शब्दयात्रा प्रकाशनबाट हरेक वर्षको जेठ, भदौ, मङ्सिर र फागुन महिनामा किरीट, अभिवन्दनापत्र, उपहार र ५ हजार रुपियाँसहित ४–४ विधाका सम्मान समर्पण गरिन्छन् । जेठमा समर्पण गर्ने सम्मानहरू २०७४ सालका लागि आज समर्पण गरिँदैछन् । तिनमा शब्दयात्रा राष्ट्रझङ्कार सम्मान सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई, नन्दिकेश्वर अधिकारी शोध सम्मान लेखक डा. टीकाराम अधिकारीलाई, प्रशासनिक महिला प्रतिभा सम्मान पूर्वप्रशासक तथा साहित्यकार सुधा कोइराला न्यौपानेलाई र शब्दयात्रा सिर्जना सम्मान शब्दयात्रा प्रकाशनद्वारा गत वर्ष प्रकाशित ‘फालिकोटको फाली’ कृतिका कृतिकार ज्ञानेन्द्रराज भट्टराईलाई समर्पण गरिँदैछ ।
आजको कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष साहित्यकार तथा ग्रन्थसम्पादक हरि मञ्जुश्रीद्वारा सम्पादित ‘नागा बाबा रमेश गिरि’ स्मृतिग्रन्थ, काभ्रे जिल्लाका प्रथम महाकाव्यकार श्रीधर प्याकु¥यालद्वारा काव्यात्मक अनुवाद गरिएको कृति ‘सत्यनारायण कथामृत’, साहित्यकार कृष्णहरि मैनालीद्वारा लिखितत ‘यात्रा’ कवितासङ्ग्रह र जगन्नाथ गिरीद्वारा सङ्कलित ‘काभ्रेली पूर्वप्रहरी कर्मचारी टेलिफोन कोश’ लाई पनि सार्वजनिक गरिँदैछ । ‘यात्रा’ बाहेकका अन्य तीनवटा पुस्तक शब्दयात्रा प्रकाशनबाटै प्रकाशित भएका हुन् । संस्था सञ्चालन गरिएको ७० महिनाभित्र यस संस्थाले ८२ वटा पुस्तकको प्रकाशन गरेको छ भने हरेक हप्ता नियमित रूपमा ‘नेपालभूमि’ साप्ताहिक पत्रिका र ३ वटा वार्षिक अङ्कको प्रकाशन गरी ‘अक्षरधाम’ साहित्यिक पत्रिकाको व्यवस्थापन पनि गरिरहेको छ ।
शब्दयात्रा प्रकाशनसँग सम्बन्धित रहेर शब्दयात्रा नारी स्रष्टा समाज, लेखक समाज, सम्मान व्यवस्थापक समाज, पत्रकार समाज, विश्वसम्पर्क समाज, सहयोगी समाज, कलाकार समाज र पाठक समाज सक्रिय रहेका छन् । शब्दयात्रा शिक्षक समाज र शब्दयात्रा विद्यार्थी समाज गठन हुने क्रममा छन् । यी सबै समाजमा आबद्ध महानुभावहरू र उहाँहरूका सिर्जनाहरू विश्वभरि छरिन सकून् भन्ने उद्देश्यले शब्दयात्रा प्रकाशनले आफ्नो वेभसाइटभित्र रहने गरी शब्दयात्रा समाजभित्र आबद्ध व्यक्तित्वका सिर्जनाहरू रहने छुट्टाछुट्टै ब्लगको निर्माण गराइरहेको छ । यसबाट नेपाली प्रतिभाहरू विश्वका अन्य प्रतिभाहरूसँग प्रत्यक्ष रूपमा जोडिन सक्नेछन् र नेपाली प्रतिभाको पनि विश्वव्यापी सन्जाल हुनेछ । नेपाली अक्षरसेवीहरूको हितका लागि आधुनिक प्रविधिको उपयोग गर्ने शब्दयात्रा प्रकाशनको यो अभियानमा यहाँहरूको साथ रहने कुरामा हामी विश्वस्त छौँ ।