मेरा पुर्खा धीर्जवीर बजिमयले भक्तपुरबाट भोजपुर जान बाटो लाग्दा पहिलो बास बसेको ठाउँ अहिलेको काभ्रे जिल्लामा हो । आफ्नो बसोवास रहेको भक्तपुरभन्दा बाहेक उहाँले पाइला टेकेको पहिलो सहरचाहिँ बनेपा हो । अचेल म पनि काठमाडौँबाट यही काभ्रे जिल्ला र यही बनेपा सहरमा धेरैपटक ओहोरदोहोर गर्न थालेको छु । यसलाई मैले आफ्ना पुर्खाप्रतिको सम्मान त मानेकै छु, त्यसबाहेक काभ्रे जिल्लाबाटै सञ्चालन भइरहेको शब्दयात्रा प्रकाशनबाट हरेक वर्ष प्रदान गर्ने गरी आफ्नी धर्मपत्नी मनका श्रेष्ठको स्मृतिमा मैले राखेको ‘महिला प्रतिभा सम्मान’ का कारणले उनको आत्माले शान्ति पाएको आत्मिक विश्वास पनि छ । हाम्रै भोजपुरमा जन्मेका भाइ हरि मञ्जुश्रीको निवास र कर्मस्थल बनेपा भएका कारणले बनेपासँग मेरो थप परिचय भएको हो । शब्दयात्रा प्रकाशनका कार्यक्रमहरूमा आउँदा–जाँदा र यही संस्थाबाट मेरो पुस्तक ‘रचनापछिका विवेचना’ प्रकाशित भएपछि म काभ्रे जिल्लाकै मान्छेजस्तो भइसकेको छु ।
शब्दयात्रा प्रकाशनको एक पटकको कार्यक्रममा बनेपाकै एकजना भाइ कृष्णमणि कुइँकेलले शब्दयात्रा प्रकाशनलाई ३ आना जग्गा दान दिने घोषणा गरे । हरि मञ्जुश्रीको उद्देश्यमा सबैभन्दा ठूलो सहयोगी भएकोमा हामीले उनलाई धन्यवाद दियौँ । त्यसको केही समयपछि एकपटक मेरा भाइ हिरण्य भोजपुरे र भाइबुहारी उर्मिला श्रेष्ठ भोजपुरेसित म पनि बनेपा आउन पाएँ । त्यस बेला हरि मञ्जुश्रीले जग्गादाता कृष्णमणि कुइँकेलबाट शब्दयात्रा प्रकाशनले दानमा पाएको जग्गा देखाउन लानुभयो र पुर्जामा तीन आना लेखिए पनि जग्गाको क्षेत्रफल पाँच आना रहेको जानकारी दिनुभयो । त्यो सुनेर हामीले जग्गादातालाई भगवान्ले झन् धेरै आशीर्वाद दिऊन् भन्ने कामना ग¥यौँ र बाटो लाग्यौँ ।
त्यतिखेर अलि हतारहतार परेकाले ठाउँ राम्ररी हेर्न पाएका थिएनौँ । त्यसैले त्यो ठाउँ अझै राम्ररी फेरि हेर्न पाए हुन्थ्यो र केही बेर बस्न पाए हुन्थ्यो भन्ने लागिरहेको थियो ।
एक दिन हरि मञ्जुश्री भाइको फोन आयो । ‘दाजु, साउन १८ गते सालिकको शिलान्यास गर्न लागियो, हजुरले आएर मन्तव्य राख्नुपर्छ है’ भन्नुभयो । म आएँ । बनेपाबाट गाडीमा अगाडि बढेर २८ किलो भन्ने ठाउँमा ओर्लिएँ । अलि अगाडि बढेँ । बाटो कसैलाई सोध्नुपर्ला भन्ने विचार गर्दै थिएँ, त्यहीँनेर भेटिएका एकजना व्यक्तिले मलाई देख्नेबित्तिकै नमस्कार गर्नुभयो । मैले त्यति ठम्याउन सकिनँ । उहाँले चाहिँ मलाई चिन्नुभएको रहेछ र शिलान्यास कार्यक्रममै आएको भनेर लख काटिसक्नुभएको रहेछ । उहाँले ‘यताबाट सँगै जाऊँ’ भन्नुभयो । हामी अझ अगाडि बढ्यौँ र सिँढी उक्लेर सँगसँगै जग्गासम्म गयौँ । त्यहाँ अरू धेरैजनासँग भेट भयो । धेरैजनाले मलाई चिन्नुभयो । काभ्रेमा त म धेरैजना बौद्धिक व्यक्तिहरूसँग परिचित भइसकेको रहेछु, मलाई थाहै थिएन । शब्दयात्रा प्रकाशनलाई माया गर्ने त्यहाँ उपस्थित अधिकांश व्यक्तिहरूका लागि म द्रोण दाइ भइसकेको रहेछु भन्ने कुरा मैले त्यही दिन थाहा पाएँ । म त थाहै नपाई काभ्रेली पो भइसकेको रहेछु ।
जग्गा खनेर शिलान्यास गर्ने ठाउँ तयार पारिएको रहेछ । कविप्रसाद प्याकु¥याल पुरोहित बनेर त्यहाँ पहिले पूजाआजा गर्ने र पछि सालिकको शिलान्यास गर्ने कार्यक्रम पनि बनाइएको रहेछ । खनिएको जग्गाको वरिपरि हामी उभिएका थियौँ । हरि मञ्जुश्री कर्ता बनेर जब पूजा सुरु गर्नुभयो, तत्कालै एक झर पानी प¥यो र रोकियो । केही बेरपछि पूजा सकियो र शिलान्यास गर्ने बेला भयो । शिलान्यास गर्दाको तस्बिर खिच्न सबै ठिक्क परे । नैमिषारण्य संस्कृत गुरुकुलम्का वटुकहरूले जब स्वस्तिवाचन सुरु गरे र शिलान्यास गर्न तयार भएका रामप्रसाद अधिकारी, रामचन्द्र हुमागाईं, ओतबहादुर खड्का, सरस्वती सापकोटा र कृष्णमणि कुइँकेलले जब हातमा इँटा उचाले, फेरि अर्को झर पानी प¥यो र शिलान्यास गरिसक्नेबित्तिकै फेरि पानी रोकियो । दुवैपटक एक–एक मिनेटजति पानी परेको थियो । उपस्थित सबैजना आश्चर्यचकित बने । धेरैजनाको भनाइ एउटै थियो — ‘पानी परेको होइन, साइत परेको हो । सालिक राख्न ठीक पारिएका पाँचजना पुण्यात्मा पितृहरूको खुसी छचल्किएको हो । नीलकण्ठेश्वर महादेवले आशीर्वाद दिनुभएको हो । यहाँ सालिक राख्ने चाहना भगवान्कै रहेछ । अब विघ्नबाधा आउँदैन, आए आफैँ हट्छ ।”
त्यसपछिको औपचारिक कार्यक्रम नजिकै रहेको सानो हलमा गरियो । मलाई पनि मञ्चमा बोलाइयो । मैले पनि मन्तव्य व्यक्त गरेँ । सबैले ध्यानमग्न भएर सुन्नुभयो । विशेष गरी मेलवादेवी गुरुङका बारेमा उहाँहरूले चाख मानेरै कुरा सुन्नुभयो । त्यो दिन औपचारिक कार्यक्रम सुरु हुनुभन्दा अघि त्यहाँ धेरै बेर निरीक्षण गर्ने मौका पाइयो ।
बनेपा बजारबाट दुई किलोमिटर पूर्व तर बनेपा नगरपालिकाकै क्षेत्र । राजमार्गबाट उत्तरतिर झन्डै एक सय फिटजति माथिको अग्लो ठाउँ । छेउमा नीलकण्ठेश्वर महादेवको मन्दिर । पानीको सुविधा । बत्तीको सुविधा । अलि मास्तिर गाउँले घरहरू । शब्दयात्रा प्रकाशनको जग्गा र नीलकण्ठेश्वर महादेवको मन्दिरको परिसरका बीचमा एउटा चिटिक्कको घर । परपरसम्मका दृश्यहरू देखिने ठाउँ । काठमाडौँ विश्वविद्यालय, धुलिखेल अस्पताल र प्रभात पोल्ट्री ह्याचरी देखिने । राजमार्गमा गुडिरहने गाडीहरू देखिने । नजिकै हरियो जङ्गल । सिँढीबाट उक्लिएर गए पनि हुने, आफ्नो मोटर भए मोटरबाट गए पनि हुने । चराचुरुङ्गीको आवाजले मुग्ध बनिने ।
त्यस्तो मनोरम स्थानमा बन्ने भयो शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठान । त्यो प्रतिष्ठानको संरचना हरि मञ्जुश्रीको सुन्दर परिकल्पना । सोचअनुसारको उपयुक्त जग्गा थियो त्यो ।
“यो कुनामा अग्लो स्तम्भ बनाउने । स्तम्भको सिरानमा शब्दयात्रा प्रकाशनको गोलो लोगो राख्ने र त्यसलाई सोलारको व्यवस्था गरेर टाढाटाढाबाट पनि देख्न सकिने बनाउने । लोगोको मुनि घन्टाघरको जस्तो घडी राख्ने । यहाँचाहिँ घर बनाउने । अन्डरग्राउन्ड पार्किङ बनाउने । मन्दिरमा भगवान्को दर्शन गर्न आउँदा गाडीबाट दर्शनार्थी आए भने यहाँ पार्किङको व्यवस्था छैन । हाम्रै कार्यक्रममा पनि मोटरबाट मान्छे आउन सक्छन् । बाटोमा गाडी रोक्ने कुरा आएन । पछि शान्ति सेवा आश्रमले यहीँ नजिकै वृद्धाश्रम बनाउने भनेको छ । त्यसका लागि पनि पार्किङ नभई हुँदैन । त्यसैले अन्डरग्राउन्ड हललाई पार्किङ बनाएर त्यसमाथि यो बाटोको लेभलमा चाहिँ कार्यक्रम गर्न हल बनाउने । अनि हलको ढोकाबाट बाहिर निस्केर सालिकमा माल्यार्पण गर्न मिल्ने गरी लेभल मिलाउने । माथि तीन तला लैजान सके हुन्थ्यो । करिब पाँच करोड रुपियाँ लाग्ने हाम्रो प्रारम्भिक अनुमान छ ।” — हरि मञ्जुश्री भाइले हामीलाई सुनाउनुभयो ।
‘कसरी सहयोग जुटाउन सकिएला त त्यत्रो पैसा ?’ मेरो मनले प्रश्न ग¥यो । ‘निःस्वार्थ भावनाले काम गरे जुट्तो रहेछ । भगवान्ले जसरी जग्गा जुटाइदिए, त्यसरी नै पैसा पनि जुटाइदिन्छन् । खाली के भने गर्ने मान्छेको मनमा पाप हुनु हुँदैन ।’ मेरै मनले उत्तर दियो ।
कार्यक्रम सिध्याएर हिँड्ने बेलामा हरि मञ्जुश्री भाइले फेरि भन्नुभयो — “शब्दयात्रा प्रकाशनको कार्यालय अब यही घरको माथिल्लो फ्ल्याटमा सार्न लागेका छौँ । दुइटा कोठा छन्, एउटा हल छ । त्यति भए अहिलेका लागि कार्यालय चलाउन हामीलाई पुग्छ । कृष्णमणिजीसँग कुरा गरिसकेको छु । उहाँले घरभाडा तिर्नुपर्दैन, घरको संरक्षणचाहिँ होस् भन्नुभएको छ । यहाँ कार्यालय सार्न पाए सबै साथीभाइलाई यही ठाउँमा बोलाइन्थ्यो । यहाँ आवतजावत बढ्थ्यो । साथीहरूलाई सहयोग गर्ने बाटो खुल्थ्यो । हामीले शब्दयात्रा प्रकाशनसँगै नीलकण्ठेश्वर महादेवस्थानको पनि विकास र प्रचारप्रसार गर्नुपर्नेछ । यहाँ बस्न पाए दुवैको एकीकृत विकासको कार्यक्रम बन्थ्यो र सफल पनि हुन्थ्यो छ । यो ठाउँ देखेपछि दाता साथीहरूको सहयोग अझ बढी पाइन्थ्यो । अहिले त नीलकण्ठेश्वर मन्दिर र शब्दयात्रा प्रकाशनको सम्बन्ध भक्त र भगवान्को जस्तो भइसकेको छ । दुवैलाई दुवैको आवश्यकता छ । अब हामी साउनभरिमा यहाँ सरिसक्छौँ होला । भदौको कार्यक्रम बनेपामै गरेर साथीहरूले मानेदेखि मङ्सिरदेखिका कार्यक्रमचाहिँ पाल टाँगेर भए पनि यहीँ गर्न पाए हुन्थ्यो भन्ने मेरो चाहना हो । हेरौँ, भगवान्को के चाहना हुन्छ !”
उहाँको उत्साह देखेर मैले भविष्यको कल्पना गरेँ । त्यो सुन्दर र पवित्र ठाउँमा विभिन्न संरचनासहितको शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठान बनाउने परिकल्पनाले साकार रूप लिएको क्षणले हामी नेपालीलाई कति गौरवान्वित बनाउला भनेर मैले सोचेँ । यो ठाउँ भविष्यमा कति राम्रो पर्यटन स्थल बन्ला, नेपालभरिका बौद्धिक व्यक्तिहरू यहाँ कति आउलान् भन्ने अनुमान पनि गरेँ । अनि सानो कार्यक्रम गर्नुप¥यो कि सहयोगीको खोजी गर्न हिँडिहाल्ने हरि मञ्जुश्री भाइ अशक्त हुनुभयो भने कसरी यत्रो अनुष्ठान पूरा होला भन्ने पनि मेरो मनमा आयो । त्यसपछि मैले त्यही जग्गाको नजिकै विराजमान रहेका नीलकण्ठेश्वर महादेवलाई मनमनै भनेँ — “लौ महादेव ! तिम्रै क्षेत्र हो । योजना राम्रो छ । देशलाई नै फाइदा हुने कुरा हो । काम कसरी सम्पन्न गराउने हो गराऊ । तिमीले सामथ्र्य दिएछौ भने हामी पनि गर्न सक्नेजति गरौँला । अरू तिम्रै जिम्मा !”