Home Blog Page 74

१८३. अमरज्योति

डा. गोपाल पौड्याल ‘मन्डने’ काभ्रेपलान्चोक जिल्लामा जन्मनुभएका साहित्यिक प्रतिभा हुनुहुन्छ । उहाँद्वारा लिखित ‘अमरज्योति’ खण्डकाव्य आर्थिक र मानसिक दुवै रूपमा विपन्न नेपाली परिवारको वियोगान्त कथा हो । जातिभेदले ग्रस्त पारेको समाजको कुप्रथालाई चुनौती दिएपछि त्यसबाट व्यक्तिगत र सामाजिक जीवन नै तहसनहस हुन पुगेको, बेरोजगारीको समस्याका कारण बिदेसिनुपरेको, विकृत मनस्थितिका व्यक्तिबाट महिलामाथि चोट परेको, त्यसैका कारणले मरणशोक पर्न गएको र त्यही मरणशोकलाई समाजको सकारात्मक रूपान्तरणका लागि उपयोग गर्न खोजेको घटना–सन्दर्भ यस खण्डकाव्यमा प्रस्तुत भएको छ ।

१८२. समयको अन्तराल

नरनारायण ‘वत्स’ को दोस्रो कवितासङ्ग्रह ‘समयको अन्तराल’ नामक प्रस्तुत कृति हो । यस कृतिमा त्रिचालीसवटा गद्यकविताहरू सङ्कलित छन् । देशको राजनीतिक अस्थिरताप्रति चिन्ता, आपसी अविश्वास, निराशा र सङ्कटबाट उब्जेको दुःख, राष्ट्रप्रतिको प्रेम, राष्ट्रियता र मानवीय स्वतन्त्रताप्रतिको निष्ठा, विद्रोह र व्यङ्ग्य, प्राकृतिक सौन्दर्यप्रतिको मोह यस सङ्ग्रहका कविताहरूमा पाइन्छन् । त्यसैले यो सङ्ग्रह वर्तमान समयको अभिलेख बनेको छ ।

१८१. राधाचरणामृत

यज्ञप्रसाद उपाध्याय त्रिपाठीको ‘राधाचरणामृत’ नामक प्रस्तुत महाकाव्यमा १२ सर्ग र १ हजार ७ सय ४३ श्लोक छन् । सबैभन्दा छोटो सर्ग पहिलो र सबैभन्दा लामो सर्ग तेस्रो देखिन्छ । यो उहाँको दोस्रो कृति हो । यो महाकाव्य लयात्मक ढाँचामा लेखिएको छ । छन्द नमिले पनि सजिलै पढ्न सकिन्छ । यसमा राधालाई विषयवस्तु बनाइएको छ । यो गम्भीर भावभूमि भएको महाकाव्य हो ।

१८०. मनमा नअटेका कुरा

‘मनमा नअटेका कुरा’ अक्षरयात्री लोकमान मास्केका गद्यकविताहरूको सङ्कलन हो । यसभिका कविताहरू पढ्दा पृष्ठभूमिका रूपमा पाठकले साढे चार दशकअघिको समयवृत्तमा पुग्नुपर्छ । यस सङ्ग्रहमा स्रष्टाको उमेरसँग मिलाएर कवितासङ्ख्या राखिएको छ । लामा–छोटा दुवैथरिका कविताहरूको यस सङ्ग्रहमा राष्ट्रिय स्वाभिमानी भावनाा, प्रगतिशील चिन्तन, सामयिक चित्रण, विपरीतलिङ्गीप्रतिको अनुराग, समाजको कुरूप मनोविज्ञानमाथि कटाक्ष, विसङ्गत अवस्थाप्रति प्रहार आदि विशेषता पाइन्छन् ।

१७९. धृतराष्ट्रको शुभकामना

हरि कोर्कालीको तेस्रो कृति ‘धृतराष्ट्रको शुभकामना’ ३३ वटा व्यङ्ग्यकविताहरूको सङ्ग्रह हो । यस सङ्ग्रहभित्रका हरेक कविता पढ्दा पाठकको मनले अनायासै ‘आहा’ भन्न सक्छ । बहुसङ्ख्यक नेपाली पाठकले भन्न खोजेका तर आँट नआएर भन्न नसकेका अनि लेख्न चाहेका तर भाँती पुग्न सक्तैन कि भनेर पन्छिएका विषयहरू यस सङ्ग्रहका कविताहरूमा छन् । पाठकले पढ्न चाहेर पनि भेट्न नसकेका र कसैले लेखिदेओस् भनेर चाहना गरेका विषय–सन्दर्भहरू यस सङ्ग्रहमा आएका छन् । त्यसैले यसभित्रका कविताहरू आम पाठकका आवाजहरू हुन् र समयका सामयिक स्वरहरू हुन् । साहित्यिक व्यङ्ग्यका लागि भाँती पु¥याएर लेख्न सक्ने शैलीको प्रयोग यस सङ्ग्रहका कविताहरूमा पाइन्छ । त्यसैले यसभित्रका कवितालाई विचार र शैली दुवै दृष्टिबाट शक्तिशाली र उत्तम व्यङ्ग्यकविताका रूपमा लिन सकिन्छ ।

१७८. जून मामा

‘जून मामा’ कवि हरि कोर्कालीद्वारा लिखित ७५ वटा बालकविताहरूको सङ्ग्रह हो । यसमा किशोरकविताहरू पनि सङ्कलित छन् । बालबालिका र किशोरकिशोरीलाई सदाचारी, नैतिकवान्, समाजप्रेमी, प्रकृतिप्रेमी र राष्ट्रप्रेमी हुन सिकाउने यी कविताहरूले राष्ट्रप्रति गौरव गर्न, स्वाभिमानी बन्न, सत्यपथमा अडिग रहन, श्रमको सम्मान गर्न र प्रकृतिप्रति कृतज्ञ रहन पनि सिकाएका छन् । सुसंस्कृत बनेर सबैसँग मेलमिलाप गरी बस्नुपर्ने व्यावहारिक पाठ पनि यस सङ्ग्रहबाट बालबालिका र किशोरकिशोरीले सिक्न सक्छन् । कविताको प्रस्तुति पनि अचेलका बालबालिका र किशोरकिशोरीले मन पराउने खालको छ । नेपालीभाषी बालसाहित्यिक क्षेत्रका लागि यो पुस्तक अर्को उल्लेखयोग्य प्राप्ति बनेको छ ।

१७७. जिन्दगीका डोबहरू

कवयित्री लीलादेवी श्रेष्ठको ‘जिन्दगीका डोबहरू’ नामक प्रस्तुत भजन–कवितासङ्ग्रहमा भजन र कविता गरी दुई खण्ड छन् । पहिलो खण्डमा ३६ वटा भजन र दोस्रो खण्डमा ५६ वटा कविता रहेका छन् । यसरी यो पुस्तक जम्मा ९२ वटा रचनाको सङ्ग्रह बनेको छ ।

१७६. अठोट

नाटककार लीलादेवी श्रेष्ठको ‘अठोट’ नामक प्रस्तुत नाट्यकृति आफ्नो जन्मभूमिप्रति हरेक व्यक्तिको विशेष कर्तव्य हुन्छ भन्ने सन्देश दिन सक्षम छ । विभिन्न पात्र र घटनाहरूलाई कथावस्तुमा उन्दै कथानकलाई विकसित गराएर कतै पनि द्वन्द्व नदेखाईकन नाटकलाई सन्देशमूलक ढङ्गबाट अन्त्य गराइएको छ । यस नाटकको कथातन्तुले ‘अठोट’ नाउँलाई सार्थक पारेको छ ।

१७५. गाईजात्रा

लघुकथाकार गायत्रीकुमार चापागार्र्ईंको विशिष्ट शिल्पबाट सुसज्जित ‘गाईजात्रा’ गम्भीर विषयलाई सरल प्रस्तुतिका साथ लेखिएको लघुकथासङ्ग्रह हो । यसले दिन खोजेको विचार र अवलम्बन गरेको शैली तथा यसमा प्रयोग भएको भाषा–व्याकरणका आधारबाट पाठकवर्गले यस सङ्ग्रहको मूल्याङ्कन गर्न सक्छन् । राजनीतिमा ल्याइएको विकृति, विकृतिले उब्जाएको सामाजिक बेथिति, बेथितिका कारण बढ्दै गएको अन्धविश्वास र विश्वासमाथि घात गरेर उठेका विविध प्रकारका शोषणहरू यस सङ्ग्रहमा रहेका सबै लघुकथाका विषयवस्तु हुन् । भावको सघनता, सुस्पष्ट विचार, व्यङ्ग्यको प्रयोग र अनावश्यक शब्दको अभाव यस सङ्ग्रहका मूल विशेषता देखिन्छन् ।

१७४. सङ्घर्ष र जीवन

‘सङ्घर्ष र जीवन’ (अनुभव र अनुभूति) लेखक माधवप्रसाद चापागाईंले भोग्नुभएका दुःखदायी र आनन्ददायी गाथाहरूलाई लेखसङ्ग्रहको ढाँचामा लेखिएको प्रेरणादायी र सन्देशमूलक अभिव्यक्ति हो । जम्मा २५ शीर्षक राखेर तयार पारिएको यस पुस्तकलाई उहाँको पहिलो पुस्तक ‘जीवन एक भोगाइ अनेक’ को दोस्रो भाग पनि भन्न सकिन्छ । जीवन र जगत्का विविध आयाममा देखिएको दृष्टिभिन्नता, पुरानो र नयाँ पुस्ताबीचको मनोविज्ञानमा आएको पृथकता, उमेरले ल्याउने सोच, समयले ल्याएको परिवर्तन, अल्पविकसित र विकसित देशको अवस्था जस्ता विषयहरूमा केन्द्रित यो पुस्तक संस्मरणलेखनको रोचक शैलीका कारण पठनीय र सङ्ग्रहणीय बनेको छ ।