२०७४ जेठ ९ गतेको समारोहमा सम्मानित व्यक्तित्वहरू

बुद्धिनारायण श्रेष्ठ

१९९८ साल वैशाख १७ गते ओखलढुङ्गा जिल्लाको रामबजारमा जन्मनुभएका बुद्धिनारायण श्रेष्ठ नापी विभागका पूर्वमहानिर्देशक, भूमिचित्र नापनक्सा कम्पनीका प्रबन्ध निर्देशक र नेपालको सिमानासम्बन्धी अनुसन्धाता, लेखक तथा प्रकाशक हुनुहुन्छ । नेपाली र अङ्ग्रेजी भाषामा एकल र सहलेखन गरी नेपाललाई एक दर्जनभन्दा बढी पुस्तक प्रदान गर्नुभएका उहाँका हरेक लेख, प्रवचन, अन्तर्वार्ता, कार्यपत्रले नेपालको भौगोलिक सिमानाका बारेमा जानकारी गराई राष्ट्रियताको प्रवद्र्धन र राष्ट्रिय भावनाको जागरण गराएका छन् । उहाँलाई ‘शब्दयात्रा राष्ट्रझङ्कार सम्मान, २०७४’ द्वारा सम्मानित गर्न पाउँदा शब्दयात्रा प्रकाशन गौरवान्वित बनेको छ ।

डा. टीकाराम अधिकारी

२००७ साल असार १७ गते कास्की जिल्लाको मिजुरेडाँडामा जन्मनुभएका डा. टीकाराम अधिकारी नेपाल संस्कृत विश्वविद्यालयको प्राध्यापक पदबाट निवृत्त हुनुभएको छ । उहाँ लेख्नुभएका सातवटा पुस्तकहरू प्रकाशित छन् । उहाँले चारवटा पुस्तकको पद्यानुवाद तथा सम्पादन पनि गर्नुभएको छ । उहाँले महेन्द्र विद्याभूषण ‘ग’ र ‘क’ तथा महेन्द्र संस्कृत विश्वविद्यालयबाट दीर्घसेवा पदक प्राप्त गर्नुभएको छ । नेपाली र संस्कृत दुवै भाषामा समान रूपमा अभिव्यक्तिकौशल भएका उहाँजस्ता प्रतिभापुञ्जलाई ‘नन्दिकेश्वर अधिकारी शोध सम्मान, २०७४’ द्वारा सम्मानित गर्न पाउँदा शब्दयात्रा प्रकाशन गौरवान्वित बनेको छ ।

सुधा कोइराला (न्यौपाने)

२०१० साल पुस १ गते सिन्धुली जिल्लाको दुम्जामा जन्मेकी सुधा कोइराला न्यौपाने स्थानीय विकास मन्त्रालयको उपसचिव पदबाट निवृत्त पूर्वप्रशासक हुनुहुन्छ । राजनीतिमा लागेर उहाँले पञ्चायती शासनकालमा कारागारको यातना पनि सहनुभएको छ । २०४६ साल र २०६२–६३ सालको जनआन्दोलनमा सक्रिय सहभागी बनेकी उहाँ साहित्य र समाजसेवामा पनि रुचि राख्नुहुन्छ । उहाँका दुई पुस्तक प्रकाशित छन् — मनका तरङ्गहरू (कवितासङ्ग्रह) र साझा फूलबारी (बालकवितासङ्ग्रह) । उहाँलाई ‘प्रशासनिक महिला प्रतिभा सम्मान, २०७४’ द्वारा सम्मानित गर्न पाउँदा शब्दयात्रा प्रकाशन गौरवान्वित बनेको छ ।

ज्ञानेन्द्रराज भट्टराई

२००५ साल पुस २० गते भोजपुर जिल्लाको फालिकोटमा जन्मनुभएका ज्ञानेन्द्रराज भट्टराई भोजपुर, सोलुखुम्बू र ओखलढुङ्गा गरी तीन जिल्लामा तेत्तीस वर्ष शिक्षणसेवा गरी निवृत्त हुनुभएको छ । उहाँले लेख्नुभएका संस्मरण र फुटकर रचनाहरूको सङ्ग्रह ‘फालिकोटको फाली’ शब्दयात्रा प्रकाशनबाट २०७३ साल भदौमा प्रकाशन गरिएको थियो । शब्दयात्रा प्रकाशनबाट २०७३ सालभरिमा प्रकाशित २० वटा पुस्तकमध्ये उहाँको पुस्तक बढी मन पराइएकाले ‘फालिकोटको फाली’ पुस्तकका लागि उहाँलाई ‘शब्दयात्रा सिर्जना सम्मान, २०७४’ द्वारा सम्मानित गर्न पाउँदा शब्दयात्रा प्रकाशन गौरवान्वित बनेको छ ।

समर्पित सम्मानका व्यवस्थापकहरू

श्रीमती उर्मिला श्रेष्ठ भोजपुरे

शब्दयात्रा प्रकाशनबाट हरेक वर्षको जेठ महिनामा समर्पण गर्ने गरी संस्थापित ‘प्रशासनिक महिला प्रतिभा सम्मान’ को आर्थिक व्यवस्थापन श्रीमती उर्मिला श्रेष्ठ भोजपुरेले गर्नुभएको हो । उहाँ लोकसेवा आयोगका पूर्वसदस्य एवं महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका पूर्वसचिव हुनुहुन्छ । उहाँ प्रसिद्ध गायिका, लेखिका तथा सम्पादिका पनि हुनुहुन्छ । ‘लेकाली’ उहाँसमेत संलग्न साङ्गीतिक समूह हो । उहाँले सयौँ गीतहरू स्वराङ्कन गराउनुभएको छ । आफ्ना श्रीमान् हिरण्य भोजपुरेसँगको सहलेखनमा उहाँको पुस्तक पनि प्रकाशित छ । उहाँले नेपाली र अङ्ग्रेजी भाषाका दुई पुस्तकको सम्पादन गर्नुभएको छ ।

गीता मञ्जुश्री अधिकारी

शब्दयात्रा प्रकाशनबाट हरेक वर्षको जेठ महिनामा समर्पण गर्ने गरी संस्थापित ‘नन्दिकेश्वर अधिकारी शोध सम्मान’ को आर्थिक व्यवस्थापन श्रीमती गीता मञ्जुश्री अधिकारीले गर्नुभएको हो । उहाँ नन्दिकेश्वर अधिकारीबाट पाँचौँ पुस्ताकी बुहारी हुनुहुन्छ । उहाँ सम्पादिका, लेखिका तथा अक्षराङ्कक पनि हुनुहुन्छ । उहाँको ‘हिटलरको प्रेमकहानी’ बहुचर्चित कृति हो । उहाँद्वारा लिखित जीवनीकृति, कवितासङ्ग्रह र सूक्तिसङ्ग्रह प्रकाशित छन् । हाल उहाँ ‘नेपालभूमि साप्ताहिक’ का स्तम्भकार हुनुहुन्छ । शब्दयात्रा प्रकाशन नारी स्रष्टा समाजसँग आबद्ध उहाँ रानीपानी ग्रामसेवा केन्द्रका संस्थापक सदस्य पनि हुनुहुन्छ ।

कल्याण लम्साल

शब्दयात्रा प्रकाशनबाट वर्षभरि प्रकाशित पुस्तकहरूमध्ये उत्कृष्ट ठहरिएको पुस्तकलाई हरेक वर्षको जेठ महिनामा समर्पण गर्ने गरी संस्थापित ‘शब्दयात्रा सिर्जना सम्मान’ को आर्थिक व्यवस्थापन श्री कल्याण लम्सालले गर्नुभएको हो । उहाँ आफ्नो नाम कल्याणप्रसाद शर्मा पनि लेख्नुहुन्छ । शब्दयात्रा प्रकाशनबाट ‘कल्याण कविता’ र ‘कल्याणं भवन्तु’ नामक उहाँका दुईवटा कवितासङ्ग्रह प्रकाशित भएका छन् । विभिन्न संस्थाहरूमा आबद्ध उहाँका प्रकाशोन्मुख कृतिहरू पनि छन् । पत्रकारिता, समाजसेवा र धर्मदर्शनका क्षेत्रमा रुचि राख्ने उहाँ अब एउटा कवितासङ्ग्रह र एउटा उपन्यासको प्रकाशन गराउने तरखरमा हुनुहुन्छ ।

कृष्णहरि मैनाली

शब्दयात्रा प्रकाशनबाट हरेक वर्षको जेठ महिनामा समर्पण गर्ने गरी संस्थापित ‘शब्दयात्रा राष्ट्रझङ्कार सम्मान’ को आर्थिक व्यवस्थापन श्री कृष्णहरि मैनालीले गर्नुभएको हो । उहाँका आठवटा पुस्तक प्रकाशित छन् भने नेपाली र अङ्ग्रेजी भाषाका धेरै पुस्तकहरू प्रकाशनोन्मुख रहेका छन् । लेखन र प्रकाशनका अतिरिक्त उहाँ सामाजिक, आध्यात्मिक, शैक्षिक र पत्रकारिता क्षेत्रका विभिन्न संस्थाहरूमा पनि आबद्ध हुनुहुन्छ । व्यावसायिक र सहकारिताका क्षेत्रमा समेत उहाँको संलग्नता छ । विभिन्न सम्मान र पुरस्कारहरू प्राप्त गर्नुभएका उहाँ विशेषत: साहित्यिक, आध्यात्मिक र सामाजिक योगदान गर्नमा रुचि राख्नुहुन्छ ।

समारोहका प्रमुख अतिथि

समारोहका प्रमुख अतिथि हुनुहुन्छ शताधिक वयकी ज्येष्ठ नागरिक श्रीमती महारानी ब्यान्जू श्रेष्ठ । उहाँको घर धुलिखेल नगरपालिका वडा नं. ७ धुलिखेल बजार सरस्वती टोलमा छ । धुलिखेल क्षेत्रमा सबैभन्दा ज्येष्ठ नागरिक उहाँ नै हुनुहुन्छ । उहाँले अहिले १०० वर्षको उमेर नाघिसक्नुभएको छ । उहाँका श्रीमान् पूर्णबहादुर ब्यान्जू हुनुहुन्थ्यो । उहाँका ५ छोरा (साठीगोपाल, बाबुकाजी, सुवर्णगोपाल, शिवलाल र जीवलाल), १ छोरी (चीजमाया श्रेष्ठ), १० जना नाति, १४ वटी नातिनी तथा धेरैजना पनाति–पनातिनी छन् । उहाँ अझै स्वस्थ हुनुहुन्छ, आफैँ हिँड्न सक्नुहुन्छ, राम्ररी देख्न सक्नुहुन्छ, कुराकानी गर्न सक्नुहुन्छ, कान भने अलिकति कम सुन्नुहुन्छ । १९९० सालको भूकम्पसम्बन्धी विवरण उहाँ अझै पनि राम्ररी सुनाउन सक्नुहुन्छ । उहाँलाई आजको समारोहको प्रमुख अतिथिका रूपमा सम्मानित गर्न पाउँदा शब्दयात्रा प्रकाशन गौरवान्वित बनेको छ ।

सम्मानित व्यक्तित्व चयन समितिका सदस्यहरू

नाम–थर : सिद्धिबहादुर कर्माचार्य
जन्ममिति : २०१०।५।२१
जन्मस्थान : बनेपा — ४, उग्रचण्डी नाला, लागन टोल
सेवाक्षेत्र : रेडक्रस, साहित्य, समाजसेवा
विशेष रुचि : धर्मसंस्कृति
अनुभव : स्वास्थ्यसेवामा ४० वर्ष, रेडक्रसमा ३० वर्ष
विशेष पहिचान : प्रधानपञ्च भएर काम गरेको, जिल्ला शिक्षा समितिको सदस्य

नाम–थर : सरस्वती सापकोटा
जन्ममिति : २०१४।८।४
जन्मस्थान : काभ्रे, ढुङ्खर्क — ३, गोर्खाली गाउँ,
सेवाक्षेत्र : समाजसेवा, गायन
विशेष रुचि : गायन
अनुभव : गायन
विशेष पहिचान : गायन

नाम–थर : मोहनबिनोद बजगाई
जन्ममिति : २०२६।२।२२
जन्मस्थान : काभ्रे, बनेपा — ६, बुडोल
सेवाक्षेत्र : समाजसेवा, व्यापार–व्यवसाय
विशेष रुचि : समाजसेवा, धर्मसंस्कृति
अनुभव : व्यवसाय
विशेष पहिचान : धर्मसंस्कृति

नाम–थर : सुदर्शन आचार्य
जन्ममिति : २०२८।६।८
जन्मस्थान : काभ्रे, बनेपा — ६, नैमिषारण्य क्षेत्र
सेवाक्षेत्र : व्यवसाय, पारवहन
विशेष रुचि : धर्मसंस्कृति
अनुभव : समाजसेवा
विशेष पहिचान : समाजसेवा

सार्वजनिक हुने कृतिहरू

सम्पादक : हरि मञ्जुश्री
कृति : नागा बाबा रमेश गिरि
काव्यानुवादक : श्रीधर प्याकु¥याल
कृति : सत्यनारायण कथामृत
कवि : कृष्णहरि मैनाली
कृति : यात्रा
सङ्कलक : जगन्नाथ गिरी
कृति : काभ्रेली पूर्वप्रहरी कर्मचारी टेलिफोन कोश