शब्दयात्रा प्रकाशनले २०८० सालको राष्ट्रझङ्कार सम्मान ताप्लेजुङ जिल्लामा जन्मनुभएका राष्ट्रिय प्रतिभा पूर्वप्रशासक तथा कूटनीतिज्ञ श्री सूर्यप्रसाद श्रेष्ठमा समर्पण गर्ने भएको छ । पूर्वअञ्चलाधीश, पूर्वसचिव, राष्ट्रिय योजना आयोगको पूर्वसहसदस्य, पूर्व प्रमुख निर्वाचन आयुक्त तथा पूर्वराजदूतका रूपमा प्रशासनिक र कूटनीतिक क्षेत्रबाट राष्ट्रका लागि विशिष्ट भूमिका निर्वाह गर्नुभएका उहाँ स्वच्छ र निष्कलङ्क व्यक्तिका रूपमा सुपरिचित हुनुहुन्छ । उहाँ उमेरको आठ दशकपछि पनि सामाजिक जीवनमा उत्तिकै सक्रिय हुनुहुन्छ । सम्मान ग्रहण गर्न स्वीकृति दिनुभएकोमा उहाँप्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार व्यक्त गर्दछ । यस सम्मानको कोष व्यवस्थापन काभ्रेपलान्चोकका प्रतिभा साहित्यकार कृष्णहरि मैनालीले आफ्ना पितामाता काशीनाथ–मायादेवीको स्मृतिमा गर्नुभएको हो । सम्मान चैत महिनामा समर्पण गरिनेछ ।