चयन समितिप्रति आभार
शीतल गिरीलाई रौतहट प्रतिभा पुरस्कार समर्पण गरिने
शब्दयात्रा प्रकाशनले २०८० सालको ‘शब्दयात्रा डा. शालिग्राम शर्मा रौतहट प्रतिभा पुरस्कार’ अन्वेषक तथा लेखक शीतल गिरी (गौर) मा समर्पण गर्ने भएको छ । लामो समयदेखि ऐतिहासिक तथ्यहरूको खोज र विभिन्न विधाका साहित्यिक तथा अनुसन्धानमूलक कृतिहरूको लेखन–प्रकाशन गर्नुका साथै रौतहटेली साहित्यिक गतिविधिमा अभिभावकीय र प्रेरणादायी भूमिका निर्वाह गर्नुभएकोमा उहाँलाई पुरस्कृत गर्न लागिएको हो । पुरस्कारमा २५ हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट र उपहार समर्पण गरिनेछ । पुरस्कार ग्रहण गर्न स्वीकृति दिनुभएकोमा शब्दयात्रा प्रकाशन परिवार अन्वेषक तथा लेखक शीतल गिरीप्रति हार्दिक आभार व्यक्त गर्दछ ।
बीस हजार रुपियाँ प्रदान
शब्दयात्रा प्रकाशन पुस्तकालयमा ‘शब्दयात्रा सुभाष खड्का अनुसन्धान विद्वतवृत्ति’ अन्तर्गत अनुसन्धान गर्ने अनुसन्धाताका लागि छुट्टै दराजको व्यवस्था गर्न सुभाष स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष चन्द्रबहादुर खड्काले बीस हजार रुपियाँ प्रदान गर्नुभएको छ । उक्त रकम शब्दयात्रा प्रकाशनका तर्फबाट कृष्णमणि कुइकेलले ग्रहण गर्नुभएको छ । सुभाष खड्का र सुभाष स्मृति प्रतिष्ठानका विषयमा लेखन, सम्पादन तथा अनुसन्धान गर्न चाहने व्यक्तिलाई आवश्यक सामग्री खोज्न सजिलो होस् भन्ने उद्देश्यले छुट्टै दराजको व्यवस्था गर्न लागिएको हो । रकम प्रदान गर्ने क्रममा सुभाष स्मृति प्रतिष्ठानबाट हालसम्म प्रकाशन गरिएका विभिन्न पुस्तकहरूका साथै वार्षिक मुखपत्रहरू पनि चन्द्रबहादुर खड्काले प्रदान गर्नुभएको छ र ती सामग्रीहरू कृष्णमणि कुइकेलले ग्रहण गर्नुभएको छ ।
विद्वतवृत्तिका लागि अक्षयकोष थप
शब्दयात्रा प्रकाशनले अर्को विद्वतवृत्ति पनि प्रदान गर्ने भएको छ । त्यसका लागि सुभाष स्मृति प्रतिष्ठानले शब्दयात्रा प्रकाशनलाई विद्वतवृत्तिको अक्षयकोषका लागि प्रथम चरणमा एक लाख रुपियाँ प्रदान गरेको छ । विद्वतवृत्तिको अक्षयकोष रकममा क्रमशः बृद्धि गर्दै लगिने र अक्षयकोषको ब्याजबाट शब्दयात्रा प्रकाशनले हरेक वर्ष एकजनालाई विद्वतवृत्ति प्रदान गर्ने सहमति भएको छ । सुभाष खड्का र सुभाष स्मृति प्रतिष्ठानका विषयमा लेखन, सम्पादन, अनुुसन्धान गर्ने व्यक्तिलाई उक्त विद्वतवृत्ति प्रदान गर्ने गरी भएको सम्झौतापत्रमा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्री र सुभाष स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष चन्द्रबहादुर खड्काले हस्ताक्षर गर्नुभएको छ । शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गरिसकेपछि सुभाष स्मृति प्रतिष्ठानका तर्फबाट शब्दयात्रा प्रकाशनलाई एक लाख रुपियाँको चेक हस्तान्तरण गरिएको हो ।
कालिका त्रिपाठी पन्त आजीवन सदस्य
कवयित्री कालिका त्रिपाठी पन्तले हिजो २०८० साल असार १६ गते शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता ग्रहण गर्नुभएको छ । उहाँसमेत शब्दयात्रा प्रकाशनका आजीवन सदस्यको सङ्ख्या ४८ पुगेको छ । शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता ग्रहण गर्नुभएकोमा कवयित्री कालिका त्रिपाठी पन्तलाई हार्दिक बधाई छ ।
शब्दयात्रा प्रकाशनलाई थप जग्गा प्राप्त
नीलकण्ठेश्वर धाम संरक्षण समितिसँग गरेको सम्झौता बमोजिम शब्दयात्रा प्रकाशनले बनेपा नगरपालिका वडा नं. ६ मा थप जग्गा प्राप्त गरेको छ । नीलकण्ठेश्वर धाम संरक्षण समितिले शब्दयात्रा प्रकाशनको जग्गाभन्दा दक्षिण–पूर्वतर्फ आफ्नो स्वामित्वमा रहेको कि. नं. ५९५ को ३ आना जग्गा शब्दयात्रा प्रकाशनलाई भोग गर्न दिएको हो । शब्दयात्रा प्रकाशनले उक्त जग्गामा आवश्यक भौतिक संरचनाको निर्माण र उपयोग गर्न पाउने, ती संरचनामा शिलालेख राख्ता नीलकण्ठेश्वर धाम संरक्षण समितिबाट जग्गा प्राप्त भएको बेहोरा उल्लेख गर्ने र आफ्नै आर्थिक व्यवस्थापनमा हरेक वर्ष एउटा आध्यात्मिक संस्थालाई ‘शब्दयात्रा नीलकण्ठेश्वर कृष्णमणि आध्यात्मिक संस्था सम्मान’ द्वारा सम्मानित गर्ने कुरा सम्झौतापत्रमा उल्लेख छ । दुई संस्थाका बीच दीर्घकालसम्म सुमधुर सम्बन्ध कायम भइरहोस्, संस्थागत सहकार्य उदाहरणीय बनिरहोस्, दुवै संस्था आपसी सहकार्यका लागि सधैँ तत्पर भइरहून्, दुवै संस्थाले दुवै संस्थाको हितमा कार्य गरून्, नीलकण्ठेश्वर धाम संरक्षण समितिले शब्दयात्रा प्रकाशनको हितमा आफ्नो हित देखोस्, शब्दयात्रा प्रकाशनले नीलकण्ठेश्वर धाम संरक्षण समितिको हितमा आफ्नो हित देखोस् र दुवै संस्था सञ्चालन गर्ने पछिल्ला सञ्चालकहरूले पनि यस्ता कार्यको अनुसरण गरून् भन्ने पवित्र उद्देश्यले नीलकण्ठेश्वर धाम र शब्दसाधक तीर्थ परिसरमा रहेका देवीदेवता र पितृहरूलाई साक्षी राखी सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । सम्झौतापत्रमा शब्दयात्रा प्रकाशनका तर्फबाट संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले र नीलकण्ठेश्वर धाम संरक्षण समितिका तर्फबाट संस्थापक अध्यक्ष कृष्णमणि कुइकेलले हस्ताक्षर गर्नुभएको छ । सम्झौतापत्रमा दुवै संस्थाका सम्मान्य व्यक्तिका रूपबाट शिक्षासेवी रामप्रसाद अधिकारी, पूर्वप्रशासक चन्द्रबहादुर खड्का, चिकित्सक डा. छत्रपति दाहाल र गीतिभास्कर मच्छेश्वर सापकोटाले पनि हस्ताक्षर गर्नुभएको छ । सम्झौता भङ्ग गरेर दुई संस्थाको मित्रता र सहकार्यमा बाधा पार्ने व्यक्ति वा समूहलाई दुवै संस्थाको परिसरमा रहेका देवीदेवता र पितृहरूले उचित दण्ड दिनुहुनेछ भन्ने विश्वास राखिएको कुरा सम्झौतापत्रमा उल्लेख गरिएको छ ।
आजीवन सदस्यताको प्रमाणपत्र प्रदान
कवि तथा ग्रन्थसम्पादक पदम दाहालले शब्दयात्रा प्रकाशनका नयाँ आजीवन सदस्यलाई आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गर्नुभएको छ । आजीवन सदस्यताको प्रमाणपत्र ग्रहण गर्नेहरू कवयित्रीद्वय शारदा घिमिरे भैल र भवानी पाण्डे हुनुहुन्छ । आज २०८० साल असार १६ गते शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित कार्यक्रममा कवि तथा ग्रन्थसम्पादक पदम दाहालले कवयित्रीद्वय शारदा घिमिरे भैल र भवानी पाण्डेलाई आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गर्नुभएको हो । प्रमाणपत्र प्रदान गरिदिनुभएकोमा कवि तथा ग्रन्थसम्पादक पदम दाहालप्रति तथा प्रमाणपत्र ग्रहण गरिदिनुभएकोमा कवयित्रीद्वय शारदा घिमिरे भैल र भवानी पाण्डेप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार व्यक्त गर्दछ ।
‘मुक्तक शारदीय’ सार्वजनिक
कवयित्री शारदा घिमिरे भैलद्वारा लिखित मुक्तकसङ्ग्रह ‘मुक्तक शारदीय’ आज २०८० असार १६ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ । प्रमुख अतिथि साहित्यकारत्रय रामप्रसाद पन्त, ठाकुर शर्मा र युवराज मैनाली तथा अतिथित्रय गीतिभास्कर मच्छेश्वर सापकोटा, चिकित्सक डा. छत्रपति दाहाल र शिक्षासेवी रामप्रसाद अधिकारीले संयुक्त रूपमा उक्त पुस्तक सार्वजनिक गर्नुभएको हो । मुक्तककारको चिनारी र मुक्तकसङ्ग्रहको विवेचना साहित्यकार भवानी पाण्डेले गर्नुभएको त्यस कार्यक्रममा मुक्तकसङ्ग्रहका चार–चारवटा मुक्तक कवयित्रीद्वय कालिका त्रिपाठी पन्त र सन्जु नेपालले वाचन गर्नुभएको थियो । कृतिकार शारदा घिमिरे भैलले सङ्क्षिप्त मन्तव्य व्यक्त गर्नुभएको थियो । शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष शब्दसारथि हरि मञ्जुश्रीले सभापतित्व ग्रहण गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन सञ्चारकर्मी शिव बन्जाराले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथित्रयलाई शब्दयात्रा प्रकाशनका तर्फबाट सहदीप पलान्चोकेले उपहार समर्पण गर्नुभएको थियो ।
व्यक्तित्व चयन गर्न तीनजनालाई जिम्मा
व्यक्तित्व चयन गर्न तीनजनालाई जिम्मा
आगामी साउन महिनामा शब्दयात्रा प्रकाशनले समर्पण गर्ने पन्ध्र–पन्ध्र हजार रुपियाँका चार पुरस्कार (काभ्रेपलान्चोक उद्यमशीलता पुरस्कार, दूरदर्शी नेतृत्व पुरस्कार, सिन्धुली प्रतिभा पुरस्कार, रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार) र पच्चीस हजार रुपियाँको एउटा पुरस्कार (रौतहट प्रतिभा पुरस्कार) का लागि उपयुक्त व्यक्तित्वको चयन गरिदिन गीतिभास्कर मच्छेश्वर सापकोटा, साहित्यकार केदारनाथ तिमल्सिना र इन्जिनियर रोशन अधिकारीलाई आग्रह गरिएको छ । उक्त ‘पुरस्करणीय व्यक्तित्व चयन समिति’ ले आफ्नो कार्यविधिअनुसार चयन गरेका व्यक्तित्वलाई शब्दयात्रा प्रकाशनले पुरस्कार समर्पण गर्नेछ ।