शब्दयात्रा प्रकाशनले नेपालमा पहिलोपल्ट नेपालका मूद्र्धन्य शब्दसाधकहरू पाँचजनाको सालिक एकै ठाउँमा स्थापना गर्न लागेको हुनाले त्यस कार्यमा सहयोग गर्न चाहनेहरूको सङ्ख्या बढ्दै गएको छ ।
यसै क्रममा काठमाडौँ पेप्सिकोलाका समुन्नत श्रेष्ठले १० हजार १ सय ५५ रुपियाँ, काठमाडौँ पेप्सिकोलाकै राजेश श्रेष्ठले ५ हजार १ सय रुपियाँ, काठमाडौँ बानेश्वरका श्रद्धा श्रेष्ठ र किरण श्रेष्ठले ५ हजार १ सय ५५ रुपियाँ, ललितपुर कुसुन्तीकी सुभद्रा श्रेष्ठले ५ हजार ५ सय रुपियाँ, ललितपुर भैँसेपाटीका सिनेरिया जोशी र दीनबन्धु जोशीले ५ हजार १ सय ६० रुपियाँ र ललितपुर भैँसेपाटीकै शुभम्श्रु श्रेष्ठ र नगेन्द्र श्रेष्ठले ५ हजार १ सय ६० रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ ।
सालिकका लागि आर्थिक सहयोग
यस्ता छन् चार पुस्तक
२०७४ सालको अन्तिम सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहमा सार्वजनिक गरिएका पुस्तकहरूका बारेमा चिनारी गराइदिन मलाई आग्रह गरिएको छ । त्यसैले म त्यही विषयमा केन्द्रित हुन चाहन्छु ।
परिचयका लागि मलाई जिम्मा दिइएको पहिलो पुस्तक ‘भर्तृहरिशतक’ हो । यो पुस्तक शब्दयात्रा प्रकाशनबाट प्रकाशित ९७ औँ पुस्तक हो । संस्कृत साहित्यका महान् काव्यकार भर्तृहरिले लेख्नुभएको नीतिशतक, वैराग्यशतक र शृङ्गारशतकलाई समग्रमा भर्तृहरिशतक भन्ने गरिन्छ । त्यही काव्यलाई काभ्रे जिल्लाका काव्यकार श्रीधर प्याकु¥यालले नेपाली भाषामा कवितात्मक भावानुवाद गर्नुभएको हुँदा यो पुस्तक प्रकाशित हुन सकेको हो । जम्मा १ सय ४४ पृष्ठको यस पुस्तकको मूल्य रु. २००।– राखिएको छ । यो पुस्तकसमेत शब्दयात्रा प्रकाशनबाट २०७४ सालमा उहाँका चारवटा पुस्तक प्रकाशित भएका छन् । उहाँका लागि पनि यो गौरवको कुरो हो । यसका लागि र यस कृतिका लागि पनि श्रीधर प्याकु¥याललाई हार्दिक बधाई छ ।
अब ‘मी एन्ड माई धुलिखेल’ पुस्तकको चर्चा गर्दछु । शब्दयात्रा प्रकाशनबाट प्रकाशित यो ९८ औँ कृति हो । यसका लेखक बेलप्रसाद श्रेष्ठ हुनुहुन्छ । शब्दयात्रा प्रकाशनले उहाँको प्रतिमा स्थापना गरेर अनावरण गराइसकेको छ । काभ्रे जिल्लामा स्थापित जीवित समाजसेवीको पहिलो प्रतिमा त्यही हो । बेलप्रसाद श्रेष्ठले यसभन्दा अगाडि नेपाली भाषामा लेख्नुभएको ‘म र मेरो धुलिखेल’ पुस्तक पढ्न पाइएको थियो । त्यही पुस्तकलाई परिमार्जन र परिवद्र्धन गरेर डा. भास्कर हुमागाईंले अङ्ग्रेजी भाषामा अनुवाद गरेपछि यो पुस्तक तयार भएको हो । अविकसित अवस्थाको धुलिखेल कसरी अहिलेको विकसित धुलिखेल बन्न पुग्यो र त्यसमा कस–कसको कस्तो–कस्तो भूमिका रह्यो भन्ने कुराको जानकारी यस कृतिले दिनेछ । व्यवस्थापन सङ्कायको पाठ्यक्रममा राख्न मिल्ने यो कृति विदेशीहरूको हातमा पु¥याउन सकियो भने असाध्यै राम्रो हुने थियो । जम्मा १ सय ७६ पृष्ठको यस कृतिको मूल्य ३०० रुपियाँ राखिएको छ । यस कृतिबाट आफ्नो व्यक्तित्व र कर्तृत्वलाई अन्तर्राष्ट्रिय जगत्सम्म पु¥याउन सफल हुनुभएकोमा बेलप्रसाद श्रेष्ठलाई हार्दिक बधाई छ ।
अर्को पुस्तिका ‘शाहवंशको चर्तिकला’ हो । यो शब्दयात्रा प्रकाशनको ९९ औँ पुस्तक हो । यसका सङ्कलक विष्णुहरि तिमल्सिना हुनुहुन्छ । यसमा ‘इतिहास प्रकाश’ बाट साभार गरी शाहवंशको वंशावली राखिएको छ भने ‘शाहवंशको शल्यक्रिया’ पुस्तकबाट विभिन्न रोचक प्रसङ्गहरू साभार गरिएका छन् । जम्मा ३२ पृष्ठको यस पुस्तिकाको मूल्य सुस्त मनस्थितिका बालबालिकाको हितमा सङ्कलक स्वयंबाटै खर्च गर्ने गरी १०० रुपियाँ राखिएको छ । यस पुस्तिकाका माध्यमबाट नेपाली वाङ्मयमा प्रवेश गर्नुभएकोमा विष्णुहरि तिमल्सिनालाई हार्दिक बधाई छ ।
चौथो कृति पूरा श्रेष्ठद्वारा लिखित ‘पुनर्जन्म’ नामक कवितासङ्ग्रह हो । यो शब्दयात्रा प्रकाशनको १०० औँ प्रकाशनपुष्प हो । आध्यात्मिक प्रवाचक डा. चिन्तामणि योगीको सहयोगमा शान्ति सेवा आश्रम र गोसाइँस्थान नैमिषारण्य क्षेत्र विकास समितिको आर्थिक सहयोगबाट प्रकाशित यस सङ्ग्रहमा ‘पुनर्जन्म’ शीर्षकका ४३ वटा कविता रहेका छन् । जम्मा ४८ पृष्ठको यस सङ्ग्रहको मूल्य ७० रुपियाँ राखिएको छ । उहाँको पहिलो कृति ‘नयाँ सोच’ लघु–उपन्यास यसै संस्थाबाट प्रकाशित भई सार्वजनिक भएको थियो । अत्यन्त कमजोर शारीरिक अवस्था हुँदाहुँदै पनि आत्मबल बढाएर साहित्यिक क्षेत्रमा सक्रिय भई दोस्रो कृतिका कृतिकार हुनुभएकोमा पूरा श्रेष्ठलाई हार्दिक बधाई छ । हामी उहाँको स्वास्थ्यलाभको कामना गर्दछौँ ।
अन्त्यमा, यी चारैवटा कृतिहरूले नेपाली भाषा–साहित्यमा विशेष स्थान राख्नेछन् भन्ने विश्वास व्यक्त गर्दै कृतिहरूको परिचयात्मक टिप्पणी गरिदिन मलाई गरिएको आग्रहका लागि शब्दयात्रा प्रकाशनप्रति हार्दिक आभार व्यक्त गर्दछु र आफ्नो टिप्पणी यहीँ समाप्त गर्दछु ।
(पुस्तकका विषयमा गरिएको परिचयात्मक टिप्पणीको मूल भाग)
हामीले छान्यौं
शब्दयात्रा प्रकाशनले हरेक वर्षको फागुन महिनामा समर्पण गर्ने गरेको विज्ञान–प्रविधि सम्मान, शिक्षा सम्मान, आमसञ्चार सम्मान र सामाजिक जागरण सम्मानका लागि उपयुक्त व्यक्ति अथवा संस्थाको नाउँ प्रस्ताव गरी पठाउन ‘नेपालभूमि साप्ताहिक’ पत्रिका र ‘शब्दसञ्चार’ साप्ताहिक रेडियो कार्यक्रममार्फत सार्वजनिक रूपमा आह्वान गरेको रहेछ । त्यो आह्वानपछि संस्थाका सदस्यहरू र संस्थाबाहिरका व्यक्तिहरूले पनि केही नाउँहरू शब्दयात्रा प्रकाशनलाई उपलब्ध गराउनुभएको रहेछ ।
त्यसपछि शब्दयात्रा प्रकाशनले म मुकुन्दप्रसाद दाहालको संयोजकत्वमा रघुनाथ घिमिरे, श्यामकृष्ण त्रिपाठी र पम्फा थपलिया सत्याल सदस्य रहेको सम्मानित व्यक्तित्व चयन समिति बनायो । हामी चारैजना काभ्रे जिल्लाका बासिन्दा छौँ । हामीलाई चयन समितिमा मनोनयन गरेकोमा शब्दयात्रा प्रकाशनलाई हामी धन्यवाद दिन चाहन्छौँ ।
सम्मानका लागि सिफारिस गरिएका नाउँहरूमध्ये सम्बन्धित विधाका प्रतिभाहरू र संस्थाहरूको नाउँ शब्दयात्रा प्रकाशनले हाम्रो समितिलाई उपलब्ध गराएको थियो । हामीलाई प्राप्त भएका नाउँहरूमध्येबाट हामीले हरेक विधाका लागि एक–एकजनाको नाउँ चयन गरी सम्बन्धित सम्मान समर्पण गर्नका लागि सिफारिस ग¥यौँ । त्यसपछि संस्थाले उहाँहरूलाई सम्मान गर्ने घोषणा ग¥यो । आज उहाँहरू सम्मानित हुन लाग्नुभएको छ । हाम्रो निर्णयअनुसार नै सम्मान ग्रहण गर्न स्वीकृति दिनुभएकोमा अग्रज पत्रकार होमनाथ दाहाल, नेपालको पहिलो सामुदायिक विद्यालय षडानन्द माध्यमिक विद्यालय, नेपालको पहिलो कम्प्युटर प्रोग्रामर मुनिबहादुर शाक्य र काभ्रे जिल्लामा सक्रिय सामाजिक संस्था लभग्रीन नेपालप्रति चयन समिति आभार व्यक्त गर्दछ । उहाँहरू सबैलाई हामी हार्दिक बधाई अर्पण गर्दछौँ ।
सम्मानित हुने महानुभावहरूको चिनारी र योगदानको विवरण ‘नेपालभूमि साप्ताहिक’ को अतिरिक्त विशेषाङ्कमा उल्लेख गरिएकाले उहाँहरूका विषयमा विशेष जानकारी तपाईंहरूको हातमा आइपुगेको त्यसै पत्रिकाबाट लिन अनुरोध गर्दछु ।
कार्यक्रममा श्रीधर प्याकु¥यालको ‘भर्तृहरि शतक’, बेलप्रसाद श्रेष्ठको ‘मी एन्ड माई धुलिखेल’, विष्णुहरि तिमल्सिनाको ‘शाहवंशका चर्तिकला’ र पूरा श्रेष्ठको ‘पुनर्जन्म’ सार्वजनिक हुन लागेको हुनाले चारैजना कृतिकारलाई चयन समितिका तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दछु ।
शब्दयात्रालाई १ लाख ११ हजार
नेपालका विशिष्ट व्यक्तिहरू उपस्थित रहेको यस समारोहमा मलाई सभापति चयन गर्नुभएकोमा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री सरसहित शब्दयात्रा प्रकाशनका सम्पूर्ण परिवारजनप्रति म हार्दिक आभार व्यक्त गर्दछु ।
बहिनी पूरा श्रेष्ठको साहित्यिक कृतिको प्रकाशन गर्ने क्रममा आदरणीय दाइ सिद्धिबहादुर कर्माचार्यको सौजन्यबाट हरि मञ्जुश्री सरसँग मेरो चिनजान भएको हो । उहाँकै सहयोगबाट पूरा श्रेष्ठको ‘नयाँ सोच’ पुस्तक छापियो, सार्वजनिक भयो र राष्ट्रिय स्तरमा चर्चा पनि भयो । ‘मधुपर्क’ र ‘कान्तिपुर’ जस्ता पत्रिकाले पनि पूरा श्रेष्ठलाई नेपालभरि चिनाए । डा. चिन्तामणि योगीको आर्थिक सहयोग र हरि मञ्जुश्री सरको सम्पादन सहयोगका कारण उनैको अर्को पुस्तक ‘पुनर्जन्म’ छापिएको छ र आज सार्वजनिक हुँदैछ ।
‘पुनर्जन्म’ को प्रकाशनकै क्रममा म हरि मञ्जुश्री सरकहाँ जाँदा उहाँले शब्दयात्रा प्रकाशनबाट स्थापना गरिएका १८ वटा विधाका सम्मानहरूको विवरण सुनाउनुभयो र तीमध्ये एउटा सम्मानको आर्थिक व्यवस्थापन गर्नका लागि १ लाख रुपियाँ सम्मानकोषमा राखिदिन सकिन्छ कि भनेर मलाई सोध्नुभयो । ‘जुनसुकै विधामा भए पनि अनुसन्धान गर्ने व्यक्तिहरूलाई गरिने सम्मानको कोषमा यसै वर्षदेखि म १ लाख रुपियाँ राखिदिउँला’ भनेर मैले वचन दिएँ । उहाँले ‘विज्ञान–प्रविधि सम्मानका लागि कोष राखिदिनोस् न त’ भन्नुभयो । हाम्रा पूज्य पिताजी रामकृष्ण श्रेष्ठको निधन भएपछि हामी उहाँका सन्ततिहरूले उहाँको समाजसेवी भावनालाई अघि बढाउन ‘रामकृष्ण स्मृति प्रतिष्ठान’ खोलेका हुनाले हामी परिवारका सदस्यहरूले ‘रामकृष्ण स्मृति प्रतिष्ठान’ आर्थिक व्यवस्थापक रहने गरी यसै वर्षदेखि विज्ञान–प्रविधि सम्मानकोषको आर्थिक व्यवस्था गरिदिने निर्णय ग¥यौँ । त्यसैले ‘रामकृष्ण स्मृति प्रतिष्ठान’ का तर्फबाट शब्दयात्रा प्रकाशनको विज्ञान–प्रविधि सम्मानकोषमा रहने गरी १ लाख १ हजार रुपियाँ र आजको कार्यक्रमका लागि १० हजार रुपियाँसहित १ लाख ११ हजार रुपियाँ म अहिले नै हस्तान्तरण गर्न चाहन्छु ।
शब्दयात्रा प्रकाशन नेपालको नमुना वाङ्मयिक संस्था बनेर हाम्रो ३ नं. प्रदेशको गौरव बनोस् भन्ने कामना गर्दछु ।
(सभापतिका रूपबाट अभिव्यक्त मन्तव्यको मूल भाग)
आभार ! धन्यवाद !
शब्दयात्रा प्रकाशनबाट विभिन्न १८ विधाका सम्मानहरू हरेक वर्ष समर्पण गरिन्छन् । तीमध्ये फागुन महिनामा समर्पण गरिने सम्मानहरू २०७४ साल फागुनका लागि आज समर्पण गरिँदैछन् । तिनमा सुनील सापकोटाद्वारा व्यवस्थापित शब्दयात्रा — देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान अग्रज सञ्चारकर्मी होमनाथ दाहाललाई, रमेश पौड्यालद्वारा आफ्ना हजुरबुबा–हजुरआमाको स्मृतिमा व्यवस्थापित शब्दयात्रा — होम–तोत्र शिक्षा सम्मान नेपालको प्रथम विद्यालय दिङ्ला भोजपुरको षडानन्द माध्यमिक विद्यालयलाई, निर्मला श्रेष्ठको सक्रियतामा रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानद्वारा व्यवस्थापित शब्दयात्रा — रामकृष्ण विज्ञान–प्रविधि सम्मान प्रसिद्ध कम्प्युटर वैज्ञानिक मुनिबहादुर शाक्यलाई र आनन्दराज श्रेष्ठद्वारा व्यवस्थापित शब्दयात्रा — हंसराज श्रेष्ठ सामाजिक जागरण सम्मान काभ्रे जिल्लामा सक्रिय समाजसेवी संस्था लभग्रीन नेपाललाई समर्पण गरिँदैछ । यस संस्थाको सम्मान स्वीकार गरिदिनुभएकोमा होमनाथ दाहाल, षडानन्द माध्यमिक विद्यालय, मुनिबहादुर शाक्य र लभग्रीन नेपालप्रति हार्दिक आभार व्यक्त गर्दछौँ ।
सम्मानित प्रतिभाहरूको चयन मुकुन्दप्रसाद दाहालको संयोजकत्वमा रघुनाथ घिमिरे, श्यामकृष्ण त्रिपाठी र पम्फा थपलिया सत्याल सदस्य रहनुभएको चार सदस्यीय सम्मानित व्यक्तित्व चयन समितिले गरेको हो । उहाँहरूप्रति यो संस्था आभारी रहेको छ ।
आजको समारोहमा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित तथा काव्यकार श्रीधर प्याकु¥यालद्वारा अनूदित ‘भर्तृहरि शतक’, समाजसेवी बेलप्रसाद श्रेष्ठद्वारा लिखित ‘मी एन्ड माई धुलिखेल’, विष्णुहरि तिमल्सिनाद्वारा सङ्कलित ‘शाहवंशका चर्तिकला’ र पूरा श्रेष्ठद्वारा लिखित ‘पुनर्जन्म’ नामक पुस्तक–पुस्तिकालाई पनि सार्वजनिक गरिँदैछ । आ–आफ्ना कृतिहरू प्रकाशनार्थ उपलब्ध गराइदिनुभएकोमा कृतिकारहरूप्रति पनि यो संस्था आभारी छ ।
‘मी एन्ड माई धुलिखेल’ पुस्तकलाई अङ्ग्रेजी भाषामा अनुवाद गरिदिनुभएकोमा डा. भास्कर हुमागाईंप्रति तथा ‘पुनर्जन्म’ पुस्तकका लागि आर्थिक भार बहन गरिदिएकोमा शान्ति सेवा आश्रम र गोसाइँस्थान नैमिषारण्य क्षेत्र विकास समितिप्रति र शब्दयात्रा प्रकाशनलाई अघि बढ्न हरेक प्रकारको सहयोग गरेकोमा नीलकण्ठेश्वर धाम संरक्षण समितिप्रति यो संस्था धन्यवाद ज्ञापन गर्दछ ।
पदमनाथ ढुङ्गाना, मोहनविनोद बजगाईं, अमृत अधिकारी जस्ता धेरै सहयोगी मित्रहरूको सहयोगबाट आजको कार्यक्रम आयोजना गर्न सकिएको हो । उहाँहरूलाई पनि धन्यवाद ज्ञापन गर्दछु ।
यस्तो महàवपूर्ण समारोहमा आफ्नो व्यस्त समयलाई व्यवस्थापन गरी उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु ।
सरकारी संस्थाभन्दा शब्दयात्रा अगाडि
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि तुलसी दिवसले प्राज्ञिक कार्यक्रमहरूमा सरकारी संस्थाभन्दा अन्य संस्थाहरू अगाडि रहेको र शब्दशक्तिको तुलनामा अन्य शक्तिहरू फिका रहेको उल्लेख गर्नुभयो । सरकारी सहयोगविना पनि साहित्यिक क्षेत्रका ठूला–ठूला कामहरू गर्न सकिन्छ भन्ने उदाहरण शब्दयात्रा प्रकाशनले देखाइदिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो — होहल्ला नगरीकन र सरकारको सहयोग पनि नलिईकन साढे छ वर्षभित्र शब्दयात्रा प्रकाशनले जतिवटा पुस्तक प्रकाशन गर्न सक्यो र जतिजनालाई सम्मान गर्न सक्यो, नेपालका लागि यो एउटा कीर्तिमान नै हो ।
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले समारोहमा उपस्थित विशिष्ट व्यक्तित्वहरूको परिचय गराइसकेपछि शब्दयात्रा प्रकाशनले स्थापना भएको साढे ६ वर्षको अवधिको स्थानीय जनताको सहयोगमा बनेपामा ५ आना जग्गा जोड्न सकेको, प्रथम शिक्षासेवी, प्रथम गायिका, प्रथम वैज्ञानिक, प्रथम लोकतान्त्रिक पत्रकार र प्रथम साहित्यिक सहिदको सालिक निर्माण गरिएको, एक सयजनालाई सम्मानित गरिएको, एक सयवटा पुस्तक प्रकाशन गरिएको, नियमित साप्ताहिक पत्रिका प्रकाशन गरिएको, नियमित प्रवचन कार्यक्रम र नियमित रेडियो कार्यक्रम सञ्चालन गरिएको जानकारी गराउनुभएको थियो ।
लेखकहरूलाई स्मृतिचिह्न
उक्त समारोहमा प्रमुख अतिथि तुलसी दिवसले शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित नेपालभूमि साप्ताहिकमा २०७३ फागुनदेखि २०७३ फागुनसम्म १० भन्दा बढी लेख–रचना उपलब्ध गराउने लेखक–स्तम्भकारहरूलाई स्मृतिचिह्न प्रदान गर्नुभएको थियो । त्यसको व्यवस्थापन नेपालभूमि साप्ताहिकका प्रधान सम्पादक रामचन्द्र हुमागाईंले गर्नुभएको थियो ।
स्मृतिचिह्न पाउनेहरूमा बालसाहित्यकार गोपाल पराजुली, वरिष्ठ पत्रकार प्रा. डा. गोपाल शिवाकोटी, निबन्धकार द्रोणप्रसाद श्रेष्ठ, काव्यकार कविप्रसाद प्याकु¥याल, गजलकार अनीता भण्डारी, आध्यात्मिक लेखकहरू मुकुन्दप्रसाद उपाध्याय, ओतबहादुर खड्का र उद्धवप्रसाद भट्टराई तथा कृष्णविनोद शर्मा, खोमदत्त बराल, जगन्नाथ गिरी, दामोदर घिमिरे, दीपक तिमल्सिना, पदमनाथ ढुङ्गाना, भार्गव उपाध्याय र अनुपम ढुङ्गेल आदि हुनुहुन्थ्यो ।
चार पुस्तक सार्वजनिक
उक्त कार्यक्रममा प्रमुख अतिथि तुलसी दिवसले बेलप्रसाद श्रेष्ठद्वारा लिखित ‘मी एन्ड माई धुलिखेल’ संस्मरण र विष्णुहरि तिमल्सिनाद्वारा सङ्कलित ‘शाहवंशका चर्तिकला’, पोष चापागाईंले श्रीधर प्याकु¥यालद्वारा अनूदित ‘भर्तृहरि शतक’ काव्य र द्रोणप्रसाद श्रेष्ठले पूरा श्रेष्ठद्वारा लिखित ‘पुनर्जन्म’ कवितासङ्ग्रहलाई सार्वजनिक गर्नुभयो । यी पुस्तकहरूसहित शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित पुस्तकहरूको सङ्ख्या एक सय पुगेको छ ।
सार्वजनिक गरिएका पुस्तकहरूका बारेमा फणीन्द्रराज अधिकारीले चिनारी गराउनुभएको थियो ।
चार सम्मान समर्पण
शब्दयात्रा प्रकाशनले २०७४ वर्षको आमसञ्चार सम्मान अग्रज आमसञ्चारकर्मी होमनाथ दाहाल र शिक्षा सम्मान नेपालकै सबैभन्दा जेठो शिक्षालय षडानन्द माध्यमिक विद्यालयलाई समर्पण गरेको छ । यसै गरी विज्ञान–प्रविधि सम्मानबाट प्रथम कम्प्युटर प्रोग्रामर मुनिबहादुर शाक्य र सामाजिक जागरण सम्मान काभ्रे जिल्लामा सक्रिय लभग्रीन नेपाल नामक संस्थालाई समर्पण गरिएको छ ।
प्रमुख अतिथि वरिष्ठ कवि तथा अग्रज संस्कृतिविद् तुलसी दिवसले उहाँहरूलाई अभिवन्दनापत्रबाट सम्मानित गर्नुभयो । उहाँहरूलाई मुकुन्दप्रसाद दाहालले उपहार, गीता अधिकारी, पदमनाथ ढुङ्गाना, रमेश पौड्याल र सहदेव श्रेष्ठले नगद पाँच–पाँच हजार रुपियाँ, हरि मञ्जुश्रीले रुद्राक्षको माला समर्पण गर्नुभएको थियो भने पोष चापागाईंले किरीट लगाइदिनुभएको थियो । यी सम्मानहरूसहित शब्दयात्रा प्रकाशनद्वारा सम्मानित व्यक्ति तथा संस्थाहरूको सङ्ख्या एक सय पुगेको छ ।
सम्मानित व्यक्ति तथा संस्थाहरूबाट आशीर्वचन लिने क्रममा लभग्रीन नेपालका अध्यक्ष केशव अर्यालबाट कृष्णमणि कुइँकेलले, मुनिबहादुर शाक्यबाट इ. रोशन मञ्जुश्री अधिकारीले, होमनाथ दाहालबाट शिव बन्जाराले र षडानन्द माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक तीर्थ न्यौपानेबाट पूर्णबहादुर कार्कीले आशीर्वचन ग्रहण गर्नुभएको थियो । सम्मानित व्यक्तित्वहरूका विषयमा सम्मानित व्यक्तित्व चयन समितिका संयोजक मुकुन्दप्रसाद दाहालले जानकारी गराउनुभएको थियो ।
सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोह सम्पन्न
शब्दयात्रा प्रकाशनको आयोजनामा शब्दयात्रा प्रकाशनकै परिसरमा गत २०७४ फागुन १५ गते मङ्गलबार सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोह सम्पन्न भयो । वरिष्ठ कवि तथा अग्रज संस्कृतिविद् तुलसी दिवसको प्रमुख आतिथ्य, नियात्राकार पोष चापागाईंको विशेष आतिथ्य र निबन्धकार द्रोणप्रसाद श्रेष्ठको आतिथ्यमा सम्पन्न उक्त समारोहको सभापतित्व शिक्षासेवी तथा समाजसेवी निर्मला श्रेष्ठले गर्नुभएको थियो । शब्दयात्रा प्रकाशनका महाप्रबन्धक शारदाप्रसाद शर्माले सञ्चालन गर्नुभएको र सञ्चालक सदस्य हरिगोपाल प्रधानले स्वागत भाषण गर्नुभएको उक्त कार्यक्रममा नैमिषारण्य संस्कृत गुरुकुलम्का वटुकहरूबाट स्वस्तिवाचन गरिएको थियो भने वटुकहरूलाई श्यामकृष्ण लम्सालले टीका र त्रिरत्न रन्जितकारले दक्षिणा प्रदान गर्नुभएको थियो । मञ्चमा उपस्थित व्यक्तित्वहरूलाई जग्गादाता कृष्णमणि कुइँकेल र नानुदेवी कुइँकेलले ब्याच तथा ‘शब्दसंवाद’ का सञ्चालक पदमनाथ ढुङ्गाना र उर्मिला गिरीले माला अर्पण गर्नुभएको तथा दामोदर घिमिरे र सुदर्शन आचार्यले चयन समितिका सदस्यहरूलाई र रामप्रसाद अधिकारीले प्रमुख अतिथिलाई शब्दयात्रा प्रकाशनका तर्फबाट उपहार प्रदान गर्नुभएको उक्त कार्यक्रममा सम्मान सामग्री र पुस्तकहरूको व्यवस्थापन सञ्चालक सदस्य श्यामकृष्ण लम्सालले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा सभापतिका रूपबाट शिक्षासेवी निर्मला श्रेष्ठले शब्दयात्रा प्रकाशनको सम्मानकोषका लागि १ लाख १ हजार रुपियाँ हस्तान्तरण गर्नुभयो ।
शब्दयात्रा प्रकाशनको उक्त कार्यक्रम चार कारणले महàवपूर्ण रहेको थियो । पहिलो ः २०७४ सालमा समर्पण गरिने अन्तिम सम्मानहरू ४ जनालाई समर्पण गर्दा यस संस्थाले सम्मान गरेका व्यक्ति तथा संस्थाहरूको सङ्ख्या १०० पुग्यो । दोस्रो ः त्यही दिन चारवटा पुस्तकलाई सार्वजनिक गरिएका पुस्तकसमेत यस संस्थाले प्रकाशन गरेका पुस्तकहरूको सङ्ख्या पनि १०० नै पुग्यो । तेस्रो ः पहिलोपटक संस्थाको कार्यक्रम संस्थाकै परिसरमा गरियो । चौथो ः सम्मान समर्पण समारोहको सञ्चालन यसअघि अध्यक्षले गर्ने गरेकोमा यसपटकदेखि कार्यक्रम सञ्चालनको जिम्मेवारी हस्तान्तरण गरियो ।