गत शुक्रबार बनेपामा एकै दिन एकैपटक छवटा कार्यक्रम सम्पन्न गरिएका छन् ।
शब्दयात्रा प्रकाशन र नीलकण्ठेश्वर धाम संरक्षण समितिको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा ती दुवै संस्थाको सहकार्यमा बनेपामा संस्थापित १०८ शिवलिङ्गको समुद्घाटन शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्री र नीलकण्ठेश्वर धाम संरक्षण समितिका अध्यक्ष कृष्णमणि कुइकेलले संयुक्त रूपमा गर्नुभयो । यो त्यस दिनको पहिलो कार्यक्रम थियो । त्यस कार्यक्रममा १०८ शिवलिङ्गको स्थापना गर्न भक्तजनबाट प्राप्त भएको आर्थिक सहयोगको विवरण हरि मञ्जुश्रीले प्रस्तुत गर्नुभएको थियो ।
दोस्रो कार्यक्रमका रूपमा नीलकण्ठेश्वर धाम परिसरमा नवनिर्मित शिवपाञ्चायन मन्दिरको समुद्घाटन गरियो । उक्त मन्दिर काठमाडौँको चोभारनिवासी विजयानन्द धिताल र दुर्गा धिताल दम्पतीले आफ्नै खर्चमा निर्माण गरी हस्तान्तरण गर्नुभएको थियो । उहाँहरूलाई शब्दयात्रा प्रकाशन र नीलकण्ठेश्वर धाम संरक्षण समितिका तर्फबाट हरि मञ्जुश्री र कृष्णमणि कुइकेलले संयुक्त रूपमा सम्मान गर्नुभएको थियो ।
तेस्रो कार्यक्रमका रूपमा नीलकण्ठेश्वर महादेवको आरतीलाई सार्वजनिक गरिएको थियो । आरतीका लेखक तथा सङ्गीतकार हरि मञ्जुश्री हुनुहुन्छ भने त्यसमा हरि मञ्जुश्री, इ. रोशन मञ्जुश्री अधिकारी, कृष्णमणि कुइकेल, बबिता प्याकुरेल, कालिका त्रिपाठी पन्त र बालकृष्ण सेवाचार्यको स्वर रहेको छ ।
त्यसै गरी सोही चौथो कार्यक्रमका रूपमा शब्दयात्रा प्रकाशनको कार्यक्रम समापन गानलाई पनि सार्वजनिक गरिएको थियो । गीतकार तथा सङ्गीतकार हरि मञ्जुश्री रहनुभएको उक्त गीत इ. रोशन मञ्जुश्री अधिकारी, मच्छेश्वर सापकोटा, सरस्वती सापकोटा, शिव बन्जारा, कृष्णमणि कुइकेल, कालिका त्रिपाठी पन्त र पुण्यवती घलेको स्वर रहेको छ । दुवै गीतको स्वराङ्कन बनेपामा अवस्थित फ्लुटर स्टुडियोमा गरिएको थियो ।
पाँचौँ कार्यक्रमका रूपमा नीलकण्ठेश्वर आरतीको र छैटौँ कार्यक्रमका रूपमा शब्दयात्रा प्रकाशनको कार्यक्रम समापन गानको छायाङ्कन गरिएको थियो । दुवै गीतको छायाङ्कन बालकृष्ण सेवाचार्यले गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन सञ्चारकर्मी शिव बन्जाराले गर्नुभएको थियो । कार्यक्रममा प्रदीप केसी, डा. इन्दुल केसी, जयनारायण नेपाल, पदम दाहाल, ढुण्डिराज पोखरेल, डा. छत्रपति दाहाल, दामोदर घिमिरे लगायत सयौँ भक्तजनको उपस्थिति रहेको थियो ।