शब्दयात्रा प्रकाशनद्वारा सञ्चालित नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ५१ औँ शृङ्खलामा कर्मयोद्धा सुधा सिलवाल प्रमुख वक्ताका रूपमा प्रस्तुत हुनुभयो । अग्रज लोकगायक मच्छेश्वर सापकोटाको सभापतित्वमा सम्पन्न उक्त प्रवचन कार्यक्रम गत २०७४ साल फागुन ११ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भएको थियो ।
पदमनाथ ढुङ्गानाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा शारदाप्रसाद शर्मा, श्री शर्मा मूर्ख, पुण्यवती घले, छविलाल कुइँकेल, विष्णुहरि तिमल्सिना, अनु थापा, शकुन्तला बन्जारा, छविलाल कुइँकेल, शम्भुप्रसाद कुइँकेल आदिको समुपस्थिति रहेको थियो ।
‘शब्दसंवाद’ मा सुधा सिलवाल
सालिकका लागि आर्थिक सहयोग
शब्दयात्रा प्रकाशनले काभ्रेको बनेपामा पाँच विधाका नेपालका शीर्ष व्यक्तित्वहरूको सालिक स्थापना गर्न लागेकोमा त्यसका लागि ओमबहादुर राउतले ५ हजार १ सय ५९ रुपियाँ आर्थिक सहयोग उपलब्ध गराउनुभएको छ ।
उदयपुर घर भई हाल काठमाडौँको कपनमा बसोवास गर्ने श्री राउत पेसाले इन्जिनियर हुनुहुन्छ ।
पूरा श्रेष्ठको ‘पुनर्जन्म’
शारीरिक रूपमा अत्यन्त अस्वस्थ भएर पनि मनोबल र लगनका कारण साहित्यिक क्षेत्रमा प्रवेश गरेकी काभ्रेली महिला प्रतिभा पूरा श्रेष्ठको दोस्रो पुस्तक कवितासङ्ग्रहका रूपमा ‘पुनर्जन्म’ को प्रकाशन हुने भएको छ । उहाँको पहिलो कृति ‘नयाँ सोच’ लघु–उपन्यासको सार्वजनिकीकरण समारोहमा प्रमुख अतिथि डा. चिन्तामणि योगीले घोषणा गर्नुभएअनुसार शान्ति सेवा आश्रम र गोसाइँस्थान नैमिषारण्य क्षेत्र विकास समितिको आर्थिक सौजन्यमा शब्दयात्रा प्रकाशनको १०० औँ प्रकाशनपुष्पका रूपमा ‘पुनर्जन्म’ को प्रकाशन हुन लागेको हो ।
यही फागुन महिनामा आयोजना गरिने सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहमा ‘पुनर्जन्म’ लाई सार्वजनिक गरिने भएको छ ।
‘शाहवंशका चर्तिकला’ छापिँदै
शब्दयात्रा प्रकाशनको ९९ औँ प्रकाशनपुष्पका रूपमा ‘शाहवंशका चर्तिकला’ नामक पुस्तिका प्रकाशित हुने भएको छ ।
विष्णुहरि तिमल्सिनाले विभिन्न सामग्रीहरू सङ्कलन गरेर तयार पार्नुभएको त्यस पुस्तिकालाई यही फागुन महिनामा आयोजना गरिने कार्यक्रममा सार्वजनिक गरिने भएको छ ।
सूर्यप्रसाद श्रेष्ठलाई पत्नीशोक
शब्दयात्रा प्रकाशनको कार्यक्रममा प्रमुख अतिथि बन्नुभएका पूर्व प्रमुख निर्वाचन आयुक्त तथा पूर्वराजदूत सूर्यप्रसाद श्रेष्ठलाई पत्नीशोक परेको छ । उहाँकी पत्नी गिन्नीबाबा श्रेष्ठको गत २०७४ फागुन ३ गते निधन भएको हो ।
शब्दयात्रा प्रकाशन परिवार शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै गतात्माको चिरशान्तिका लागि भगवान्सँग प्रार्थना गर्दछ ।
हरि मञ्जुश्रीको ‘पच्चीस दृष्टि’ सार्वजनिक
सुभाष स्मृति प्रतिष्ठानको चौधौँ वार्षिक साधारण सभा तथा स्व. सुभाष खड्काको सोह«ौँ स्मृतिदिवस गत २०७४ साल फागुन ५ गते शनिबार काभ्रेको बनेपा नगरपालिकाको सभाकक्षमा सम्पन्न भयो । काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्माको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष साहित्यकार हरि मञ्जुश्रीद्वारा लिखित भूमिकासङ्ग्रह ‘पच्चीस दृष्टि’ लाई सार्वजनिक गरिएको थियो । काभ्रे जिल्लाका २५ जना लेखकका कृतिमाथि लेखिएका भूमिकाहरू सङ्कलित उक्त कृतिका बारेमा साहित्यकार शारदाप्रसाद शर्माले टिप्पणी गर्नुभएको थियो ।
उक्त कार्यक्रममा अग्रज गीतकार किरण खरेल, अग्रज समाचारवाचक कृष्णा ताम्राकार, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र शिक्षासेवी डा. अम्बुभवानी कार्कीलाई सुभाष स्मृति सम्मानबाट सम्मानित गरिएको थियो । सम्मानित व्यक्तित्वका तर्फबाट कुलमान घिसिङ र डा. अम्बुभवानी कार्कीले मन्तव्य राख्नुभएको थियो । किरण खरेल र कृष्णा ताम्राकार शारीरिक अस्वस्थताका कारण समारोहमा उपस्थित हुन नसक्नुभएकाले किरण खरेलको सम्मानपत्र शिव बन्जारालाई र कृष्णा ताम्राकारको सम्मानपत्र डा. भूषण श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा स्व. सुभाष खड्काको देहावसान भएको स्थल सङ्खुवासभाको खाँदबारीमा अवस्थित हिमालय माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत विपन्न वर्गका पाँचजना जेहेन्दार विद्यार्थीलाई प्रतिव्यक्ति ५ हजार रुपियाँका दरले छात्रवृत्ति उपलब्ध गराइएको जानकारी गराउँदै छात्रवृत्तिको प्रमाणपत्र सम्बन्धित विद्यालयमा पु¥याइदिन पदमनाथ ढुङ्गानालाई हस्तान्तरण गरिएको थियो ।
सुभाष स्मृति प्रतिष्ठानका अध्यक्ष चन्द्रबहादुर खड्काको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन केशव थापाले र वार्षिक कार्यक्रम तथा आर्थिक प्रतिवेदन राजन थापाले प्रस्तुत गर्नुभएको थियो भने अग्रज लोकगायक मच्छेश्वर सापकोटा र विजयराम कर्माचार्यले गीतहरू प्रस्तुत गर्नुभएको थियो ।
सभाले ११ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ । नयाँ कार्यसमितिमा चन्द्रबहादुर खड्का अध्यक्ष, केशव थापा उपाध्यक्ष, राजन थापा महासचिव, प्रदीप खड्का कोषाध्यक्ष तथा हरि मञ्जुश्री, पूर्णबहादुर कार्की, पुण्यवती घले, कुमाले मिजार, ओतबहादुर खड्का, विजयराम कर्माचार्य र रामशरण केसी सदस्य रहनुभएको छ ।
‘शब्दसंवाद’ मा डा. अम्बुभवानी कार्की र विमला शर्मा
शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को उनन्चासौँ शृङ्खलाको प्रमुख वक्ताका रूपमा शिक्षासेवी डा. अम्बुभवानी कार्की र पचासौँ शृङ्खलाको प्रमुख वक्ताका रूपमा धुलिखेल नगरपालिकाका उपमेयर विमला शर्मा प्रस्तुत हुनुभयो ।
दुवै कार्यक्रममा शब्दयात्रा लेखक समाजका संयोजक ओतबहादुर खड्का सभापति हुनुहुन्थ्यो भने दुवै शृङ्खलाको सञ्चालन पदमनाथ ढुङ्गानाले गर्नुभएको थियो । एकै दिन दुईवटा शृङ्खलामा कार्यक्रम गरिएको यो पहिलोपटक हो ।
कार्यक्रममा पुण्यवती घले, दामोदर घिमिरे, छविलाल कुइँकेल, खाइबा लामा, नानुदेवी कुइँकेल, दण्डपाणि अधिकारी, शारदाप्रसाद शर्मा, श्री शर्मा मूर्ख, दीपक तिमल्सिना, अनु थापा आदिको समुपस्थिति रहेको थियो ।
हरि मञ्जुश्रीलाई सिम्पल सम्मान
शब्दयात्रा प्रकाशनका अध्यक्ष साहित्यकार तथा ग्रन्थसम्पादक हरि मञ्जुश्रीलाई २०७४ सालका लागि साहित्यतर्फको सिम्पल सम्मानबाट सम्मानित गरिएको छ । सिम्पल आर्टस नामक संस्थाको बीसौँ वार्षिकोत्सवका अवसरमा गत २०७४ फागुन ५ गते शनिबार काठमाडौँको बानेश्वरमा विशेष कार्यक्रमको आयोजना गरी उहाँलाई सम्मान गरिएको हो । उहाँका साथमा साहित्यिक पत्रकार चेतनाथ धमला, गायक अमर तन्डुकार, चलचित्र निर्देशक जनकदीप पराजुली र चलचित्र नायिका रविना थापालाई पनि सम्मान गरिएको थियो ।
उपन्यासकार शङ्कर भारतीको सभापतित्वमा आयोजित सम्मान कार्यक्रममा अग्रज चलचित्र निर्देशक लक्ष्मीनाथ शर्मा प्रमुख अतिथि र डा. पीताम्बर शर्मा अतिथि हुनुहुन्थ्यो ।
गायक पुष्कर जङ्गमले स्वागत मन्तव्य र गायक सीताराम पोखरेलले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा साहित्यकार केशव सान्दाइले सम्मानित व्यक्तित्वहरूको परिचयात्मक विवरण प्रस्तुत गर्नुभएको थियो भने ‘कपन बानेश्वर’ साप्ताहिक पत्रिकाका सम्पादक निबन्ध आचार्यले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
हार्दिक बधाई
शब्दयात्रा प्रकाशनद्वारा सम्मानित समाजसेवी बेलप्रसाद श्रेष्ठ ‘धुलिखेल रत्न’ बाट र शब्दयात्रा सहयोगी समाजका सदस्य पूर्णबहादुर कर्माचार्य ‘धुलिखेल नक्षत्र ख’ बाट धुलिखेल नगरपालिकाद्वारा सम्मानित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।
शब्दयात्रा प्रकाशन परिवार
हार्दिक आमन्त्रण
आगामी फागुन १५ गते मङ्गलबार दिउँसो १ बजे शब्दयात्रा प्रकाशनको परिसर बनेपा नीलकण्ठेश्वरधाममा उपस्थित भइदिन सबैमा अनुरोध छ । त्यस दिन आमसञ्चार सम्मानबाट अग्रज पत्रकार होमनाथ दाहाललाई, सामाजिक जागरण सम्मानबाट काभ्रेमा सक्रिय संस्था लभग्रीन नेपाललाई, शिक्षा सम्मानबाट नेपालको पहिलो विद्यालय षडानन्द माध्यमिक विद्यालयलाई र विज्ञान–प्रविधि सम्मानबाट नेपालका कम्प्युटर वैज्ञानिक मुनिबहादुर शाक्यलाई सम्मान गरिँदैछ । त्यसै समारोहमा श्रीधर प्याकु¥यालको ‘भर्तृहरि शतक’, बेलप्रसाद श्रेष्ठको ‘मी एन्ड माई धुलिखेल’, विष्णुहरि तिमल्सिनाको ‘शाहवंशका चर्तिकला’ र पूरा श्रेष्ठको ‘पुनर्जन्म’ पुस्तकलाई सार्वजनिक गरिनुका साथै केही लेखकहरूलाई स्मृतिचिह्न प्रदान गरिनेछ ।
शब्दयात्रा प्रकाशन

