कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि तुलसी दिवसले प्राज्ञिक कार्यक्रमहरूमा सरकारी संस्थाभन्दा अन्य संस्थाहरू अगाडि रहेको र शब्दशक्तिको तुलनामा अन्य शक्तिहरू फिका रहेको उल्लेख गर्नुभयो । सरकारी सहयोगविना पनि साहित्यिक क्षेत्रका ठूला–ठूला कामहरू गर्न सकिन्छ भन्ने उदाहरण शब्दयात्रा प्रकाशनले देखाइदिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो — होहल्ला नगरीकन र सरकारको सहयोग पनि नलिईकन साढे छ वर्षभित्र शब्दयात्रा प्रकाशनले जतिवटा पुस्तक प्रकाशन गर्न सक्यो र जतिजनालाई सम्मान गर्न सक्यो, नेपालका लागि यो एउटा कीर्तिमान नै हो ।
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले समारोहमा उपस्थित विशिष्ट व्यक्तित्वहरूको परिचय गराइसकेपछि शब्दयात्रा प्रकाशनले स्थापना भएको साढे ६ वर्षको अवधिको स्थानीय जनताको सहयोगमा बनेपामा ५ आना जग्गा जोड्न सकेको, प्रथम शिक्षासेवी, प्रथम गायिका, प्रथम वैज्ञानिक, प्रथम लोकतान्त्रिक पत्रकार र प्रथम साहित्यिक सहिदको सालिक निर्माण गरिएको, एक सयजनालाई सम्मानित गरिएको, एक सयवटा पुस्तक प्रकाशन गरिएको, नियमित साप्ताहिक पत्रिका प्रकाशन गरिएको, नियमित प्रवचन कार्यक्रम र नियमित रेडियो कार्यक्रम सञ्चालन गरिएको जानकारी गराउनुभएको थियो ।