शब्दयात्रा प्रकाशनले शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठानको भौतिक संरचना निर्माण समितिमा च्याङबा (खाइबा) लामालाई मनोनीत गरेको छ । उहाँसमेत समितिमा ७ जना पुग्नुभएको छ ।
आवश्यकताअनुसार थप सदस्यहरू पछि मनोनीत गरिनेछन् ।
निर्माण समितिमा च्याङबा लामा
हार्दिक समवेदना
शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा प्रकाशन हरिगोपाल प्रधान कदरपत्र’ प्रदान गरेका काभ्रेली पत्रकार नवराज बजगाईंकी माता खिनमाया बजगाईंको दुःखद निधन भएको खबरले हामीलाई स्तब्ध बनाएको छ । दिवङ्गत आत्माको मोक्षप्राप्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं ।
शब्दयात्रा प्रकाशन
हार्दिक समवेदना
शब्दयात्रा प्रकाशनद्वारा गठित सम्मानित व्यक्तित्व चयन समिति (नवौं) का सदस्य जगन्नाथ गिरीका पिता तिलक गिरीको दुःखद निधन गत २०७४ भदौ ७ गते भएको खबरले हामीलाई स्तब्ध बनाएको छ । दिवङ्गत आत्माको मोक्षप्राप्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं ।
शब्दयात्रा प्रकाशन
गोसाइँस्थान नैमिषारण्य क्षेत्र विकास समिति
सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण विशेष ः संयोजक पदमनाथ ढुङ्गाना
सम्मानित व्यक्तित्व चयन समिति (बीसौं)
नाम ः रामहरि न्यौपाने
जन्ममिति ः २०३१ मङ्सिर २९
जन्मस्थान ः धुलिखेल — २, काभ्रे
बसोबास ः बनेपा — ९, काभ्रे
अध्ययन ः सङ्गीत प्रभाकर (शास्त्रीय सङ्गीत, गायन)
सेवाक्षेत्र ः विभिन्न विद्यालयमा सङ्गीत प्रशिक्षण १० वर्ष
अनुभव ः सङ्गीत तथा लेखन
विशेष पहिचान ः गायक तथा सङ्गीतकार
कृति ः छवटा एकल गीति एल्बम
रुचि ः नेपाली मौलिक सङ्गीतको विकास
नाम ः सुनील सापकोटा
जन्ममिति ः २०१४ भदौ ऋषिपञ्चमी
जन्मस्थान ः विराटनगर, मोरङ
बसोबास ः कौशलटार, भक्तपुर
अध्ययन ः बीकम, बीएल
सेवाक्षेत्र ः बैङ्क र सामाजिक संस्थाहरू
अनुभव ः बैङ्किङ, लेखन
विशेष पहिचान ः जीवनीकार, लेखक
कृति ः एक पुस्तक र एक गीति एल्बम
रुचि ः प्रकाशन
नाम ः पूर्णबहादुर कर्माचार्य
जन्ममिति ः २००६ कार्तिक १८
जन्मस्थान ः रोसी गाउँपालिका, मङ्गलटार, काभ्रे
बसोबास ः धुलिखेल — ४, श्रीखण्डपुर, काभ्रे
अध्ययन ः प्रवीणता प्रमाणपत्र तह
सेवाक्षेत्र ः सामाजिक सेवा
अनुभव ः शिक्षण
विशेष पहिचान ः जनप्रतिनिधि, शिक्षक
कृति ः श्रीखण्डपुरको चिनारी, श्रीखण्डपुरका देवीदेवताहरू
रुचि ः सामाजिक सेवा र लेखन
नाम ः अम्बिका धिताल
जन्ममिति ः २०४५ फागुन ८
जन्मस्थान ः धुलिखेल — ११, काभ्रे
बसोबास ः भक्तपुर न. पा. — ४, कमलविनायक
अध्ययन ः एमएड, एलएलबी
सेवाक्षेत्र ः शिक्षण
अनुभव ः शिक्षण ११ वर्ष
विशेष पहिचान ः अधिकारकर्मी
कृति ः फुटकर लेखरचना
रुचि ः सामाजिक सेवा, लेखन
समर्पण गरिने सम्मानका व्यवस्थापकहरू
सुदर्शन आचार्य
शब्दयात्रा प्रकाशनबाट हरेक वर्षको भदौ महिनामा समर्पण गर्ने गरी संस्थापित ‘शब्दयात्रा आध्यात्मिक पत्रकारिता सम्मान’ को आर्थिक व्यवस्थापन यस वर्षदेखि श्री सुदर्शन आचार्यले गर्नुभएको छ । आध्यात्मिक र सामाजिक क्षेत्रमा निरन्तर लागिरहनुभएका उहाँ यातायात व्यवसायी पनि हुनुहुन्छ । ‘नेपालभूमि साप्ताहिक पत्रिका’ मार्फत विभिन्न फुटकर लेखरचनाहरू प्रकाशित गरिसक्नुभएका उहाँ आगामी दिनमा शब्दयात्रा प्रकाशनबाटै पुस्तक प्रकाशित गर्ने सोचमा हुनुहुन्छ । उहाँ शब्दयात्रा प्रकाशनको सम्मानित व्यक्तित्व चयन समितिका सदस्य पनि हुनुहुन्छ । आध्यात्मिक तथा सामाजिक क्षेत्रमा रुचि राख्ने उहाँ लेखनमा रुचि भएको बताउनुहुन्छ । नेपालको प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाइँस्थान नैमिषारण्य क्षेत्रको स्थापना र विकास तथा गुरुकुलको संस्थापनलगायतका कार्यमा पनि उहाँ संलग्न हुनुहुन्छ ।
हरिगोपाल प्रधान
शब्दयात्रा प्रकाशनबाट हरेक वर्ष भदौ महिनामा समर्पण गर्ने गरी संस्थापित ‘शब्दयात्रा फोटो पत्रकारिता सम्मान’ को आर्थिक व्यवस्थापन श्री हरिगोपाल प्रधानले गर्नुभएको छ । फोटो पत्रकारिता, पत्रिका सम्पादन, प्रशासनिक तथा प्राविधिक क्षेत्रहरूमा अनुभव लिँदै र बाँड्दै आउनुभएको छ उहाँ । शब्दयउात्रा प्रकाशनका संस्थापक सदस्य उहाँ नेपाल रेडक्रस सोसाइटी, परिवार नियोजन, अर्बुद रोग निवारण संस्था, युनेस्को पत्रकार, शान्ति शिक्षा प्रतिष्ठान, अन्तर्राष्ट्रिय पत्रकार सङ्घ जस्ता संस्थाहरूमा आबद्ध भई समाजसेवाका क्षेत्रमा संलग्न हुनुभएको छ । विभिन्न विधामा सम्मानित भइसक्नुभएका उहाँले शब्दयात्रा प्रकाशनबाट विभिन्न विधामा गरिने सम्मान समर्पणमा आवश्यक पर्ने सम्मानपत्र, कदरपत्र र स्वागत सामग्रीहरू उपलब्ध गराई सहयोग गर्नुभएको छ ।
योगेन्द्र खत्री
शब्दयात्रा प्रकाशनबाट हरेक वर्षको भदौ महिनामा समर्पण गर्ने गरी संस्थापित ‘शब्दयात्रा साहित्यिक पत्रिका सम्मान’ को आर्थिक व्यवस्थापन श्री योगेन्द्र खत्रीले गर्नुभएको छ । पत्रकारिता र साहित्यलाई आफ्नो कर्म ठान्ने उहाँ समाजसेवामा पनि संलग्न हुुनुहुन्छ । साहित्यिक क्षेत्रमा विशेष रुचि राख्ने उहाँले २०६८ सालमा शब्दयात्रा प्रकाशनबाट ‘थोपाथोपामा समुद्र’ नामक कवितासङ्ग्रह प्रकाशन गराउनुभएको छ । उहाँको रुचि पनि साहित्यिक पत्रकारिता नै हो । राष्ट्रिय साहित्यिक पत्रिकाहरूको उच्च कदर गर्दै समाजिक सुधारमा ती पत्रिकाहरूले ठूलो योगदान गरिरहेको बताउनुहुन्छ उहाँ । साहित्यिक क्षेत्रको विकासका लागि साहित्यिक पत्रिकालाई सम्मान गर्न आफ्नी आमाको स्मृतिमा उहाँले अक्षयकोषको व्यवस्था गर्नुभएको हो ।
नेपालभूमि साप्ताहिक
शब्दयात्रा प्रकाशनबाट हरेक वर्ष भदौ महिनामा समर्पण गर्ने गरी संस्थापित ‘शब्दयात्रा नेपालभूमि स्तम्भकार सम्मान’ को आर्थिक व्यवस्थापन ‘नेपालभूमि’ (विचारप्रधान राष्ट्रिय साप्ताहिक पत्रिका) ले गरेको छ । राष्ट्र र राष्ट्रियताप्रति समर्पित, नैतिकता र मानवताप्रति प्रतिबद्ध, सकारात्मक सोचको संवाहक, सामाजिक सन्तुलनप्रति कटिबद्ध तथा अक्षरकर्मीहरू र अक्षरप्रेमीहरूको सहयोगी ‘नेपालभूमि’ साप्ताहिक पत्रिकाले आम नेपाली समाजमा विभिन्न स्तम्भहरूबाट स्वतन्त्र वैचारिक खुराकका साथै निष्पक्ष सूचनाहरू सम्प्रेषण गर्ने गरेको छ । शिक्षा, स्वास्थ्य, धार्मिक, सामाजिक, राजनीतिक क्षेत्रका चिन्तन र सूचनाहरू आम जनताका माझ पु¥याइरहेको यो पत्रिका शब्दयात्रा प्रकाशनले सामाजिक उत्तरदायित्वको निर्वाह गर्दै हरेक अङ्क पाँच सय प्रति निःशुल्क वितरण गर्दै आएको छ ।
सम्मानित व्यक्तित्वहरू
पुरुषोत्तम सापकोटा
सन् १९४९ नोभेम्बर ११ मा विराटनगरमा जन्मनुभएका आध्यात्मिक व्यक्तित्व हुनुुहुन्छ पुरुषोत्तम सापकोटा । संस्कृतमा आचार्य तह उत्तीर्ण गर्नुभएका उहाँले ३५ वर्षसम्म रेडियो नेपालमा धार्मिक कार्यक्रम सञ्चालन गर्नुभएको थियो । आध्यात्मिक तथा धार्मिक क्षेत्रमा लागेका सबै नेपालीहरूका बीच लोकप्रिय हुनुहुन्छ उहाँ । रेडियो नेपालका पूर्वनिर्देशक तथा धार्मिक कार्यक्रमका वरिष्ठ प्रस्तोता उहाँ रेडियो नेपालबाट अवकाश प्राप्त भएपछि पुराणमार्फत पनि आध्यात्मिक जागरणको कार्य गर्दै समाजसेवामा लाग्नुभएको छ । समाजलाई आध्यात्मिक क्षेत्रबाट अनुशाशित, स्वाभिमानी र नैतिकवान् बनाउन नेपालका विभिन्न जिल्लहरूलगायत प्रवासी नेपालीहरूका माझसम्म पुग्नुभएको छ उहाँ । आध्यात्मिक लेखनमा बढी रुचि राख्ने उहाँले दर्जनौँ नेपाली आध्यात्मिक भजन तथा गीतहरू रेडियोबाट प्रसारण गराइसक्नुभएको छ । राष्ट्रिय स्तरका बौद्धिक प्रतिभा उहाँजस्ता स्थापित व्यक्तित्वलाई शब्दयात्रा प्रकाशनद्वारा संस्थापित ‘शब्दयात्रा आध्यात्मिक पत्रकारिता सम्मान, २०७४’ द्वारा सम्मानित गर्न पाउँदा यस संस्थाले गौरव महसुस गरेको छ ।
प्रेम कैदी
प्रेम कैदी कालिकोट जिल्लामा जन्मेका पुराना पत्रकार हुनुहुन्छ । उहाँले एमए, बीएलसम्मको अध्ययन गर्नुभएको छ । उहाँ वरिष्ठ पत्रकार तथा साहित्यकार हुनुहुन्छ । उहाँले उपन्यास, कविता, कथा र यात्रासंस्मरण विधामा कलम चलाउनुभएको छ । उहाँ स्तम्भकार, सम्पादक तथा प्रकाशक पनि हुनुहुन्छ । उहाँले सम्पादन गर्नुभएको ‘युगधारा’ पत्रिका कुनै बेला निकै चर्चित थियो । लामो समयसम्म पत्रकारिता गरेर वरिष्ठ पत्रकारका रूपमा ख्याति आर्जन गर्नुभएका उहाँ श्रमजीवी पत्रकारहरूको हकहितका लागि खोलिएको पहिलो सङ्गठनका संस्थापक अध्यक्ष पनि हुनुहुन्छ । आमसञ्चारसँग सम्बद्ध विभिन्न गोष्ठीहरूमा सहभागी बनेर कार्यपत्रहरू प्रस्तुत गर्नुभएका उहाँ आफ्नो विषयका विज्ञ र गहिरो अध्ययन भएका विशेषज्ञका रूपमा सुपरिचित हुनुहुन्छ । राजनीतिमा पनि उहाँको उत्तिकै रुचि छ । कर्णाली अञ्चलप्रति उहाँको बढी मोह छ । उहाँ हाल ललितपुरमा बसोबास गर्नुहुन्छ । उहाँजस्ता स्थापित व्यक्तित्वलाई शब्दयात्रा प्रकाशनद्वारा संस्थापित ‘नेपालभूमि स्तम्भकार सम्मान, २०७४’ बाट सम्मानित गर्न पाउँदा यस संस्थाले गौरवान्वित अनुभव गरेको छ ।
वसन्तकुमार चित्रकार
सन् १९५३ सेप्टेम्बर ११ मा जन्मनुभएको हो वसन्तकुमार चित्रकार । उहाँ नेपालका एक अनुभवी फोटोग्राफर हुनुहुन्छ । नेपाल सरकारको निजामती सेवामा ३८ वर्ष काम गर्नुभयो उहाँले । त्यसमा १८ वर्षसम्म त प्रमुख फोटोग्राफरकै रूपमा काम गर्नुभयो । फोटोग्राफी टेक्नोलोजीमा स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएको छ उहाँले । हाम्रो देशका राजा, राजपरिवारका सदस्यहरू, राष्ट्रपति, प्रधानमन्त्रीहरू अन्य मुलुकमा जाँदा सरकारका तर्फबाट आधिकारिक फोटोग्राफरका रूपमा उहाँ नै जानुहुन्थ्यो । नेपालको एक सफल फोटोग्राफरका रूपमा चिनिनुहुने उहाँ गोरखादक्षिणबाहु, वीरेन्द्र–ऐश्वर्य सेवापदक, गान्धी आरोहण रजतजयन्ती पदकलगायत अन्य धेरै पदकबाट विभूषित भइसक्नुभएको छ । लुम्बिनी अन्तर्राष्ट्रिय अध्ययन प्रतिष्ठानसँग आबद्ध उहाँले जर्मनी, फ्रान्स, स्विटजरल्यान्ड, दक्षिण अफ्रिका, इजिप्ट, इन्डोनेसिया, सिङ्गापुर, श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान, चीन, भारत लगायत राष्ट्रहरूको भ्रमण गरिसक्नुभएको छ । उहाँको रुचि आर्ट र फोटोग्राफीमा छ । उहाँलाई सम्मान गर्न पाउँदा शब्दयात्रा प्रकाशन गौरवान्वित बनेको छ ।
दायित्व द्वैमासिक पत्रिका
वि. सं. २०४७ सालमा काठमाडौँबाट हरेक दुई महिनामा प्रकाशित हुने गरी साहित्यिक पत्रिकाका रूपमा विधिवत दर्ता भए पनि २०४४ सालदेखि नै सामयिक सङ्कलनका रूपमा साहित्यकार रामप्रसाद पन्तद्वारा सम्पादन हुँदै आएको द्वैमासिक साहित्यिक पत्रिका हो ‘दायित्व’ । दुई दर्जनभन्दा बढी विशेषाङ्क प्रकाशन गरिसकेको ‘दायित्व’ ले हालसम्म १०६ पूर्णाङ्क प्रकाशित गरिसकेको छ । प्रेस काउन्सिल नेपालद्वारा पुरस्कार प्राप्त गरिसकेको ‘दायित्व’ ले अन्य तीनवटा सम्मान र पुरस्कार पनि प्राप्त गरिसकेको छ । ‘दायित्व’ का विषयमा शोधकार्य पनि भइसकेको छ । यस पत्रिकाले वर्षभरि प्रकाशित रचनाहरूमध्ये उत्कृष्ट रचनालाई रु. १० हजार राशीको पुरस्कार पनि दिने गरेको छ । यही पत्रिकाको समूहबाट २०५७ सालमा ‘दायित्व वाङ्मय प्रतिष्ठान’ को गठन पनि भएको छ । त्यस प्रतिष्ठानबाट हालसम्ममा १०० वटा साहित्यिक कृतिहरू प्रकाशित भइसकेका छन् । यस्तो गरिमामय पत्रिकालाई २०७४ सालको ‘शब्दयात्रा साहित्यिक पत्रिका सम्मान’ बाट सम्मानित गर्न पाउँदा शब्दयात्रा प्रकाशनले गौरवान्वित अनुभव गरेको छ ।
सार्वजनिक गरिने कृतिको विवरण र कृतिकार
प्रकाशनपुष्प ः ८३
कृति ः परिवर्तित पाइला (नाटक)
कृतिकार ः गणेशबहादुर खत्री
प्रकाशनकाल ः साउन २०७४
प्रकाशनप्रति ः ५००
पृष्ठसङ्ख्या ः ८०
मूल्य ः १२५।–
प्रकाशनपुष्प ः ८४
कृति ः वेदान्तशिरोमणि एक संस्मरण (लेखसङ्ग्रह)
कृतिकार ः मुकुन्दप्रसाद उपाध्याय
प्रकाशनकाल ः साउन २०७४
प्रकाशनप्रति ः १०००
पृष्ठसङ्ख्या ः ६४
मूल्य ः निःशुल्क (पात्र हेरेर)
प्रकाशनपुष्प ः ८५
कृति ः मञ्जुश्री (ज्योतिषकाव्य)
कृतिकार ः श्रीधर प्याकु¥याल
प्रकाशनकाल ः भदौ २०७४
प्रकाशनप्रति ः ५००
पृष्ठसङ्ख्या ः ४८
मूल्य ः ७५।–
प्रकाशनपुष्प ः ८६
कृति ः अभियान (नाटक)
कृतिकार ः टेकलाल भारती
प्रकाशनकाल ः भदौ २०७४
प्रकाशनप्रति ः ५००
पृष्ठसङ्ख्या ः ६४
मूल्य ः १००।–
प्रकाशनपुष्प ः ८७
कृति ः हाम्रो बालक्लब (बालनाटक)
कृतिकार ः भवानी पाण्डे
प्रकाशनकाल ः भदौ २०७४
प्रकाशनप्रति ः ५००
पृष्ठसङ्ख्या ः ४०
मूल्य ः ६०।–
प्रकाशनपुष्प ः ८८
कृति ः माधुरी आचार्य (लघु–उपन्यास)
कृतिकार ः कृष्णमणि कुइँकेल र हरि मञ्जुश्री
प्रकाशनकाल ः भदौ २०७४
प्रकाशनप्रति ः १०००
पृष्ठसङ्ख्या ः ५६
मूल्य ः ७५।–
प्रकाशनपुष्प ः ८९
कृति ः कल्याणं ब्रुवन्तु (कवितासङ्ग्रह)
कृतिकार ः कल्याण लम्साल
प्रकाशनकाल ः भदौ २०७४
प्रकाशनप्रति ः ५००
पृष्ठसङ्ख्या ः ५६
मूल्य ः ८०।–
प्रकाशनपुष्प ः ९०
कृति ः शब्दयात्रा प्रकाशनको छ वर्ष
कृतिकार ः पदमनाथ ढुङ्गाना र शारदाप्रसाद शर्मा
प्रकाशनकाल ः भदौ २०७४
प्रकाशनप्रति ः १०००
पृष्ठसङ्ख्या ः १०४
मूल्य ः १५०।–
कदरपत्र पाउने काभ्रेली पत्रकारहरू
१. नाम ः राजकुमार गोले तामाङ
ठेगाना ः च्यासिङ्खर्क – ५, काभ्रे
शिक्षा ः प्रवीणता प्रमाणपत्र तह
तालिम पत्रकारिता र मानव अधिकारसम्वन्धि
पत्रकारिता अनुभव ः नवसंकेत, जनप्रतिरोध, नयाँ पत्रिका राष्ट्रिय दैनिक (२०६७ वैशाखदेखि हालसम्म) र रेडियो नमोबुद्ध एफएम
हालको संलग्नता ः प्रेस सेन्टर नेपाल काभ्रेको सहसचिव र नेपाल पत्रकार महासंघको सदस्य । विभिन्न पुरस्कार र सम्मान प्राप्त ।
२. नाम ः मधुसूदन तिमल्सिना
ठेगाना ः बेथानचोक — १, च्याम्राङबेशी, काभ्रे
शैक्षिक योग्यता ः स्नातक (एजुकेसन)
पत्रकारिताको यात्रा २०६५ सालदेखि स्थानीय साप्ताहिक ‘मध्यमार्ग’ को व्यवस्थापकबाट सुरु भएको । सहसम्पादकका रूपमा निरन्तर काम गर्दै आएको । २०७१ असोज १ देखि ‘गोरखापत्र राष्ट्रिय दैनिक’ मा काभे्र समाचारदाताका रूपमा काम गरिरहेको । हाल नेपाल पत्रकार महासङ्घ काभ्रे शाखाको सहसचिव तथा नेपाल पे्रस युनियन काभे्रको सचिव भएर काम गरिरहेको ।
कार्यक्रमका प्रमुख अतिथि डा. सुरेशराज शर्मा
डा. सुरेशराज शर्मा नेपालका शैक्षिक शिरोभूषण तथा काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति हुनुहुन्छ । उहाँ नर्वेबाट मानार्थ विद्यावारिधि पाउने एक मात्र नेपाली हुनुहुन्छ । नेपाल सरकारबाट प्रदान गरिने सर्वोच्च स्तरका विभूषणहरूबाट पनि उहाँ विभूषित हुनुहुन्छ । उहाँ नेपालका ६५ वटा संस्थाहरूबाट एकसाथ जनस्तरीय अभिनन्दन गरिएका नेपालका एक मात्र व्यक्तित्व हुनुहुन्छ । नेपालका विभिन्न गैरसरकारी सङ्घ–संस्थाहरूबाट र विदेशबाट पनि उहाँ पुरस्कृत र सम्मानित भइसक्नुभएको छ । शिक्षाक्षेत्रको विकासमा उहाँले नेपाललाई दिनुभएको योगदान अतुलनीय छ । अन्तर्राष्ट्रिय स्तरमा नेपालले शैक्षिक क्षेत्रको विकासको कुरा गर्न सकेको र विदेशी विद्यार्थीहरू शिक्षा हासिल गर्न नेपाल आउने गरेको उहाँकै कारणले हो । उहाँजस्ता शैक्षिक तपस्वीले शब्दयात्रा प्रकाशनको आग्रह स्वीकार गरेर आजको कार्यक्रममा प्रमुख अतिथि बनिदिनुभएकोमा यो संस्था उहाँप्रति अत्यन्त कृतज्ञ छ ।
लौ नीलकण्ठेश्वर, शब्दयात्रा तिम्रै जिम्मा
मेरा पुर्खा धीर्जवीर बजिमयले भक्तपुरबाट भोजपुर जान बाटो लाग्दा पहिलो बास बसेको ठाउँ अहिलेको काभ्रे जिल्लामा हो । आफ्नो बसोवास रहेको भक्तपुरभन्दा बाहेक उहाँले पाइला टेकेको पहिलो सहरचाहिँ बनेपा हो । अचेल म पनि काठमाडौँबाट यही काभ्रे जिल्ला र यही बनेपा सहरमा धेरैपटक ओहोरदोहोर गर्न थालेको छु । यसलाई मैले आफ्ना पुर्खाप्रतिको सम्मान त मानेकै छु, त्यसबाहेक काभ्रे जिल्लाबाटै सञ्चालन भइरहेको शब्दयात्रा प्रकाशनबाट हरेक वर्ष प्रदान गर्ने गरी आफ्नी धर्मपत्नी मनका श्रेष्ठको स्मृतिमा मैले राखेको ‘महिला प्रतिभा सम्मान’ का कारणले उनको आत्माले शान्ति पाएको आत्मिक विश्वास पनि छ । हाम्रै भोजपुरमा जन्मेका भाइ हरि मञ्जुश्रीको निवास र कर्मस्थल बनेपा भएका कारणले बनेपासँग मेरो थप परिचय भएको हो । शब्दयात्रा प्रकाशनका कार्यक्रमहरूमा आउँदा–जाँदा र यही संस्थाबाट मेरो पुस्तक ‘रचनापछिका विवेचना’ प्रकाशित भएपछि म काभ्रे जिल्लाकै मान्छेजस्तो भइसकेको छु ।
शब्दयात्रा प्रकाशनको एक पटकको कार्यक्रममा बनेपाकै एकजना भाइ कृष्णमणि कुइँकेलले शब्दयात्रा प्रकाशनलाई ३ आना जग्गा दान दिने घोषणा गरे । हरि मञ्जुश्रीको उद्देश्यमा सबैभन्दा ठूलो सहयोगी भएकोमा हामीले उनलाई धन्यवाद दियौँ । त्यसको केही समयपछि एकपटक मेरा भाइ हिरण्य भोजपुरे र भाइबुहारी उर्मिला श्रेष्ठ भोजपुरेसित म पनि बनेपा आउन पाएँ । त्यस बेला हरि मञ्जुश्रीले जग्गादाता कृष्णमणि कुइँकेलबाट शब्दयात्रा प्रकाशनले दानमा पाएको जग्गा देखाउन लानुभयो र पुर्जामा तीन आना लेखिए पनि जग्गाको क्षेत्रफल पाँच आना रहेको जानकारी दिनुभयो । त्यो सुनेर हामीले जग्गादातालाई भगवान्ले झन् धेरै आशीर्वाद दिऊन् भन्ने कामना ग¥यौँ र बाटो लाग्यौँ ।
त्यतिखेर अलि हतारहतार परेकाले ठाउँ राम्ररी हेर्न पाएका थिएनौँ । त्यसैले त्यो ठाउँ अझै राम्ररी फेरि हेर्न पाए हुन्थ्यो र केही बेर बस्न पाए हुन्थ्यो भन्ने लागिरहेको थियो ।
एक दिन हरि मञ्जुश्री भाइको फोन आयो । ‘दाजु, साउन १८ गते सालिकको शिलान्यास गर्न लागियो, हजुरले आएर मन्तव्य राख्नुपर्छ है’ भन्नुभयो । म आएँ । बनेपाबाट गाडीमा अगाडि बढेर २८ किलो भन्ने ठाउँमा ओर्लिएँ । अलि अगाडि बढेँ । बाटो कसैलाई सोध्नुपर्ला भन्ने विचार गर्दै थिएँ, त्यहीँनेर भेटिएका एकजना व्यक्तिले मलाई देख्नेबित्तिकै नमस्कार गर्नुभयो । मैले त्यति ठम्याउन सकिनँ । उहाँले चाहिँ मलाई चिन्नुभएको रहेछ र शिलान्यास कार्यक्रममै आएको भनेर लख काटिसक्नुभएको रहेछ । उहाँले ‘यताबाट सँगै जाऊँ’ भन्नुभयो । हामी अझ अगाडि बढ्यौँ र सिँढी उक्लेर सँगसँगै जग्गासम्म गयौँ । त्यहाँ अरू धेरैजनासँग भेट भयो । धेरैजनाले मलाई चिन्नुभयो । काभ्रेमा त म धेरैजना बौद्धिक व्यक्तिहरूसँग परिचित भइसकेको रहेछु, मलाई थाहै थिएन । शब्दयात्रा प्रकाशनलाई माया गर्ने त्यहाँ उपस्थित अधिकांश व्यक्तिहरूका लागि म द्रोण दाइ भइसकेको रहेछु भन्ने कुरा मैले त्यही दिन थाहा पाएँ । म त थाहै नपाई काभ्रेली पो भइसकेको रहेछु ।
जग्गा खनेर शिलान्यास गर्ने ठाउँ तयार पारिएको रहेछ । कविप्रसाद प्याकु¥याल पुरोहित बनेर त्यहाँ पहिले पूजाआजा गर्ने र पछि सालिकको शिलान्यास गर्ने कार्यक्रम पनि बनाइएको रहेछ । खनिएको जग्गाको वरिपरि हामी उभिएका थियौँ । हरि मञ्जुश्री कर्ता बनेर जब पूजा सुरु गर्नुभयो, तत्कालै एक झर पानी प¥यो र रोकियो । केही बेरपछि पूजा सकियो र शिलान्यास गर्ने बेला भयो । शिलान्यास गर्दाको तस्बिर खिच्न सबै ठिक्क परे । नैमिषारण्य संस्कृत गुरुकुलम्का वटुकहरूले जब स्वस्तिवाचन सुरु गरे र शिलान्यास गर्न तयार भएका रामप्रसाद अधिकारी, रामचन्द्र हुमागाईं, ओतबहादुर खड्का, सरस्वती सापकोटा र कृष्णमणि कुइँकेलले जब हातमा इँटा उचाले, फेरि अर्को झर पानी प¥यो र शिलान्यास गरिसक्नेबित्तिकै फेरि पानी रोकियो । दुवैपटक एक–एक मिनेटजति पानी परेको थियो । उपस्थित सबैजना आश्चर्यचकित बने । धेरैजनाको भनाइ एउटै थियो — ‘पानी परेको होइन, साइत परेको हो । सालिक राख्न ठीक पारिएका पाँचजना पुण्यात्मा पितृहरूको खुसी छचल्किएको हो । नीलकण्ठेश्वर महादेवले आशीर्वाद दिनुभएको हो । यहाँ सालिक राख्ने चाहना भगवान्कै रहेछ । अब विघ्नबाधा आउँदैन, आए आफैँ हट्छ ।”
त्यसपछिको औपचारिक कार्यक्रम नजिकै रहेको सानो हलमा गरियो । मलाई पनि मञ्चमा बोलाइयो । मैले पनि मन्तव्य व्यक्त गरेँ । सबैले ध्यानमग्न भएर सुन्नुभयो । विशेष गरी मेलवादेवी गुरुङका बारेमा उहाँहरूले चाख मानेरै कुरा सुन्नुभयो । त्यो दिन औपचारिक कार्यक्रम सुरु हुनुभन्दा अघि त्यहाँ धेरै बेर निरीक्षण गर्ने मौका पाइयो ।
बनेपा बजारबाट दुई किलोमिटर पूर्व तर बनेपा नगरपालिकाकै क्षेत्र । राजमार्गबाट उत्तरतिर झन्डै एक सय फिटजति माथिको अग्लो ठाउँ । छेउमा नीलकण्ठेश्वर महादेवको मन्दिर । पानीको सुविधा । बत्तीको सुविधा । अलि मास्तिर गाउँले घरहरू । शब्दयात्रा प्रकाशनको जग्गा र नीलकण्ठेश्वर महादेवको मन्दिरको परिसरका बीचमा एउटा चिटिक्कको घर । परपरसम्मका दृश्यहरू देखिने ठाउँ । काठमाडौँ विश्वविद्यालय, धुलिखेल अस्पताल र प्रभात पोल्ट्री ह्याचरी देखिने । राजमार्गमा गुडिरहने गाडीहरू देखिने । नजिकै हरियो जङ्गल । सिँढीबाट उक्लिएर गए पनि हुने, आफ्नो मोटर भए मोटरबाट गए पनि हुने । चराचुरुङ्गीको आवाजले मुग्ध बनिने ।
त्यस्तो मनोरम स्थानमा बन्ने भयो शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठान । त्यो प्रतिष्ठानको संरचना हरि मञ्जुश्रीको सुन्दर परिकल्पना । सोचअनुसारको उपयुक्त जग्गा थियो त्यो ।
“यो कुनामा अग्लो स्तम्भ बनाउने । स्तम्भको सिरानमा शब्दयात्रा प्रकाशनको गोलो लोगो राख्ने र त्यसलाई सोलारको व्यवस्था गरेर टाढाटाढाबाट पनि देख्न सकिने बनाउने । लोगोको मुनि घन्टाघरको जस्तो घडी राख्ने । यहाँचाहिँ घर बनाउने । अन्डरग्राउन्ड पार्किङ बनाउने । मन्दिरमा भगवान्को दर्शन गर्न आउँदा गाडीबाट दर्शनार्थी आए भने यहाँ पार्किङको व्यवस्था छैन । हाम्रै कार्यक्रममा पनि मोटरबाट मान्छे आउन सक्छन् । बाटोमा गाडी रोक्ने कुरा आएन । पछि शान्ति सेवा आश्रमले यहीँ नजिकै वृद्धाश्रम बनाउने भनेको छ । त्यसका लागि पनि पार्किङ नभई हुँदैन । त्यसैले अन्डरग्राउन्ड हललाई पार्किङ बनाएर त्यसमाथि यो बाटोको लेभलमा चाहिँ कार्यक्रम गर्न हल बनाउने । अनि हलको ढोकाबाट बाहिर निस्केर सालिकमा माल्यार्पण गर्न मिल्ने गरी लेभल मिलाउने । माथि तीन तला लैजान सके हुन्थ्यो । करिब पाँच करोड रुपियाँ लाग्ने हाम्रो प्रारम्भिक अनुमान छ ।” — हरि मञ्जुश्री भाइले हामीलाई सुनाउनुभयो ।
‘कसरी सहयोग जुटाउन सकिएला त त्यत्रो पैसा ?’ मेरो मनले प्रश्न ग¥यो । ‘निःस्वार्थ भावनाले काम गरे जुट्तो रहेछ । भगवान्ले जसरी जग्गा जुटाइदिए, त्यसरी नै पैसा पनि जुटाइदिन्छन् । खाली के भने गर्ने मान्छेको मनमा पाप हुनु हुँदैन ।’ मेरै मनले उत्तर दियो ।
कार्यक्रम सिध्याएर हिँड्ने बेलामा हरि मञ्जुश्री भाइले फेरि भन्नुभयो — “शब्दयात्रा प्रकाशनको कार्यालय अब यही घरको माथिल्लो फ्ल्याटमा सार्न लागेका छौँ । दुइटा कोठा छन्, एउटा हल छ । त्यति भए अहिलेका लागि कार्यालय चलाउन हामीलाई पुग्छ । कृष्णमणिजीसँग कुरा गरिसकेको छु । उहाँले घरभाडा तिर्नुपर्दैन, घरको संरक्षणचाहिँ होस् भन्नुभएको छ । यहाँ कार्यालय सार्न पाए सबै साथीभाइलाई यही ठाउँमा बोलाइन्थ्यो । यहाँ आवतजावत बढ्थ्यो । साथीहरूलाई सहयोग गर्ने बाटो खुल्थ्यो । हामीले शब्दयात्रा प्रकाशनसँगै नीलकण्ठेश्वर महादेवस्थानको पनि विकास र प्रचारप्रसार गर्नुपर्नेछ । यहाँ बस्न पाए दुवैको एकीकृत विकासको कार्यक्रम बन्थ्यो र सफल पनि हुन्थ्यो छ । यो ठाउँ देखेपछि दाता साथीहरूको सहयोग अझ बढी पाइन्थ्यो । अहिले त नीलकण्ठेश्वर मन्दिर र शब्दयात्रा प्रकाशनको सम्बन्ध भक्त र भगवान्को जस्तो भइसकेको छ । दुवैलाई दुवैको आवश्यकता छ । अब हामी साउनभरिमा यहाँ सरिसक्छौँ होला । भदौको कार्यक्रम बनेपामै गरेर साथीहरूले मानेदेखि मङ्सिरदेखिका कार्यक्रमचाहिँ पाल टाँगेर भए पनि यहीँ गर्न पाए हुन्थ्यो भन्ने मेरो चाहना हो । हेरौँ, भगवान्को के चाहना हुन्छ !”
उहाँको उत्साह देखेर मैले भविष्यको कल्पना गरेँ । त्यो सुन्दर र पवित्र ठाउँमा विभिन्न संरचनासहितको शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठान बनाउने परिकल्पनाले साकार रूप लिएको क्षणले हामी नेपालीलाई कति गौरवान्वित बनाउला भनेर मैले सोचेँ । यो ठाउँ भविष्यमा कति राम्रो पर्यटन स्थल बन्ला, नेपालभरिका बौद्धिक व्यक्तिहरू यहाँ कति आउलान् भन्ने अनुमान पनि गरेँ । अनि सानो कार्यक्रम गर्नुप¥यो कि सहयोगीको खोजी गर्न हिँडिहाल्ने हरि मञ्जुश्री भाइ अशक्त हुनुभयो भने कसरी यत्रो अनुष्ठान पूरा होला भन्ने पनि मेरो मनमा आयो । त्यसपछि मैले त्यही जग्गाको नजिकै विराजमान रहेका नीलकण्ठेश्वर महादेवलाई मनमनै भनेँ — “लौ महादेव ! तिम्रै क्षेत्र हो । योजना राम्रो छ । देशलाई नै फाइदा हुने कुरा हो । काम कसरी सम्पन्न गराउने हो गराऊ । तिमीले सामथ्र्य दिएछौ भने हामी पनि गर्न सक्नेजति गरौँला । अरू तिम्रै जिम्मा !”
शब्दयात्रा सात वर्षमा
शब्दयात्रा प्रकाशनले छैटौँ वर्षको यात्रा पूरा गरेको छ र अब सातौँ वर्षको यात्रा थालनी गरेको छ । यस अवधिमा यस संस्थाले लिएका लक्ष्यहरूमध्ये कुन–कुन लक्ष्य पूरा भए, कसरी पूरा भए र कुन–कुन लक्ष्य कहिलेसम्म पूरा हुने सम्भावना छ भन्ने कुरा यस संस्थाबाट प्रकाशित ‘शब्दयात्रा प्रकाशनको छ वर्ष’ पुस्तकले प्रस्ट पार्ने नै छ । तर यस संस्थाले समाजलाई वाङ्मयिक क्षेत्रप्रति चासो जगाउनमा र आम समुदायबाट वाङ्मयिक क्षेत्र अभिन्न छ भन्ने देखाउनमा अहम् भूमिका खेलेको छ भन्न पाउँदा यस संस्थाका सदस्यहरू गौरान्वित बन्दछन् ।
वाङ्मयिक संस्था भनेको निश्चित व्यक्तिहरूको मात्रै संस्था हो भन्ने भ्रम हटाउन यो संस्था सफल बनेको छ । वाङ्मयिक क्षेत्रमा जनसहभागिता बढाउन र समुदायको अविराम चासो अभिवृद्धि गराउन कसरी सकिन्छ भन्ने कुरा यस संस्थासँग सिक्न सक्छन् भनेर समुदायले नै भन्न थालेको छ । समुदायसँगै परिचालित बनेर नै यो संस्था क्रियाशील र जीवन्त बनेको हो ।
सातौँ वर्षभरिमा यो संस्था के–के गर्ला भन्ने जिज्ञासा उठ्नु स्वाभाविकै हो । छ वर्षसम्मका क्रियाकलापहरू नजिकैबाट हेरिरहेकाहरूमा यो प्रश्न झन् बलियो रूपमा उठ्छ । यो संस्था यसअघि गरेका हरेक गतिविधिहरूलाई निरन्तरता त दिन्छ नै, त्यसबाहेक पाँचवटा सालिकको अनावरण गर्ने र वृत्तचित्र निर्माण गर्ने कार्य पनि यो सातौँ वर्षभित्रै गरिसक्ने गरी यस संस्थाले कार्य अघि बढाएको छ ।
शब्दयात्रा प्रकाशन आफ्नो परिवारभित्रका सम्पूर्ण सहयात्री–सहकर्मीहरू, सहयोगीहरू, दाताहरू, शुभेच्छुकहरू सबैमा आभार प्रकट गर्दछ ।
उपस्थितिका लागि अनुरोध
आगामी भदौ १३ गते दिउँसो १ः३० बजे बनेपाको के. एन. ब्यान्क्वेटमा पुगौँ । त्यस दिन निम्नलिखित कार्यक्रमहरू हुनेछन् —
सम्मान समर्पण ः
१. आध्यात्मिक पत्रकारिता सम्मान पुरुषोत्तम सापकोटालाई, २. नेपालभूमि स्तम्भकार सम्मान प्रेम कैदीलाई, ३. फोटो पत्रकारिता सम्मान वसन्त चित्रकारलाई, ४. साहित्यिक पत्रिका सम्मान ‘दायित्व द्वैमासिक’ लाई
पुस्तक सार्वजनिक ः
१. परिवर्तित पाइला (नाटक) ः गणेशबहादुर खत्री, २. वेदान्तशिरोमणि एक संस्मरण (लेखसङ्ग्रह) ः मुकुन्दप्रसाद उपाध्याय, ३. मञ्जुश्री (ज्योतिषकाव्य) ः श्रीधर प्याकु¥याल, ४. अभियान (नाटक) ः टेकलाल भारती, ५. हाम्रो बालक्लब (बालनाटक) ः भवानी पाण्डे, ६. माधुरी आचार्य (लघु–उपन्यास) ः आख्यान कृष्णमणि कुइँकेल र लेखन हरि मञ्जुश्री, ७. कल्याणं ब्रुवन्तु (कवितासङ्ग्रह) ः कल्याण लम्साल, ८. शब्दयात्रा प्रकाशनको ६ वर्ष ः पदमनाथ ढुङ्गाना र शारदाप्रसाद शर्मा
शब्दयात्रा प्रकाशन
दुई पत्रकारलाई कदरपत्र दिइने
शब्दयात्रा प्रकाशनले आगामी भदौ १३ गते आयोजना गरिने सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहमा दुईजना काभ्रेली पत्रकारलाई कदरपत्र प्रदान गर्ने भएको छ ।
कदरपत्र पाउने पत्रकारहरूमा राजकुमार गोले र मधुसूदन तिमल्सिना रहेका छन् । शब्दयात्रा प्रकाशनले २०६९ सालदेखि हरेक वर्षको भदौ महिनामा काभ्रे जिल्लामा क्रियाशील दुईजना पत्रकारलाई कदरपत्र प्रदान गर्ने गरेको छ ।
आठ पुस्तक सार्वजनिक गरिने
आगामी भदौ १३ गते आयोजना गरिने सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहमा शब्दयात्रा प्काशनद्वारा प्रकाशित ८ वटा पुस्तक एकैसाथ सार्वजनिक गरिने भएका छन् ।
सार्वजनिक गरिने पुस्तकहरूमा गणेशबहादुर खत्रीको नाटक ‘परिवर्तित पाइला’, मुकुन्दप्रसाद उपाध्यायद्वारा लिखित लेखसङ्ग्रह ‘वेदान्तशिरोमणि एक संस्मरण’, श्रीधर प्याकु¥यालको ज्योतिषकाव्य ‘मञ्जुश्री’, टेकलाल भारतीको नाटक ‘अभियान’, भवानी पाण्डेको बालनाटक ‘हाम्रो बालक्लब’, हरि मञ्जुश्रीको लेखन र कृष्णमणि कुइँकेलको आख्यान रहेको लघु–उपन्यास ‘माधुरी आचार्य’, कल्याण लम्सालको कवितासङ्ग्रह ‘कल्याणं ब्रुवन्तु’ तथा पदमनाथ ढुङ्गाना र शारदाप्रसाद शर्माद्वारा सङ्कलित तथा संयोजित ‘शब्दयात्रा प्रकाशनको ६ वर्ष’ रहेका छन् ।
‘शब्दयात्रा प्रकाशनको छ वर्ष’ प्रकाशित
शब्दयात्रा प्रकाशन स्थापना भई औपचारिक रूपमा समुद्घाटन गरिएको ६ वर्ष पूरा भएको अवसर पारी शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा प्रकाशनको ६ वर्ष’ नामक पुस्तकको प्रकाशन गरेको छ । शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रमका संयोजक पदमनाथ ढुङ्गाना र शब्दयात्रा प्रकाशनका महाप्रबन्धक शारदाप्रसाद शर्माको सङ्कलन तथा संयोजनमा तयार पारिएको उक्त पुस्तकलाई आगामी भदौ १३ गते आयोजना गरिने सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहमा सार्वजनिक गरिने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित यो ९० औँ पुस्तक हो ।
शब्दयात्रा प्रकाशनको इतिहास, उद्देश्य, कार्यक्रमहरू र भावी योजनाहरू समेटिएको यस पुस्तकले शब्दयात्रा प्रकाशनका विषयमा पूर्ण जानकारी गराउने र मार्गनिर्देशनसमेत गराउने जानकारी सङ्कलक तथा संयोजकद्वयले गराउनुभएको छ ।

