गरिमामय समारोहको सभापतित्व ग्रहण गर्न शब्दयात्रा प्रकाशनका अध्यक्ष साहित्यकार श्री हरि मञ्जुश्रीले मलाई आग्रह गर्नुभएकोमा म गौरवान्वित भएको महसुस गरेको छु । यसका लागि संस्थाप्रति म हार्दिक आभार व्यक्त गर्दछु ।
म सामाजिक कार्य र साहित्यिक जगत्मा रमाएर सबैले सत्यको मार्ग अवलम्बन गरून् भन्ने चाहनाले आध्यात्मिक र नैतिक जागरणका लागि अग्रसर भई हिँड्ने कोसिस गरिरहेको छु । हरेक व्यक्ति आध्यात्मिक, कर्मयोगी, सदाचारी, निष्ठावान् र राष्ट्रभक्त बनून् भन्ने उद्देश्यलाई पूर्णता दिलाउन कर्तव्यले मलाई सधैँ घचघच्याइरहने गर्दछ । मैले आफ्ना मातापिता र अग्रजहरूबाट यस्तै र यही संस्कारबाट प्रशिक्षित भई प्रेरणा पाइरहेको छु । मेरा ती सबै अग्रजहरूमा श्रद्धासुमन व्यक्त गर्दै उहाँहरूमा नमन गर्दछु । उहाँहरूले विभिन्न व्यक्तिहरूलाई र सामाजिक संस्था–विद्यालयहरू स्थापना गरी तिनीहरूलाई सामाजिक सचेतना र जागरण गर्दै आइरहनुभएको थियो र छ । यस्तैमा समाहित हुँदै र यसैभित्र रमाई म पनि विविध सामाजिक संस्थाहरूमा आबद्ध भएको व्यहोरा यहाँहरूका बीचमा राख्न चाहन्छु । म यसै पुण्यभूमि काभ्रे जिल्लास्थित वाल्टिङ गाउँको रमणीय भूमिमा जन्म लिई आफ्नो स्थायी बासस्थान काठमाडौँको नयाँ बानेश्वरलाई बनाउँदै आइरहेको छु ।
धेरै वर्षअघि साहित्यकार श्री हरि मञ्जुश्रीसँग मेरो सम्पर्क हुन गयो । उहाँले मेरा केही पुस्तकहरूको अक्षराङ्कन, भाषिक शुद्धीकरण र मुद्रणसम्बन्धी कार्यमा सहयोग पु¥याउनुभयो । भेटघाटकै क्रममा उहाँले शब्दयात्रा प्रकाशनसम्बन्धी विषयमा कुरा उठाउनुभएको थियो । तत्पश्चात् यस संस्थाका केही कार्यक्रमहरूमा मैले सहभागी हुने सौभाग्य पाएको थिएँ । यसै क्रममा हामीबीच सामीप्य बढ्दै गयो । यस्तैमा उहाँले शब्दयात्रा प्रकाशनबाट स्थापित सम्मानहरूमध्ये एउटा सम्मानका लागि आर्थिक व्यवस्थापन गरिदिन म र मेरा परिवारबीचमा आग्रह गर्नुभयो । हामीले यसलाई सहर्ष स्वीकार ग¥यौँ । म र उहाँ बसेर सम्मान गरिने विधाको चयन गरी ‘राष्ट्रझङ्कार सम्मान’ नाम स्वीकृत गरियो । उहाँको आग्रह, आफ्नो रुचि र आफ्नो जन्मस्थान भएको जिल्लामा स्थापित संस्था भएकाले यसमा सहभागी हुन पाउँदा आफू गौरवान्वित भएको ठानेको छु । त्यसका लागि मैले शब्दयात्रा प्रकाशनको सम्मानकोषमा राख्नका लागि एक लाख एक हजार रुपियाँ र आजको यस समारोहको लागि थप पन्ध्र हजार रुपियाँ उपलब्ध गराएको व्यहोरा जानकारी गराउन चाहन्छु ।
जनतामा राष्ट्रिय भावनाको प्रवद्र्धन गराउने एवं स्वदेश वा विदेशमा बसी राष्ट्र र राष्ट्रियतासम्बन्धी जागरण पैदा गराई नेपालीको स्वाभिमान र पहिचान बढाउन महàवपूर्ण योगदान गर्ने व्यक्तिहरूलाई हरेक वर्षको जेठ महिनामा यो सम्मान समर्पण गरिने व्यवस्था मिलाइएको व्यहोरा म जानकारी गराउँदछु ।
आज यस सम्मानबाट वरिष्ठ सीमाविद् श्री बुद्धिनारायण श्रेष्ठज्यू सम्मानित हुन लाग्नुभएको छ । उहाँ राष्ट्रको सीमालाई व्यवस्थित गर्न र छिमेकीबाट मिचिएका सीमाहरूका सम्बन्धमा राष्ट्रलाई जानकारी गराउँदै राष्ट्र र जनतालाई सचेत गराउँदै आउनुभएका राष्ट्रवादी व्यक्तित्व हुनुहुन्छ । उहाँको छनोटबाट मैले गरेको सङ्कल्पले पूर्णता पाएको छ । म हर्षित भएको छ । म उहाँलाई हार्दिक–हार्दिक बधाई दिन चाहन्छु र भोलिका दिनमा पनि राष्ट्र र राष्ट्रियताप्रति सजग गराउने कार्यमा यसै गरी अनवरत लागिराख्न प्रेरणा प्राप्त भइरहोस भन्ने कामना गर्दछु । उहाँका साथमा विविध सम्मानहरूबाट सम्मानित हुन लाग्नुभएका सर्जकहरू प्रा. डा. टीकाराम अधिकारीज्यू, सुधा कोइराला न्यौपानेज्यू तथा ज्ञानेन्द्रराज भट्टराईज्यूमा समेत हृदयदेखि नै बधाई प्रकट गर्दछु । यहाँहरूका भोलिका दिनहरू पनि नव–नव निर्माण र सृजनातर्फ बढिरहुन् ।
आजको यस समारोहमा सार्वजनिक गरिने चारवटा पुस्तकहरूमध्ये मेरो कवितासङ्ग्रह ‘यात्रा’ पनि एक हो । यो मेरो एघारौँ कृति हो । यी कृतिहरू रचना गर्न सहयोग पु¥याउने मेरो परिवारका सबै सदस्यहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । मेरो पुस्तकका साथ सार्वजनिक हुने अन्य कृतिका कृतिकारहरूलाई पनि म हार्दिक बधाई प्रकट गर्दछु ।