शब्दयात्रा प्रकाशनको आयोजनामा गत २०७४ साल जेठ ९ गते मङ्गलबार बनेपामा सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहको आयोजना गरियो । त्यस कार्यक्रममा शब्दयात्रा राष्ट्रझङ्कार सम्मान २०७४ बाट सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई, नन्दिकेश्वर अधिकारी शोध सम्मान २०७४ बाट डा. टीकाराम अधिकारीलाई, प्रशासनिक महिला प्रतिभा सम्मान २०७४ बाट पूर्वप्रशासक तथा कवयित्री सुधा कोइराला न्यौपानेलाई र शब्दयात्रा सिर्जना सम्मान २०७४ बाट ‘फालिकोटको फाली’ कृतिका लागि ज्ञानेन्द्रराज भट्टराईलाई सम्मानित गरियो । सम्मान गर्दा हरेकलाई अभिवन्दनापत्रका साथ ५ हजार रुपियाँ, किरीट र उपहार समर्पण गरिएको थियो ।

धुलिखेल क्षेत्रकै ज्येष्ठ नागरिक १०० वर्षकी महारानी ब्यान्जू श्रेष्ठको प्रमुख आतिथ्य तथा बनेपा नगरपालिकाका नवनिर्वाचित उपप्रमुख रेखा सापकोटा दाहालको विशेष आतिथ्यमा सम्पन्न उक्त समारोहमा अग्रज मूर्तिकार ठाकुरप्रसाद मैनाली, साहित्यकार प्रा. डा. विष्णुराज आत्रेय र आध्यात्मिक प्रवाचक डा. चिन्तामणि योगी अतिथि हुनुहुन्थ्यो ।

शब्दयात्रा प्रकाशनले हरेक वर्षको जेठ महिनामा समर्पण गर्ने गरी स्थापना गरेका ती सम्मानहरूको आर्थिक व्यवस्थापनका लागि कृष्णहरि मैनाली, गीता मञ्जुश्री अधिकारी, उर्मिला श्रेष्ठ भोजपुरे र कल्याण लम्सालले सम्मानकोषमा रकम जम्मा गरिदिनुभएको थियो ।

उक्त कार्यक्रममा हरि मञ्जुश्रीद्वारा सम्पादित ‘नागा बाबा रमेश गिरि’ स्मृतिग्रन्थ, श्रीधर प्याकु¥यालद्वारा अनूदित काव्य ‘सत्यनारायण कथामृत’, कृष्णहरि मैनालीद्वारा लिखित ‘यात्रा’ कवितासङ्ग्रह र जगन्नाथ गिरीद्वारा सङ्कलित ‘काभ्रेली पूर्वप्रहरी कर्मचारी टेलिफोन कोश’ लाई सार्वजनिक गरियो । ती पुस्तकहरू क्रमशः रेखा सापकोटा दाहाल, ठाकुरप्रसाद मैनाली, प्रा. डा. विष्णुराज आत्रेय र डा. चिन्तामणि योगीले सार्वजनिक गर्नुभएको थियो ।

शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले सञ्चालन गर्नुभएको उक्त समारोहमा सम्मानित गर्नुका आधारहरूका विषयमा सम्मानित व्यक्तित्व चयन समितिका संयोजक सिद्धिबहादुर कर्माचार्यले र सार्वजनिक गरिएका पुस्तकहरूको परिचय शब्दयात्रा सहयोगी समाजका सदस्य चन्द्रबहादुर खड्काले गराउनुभएको थियो । सम्मानित व्यक्तित्वहरूलाई प्रमुख अतिथिले अभिवन्दनापत्र, विशेष अतिथिले किरीट, द्रोणप्रसाद श्रेष्ठ, गीता मञ्जुश्री, कृष्णहरि मैनाली र कल्याण लम्सालले नगद तथा सिद्धिबहादुर कर्माचार्य, सरस्वती सापकोटा, मोहनविनोद बजगाईं र सुदर्शन आचार्यले उपहार समर्पण गर्नुभएको थियो ।

कृष्णहरि मैनाली सभापति रहनुभएको र स्वागत भाषण हरिगोपाल प्रधानले गर्नुभएको उक्त समारोहको व्यवस्थापन सकुल थापा, सुमन खड्का, शारदाप्रसाद शर्मा र दीपक तिमल्सिनाले गर्नुभएको थियो । प्रकाशबहादुर कायस्थ, श्री शर्मा मूर्ख, दामोदर घिमिरे, पुण्यवती घले, पदमनाथ ढुङ्गाना, शकुन्तला बन्जारा आदिले कार्यक्रममा विभिन्न भूमिका निर्वाह गर्नुभएको थियो ।

कार्यक्रमका नयाँ चार पक्ष

१. शब्दयात्रा प्रकाशनले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको हस्ताक्षरको सट्टा ल्याप्चे लगाइएको अभिवन्दनापत्र पहिलोपटक समर्पण गरियो ।
२. शब्दयात्रा प्रकाशनले ज्येष्ठ नागरिक (१०० वर्ष) लाई प्रमुख अतिथि बनाएको पनि यो पहिलोपटक थियो ।
३. शब्दयात्रा प्रकाशनका कार्यक्रमहरूमध्ये प्रमुख अतिथि र विशेष अतिथि दुवैजना महिला भएको कार्यक्रम यो पहिलो थियो ।
४. विशेष अतिथिले कविता सुनाएको र कविता सुन्दा श्रोता महिलाहरूले आँसु झारेको कार्यक्रम पनि यो पहिलो थियो ।