Home Blog Page 73

कल्पना भट्टलाई दूरदृष्टि नेतृत्व पुरस्कार प्रदान गरिने

0

शब्दयात्रा प्रकाशनबाट हरेक वर्ष प्रदान गर्ने गरी स्थापना गरिएको ‘दूरदृष्टि नेतृत्व पुरस्कार’ २०७९ सालका लागि कैलाली धनगढीकी समाजसेवी कल्पना भट्टलाई प्रदान गरिने भएको छ । कल्पना भट्टले दृष्टि फाउन्डेसन नेपाल नामक संस्थाको स्थापना गरेर मानसिक सन्तुलन गुमाएका व्यक्तिहरूका लागि खानपिन, बसोवास र उपचारको प्रबन्ध गर्दै आउनुभएको कुरा उहाँका लागि गरिएको सिफारिसपत्रमा उल्लेख छ । उहाँको नाउँ महाकवि मनिराज जोशीले सिफारिस गर्नुभएको थियो । विदेशीसँग सहायता नलिई आफ्नै स्रोत परिचालन गरेर सामाजिक कार्य गर्दै संस्थागत सुदृढीकरण गर्न प्रयत्नरत व्यक्तिलाई प्रदान गरिने यो पुरस्कारका लागि आएका विभिन्न सिफारिसमध्येबाट कल्पना भट्टको नाउँ चयन गरिएको हो । पुरस्कृत व्यक्तिको चयन गर्न शब्दयात्रा प्रकाशनले गठन गरेको चयन समितिमा दामोदर घिमिरे संयोजक तथा रश्मि अधिकारी हुमागाईं र अञ्जनि कोइराला सदस्य हुनुहुन्छ । पुरस्कारमा १५ हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट र उपहार प्रदान गरिन्छ । यस पुरस्कारको आर्थिक व्यवस्थापन रश्मि मञ्जुश्री र इ. रोशन मञ्जुश्रीले गर्नुभएको हो ।

छ प्रकारका कोष

0
शब्दयात्रा प्रकाशनले कस्ता–कस्ता कोषहरू बनाएर गतिविधि गर्ने गरेको छ भनेर धेरैजनाले जिज्ञासा राख्नुभएको हुँदा उत्तर दिन लागिएको छ । शब्दयात्रा प्रकाशनमा छ प्रकारका कोषको व्यवस्था गरिएको छ — (१) विभिन्न विधाका सम्मान समर्पण गर्न, (२) विभिन्न विधाबाट योगदान गर्ने व्यक्तिलाई पुरस्कृत गर्न, (३) छात्रछात्रालाई अध्ययनवृत्ति दिन, (४) अनुसन्धातालाई विद्वतवृत्ति दिन, (५) विपत्तिपीडित लेखक, पत्रकार र कलाकारलाई आर्थिक सहयोग गर्न, (६) भौतिक संरचना निर्माण गर्न । कुनै पनि कोषका लागि सरकारी निकाय र विदेशीहरूबाट रकम लिइएको छैन । शब्दयात्रा प्रकाशनमार्फत वाङ्मयिक सेवा गर्न चाहने व्यक्तिहरूले राखेको अक्षयकोषबाट यस संस्थाका गतिविधिहरू सञ्चालन भएका छन् ।

शब्दयात्रा प्रकाशनको भवन उद्घाटन

0
शब्दयात्रा प्रकाशनको भवनको उद्घाटन हिजो साउन २४ गते मङ्गलबार गरियो । काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापा र संस्थापक उपकुलपति प्रा. डा सुरेशराज शर्माले संयुक्त रूपमा भवनको उद्घाटन गर्नुभयो । शब्दयात्रा प्रकाशनको झण्डाको समाजसेवी बेलप्रसाद श्रेष्ठले, भवन हस्तान्तरण गरिँदाको शिलालेखको प्रा. डा. भोला थापा र सावित्री जङ्गम थापाले संयुक्त रूपमा अनावरण अर्नुभयो । यसै गरी ‘सावित्री जङ्गम थापा अध्ययन–अनुसन्धान कक्ष’ को पूर्वमन्त्री अष्टलक्ष्मी शाक्य र दाता सावित्री जङ्गम थापाले तथा ‘शब्दयात्रा शारदा थापा सभाकक्ष’ को पूर्वमन्त्री शान्ता मानवी र दाता सकुल थापाले संयुक्त रूपमा उद्घाटन गर्नुभयो । तत्पश्चात् ‘सावित्री जङ्गम थापा अध्ययन–अनुसन्धान कक्ष’ को साँचो सावित्री जङ्गम थापाले र ‘शब्दयात्रा शारदा थापा सभाकक्ष’ को साँचो दाता सकुल थापाले शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीलाई हस्तान्तरण गनुर््भयो । कार्यक्रममा ‘सावित्री जङ्गम थापाको जीवनी र व्यक्तित्व’ पुस्तक प्रा. डा. भोला थापा र प्रा. डा सुरेशराज शर्माले संयुक्त रूपमा सार्वजनिक गर्नुभयो । त्यसपछि भवन निर्माणमा सहयोग गर्नेहरू कृष्णमणि कुइकेल, सकुल थापा, हरिगोपाल प्रधान, शारदाप्रसाद शर्मा, नवीना श्रेष्ठ, निर्मला श्रेष्ठ, शिव बन्जारा, सङ्गीता थापा र कृष्णप्रसाद सापकोटालाई कदरपत्र प्रदान गरियो । कदरपत्र आर्किटेक इन्जिनियर तथा राजनीतिकर्मी हिसिला यमी, राष्ट्रिय योजना आयोगका सदस्य सलोनी सिंह, राष्ट्रिय मानव–अधिकार आयोगका सदस्य लिली थापा, साहित्यकार हिरण्यकुमारी पाठक, साहित्यकार रामप्रसाद पन्त र साहित्यकार रवीन्द्र आशीष शैलीले प्रदान गर्नुभयो । हरि मञ्जुश्रीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रम भ्रष्टविरोधी शास्त्रका प्रवर्तक भरत जङ्गमले समापन गर्नुभयो । प्रजापति तिमिल्सिनाले स्वस्तिवाचन र शिव बन्जाराले उद्घोषण गर्नुभएको उक्त कार्यक्रममा रुद्राक्षको माला अमृत अधिकारीले लगाइदिनुभयो भने प्रकृति प्याकुरेल र पद्मसागर कक्षपतिले छायाङ्कन गर्नुभयो । उपस्थित महानुभावहरूलाई हरि मञ्जुश्रीद्वारा लिखित ‘फोरिएको पर्खाल’ कथासङ्ग्रह सफ्टवेयर इन्जिनियर रोशन मञ्जुश्री अधिकारी र केदारनाथ तिमल्सिनाले प्रदान गर्नुभयो ।

पुस्तक पाइयो

0
शब्दयात्रा प्रकाशनका आजीवन सदस्य पदम दाहालले मादी नगरपालिकाबाट दुईवटा पुस्तक प्रकाशन गराउनुभएको छ — ‘गुरुचेला गौरवग्रन्थ’ र ‘सङ्खुवासभाका २७ राजनीतिक योद्धाहरू’ । उहाँले शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्री अधिकारीलाई दुवै पुस्तक दिनुभएको छ । ‘सङ्खुवासभाका २७ राजनीतिक योद्धाहरू’ लेख्ने श्रेय हरि मञ्जुश्री अधिकारीले दिएको कुरा कृतिकारले आफ्नो भूमिकामा र दयानन्द दाहालले आफ्नो मन्तव्यमा उल्लेख गर्नुभएको छ । यसका लागि शब्दयात्रा प्रकाशन परिवार उहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्दछ । दुवै पुस्तक शब्दयात्रा प्रकाशन पुस्तकालयमा राखिनेछन् । पुस्तक निःशुल्क प्रदान गर्नुभएकोमा पदम दाहालज्यूप्रति शब्दयात्रा प्रकाशन फेरि आभार प्रकट गर्दछ ।

डा. पुष्करराज भट्ट शब्दसाधक तीर्थमा

0

लघुकथाका विषयमा विद्यावारिधि गर्नुभएका साहित्यकार तथा ग्रन्थसम्पादक डा. पुष्करराज भट्टलाई शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले शब्दयात्रा प्रकाशनद्वारा निर्मित शब्दसाधक तीर्थमा आज २०७९ साल साउन २१ गते शनिबार स्वागत गर्नुभयो । त्यस बखत डा. भट्टले शब्दयात्रा प्रकाशनको नवनिर्मित भवन, कार्यालय, शब्दयात्रा पुस्तकालय, शब्दयात्रा स्तम्भ, शब्दयात्रा शारदा मन्दिर आदिको पनि अभिरुचिपूर्वक अवलोकन गर्नुभयो । 

गरुडध्वज बस्नेतले ‘प्रलय’ ल्याउने

0
लेखक गरुडध्वज बस्नेतले ‘प्रलय’ ल्याउन लाग्नुभएको छ । ‘प्रलय’ शब्दयात्रा प्रकाशनको प्रकाशकत्वमा प्रकाशन हुन लागेको कवितासङ्ग्रह हो । यसअघि उहाँले २०७६ सालको वैशाख महिनामा ‘जीवनका तीन घुम्ती’ नामक आत्मसंस्मरणात्मक पुस्तक प्रकाशन गराउनुभएको थियो । भोजपुर जिल्लाको दावाँमा जन्मनुभएका गरुडध्वज बस्नेत झापाको गौरादहलाई कर्मक्षेत्र बनाई हाल भक्तपुरको मध्यपुर ठिमीमा बसोवास गर्नुहुन्छ । उहाँ ७९ वर्षका हुनुहुन्छ । उहाँले प्रकाशनका लागि अरू दुई पुस्तक पनि तयार पारिसक्नुभएको छ ।

छान्ने जिम्मा समितिलाई

0
शब्दयात्रा प्रकाशनबाट आगामी असोज महिनामा शब्दयात्रा दूरदृष्टि नेतृत्व पुरस्कार, शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार र शब्दयात्रा जीवनचन्द्र कोइराला सिन्धुली प्रतिभा पुरस्कार समर्पण गरिनेछन् । सबै पुरस्कारमा १५–१५ हजार रुपियाँ, शब्दयात्रा पट्ट र अभिवन्दनापत्र रहनेछ । तीनैवटा पुरस्कारका लागि उपयुक्त पात्रको नाउँ सिफारिस गरी साउन १५ गतेभित्र पठाउन शब्दयात्रा प्रकाशनको वेबसाइट र हरि मञ्जुश्रीको फेसबुकबाट सार्वजनिक आह्वान गरिएको थियो । त्यसैअनुरूप तीनैवटा पुरस्कारका लागि विभिन्न नाउँमा सिफारिसहरू प्राप्त भएका छन् । प्राप्त भएका सिफारिसहरूको अध्ययन गरी उपयुक्त पात्रको नाउँ चयन गरेर यही साउन महिनाभित्र शब्दयात्रा प्रकाशनलाई बुझाउन तीन सदस्यीय समितिलाई आग्रह गरिएको छ । समितिमा लेखक दामोदर घिमिरे संयोजक रहनुभएको छ भने अन्य दुई सदस्य उहाँले नै छान्नुहुनेछ । उक्त समितिबाट चयन गरिएका पात्रलाई नै शब्दयात्रा प्रकाशनले पुरस्कृत गर्नेछ ।

रामप्रसाद अधिकारी अभिनन्दनग्रन्थको सम्पादन सुरु

0
रामप्रसाद अधिकारी काभ्रेपलान्चोक जिल्लाका सुप्रसिद्ध शिक्षासेवी हुनुहुन्छ । उहाँको सम्मानस्वरूप उहाँका विषयमा विभिन्न व्यक्तिहरूले लेख–संस्मरण लेखेर शब्दयात्रा प्रकाशनमा पठाउनुभएको छ । ती लेख–संस्मरणहरू समावेश गरी ‘रामप्रसाद अधिकारी अभिनन्दनग्रन्थ’ प्रकाशन गर्न लागिएको छ । अभिनन्दनग्रन्थको सम्पादनकार्य सुरु भइसकेको छ । केही समयपछि अभिनन्दनग्रन्थ मुद्रणका लागि छापाखानामा जानेछ । मुद्रणकार्य सकिएपछि उक्त अभिनन्दनग्रन्थलाई सार्वजनिक गरिनेछ । शब्दयात्रा प्रकाशनले शिक्षासेवी रामप्रसाद अधिकारीको सम्मानमा अभिनन्दनग्रन्थ प्रकाशन गर्न नौ सदस्यीय अभिनन्दनग्रन्थ प्रकाशन समिति गठन गरेको हुनाले त्यही समितिको आग्रहमा रामप्रसाद अधिकारीका बारेमा लेखिएका लेख–संस्मरणहरू अभिनन्दनग्रन्थका लागि प्राप्त भएका हुन् ।

पुस्तक–पत्रिकाका लागि आभार

0
शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि मानसाग्निले दार्शनिक हाइकुहरूको सङ्ग्रह ‘प्रारम्भ’, केशवप्रसाद चौलागाईंले ‘स्वराज्य र मेलमिलाप’ पुस्तिकाको सातौँ संस्करण तथा अर्जुन लामिछानेले ‘गौरी’ मासिक पत्रिकाको २०७९ साउन अङ्क संस्थापक अध्यक्ष हरि मञ्जुश्रीलाई उपलब्ध गराउनुभएको छ । उहाँहरूप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार व्यक्त गर्दछ ।

फेरि १५ हजार रुपियाँ

0
‘शब्दयात्रा जीवनचन्द्र कोइराला सिन्धुली प्रतिभा पुरस्कार’ का लागि मनिका शर्मा कोइरालाले १५ हजार रुपियाँ उपलब्ध गराउनुभएको छ । शब्दयात्रा प्रकाशन उहाँप्रति हार्दिक आभार व्यक्त गर्दछ ।