कवयित्री शारदा घिमिरे भैलद्वारा लिखित मुक्तकसङ्ग्रह ‘मुक्तक शारदीय’ आज २०८० असार १६ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ । प्रमुख अतिथि साहित्यकारत्रय रामप्रसाद पन्त, ठाकुर शर्मा र युवराज मैनाली तथा अतिथित्रय गीतिभास्कर मच्छेश्वर सापकोटा, चिकित्सक डा. छत्रपति दाहाल र शिक्षासेवी रामप्रसाद अधिकारीले संयुक्त रूपमा उक्त पुस्तक सार्वजनिक गर्नुभएको हो । मुक्तककारको चिनारी र मुक्तकसङ्ग्रहको विवेचना साहित्यकार भवानी पाण्डेले गर्नुभएको त्यस कार्यक्रममा मुक्तकसङ्ग्रहका चार–चारवटा मुक्तक कवयित्रीद्वय कालिका त्रिपाठी पन्त र सन्जु नेपालले वाचन गर्नुभएको थियो । कृतिकार शारदा घिमिरे भैलले सङ्क्षिप्त मन्तव्य व्यक्त गर्नुभएको थियो । शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष शब्दसारथि हरि मञ्जुश्रीले सभापतित्व ग्रहण गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन सञ्चारकर्मी शिव बन्जाराले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथित्रयलाई शब्दयात्रा प्रकाशनका तर्फबाट सहदीप पलान्चोकेले उपहार समर्पण गर्नुभएको थियो ।