Home Blog Page 200

यसरी छानियो प्रतिभा

0

शब्दयात्रा प्रकाशनले हरेक वर्षको जेठ महिनामा समर्पण गर्नुपर्ने शब्दयात्रा राष्ट्रझङ्कार सम्मान, नन्दिकेश्वर अधिकारी शोध सम्मान, शब्दयात्रा सिर्जना सम्मान र प्रशासनिक महिला प्रतिभा सम्मानका लागि उपयुक्त व्यक्ति अथवा संस्थाको नाउँ प्रस्ताव गरी पठाउन ‘नेपालभूमि साप्ताहिक’ पत्रिका र ‘शब्दसञ्चार’ पाक्षिक रेडियो कार्यक्रममार्फत सार्वजनिक रूपमा आह्वान गरिएको थियो । त्यो आह्वानपछि संस्थाका सदस्यहरू र संस्थाबाहिरका व्यक्तिहरूले पनि केही नाउँहरू शब्दयात्रा प्रकाशनलाई उपलब्ध गराउनुभएको थियो ।
त्यसपछि शब्दयात्रा प्रकाशनले म सिद्धिबहादुर कर्माचार्यलाई संयोजक तथा सरस्वती सापकोटा, सुदर्शन आचार्य र मोहनविनोद बजगाईंलाई सदस्य तोकेर सम्मानित व्यक्तित्व चयन समिति बनायो । चयन समितिमा मनोनयन गरेकोमा हामी चारैजना शब्दयात्रा प्रकाशनलाई धन्यवाद दिन चाहन्छौँ ।
सम्मानका लागि सिफारिस गरिएका नाउँहरूमध्ये २०१५ सालभन्दा अघि जन्मेका सम्बन्धित विधाका प्रतिभाहरू र संस्थाहरूको नाउँ शब्दयात्रा प्रकाशनले हाम्रो समितिलाई उपलब्ध गराएको थियो । हामीलाई प्राप्त भएका नाउँहरूमध्येबाट समितिको बैठकले निर्धारण गरेको कार्यविधिअनुसार हामीले हरेक विधाका लागि एक–एकजनाको नाउँ चयन गरी सम्बन्धित सम्मान समर्पण गर्नका लागि सिफारिस ग¥यौँ । त्यसपछि संस्थाले उहाँहरूलाई सम्मान गर्ने घोषणा गरेको थियो । आज उहाँहरू सम्मानित हुन लाग्नुभएको छ । हाम्रो निर्णयअनुसार नै सम्मान ग्रहण गर्न स्वीकृति दिनुभएकोमा बुद्धिनारायण श्रेष्ठ (ओखलढुङ्गा), डा. टीकाराम अधिकारी (कास्की), सुधा कोइराला न्यौपाने (सिन्धुली) र ज्ञानेन्द्रराज भट्टराई (भोजपुर) प्रति चयन समिति आभार व्यक्त गर्दछ र सम्मानित हुन लाग्नुभएकोमा हार्दिक बधाई पनि अर्पण गर्दछ ।
आज सम्मानित हुने महानुभावहरूका विषयमा सबैलाई जानकारी नै होला भन्ने कुरामा हामी विश्वस्त छौँ । किनभने उहाँहरूका बारेमा विशेष जानकारी आजै प्रकाशन भएको ‘नेपालभूमि साप्ताहिक’ को सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण विशेष पृष्ठमा दिइएको छ । त्यो पत्रिका तपाईंहरूको हातमा आइपुगेकै होला अथवा आइपुग्ने नै छ ।
आजै सार्वजनिक हुन लागेका कृतिहरू ‘नागा बाबा रमेश गिरि’ स्मृतिग्रन्थका सम्पादक हरि मञ्जुश्री, ‘यात्रा’ कवितासङ्ग्रहका कवि कृष्णहरि मैनाली, ‘सत्यनारायण कथामृत’ का काव्यानुवादक श्रीधर प्याकु¥याल र ‘काभ्रेली पूर्वप्रहरी कर्मचारी टेलिफोन कोश’ का सङ्कलक जगन्नाथ गिरीलाई पनि हाम्रो समिति बधाई ज्ञापन गर्दछ ।

मेरा तर्फबाट एक लाख

0

गरिमामय समारोहको सभापतित्व ग्रहण गर्न शब्दयात्रा प्रकाशनका अध्यक्ष साहित्यकार श्री हरि मञ्जुश्रीले मलाई आग्रह गर्नुभएकोमा म गौरवान्वित भएको महसुस गरेको छु । यसका लागि संस्थाप्रति म हार्दिक आभार व्यक्त गर्दछु ।
म सामाजिक कार्य र साहित्यिक जगत्मा रमाएर सबैले सत्यको मार्ग अवलम्बन गरून् भन्ने चाहनाले आध्यात्मिक र नैतिक जागरणका लागि अग्रसर भई हिँड्ने कोसिस गरिरहेको छु । हरेक व्यक्ति आध्यात्मिक, कर्मयोगी, सदाचारी, निष्ठावान् र राष्ट्रभक्त बनून् भन्ने उद्देश्यलाई पूर्णता दिलाउन कर्तव्यले मलाई सधैँ घचघच्याइरहने गर्दछ । मैले आफ्ना मातापिता र अग्रजहरूबाट यस्तै र यही संस्कारबाट प्रशिक्षित भई प्रेरणा पाइरहेको छु । मेरा ती सबै अग्रजहरूमा श्रद्धासुमन व्यक्त गर्दै उहाँहरूमा नमन गर्दछु । उहाँहरूले विभिन्न व्यक्तिहरूलाई र सामाजिक संस्था–विद्यालयहरू स्थापना गरी तिनीहरूलाई सामाजिक सचेतना र जागरण गर्दै आइरहनुभएको थियो र छ । यस्तैमा समाहित हुँदै र यसैभित्र रमाई म पनि विविध सामाजिक संस्थाहरूमा आबद्ध भएको व्यहोरा यहाँहरूका बीचमा राख्न चाहन्छु । म यसै पुण्यभूमि काभ्रे जिल्लास्थित वाल्टिङ गाउँको रमणीय भूमिमा जन्म लिई आफ्नो स्थायी बासस्थान काठमाडौँको नयाँ बानेश्वरलाई बनाउँदै आइरहेको छु ।
धेरै वर्षअघि साहित्यकार श्री हरि मञ्जुश्रीसँग मेरो सम्पर्क हुन गयो । उहाँले मेरा केही पुस्तकहरूको अक्षराङ्कन, भाषिक शुद्धीकरण र मुद्रणसम्बन्धी कार्यमा सहयोग पु¥याउनुभयो । भेटघाटकै क्रममा उहाँले शब्दयात्रा प्रकाशनसम्बन्धी विषयमा कुरा उठाउनुभएको थियो । तत्पश्चात् यस संस्थाका केही कार्यक्रमहरूमा मैले सहभागी हुने सौभाग्य पाएको थिएँ । यसै क्रममा हामीबीच सामीप्य बढ्दै गयो । यस्तैमा उहाँले शब्दयात्रा प्रकाशनबाट स्थापित सम्मानहरूमध्ये एउटा सम्मानका लागि आर्थिक व्यवस्थापन गरिदिन म र मेरा परिवारबीचमा आग्रह गर्नुभयो । हामीले यसलाई सहर्ष स्वीकार ग¥यौँ । म र उहाँ बसेर सम्मान गरिने विधाको चयन गरी ‘राष्ट्रझङ्कार सम्मान’ नाम स्वीकृत गरियो । उहाँको आग्रह, आफ्नो रुचि र आफ्नो जन्मस्थान भएको जिल्लामा स्थापित संस्था भएकाले यसमा सहभागी हुन पाउँदा आफू गौरवान्वित भएको ठानेको छु । त्यसका लागि मैले शब्दयात्रा प्रकाशनको सम्मानकोषमा राख्नका लागि एक लाख एक हजार रुपियाँ र आजको यस समारोहको लागि थप पन्ध्र हजार रुपियाँ उपलब्ध गराएको व्यहोरा जानकारी गराउन चाहन्छु ।
जनतामा राष्ट्रिय भावनाको प्रवद्र्धन गराउने एवं स्वदेश वा विदेशमा बसी राष्ट्र र राष्ट्रियतासम्बन्धी जागरण पैदा गराई नेपालीको स्वाभिमान र पहिचान बढाउन महàवपूर्ण योगदान गर्ने व्यक्तिहरूलाई हरेक वर्षको जेठ महिनामा यो सम्मान समर्पण गरिने व्यवस्था मिलाइएको व्यहोरा म जानकारी गराउँदछु ।
आज यस सम्मानबाट वरिष्ठ सीमाविद् श्री बुद्धिनारायण श्रेष्ठज्यू सम्मानित हुन लाग्नुभएको छ । उहाँ राष्ट्रको सीमालाई व्यवस्थित गर्न र छिमेकीबाट मिचिएका सीमाहरूका सम्बन्धमा राष्ट्रलाई जानकारी गराउँदै राष्ट्र र जनतालाई सचेत गराउँदै आउनुभएका राष्ट्रवादी व्यक्तित्व हुनुहुन्छ । उहाँको छनोटबाट मैले गरेको सङ्कल्पले पूर्णता पाएको छ । म हर्षित भएको छ । म उहाँलाई हार्दिक–हार्दिक बधाई दिन चाहन्छु र भोलिका दिनमा पनि राष्ट्र र राष्ट्रियताप्रति सजग गराउने कार्यमा यसै गरी अनवरत लागिराख्न प्रेरणा प्राप्त भइरहोस भन्ने कामना गर्दछु । उहाँका साथमा विविध सम्मानहरूबाट सम्मानित हुन लाग्नुभएका सर्जकहरू प्रा. डा. टीकाराम अधिकारीज्यू, सुधा कोइराला न्यौपानेज्यू तथा ज्ञानेन्द्रराज भट्टराईज्यूमा समेत हृदयदेखि नै बधाई प्रकट गर्दछु । यहाँहरूका भोलिका दिनहरू पनि नव–नव निर्माण र सृजनातर्फ बढिरहुन् ।
आजको यस समारोहमा सार्वजनिक गरिने चारवटा पुस्तकहरूमध्ये मेरो कवितासङ्ग्रह ‘यात्रा’ पनि एक हो । यो मेरो एघारौँ कृति हो । यी कृतिहरू रचना गर्न सहयोग पु¥याउने मेरो परिवारका सबै सदस्यहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । मेरो पुस्तकका साथ सार्वजनिक हुने अन्य कृतिका कृतिकारहरूलाई पनि म हार्दिक बधाई प्रकट गर्दछु ।

अक्षरसेवीको हितका लागि

0

शब्दयात्रा प्रकाशनबाट हरेक वर्षको जेठ, भदौ, मङ्सिर र फागुन महिनामा किरीट, अभिवन्दनापत्र, उपहार र ५ हजार रुपियाँसहित ४–४ विधाका सम्मान समर्पण गरिन्छन् । जेठमा समर्पण गर्ने सम्मानहरू २०७४ सालका लागि आज समर्पण गरिँदैछन् । तिनमा शब्दयात्रा राष्ट्रझङ्कार सम्मान सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई, नन्दिकेश्वर अधिकारी शोध सम्मान लेखक डा. टीकाराम अधिकारीलाई, प्रशासनिक महिला प्रतिभा सम्मान पूर्वप्रशासक तथा साहित्यकार सुधा कोइराला न्यौपानेलाई र शब्दयात्रा सिर्जना सम्मान शब्दयात्रा प्रकाशनद्वारा गत वर्ष प्रकाशित ‘फालिकोटको फाली’ कृतिका कृतिकार ज्ञानेन्द्रराज भट्टराईलाई समर्पण गरिँदैछ ।
आजको कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष साहित्यकार तथा ग्रन्थसम्पादक हरि मञ्जुश्रीद्वारा सम्पादित ‘नागा बाबा रमेश गिरि’ स्मृतिग्रन्थ, काभ्रे जिल्लाका प्रथम महाकाव्यकार श्रीधर प्याकु¥यालद्वारा काव्यात्मक अनुवाद गरिएको कृति ‘सत्यनारायण कथामृत’, साहित्यकार कृष्णहरि मैनालीद्वारा लिखितत ‘यात्रा’ कवितासङ्ग्रह र जगन्नाथ गिरीद्वारा सङ्कलित ‘काभ्रेली पूर्वप्रहरी कर्मचारी टेलिफोन कोश’ लाई पनि सार्वजनिक गरिँदैछ । ‘यात्रा’ बाहेकका अन्य तीनवटा पुस्तक शब्दयात्रा प्रकाशनबाटै प्रकाशित भएका हुन् । संस्था सञ्चालन गरिएको ७० महिनाभित्र यस संस्थाले ८२ वटा पुस्तकको प्रकाशन गरेको छ भने हरेक हप्ता नियमित रूपमा ‘नेपालभूमि’ साप्ताहिक पत्रिका र ३ वटा वार्षिक अङ्कको प्रकाशन गरी ‘अक्षरधाम’ साहित्यिक पत्रिकाको व्यवस्थापन पनि गरिरहेको छ ।
शब्दयात्रा प्रकाशनसँग सम्बन्धित रहेर शब्दयात्रा नारी स्रष्टा समाज, लेखक समाज, सम्मान व्यवस्थापक समाज, पत्रकार समाज, विश्वसम्पर्क समाज, सहयोगी समाज, कलाकार समाज र पाठक समाज सक्रिय रहेका छन् । शब्दयात्रा शिक्षक समाज र शब्दयात्रा विद्यार्थी समाज गठन हुने क्रममा छन् । यी सबै समाजमा आबद्ध महानुभावहरू र उहाँहरूका सिर्जनाहरू विश्वभरि छरिन सकून् भन्ने उद्देश्यले शब्दयात्रा प्रकाशनले आफ्नो वेभसाइटभित्र रहने गरी शब्दयात्रा समाजभित्र आबद्ध व्यक्तित्वका सिर्जनाहरू रहने छुट्टाछुट्टै ब्लगको निर्माण गराइरहेको छ । यसबाट नेपाली प्रतिभाहरू विश्वका अन्य प्रतिभाहरूसँग प्रत्यक्ष रूपमा जोडिन सक्नेछन् र नेपाली प्रतिभाको पनि विश्वव्यापी सन्जाल हुनेछ । नेपाली अक्षरसेवीहरूको हितका लागि आधुनिक प्रविधिको उपयोग गर्ने शब्दयात्रा प्रकाशनको यो अभियानमा यहाँहरूको साथ रहने कुरामा हामी विश्वस्त छौँ ।

शब्दयात्रा प्रकाशनबाट चार व्यक्तित्व सम्मानित, चार पुस्तक सार्वजनिक

0

शब्दयात्रा प्रकाशनको आयोजनामा गत २०७४ साल जेठ ९ गते मङ्गलबार बनेपामा सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहको आयोजना गरियो । त्यस कार्यक्रममा शब्दयात्रा राष्ट्रझङ्कार सम्मान २०७४ बाट सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई, नन्दिकेश्वर अधिकारी शोध सम्मान २०७४ बाट डा. टीकाराम अधिकारीलाई, प्रशासनिक महिला प्रतिभा सम्मान २०७४ बाट पूर्वप्रशासक तथा कवयित्री सुधा कोइराला न्यौपानेलाई र शब्दयात्रा सिर्जना सम्मान २०७४ बाट ‘फालिकोटको फाली’ कृतिका लागि ज्ञानेन्द्रराज भट्टराईलाई सम्मानित गरियो । सम्मान गर्दा हरेकलाई अभिवन्दनापत्रका साथ ५ हजार रुपियाँ, किरीट र उपहार समर्पण गरिएको थियो ।

धुलिखेल क्षेत्रकै ज्येष्ठ नागरिक १०० वर्षकी महारानी ब्यान्जू श्रेष्ठको प्रमुख आतिथ्य तथा बनेपा नगरपालिकाका नवनिर्वाचित उपप्रमुख रेखा सापकोटा दाहालको विशेष आतिथ्यमा सम्पन्न उक्त समारोहमा अग्रज मूर्तिकार ठाकुरप्रसाद मैनाली, साहित्यकार प्रा. डा. विष्णुराज आत्रेय र आध्यात्मिक प्रवाचक डा. चिन्तामणि योगी अतिथि हुनुहुन्थ्यो ।

शब्दयात्रा प्रकाशनले हरेक वर्षको जेठ महिनामा समर्पण गर्ने गरी स्थापना गरेका ती सम्मानहरूको आर्थिक व्यवस्थापनका लागि कृष्णहरि मैनाली, गीता मञ्जुश्री अधिकारी, उर्मिला श्रेष्ठ भोजपुरे र कल्याण लम्सालले सम्मानकोषमा रकम जम्मा गरिदिनुभएको थियो ।

उक्त कार्यक्रममा हरि मञ्जुश्रीद्वारा सम्पादित ‘नागा बाबा रमेश गिरि’ स्मृतिग्रन्थ, श्रीधर प्याकु¥यालद्वारा अनूदित काव्य ‘सत्यनारायण कथामृत’, कृष्णहरि मैनालीद्वारा लिखित ‘यात्रा’ कवितासङ्ग्रह र जगन्नाथ गिरीद्वारा सङ्कलित ‘काभ्रेली पूर्वप्रहरी कर्मचारी टेलिफोन कोश’ लाई सार्वजनिक गरियो । ती पुस्तकहरू क्रमशः रेखा सापकोटा दाहाल, ठाकुरप्रसाद मैनाली, प्रा. डा. विष्णुराज आत्रेय र डा. चिन्तामणि योगीले सार्वजनिक गर्नुभएको थियो ।

शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले सञ्चालन गर्नुभएको उक्त समारोहमा सम्मानित गर्नुका आधारहरूका विषयमा सम्मानित व्यक्तित्व चयन समितिका संयोजक सिद्धिबहादुर कर्माचार्यले र सार्वजनिक गरिएका पुस्तकहरूको परिचय शब्दयात्रा सहयोगी समाजका सदस्य चन्द्रबहादुर खड्काले गराउनुभएको थियो । सम्मानित व्यक्तित्वहरूलाई प्रमुख अतिथिले अभिवन्दनापत्र, विशेष अतिथिले किरीट, द्रोणप्रसाद श्रेष्ठ, गीता मञ्जुश्री, कृष्णहरि मैनाली र कल्याण लम्सालले नगद तथा सिद्धिबहादुर कर्माचार्य, सरस्वती सापकोटा, मोहनविनोद बजगाईं र सुदर्शन आचार्यले उपहार समर्पण गर्नुभएको थियो ।

कृष्णहरि मैनाली सभापति रहनुभएको र स्वागत भाषण हरिगोपाल प्रधानले गर्नुभएको उक्त समारोहको व्यवस्थापन सकुल थापा, सुमन खड्का, शारदाप्रसाद शर्मा र दीपक तिमल्सिनाले गर्नुभएको थियो । प्रकाशबहादुर कायस्थ, श्री शर्मा मूर्ख, दामोदर घिमिरे, पुण्यवती घले, पदमनाथ ढुङ्गाना, शकुन्तला बन्जारा आदिले कार्यक्रममा विभिन्न भूमिका निर्वाह गर्नुभएको थियो ।

कार्यक्रमका नयाँ चार पक्ष

१. शब्दयात्रा प्रकाशनले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको हस्ताक्षरको सट्टा ल्याप्चे लगाइएको अभिवन्दनापत्र पहिलोपटक समर्पण गरियो ।
२. शब्दयात्रा प्रकाशनले ज्येष्ठ नागरिक (१०० वर्ष) लाई प्रमुख अतिथि बनाएको पनि यो पहिलोपटक थियो ।
३. शब्दयात्रा प्रकाशनका कार्यक्रमहरूमध्ये प्रमुख अतिथि र विशेष अतिथि दुवैजना महिला भएको कार्यक्रम यो पहिलो थियो ।
४. विशेष अतिथिले कविता सुनाएको र कविता सुन्दा श्रोता महिलाहरूले आँसु झारेको कार्यक्रम पनि यो पहिलो थियो ।

सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोह विशेष

0

२०७४ जेठ ९ गतेको समारोहमा सम्मानित व्यक्तित्वहरू

बुद्धिनारायण श्रेष्ठ

१९९८ साल वैशाख १७ गते ओखलढुङ्गा जिल्लाको रामबजारमा जन्मनुभएका बुद्धिनारायण श्रेष्ठ नापी विभागका पूर्वमहानिर्देशक, भूमिचित्र नापनक्सा कम्पनीका प्रबन्ध निर्देशक र नेपालको सिमानासम्बन्धी अनुसन्धाता, लेखक तथा प्रकाशक हुनुहुन्छ । नेपाली र अङ्ग्रेजी भाषामा एकल र सहलेखन गरी नेपाललाई एक दर्जनभन्दा बढी पुस्तक प्रदान गर्नुभएका उहाँका हरेक लेख, प्रवचन, अन्तर्वार्ता, कार्यपत्रले नेपालको भौगोलिक सिमानाका बारेमा जानकारी गराई राष्ट्रियताको प्रवद्र्धन र राष्ट्रिय भावनाको जागरण गराएका छन् । उहाँलाई ‘शब्दयात्रा राष्ट्रझङ्कार सम्मान, २०७४’ द्वारा सम्मानित गर्न पाउँदा शब्दयात्रा प्रकाशन गौरवान्वित बनेको छ ।

डा. टीकाराम अधिकारी

२००७ साल असार १७ गते कास्की जिल्लाको मिजुरेडाँडामा जन्मनुभएका डा. टीकाराम अधिकारी नेपाल संस्कृत विश्वविद्यालयको प्राध्यापक पदबाट निवृत्त हुनुभएको छ । उहाँ लेख्नुभएका सातवटा पुस्तकहरू प्रकाशित छन् । उहाँले चारवटा पुस्तकको पद्यानुवाद तथा सम्पादन पनि गर्नुभएको छ । उहाँले महेन्द्र विद्याभूषण ‘ग’ र ‘क’ तथा महेन्द्र संस्कृत विश्वविद्यालयबाट दीर्घसेवा पदक प्राप्त गर्नुभएको छ । नेपाली र संस्कृत दुवै भाषामा समान रूपमा अभिव्यक्तिकौशल भएका उहाँजस्ता प्रतिभापुञ्जलाई ‘नन्दिकेश्वर अधिकारी शोध सम्मान, २०७४’ द्वारा सम्मानित गर्न पाउँदा शब्दयात्रा प्रकाशन गौरवान्वित बनेको छ ।

सुधा कोइराला (न्यौपाने)

२०१० साल पुस १ गते सिन्धुली जिल्लाको दुम्जामा जन्मेकी सुधा कोइराला न्यौपाने स्थानीय विकास मन्त्रालयको उपसचिव पदबाट निवृत्त पूर्वप्रशासक हुनुहुन्छ । राजनीतिमा लागेर उहाँले पञ्चायती शासनकालमा कारागारको यातना पनि सहनुभएको छ । २०४६ साल र २०६२–६३ सालको जनआन्दोलनमा सक्रिय सहभागी बनेकी उहाँ साहित्य र समाजसेवामा पनि रुचि राख्नुहुन्छ । उहाँका दुई पुस्तक प्रकाशित छन् — मनका तरङ्गहरू (कवितासङ्ग्रह) र साझा फूलबारी (बालकवितासङ्ग्रह) । उहाँलाई ‘प्रशासनिक महिला प्रतिभा सम्मान, २०७४’ द्वारा सम्मानित गर्न पाउँदा शब्दयात्रा प्रकाशन गौरवान्वित बनेको छ ।

ज्ञानेन्द्रराज भट्टराई

२००५ साल पुस २० गते भोजपुर जिल्लाको फालिकोटमा जन्मनुभएका ज्ञानेन्द्रराज भट्टराई भोजपुर, सोलुखुम्बू र ओखलढुङ्गा गरी तीन जिल्लामा तेत्तीस वर्ष शिक्षणसेवा गरी निवृत्त हुनुभएको छ । उहाँले लेख्नुभएका संस्मरण र फुटकर रचनाहरूको सङ्ग्रह ‘फालिकोटको फाली’ शब्दयात्रा प्रकाशनबाट २०७३ साल भदौमा प्रकाशन गरिएको थियो । शब्दयात्रा प्रकाशनबाट २०७३ सालभरिमा प्रकाशित २० वटा पुस्तकमध्ये उहाँको पुस्तक बढी मन पराइएकाले ‘फालिकोटको फाली’ पुस्तकका लागि उहाँलाई ‘शब्दयात्रा सिर्जना सम्मान, २०७४’ द्वारा सम्मानित गर्न पाउँदा शब्दयात्रा प्रकाशन गौरवान्वित बनेको छ ।

समर्पित सम्मानका व्यवस्थापकहरू

श्रीमती उर्मिला श्रेष्ठ भोजपुरे

शब्दयात्रा प्रकाशनबाट हरेक वर्षको जेठ महिनामा समर्पण गर्ने गरी संस्थापित ‘प्रशासनिक महिला प्रतिभा सम्मान’ को आर्थिक व्यवस्थापन श्रीमती उर्मिला श्रेष्ठ भोजपुरेले गर्नुभएको हो । उहाँ लोकसेवा आयोगका पूर्वसदस्य एवं महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका पूर्वसचिव हुनुहुन्छ । उहाँ प्रसिद्ध गायिका, लेखिका तथा सम्पादिका पनि हुनुहुन्छ । ‘लेकाली’ उहाँसमेत संलग्न साङ्गीतिक समूह हो । उहाँले सयौँ गीतहरू स्वराङ्कन गराउनुभएको छ । आफ्ना श्रीमान् हिरण्य भोजपुरेसँगको सहलेखनमा उहाँको पुस्तक पनि प्रकाशित छ । उहाँले नेपाली र अङ्ग्रेजी भाषाका दुई पुस्तकको सम्पादन गर्नुभएको छ ।

गीता मञ्जुश्री अधिकारी

शब्दयात्रा प्रकाशनबाट हरेक वर्षको जेठ महिनामा समर्पण गर्ने गरी संस्थापित ‘नन्दिकेश्वर अधिकारी शोध सम्मान’ को आर्थिक व्यवस्थापन श्रीमती गीता मञ्जुश्री अधिकारीले गर्नुभएको हो । उहाँ नन्दिकेश्वर अधिकारीबाट पाँचौँ पुस्ताकी बुहारी हुनुहुन्छ । उहाँ सम्पादिका, लेखिका तथा अक्षराङ्कक पनि हुनुहुन्छ । उहाँको ‘हिटलरको प्रेमकहानी’ बहुचर्चित कृति हो । उहाँद्वारा लिखित जीवनीकृति, कवितासङ्ग्रह र सूक्तिसङ्ग्रह प्रकाशित छन् । हाल उहाँ ‘नेपालभूमि साप्ताहिक’ का स्तम्भकार हुनुहुन्छ । शब्दयात्रा प्रकाशन नारी स्रष्टा समाजसँग आबद्ध उहाँ रानीपानी ग्रामसेवा केन्द्रका संस्थापक सदस्य पनि हुनुहुन्छ ।

कल्याण लम्साल

शब्दयात्रा प्रकाशनबाट वर्षभरि प्रकाशित पुस्तकहरूमध्ये उत्कृष्ट ठहरिएको पुस्तकलाई हरेक वर्षको जेठ महिनामा समर्पण गर्ने गरी संस्थापित ‘शब्दयात्रा सिर्जना सम्मान’ को आर्थिक व्यवस्थापन श्री कल्याण लम्सालले गर्नुभएको हो । उहाँ आफ्नो नाम कल्याणप्रसाद शर्मा पनि लेख्नुहुन्छ । शब्दयात्रा प्रकाशनबाट ‘कल्याण कविता’ र ‘कल्याणं भवन्तु’ नामक उहाँका दुईवटा कवितासङ्ग्रह प्रकाशित भएका छन् । विभिन्न संस्थाहरूमा आबद्ध उहाँका प्रकाशोन्मुख कृतिहरू पनि छन् । पत्रकारिता, समाजसेवा र धर्मदर्शनका क्षेत्रमा रुचि राख्ने उहाँ अब एउटा कवितासङ्ग्रह र एउटा उपन्यासको प्रकाशन गराउने तरखरमा हुनुहुन्छ ।

कृष्णहरि मैनाली

शब्दयात्रा प्रकाशनबाट हरेक वर्षको जेठ महिनामा समर्पण गर्ने गरी संस्थापित ‘शब्दयात्रा राष्ट्रझङ्कार सम्मान’ को आर्थिक व्यवस्थापन श्री कृष्णहरि मैनालीले गर्नुभएको हो । उहाँका आठवटा पुस्तक प्रकाशित छन् भने नेपाली र अङ्ग्रेजी भाषाका धेरै पुस्तकहरू प्रकाशनोन्मुख रहेका छन् । लेखन र प्रकाशनका अतिरिक्त उहाँ सामाजिक, आध्यात्मिक, शैक्षिक र पत्रकारिता क्षेत्रका विभिन्न संस्थाहरूमा पनि आबद्ध हुनुहुन्छ । व्यावसायिक र सहकारिताका क्षेत्रमा समेत उहाँको संलग्नता छ । विभिन्न सम्मान र पुरस्कारहरू प्राप्त गर्नुभएका उहाँ विशेषत: साहित्यिक, आध्यात्मिक र सामाजिक योगदान गर्नमा रुचि राख्नुहुन्छ ।

समारोहका प्रमुख अतिथि

समारोहका प्रमुख अतिथि हुनुहुन्छ शताधिक वयकी ज्येष्ठ नागरिक श्रीमती महारानी ब्यान्जू श्रेष्ठ । उहाँको घर धुलिखेल नगरपालिका वडा नं. ७ धुलिखेल बजार सरस्वती टोलमा छ । धुलिखेल क्षेत्रमा सबैभन्दा ज्येष्ठ नागरिक उहाँ नै हुनुहुन्छ । उहाँले अहिले १०० वर्षको उमेर नाघिसक्नुभएको छ । उहाँका श्रीमान् पूर्णबहादुर ब्यान्जू हुनुहुन्थ्यो । उहाँका ५ छोरा (साठीगोपाल, बाबुकाजी, सुवर्णगोपाल, शिवलाल र जीवलाल), १ छोरी (चीजमाया श्रेष्ठ), १० जना नाति, १४ वटी नातिनी तथा धेरैजना पनाति–पनातिनी छन् । उहाँ अझै स्वस्थ हुनुहुन्छ, आफैँ हिँड्न सक्नुहुन्छ, राम्ररी देख्न सक्नुहुन्छ, कुराकानी गर्न सक्नुहुन्छ, कान भने अलिकति कम सुन्नुहुन्छ । १९९० सालको भूकम्पसम्बन्धी विवरण उहाँ अझै पनि राम्ररी सुनाउन सक्नुहुन्छ । उहाँलाई आजको समारोहको प्रमुख अतिथिका रूपमा सम्मानित गर्न पाउँदा शब्दयात्रा प्रकाशन गौरवान्वित बनेको छ ।

सम्मानित व्यक्तित्व चयन समितिका सदस्यहरू

नाम–थर : सिद्धिबहादुर कर्माचार्य
जन्ममिति : २०१०।५।२१
जन्मस्थान : बनेपा — ४, उग्रचण्डी नाला, लागन टोल
सेवाक्षेत्र : रेडक्रस, साहित्य, समाजसेवा
विशेष रुचि : धर्मसंस्कृति
अनुभव : स्वास्थ्यसेवामा ४० वर्ष, रेडक्रसमा ३० वर्ष
विशेष पहिचान : प्रधानपञ्च भएर काम गरेको, जिल्ला शिक्षा समितिको सदस्य

नाम–थर : सरस्वती सापकोटा
जन्ममिति : २०१४।८।४
जन्मस्थान : काभ्रे, ढुङ्खर्क — ३, गोर्खाली गाउँ,
सेवाक्षेत्र : समाजसेवा, गायन
विशेष रुचि : गायन
अनुभव : गायन
विशेष पहिचान : गायन

नाम–थर : मोहनबिनोद बजगाई
जन्ममिति : २०२६।२।२२
जन्मस्थान : काभ्रे, बनेपा — ६, बुडोल
सेवाक्षेत्र : समाजसेवा, व्यापार–व्यवसाय
विशेष रुचि : समाजसेवा, धर्मसंस्कृति
अनुभव : व्यवसाय
विशेष पहिचान : धर्मसंस्कृति

नाम–थर : सुदर्शन आचार्य
जन्ममिति : २०२८।६।८
जन्मस्थान : काभ्रे, बनेपा — ६, नैमिषारण्य क्षेत्र
सेवाक्षेत्र : व्यवसाय, पारवहन
विशेष रुचि : धर्मसंस्कृति
अनुभव : समाजसेवा
विशेष पहिचान : समाजसेवा

सार्वजनिक हुने कृतिहरू

सम्पादक : हरि मञ्जुश्री
कृति : नागा बाबा रमेश गिरि
काव्यानुवादक : श्रीधर प्याकु¥याल
कृति : सत्यनारायण कथामृत
कवि : कृष्णहरि मैनाली
कृति : यात्रा
सङ्कलक : जगन्नाथ गिरी
कृति : काभ्रेली पूर्वप्रहरी कर्मचारी टेलिफोन कोश

सालिकका लागि सहयोग

0

शब्दयात्रा प्रकाशनले बनेपामा स्थापना गर्न लागेको वाङ्मयसेवीहरूको सालिक निर्माणका लागि लेखक भरतराज महतले पाँच हजार एक सय रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ ।
काभ्रे पस्थलीका भरतराज महत शब्दयात्रा लेखक समाजसँग आबद्ध हुनुहुन्छ । उहाँका दुई पुस्तक ‘पुर्खाका पाइलाहरू’ र ‘द ट्य्राजिक स्टोरी’ शब्दयात्रा प्रकाशनबाट प्रकाशित छन् ।

‘शब्दसंवाद’ मा रामचन्द्र हुमागाई

0

शब्दयात्रा प्रकाशनद्वारा सञ्चालित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को पन्ध्रौँ शृङ्खलामा ‘नेपालभूमि’ (विचारप्रधान राष्ट्रिय साप्ताहिक) का संस्थापक प्रधान सम्पादक रामचन्द्र हुमागाईं प्रस्तुत हुनुभयो । गत २०७४ साल जेठ ५ गते मङ्गलबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित उक्त कार्यक्रममा उहाँले ‘नेपालको पत्रकारिता ः हिजो, आज र भोलि’ भन्ने विषयका सन्दर्भमा आफ्ना अनुभव, अनुभूति र विचारहरू प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सभापतित्व संयोजक पदमनाथ ढुङ्गानाले र उद्घोषण महाप्रबन्धक शारदाप्रसाद शर्माले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री, कवि सोमकाजी शाक्य, अधिवक्ता हरिप्रसाद ढुङ्गेल, समाजसेवी रघुनाथ घिमिरे, आध्यात्मिक लेखकद्वय ओतबहादुर खड्का र तुतुकाजी प्रणामी श्रेष्ठ, कवयित्री भवानी पाण्डे, दीपक तिमल्सिना, प्रमिला चौलागाईं आदिको उपस्थिति रहेको थियो ।

वैकुण्ठवास होस् !

0

आफ्नो पाञ्चभौतिक देह विसर्जन गर्नुभएका हाम्रा मित्र, शुभचिन्तक, सहयोगी, सञ्चारकर्मी तथा उपप्राध्यापक जनार्दन घिमिरेको वैकण्ठवास होस् !

हरि मञ्जुश्री तथा शब्दयात्रा प्रकाशन परिवार
मुकुन्दप्रसाद उपाध्याय तथा गोसाइँस्थान नैमिषारण्य क्षेत्र विकास समिति परिवार
बाबा विश्वनाथ तथा शिवशक्ति विराट् महायज्ञ परिवार

हार्दिक बधाई

0

शब्दयात्रा प्रकाशनको पाँचौँ सम्मानित व्यक्तित्व चयन समितिका सदस्य टी. पी. शर्मा तिमल्सिना नमोबुद्ध नगरपालिकाको मेयर पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।

शब्दयात्रा प्रकाशन परिवार

हार्दिक बधाई

0

शब्दयात्रा प्रकाशनका जग्गादाता कृष्णमणि कुइँकेल बनेपा नगरपालिका वडा नं. ६ को सदस्य पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।

शब्दयात्रा प्रकाशन