शब्दयात्रा प्रकाशनले छैटौँ वर्षको यात्रा पूरा गरेको छ र अब सातौँ वर्षको यात्रा थालनी गरेको छ । यस अवधिमा यस संस्थाले लिएका लक्ष्यहरूमध्ये कुन–कुन लक्ष्य पूरा भए, कसरी पूरा भए र कुन–कुन लक्ष्य कहिलेसम्म पूरा हुने सम्भावना छ भन्ने कुरा यस संस्थाबाट प्रकाशित ‘शब्दयात्रा प्रकाशनको छ वर्ष’ पुस्तकले प्रस्ट पार्ने नै छ । तर यस संस्थाले समाजलाई वाङ्मयिक क्षेत्रप्रति चासो जगाउनमा र आम समुदायबाट वाङ्मयिक क्षेत्र अभिन्न छ भन्ने देखाउनमा अहम् भूमिका खेलेको छ भन्न पाउँदा यस संस्थाका सदस्यहरू गौरान्वित बन्दछन् ।
वाङ्मयिक संस्था भनेको निश्चित व्यक्तिहरूको मात्रै संस्था हो भन्ने भ्रम हटाउन यो संस्था सफल बनेको छ । वाङ्मयिक क्षेत्रमा जनसहभागिता बढाउन र समुदायको अविराम चासो अभिवृद्धि गराउन कसरी सकिन्छ भन्ने कुरा यस संस्थासँग सिक्न सक्छन् भनेर समुदायले नै भन्न थालेको छ । समुदायसँगै परिचालित बनेर नै यो संस्था क्रियाशील र जीवन्त बनेको हो ।
सातौँ वर्षभरिमा यो संस्था के–के गर्ला भन्ने जिज्ञासा उठ्नु स्वाभाविकै हो । छ वर्षसम्मका क्रियाकलापहरू नजिकैबाट हेरिरहेकाहरूमा यो प्रश्न झन् बलियो रूपमा उठ्छ । यो संस्था यसअघि गरेका हरेक गतिविधिहरूलाई निरन्तरता त दिन्छ नै, त्यसबाहेक पाँचवटा सालिकको अनावरण गर्ने र वृत्तचित्र निर्माण गर्ने कार्य पनि यो सातौँ वर्षभित्रै गरिसक्ने गरी यस संस्थाले कार्य अघि बढाएको छ ।
शब्दयात्रा प्रकाशन आफ्नो परिवारभित्रका सम्पूर्ण सहयात्री–सहकर्मीहरू, सहयोगीहरू, दाताहरू, शुभेच्छुकहरू सबैमा आभार प्रकट गर्दछ ।