सुभाष स्मृति प्रतिष्ठानको चौधौँ वार्षिक साधारण सभा तथा स्व. सुभाष खड्काको सोह«ौँ स्मृतिदिवस गत २०७४ साल फागुन ५ गते शनिबार काभ्रेको बनेपा नगरपालिकाको सभाकक्षमा सम्पन्न भयो । काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्माको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष साहित्यकार हरि मञ्जुश्रीद्वारा लिखित भूमिकासङ्ग्रह ‘पच्चीस दृष्टि’ लाई सार्वजनिक गरिएको थियो । काभ्रे जिल्लाका २५ जना लेखकका कृतिमाथि लेखिएका भूमिकाहरू सङ्कलित उक्त कृतिका बारेमा साहित्यकार शारदाप्रसाद शर्माले टिप्पणी गर्नुभएको थियो ।
उक्त कार्यक्रममा अग्रज गीतकार किरण खरेल, अग्रज समाचारवाचक कृष्णा ताम्राकार, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र शिक्षासेवी डा. अम्बुभवानी कार्कीलाई सुभाष स्मृति सम्मानबाट सम्मानित गरिएको थियो । सम्मानित व्यक्तित्वका तर्फबाट कुलमान घिसिङ र डा. अम्बुभवानी कार्कीले मन्तव्य राख्नुभएको थियो । किरण खरेल र कृष्णा ताम्राकार शारीरिक अस्वस्थताका कारण समारोहमा उपस्थित हुन नसक्नुभएकाले किरण खरेलको सम्मानपत्र शिव बन्जारालाई र कृष्णा ताम्राकारको सम्मानपत्र डा. भूषण श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा स्व. सुभाष खड्काको देहावसान भएको स्थल सङ्खुवासभाको खाँदबारीमा अवस्थित हिमालय माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत विपन्न वर्गका पाँचजना जेहेन्दार विद्यार्थीलाई प्रतिव्यक्ति ५ हजार रुपियाँका दरले छात्रवृत्ति उपलब्ध गराइएको जानकारी गराउँदै छात्रवृत्तिको प्रमाणपत्र सम्बन्धित विद्यालयमा पु¥याइदिन पदमनाथ ढुङ्गानालाई हस्तान्तरण गरिएको थियो ।
सुभाष स्मृति प्रतिष्ठानका अध्यक्ष चन्द्रबहादुर खड्काको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन केशव थापाले र वार्षिक कार्यक्रम तथा आर्थिक प्रतिवेदन राजन थापाले प्रस्तुत गर्नुभएको थियो भने अग्रज लोकगायक मच्छेश्वर सापकोटा र विजयराम कर्माचार्यले गीतहरू प्रस्तुत गर्नुभएको थियो ।
सभाले ११ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ । नयाँ कार्यसमितिमा चन्द्रबहादुर खड्का अध्यक्ष, केशव थापा उपाध्यक्ष, राजन थापा महासचिव, प्रदीप खड्का कोषाध्यक्ष तथा हरि मञ्जुश्री, पूर्णबहादुर कार्की, पुण्यवती घले, कुमाले मिजार, ओतबहादुर खड्का, विजयराम कर्माचार्य र रामशरण केसी सदस्य रहनुभएको छ ।