शब्दयात्रा प्रकाशनले २०८० सालको विष्णुमाया–टीकाप्रसाद बालसाहित्य सम्मान नुवाकोट जिल्लामा जन्मनुभएका राष्ट्रिय प्रतिभा बालसाहित्यकार ध्रुव घिमिरेमा समर्पण गर्ने भएको छ । उहाँका ‘जीत कसको हुँदैछ ?’, ‘चमेराको चुच्चो किन बुच्चो ?’, ‘पेटमा भूत कसरी पस्यो ?’, ‘अनौठा–अनौठा प्राणी र वनस्पति’, ‘के ? किन ? कसरी ?’, ‘कोइलीको घर’, ‘टुटिलो र धनेश’, ‘खुट्टे गन्ने खेल’, ‘अघिअघि रोटो पछिपछि केटो’ जस्ता बालसाहित्यिक कृतिहरू प्रकाशित छन् । सम्मान ग्रहण गर्न स्वीकृति दिनुभएकोमा बालसाहित्यकार ध्रुव घिमिरेप्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार व्यक्त गर्दछ । हरेक वर्ष समर्पण गरिने यस सम्मानको कोष व्यवस्थापन काभ्रेपलान्चोकका बालसाहित्यकार गोपाल पराजुलीले आफ्ना मातापिताको स्मृतिमा गर्नुभएको हो । सम्मान चैत महिनामा समर्पण गरिनेछ ।