डा. इन्दुल केसी र पदम दाहालले संयुक्त रूपमा लेखन तथा सम्पादन गर्नुभएको प्रस्तुत पुस्तक ‘एक–अर्काका दृष्टिमाथि समीक्षकका पुनर्दृष्टि’ त्रिकोणात्मक विषय–संयोजन भएको प्रयोगपरक कृति हो । तीन खण्डमा विभक्त यस पुस्तकको पहिलो खण्डमा डा. इन्दुल केसीको लेखन, दोस्रो खण्डमा पदम दाहालको लेखन तथा तेस्रो खण्डमा ‘एक–अर्काका दृष्टि दुई व्यक्तिका कृति’ पुस्तकमाथि डा. कृष्णप्रसाद दाहाल, डा. यज्ञेश्वर निरौला, प्रजापति तिमिल्सिना, डा. सीता सुवेदी पन्थी र चूडाप्रसाद चौलागाईका दृष्टिकोणहरू सङ्कलित छन् । यसमा जीवनाथ अधिकारीले भूमिका लेख्नुभएको छ । तेस्रो खण्डमा लेखिएका दृष्टिकोणहरू डा. इन्दुल केसी र पदम दाहालको संयुक्त लेखनमा प्रकाशित ‘एक–अर्काका दृष्टि दुई व्यक्तिका कृति’ पुस्तकमाथिका पाठकीय दृष्टिकोणहरू हुन् । यसरी यस पुस्तकले स्रष्टा र स्रष्टाको सृष्टि, द्रष्टा र द्रष्टाको दृष्टि तथा ती चारैवटाको संयोजन प्रस्तुत गरी एकै सन्दर्भका पाँच आयामलाई जोडेर नवीन र विशेष विशेषता पाठकसमक्ष प्रस्तुत गरेको छ । यस्तो मौलिक र सुन्दर सोच र सोचको कार्यान्वयनका लागि लेखक तथा सम्पादक डा. इन्दुल केसी र पदम दाहाल वन्दनीय हुनुहुन्छ ।
२२६. सावित्री स्मृति
डा. इन्दुल केसीले सम्पादन गर्नुभएको प्रस्तुत पुस्तक ‘सावित्री स्मृति’ आफ्नी धर्मपत्नी सावित्री राणा केसीको निधनपछि उहाँले विभिन्न सामग्रीहरू सङ्कलन गरी तयार पार्नुभएको स्मृतिसँगालो हो । धर्मपत्नीलाई अर्धाङ्गिनी भनिन्छ । आधा अङ्ग गएर आधा अङ्ग रहेको अवस्था हरेक मान्छेका लागि दुःखद अवस्था हो । त्यस्तो अवस्था भोगिरहनुभएका डा. इन्दुल केसीले आफ्नो मनोव्यथालाई मुखले प्रकट नगरी अक्षरहरूमा देख्न चाहनुभयो र यो पुस्तक तयार पार्नुभयो । यस पुस्तकमा सावित्री राणा केसीको जीवनवृत्त, स्वास्थ्यसमस्याको विवरण, उहाँसँगका स्मरणहरू, उहाँको निधनसम्बन्धी समाचारहरू, निधनपछि प्राप्त भएका समवेदना सन्देशहरू र केही तस्बिरहरू सङ्कलन गरिएका छन् । त्यसैले यस पुस्तकका अक्षर–अक्षरमा डा. इन्दुल केसीभित्रका पीडाहरू पाउन सकिन्छ ।
टेलिभिजन उपहार अतिथिशालाका लागि
आठ व्यक्तित्वमा सम्मान समर्पण
आज शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित सम्मान समर्पण समारोहमा राष्ट्रका आठजना राष्ट्रिय व्यक्तित्वलाई सम्मान गरियो । समारोहमा राष्ट्रझङ्कार सम्मानबाट पूर्वप्रशासक तथा कूटनीतिज्ञ सूर्यप्रसाद श्रेष्ठ (ताप्लेजुङ), भाषासेवा सम्मानबाट भाषावैज्ञानिक डा. योगेन्द्रप्रसाद यादव (सिराहा), समालोचना सम्मानबाट समालोचक डा. सुषमा आचार्य (काठमाडौँ) र कविताकाव्य सम्मानबाट मुकुन्द शर्मा चालिसे (बागलुङ) सम्मानित हुनुभयो । यसै गरी आमसञ्चार सम्मान हरिःशरणम् आमा लक्ष्मी भुसाल (काठमाडौँ) मा, हास्यव्यङ्ग्य सम्मान चट्याङ मास्टर (भक्तपुर) मा, बालसाहित्य सम्मान डा. ध्रुव घिमिरे (नुवाकोट) मा र अनुसन्धान सम्मान डा. षडानन्द पौड्याल (पर्वत) मा समर्पण गरियो । उहाँहरूलाई सावित्री जङ्गम थापा, गोपाल पराजुली, हरिगोपाल प्रधान, शारदाप्रसाद शर्मा, कविप्रसाद प्याकुरेल, गीता अधिकारी, राजेन्द्र विरही र पूर्णबहादुर कर्माचार्यले अभिवन्दनापत्र, किरीट, भेटी, रुद्राक्षमाला र उपहारले सम्मान गर्नुभएको थियो । सम्मानित व्यक्तित्वहरूलाई भरत जङ्गम, लीलादेवी श्रेष्ठ र दीपरत्न शाक्यका तर्फबाट थप उपहारहरू समर्पण गरिएका थिए । सम्मानित व्यक्तित्वहरूको चिनारी चयन समितिका संयोजक शिक्षासेवी रामप्रसाद अधिकारीले गराउनुभएको थियो । सम्मान सामग्रीको व्यवस्थापन पुण्यवती घलेले र प्रमाणपत्रको वाचन कालिका त्रिपाठी पन्तले गर्नुभएको थियो भने सञ्चालन हरि मञ्जुश्रीबाट गरिएको थियो । समारोहमा स्वास्थ्यको प्रतिकूलताका कारण डा. योगेन्द्रप्रसाद यादव उपस्थित हुन सक्नुभएको थिएन, त्यसैले उहाँको निवाससम्म लगिदिने गरी उहाँका तर्फबाट चयन समितिका सदस्य देवीप्रसाद ढुङ्गानाले सम्मान सामग्री ग्रहण गर्नुभएको थियो ।
गजलसङ्ग्रह ‘प्रसिद्धि’ सार्वजनिक
गजलकार सुशीला विष्टद्वारा लिखित पहिलो गजलसङ्ग्रह ‘प्रसिद्धि’ शब्दयात्रा प्रकाशनको सभाकक्षमा आज चैत २४ गते आयोजित पुस्तक सार्वजनिकीकरण समारोहमा सार्वजनिक गरियो । अनुसन्धाता, लेखक तथा समालोचक डा. षडानन्द पौड्याल र कृतिकार सुशीला विष्टले संयुक्त रूपमा उक्त गजलसङ्ग्रहलाई थैलीबाट झिकेर सार्वजनिक गर्नुभएको थियो । उक्त कार्यक्रममा ‘प्रसिद्धि’ माथि अन्वेषक, समीक्षक, अनुवादक तथा कवि डा. छत्रपति दाहालले समीक्षात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो भने कृतिकार सुशीला विष्टले ‘प्रसिद्धि’ मा रहेका गजलहरूमध्येबाट आफूलाई अत्यधिक मन परेको एउटा गजल वाचन गर्नुभएको थियो ।
सम्मान कार्यक्रम चैत २४ गते
शब्दयात्रा प्रकाशनले यही चैत २४ गते शनिबार ८ जना राष्ट्रिय व्यक्तित्वलाई सम्मान समर्पण गर्ने भएको छ । त्यस दिन राष्ट्रझङ्कार सम्मानबाट सूर्यप्रसाद श्रेष्ठ (ताप्लेजुङ), भाषासेवा सम्मानबाट प्रा. डा. योगेन्द्रप्रसाद यादव (सिराहा), समालोचना सम्मानबाट प्रा. डा. सुषमा आचार्य (काठमाडौँ), बालसाहित्य सम्मानबाट प्रा. डा. ध्रुव घिमिरे (नुवाकोट), अनुसन्धान सम्मानबाट डा. षडानन्द पौड्याल (पर्वत), कविता–काव्य सम्मानबाट मुकुन्द शर्मा चालिसे (बागलुङ), हास्यव्यङ्ग्य सम्मानबाट चट्याङ मास्टर (भक्तपुर) र आमसञ्चार सम्मानबाट हरिःशरणम् आमै भनी चिनिने लक्ष्मी भुसाल (काठमाडौँ) मा सम्मान समर्पण गरिनेछ । शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा हुने सम्मान समर्पण समारोह दिउँसो १ बजे प्रारम्भ हुनेछ ।
चट्याङ मास्टरलाई हास्यव्यङ्ग्य सम्मान समर्पण गरिने
२२५. योगदर्शन
संस्कृत भाषामा लेखिएको पतञ्जलि योगदर्शनलाई दिवाकर जङ्गमले सरल नेपाली भाषामा शब्दार्थसहित भावानुवाद गर्नुभएको ‘योगदर्शन’ नामक प्रस्तुत पुस्तक योगविषयक प्रामाणिक पुस्तक हो । शास्त्रसम्मत र विज्ञानसम्मत रूपबाट सम्पूर्ण मानवको चौतर्फी हितका लागि योगसाधना गर्न यसको विज्ञान र दर्शनलाई बुझ्नुपर्ने हुन्छ । त्यसैका लागि यो पुस्तक प्रकाशन गरिएको हो । यस पुस्तकले योगसाधना गर्दा नवयोगाभ्यासीहरूलाई योगदर्शनका सूत्रहरू बुझ्न सघाउनेछ र योगानुरागीहरूको योग–ध्यान–साधनामा थोरै पनि सहयोग गर्नेछ ।
२२४. म को हुँ ?
अद्भुत आध्यात्मिक अनुभूतिहरू समेटेर दीपरत्न शाक्यले लेख्नुभएको ‘म को हुँ ?’ नामक यस पुस्तकमा मानव जीवनको सार्थकता केमा छ, जीवन के हो, मनमा आउने अनावश्यक तर्कनालाई कसरी नियन्त्रण गर्ने, जीवनको लक्ष्य कसरी निर्धारण गर्ने, जीवनलाई समाजोपयोगी बनाउने उपाय के हो, आफूलाई कसरी बुझ्ने आदि जिज्ञासाहरूको समाधान गरिएको छ । विभिन्न विकृतिहरूका कारण मानसिक रोगीहरू बढिरहेको र जीवनको लक्ष्य पत्ता लगाउन नसकेर छटपटीमा परिरहेको वर्तमान समयमा यो पुस्तक मार्गदर्शक बन्नेछ र यसले आध्यात्मिक साधनाद्वारा आफूलाई चिन्न र जीवनलाई बुझ्न सहयोग गर्नेछ ।