शब्दयात्रा प्रकाशनका अध्यक्ष साहित्यकार तथा ग्रन्थसम्पादक हरि मञ्जुश्रीलाई २०७४ सालका लागि साहित्यतर्फको सिम्पल सम्मानबाट सम्मानित गरिएको छ । सिम्पल आर्टस नामक संस्थाको बीसौँ वार्षिकोत्सवका अवसरमा गत २०७४ फागुन ५ गते शनिबार काठमाडौँको बानेश्वरमा विशेष कार्यक्रमको आयोजना गरी उहाँलाई सम्मान गरिएको हो । उहाँका साथमा साहित्यिक पत्रकार चेतनाथ धमला, गायक अमर तन्डुकार, चलचित्र निर्देशक जनकदीप पराजुली र चलचित्र नायिका रविना थापालाई पनि सम्मान गरिएको थियो ।
उपन्यासकार शङ्कर भारतीको सभापतित्वमा आयोजित सम्मान कार्यक्रममा अग्रज चलचित्र निर्देशक लक्ष्मीनाथ शर्मा प्रमुख अतिथि र डा. पीताम्बर शर्मा अतिथि हुनुहुन्थ्यो ।
गायक पुष्कर जङ्गमले स्वागत मन्तव्य र गायक सीताराम पोखरेलले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा साहित्यकार केशव सान्दाइले सम्मानित व्यक्तित्वहरूको परिचयात्मक विवरण प्रस्तुत गर्नुभएको थियो भने ‘कपन बानेश्वर’ साप्ताहिक पत्रिकाका सम्पादक निबन्ध आचार्यले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।