Home Blog Page 38

‘म को हुँ ?’ सार्वजनिक

0
शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित विशेष कार्यक्रममा ‘म को हुँ ? (अद्भुत आध्यात्मिक अनुभूति)’ नामक पुस्तकलाई सार्वजनिक गरियो । शब्दयात्रा प्रकाशनको २२४ औँ प्रकाशनपुष्पका रूपमा प्रकाशित यस पुस्तकका लेखक दीपरत्न शाक्य (प्रेम आनन्द) हुनुहुन्छ । पुस्तकलाई अग्रज लेखिकाद्वय सावित्री जङ्गम थापा र हिरण्यकुमारी पाठकले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको हो ।

सूर्यप्रसाद श्रेष्ठलाई राष्ट्रझङ्कार सम्मान समर्पण गरिने

0

शब्दयात्रा प्रकाशनले २०८० सालको राष्ट्रझङ्कार सम्मान ताप्लेजुङ जिल्लामा जन्मनुभएका राष्ट्रिय प्रतिभा पूर्वप्रशासक तथा कूटनीतिज्ञ श्री सूर्यप्रसाद श्रेष्ठमा समर्पण गर्ने भएको छ । पूर्वअञ्चलाधीश, पूर्वसचिव, राष्ट्रिय योजना आयोगको पूर्वसहसदस्य, पूर्व प्रमुख निर्वाचन आयुक्त तथा पूर्वराजदूतका रूपमा प्रशासनिक र कूटनीतिक क्षेत्रबाट राष्ट्रका लागि विशिष्ट भूमिका निर्वाह गर्नुभएका उहाँ स्वच्छ र निष्कलङ्क व्यक्तिका रूपमा सुपरिचित हुनुहुन्छ । उहाँ उमेरको आठ दशकपछि पनि सामाजिक जीवनमा उत्तिकै सक्रिय हुनुहुन्छ । सम्मान ग्रहण गर्न स्वीकृति दिनुभएकोमा उहाँप्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार व्यक्त गर्दछ । यस सम्मानको कोष व्यवस्थापन काभ्रेपलान्चोकका प्रतिभा साहित्यकार कृष्णहरि मैनालीले आफ्ना पितामाता काशीनाथ–मायादेवीको स्मृतिमा गर्नुभएको हो । सम्मान चैत महिनामा समर्पण गरिनेछ ।

२२५ मध्ये ५१ पुस्तक आध्यात्मिक क्षेत्रका

0

शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित २२५ पुस्तकमध्ये ५१ पुस्तक आध्यात्मिक क्षेत्रका रहेछन् । ती हुन् — नीति र रीति, चिरन्तन चिन्तन, प्रार्थनावली, गीता–माली, आध्यात्मिक क्षितिजमा टहल्दा, हिन्दूधर्मका केही आयाम, सावित्री सुगीता, कपिलवस्तुमा भगवान्, नीतिशास्त्रका अमृतवचन, अपरोक्ष अनुभूति, सावित्री चरित्र, वन्दे नेपाल मातरम्, नेपाल माहात्म्य, सत्यनारायण व्रतकथा, जागनीबोध, नागा बाबा रमेश गिरि, सत्यनारायण कथामृत, वेदान्तशिरोमणि एक संस्मरण, लक्ष्मीभक्तको कविता, भर्तृहरि शतक, पञ्चमाता, धनेश्वर भजनमाला, प्रेम प्रणाम, चण्डेश्वरी भजन सफू, चाणक्यनीति दर्पण, हनुमान चालीसा तथा वटुकभैरव स्तोत्र, श्रीस्वस्थानी व्रतकथा, ढुङ्गेलका गोत्रपुरुष अगस्त्य ऋषि, तारतमरस, वेद के भन्छ ?, श्रीस्वस्थानी व्रतकथा (अनुवाद), पाण्डवायन, पञ्चतन्त्र मित्रभेद, श्यामसुन्दर भजनमाला, शङ्खमूल माहात्म्य र कुम्भेश्वर महादेव, शकुनावली, आध्यात्मिक ज्ञानभण्डार, आस्था, श्रीकृष्ण रहस्य, राधा चरणामृत, कन्याकुमारी, आत्मबोध, आत्मानुभूति, भगवती चरणामृत, माच, श्रीकृष्ण चरणामृत, कृपालु चरणामृत, गोत्रदर्पण, तीस कथा, योगदर्शन र म को हुँ ?

प्रा. डा. योगेन्द्रप्रसाद यादवलाई भाषासेवा सम्मान समर्पण गरिने

0

शब्दयात्रा प्रकाशनले २०८० सालको पद्मकला–भीमप्रसाद भाषासेवा सम्मान सिराहा जिल्लामा जन्मनुभएका राष्ट्रिय प्रतिभा भाषावैज्ञानिक प्रा. डा. योगेन्द्रप्रसाद यादवमा समर्पण गर्ने भएको छ । भाषाविज्ञानसँग सँग सम्बन्धित उहाँका ‘इस्युज इन मैथिली सिन्टेक्स’, ‘लिङ्ग्विस्टिक्स अ बेसिक कोर्स’, ‘भाषाविज्ञान’, ‘थ्योरिज अफ ग्रामर’, ‘कन्टेम्पोररी इस्युज इन नेपालिज लिङ्ग्विस्टिक्स’ जस्ता कृतिहरू प्रकाशित छन् । सम्मान ग्रहण गर्न स्वीकृति दिनुभएकोमा भाषावैज्ञानिक प्रा. डा. योगेन्द्रप्रसाद यादवप्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार व्यक्त गर्दछ । यसै वर्षदेखि हरेक वर्ष समर्पण गर्ने गरी व्यवस्था गरिएको यस सम्मानको कोष व्यवस्थापन भोजपुरका प्रतिभा लेखक प्रा. लालानाथ सुवेदी र उहाँका भाइहरूले आफ्ना मातापिताको स्मृतिमा गर्नुभएको हो । सम्मान चैत महिनामा समर्पण गरिनेछ ।

ध्रुव घिमिरेलाई बालसाहित्य सम्मान समर्पण गरिने

0

शब्दयात्रा प्रकाशनले २०८० सालको विष्णुमाया–टीकाप्रसाद बालसाहित्य सम्मान नुवाकोट जिल्लामा जन्मनुभएका राष्ट्रिय प्रतिभा बालसाहित्यकार ध्रुव घिमिरेमा समर्पण गर्ने भएको छ । उहाँका ‘जीत कसको हुँदैछ ?’, ‘चमेराको चुच्चो किन बुच्चो ?’, ‘पेटमा भूत कसरी पस्यो ?’, ‘अनौठा–अनौठा प्राणी र वनस्पति’, ‘के ? किन ? कसरी ?’, ‘कोइलीको घर’, ‘टुटिलो र धनेश’, ‘खुट्टे गन्ने खेल’, ‘अघिअघि रोटो पछिपछि केटो’ जस्ता बालसाहित्यिक कृतिहरू प्रकाशित छन् । सम्मान ग्रहण गर्न स्वीकृति दिनुभएकोमा बालसाहित्यकार ध्रुव घिमिरेप्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार व्यक्त गर्दछ । हरेक वर्ष समर्पण गरिने यस सम्मानको कोष व्यवस्थापन काभ्रेपलान्चोकका बालसाहित्यकार गोपाल पराजुलीले आफ्ना मातापिताको स्मृतिमा गर्नुभएको हो । सम्मान चैत महिनामा समर्पण गरिनेछ ।

शब्दयात्रा प्रकाशनबाट एकै दिन छवटा कार्यक्रम सम्पन्न

0

गत शुक्रबार बनेपामा एकै दिन एकैपटक छवटा कार्यक्रम सम्पन्न गरिएका छन् ।
शब्दयात्रा प्रकाशन र नीलकण्ठेश्वर धाम संरक्षण समितिको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा ती दुवै संस्थाको सहकार्यमा बनेपामा संस्थापित १०८ शिवलिङ्गको समुद्घाटन शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्री र नीलकण्ठेश्वर धाम संरक्षण समितिका अध्यक्ष कृष्णमणि कुइकेलले संयुक्त रूपमा गर्नुभयो । यो त्यस दिनको पहिलो कार्यक्रम थियो । त्यस कार्यक्रममा १०८ शिवलिङ्गको स्थापना गर्न भक्तजनबाट प्राप्त भएको आर्थिक सहयोगको विवरण हरि मञ्जुश्रीले प्रस्तुत गर्नुभएको थियो ।
दोस्रो कार्यक्रमका रूपमा नीलकण्ठेश्वर धाम परिसरमा नवनिर्मित शिवपाञ्चायन मन्दिरको समुद्घाटन गरियो । उक्त मन्दिर काठमाडौँको चोभारनिवासी विजयानन्द धिताल र दुर्गा धिताल दम्पतीले आफ्नै खर्चमा निर्माण गरी हस्तान्तरण गर्नुभएको थियो । उहाँहरूलाई शब्दयात्रा प्रकाशन र नीलकण्ठेश्वर धाम संरक्षण समितिका तर्फबाट हरि मञ्जुश्री र कृष्णमणि कुइकेलले संयुक्त रूपमा सम्मान गर्नुभएको थियो ।
तेस्रो कार्यक्रमका रूपमा नीलकण्ठेश्वर महादेवको आरतीलाई सार्वजनिक गरिएको थियो । आरतीका लेखक तथा सङ्गीतकार हरि मञ्जुश्री हुनुहुन्छ भने त्यसमा हरि मञ्जुश्री, इ. रोशन मञ्जुश्री अधिकारी, कृष्णमणि कुइकेल, बबिता प्याकुरेल, कालिका त्रिपाठी पन्त र बालकृष्ण सेवाचार्यको स्वर रहेको छ ।
त्यसै गरी सोही चौथो कार्यक्रमका रूपमा शब्दयात्रा प्रकाशनको कार्यक्रम समापन गानलाई पनि सार्वजनिक गरिएको थियो । गीतकार तथा सङ्गीतकार हरि मञ्जुश्री रहनुभएको उक्त गीत इ. रोशन मञ्जुश्री अधिकारी, मच्छेश्वर सापकोटा, सरस्वती सापकोटा, शिव बन्जारा, कृष्णमणि कुइकेल, कालिका त्रिपाठी पन्त र पुण्यवती घलेको स्वर रहेको छ । दुवै गीतको स्वराङ्कन बनेपामा अवस्थित फ्लुटर स्टुडियोमा गरिएको थियो ।
पाँचौँ कार्यक्रमका रूपमा नीलकण्ठेश्वर आरतीको र छैटौँ कार्यक्रमका रूपमा शब्दयात्रा प्रकाशनको कार्यक्रम समापन गानको छायाङ्कन गरिएको थियो । दुवै गीतको छायाङ्कन बालकृष्ण सेवाचार्यले गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन सञ्चारकर्मी शिव बन्जाराले गर्नुभएको थियो । कार्यक्रममा प्रदीप केसी, डा. इन्दुल केसी, जयनारायण नेपाल, पदम दाहाल, ढुण्डिराज पोखरेल, डा. छत्रपति दाहाल, दामोदर घिमिरे लगायत सयौँ भक्तजनको उपस्थिति रहेको थियो ।

हरिःशरणम् आमामा आमसञ्चार सम्मान समर्पण गरिने

0

शब्दयात्रा प्रकाशनले २०८० सालको देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान काठमाडौँ जिल्लामा जन्मनुभएकी राष्ट्रिय प्रतिभा रेडियोकर्मी लक्ष्मी भुसालमा समर्पण गर्ने भएको छ । उहाँलाई कृषि कार्यक्रमकी हरिःशरणम् आमा भनेर चिन्ने गरिन्छ । आमसञ्चार माध्यमको उपयोग गर्दै उहाँले रेडियो नेपालको कृषि कार्यक्रमबाट साढे पाँच दशक अघिदेखि नेपाली कृषकहरूलाई आफ्नो विशिष्ट आवाजमा उपयोगी ज्ञान दिइरहनुभएको छ । सम्मान ग्रहण गर्न स्वीकृति दिनुभएकोमा रेडियोकर्मी लक्ष्मी भुसालप्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार व्यक्त गर्दछ । हरेक वर्ष समर्पण गरिने यस सम्मानको कोष व्यवस्थापन मोरङका साहित्यकार सुनील सापकोटाले प्रथम लोकतान्त्रिक पत्रकार आफ्ना बुढाहजुरबुबा देवीप्रसाद सापकोटाको स्मृतिमा गर्नुभएको हो । सम्मान चैत महिनामा समर्पण गरिनेछ ।

मुकुन्द शर्मा चालिसेलाई कविताकाव्य सम्मान समर्पण गरिने

0

शब्दयात्रा प्रकाशनले २०८० सालको वसन्त शर्मा कविताकाव्य सम्मान बागलुङ जिल्लामा जन्मनुभएका राष्ट्रिय प्रतिभा कवि मुकुन्द शर्मा चालिसेमा समर्पण गर्ने भएको छ । उहाँका ‘मातृत्व यस्तो हुन्छ’ र ‘हिमबाला’ (दुईवटै खण्डकाव्य), ‘रामायण चम्पू’ र ‘महाभारत चम्पू’ (दुईवटै चम्पूकाव्य), ‘पावनपथ’, ‘अपराजिता’ र ‘विश्वरूप’ (तीनैवटा महाकाव्य), ‘शुक्लयजुर्वेद’, ‘सामवेद’ र ‘सौन्दर्यलहरी’ (तीनैवटा पद्यानुवाद) आदिजस्ता काव्यकृति र कवितासङ्ग्रहहरू प्रकाशित छन् । सम्मान ग्रहण गर्न स्वीकृति दिनुभएकोमा कवि मुकुन्द शर्मा चालिसेप्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार व्यक्त गर्दछ । हरेक वर्ष समर्पण गरिने यस सम्मानको कोष व्यवस्थापन काभ्रेपलान्चोकका कवि कविप्रसाद प्याकुरेलले प्रथम खण्डकाव्यकार वसन्त शर्माको स्मृतिमा गर्नुभएको हो । सम्मान चैत महिनामा समर्पण गरिनेछ ।

डा. षडानन्द पौड्यालमा अनुसन्धान सम्मान समर्पण गरिने

0
शब्दयात्रा प्रकाशनले २०८० सालको जयदेव अधिकारी अनुसन्धान सम्मान पर्वत जिल्लामा जन्मनुभएका राष्ट्रिय प्रतिभा डा. षडानन्द पौड्यालमा समर्पण गर्ने भएको छ । उहाँका धवलागिरिको नेपाली साहित्य, आधुनिक नेपाली कथामा सामाजिक सम्बन्ध, नेपाली आख्यानमा शरीर राजनीति, नेपाली आख्यानमा अमूर्त संस्कृति, नेपाली लोकविश्वास, प्रागैतिहासिक सम्पदा पार्वती जन्मभूमि जस्ता अनुसन्धानात्मक कृतिहरू प्रकाशित छन् । सम्मान ग्रहण गर्न स्वीकृति दिनुभएकोमा अनुसन्धाता डा. षडानन्द पौड्यालप्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार व्यक्त गर्दछ । हरेक वर्ष समर्पण गरिने यस सम्मानको कोष व्यवस्थापन मोरङका शिक्षासेवी राजेन्द्र विरहीले आफ्ना शिक्षासेवी पिता पण्डित जयदेव अधिकारीको स्मृतिमा गर्नुभएको हो ।

चयन समितिद्वारा चयन

0

शब्दयात्रा प्रकाशनले गठन गरेको सम्मान्य व्यक्तित्व चयन समितिको बैठकले आगामी चैत महिनामा सम्मान गरिने व्यक्तित्वहरूको चयन गरेको छ । बैठक आज फागुन २३ गते सम्पन्न भएको हो । समितिमा रामप्रसाद अधिकारी, देवीप्रसाद ढुङ्गाना र पूर्णबहादुर कर्माचार्य हुनुहुन्छ । बैठकमा हरि मञ्जुश्री, कृष्णमणि कुइकेल र सङ्गीता केसीको पनि उपस्थिति थियो । चयन समितिले चयन गरेका व्यक्तित्वहरूलाई नै शब्दयात्रा प्रकाशनले सम्मान गर्नेछ । सम्मान गर्नुपर्ने व्यक्तित्वहरूको चयन गरिदिएकोमा चयन समितिप्रति हार्दिक आभार व्यक्त गर्दछु । सम्मान गरिने व्यक्तित्वहरूको नामोल्लेख पछि क्रमशः गरिनेछ ।