शब्दयात्रा प्रकाशनले हरेक वर्षको जेठ महिनामा समर्पण गर्नुपर्ने शब्दयात्रा राष्ट्रझङ्कार सम्मान, नन्दिकेश्वर अधिकारी शोध सम्मान, शब्दयात्रा सिर्जना सम्मान र प्रशासनिक महिला प्रतिभा सम्मानका लागि उपयुक्त व्यक्ति अथवा संस्थाको नाउँ प्रस्ताव गरी पठाउन ‘नेपालभूमि साप्ताहिक’ पत्रिका र ‘शब्दसञ्चार’ पाक्षिक रेडियो कार्यक्रममार्फत सार्वजनिक रूपमा आह्वान गरिएको थियो । त्यो आह्वानपछि संस्थाका सदस्यहरू र संस्थाबाहिरका व्यक्तिहरूले पनि केही नाउँहरू शब्दयात्रा प्रकाशनलाई उपलब्ध गराउनुभएको थियो ।
त्यसपछि शब्दयात्रा प्रकाशनले म सिद्धिबहादुर कर्माचार्यलाई संयोजक तथा सरस्वती सापकोटा, सुदर्शन आचार्य र मोहनविनोद बजगाईंलाई सदस्य तोकेर सम्मानित व्यक्तित्व चयन समिति बनायो । चयन समितिमा मनोनयन गरेकोमा हामी चारैजना शब्दयात्रा प्रकाशनलाई धन्यवाद दिन चाहन्छौँ ।
सम्मानका लागि सिफारिस गरिएका नाउँहरूमध्ये २०१५ सालभन्दा अघि जन्मेका सम्बन्धित विधाका प्रतिभाहरू र संस्थाहरूको नाउँ शब्दयात्रा प्रकाशनले हाम्रो समितिलाई उपलब्ध गराएको थियो । हामीलाई प्राप्त भएका नाउँहरूमध्येबाट समितिको बैठकले निर्धारण गरेको कार्यविधिअनुसार हामीले हरेक विधाका लागि एक–एकजनाको नाउँ चयन गरी सम्बन्धित सम्मान समर्पण गर्नका लागि सिफारिस ग¥यौँ । त्यसपछि संस्थाले उहाँहरूलाई सम्मान गर्ने घोषणा गरेको थियो । आज उहाँहरू सम्मानित हुन लाग्नुभएको छ । हाम्रो निर्णयअनुसार नै सम्मान ग्रहण गर्न स्वीकृति दिनुभएकोमा बुद्धिनारायण श्रेष्ठ (ओखलढुङ्गा), डा. टीकाराम अधिकारी (कास्की), सुधा कोइराला न्यौपाने (सिन्धुली) र ज्ञानेन्द्रराज भट्टराई (भोजपुर) प्रति चयन समिति आभार व्यक्त गर्दछ र सम्मानित हुन लाग्नुभएकोमा हार्दिक बधाई पनि अर्पण गर्दछ ।
आज सम्मानित हुने महानुभावहरूका विषयमा सबैलाई जानकारी नै होला भन्ने कुरामा हामी विश्वस्त छौँ । किनभने उहाँहरूका बारेमा विशेष जानकारी आजै प्रकाशन भएको ‘नेपालभूमि साप्ताहिक’ को सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण विशेष पृष्ठमा दिइएको छ । त्यो पत्रिका तपाईंहरूको हातमा आइपुगेकै होला अथवा आइपुग्ने नै छ ।
आजै सार्वजनिक हुन लागेका कृतिहरू ‘नागा बाबा रमेश गिरि’ स्मृतिग्रन्थका सम्पादक हरि मञ्जुश्री, ‘यात्रा’ कवितासङ्ग्रहका कवि कृष्णहरि मैनाली, ‘सत्यनारायण कथामृत’ का काव्यानुवादक श्रीधर प्याकु¥याल र ‘काभ्रेली पूर्वप्रहरी कर्मचारी टेलिफोन कोश’ का सङ्कलक जगन्नाथ गिरीलाई पनि हाम्रो समिति बधाई ज्ञापन गर्दछ ।