२०७४ सालको अन्तिम सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहमा सार्वजनिक गरिएका पुस्तकहरूका बारेमा चिनारी गराइदिन मलाई आग्रह गरिएको छ । त्यसैले म त्यही विषयमा केन्द्रित हुन चाहन्छु ।
परिचयका लागि मलाई जिम्मा दिइएको पहिलो पुस्तक ‘भर्तृहरिशतक’ हो । यो पुस्तक शब्दयात्रा प्रकाशनबाट प्रकाशित ९७ औँ पुस्तक हो । संस्कृत साहित्यका महान् काव्यकार भर्तृहरिले लेख्नुभएको नीतिशतक, वैराग्यशतक र शृङ्गारशतकलाई समग्रमा भर्तृहरिशतक भन्ने गरिन्छ । त्यही काव्यलाई काभ्रे जिल्लाका काव्यकार श्रीधर प्याकु¥यालले नेपाली भाषामा कवितात्मक भावानुवाद गर्नुभएको हुँदा यो पुस्तक प्रकाशित हुन सकेको हो । जम्मा १ सय ४४ पृष्ठको यस पुस्तकको मूल्य रु. २००।– राखिएको छ । यो पुस्तकसमेत शब्दयात्रा प्रकाशनबाट २०७४ सालमा उहाँका चारवटा पुस्तक प्रकाशित भएका छन् । उहाँका लागि पनि यो गौरवको कुरो हो । यसका लागि र यस कृतिका लागि पनि श्रीधर प्याकु¥याललाई हार्दिक बधाई छ ।
अब ‘मी एन्ड माई धुलिखेल’ पुस्तकको चर्चा गर्दछु । शब्दयात्रा प्रकाशनबाट प्रकाशित यो ९८ औँ कृति हो । यसका लेखक बेलप्रसाद श्रेष्ठ हुनुहुन्छ । शब्दयात्रा प्रकाशनले उहाँको प्रतिमा स्थापना गरेर अनावरण गराइसकेको छ । काभ्रे जिल्लामा स्थापित जीवित समाजसेवीको पहिलो प्रतिमा त्यही हो । बेलप्रसाद श्रेष्ठले यसभन्दा अगाडि नेपाली भाषामा लेख्नुभएको ‘म र मेरो धुलिखेल’ पुस्तक पढ्न पाइएको थियो । त्यही पुस्तकलाई परिमार्जन र परिवद्र्धन गरेर डा. भास्कर हुमागाईंले अङ्ग्रेजी भाषामा अनुवाद गरेपछि यो पुस्तक तयार भएको हो । अविकसित अवस्थाको धुलिखेल कसरी अहिलेको विकसित धुलिखेल बन्न पुग्यो र त्यसमा कस–कसको कस्तो–कस्तो भूमिका रह्यो भन्ने कुराको जानकारी यस कृतिले दिनेछ । व्यवस्थापन सङ्कायको पाठ्यक्रममा राख्न मिल्ने यो कृति विदेशीहरूको हातमा पु¥याउन सकियो भने असाध्यै राम्रो हुने थियो । जम्मा १ सय ७६ पृष्ठको यस कृतिको मूल्य ३०० रुपियाँ राखिएको छ । यस कृतिबाट आफ्नो व्यक्तित्व र कर्तृत्वलाई अन्तर्राष्ट्रिय जगत्सम्म पु¥याउन सफल हुनुभएकोमा बेलप्रसाद श्रेष्ठलाई हार्दिक बधाई छ ।
अर्को पुस्तिका ‘शाहवंशको चर्तिकला’ हो । यो शब्दयात्रा प्रकाशनको ९९ औँ पुस्तक हो । यसका सङ्कलक विष्णुहरि तिमल्सिना हुनुहुन्छ । यसमा ‘इतिहास प्रकाश’ बाट साभार गरी शाहवंशको वंशावली राखिएको छ भने ‘शाहवंशको शल्यक्रिया’ पुस्तकबाट विभिन्न रोचक प्रसङ्गहरू साभार गरिएका छन् । जम्मा ३२ पृष्ठको यस पुस्तिकाको मूल्य सुस्त मनस्थितिका बालबालिकाको हितमा सङ्कलक स्वयंबाटै खर्च गर्ने गरी १०० रुपियाँ राखिएको छ । यस पुस्तिकाका माध्यमबाट नेपाली वाङ्मयमा प्रवेश गर्नुभएकोमा विष्णुहरि तिमल्सिनालाई हार्दिक बधाई छ ।
चौथो कृति पूरा श्रेष्ठद्वारा लिखित ‘पुनर्जन्म’ नामक कवितासङ्ग्रह हो । यो शब्दयात्रा प्रकाशनको १०० औँ प्रकाशनपुष्प हो । आध्यात्मिक प्रवाचक डा. चिन्तामणि योगीको सहयोगमा शान्ति सेवा आश्रम र गोसाइँस्थान नैमिषारण्य क्षेत्र विकास समितिको आर्थिक सहयोगबाट प्रकाशित यस सङ्ग्रहमा ‘पुनर्जन्म’ शीर्षकका ४३ वटा कविता रहेका छन् । जम्मा ४८ पृष्ठको यस सङ्ग्रहको मूल्य ७० रुपियाँ राखिएको छ । उहाँको पहिलो कृति ‘नयाँ सोच’ लघु–उपन्यास यसै संस्थाबाट प्रकाशित भई सार्वजनिक भएको थियो । अत्यन्त कमजोर शारीरिक अवस्था हुँदाहुँदै पनि आत्मबल बढाएर साहित्यिक क्षेत्रमा सक्रिय भई दोस्रो कृतिका कृतिकार हुनुभएकोमा पूरा श्रेष्ठलाई हार्दिक बधाई छ । हामी उहाँको स्वास्थ्यलाभको कामना गर्दछौँ ।
अन्त्यमा, यी चारैवटा कृतिहरूले नेपाली भाषा–साहित्यमा विशेष स्थान राख्नेछन् भन्ने विश्वास व्यक्त गर्दै कृतिहरूको परिचयात्मक टिप्पणी गरिदिन मलाई गरिएको आग्रहका लागि शब्दयात्रा प्रकाशनप्रति हार्दिक आभार व्यक्त गर्दछु र आफ्नो टिप्पणी यहीँ समाप्त गर्दछु ।
(पुस्तकका विषयमा गरिएको परिचयात्मक टिप्पणीको मूल भाग)