ्चालक शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्री हुनुहुन्थ्यो । कार्यक्रममा स्वागत भाषण संस्थापक सदस्य तथा सभाकक्षका निर्माता सकुल थापाले, सामग्रीको व्यवस्थापन सञ्चालक सदस्य हरिगोपाल प्रधान र कार्यालय व्यवस्थापक सङ्गीता केसीले, मञ्चस्थ व्यक्तिलाई माला अर्पण आजीवन सदस्य साधुराम गिरीले तथा प्रमुख अतिथि र अतिथिहरूलाई शब्दयात्रा प्रकाशनका तर्फबाट उपहार समर्पण आजीवन सदस्य डा. इन्दुल केसीले गर्नुभएको थियो । आजीवन सदस्य केदारनाथ तिमल्सिनाले कविता वाचन गर्नुभएको र कार्यक्रमको समीक्षासहित सभाविसर्जन लेखक तथा पूर्वप्रशासक जयनारयण नेपालले गर्नुभएको उक्त कार्यक्रममा पत्रकार प्रदीप केसी, आध्यात्मिक लेखक उद्धवप्रसाद नेपाल, कवयित्री शारदा घिमिरे भैल लगायतका थुप्रै विद्वान्–विदुषीहरूको समुपस्थिति रहेको थियो ।

पार्वती शर्माबाट अभिनन्दनग्रन्थ उपहार

0

लेखिका तथा समाजसेवी पार्वती शर्माले आफ्ना श्रीमान् लेखक तथा पत्रकार डिल्लीराम निर्भीकको सम्मानमा प्रकाशित ‘नेपाली पत्रकारितामा निर्भीक’ नाउँको अभिनन्दनग्रन्थ शब्दयात्रा प्रकाशनमार्फत विभिन्न लेखक तथा पुस्तकालयमा निःशुल्क वितरण गरिदिने गरी शब्दयात्रा प्रकाशनलाई ५० प्रति उपलब्ध गराउनुभएको छ । करिब ९०० पृष्ठको उक्त अभिनन्दनग्रन्थ शब्दयात्रा प्रकाशनका तर्फबाट संस्थापक सदस्य तथा शब्दयात्रा शारदा थापा सभाकक्षका निर्माता सकुल थापाले ग्रहण गर्नुभएको छ ।

चौध भुवन र ठुले सार्वजनिक

शब्दयात्रा प्रकाशनद्वारा आज २०८० साल वैशाख २२ गते आयोजित विशेष कार्यक्रममा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित दुईवटा पुस्तकलाई सार्वजनिक गरियो । एउटा पुस्तक कथाकार सपूत कार्कीद्वारा लिखित १४ वटा कथाहरूको सङ्ग्रह ‘चौध भुवन’ थियो भने अर्को पुस्तक काव्यकार डा. गोपाल पौड्याल ‘मन्डने’ द्वारा लिखित खण्डकाव्य ‘ठुले’ थियो । ‘चौध भुवन’ लाई लेखक, पर्यटन व्यवसायी तथा धुलिखेलका संस्थापक नगरप्रमुख बेलप्रसाद श्रेष्ठ र नियात्राकार पोष चापागाईंले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको थियो भने ‘ठुले’ लाई लेखक तथा पूर्वन्यायाधीश मोहनमणि दाहाल र लेखिका पार्वती शर्माले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको थियो । दुवै कृतिमाथि लेखक तथा शिक्षासेवी डा. बलराम तिमल्सिनाले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । कृतिकारका तर्फबाट सपूत कार्कीले मन्तव्य व्यक्त गर्नुभएको उक्त समारोहमा डा. गोपाल पौड्याल ‘मन्डने’ लन्डनमा हुनुभएकाले उपस्थित हुन सक्नुभएको थिएन ।

पोष चापागाईंबाट २९६ पुस्तक–पत्रिका उपहार

0

नेपाली, हिन्दी र अङ्ग्रेजी भाषामा प्रकाशित १९९ वटा पुस्तक, ६५ वटा साहित्यिक पत्रिका र ३२ वटा परिचय पुस्तिका गरी जम्मा २९६ थान पाठ्यसामग्री नियात्राकार पोष चापागाईंले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि उपलब्ध गराउनुभएको छ । आज २०८० साल वैशाख २२ गते शुक्रबार आयोजित सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहमा उहाँले ती पुस्तकहरू हस्तान्तरण गर्नुभएको हो । पुस्तकालयका तर्फबाट सञ्चालक सदस्य हरिगोपाल प्रधानले पुस्तकहरू ग्रहण गर्नुभएको थियो । यस सहयोगका लागि शब्दयात्रा प्रकाशन परिवारका तर्फबाट उहाँप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

एघारजना जग्गादातालाई शब्दयात्रा सम्मान समर्पण

शब्दयात्रा प्रकाशनले आज २०८० साल वैशाख २२ गते एघाह्रजना जग्गादातालाई २०८० सालको दानशीलता सम्मान समर्पण गरेको छ । लेखक, समाजसेवी, पर्यटन व्यवसायी तथा धुलिखेल नगरका संस्थापक नगरप्रमुख बेलप्रसाद श्रेष्ठले शब्दयात्रा प्रकाशनमा राख्नुभएको अक्षयकोषको ब्याजबाट हरेक वर्ष यो सम्मान समर्पण गरिन्छ । यस सम्मानको नाउँ ‘शब्दयात्रा बेलप्रसाद श्रेष्ठ दानशीलता सम्मान’ रहेको छ । अघिल्ला वर्षहरूमा एक–एकजनालाई यो सम्मान समर्पण गर्ने गरिएको थियो । यस वर्षको सम्मानचाहिँ बनेपाको शब्दसाधक तीर्थको निकट रहेको नीलकण्ठेश्वर महादेवको नाउँमा जग्गा दान गरेर नीलकण्ठेश्वर धामको परिसर निर्माण गर्ने जग्गादाताहरूलाई समर्पण गरिएको हो । सम्मानित हुने जग्गादाताहरू कृष्णमणि कुइकेल, देवकी कुइकेल, ईश्वरीप्रसाद कुइकेल, ठाकुरप्रसाद कुइकेल, शम्भुप्रसाद कुइकेल, हरिप्रसाद कुइकेल, रामहरि कुइकेल, राममणि कुइकेल, गायत्रीदेवी कुइकेल, राजेन्द्रप्रसाद कुइकेल र नवराज पराजुली हुनुहुन्छ । उहाँहरूलाई शब्दयात्रा प्रकाशनका तर्फबाट डा. बलराम तिमल्सिनाले माला, पार्वती शर्माले रुद्राक्षमाला, मोहनमणि दाहालले पुस्तक, पोष चापागाईंले शिवनामी र बेलप्रसाद श्रेष्ठले अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो ।

सालिक र अभिलेखपत्र अनावरण

शब्दयात्रा प्रकाशनद्वारा आज २०८० साल वैशाख २२ गते आयोजित विशेष कार्यक्रममा शब्दयात्रा प्रकाशनका जग्गादाता कृष्णमणि कुइकेलका पिता तथा नीलकण्ठेश्वर धाम परिसर निर्माणका नेतृत्वकर्ता समाजसेवी छविलाल कुइकेलको अर्धकदको सालिक अनावरण गरियो । उहाँको सालिक पूर्वन्यायाधीश मोहनमणि दाहालले अनावरण गर्नुभएको थियो । यसै गरी नीलकण्ठेश्वर धाम परिसरका लागि जग्गा दान गर्ने जग्गादाताहरूको नाउँ अङ्कित अभिलेखपत्र पनि आजैको कार्यक्रममा अनावरण गरियो । उक्त अभिलेखपत्र नियात्राकार पोष चापागाईंले अनावरण गर्नुभएको थियो ।

विदुर विष्टबाट विद्वतवृत्तिका लागि एक लाख रुपियाँ प्राप्त

आफ्नी दिदी राधा विष्ट केसी र भिनाजु प्रह्लाद केसी (दुवै दिवङ्गत) को स्मृति र सम्मानमा विदुर विष्ट (काभ्रेपलान्चोक बनेपा, हाल न्युयोर्क अमेरिका) ले एक लाख रुपियाँ पठाइदिनुभएको छ । त्यो रकम विद्वतवृत्तिको अक्षयकोषका रूपमा बैङ्कमा राखी त्यसको ब्याजबाट हरेक वर्ष राधा विष्ट केसी र प्रह्लाद केसीको स्मृतिमा विद्वतवृत्ति प्रदान गरिनेछ । त्यस्तो विद्वतवृत्ति काभ्रेपलान्चोक जिल्लासँग सम्बन्धित कुनै पनि विषयमा अनुसन्धानात्मक सामग्री तयार गर्ने अनुसन्धातालाई दिइनेछ । अनुसन्धानको विषय शब्दयात्रा प्रकाशनले तोक्नेछ । शब्दयात्रा प्रकाशनलाई विश्वास गरेर विद्वतवृत्तिको अक्षयकोषका लागि एक लाख रुपियाँ पठाइदिनुभएकोमा विदुर विष्टप्रति हार्दिक आभार व्यक्त गर्दछु ।