शब्दयात्रा प्रकाशनको आयोजनामा हिजो २०८० साल वैशाख २२ गते शुक्रबार कूर्मजयन्तीका दिन सालिक तथा अभिलेखपत्र अनावरण, सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण कार्यक्रम सम्पन्न गरियो । शब्दयात्रा शारदा थापा सभाकक्षमा भएको सो कार्यक्रम लेखक, समाजसेवी, पर्यटन व्यवसायी तथा धुलिखेल नगरका संस्थापक नगरप्रमुख बेलप्रसाद श्रेष्ठको प्रमुख आतिथ्य र आख्यानकार प्रजापति तिमिल्सिनाको सभापतित्वमा भएको थियो । कार्यक्रममा लेखक तथा पूर्वन्यायाधीश मोहनमणि दाहाल, नियात्राकार पोष चापागाईं, शिक्षासेवी डा. बलराम तिमल्सिना र लेखिका पार्वती शर्मा विशेष अतिथि हुनुहुन्थ्यो । शिक्षासेवी फणीन्द्रराज अधिकारीले पानसमा बत्ती बालेर कार्यक्रमको समुद्घाटन गर्नुभएको उक्त कार्यक्रम स्वस्तिवाचन र संस्थागत गानको प्रस्तुतिपछि अघि बढाइएको थियो । उक्त कार्यक्रमका सञ्चालक शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्री हुनुहुन्थ्यो । कार्यक्रममा स्वागत भाषण संस्थापक सदस्य तथा सभाकक्षका निर्माता सकुल थापाले, सामग्रीको व्यवस्थापन सञ्चालक सदस्य हरिगोपाल प्रधान र कार्यालय व्यवस्थापक सङ्गीता केसीले, मञ्चस्थ व्यक्तिलाई माला अर्पण आजीवन सदस्य साधुराम गिरीले तथा प्रमुख अतिथि र अतिथिहरूलाई शब्दयात्रा प्रकाशनका तर्फबाट उपहार समर्पण आजीवन सदस्य डा. इन्दुल केसीले गर्नुभएको थियो । आजीवन सदस्य केदारनाथ तिमल्सिनाले कविता वाचन गर्नुभएको र कार्यक्रमको समीक्षासहित सभाविसर्जन लेखक तथा पूर्वप्रशासक जयनारयण नेपालले गर्नुभएको उक्त कार्यक्रममा पत्रकार प्रदीप केसी, आध्यात्मिक लेखक उद्धवप्रसाद नेपाल, कवयित्री शारदा घिमिरे भैल लगायतका थुप्रै विद्वान्–विदुषीहरूको समुपस्थिति रहेको थियो ।