0
    1517

    २०७५ जेठ १ गतेको अङ्कमा प्रकाशित प्रमुख सामग्रीहरू

    माओवादी नै लम्पसारवादी
    — कृष्णविनोद शर्मा

    नेपालको पछिल्लो राजनीतिमा केही कूटनीतिक उपमा र व्यङ्ग्यका शब्दहरू पस्किने काम नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूबाट भएको छ । प्रायः सबै दलका नेताहरू सत्ताप्राप्तिका लागि मित्रराष्ट्र भारतको आशीर्वाद लिन भरमग्दुर कोसिस गर्दछन् । यसरी कोसिस गर्दा पनि कदाचित भारत दाहिने भइदिएन, सत्ता हात लागेन वा लाग्ने छाँट देखिएन भनेचाहिँ फ्याउरोले उफ्रेर अङ्गुर खान धेरै प्रयत्न गर्दा पनि खान पाएन भने अङ्गुर अमिलो होला भनेर हिँड्छ भनेझैँ गरी त्यस्ता शब्दहरूको प्रयोग गर्ने गर्दछन् । माओवादी नेताहरूले प्रयोग गरेका त्यस्ता शब्दहरूमा ‘रिमोट कन्ट्रोल’ र ‘लम्पसारवाद’ निकै चर्चित शब्दहरू बने ।
    गत वर्षको प्रान्तीय र सङ्घीय निर्वाचनमा भारतविरोधी राष्ट्रवादको नारा दिएर नेकपा एमालेसँग लगनगाँठो कसी मतदाताहरूमा भ्रम छर्न सफल भएकाले प्रान्तीय र सङ्घीय सरकारको गठनमा साझेदार हुन पनि सफल भएपछि लगनगाँठोको मुआबजाका रूपमा गृह मन्त्रालय पाएको छ नेकपा माओवादी केन्द्रले । गृहमन्त्री बनेका छन् सोभियत युनियनमा प्रशिक्षित क्रान्तिकारी नेता रामबहादुर थापा ‘बादल’ । भारतविरोधी राष्ट्रवादको धरातलमा सिंहदरबार कब्जा गरेको वर्तमान सरकारले तिनै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भव्य स्वागत–सत्कार गर्नमा कुनै कसर बाँकी राखेन । एउटा सरकारले अर्को सरकारप्रमुखलाई हार्दिक स्वागत–सत्कार गर्नुपर्छ, त्यो कूटनीतिक मर्यादा पनि हो । तर २०७२ सालको भूकम्पबाट पीडित नेपाली नागरिकहरूले भोगेको नाकाबन्दीको पीडालाई नजरअन्दाज गर्दै नागरिक अभिनन्दनहरूचाहिँ नगरेको भए पनि हुने थियो ‘तीर्थाटन भ्रमण’ मात्र भएकाले पनि । यसबाट सरकारको पनि लम्पसारवादी चरित्र उदाङ्गो भएको छ ।
    यतिसम्म त स्वीकार्य धृष्टता भन्न सकिएला सरकारको । तर एउटा उदाउँदो सूर्य विवेकशील साझा पार्टीले आफ्नो पार्टी कार्यालयमा टाँगेको ब्यानर जबर्जस्ती छापामार शैलीमा झिकेर गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले चरम लम्पसारवादको परिचय दिएका छन् । ब्यानरमा लेखिएको भाषा ‘मोदीजी स्वागत छ, तर नाकाबन्दी बिर्सेका छैनौँ’ शिष्ट भाषा थियो । राजनीतिक दलको शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने सम्वैधानिक हक र अन्तर्राष्ट्रिय प्रचलन पनि हो । विवेकशील साझा पार्टीले नेपाली जनताको मनोभावनाको प्रतिनिधिमूलक अभिव्यक्ति दिएको पनि थियो । अहिले पनि सरकारले त्यो भाषाको पक्ष र विपक्षमा जनमतसङ्ग्रह गर्ने हिम्मत गर्ने हो भने सायद पक्षमा दुई तिहाई बहुमत पर्ने निश्चित छ ।
    गृह मन्त्रालय सम्हालेका रामबहादुर थापाको उपनाम ‘बादल’ त्यो प्रकरणले अरब सागरबाट उडेर दिल्ली हुँदै नेपाल पसेको बादलमा परिणत भएको छ ।
    वर्तमान नेकपा एमाले र नेकपा माओवादी केन्द्रले के बुझ्नु जरुरी छ भने जसरी २०५१–५२ सालमा सशस्त्र विद्रोहको बिगुल फुक्तै गर्दा माओवादी पार्टी जन्मियो, त्यसरी नै अहिले विवेकशील साझा पार्टी हतियारविनाको नयाँ माओवादी पार्टीका रूपमा जनतामाझ लोकप्रिय हुँदैछ । नेपाली काङ्ग्रेस अझै सुध्रिएको छैन, झन्–झन् अधोगतिमा छ । राप्रपालाई पूर्वराजा ज्ञानेन्द्रले नै तहसनहस पारे । मधेसवादी त उग्र लम्पसारवादी भइहाल्यो । अझै केही वर्ष वर्तमान सरकार र नेकपा एमाले — नेकपा माओवादी केन्द्रलाई चुनौती दिने पार्टी नै विवेकशील साझा पार्टी हुन सकछ । यो कुरा माओवादी नेताहरूले मनन गर्नुपर्ने विषय हो ।

    सिस्टम, सिन्डिकेट र माफियाराज
    — भार्गव उपाध्याय

    केपी ओली सरकारले गरेको महàवपूर्ण एवं उत्कृष्ट कार्य हो सार्वजनिक यातायातमा व्याप्त दह«ोसँग जरा गाडिसकेको सिन्डिकेटको अन्त्य गर्नु । यस कार्यमा नेपाली काङ्ग्रेस  qर मधेसवादी दलहरूले पनि सघाए र सह«ाहना पनि गरे । कारण २०६२–६३ पछि सर्वदलीय सहमति र स्वार्थबाट नै सिन्डिकेटीय विषवृक्षको रोपण भएको थियो । यो घटनाबाट सरकार निकै उत्साहित भएको छ र अब यातायात क्षेत्रपछि शिक्षा र स्वास्थ्य क्षेत्रमा व्याप्त सिन्डिकेट पनि भत्काउने उद्घोष गरेको छ । ती क्षेत्रहरूमा सिन्डिकेट भि†याउने पनि यिनै ठूला दलहरू नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा माओवादी र मधेसवादीहरू हुन् । प्रमाणका लागि ती–ती दलहरूले आआफ्नो दलीय कोटामा समानुपातिकतर्फबाट सिन्डिकेटका नाइकेहरूलाई सांसद बनाएकै हुन् । आफूहरूले गरेको गलत कार्यको समीक्षा गरी गल्ती महसुस गरेर सुधार गर्नु पनि ठूलो महानता हो । त्यसैले आआफ्ना गल्तीको पुनरवलोकन गरी सच्चिन खोजेकोमा सरकार र ठूला दलहरूलाई बधाई र धन्यवाद छ ।
    अहिलेको माहोल, जनमत पूरै सिन्डिकेटको विरोधमा छ, जसरी २०४७–४८ सालतिरको राष्ट्रिय माहोल पञ्चायतको विरोधी थियो । त्यो बेला कसैले पञ्चायतका पनि केही राम्रा पक्षहरू थिए भन्दा तिनलाई प्रतिगामी भनिन्थ्यो । तर लोकतन्त्रबाहेक अन्य कुराहरू राष्ट्रियता, राष्ट्रिय एकता, साम्प्रदायिक सद्भाव, नेपाली भाषाको विकास, कहीँ–कतै सिन्डिकेटीय पद्धति हुर्कन नदिनु आदि सकारात्मक पक्षहरू पनि थिए । त्यसैले लेखक–विश्लेषकहरूले दलीय छाताबाहिर निस्केर वर्तमान सिन्डिकेटीय व्यवस्था, प्रभाव र कमी–कमजोरीका बारे तटस्थ र निष्पक्ष विश्लेषण गर्नु जरुरी देखिन्छ ।
    यहाँ तीन शब्दहरू दिइएका छन् — सिस्टम, सिन्डिकेट र माफियाराज । सिन्डिकेट केन्द्रमा हुन्छ यदि कुनै सिन्डिकेट सिस्टमतिर फर्केको छ, सिस्टम÷व्यवस्थापन अभिमुख छ भने त्यो उचित नै हुन्छ भने यदि त्यही सिन्डिकेट माफियातन्त्रतिर फर्केको छ, माफियाराजतिर अभिमुख हुन्छ भने त्यो सर्वथा अनुचित हुन्छ । पहिले यो बुझौँ कि सिन्डिकेट भनेको के हो । अक्सफोर्ड शब्दकोशका अनुसार सिन्डिकेट भन्नाले कुनै व्यक्ति वादसमूह कुनै साझा उद्देश्यपूर्तिका लागि सङ्गठित हुनु भन्ने बुझिन्छ । तर अहिले सिन्डिकेट भनेको अस्वस्थ प्रतिस्पद्र्धा, वस्तु तथा सेवामा एकाधिकार, कार्टेलिङ आदि सबैलाई सिन्डिकेट भनेर बुझिरहेका छौँ । अनि सिन्डिकेटका नाइकेहरूलाई माफिया भनेर बुझेका पनि हुन सक्छौँ ।
    समाजको विकासका लागि सबै काम सरकारले र सरकारी संयन्त्र र निकायहरूले गर्न सक्तैनन् । केही कामहरू गैरसरकारी क्षेत्रबाट भएका हुन्छन् । यस्ता गैरसरकारी क्षेत्रमा काम गर्ने (सेवा वा मेवा) सङ्गठित संस्था वा निकायको कार्यशैली र पद्धति सिन्डिकेट हो । यस अर्थमा राज्यका विभिन्न निकायहरूमा दर्तावाल र आबद्ध समिति, सङ्घ, सङ्गठन, एनजीओ, आईएनजीओ, क्लब, वाचनालय, सामाजिक र धार्मिक संस्थाहरू सबैले केही हदसम्म सिन्डिकेट चलाएका हुन्छन् भनेर बुझ्नुपर्ने हुन्छ । यहाँनेर छुट्याउनैपर्ने कुरोचाहिँ ती समिति र सङ्घ–संस्थाहरू सेवातिर लक्षित छन् कि मेवातिर लक्षित छन् । सेवातिर लक्षित भएकाहरू सिस्टमतिर फर्केका हुन्छन् भने मेवातिर लक्षित भएकाहरू माफियाराजतिर । कुनै संस्था नाफा आर्जन नगर्ने संस्था हो, धर्मप्रचार आदि पनि लक्ष्य होइन, संस्थाले आर्जेको जायजेथा नेपाल सरकारको हुन्छ, संस्थाका सञ्चालकहरूले कुनै पारिश्रमिक, भत्ता वा टीएडीए आदि लिँदैनन् भने त्यस्ता सिन्डिकेटहरू सिस्टम बहाल गर्न–गराउन स्थापित र समर्पित छन् भनेर बुझ्नुप¥यो र त्यस्ता सिन्डिकेटहरूलाई सरकारले र दलहरूले संरक्षण गर्नुपर्ने हुन्छ । यदि कुनै संस्था वा समिति नाफा कमाउने उद्देश्य राख्तछ, त्यसमा कसैको पुँजी लगानी भएको छ, सेयरहोल्डरहरू छन्, संस्थाको चल–अचल सम्पत्ति राज्यको होइन, संस्थामा आबद्ध व्यक्तिहरूले प्रत्यक्ष वा परोक्ष पारिश्रमिक, भत्ता आदि लिन्छन् भने ती संस्थाहरूले चलाएको सिन्डिकेट प्रत्यक्ष वा परोक्ष रूपमा माफियातन्त्रतिर अभिमुख हुन्छन्, हुन सक्छन् । त्यस्ता सिन्डिकेटहरूको कार्यमा सरकारले कडा निगरानी राख्नुपर्ने हुन्छ र ती सिन्डिकेट माफियातन्त्रका अङ्ग हुन् वा हुन सक्छन् भने त्यस्ता सिन्डिकेटहरू खारेज गर्नुपर्ने हुन्छ ।
    तर सबैभन्दा अप्ठेरो केमा पर्छ भने सबै व्यापारी चोर हुन्, सबै कर्मचारी घुस्याहा हुन्छन्, सबै जोगीहरू ढोँगी हुन्छन्, सबै नेताहरू फटाहा हुन्छन् जस्ता अभिव्यक्ति पनि घातक हुन्छन् । जस्तो ः यातायात क्षेत्रमा सिन्डिकेट छ, तर मयुर, मेट्रो सिटी, साझा जस्ता बससेवा पनि रहेछन् । त्यस्तै सबै बोर्डिङ स्कुल, सबै निजी कलेज, सबै नर्सिङ होम, सबै निर्माण व्यवसायी, सबै व्यापारी सिन्डिकेटमा आबद्ध नभएका पनि हुन सक्छन् । त्यो पक्षको पनि हेक्का राख्नुपर्ने हुन्छ । होइन भने निजी क्षेत्र निषेधित राज्यनियन्त्रित अर्थतन्त्रमा जानुपर्ने हुन्छ । सबै सेवा, बन्दव्यापार आदि राज्यले नै गर्नुपर्ने दिशामा मुलुक अग्रसर हुन सक्छ ।

    प्रदेश सरकारमा बिन्तीपत्र
    — प्रा. पीताम्बर अधिकारी

    घाँटी हेरी हाड निलौं । तत्काल लाभ देखिए पनि भोलि अर्काले हात झिक्दा फेल हुने खालका योजना नबनाऊँ । जस्तो साना जलविद्युत् । २०–२५ परिवारले बेहोर्न सकून् । चाहिने सामान अनुदान वा सहयोग देओस् सरकारले । प्राविधिक तालिम देओस्, जसबाट आवश्यक सुधार गर्ने काम उनीहरूबाटै होस् । रोल्पाको सिर्प भन्ने गाउँका बीचबाट झर्ने खोल्सामा जहाँ पहिले हरेक ठूलो कान्लामुनि पानीघट्ट चल्थे, अहिले बिजुली निकालेका छन् भन्छन् । त्यसो गरे समाजले आफ्नो मानेर बिग्रन दिँदैन । विदेशीले दिएकोमा त्यस्तो ममता, प्रेम हुँदैन । हामी जान्दैनौं र प्राविधिकको पारिश्रमिक भन्दै पैसा उतै जान्छ, हामी लाटाका लाटै ।
    पहाडको शिरमा लेक हुन्छ । त्यहाँ रसिलो हुनाले जङ्गल हुन्छ । नदी, खोलाका शिर त्यतै हुन्छन् । ती हाम्रा धन हुन्, जीवन हुन्, जोगाऊँ । लेकभन्दा तल खेतीयोग्य जमिन छ, पानी छैन । वर्षाको पानी लडेर, बगेर गैहाल्छ । नदी, खोला पनि फेदमा छन् । त्यसैले ती बीच भागमा साना–साना पोखरी बनाएर पानी जोगाऊँ । साना खोल्सा र पँधेरा आदि जोड्दै ती पोखरीलाई स्थायी बनाऊँ । यसबाट सिँचाइ पनि हुन्छ, बिजुली पनि निस्किन्छ । खोला र नदी जो लेकबाट झर्छन्, तिनको पानी ती पोखरीमा जोड्न सके झन् स्थायी स्रोत हुन्छ । बिजुलीबाट सानातिना कारखाना चल्छन्, बत्ती बल्छ, कम्प्युटर चल्छ आदि । सिंचाइ भए खेती हुन्छ, खान पुग्छ । वन बढे, पोखरी भए पर्यटन क्षेत्र बनाउन सकिन्छ ।
    नभई नहुने मूल ठाउँमा मोटरबाटो होस् । जता पायो उतै डोजर लाउँदा पहाडका नसा छिन्छन्, पहिरो जान्छ, मूल सुक्छन् । यसबाट पहाडको मौलिकता बिग्रन्छ । सकिन्छ भने रोप–वे होस्, पुँजीवाला मोटाउन मात्र होइन, त्यसलाई पनि समुदायको ममतापूर्ण संरक्षण मिल्ने गरी । खेती, वनपैदावार आदि बढे अनि रोप–वे भयो भने सुरक्षालाई पनि सजिलो पर्छ । यी पूर्वाधार भए त्यस आधारमा जनता आफैं अघि बढ्छ ।
    तर यसका लागि अलिक धैर्य चाहिन्छ । अवैध बाटोबाट रातारात नवधनाढ्य हीरो बन्ने प्रतियोगिता जो आज चलिरहेछ त्यस मृगतृष्णाबाट पाँचजना त के कर्मठ एकैजना भए पनि जोगिए पुग्छ । हाम्रा गाउँमै बन्दै गरेका सरकार, जसलाई आफ्ना ठाउँको मर्का राम्ररी थाहा छ र जसले खराब सपना पनि देखिसकेका छैनन्, उनीहरूसित आशा गर्नु पक्कै अपराध नठहर्ला ।

    ठूलालाई गाली, सानालाई ताली
    — मुकुन्दप्रसाद उपाध्याय

    हामी नेपालीहरूको र साथै यो भारतवर्ष आर्यावर्तकै भनौँ वर्तमान सामाजिक मूल्य, मान्यता र सोचमा हिन्दू धर्म–संस्कृतिको प्रभाव मुख्य रूपले परेको छ । अन्य धर्म इस्लाम र इसाई धर्म–संस्कृतिको समेत परोक्ष प्रभाव त परेकै छ । शासक वर्ग, राजा–रजौटा हुन् वा जननिर्वाचित नेता–कार्यकर्ता हुन् वा सेना, प्रहरी, प्रशासनका पदाधिकारीहरू हुन्, सबैमा थोरबहुत सामन्तवादी प्रवृत्ति विद्यमान देखिन्छ । भाषणमा, घोषणापत्रमा वा नीति तथा कार्यक्रम र बजेटहरूमा लोकतन्त्र, लोकसम्मति, सामाजिक न्याय, समानता आदि विशेषणहरू पर्नु र पारिनु, त्यो आफ्नो ठाउँमा छ । यी प्रवृत्तिहरूको स्रोत पनि केही हदसम्म हिन्दू धर्म, संस्कृति र वैदिक वाङ्मय हुन् भन्न सकिन्छ । राज्य सञ्चालन गर्न, सामाजिक न्याय र शान्तिका लागि दण्डाधिकारीहरूको व्यवस्था गरियो (राष्ट्रप्रमुख, सरकारप्रमुख, विभाग, नगर, एकाइ प्रमुख आदि सबै नै) । सुरुसुरुमा ती दण्डाधिकारीहरूले चोर, फटाहा, डाका, जाली आदिलाई दण्डद्वारा सजाय दिएर, कज्याएर आफू बस्ने समाजमा शान्तिसुरक्षा र न्याय बहाल गरिदिने भएकाले दण्डाधिकारीहरूलाई मान दिने, सम्मान दिने, आदरभाव प्रकट गर्ने, जयजयकार गर्ने परम्परा बस्यो । कालान्तरमा र वर्तमानमा पनि ती अधिकारीहरूलाई उत्तिकै मान्ने, सम्मान गर्ने गरिन्छ । तर अघिल्लो कारणले नभई तिनको हातमा दण्ड छ, सत्ता छ, त्यसको प्रयोग (वा भनौँ दुरुपयोग) हामीहरूजस्ता आम मान्छे, सोझासाझा र निर्धाहरूमाथि पनि प्रयोग हुन सक्ने भय र आशङ्काले उनीहरू सम्मानित छन् । नेपाल र भारतमा ज्यू, पदविशेष श्रीमान् पदविशेष माननीय, पदविशेष साब, … साब, … साब, … साबदेखि हवल्दार साबसम्म आदरार्थी शब्दहरूको प्रयोग, माला, खादा, दोसल्ला आदिको प्रचुर खपत सायद त्यही कारणले बढ्दै गएको छ । यो प्रचलन धार्मिक सम्प्रदायका अगुवा, मठाधीशहरूमा पनि छ । नत्र स्वयं परब्रह्म परमेश्वरलाई ‘जी’ मात्र भने पुग्ने तर उनीहरूलाई धेरै, दर्जनौँ, सयौँ, हजारौँ ‘श्री’ सहित उपमा, अलङ्कारहरूले सम्बोधन गर्नुपर्ने चलन किन आउँथ्यो र !
    यो संस्कृति र परम्पराको स्रोत पुराणहरूमा वर्णित स्वर्गका देवताहरू र देवताहरूका राजा देवराज इन्द्र आदिबाट सुरु भएको देखिन्छ । तर स्वर्गादि देवताहरूका पनि देवता परब्रह्म परमेश्वर र उनका अवतार देवताहरूमा चाहिँ त्यो अहम्, सर्वसत्तावाद, बडप्पन आदि केही पनि देखिँदैन । पछिल्लो १८ औँ द्वापरयुगकै कुरा गरौँ । देवराज इन्द्रको पूजा नगरी गोकुलवासीले गोवद्र्धन पर्वतको पूजा गरेको थाहा पाउनासाथ बुझ्दै नबुझी क्रोधले सारा गोकुलवासीलाई सिध्याउने ध्येयले ७ दिनसम्म मुसलधार वर्षा गराए । अनि श्रीकृष्ण परब्रह्म परमेश्वर भएको थाहा पाएर आफैँले स्तुति अभिशेष गरेका श्रीकृष्णले सत्यभामाको आग्रहमा स्वर्गबाट पारिजात वृक्ष माग्दा श्रीकृष्णसँग युद्ध नै गर्न उद्यत भए । देवराज भएकाले उनलाई त्यत्रो मान–सम्मान, यश–ऐश्वर्य, मान–बढाइँ चाहिने तर निमेषमै त्यस्ता सयौँ इन्द्र र सयौँ स्वर्ग सिर्जना गर्न सक्ने अखिल ब्रह्माण्डनायक परब्रह्म परमात्मा श्रीकृष्णलाई चाहिँ केही पनि नचाहिने, आदरार्थी शब्दमा ‘जी’ भए पनि पुग्ने, त्यो नभएर गाली गरेर काले कृष्ण, पुन्टे कृष्ण भने पुग्ने, चोर विशेषण लगाएर चित्तचोर, माखनचोर भने पनि प्रसन्न हुने, माता यशोदाले छडी लगाउन पनि मिल्ने, कान निमोठ्न पनि मिल्ने अनि ओखलमा बाँध्न पनि मिल्ने ।
    स्वर्गादि देवताहरूको पूजा–अनुष्ठान गर्दा कत्रो शुद्धता चाहिने, शुद्ध भएर शुद्ध सामग्री तयार गरेर परिकार बनाउँदा बोलिएला, मुखको छिटा पर्ला भनेर मुखमा पट्टी लगाएर भोग–प्रसाद तयार गर्नुपर्ने अनि तिनै भगवान् यथार्थमा सशरीर प्रकट हुँदा पानी नै नचल्ने जातकी शवरीले त्यो पनि आफूले खाएर जुठो पारेर दिएको बयरका दाना पनि चढ्ने ! कस्तो अचम्म ! अनि स्वर्गादि देवताहरूले चाहिँ सधैँ मेवा–मिष्टान्न, चौरासी व्यञ्जन भोजन गर्नुपर्ने अनि सबै देवताका पनि देव देवाधिदेव महादेवले चाहिँ विषपान गर्नुपर्ने, भाङ र धतुरो भए पुग्ने । कस्तो अनौठो !
    तर अहिलेका मरणशील मनुवाहरू भवितव्यले, लाटाको खुट्टा बाटामा परेझैँ तिगडम गरेर, कोटामा, भागबन्डामा परेर, पैसा खर्चेर कुनै पद प्राप्त गरेकाहरूले परब्रह्म परमात्मा ईश्वरलाई प्रयोग गरिने आदरार्थी शब्द ‘जी’ नाममा लगाएर सम्बोधन गर्दा उनीहरू आफ्नो घोर अपमान भएको भन्ठान्छन् । सर, साब, श्रीमान्, माननीय जस्ता आदरार्थी शब्द नभई नहुने भएको छ ।

    जन्मभूमि कि माइती ?
    — सविता शर्मा

    नेपालका प्राचीनतम धार्मिक तीर्थस्थलहरूमध्ये एक हो जनकपुरधाम । प्राचीन मिथिला राज्यको विदेहराज जनकको राजधानी जनकपुरधाम अहिले सङ्घीय गणतन्त्र नेपालको प्रदेश नं. २ को प्रान्तीय राजधानी बनेको छ । जनकपुरधाममा गत वैशाख २८ गते नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीहरूले संयुक्त रूपमा रामायण सर्किटको समुद्घाटन गर्दै आआफ्नो सङ्क्षिप्त अभिव्यक्ति दिए । त्यो अभिव्यक्तिमा एउटा झिनो तर अति गहन र गम्भीर अन्तर थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, जो हिन्दूवादी नेताका रूपमा समेत विख्यात छन्, उनले लुम्बिनीलाई स्पष्ट शब्दमा भगवान् गौतम बुद्धको जन्मभूमि भने, तर जनकपुरको भूमिमा टेक्ता जनकपुरलाई माता सीताको जन्मभूमि भनेनन् । तर नेपालका प्रधानमन्त्री केपी ओलीले भने जनकपुरलाई सीताको जन्मभूमि भनिदिए । दुवै प्रधानमन्त्री आआफ्नो धर्मनिरपेक्ष राष्ट्रका हिन्दूधर्म मान्ने व्यक्तित्व हुन्, तर धार्मिक इतिहासको जानकारीमा केही पृथकता वा अनभिज्ञता देखियो ।
    दुवै प्रधानमन्त्री आआफ्नो राष्ट्रका कट्टर राष्ट्रवादी नेता हुन्, यसमा विमति छैन । तर कहिलेकाहीँ हामी राष्ट्रियताका सम्बन्धमा दोहोरो मापदण्ड अपनाइरहेका हुन्छौँ । जस्तै गीतसङ्गीतका पारखीहरूसमेत इन्डियन आइडल प्रशान्त तामाङलाई पनि नेपाली र उदितनारायण झालाई पनि नेपाली भनिरहेका हुन्छौँ, जबकि उदित सप्तरीका नेपाली हुन् भने प्रशान्त भारतीय ।
    आजसम्म प्रकाशित शास्त्रीय प्रमाणहरूका आधारमा माता सीताका पिता जनकको राजधानी वर्तमान जनकपुर हो । तर उनको जन्म (उत्पत्ति) पुनौराधाम वर्तमान विहार राज्यको सीतामढी जिल्लामा भएको थियो । उता शास्त्रीय र पुराताàिवक दुवै प्रमाणका आधारमा भगवान् गौतम बुद्धको जन्मस्थान लुम्बिनी हो । यो तथ्य र सत्यलाई भारतका प्रधानमन्त्रीले दुई–दुईपटक स्पष्ट शब्दमा स्वीकारिसकेको स्थितिमा नेपालका प्रधानमन्त्रीले पनि माता सीताको माइती नेपालको जनकपुर हो र प्रकटस्थान (जन्मभूमि) वर्तमानमा सीतामढी जिल्लाको पुनौराधाम हो भनेर स्वीकार्नुपर्ने हुन्छ ।
    यदि महात्मा गौतम बुद्ध नारी भएका भए उनको माइती भारत र जन्मभूपि नेपालमा पर्ने थियो, मावली पनि नेपालमै पर्ने थियो । त्यसरी नै माता सीताको माइती जनकपुरधाम हो, सीता र रामको विवाहस्थान पनि नेपाल नै हो । अनि माता सीताले जन्म दिएका राजकुमारद्वय लव र कुशको जन्मस्थान पनि नेपाल नै हो, जुन वर्तमान चितवन जिल्लाको वाल्मीकि आश्रमभित्र पर्दछ । हालसम्मको ऐतिहासिक तथ्यलाई सत्य मानी यही कुरालाई नेपाल र भारत दुवै देशले सहर्ष स्वीकार गर्नुको विकल्प देखिँदैन । रामायणकै कुरा गर्दा भगवान् सीता–राम र लक्ष्मणले १४ वर्षको वनवासमा सबैभन्दा बढी एक दशकभन्दा बढी अवधि बिताएको स्थान चित्रकुट हो, जुन चित्रकुटधाममा कलियुगमा समेत सन्त तुलसीदासले भगवान् रामलक्ष्मणको साकार स्वरूपको दर्शन पाएका थिए । त्यो पवित्र चित्रकुटधाम पनि आधा भूभाग भारतको उत्तरप्रदेशमा पर्छ भने आधा मध्यप्रदेशमा । यो यथार्थ भारतका दुवै प्रदेश सरकारले स्वीकार गर्नुको विकल्प छैन । त्यस्तै भगवान् पशुपतिनाथको देश नेपालका आराध्यदेव भगवान् शिव हुन्, पशुपतिनाथ ज्यातिर्लिङ्ग नेपालमा छ तर पशुपतिनाथ भगवान् शिवको राजधानी कैलाश मानसरोवर वर्तमान मित्रराष्ट्र चीनमा पर्दछ । यस्ता ऐतिहासिक सत्यतथ्यहरू सबै देशले सहर्ष स्वीकार गर्नुपर्ने हुन्छ ।

    आफूले खनेको खाल्डोमा आफैं
    — रामचन्द्र हुमागाईं

    वैशाख २५ गते । अर्थमन्त्री युवराज खतिवडाले नेपालमा घाटामा गएको अर्थतन्त्रलाई व्यालेन्समा ल्याउन आठ खर्बको आवश्यकता छ भनेछन् । मन्त्री महोदय ! यही ताल हो भने अबको केही समयभित्रै आठ खर्ब होइन एक सय आठ खर्बले पनि राष्ट्रिय घाटा पुर्ति गर्न सक्नुहुन्न । किन भन्नुहोला । नेपालमा तस्करहरूको जालो भन्सारदेखि संसारसम्म फैलिएको छ । नपत्याए खोज्नोस् भारतमा निर्मित सुर्तीजन्य पदार्थका पारखी कतिछन् र दैनिक कति सुर्ती नेपाल भित्रिन्छ । तर त्यो सुर्तीको राजश्व एक पैसा उठेको रेकर्ड तपाई पाउन सक्नुहुन्न । यो एउटा उदाहरण मात्रै हो । यस्ता हजारौं सामग्री दैनिक नेपाल भित्रन्छन् तर सरकारको ढुकुटी रित्ताको रित्तै । सरकार नाफामा जाने माध्यम भनेको राजश्वको आम्दानी होइन र !
    वैशाख २६ गते । ओहो, सुन तस्करीको जालो । विमानस्थलमा खटिएको प्रहरीको बटालियन नै सरकारको होइन, तस्करको संरक्षक ? यस्तो पनि हुन्छ दुनियामा ? अझै भनिन्छ, यो लहरो तान्दा गर्जिएको पहरो मात्रै हो । पहरै सुसाउने गरी तान्यो भने त के नहोला । सुनिन्छ, सुन भित्रयाउन नेपालमा सजिलो छ । विमानस्थलका लोडरहरूलाई शेयरहोल्डर बनायो, हवाइजहाजको भ¥याङबाटै सुन भित्रयाउन सकिन्छ भन्नेहरू कति छन् कति ।
    वैशाख २७ गते । प्रधानमन्त्री केपी ओलीले आगामी आर्थिक वर्षको बजेट निर्माण क्रममा माओवादीका पक्षबाट मन्त्री भएकाहरूसँग सरसल्लाह गरेनन् भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गुनासो गरेछन् । राजनीति भनेको दाहाल आफैंले खेलिसकेको खतरा खेल हो । यसमा आफूले अरुलाई जसरी दुःख दिइन्छ, अरुले पनि आफूलाई त्यसै गरी दुःख दिन्छ भन्ने कुरा बुझ्नु जरुरी हुन्छ । हेर्दै जानोस् यस्ता गेम कति खेलिन्छ कति ? माखेसाँङ्लोबाट बच्न मात्रै जान्नुपर्छ ।
    वैशाख २८ गते । हिजोदेखि नेपाल मोदीमय भएको छ । आकाशमा जता हे¥यो उतै भारतीय लडाकु बिमान र लडाकु हेलिकोप्टर घुमिरहेका छन् । नेपाली आकाश यति सुरक्षित छ जहाँ जो पनि एक्लै घुम्न सक्छ । यस्तो ठाउँमा मोदीलाई कसले के गर्ला र यतिसारो सिपाही खर्च भारतले बढाएको होला । कि पाकिस्तानले नेपाली आकाशमा पनि निगरानी गरेको छ भन्ने डर मोदीलाई लागेको छ ?
    वैशाख २९ गते । महिला पीडित पुरुषहरूको भीड प्रहरी कार्यालयमा लागेको देख्ता एकपटक महिला अधिकारवादीहरूको अनुहार हेर्न मन लागेको छ । पुरुष मात्रै दोषी हुन्छन् भनेर झ्याली पिटेर हिड्ने महिलाले किन पुरुषहरूको समस्या बुझ्दैनन् ?
    वैशाख ३० गते । काम गर्ने कि पैसा सक्ने ? मुलुकको विकास गर्न रकम खर्च गर्ने गरिन्छ तर नेपालमा बिकास होइन पैसा खर्च गर्न चलन छ । पहिलेको थेगो थाम्दै अहिलेका साँसदले पनि निर्वाचन क्षेत्र खर्च निकास लागि सरकारलाई दवाव दिएका छन् ।
    वैशाख ३१ गते । साना आयोजनाहरू आगामी वर्षदेखि मृत अबस्थामा पुग्ने भएका छन् । यस्ता योजनाहरूले देशलाई कुनै उपलब्धि नदेखेर नयाँ अर्थमन्त्रीले यस्तो नीति अवलम्वन गरेको हुनुपर्छ ।

    हरेक सांसदलाई १०–१० करोड !
    — प्रा. डा. गोपाल शिवाकोटी

    संघीय गणतन्त्रका सांसद भइसक्ता पनि नेपालका सांसदहरुमा पुरानो केन्द्रीकृत राज्यव्यवस्थाको मानसिकतामा परिवर्तन भएको देखिदैन । उनीहरुमा मुलुकको ढुकुटीलाई रित्याएर जनतामा लोकप्रिय र दानवीर भई निर्वाचन जित्ने मानसिकता कायमै रहेको देखिन्छ । केन्द्रीय तहका सांसदहरु ऐन–कानुनहरुको निर्माण गर्ने, स्थानीय तहको विकासकार्यमा हस्तक्षेप गर्ने र आफुलाई विकासे कार्यकर्ताको रुपमा राख्ने प्रवृत्तिले अहिले पनि उनीहरुलाई सिन्डिकेट बनाएर सबै दलका सांसदहरु दस करोड रुपिया आफ्नो नाममा निकाल्ने प्रयासमा लागेका छन् । उनीहरुले आफ्नो जिम्मेवारी बुझ्न नसकेको देख्दा मानसिकतामा परिवर्तन नभएका सांसदहरुवाट जनताले के अपेक्षा गर्नु भन्ने प्रश्न उठेको छ । अहिले पनि निर्वाचन क्षेत्र विकासमा खर्च गर्ने रकम निकासा गर्नका लागि दवाव दिन सिन्डिकेट तयार गर्ने, लागु गर्ने र अनुचित कामको लागि जिद्धी गर्ने कामको र आफ्नो हैसियतमा मुलुकलाई विकासकार्यमा चलायमान गरेर जनतालाई परिचालन गरेर विकास र समृद्धीमा समावेश गर्न सक्छन भन्ने कुरामा आशङ्का उत्पन्न भएको छ । यसले गर्दा सांसदहरुको लोकतन्त्र, गणतन्त्र र सवैको सहयोगबाट विकास गर्ने, नेतृत्व गर्ने नाराहरुको पोशाक उतारिएको छ र उनीहरुको स्थिति पनि बादशाहको नयाँ पोसाकको स्थितिमा नाङ्गेझार भएको छ ।
    आर्थिक वर्षको दुई महिना मात्र बाँकी रहेको अवस्थामा समेत सङ्घीय गणतान्त्रिक नेपालमा सांसदहरुले केन्द्रीकृत राज्यसत्ता हुँदाजस्तै निर्वाचन क्षेत्र विकास कार्यक्रम र निर्वाचन क्षेत्र पुर्वाधार विशेष कार्यक्रमको रकम तत्काल निकासा दिन दबाब सुरु गरेको कार्यक्रम आश्चर्यपूर्ण छ । सांसदहरुको अनुचित र गैह«जिम्मेवारपूर्ण जिद्धीले गर्दा उनीहरुको मानसिकतामा शङ्का उत्पन्न भएको छ । मुलुकका लागि आवश्यक नीति तथा कानुन निर्माण गर्नुपर्ने दायित्व भएका सांसदहरुको परियोजना कार्यान्वयन र बजेट परिचालनका लागि देखाइएको यो अनुचित दवाव वास्तवमा उनीहरुले आफ्नो दायित्व विर्सिएजस्तो देखिन्छ । उनीहरुले ओठे रुपमा संघीयता र विकासको कुरा गरे पनि कसरी मुलुकको ढुुकुटी लुट्ने भन्ने कुरामा केन्द्रीत भएजस्तो लाग्दछ । अहिले १०० भन्दा बढी नीति असोज तीन गतेभन्दा पहिले निर्माण गरिसक्नुपर्नेछ नत्र मुलुकले अरु जटिल अवस्था भोग्नुपर्ने अवस्था छ । राष्ट्रको ढुकुटीबाट रकम लिएर कुम्लो पारी विकास गर्न हतारो देखाउने गर्दा नीति निर्माण गर्ने कामलाई असरल्ल छोडेर विकासे बजेटको कुम्लो बोकी निर्वाचन क्षेत्र जाने कुरा चरितार्थ हुँदै गएको छ ।
    सांसदहरुको अनुचित दवाव खप्न नसकेर राज्यले उनीहरुलाई साढे पाँच अर्व दिएर खुसी पारी सत्ता र कुर्सी बचाउने काममा दलका नेताहरु र उत्तराधिकारी हुने कुरा सार्वजनिक भएको र मुलुकको ढुकुटी मिलीजुली भागबण्डा गरेर रित्ताएजस्तै कालेकाले मिलेर खाउँ भाले र सुत्केरीको नाम गरी टाउको मैले खाएँ भन्ने कुरा चरितार्थ हुन्छ । सरकार र दलका नेता र उच्चपदका नेताको मानसिकतामा कुनै परिवर्तन भएको देखिदैन । हामी पदमा पुगेकाहरु समान हौं र मुलुकको ढुकुटी लुट्ने कार्य हाम्रो पैत्रिक कार्य हो भन्ने कुरा रहेको पाइन्छ । अहिले सांसदहरुलाई साढे पाँच अरव रकम दिने प्रस्तावमा १६५ निर्वाचन क्षेत्रमा बजेट पठाँउदा कुल ४ अर्ब ९५ करोड रुपियाँ तथा निर्वाचन क्षेत्र कार्यक्रम अन्तर्गत ३३४ सांसदलाई ५०–५० लाखका दरले १ अर्व ६७ करोड गरी जम्मा ४ अर्व ९५ करोड राज्यको ढुकुटीबाट दोहन हुनेछ । यतिले पनि नपुगेर सांसदहरु आफुले निर्वाचन क्षेत्र विकासका लागि १० करोड चाहिन्छ भन्ने अडानमा रहेका छन् । प्रादेशीक सांसदहरुलाई पनि सम्मिलीत गराउदा यो रकम अरु वढ्न सक्दछ ।
    सांसदहरुले यस वर्षको रकम मात्र निकास गर्न दवाव दिएको होइन, आगामी वजेटमा समेत अहिलेको भन्दा तीन गुणा बढी रकम छुट्टाउन दौडधुप गरिरहेको देखिएको छ । उनीहरु अहिलेको ३ करोड रकम बढाएर १० करोड पु¥याउनुपर्छ भनी दवाव दिइरहेका छन् । उनीहरुले माग गरेको रकम छुट्टाइयो भने २० अर्वको भार थपिनेछ । मुलुकलाई भार पर्ने गरी सासंदहरुलाई खुसि पार्न यो रकम छुट्टाइयो भने मुलुकको समृद्धिको नारा थोत्रो टिनजस्तो हुनेछ ।
    दुईवटा संविधानसभाको निर्वाचनमा समेत संविधान बनाउने भन्ने संविधान सदस्यहरु मुलकलाई विर्सिएर आफ्नो निर्वाचन क्षेत्र विकासको लागि कुम्लाउन मात्र तल्लीन रहेका थिए । दलका नेताहरुले संविधान सभाका सदस्यहरुलाई जिल्ला पठाएर संविधान निर्माण गर्ने काममा सिण्डिकेट कायम गरेर मनपरी गर्न लाग्ने काम गरेका थिए । आठ वर्ष लगाएर संविधान निमाण गर्ने काममा पनि सभासदहरुको भुमिकामाथि छलफल र बहस गर्ने, बुँदाबुँदामा प्रष्ट गर्नेजस्ता कुरामा भाग लिएको देखिएन । दलका नेताले जे भन्यो त्यही कुरा दोहो¥याउने मात्र देखिएन, सविधानको ३०८ धारा निर्माण गरेर घोषणा गर्ने गर्दा अहिले पनि बग्रेल्ती त्रुटिहरु देखिएका छन् । यसले गर्दा संविधान असफल भएर फेर्नुपर्ने स्थिति देखिएको छ । संविधान घोषणा गर्नुपर्ने र नीतिनिर्माण गर्नुपर्ने गम्भीर दायित्व बोकेका संविधान सभाका र व्यवस्थापिकाका सांसदहरुले कुनै किसिमको ध्यान दिएनन् । यसको लागि ३०० भन्दा बढी कानुन आवश्यक थिए । राष्ट्रिय सभाको निर्वाचनको कानुन बन्न सकेन, सत्ता हस्तान्तरणमा तीन महिना पुग्यो र अध्यादेश जारी गर्नुप¥यो । अहिले पनि पैसाको विटो बोकेर निर्वाचन क्षेत्रतिर गएर ५ वर्षपछिका लागि सांसदहरु टाढिदै गएका छन् । खालि कोष लुट्न सवैको एक मत रहेको छ । मधेसी, पहाडी, कम्निष्ट, कांग्रेस, राप्रपा, राजपा सवैको एकै आवाज र एकै मत रहेको छ । उनीहरुमा मतमतान्तर नभै एकै किसिमको मत रहेको छ । सवै जनता बरावर भने पनि आफ्ुहरु संसद भएकोले बढी सत्ताधारी बर्गका रुपमा समझदारी देखिन्छ । क्षेत्र विकास कार्यक्रममा ५० लाख र पुर्वाधार विशेष कार्यक्रमका लागि ३ करोड बजेटको व्यवस्था भएको र दुइ महिनाभित्र यो सिद्धाउन पाइने भएकाले यसलाई सिद्धाउन मरिहत्ते गरेका छन् । यसमा सत्ता र प्रतिपक्षका सांसदहरु एक मत भएर सडकमा उत्रीएका छन् । सांसद र क्षेत्र विकास कोषको रकमवारे अन्य किसिमका कुराहरु रहेका छन् । ३ लाखवाट सुरु गरेर करोडौमा पु¥याएको हो । यो रकम क्षेत्र विकाशको भने पनि सांसदहरुले आफ्ना परिवारका सवैलाई संलग्न गरी खर्चको विवरण देखाउने र हजम गर्ने गरेको कुरा महालेखाको प्रतिवेदनले देखाएको छ । आर्थिक श्वेतपत्र जारी गरेर यसलाई समर्थन गर्ने र सत्तापक्षका सांसदहरुले क्षेत्र विकाश गरी स्थानिय सरकारले विकास निर्माणको कार्यक्रम गरी बुझ पचाएर क्षेत्र विकास कोष रकमको लागि दवाव दिने कुराले उनीहरुको मानसिकतामा मुलुकलाई लुट्ने काम हाम्रो हो, हामीले जे गरे पनि हुन्छ भन्ने कुरा कायम रहेको देखिन्छ । केन्द्रले बजेट छुट्टाउनुपर्ने र स्थानीय सरकारलाई जिम्मा दिनुपर्ने, बजेट छर्न नदिने भनी उपदेश दिन सक्ने सांसदहरुले आफुले विकासका एउटा कुरा गर्ने र अर्काे गर्छन् भन्ने प्रमाणीत भएको छ । स्थानिय सरकारलाई दिएको छ तर त्यसलाई खोसेर विकासको रकम मैले खर्च गर्न पाउनुपर्छ, मेरै नेतृत्वमा हुनुपर्छ भन्ने कुराले उनीहरुको दादागिरी र स्वाँठ मनस्थिति देखिएको छ । स्थानिय तहको अधिकार खोसेर केन्द्रीकृत गर्ने कुरा सांसदहरुबाट प्रकट हुनु र स्थानिय सरकारको स्रोत र साधनको जुन मानसिकता देखिएको छ, यो विकासविरोधी चिन्तनको रुपमा रहेको छ । यो वर्तमान व्यवस्था परिवर्तन गरेर मुलुकमा भष्टाचारलाई प्राथमिकता दिने कार्य भएकाले महालेखा प्रतिवेदनमा यो रकम दुरुपयोग भएको औलाएको छ ।
    निर्वाचनको आचारसंहिता लागेको र सर्वोच्च अदालतले समेत आदेश दिएकाले सांसदहरुले यस्तो रकम खर्च गर्न पाएका थिएनन् । यसरी बन्देज लागिसकेको र स्थानिय सरकारलाई विकासका अभियन्ताका रुपमा स्थापित गरिसकेको अवस्थामा असम्बैधानिक र परिवर्तित परिस्थितिमा असान्दर्भीक भएको र भूमिका परिवर्तित भएको अवस्थामा नयाँ बनेको संघीय मामिला सामान्य प्रशासन मन्त्रालयले नयाँ सांसदलाई खर्च गराउन पाउने गरी बजेट निकासा दिने प्रस्ताव गरेपछि सांसदहरुलाई बादरलाई लिस्नोजस्तो भएको छ र उनीहरुले दवाव बढाएका छन् । प्रधानमन्त्री ओली रकम दिने पक्षमा नभए पनि उनकै वरिपरिका मान्छेहरुले रकम निकासा गर्न दवाव दिएकाले ओलि कति दिन आफ्नो अडानमा शक्तिशाली भएर टिकिरहन्छन्, भन्न सकिन्न । ओलीमा पनि ठूला कुरा गर्ने तर काम अर्कै गर्ने प्रवृत्ति नदेखिएला भन्ने छैन । ओलीले आफ्नो सत्ताका लागि आफ्नै सांसदहरुको दवाव कति दिन खप्न सक्छन्, हेर्न बाँकी छ । एकै दिन वाह्रवटा क्षेत्र पुग्ने ओलीबाट यस्तो अपेक्षा गर्न कठिन हुन्छ ।
    परिवर्तित परिस्थितीमा सांसद आफैले छुट्टै पैसा बाँड्दै हिँड्ने होइन । उनीहरुलाई जनताले विकासको व्यवस्थापकका रुपमा विकसित गराएका पनि होइनन् । उनीहरुमा परम्परागत रुपमा अपेक्षा भए पनि उनीहरुको काम र दायीत्व भनेको नीति निर्माण गर्नु र जनजीवनका लागि सरकारलाई घचघचाउने हो, आफैले विकास गरिदिने होइन । आफैले विकास गरेर खुसि पार्ने र लोकप्रिय हुने कुरा सामन्तबादी मानसिकता हो । यसरी समाजवादी समाजको निर्माणको यात्रा पूरा हुन सक्दैन ।

    सुँडभित्र पस्नु नपरोस्
    — देवराज न्यौपाने

    छिमेकीसँगको सम्बन्ध नजिकको नाता श्रीमान्–श्रीमती या दाजुभाइकै जस्तै न काट्न मिल्ने न साट्न मिल्ने हुन्छ । मिलेर बस्न नसके दुःख पाइन्छ । घरको छिमेकी भए त बसाइँ सर्न पनि मिल्थ्यो तर देशलाई त न कतै सार्न नै मिल्छ । त्यसमा पनि नेपाल भारत सम्बन्ध त बोर्डरसमेत खुला रहेको, परापूर्व कालदेखि धार्मिक, सांस्कृतिक, व्यापारिकदेखि हरेक कुरामा नङ र मासुजस्तै रहँदै आएको छ । प्रेम पनि आफ्नैमा हुन्छ र झगडा पनि आफ्नैमा भनेजस्तै चाहे सकारात्मक होस् या नकारात्मक, भारत र नेपाल सम्बन्धको कुरा नगरी हामीलाई भात खाएको पनि पच्दैन । एउटा न एउटा विषय आइरहेको हुन्छ, जस्तो अहिले मोदी भ्रमणको चर्चा छ ।
    नेपाल भारत सम्बन्ध सदाका लागि शत्रुवत बनाइराख्नुपर्छ भन्ने कुरा व्यावहारिक छैन र कसैका लागि हितकर छैन । भारतको उग्र विरोध या उग्र राष्ट्रवाद र देशको स्वाभिमानलाई दाउमा राखेर स्वार्थी गठबन्धन र चाकरी या लम्पसारवाद दुवै कुरा विगतमा हुँदै आएका घातक कुराहरू हुन् । छिमेकी नभई पनि हुँदैन र समस्याहरू पनि त्यत्तिकै हुने गर्दछन् चाहे घरघरका छिमेकीको कुरा होस् या देशदेशका छिमेकीका कुरा । तर यस्ता सम्बन्धहरूलाई बिगार्नभन्दा सपार्नैपट्टि ध्यान दिनुपर्छ तथापि यो सप्रिनभन्दा बिग्रन खोजिराखेको हुन्छ । यसमा उच्च स्तरको सुझबुझ, समझदारी, धैर्य र व्यवस्थापन कलाको जरुरत पर्दछ । तसर्थ नेपाल भारत सम्बन्ध पनि बिगार्नेभन्दा सुधार्ने कुरा बुद्धिमत्तापूर्ण हुन्छ । उत्तर कोरिया र दक्षिण कोरिया पनि सम्बन्ध सुधार्ने प्रयास गर्दैछन् अहिले । अमेरिका र क्युवाको सम्बन्ध सुधार्ने ओबामाको प्रयास पनि सह्राहनीय थियो । मिल्नुभन्दा उत्तम अर्को केही छैन । समस्याको जरो समाएर उपचार गरिदिएपछि सक्किगो । नेपाली तथा भारतीय बुद्धमाथि गौरव गर्छौं, राम्रो कुरा हो । बुद्ध भन्नुहुन्छ, ‘संसारमा दुःख छ या समस्याहरू छन् र साथसाथै यसको समाधानको उपाय पनि छ र यसलाई समाधान गर्न सकिन्छ ।’
    हिजो भारतीय नाकाबन्दीको डटेर विरोध गर्नु स्वाभाविक थियो, राज्य र सबै नागरिकको कर्तव्य पनि थियो । यो कर्तव्यमा कोही चुकेको भए त्यसको परिणाम पनि भोग्दै होलान् । तर यही र यस्ता विषयहरूलाई जिन्दगीभरिको राजनीति गर्ने विषय बनाइनु हुँदैन । मान्छे भएपछि गल्ती त सबैबाट भैहाल्छ नि ! तर त्यसलाई सच्याएर अघि बढ्ने हो । सम्बन्ध बिगारिराखेर कसैलाई फाइदा हुँदैन, मेरो मतलव नेपालका प्रतिस्पर्धी पार्टीहरू र नेपाल तथा भारत । पालैपालो एउटाले अर्कोलाई राष्ट्रघाती साबित गर्ने प्रयासमा गल्तीमाथि अर्को गल्ती थप्दै नजाऔं । चुनावी प्रतिस्पर्धाबाहेक कमसेकम देशको मुद्दामा एक हुन सकौँ । सबै मिलेर देश बनाउने अवसर हो । अझ पनि चेत नआए कहिले आउँछ ? हाम्रो उद्देश्य मोदीहरुलाई आफ्नो गल्ती महसुस गराउने मात्रै हो । मोदीहरुले पनि आफ्नो गल्तीको महसुस गरिसकेको हुनुपर्छ । उनलाई पनि नेपालसितको दुस्मनी हात्तीलाई कमिलासितको दुस्मनीजस्तै महँगो पर्नेछ । सुँडभित्र पस्यो भने के गर्ने ? तसर्थ दुवै पक्ष मिलेर जाँदा नै दुवैको कल्याण छ ।

    पत्रकारको पार्टी हुन्छ ?
    — रामप्रसाद खनाल

    पहिलेको र अहिलेको पत्रकारितामा अलिकति फरक पन आउन थालेको छ । पढेलेखेका युवायुवती पनि पत्रकारिता क्षेत्रप्रति आकर्षित हुन थाल्नु सुखद कुरा हो । तर सँगसँगै चरम विकृति पनि सुरु हुन थालेको छ जुन दुःखदायी छ । केही स्तरीय पत्रपत्रिका, रेडियो र टेलिभिजनलाई छोडेर अरूलाई हेर्नुस् अधिकांशको हाल बेहाल छ । अहिले त अनलाइन आतंकनै छ, अनलाइन आतङ्कका अलावा फेसबुक, ट्वीटर, यु ट्युब, अन्य सामाजिक सन्जालमा गरिने अत्यन्त चिप पत्रकारिताको आतङ्कले मान्छेलाई हैरान पारिसकेको छ । सँगसँगै विकृति, बिसंगति बढेर गएको छ, विभिन्न खाले अपराध पनि बढेको सबैलाई अनुभव भएकै होला ।
    आशा गरौँ नयाँ पिँढीले पत्रकारिताको धर्म नबिर्साउन् । तर नयाँ पिँढीमा पनि ब्वाँसाहरुको सङ्ख्या बढ्दै जानु अत्यन्त दुःखद छ । ब्वाँसाहरु अनलाइन, फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जालमा त्यत्तिकै सक्रिय देखिन थालेका छन् । असलहरू लाई सिध्याउने, राम्रालाई नराम्रो बनाउने, नराम्रालाई राम्रो भनाउने, लोकसंस्कृति, परम्परा, नेपाली पन, नेपाली मनलाई ध्वंस गर्ने, मोडलिङका नाममा चेलीबेटी नङ्ग्याउने, अनुशासन, मर्यादा सब बर्बाद पार्ने, छाडा, नाङ्गाभुतुङ्गाहरूलाई हाइलाइट गर्ने, असल र वास्तविक, अग्रज, उदाहरणीय मान्छेहरूलाई ओझेल पारिदिने, हरेक क्षेत्रमा सडकछापहरुलाई किङ र क्विन बनाइदिने, किङ र क्विनलाई गुमनाम पारिदिने, अबमूल्यन गरिदिने, नक्कलीहरूका बकबकले पेज भरिदिने पत्रकारिता असाध्यै डरलाग्दो गरी अगाडि आएको छ । यस्तो देख्दा लाग्छ – यस्तो भएपछि पत्रकारिता कसरी मर्यादित र वजनपूर्ण होस् !
    सूचना विभागले दिने अनुदान खान ५० प्रति पत्रिका छाप्ने, हेडिङ चेन्ज मात्र गरेर छाप्ने, ब्ल्याकमेलिङको साधन बनाउने र आफूलाई पत्रकार भनाउने, सूचना विभागको कार्ड भिर्ने तर डुङडुङी गन्हाउनेको सङ्ख्या ह्वात्तै बढेर जाँदा वास्तविक पत्रकार र पत्रकारिता निरीह बन्दै गएको छ । पार्टी, नेता, गुटका मिडियाहरू ९५ प्रतिशत छन् भने ५ प्रतिशत मात्र होलान् स्वतन्त्र ! कुन्नि त्यो पनि, अझ मुस्किल होला !
    सूचना विभागको तथ्याङ्क हेर्दा अवस्था कहालीलाग्दो छ । पत्रपत्रिका बजारमा देखिन्नन् तर अनुदान बुझिरहेका छन् । छ सात सय रेडियो स्टेसन, तीन दर्जनभन्दा बढी टेलिभिजन, पत्रपत्रिका त कति हो कति ! त्यसमाथि अहिले अनलाइन उस्तै । यति सानो देश, उद्योग व्यापार बढ्दो होइन घट्दो छ । विज्ञापन घट्दो छ । आयस्रोत भनेको विज्ञापन । त्यो नभै कसरी चल्छन् यती विधि मिडियाहरू ? उत्तर एउटै छ त्यहाँ साढे तेत्तीस किलो सुनवाला पुलिसदेखि तस्करसम्मको योगदान छ । पत्रकारितामा झनै भ्रष्टाचार मौलाएको छ । शङ्कै छैन ।
    अझ एमालेका पत्रकार प्रेस चौतारीमा, काङ्ग्रेसका पत्रकार प्रेस युनियनमा, प्रचण्ड गुटका पत्रकार क्रान्तिकारीमा रे । मधेशबादीदेखि जातजातीवादीसम्मका सबैका आआफ्नै राजनीतिक पत्रकार सङ्घ सङ्गठन ! पत्रकार समाजका चौथो अङ्ग रे ! नापियो चौथो अङ्ग !! बरु चुत्थो अङ्ग भने हुने भएको छ । पत्रकारको पनि पार्टी हुन्छ ? यो त स्वतन्त्र पत्रकारिता होइन, पार्टी पर्चाकारीता हो ।
    जुन गोरुको सिङ छैन त्यसको नाम तिखे भनेझैँ रेडियो भनेको के हो ? टेलिभिजन भनेको के हो ? पत्रपत्रिका, मिडिया भनेका के हुन् ? यिनमा के कुरा लेख्न बोल्न प्रस्तुत गर्न हुन्छ वा हुँदैन, पत्रकारिता भनेको के हो ? भन्ने राम्ररी नबुझी स्वघोषित पत्रकार बनेका केही नयाँ जोगीहरू र तिनका पत्रकारिता अनि सानहरू देख्दा आची गर्नेलाई भन्दा देख्नेलाई लाज भनेझैँ हुन्छ । नेपालमा र अन्य देशमा जस्तै अमेरिकामा पनि नेपाली पत्रकारितालाई भाइरस लागिसकेको छ । समयमै औषधी गरिएन भने भाइरसले केके गर्ने हो, हेर्न बाँकी नै छ ।
    यहाँभन्दा बढी नभनौँ । यो मेरो तीस वर्षको पत्रकारिताको सानो अनुभवले देखाएको अति सानो चित्र मात्र हो । यसभित्र जाँदा त निस्किनै गाह्रो छ । जे होस्, विश्व प्रेस स्वतन्त्रता दिवसको शुभ अवसरमा संसारभर छरिएर रहेका सबै वास्तविक पत्रकारहरूमा हार्दिक सम्मान र शुभकामना । पत्रकारिता, कर्तव्य गर्दागर्दै ज्यान गुमाउने, अङ्गभङ्ग हुने, जेल पर्ने सबैप्रति सगरमाथाभन्दा उचो सम्मान । प्रेस स्वतन्त्र हुन सकोस्, विश्वसनीय बन्न सकोस्, कामना । पत्रकारिताको नाममा, आवरणमा हुने अनैतिक क्रियाकलाप अन्त्य होस्, यो पनि कामना । पत्रकारिता समाजको वास्तविक चौथो अङ्ग बन्न सकोस्, हार्दिक शुभेक्षा । (बीआरटी नेपाल)

    अबको नेपालको परराष्ट्र नीतिको प्राथमिकता
    — प्रा. डा. जयराज आचार्य

    एकात्मक हिन्दू अधिराज्य नेपाल सङ्घीय गणतन्त्र धर्मनिरपेक्ष देश भएको छ । यो देश संसदीय गणतन्त्रबाट जनगणतन्त्र नेपाल बन्ने दिशातिर जान पनि सक्छ । यो नेपालको आन्तरिक राजनीतिमा आएको ठूलो परिवर्तन हो । लिच्छवि, मल्ल, शाह र राणा तथा पुनः शाहवंशीय शासनहरू इतिहासका पानामा सीमित हुन पुगे । हामी नयाँ नेपाल निर्माण गर्ने कुरा गरिरहेछौँ । यस प्रसङ्गमा हाम्रो परराष्ट्र नीतिसम्बन्धी सोच पनि स्पष्ट हुनु आवश्यक छ ।
    परराष्ट्र नीतिका दुई प्रमुख उद्देश्य राष्ट्रिय सुरक्षा र राष्ट्रिय विकास हुन् । चीन र भारतबीच रहेको र आर्थिक दृष्टिले कमजोर नेपालले राष्ट्रिय सुरक्षाको सवालमा बाहिरी शक्तिहरूको खेलबारे सोच्नैपर्छ । अन्तर्राष्ट्रिय सम्बन्ध शक्तिको खेल हो र कूटनीति एक प्रकारको शीतयुद्ध हो । शक्तिशालीहरू जे मन लाग्यो त्यो गर्छन् र कमजोरहरू जे गर्छन् बाध्य भएर गर्छन् । हामीले नेपालको राष्ट्रिय सुरक्षाका बारेमा सोच्ता हाम्रो परराष्ट्र नीतिका प्राथमिकताबारे नसोची नहुने अवस्था छ । अबको नेपालको परराष्ट्र नीतिको पहिलो प्राथमिकता देशको आर्थिक र सामाजिक विकास नै हो ।
    मानिसहरू सोध्छन् आर्थिक–सामाजिक विकास भनेको आन्तरिक मामिला वा गृहनीतिको विषय होइन ? यस कुरालाई परराष्ट्र नीतिसित किन जोड्न पुगेको ? हो, आर्थिक र सामाजिक विकास गृहनीतिकै विषय हो । तर नेपालजस्तो गरिब देश आर्थिक र सामाजिक दृष्टिले सम्पन्न नभई परराष्ट्र सम्बन्धमा मात्र चातुरी देखाएर सुरक्षित रहिरहन सक्तैन । गृहनीति साध्य हो, परराष्ट्र नीति साधन हो ।
    परराष्ट्र नीति गृहनीतिकै विस्तार हो । हाम्रा पुर्खाले हामीलाई राजनीतिक रूपमा एकीकृत नेपाल छोडेर गएका छन् । तर आर्थिक दृष्टिले विपन्न नेपाल विखण्डन हुने खतरामा छ । एकातिर प्रादेशिक सरकारको सञ्चालनका लागि वल्र्ड बैङ्कको आर्थिक सहयोग लिने कुरा सुनिन्छ, अर्कोतिर प्रादेशिक स्वायत्तताको नारा पनि सुनिन्छ । यसको कारण राजनीतिक असन्तुलनभन्दा आर्थिक असन्तुलन र अविकास हो ।
    नेपाललाई सैनिक सुरक्षाभन्दा बढी आर्थिक सुरक्षा आवश्यक छ, सन्तुलित एवं उत्पादनशील राष्ट्रिय अर्थतन्त्रको विकास आवश्यक छ । राजनीतिक प्रगति यसरी हुनुपर्छ कि त्यसमा सबैको समावेश तथा समृद्धिमा समानुपातिक सहभागिता होस्, सबैले समानुपातिक प्रतिफल पाऊन् र प्रत्येक नेपालीले राष्ट्रिय जीवनका सबै पक्षमा आफ्नो हित गाँसिएको अनुभव गरोस् । त्यस प्रकारको आर्थिक–सामाजिक विकासविना देश सुरक्षित हुन सक्तैन । राज्य पुनःसंरचनाको अभियान राज्य–विखण्डनमा परिणत हुन सक्छ । नेपाललाई राष्ट्रिय सुरक्षामा खतरा देशबाहिरबाट होइन, देशभित्रैबाट बढी छ ।
    आर्थिक–सामाजिक विकासलाई यति जोड दिएर सर्वोच्च प्राथमिकतामा राख्नुका दुई–तीन कारण छन् । पहिलो कारण, यो हाम्रो ऐतिहासिक आवश्यकता हो र राष्ट्रिय एकीकरण गर्ने पुर्खाले आफैँ गर्न नभ्याएर हामीलाई छोडेको बाँकी काम हो । परराष्ट्र नीतिको प्रमुख उद्देश्य राष्ट्रको स्वाधीनता हो, त्यो आधाउधि भए पनि बचेकै छ । तर हामी अझै असुरक्षित अनुभव गर्छौं र छिमेकीहरूले हाम्रो देश खालान् कि अथवा अनुचित थिचोमिचो गर्लान् कि भन्ने भय हामीलाई भइरहेको छ । किनकि हामी आर्थिक दृष्टिले पराधीन छौँ । नेपालभन्दा तीन गुना सानो भूपरिवेष्ठित पहाडी देश स्विजरल्यान्ड भारतभन्दा ठूला अर्थतन्त्र भएका देशहरूले घेरिएर रहेको छ तर ऊ असुरक्षित अनुभव गर्दैन । किनकि स्विजरल्यान्ड आफ्ना छिमेकीहरूभन्दा आर्थिक–सामाजिक दृष्टिले विकसित छ । प्रतिव्यक्ति आयका हिसाबले ऊ विश्वमै एक नम्बरमा छ । सानो भए पनि ऊ नेपालजस्ता देशको दातृराष्ट्र बनेको छ ।
    दोस्रो कारण, नेपालको राष्ट्रिय एकीकरण गर्दा यस अभियानका नेता पृथ्वीनारायण शाहले देशको आर्थिक–सामाजिक विकास भएन भने देश सदा असुरक्षित रहनेछ भनेर देशको आर्थिक विकासका उपाय बताएका थिए । तर ती उपायको हामी अनुसरण गरिरहेका छैनौँ, उल्टो तिनको उपेक्षा गरेर, विदेशीसित सहायता मागेर र विदेशी लगानी ल्याएर देशविकास गर्ने कुरा गरिरहेका छौं ।
    २००७ सालको क्रान्तिपछि नेपालको राष्ट्रिय आवश्यकता आर्थिक–सामाजिक विकास थियो । क्रान्तिपछिका नेताहरूले त्यो कुरा बुझेका थिए । २०१२ सालमा टङ्कप्रसाद आचार्य मन्त्रिमण्डलले प्रथम पञ्चवर्षीय योजना बनायो र राष्ट्रिय योजना आयोग खडा ग¥यो । प्रथम निर्वाचित सरकारका प्रधानमन्त्री बीपी कोइरालाको सरकारले प्रथम पञ्चवर्षीय योजनालाई निरन्तरता दिनुका साथै थप योजनाहरू पनि लागू ग¥यो । त्यस सरकारले राष्ट्रको आन्तरिक आर्थिक–सामाजिक विकासविना राष्ट्र कमजोर रहन्छ भन्ने तथ्यलाई आत्मसात गरी भूमिसुधार, राजारजौटा प्रथा उन्मूलन, बिर्ताप्रथा उन्मूलन, गुठी जग्गाहरू रैकर गर्ने, २२०० प्राथमिक विद्यालय खोल्ने, त्रिभुवन विश्वविद्यालय स्थापना गर्ने आदि कदम चाल्यो । तर २०१७ पुस १ गते राजा महेन्द्रले संसदीय व्यवस्था भङ्ग गर्दा त्यस आर्थिक–सामाजिक विकासको अभियानमा ब्रेक लाग्यो । राष्ट्रिय सुरक्षाको अत्यावश्यक पूर्वसर्त आर्थिक–सामाजिक विकासको काम थाती रह्यो ।
    तेस्रो कारण, २०४६ सालको जनआन्दोलनले पञ्चायती शासन समाप्त गरेर बहुदलीय व्यवस्थाको प्रतिष्ठापन गरेपछि ऐतिहासिक रूपमा अवरुद्ध आर्थिक–सामाजिक विकासको प्रक्रियालाई पुनः युद्धस्तरमा चालु गर्नुपर्दथ्यो, त्यो भएन । आर्थिक–सामाजिक विकासको अभियानको अत्यावश्यकतालाई हामीले अझ आत्मसात गरेको देखिँदैन, किनकि त्यो अभियान थालिएकै छैन । हामी आर्थिक कूटनीतिको कुरा गरिरहेछौँ, तर हाम्रो आर्थिक कूटनीति वैदेशिक सहायता माग्न, विदेशी लगानीमा विद्युत र सडक–सन्जाल विकास गर्न र विदेशमा म्यानपावर निर्यात गर्नमा मात्र सीमित छ । नेपालमा जसले बढी वैदेशिक सहायता ल्यायो, त्यही सर्वश्रेष्ठ राजनीतिज्ञ, कूटनीतिज्ञ र बुद्धिजीवी ठहरिन्छ । तर आन्तरिक मानव संसाधन तथा प्राकृतिक सम्पदाको सदुपयोग नगरी वैदेशिक सहायताले मात्र विकसित भएको देश संसारमा कहीँ छैन । वैदेशिक व्यापारमा हामीले ठूलो घाटा सहनुपरेको छ । त्यो घाटा कम गर्ने पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्ने, जलविद्युत पैदा गरी त्यसको देशभित्रै सदुपयोग गर्ने, कृषिलाई बढी उत्पादनशील एवं गुणस्तरीय बनाउने, शिक्षा र स्वास्थ्यलाई समेत वैदेशिक मुद्रा आर्जन गर्न सक्ने व्यवसायका रूपमा विकसित गर्ने गर्न सकिन्छ । त्यसका लागि हाम्रो राष्ट्रिय नेतृत्वको सोचमा स्पष्ट प्राथमिकताहरू स्थापित हुनु आवश्यक छ ।
    अब हाम्रो राष्ट्रिय सुरक्षा या परराष्ट्र नीतिको दोस्रो प्राथमिकताको चर्चा गरौँ । त्यो भनेको हाम्रा दुई ठूला र बलिया छिमेकी भारत र चीनसितको सम्बन्धमा यथार्थपरक एवं मित्रतापूर्ण सन्तुलन कायम गर्नु हो । त्यसका लागि हामीले हाम्रा छिमेकीसित रचनात्मक, उत्पादनशील र पारस्परिक लाभको सम्बन्ध स्थापित गर्न सक्नुपर्छ । दुवै छिमेकी तीव्र आर्थिक विकासको गतिमा हिँड्न थालेको तीन दशक बढी भयो । त्यही अवधिमा हामीचाहिँ तीव्र राजनीतिक अस्थिरता र सशस्त्र द्वन्द्वमा फस्यौँ । अहिले नेपाल र भारतको प्रबुद्ध समूहले सन् १९५० को विवादास्पद नेपाल–भारत शान्ति तथा मैत्री सन्धि संशोधन गर्नेलगायतका विषयहरूमा काम गरिरहेको छ । यी विषयलाई नेपालको भारतसितको सम्बन्ध नबिगारी कसरी टुङ्ग्याउने भन्ने चुनौती अहिलेको हाम्रो परराष्ट्र नीतिको प्रमुख चुनौती हो । कतिले गोर्खा भर्ती केन्द्रहरू बन्द गरिनुपर्ने कुरा उठाएका छन् । त्यो काम सम्पन्न गर्नु अर्को चुनौती हो ।
    नेपालको परराष्ट्र नीतिको तेस्रो प्राथमिकता भनेको हामीले संयुक्त राष्ट्रसङ्घमा खेल्ने भूमिका हो । हाल संयुक्त राष्ट्रसङ्घको शान्तिसेनामा सिपाहीहरू पठाउने देशहरूमा छैटौंँ देश नेपाल भएको छ । त्यसले नेपाली सेनाका जवानलाई अन्तर्राष्ट्रिय शान्तिप्रक्रियामा सहभागी भई विशेष अनुभव हासिल गर्ने अवसर प्रदान गर्नुका साथै राष्ट्रिय आमदानीमा पनि योगदान गरिरहेको छ । अनमिनलाई स्वीकार गरेर नेपालले संयुक्त राष्ट्रसङ्घको भूमिकालाई आन्तरिक राजनीतिमा स्वीकार गरेको हो । संयुक्त राष्ट्रसङ्घको शान्तिसेनामा ठूलो मात्रामा भाग लिनुले नेपालको परराष्ट्र नीतिमा सफलताको पक्ष उजागर गर्दछ भने आफ्नै देशमा अनमिनको सक्रियता स्वीकार गर्नुले नेपाल आन्तरिक राजनीतिको समस्या समाधान गर्न आफैँ असक्षम रहेको कुरा देखाएको छ । राष्ट्र सफल हुन आन्तरिक र परराष्ट्र नीति दुवैमा सफल हुनुपर्छ ।
    संयुक्त राष्ट्रसङ्घमा हाम्रो भूमिका दोहोरो रहेको स्पष्ट छ । एकातिर हामी उसको काममा संलग्न छौँ, अर्कातिर ऊ हाम्रो देशमा आएर काम गरिरहेछ । शान्तिप्रक्रियाबाहेक नेपालको संयुक्त राष्ट्रसङ्घसितको सम्बन्ध भनेको नेपालले संयुक्त राष्ट्रसङ्घमा हस्ताक्षर गरेका मानव–अधिकारलगायत विभिन्न विषयका सन्धिहरूको पालना गर्नु पनि हो । द्वन्द्वकालमा र राजा ज्ञानेन्द्रले सत्ताग्रहण गरेपछि संयुक्त राष्ट्रसङ्घीय मानव–अधिकार आयोग आएर नेपालका पाँच विकासक्षेत्रमा अड्डा जमाएर बसेको थियो । हामी आफ्नो देशमा मानव–अधिकारको उल्लङ्घन गरेर अन्यत्र भएका मानव–अधिकारका उल्लङ्घनका घटनाहरूको भत्र्सना गर्दै हिँड्न सक्तैनौँ । हाम्रो संयुक्त राष्ट्रसङ्घसितको सम्बन्ध भनेको त्यहाँ हाम्रो सक्रिय भूमिकाका साथै हामीले पालना गर्नुपर्ने दायित्व पनि हो ।
    नेपालको परराष्ट्र नीतिको चौथो प्राथमिकता भनेको दक्षिण एसियाका अन्य राष्ट्रसितको सम्बन्धका साथै विश्वका शक्तिशाली राष्ट्रहरू संयुक्त राज्य अमेरिका, बेलायत, जापान आदिसितको सम्बन्ध पनि हो । छिमेकी राष्ट्र भारतको जनसङ्ख्यामा नेपालमा जस्तै हिन्दूहरूको बाहुल्य छ, यद्यपि दुवै देशमा मुस्लिम जनसङ्ख्या प्रशस्त छ । अलि परका छिमेकी पाकिस्तान र बङ्गलादेश घोषित मुस्लिम राष्ट्रहरू हुन्, जसको भारतसित सीमा जोडिएको छ । केही वर्षयता भारतमा भएका हिंसात्मक, आतङ्ककारी घटनामा पाकिस्तानका अतिवादी, मौलिकतावादी मुस्लिम सङ्गठनको संलग्नता रहेको कुरा भारतले भनिरहेको छ । मुस्लिम मौलिकतावाद अमेरिकी परराष्ट्र नीतिको प्रमुख चासोका रूपमा रहिआएको सन्दर्भमा र नेपालबाट कतार, युनाइटेड अरब एमिरेट्स, साउदी अरेबियालगायत खाडी मुलुकमा काम गर्न जाने श्रमिकहरूको सङ्ख्या लगभग तीस लाख रहेको अवस्था छ । यस अवस्थाबाट उत्पन्न हुने विविध किसिमका परिणामको सम्भावना र भारत, अमेरिकालगायत परम्परागत मित्रराष्ट्रसितको सम्बन्धको यथार्थबीच सन्तुलन कायम राखिरहनु नेपालका लागि अत्यावश्यक छ ।
    अमेरिकाको प्रशासनले भारत र चीनसित कस्तो सम्बन्ध राख्छ र त्यसले नेपालमा कस्तो प्रभाव पार्छ भन्ने कुरामा हाम्रो ध्यान जानुपर्छ । अफगानिस्तानमा अमेरिका र नेटो फौजले तालिवानविरुद्ध सैनिक कारबाही चलाइरहेको छ र पाकिस्तानमाथि पनि अमेरिकाको दबाब छ । आगामी दिनमा आर्थिक र व्यापारिक हितको संरक्षण गर्नुका साथै इस्लामिक मौलिकतावाद र आतङ्कवादी क्रियाकलापसित जुध्न अमेरिकाले भारत र चीन दुवैसित राम्रो सम्बन्ध राख्ने सम्भावना देख्न सकिन्छ । पाकिस्तानलाई उसको परमाणविक क्षमता र इस्लामिक राष्ट्रसितको विशेष सम्बन्धका कारणले एक्ल्याउने सम्भावना देखिँदैन । नेपालले पाकिस्तान, बङ्गलादेश र अफगानिस्तानजस्ता देशसितको सम्बन्धमा विचार गर्दा विश्वशक्तिराष्ट्र र अन्य दातृराष्ट्रसितको सम्बन्धमा पनि विचार गर्नुपर्ने हुन्छ ।
    सार्क भौगोलिक तथा राजनीतिक दृष्टिले भारतकेन्द्रित छ । सार्क सदस्य राष्ट्रहरू भारतका वरिपरि छन् र भौगोलिक, राजनीतिक, आर्थिक, सैनिक सबै दृष्टिले भारतभन्दा कमजोर छन् । पाकिस्तान मात्र भारतजस्तै आणविक शक्तिसम्पन्न राष्ट्र छ, तैपनि अन्य दृष्टिले सानै छ । सार्कको प्रभावकारिता नहुनुमा भारतको आफ्ना छिमेकीहरूसितको सम्बन्ध र पाकिस्तानसितको सम्बन्ध कारण रहेको छ । भारतको वैदेशिक व्यापारको कूल ५ प्रतिशत व्यापार उसका सार्क छिमेकीहरूसित हुन्छ । यस दृष्टिले सार्क प्रक्रिया सफल नहुँदा भारतका साना छिमेकीलाई मात्र होइन भारतलाई पनि पर्याप्त फाइदा हुन नसकिरहेको स्थिति देखिन्छ ।
    असंलग्न आन्दोलनको त्यस्तै हालत छ । सामरिक गुटहरूमा सामेल नहुने र विकासोन्मुख राष्ट्रहरूको आर्थिक हितलाई प्रवद्र्धन गर्ने उद्देश्यले असंलग्न आन्दोलन थालिएको थियो । सोभियत सङ्घको विखण्डन भएपछि र वार्सा सन्धि सङ्गठन ढलेपछि सामरिक गुटमा सामेल नहुने भन्ने कुरा त्यसै गतार्थ भयो । विकासोन्मुख मुलुकहरूको आर्थिक हितको प्रवद्र्धन पनि प्रभावकारी भएन । भारत–पाकिस्तान दुवै असंलग्न आन्दोलनका सदस्य हुन् तर दुईबीच तीनपल्ट युद्ध भयो र अर्थपूर्ण व्यापारिक आदानप्रदान हुन सकिरहेको छैन ।
    यी समस्याको बाबजुद नेपाल सार्क र असंलग्न आन्दोलनबाट हट्न सक्तैन । विगतमा नेपालले असंलग्नताको कुरा गर्दा विश्वस्तरमा देखिएको सामरिक गुटहरूमा संलग्न नहुने कुरा मात्र गरेन, भारत र चीनसित कसैको पक्षमा नलाग्ने र समदूरी वा समसामीप्य सम्बन्धको कुरा ग¥यो । सन् १९६२ को भारत–चीनको सीमायुद्धमा नेपाल कसैको पक्षमा नलाग्नाले दुवै छिमेकीलाई लाभ भयो होला । तैपनि नेपाल दैनिक जीवनका धेरैजसो कुरामा भारतमाथि निर्भर छ र हजारौँ नेपाली युवाहरू भारतीय सेनामा कार्यरत छन् । यसरी नेपालले आफ्नै राष्ट्रिय र क्षेत्रीय सन्दर्भमा असंलग्नताको व्याख्या गर्दा भारत र चीन दुवै छिमेकीसित यथार्थपरक, सन्तुलित एवं मैत्रीपूर्ण सम्बन्धको कुरा गर्नुपर्छ नकि समसामीप्य र समदूरीको कुरा । समसामीप्य र समदूरी भनेको स्थिरताबोधक र यान्त्रिक अवधारणा हो । नेपालको भारत र चीनसितको सम्बन्ध यान्त्रिक सन्तुलनको नभई जीवन्त, सिर्जनात्मक, गतिशील सन्तुलन हो । यसलाई हाम्रो भौगोलिक, राजनीतिक, आर्थिक, सामाजिक, भाषिक, सांस्कृतिक र व्यापारिक यथार्थले प्रभावित पारेको हुन्छ ।
    हामी नयाँ नेपालको निर्माण गर्ने कुरा गरिरहेछौँ । देशको नयाँ संविधानबमोजिम केन्द्र र प्रादेशिक संसद्हरूको चुनाव भएको छ । संविधानमा राष्ट्रको हितका लागि अनेकौँ अवधारणा समाविष्ट छन् । यस बेला परराष्ट्र नीतिको कुरा गर्दा निम्नलिखित कुरामा स्पष्ट हुनु आवश्यक देखिन्छ — (१) नेपालको स्वाधीनता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको संरक्षण गर्न राष्ट्रको सन्तुलित आर्थिक–सामाजिक विकासद्वारा राष्ट्रिय एकतालाई सबलीकरण गर्ने, (२) त्यसका लागि छिमेकी राष्ट्रहरूसित यथार्थपरक आधारमा पारस्परिक आर्थिक लाभ र हितका लागि सहकार्यको नीतिमा अघि बढ्ने, (३) संयुक्त राष्ट्रसङ्घ र विश्वका सबै शान्तिप्रिय राष्ट्रहरूसित स्वाभिमानपूर्वक सहकार्य गर्दै मानवजातिको सुख, शान्ति र समृद्धिका लागि अघि बढ्ने ।

    भुराभुरी सडकमा सलल
    — पोष चापागाईं

    हिँड्दाहिँड्दै पर देखेँ पानी ।
    ‘त्यही हो लेकसाइड ?’ ‘हो ।’ ‘कत्रो छ ?’ ‘त्यो लेकसाइड वरिपरि सत्र किलोमिटर लामो चक्रपथ छ रे !’ ‘बाफ रे बाफ ! कति ठूलो !’ भनेँ ।
    टाढाबाट देखिने पानीको मजा लिन पानीको नजिकै पुग्यौँ । आहा, कति शीतल ! कति शान्त ! पूर्णेका मौन चन्द्रजस्तो ठाउँ । मध्यबजारको मध्यभागमा गाडी, साइकल, मोटरसाइकलको हर्न बजेको सुनिन्न त !
    मैले कसैलाई सोधेँ — ‘यहाँ गाडी ल्याउँदैनन् ?’
    उसले भन्यो — “साँझ निश्चित समयसम्म यहाँ कुनै पनि किसिमका बाहनहरू छिर्न पाउँदैनन् । बाहनलाई किन प्रतिबन्ध लगाएको हो भने त्यो निश्चित समयमा तरुनी–तन्नेरी, बुढाबुढी, केटाकेटीहरू यहाँ आएर निर्धक्क घुम्न, डुल्न, नाच्न, रमाइलो गर्न सकून् । सो निश्चित समय सकिएपछि सधैँ यहाँ गाडीहरू आउजाउ गर्छन् ।”
    मैले उसलाई यति सुनाएबापत धन्यवाद भनेँ ।
    हामी काँधमा झोला बोकेका लाहुरे हो कि तोरीलाहुरेहरू हनोईको लेकसाइडमा साँझ आठ बजेतिर घुम्दैछौँ । सडक छ मजाको । कतै ढुङ्गा छापेका फुटपाथ छन् मजाका । पर–तल झ्याम्म रूखमुनिको नीलो पानी हामीलाई देखेर औधी खुसी हुँदै डोलायमान हुँदैछ । पानी हल्लिन्छ हाम्रो प्रेमले । म हल्लिन्छु त्यहाँको अद्भुत प्राकृतिक सौन्दर्यले ।
    अग्ला झ्याम्म रूखमुनि अलिअलि उज्यालो छ बत्तीको । अलिपर झिलिमिली उज्यालो छ । नाच्तैछन् त्यहाँ बुढीआमाहरू आफ्ना बुढाबाहरूसँग । यो नाच्ने समूह चालीसदेखि साठी अड्कलेँ मैले । गीतको पर्रा छुटेको छुट्यै छ । के बुझ्नु भियतनामी गीत !
    तिर्खा लाग्यो । आधा बोतल पानी पिएँ । म बुढाबुढीको जीवनशैली देखेर यति हौसिएछु कि शरीरै तातेछ । नतातोस् पनि किन ! हामी नेपालीहरू उनीहरूको उमेरमा कि त कोठामा गुँडुल्किएर सुतिरहन्छौँ कि त ङार्रङुर्र र ठास्सठुस्स गरिरहेका हुन्छौँ ।
    वर्षाैंवर्षको युद्ध भोगेका भियतनामीहरूको रिल्याक्स गर्ने पथ मलाई मन प¥यो । म मानवलोकभन्दा माथि पुगेँ ।
    रोड खाली छ । खाली रोडको बीचमा हल्लिई–हल्लिई नाच्तैछन् बैँसले मात्तिएका चार–पाँच जोडी केटाकेटी । नाच्ने समूहलाई छेउमै उभिएका अरू मानिसले घेरेका छन् । छमछम मारुनी । हौ, कति लयात्मक पाराले नाचेका ! मजा लाग्यो ।
    म नाच्न जान्दिनँ । उहिले दिङ्लामा ठकुरीगाउँतिर नाच हेर्न जाँदा बाले लाठो लिएर खेद्नुहुन्थ्यो । कहिले नाच्नु ! कहिले सिक्नु ! तर उसै बेलादेखि मलाई नाचेको हेर्न मन लाग्छ । त्यस्तै ठ्याम्मै जान्दिन गाउन । तर अरूले सुरिलो भाकामा गाएको झमझमाएर मन पर्छ ।
    इन्डियाको मदिसे कताबाट खेलौना बेच्न भियतनाम पुगेछ । उस्तै लाग्यो । हो–होइन, बुझिनँ । ऊ बेच्तैछ विविध इलेक्ट्रिकल र ननइलेक्ट्रिकल खेलौनाहरू । प्लास्टिकको सर्प कुदायो मेरो अघि । म झसङ्ग भएँ ।
    अव्याहत गति (नरोकिईकन) म विविध नृत्य हेर्दैछु । नृत्य र गीतको भाषा र भाका नबुझे पनि स्वरमाधुर्य र लय कर्णप्रिय लाग्छ ।
    हेर्दैछौँ । हिँड्दैछौँ । सुन्दैछु म । अलि पर पुग्यौँ ।
    हौ, केउधि केटाकेटी ! सबै नानीहरू खेल्न व्यस्त छन् । गार्जियनहरू पर उभिएर छोराछोरीको चर्तिकला हेर्दैछन् । २ वर्ष, ३ वर्ष, ४ वर्षदेखि ८–१० वर्षजतिका भुराभुरी उड्दैछन् मोटर साइकलमा, साइकलमा, कुन्नि अरू केके हुन् ! खेलौनाहरू प्लास्टिकका । कुदाइरहेका छन् रोडमा ।
    छताछुल्ल पोखिएको बाललीला देखेर यो कान्छो रमायो । युद्धको घाउ कोट्याउँदा–कोट्याउँदा हत्तुहैरान भएका भियतनामीहरूले प्रयोग गरेको बाँच्ने जीवनशैली मन प¥यो मलाई ।
    अँ, म हनोईचोकमा घुम्दाघुम्दै काठमाडौँ पुगेँ स्वाट्टै । गौशालादेखि पशुपति हुँदै गुह्येश्वरीसम्मको पीच सडकमा बेलुका चार बजेदेखि सात बजेसम्म कुनै पनि बाहन लान–ल्याउन बन्द गराएँ । मैले नसके सरकार गुहारेर आउजाउ बन्द गराएँ । यो क्षेत्रलाई यातायातमुक्त मनोरञ्जनस्थल घोषणा गराएँ । एक–दुई हप्ता लोकप्रिय गायक–गायिकालाई त्यहाँ गाउन अनि नाच्न बोलाएँ पैसा तिरेर । घरमा घोत्लिएर, जुम्रा टिपेर, कचकच गरेर बस्ने बाआमाहरू त्यहाँ आएर सुन्न थाले, हेर्न थाले, घुम्न थाले । हुँदाहुँदा त्यहाँ बुढाबुढी र केटीकेटीको सधैँ भीड लाग्न थाल्यो ।
    (यो मेरो त्यति बेलाको कल्पना हो ।)
    फेरि म हनोई फिरेर घुम्दैछु । साइकलमा गुडुडु कुदिरहेका नानीहरूलाई त्यहीँ छोडेर म अलि पर पानीको डिलमा गएँ । झ्याम्म रूखका टुप्पामा बत्तीको उज्यालो छिर्दा उन्मुक्त युवती खितिती हाँसेजस्तो लाग्यो । रमाइलो हाँसो ।

    मैले किन पुस्तकहरू लेखें ?
    — गणेशबहादुर खत्री

    मैले मेरा बालकथात्मक सिर्जनाहरू साना–साना बालबालिकाहरूलाई केही कुरा सिकाऊँ भन्ने उद्देश्यले लेखेको हुँ । आजका बालबालिकाहरूले नै भविष्यमा समाज र देशको सञ्चालन गर्नुपर्र्ने हुन्छ । उनीहरू शारीरिक, मानसिक र बौद्धिक रूपमा सक्षम तथा योग्यता, सीप र क्षमताले सम्पन्न भएका बन्न सके मात्रै उनीहरूको भविष्य उज्यालो हुन्छ । उनीहरूको भविष्य उज्यालो हुनु भनेको उनीहरूले समाज र देशका लागि भलो हुने काम गर्न सक्नु हो । त्यसैले उनीहरूलाई समाज र देशका लागि योग्य बनाउनका लागि मैले कथाहरूको सिर्जना गरी उनीहरूलाई सुम्पिन खोजेको हुँ । कथाहरू कस्ता भए, बालबालिकाहरू र विज्ञ व्यक्तिहरूले मूल्याङ्कन गरिदिनुहुनेछ भन्ने आशा राखेको छु ।
    नेपाली किशोर र युवा मस्तिष्कलाई जीवनमा गर्नुपर्ने कर्तव्यको बोध गराउन, सही र गलत प्रवृत्ति छुट्याउने बनाउन, गर्न हुने र नहुने काम सिकाउन र खराबीहरूबाट बचेर असल मार्गमा हिँड्न प्रेरित गराउन मैले निबन्धसङ्ग्रह र गीत–कवितासङ्ग्रह तयार पारेको हुँ । मेरो निबन्धसङ्ग्रह र गीतसङ्ग्रहभित्र राखिएका निन्ध तथा कविता–गीतहरूले र ती सङ््रग्रहका बारेमा लेखिएको मन्तव्यले नै धेरै कुरा जानकारी दिने भएकाले यहाँ मैले अरू केही लेखिरहनु आवश्यक छैन ।
    नेपाली युवा पाठकका लागि कथासङ्ग्रह र बोद्धिक पाठकका लागि महाकाव्य पनि मैले लेखेको छु । ती पुस्तकहरूलाई पाठकवर्गले राम्रै मानेका छन् ।
    मैले लघुकाव्य पनि लेखेँ । त्यो मेरो पन्ध्रौँ साहित्यिक कृति हो । त्यो कृति नेपालीभाषी पाठकसामु चढाउन पाएकोमा मलाई अत्यन्त हर्षको अनुभव भएको थियो । त्यस लघुकाव्यमा दुई भाग छन् । पहिलो भाग मैले निकै पहिले लेखेको थिएँ । त्यसको दोस्रो भाग छिटै पूरा गर्छु भन्दाभन्दै म ‘खुलाल खत्रीको खोज’ पुस्तकतिर लागेँ र दोस्रो भागको लेखन थाती रहन गयो । त्यो पुस्तकको पाण्डुलिपि तयार भएपछि मात्रै मैले त्यस पुस्तकको दोस्रो भाग लेख्न सकेँ । त्यसैले त्यस पुस्तकको प्रकाशन केही ढिलो भयो ।
    मैले नेपाली साहित्यलाई दुईवटा नाटककृति उपहार दिएको छु । पहिलो नाटक लेखेर प्रकाशन गराएको धेरै वर्षपछि दोस्रो नाटक प्रस्तुत गरेको हुँ । यस नाटकमा भूमिका लेख्न दिँदा बाह«ौँ दृश्यसम्म लेखिसकिएको थियो, पछि अन्तिमका दुई दृश्य थप गरिएको हो ।
    मैले कवितासङ्ग्रह पनि प्रकाशित गरेको छु । त्यस सङ्ग्रहमा मेरा गद्यकविताहरू सङ्कलित छन् ।
    वंशको गौरवगाथा मासिएमा कुलको गौरव र श्रेय के–कस्तो छ र थियो, भावी सन्तानहरूले पत्तो पाउँदैनन् । कुनै वंशलाई मास्नुपर्दछ भने त्यसका वंशको गौरवगाथा मासिदिनुपर्दछ, तत्पश्चात् त्यो वंशका सन्तान मणिहीन नागजस्तै हुन्छन् । पुर्खाहरूको गौरवगाथा सन्तान–दरसन्तानसम्म नपुगोस्, ज्ञात गर्न नसकून् भन्ने उद्देश्यले प्रतिस्पद्र्धामा रहेका अन्य कुल–वंश, जो तागतदार थिए र छन्, ती अर्को वंशको गाथा नामेट गर्न प्रयासरत रहन्छन् । कतिसम्म मटियामेट पार्न चाहन्छन् भने त्यसको कुनै पनि चिह्न नरहोस्, त्यसको छेउ, टुप्पो, फेद केही पनि थाहा नहोस्, समाउने हाँगो र टेक्ने खुड्किलो पनि नरहोस् र ती सबै मासियून् । कतिसम्म खोतलखातल गर्दछन् भने त्यसैका कारणबाट त्यस वंशको जरोमुलो नरहोस्, त्यसको कुनै चिह्न नरहोस्, नदेखियोस् र नभेटियोस् । यो प्रक्रिया भएगरेका वृत्तान्तहरू पाइएका छन् ।
    मणिविहीन नागलाई कसले गन्छ र ! ती आकारका मात्रै नागसरह व्यक्तिहरू पनि निस्तेज हुन्छन् । किनभने तिनको वंशको गौरवगाथा धमिलिएको हुन्छ, हराएको हुन्छ । गौरवगाथा भएको वंशको व्यक्तिका सामुन्ने त्यस्तो कुनै व्यक्ति जुनसुकै पदमा पुगे पनि सोसरह हुँदैन वा त्यसभन्दा सानो पदको भए पनि उसको वंशगौरवको चमकका सामुन्ने अर्काे व्यक्तिको मन कमजोर भएको हुन्छ । गौरवगाथावर्णित व्यक्ति सूर्यजस्तै तेजिलो हुन्छ, आफूचाहिँ हीन भावनाबाट ग्रसित भई तुवाँलोको सूर्यजस्तै मलीन हुन्छ ।
    आफूले वा आफ्ना सन्तानले वंशका गौरवगाथाहरू अवगत गर्नु–गराउनु सबैको कर्तव्य हो । आफ्नो वंशवृत्तान्त छैन भने त्यसको अनुसन्धान गरी–गराई तयार पारेर सिरानीमा राखिराख्नुपर्छ । त्यसले आफ्ना भावी सन्तानहरूका लागि जीवनको दरो लौरो भई आत्मबल बढाउन ठूलो सहायता गर्छ ।
    हाम्रा पुर्खाका कतिपय गौरवगाथाहरू नदेखिएका र छिपाइएका मात्र नभई दबाएर नष्टभ्रष्ट गर्न खोजेका पनि धेरै छन् । तिनलाई प्रकाशमा ल्याउन दबिएको समुद्रमा डुबुल्की मारेर मोती निकालेझैँ निकाल्नुपर्दछ । यो हाम्रो कर्तव्य र धर्म हो । त्यसैले मैले ‘खुलाल खत्रीको खोज’ पुस्तक लेखेको हुँ ।
    हामी इक्ष्वाकुकुलका रघु, वचनका परिपक्व राजा दशरथ, सदैव आदर्शको तेज झल्काउने आदर्शयुक्त र जीवनजगत्को ज्योति फैलाउने रामचन्द्र तथा शान्तिका अग्रदूत गौतम बुद्धका सन्तान–दरसन्तान हौँ । तिनैका चरित्रहरूलाई हृदयङ्गम गरी अघि बढ्नु हाम्रो पुनीत कर्तव्य हो ।
    छोटो अनुसन्धानका क्रममा खुलाल खत्रीहरू विशाल गाउँका रूपमा स्याङ्जा जिल्ला भीरकोटमा र केही पर्वतमा, बागलुङमा, उदयपुरको लामामा, ताप्लेजुङमा, सिराहामा र सप्तरीमा पनि हुनुहुन्छ भन्ने देखिएको छ । यसबारे विस्तृत अनुसन्धान गर्नुपरेको छ । पनौती, भङ्गाल, सुन्थान, ललितपुर, दोलाहिटी, चुनिखेल, धुनीबेँसी, नौबिसे र कपनमा पनि रहनुभएको छ । अन्यत्र पनि हुनुहोला । यो खोजकै विषय हो ।
    यस पुस्तकमा हाल नलिनचोकमा रहेका खुलाल खत्रीहरूको भेटेसम्मको वृत्तान्त छ । यसभन्दा बढी कसैले थाहा पाएको भए यस लेखकलाई लेखी पठाउनुहोला, अर्को संस्करणमा परिष्कृत गरिनेछ । आफूले नै यसका त्रुटिहरू उल्लेख गरी समालोचना वा आलोचनासहित पत्र पठाए वा पत्रिकाहरूमा छुट्टै प्रकाशित गरिदिए कृतज्ञ हुने थिएँ । किनभने त्यो अनुसन्धानको क्रम हो र सम्पूर्ण बन्धुहरूको साझा कर्तव्य हो ।
    यस पुस्तकमा उल्लेख भएदेखि बाहेक पहिलेका पाइएका वा नपाइएका पुस्ताहरूको अनुसन्धान पनि गरिँदैछ । जाँगर चलाउनेहरूले यसतर्फ आफ्नो बुद्धिविवेक र कलम चलाएमा कुलको गौरव बढ्नेछ । यस विषयमा पछिका पुस्ताहरूले पनि कलम चलाउनुपर्छ । भविष्यका पुस्ता–पिँढीहरू यसतर्फ अघि बढ्न सक्नुपर्छ । किनभने वंशवृत्तान्त भनेको कुल र देश–विश्वकै सम्पत्ति हो ।
    खुलाल खत्रीहरू नलिनचोकमा आपसमा मिलिजुली रहेका छन् । उनीहरूबीच आपसमा झैझगडा छैन । यसअघि केही विवाद त भए होलान्, तर त्यो यत्रो विशाल परिवारका लागि नगण्य हो । प्रस्टवक्ता, जालझेल नगर्ने र समन्वय गर्ने यहाँका खत्रीहरूको विशेषता हो । उनीहरू कसैले कसैमाथि भएगरेको अन्याय हेरिरहन सक्तैनन् । जहाँ जसले अन्याय गरेको भए पनि अन्यायकर्तामाथि बाघले झम्टेझैँ झम्टनु यहाँका खत्रीहरूको विशेषता हो । त्यो पनि हाल सभ्य र शिष्टतापूर्वक हुन्छ, बाघेझम्टाइ हुँदैन ।
    अन्वेषणको विधामा म अल्पज्ञ छु । त्यसैले त्रुटिहरू हुन सक्छन् । त्यसलाई सच्याइदिने जोसुकैलाई पनि हार्दिक धन्यवाद दिन्छु । त्रुटिहरू अर्को संस्करणमा सच्याउने र थपघट गर्ने वचनबद्धता जाहेर गर्दछु । मेरा पुस्तकहरूमाथि मन्तव्य व्यक्त गर्ने व्यक्तिहरू, सम्पादन गर्ने हरि मञ्जुश्री र र मेरा पुस्तकहरू प्रकाशन गरिदिने शब्दयात्रा प्रकाशनप्रति आभार व्यक्त गर्दछु ।

    आफ्नो ठीक अरूको बेठीक ?
    — मुकुन्दप्रसाद उपाध्याय

    सनातन वैदिक धर्मका विशेषताहरूमध्ये पुनर्जन्मको सिद्धान्त पनि एक हो । पुनर्जन्मको सिद्धान्तलाई बल प्रदान गर्न र पुष्टि गर्न भगवान्ले विभिन्न अवतारहरू लिनुप¥यो । सनातन वैदिक धर्मको यो पाटोलाई पछि स्थापित विश्वका प्रायः सबै धर्महरूले प्रत्यक्ष–परोक्ष आत्मसात गरेका छन्, गर्नुपरेको छ । त्यो हिन्दूधर्मले विश्वधर्मलाई दिएको ठूलो योगदानका रूपमा लिन सकिन्छ भने यसका केही नकारात्मक पक्षहरू पनि छन् । पुनर्जन्म पुष्टि हेतु आएको अवतारवादले सम्प्रदायवादलाई जन्म दियो । सम्प्रदायवाद मौलाउँदै जाँदा यसमा कट्टरता र रुढिवादिता पनि प्रवेश ग¥यो । उँचनीच, छुवाछुत आदि विकृति र विसङ्गतिहरू सनातन वैदिक धर्ममा छँदै छैन । यो सम्प्रदायवादमा मौलाएको कट्टरवादको उपज मात्र हो । विश्व राजनीतिमा वाद (इज्म) को पृष्ठपोषण गर्न राजनीतिक दलहरू अस्तित्वमा आए । दलहरूभित्र गुट र उपगुटहरू मौलाउँदै जाँदा इज्म (वाद) चाहिँ ओझेलमा पर्दै जान थालेको स्थिति हिन्दूधर्ममा सम्प्रदायवादले ल्याएको सत्य हो ।
    नेपाल र भारतका विभिन्न धर्मगुरु, प्रवाचक, साधु–सन्तहरूको विचार पनि सम्प्रदायवादको प्रदूषणले आक्रान्तित देखिन्छ । आफ्नो दृष्टिकोण, आफ्नो सोच र आफ्नो पद्धति मात्र ठीक, अरू बेठीक अनि आफ्नो दृष्टिकोण, सोच र पद्धतिबाट मात्र धर्म प्राप्त हुन्छ, मोक्ष प्राप्त हुन्छ अन्य मार्ग र पद्धतिले चाहिँ विचलन ल्याउँछ भन्ने प्रमाणित गर्न तदनुसारका कथा, तदनुसारको शास्त्रीय वचन र तदनुसार गीताका श्लोकविशेषलाई उद्धरण गर्ने गरिन्छ । यो पङ्क्तिकारले सामना गरेका केही उदाहरणहरू यहाँ प्रस्तुत गर्दछु ।
    एकजना कुनै एक धार्मिक संस्थामा आबद्ध प्रौढ महिला हुनुहुन्छ । उहाँसँग सामान्य परिचय भएपछि उहाँले एक दिन उहाँको सम्पर्कमा रहेका एकजना गरिब असहायलाई म कार्यरत संस्थामा कुनै सानोतिनो जागिरमा लगाइदिने अनुरोध गर्नुभयो । अचेल जागिर त्यति सजिलो छैन । विज्ञापन खुलेको बेला प्रतिस्पद्र्धा गर्नुपर्छ । स्वस्थ प्रतिस्पद्र्धाबाट पारदर्शी ढङ्गबाट उमेदवार छनोट गर्नु हरेक संस्थाको संस्थागत कर्मधर्म पनि हो । मैले हाँसेर टार्ने गर्दथेँ । एक दिन उहाँले त्यही आग्रहलाई थप बल प्रदान गर्न धार्मिक उदाहरणको सहायता लिनुभयो र भन्नुभयो — ‘परोपकार नै परम धर्म हो । यस्ता दीनदुःखीलाई हेरे पो धर्म हुन्छ । पाठपूजा, ध्यान, जपतप र मन्दिर जाँदैमा धर्म हुन्छ र सर ?’ उनको धर्मको परिभाषामा अब जपतप, ध्यान, उपवास, मन्दिर दर्शन आदि धर्म नै भएन अरे । मैले हाँसेर टारेँ, प्रतिवाद गरिनँ । गर्न जरुरी पनि देखिनँ । यो त एक सामान्य धार्मिक भद्र महिलाको दृष्टान्त मात्र हो । अर्को एउटा दृष्टान्त पस्कौँ । एउटा व्यवस्थापकहरूको तालिम कार्यक्रम थियो एउटा स्तरीय होटलमा । तालिम दिने संस्थाले स्ट्रेस म्यानेजमेन्टको सन्दर्भमा एकजना आध्यात्मिक गुरु, विद्वान् चिन्तकलाई गेस्ट लेक्चरका लागि बोलाइएको थियो । एउटा लोकप्रिय धार्मिक संस्थाका सञ्चालक गुरुजीले लेक्चर दिने क्रममा पहिला सामान्य ध्यान गर्न सिकाउनुभयो । ध्यान क्रिया सकिएपछि उहाँले सोध्नुभयो — ‘कति आनन्द आयो, होइन त ?’ सबैले ‘हो, क्या आनन्द’ भने । अनि गुरुले यो आनन्द प्राप्त गर्न हामीले कुनै बत्ती बाल्यौँ त ? बालेनौँ । कुनै धूप सल्कायौँ त ? अहँ, सल्काएनौँ । अनि न त शङ्ख फुक्यौँ, न घण्टी नै बजायौँ । आनन्द प्राप्त ग¥यौँ । ईश्वर नै आनन्दका प्रतीक हुन् भनी सत्–चित्–आनन्दमय स्वरूपको आफ्नो व्याख्या पस्कनुभयो । ध्यान गर्नु–गराउनु, ईश्वर आनन्दमय हुन्छ भन्नुसम्म ठीक हो । तर ईश्वरप्राप्तिको सनातन एक मार्ग कर्मकाण्ड, एक पद्धति उपासना पद्धतिको विरोध गरेर त्यो पद्धतिबाट ईश्वरप्राप्ति हुँदैन भन्नुचाहिँ जरुरी थिएन । सम्पूर्ण धर्मको स्रोत मूल वेद नै कर्मकाण्ड, उपासनाकाण्ड र ज्ञानकाण्डको त्रिवेणी हो भने त्रिवेणी स्नान गर्नेले स्नान नगरिएको एक नदीचाहिँ बेकारको हो, अपवित्र हो भनेर भन्न मिल्छ र ?
    अर्को एउटा प्रसङ्गको पनि चर्चा गरिहालौँ । एकजना मित्र थिए जो मुस्लिम धर्मका आलोचक पनि । उनी भन्दथे — ‘मलाई यो मुसलमानहरूको अल्लाह ओ अकबर भनेर चिच्याएको मन पर्दैन । मानौँ उनीहरूका देवता, उनका ब्रह्म अलि बुढा भए, अलि कम सुन्छन्, कराएर बोलाउनुपर्छ । ईश्वर कम सुन्ने बहिरो हुन्छ र ?’ तिनै मित्रले एक दिन मलाई रामेछापको एउटा प्रसिद्ध तीर्थ लिएर गए । खिम्दीमाथि डाँडोमा थानापति महादेवस्थान रहेछ । त्यहाँ गएपछि उनले मन्दिरबारे थप वर्णन गर्दै भने — ‘यो महादेवलाई बहिरा महादेव पनि भनिन्छ । यहाँ आउने दर्शनार्थीले भाकल गर्दा, वर माग्दा कराएर माग्ने चलन छ ।’ उनले त्यसो भनिरहँदा मैले उनले केही वर्षअघि कुनै प्रसङ्गमा मुसलमानहरूले कराएर अल्लाह ओ अकबर भनेकोमा विमति जनाएको सम्झेर म हाँसेँ मात्र । मैले पनि मनैमन सम्झेँ देवाधिदेव महादेव, सर्वशक्तिमान्, ॐकारस्वरूप, ज्योतिस्वरूप, कणकणमा व्याप्त, सर्वेश्वर, परब्रह्म, परमात्मा, भगवान् शिव पनि बहिरा हुन्छन् त भनेर ।
    भनाइको तात्पर्य प्रस्थानत्रयअन्तर्गतकै एक मार्ग उपासना पद्धति, गीताका अनुसार भक्तिमार्गमा आराध्यदेव, इष्टदेव वा गुरुको उपासना गर्ने, प्रेमभक्ति प्रकट गर्ने पद्धति र शैली आआफ्नै हुन सक्छ । आफ्नो पद्धति र शैली अर्काको सँग नमिल्न पनि सक्तछ । तर अर्काको शैली बेठीक, मेरै मात्र शैली ठीक भन्नु हुँदैन कि ! सामान्य जीवनमा पनि पतिपत्नी, प्रेमीप्रेमिका, आमाबाबु, छोराछोरी, दाजुभाइ, दिदीबहिनी बीचको प्रेम, आदरभाव प्रकट गर्ने शैली पनि आआफ्नै हुन्छ । मेरा एकजना माइँलाबाले राणकालीन एउटा घरको कथा भन्नुहुन्थ्यो । एकजना सम्पन्न राणाजीका ४–५ भाइ छोराहरू रहेछन् । तीमध्ये एउटा एकदम पितृभक्ति प्रदर्शन गर्ने, हरेक दिन बिहान मातापितालाई चरणकमलमा साष्टाङ्ग प्रणाम नगरी अरू कार्य नगर्ने, मर्जी र बक्सियोस् जस्ता आदरार्थी शब्द मात्र प्रयोग गर्ने । एकजना सहरमा जागिर खाने (र हुनेखाने पनि) भाइले त्यस्तो पितृभक्ति प्रदर्शन नगर्ने तर कर्तव्य गर्न पछि नपर्ने, मातापितालाई ओखतीमुलो, तीर्थाटन गर्न सधैँ मदत गर्ने खालको थियो अरे ! मातापिता बृद्ध भएपछि छोराहरूबीच सम्पत्तिमा झगडा नहोस् भनेर आफ्नै जीवनकालमा न्यायसम्मत सबै भाइहरूमा बराबरी सम्पत्ति बाँडिदिएछन् । सम्पत्ति भागबन्डा भएपछि भक्तिभाव प्रदर्शन गर्ने, सधैँ खुट्टामा ढोग्ने छोरालाई अंशमा चित्त बुझेनछ र उसले जन्म दिने बाबुमाथि नै मुद्दा ठोकेछ । अनि बाबुआमालाई बाहिरी प्रेम, आदर प्रकट नगर्ने तर कर्तव्यपरायण छोराले चाहिँ मलाई पुग्ने कमाएको छु, यो पैतृक अंश बुबाले हजुरबुबाको नाउँमा कुनै मठमन्दिर बनाउन वा कुनै अक्षयकोष खडा गर्न मन लागे खर्च गर्दा हुन्छ भनेछ अरे !
    अर्थात् ईश्वरप्रणिधान, उपासना, भक्तिको आआफ्नै पद्धति र शैली हुन सक्छ । धर्मपिच्छे, सम्प्रदायपिच्छे फरक–फरक हुन सक्छ । आफ्नै पद्धति सबैलाई राम्रो लाग्छ, सहज लाग्छ, ठीक छ । तर अर्काको शैली र पद्धतिलाई बेठीक र गलत भनिनहालौँ कि भन्नेसम्म मात्र यो पङ्क्तिकारको विनम्र आग्रह हो ।
    यी सबै प्रसङ्गहरू यहाँ मैले किन पनि उठाएको हुँ भने हिन्दूधर्मको एक प्रमुख वैष्णव सम्प्रदाय श्रीकृष्णप्रणामी सम्प्रदाय हो । मूलतः निजानन्द सम्प्रदायका द्वितीय गुरु महामति प्राणनाथजीको आगमनपछि श्रीकृष्णप्रणामी सम्प्रदायका रूपमा चर्चित यो सम्प्रदायका प्रमुख व्यक्तित्व प्राणनाथजीको प्राकट्यको चतुर्थ शताब्दी महोत्सव बडो धुमधामका साथ मनायो श्रीकृष्णप्रणामी सेवा समिति नेपालले । कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ स्थित नवतनधाममा २०७५ वैशाख ७ देखि १३ गतेसम्म भव्य कार्यक्रमहरूको आयोजना गरियो । महामति प्राणनाथजी महाराजको दृष्टिकोण, दर्शन र महान् वाणीहरू र तारतमसागरसमेतलाई हेर्दा प्राणनाथजी धार्मिक समन्वयवादी, सहिष्णु आध्यात्मिक गुरु हुनुहुन्थ्यो । उहाँको सारा जीवन हिन्दूधर्म, इस्लामधर्म र इसाईधर्मका बीच समन्वय गर्दैमा बित्यो । त्यसैले अहिलेको सम्प्रदायवादले जरो गाडेको, साम्प्रदायिक कट्टरता झाङ्गिएको वर्तमान विश्वलाई महामति प्राणनाथजीजस्तै समन्वयवादी सन्त–महात्मा, दार्शनिक व्यक्तित्वको खाँचो छ । त्यस अर्थमा हामी सबै आस्तिक जीवहरूले महामति प्राणनाथजीलाई स्मरण गर्दै नमन गर्नुपर्ने हुन्छ ।

    देवता र दर्शक दुवै गुमराहमा
    — हुचरा

    समय निकै भएकाले हामी पोखरामा वास मात्रै वसेनौं । विश्वशान्ति स्तुपा, वेगनासताल, मणिपाल कलेज, फेवाताल लगायत पोखराका ऐतिहासिक स्थलहरू घुम्यौं । वीस वर्षपछि पोखरा गएको फुलवारी (महेन्द्रपुल नजिकै) भने जानै सकिन । गजेन्द्र भण्डारीको मृत्युपछि मलाई त्यो ठाउँ विरानो लागिरहेको छ । कुनै वेला मेरो पानीपधेरो जस्तो ठाउँ विरानो भैदियो । त्यसका केही कारण छन् । आँगनमैं गएर पनि घरभित्र पस्नै सकिन, तै कसैले देखेन । साँझ होटल फर्कियौं ।
    फेवातालको किनारमा थियो होटल । खाना तयार भैसकेको थिएन । नारायण र म निस्कियौं बाहिर । म मकैप्रेमी, पोलेको मकै । काठमाडौंकै जस्तो जथाभावी फोहोर गरेर मकै पोलिन्थ्यो पहिले पहिले । अहिले पनि त्यस्तै होला भनेको त महानगरपालिकाले ठिगु¥याएर लैजाने रहेछ । एकजना युवक साइकलको पछाडि कोइला र कराई एकापटि, पोल्ने मकै अर्कोपटि, फाल्ने फोहोर राख्ने बोरा झुड्याएर मकै पोल्दै बिक्री गर्दै हिडेको दखियो । त्यो पनि लुकिलुकी । किन यसो गरेको भन्ने प्रश्नमा उसले जवाफ दियो, ‘नगरपालिकाले देख्यो भने समाउँछ, फोहोर गरेको भन्दै जरिवाना गर्छ’ । नभन्दै पोखराको फेवाताल वरीपरि सन्सारकै सबैभन्दा सफा र सुघ्र ठाउँ लाग्यो मलाई । म सिंगापुर र जापान बसेर आएको मानिसलाई अरु कुराले भन्दा पोखराको सफासुघ्घरले शान्त पा¥यो । फेवाताल खुम्चिएको कुरामा त कसैको दुई मत हुदैन, भूमाफियाहरूले फेताललाई हडपेकै हुन् । जायज नाजायज सबै ठाउँमा पक्की भवन निर्माण गरेर होटल सँचालन गरेका छन् । यसले भावि पुस्तालाई पार्ने असरप्रति कसैको चासो छैन । विगतका कमजोरीहरू सच्याउँन निकै कठिन छ । नयाँ सरकारले ध्यान दिए पनि ध्यान पुग्ने छाँटकाँट छैन । अर्को पोखराको विषेशता के पनि थपिएको रहेछ भने सबैभन्दा ठूलो त्यहाँको बाटो नयाँ सडक थियो तर अहिले फेवातालबाट सिधै पहाडतर्फ लाग्ने बाटो ६ लेनको बनेको रहेछ । यसले पोखराको सौन्दर्यलाई अरु सुगन्धित बनाएको महसूस भयो ।
    पोखाराको आरामदायि बसाईपछि बिहान उठ्यौं । स्नान र हेभी नास्तापछि उकालो लाग्ने कार्यक्रम थियो । मैले प्रस्ताव राखें विन्द्यवासिनीको मन्दीर घुमेर जाने । किनभने हामी धनन्जय गोत्रीहरूका कुलदेवता पनि हुन् बिन्द्यवासिनी माता । वंशावली तयार गर्दा मैले बिन्दबासिनी कसरी हाम्री कुलदेवता भइन् भन्नेबारेमा थारै अध्ययन गरेको थिएँ, भएको के रहेछ भने देवाधिदेव महादेवलाई भाँग, धतुरो, विष पिएर समुद्र मन्थन गरेपछि महिलाको आवश्यकता पर्ने रहेछ । छल, कपट र बहुल रुपधारण गर्ने बिष्णु यी बुढाले कहाँ के उपद्रो गर्छन भनि महिला रुप धारण गरी महादेवको पदमार्गमा बसेछन् । अति राम्री युबतीलाई देखेर महावेवको तेश्रो आँखा खुलेछ र उनको नाम बिन्धवासिनी राखेर महादेव अन्तरध्यान भएछन् । हामी उनै विन्धवासिनीका सन्तान भएकाले हाम्रा कुलदेवता भएकी रहिछन् । विश्वामित्र ऋषिले आफ्नो आत्मवृत्तान्तमा लेखेका छन् । हामी बिहानै विन्धवासिनी मन्दीरमा पुग्यौं । तर त्यहाँको कृयाकलाप मलाई मन परेन । कारण के भने अहिलेको जमानामा मुर्तीलाई छोपेर राखिएको । श्रद्धालुहरूले घुम्टोभित्र लुकाइराखिएको अज्ञात वस्तुलाई भगवान भनेर ढोग्नुपर्ने । देवता र दर्शनार्थीलाई पनि गुमराहमा राखेर आय आर्जन गर्ने कस्ता गुरुवर्ग । यि कुराले मेरो मन खिन्न भयो । यो कुरालाई स्मरणमा लेख्नुवाहेक अरु के गर्न सकिन्छ र !
    त्यसपछि हाम्रो गाडि लाग्यो उकालो । जानुपर्ने विरेठाँटी हुदै तर रुपेसले साराङकोटको उकालो गाडि सिधै उकाले । तलको बाटो निर्माणाधिन भएकाले यो बाटो आएको बस्नेतको तर्क थियो । बाटो मरमत मुस्ताङसम्म हुदै रहेछ । नेपालको निर्माणको काम । अरु कति वर्ष लाग्ने हो ? भन्न सकिने स्थीति छैन । चीनसँग जोडिने आठ नाकामध्ये एक नाका लोमाङथाङ यसै अन्तरगत पर्ने भएकाले यो बाटोको महत्व आफ्नै रहेकाले बढी तर्क गर्नु उचित हुदैन ।
    हामी लुम्ले कृषि फर्म हुदै ओरालो के लागेका थियौं, त्यहाँ सडकको किनारमा मोदीखोला जलविद्युत योजना लेखिएको एउटा वोर्ड देखियो । नारायणले व्यङ्गप्रकार गरिहाले, ‘ओहो, जलविद्युत योजनाको नाम पनि मोदीको नामबाटै ?’ निकै ठूलो हासो भयो । मैले बचाउ गर्दै, यो योजना भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री हुनुभन्दा निकै अगाडि राखिएको हो । यो खोलाकै नाम मोदी खोलो हो । गाडिमा नारायण र म मात्रै तर्कको खेती गर्ने भएर मात्रै अन्यथा निकै लम्विने थियो । हामी मोदी खोलामा मात्रै पाँचवटा निर्माणधिन आयोजना पार गर्दै पर्वत जिल्लाको सदरमुकाम कुस्मा पुग्यौ ।
    वारी जमुना, पारी जमुना भनेझैं वारी कुस्मा, पारी वागलुङ माझैमा कालीगण्डकी भन्दै हामी कुस्मातिर लाग्यौं । कुस्मा नपुग्दै कालीगण्डकीको रहेको स्यानो वस्तितिर रुपेशले गाडि छिराए । हामीलाई लाग्यो गाडि फोहोर भएर यिनले सफा गर्न आँटे, भोक लागिसकेको थियो । कुस्मा पुगेर कतिवेला खाना काने हो जस्तो भैसकेको छ । हाँसको फौज र कुखुराका चल्ला धपाउँदै किनारमा पुग्दा शेरचन भोजनालय भन्ने साइनवोर्ड देखिन्छ । यो खोलाको किनारमा को खाना खान आउला भनेको त फोनमा अर्डर गरेर दैनिक यात्रुहरू खाना खान आउँने रहेछन्, त्यो दिनको पहिलो पाहुना हामी रहेछौं । हामी आउँदैछौं भनेर कतिवेला खवर आयो भन्दा सराँङकोटको उकालो लाग्दा बस्नेतले फोनमा खस्याङमस्याङ गरेका थिए त्यतिवेलै भ्याइसकेका रहेछन् । हातमुख धोएर खान बस्यौं । खाना आयो । दल आयो । कति मीठो त्यो मुस्ताङको कालो सिमीको दाल । चिसो पानीमा पकाएको भातको स्वाद बर्णन गर्नैपरेन ।

    कविहरूलाई स्वर्णमुद्रा
    — कविप्रसाद प्याकुरेल

    राजा भोजको दानशीलता समृद्ध हुँदै जाँदा कलिङ्ग देशका कुनै कवि राजा भोजसँग एक महिनासम्म रहने योजनामा आए । एक महिना पूरा भयो, तर राजकृपा प्राप्त भएन । कलिङ्ग कविलाई राजकीय भोजन पनि जुरेन । सिकारमा रहेका राजासँग कविको भेट भयो । कविले भने — श्री राजा भोजको दृष्टि हुँदा तत्काल यी त्रय । शत्रु, शस्त्र, कवि कष्ट मृगको दृष्टिगोचर ।।६६।।
    कलिङ्ग कविले राजा भोजबाट तत्काल एक लाख स्वर्णमुद्रा प्राप्त गरे । सिकाररत राजालाई सिकारीपुत्रले पनि कविता सुनायो । सिकारीपुत्रलाई राजाले पाँच लाख स्वर्णमुद्रा प्रदान गरे । सिकारीपुत्रले आफ्नोभन्दा पाँच गुणा बढी स्वर्णमुद्रा पाएको देखेर कलिङ्ग कविले अर्को कविता सुनाए — कमल दल तिमीमा जेजति छन् तमाम । अविचलित श्री लक्ष्मी वास तिम्रै सदनमा । भ्रमर प्रभुकृपा श्री प्राप्त गर्छन् अनन्त । तिमी सदृश म रुन्छु दुष्ट दुर्भाग्य क्रूर ।।६७।।
    यो कविता सुनेपछि राजा भोजले कलिङ्ग कविलाई थप एक लाख स्वर्णमुद्रा प्रदान गरे ।
    कला श्री सर्व सम्पूज्य हो निन्दित कुलीनता । कलाश्रीको शुभ शोभा शिवको शिरमा सदा ।।६८।।
    कलिङ्ग कविसँग राजा भोजको काव्यचर्चा हुँदै गर्दा दर्जनौँ कविहरू त्यहाँ प्रवेश गर्दा पनि राजा प्रसन्न रहे । नवागत कविवर्गमध्ये एक कविले कमलको उपमा दिँदै भने — प्रदान वा उपभोग कृपणीको असम्भव । हातले स्पर्शता गर्छ युवतीको नपुंसक ।।६९।। कमल दल सुगन्धी चोरमा क्रोध व्यर्थ । भ्रमर गण मधुमा घुम्दछन् यत्रतत्र ।।७०।। याचक वर्ग देखेर सर्वदा जो प्रसन्न छ । उसको स्नेहको पात्र सर्वदा धन्य याचक ।।७१।।
    यसपछि दर्जनौँमध्ये एक कविले भने — सर्वाङ्ग रिक्त आएको भरिपूर्ण छ फर्कदा । सदा निश्चल सम्पन्न गरिमामय सागर ।।७२।।
    राजाले यी कविलाई पनि एक लाख स्वर्णमुद्रा दिए । परन्तु गोविन्द पण्डित उक्त कविमण्डलसँग रिसाए । रिसाएका पण्डितलाई हेर्दै दोस्रो कविले भने — हे उत्तम मार्गस्थित सरोवर । असङ्ख्य तिम्रा करग्राह दुष्कर । त्यसै हुनाले खल दुष्ट तस्कर । इत्यादिद्वारा तिमी छौ सुरक्षित ।।७३।।
    राजाले द्वितीय कविलाई दुई लाख स्वर्णमुद्रा प्रदान गरे । साथै उनले गोविन्द पण्डितलाई भने, “तपाईं सभामा रहन सक्नुहुन्छ, परन्तु द्वेषरहित अवस्थामा मात्र ।”
    बाँकी प्रत्येकलाई एकएक लाख स्वर्ण मुद्रा दिइएपछि कविवर्ग सन्तुष्ट भई राजधानी फर्के ।
    राजाले कुनै दिन प्रधानमन्त्रीसँग भने — भए यदि विप्र कुलादि मूर्ख । तत्काल यो राज्य त्यजेर निस्क । पण्डित छन् शूद्र र कुम्भकार । म पाउमा ढोग्दछु बारबार ।।७४।।
    राजाको यो घोषणापछि धारानगरीमा सर्वशास्त्र विशारद सर्वज्ञ पण्डितको सङ्ख्या हजारौँको थियो । त्यहाँ वररुचि, वाण, मयुर, रेफण, हरिशङ्कर, कलिङ्ग, कर्पुर, विनायक, मदन, विद्याविनोद, कोकिल, तारेन्द्रमुख आदिद्वारा भोजसभा अलङ्कृृत हुन पुग्यो । कुनै दिन विद्वत्वृन्द, विशारदवन्दित, कविशिरोमणि, कविप्रियबीच सिंहासनस्थ महाराजा भोजलाई दण्डवत् गरेपछि द्वारपालले बिन्ती गरे, “कुनै विद्वान् द्वारमा खडा हुनुहुन्छ ।”
    राजाले भित्र प्रवेशको आदेश दिए । नवागन्तुक ब्राह्मणले दाहिने हात उठाएर स्वस्तिवाचनपछि यस्तो संवाद भयो ः
    ब्राह्मण ः राजाको शुभ लाभ ! राजा ः शङ्कर कवि, यो पत्रिका हो कुन ? कवि ः पद्य । राजा ः खै त ? । कवि ः दिँदैछु भोज नृपते । राजा ः पढ्नुहवस् । कवि ः लौ पढेँ ।
    यस्तो दिव्य पवित्र सुन्दर तथा सत्चामर वल्लभ । राजा भोज भुज लता शुभकर झङ्कार श्री कौतुक । राजाको शुभ लाभ शङ्कर कवि के पत्रिका प्रस्तुत । पद्य खै त ? प्रदान भोज नृपमा पढ्नु सदा शाश्वत ।।७५।। समृद्ध पार्दै नृप भोजको यश । त्रिलोकमा अमृत स्वादु शीतल । त्यसै गरी यो हृदयावकाशमा । उदाउँछन् निर्मल पूर्ण चन्द्रमा ।।७६।।
    यो कवितापछि शङ्कर कविले राजा भोजद्वारा १२ लाख स्वर्णमुद्रा प्राप्त गरे । शङ्कर कविले १२ लाख पाएपछि अरू सम्पूर्ण कविको मुखमण्डलमा बादल लाग्यो । तर राजाको भयले कसैले केही भनेनन् । राजा पनि आफ्नै दरबार प्रस्थान भए ।

    मुक्तकहरू

    मोदी छौ अति नै अनिष्ट जहिल्यै नेपालका खातिर
    तिम्रो स्वागत–गेट नै ढलिसक्यो के हेर्दछौ वर्तिर
    तिम्रो भालतिरै त्रिपुण्डक ठुलो देखावटी सात्विक
    कप्टी हिर्दयमा हलाहल लिई नेपाल पस्छौ बिख ।
    — कोषराज न्यौपाने
    आफू भलो भो त जगत् भलो रे,
    उखान निर्णायकको थलो रे
    खराब छू भन्दछ को मनुष्य ?
    जो खोज्छ आफ्नै सुखको भविष्य ।
    — राधेश्याम भट्टराई
    नेपालीले अतिथिलाई देवताझैँ मान्छन्
    आफू दुःख पाए पनि सुख दिने भन्छन्
    कहिलेकाहीँ अतिथि नै आउँछन् दुःख दिने
    सतर्कता अपनाऊ विज्ञहरू भन्छन् ।
    — मुक्तिनाथ नेउपाने

    गाली गर्नेहरूको बिगबिगी
    — रोशन मञ्जुश्री

    पृथ्वीनारायण शाहले गोरखाबाट फौज लिएर नहिँडेका भए आज हामी पनि सायद ममता बेनर्जीको आदेशमा गोलीको सिकार हुन सक्तथ्यौँ । ‘नेपालीमा पढ्न पाउनुप¥यो’ भन्दै कराउँदै हुन्थ्यौँ । तर यहाँ तिनै पृथ्वीनारायणलाई गाली गर्नेहरूको बिगबिगी छ देशमा । पृथ्वीनारायण शाहको सम्मान गरौँ ।
    — कुलमान घिसिङ
    सांसदलाई कानुन नलाग्ने व्यवस्था संसारको कुन देशमा छ ?
    — बूँद राना
    उसले भन्यो — ‘म चोर हुँ ।’ प्रहरीले सोध्यो — ‘कुन पार्टीको ?’
    – सुनील सापकोटा
    यसपालीको सुनकाण्ड भागबन्डा नमिलेको दुर्दशा हो कि कट्टुले गुहु नथामेको दिसा हो ? वा भाग्यको नियति नै त्यही थियो कि अवैध धन्दाको पाप कराएको हो ?
    — राजेन्द्र अधिकारी
    आजसम्मको परिस्थिति नियाल्दा आगामी दिनहरु असल नागरिकका लागि कष्टकर नै हुने देखिन्छन् । देश आततायीको साम्राज्य नबनिदिए हुन्थ्यो भन्ने चाहना पूरा हुने सम्भावना देखिदैन । आफ्नो सोचचाहिँ सकारात्मक रहोस् । गलत कुरा कुनै दिन त गलत प्रमाणित हुन्छ । खाली प्रतीक्षा गर्न सक्नुपर्छ ।
    — बोधराज अधिकारी

    भनाइ आफ्ना–आफ्ना
    — गीता मञ्जुश्री

    हाम्रा नेता लोभीपापी छन्, दरिद्र छन्, अन्धा छन्, बहिरा छन् । देख्तैनन्, सुन्दैनन्, देशलाई हेर्दैनन्, आफैँलाई मात्र हेर्छन् । रचनात्मक काममा ध्यान नै छैन । त्यसैले केही लेख्नु बेकार छ ।
    — टङ्कमणि नेपाल
    कुनै दिनमा ‘अरुण ३ को अन्त्यले उब्जाएका प्रश्नहरू’ लेखेर कान्तिपुर दैनिकमा छाप्दा जति दुःख लागेको थियो, अहिले अरुण ३ कै अन्त्य गर्ने त्यही पार्टीको सरकार हुँदा फेरि त्यो बिउँझिएर आउँदा अरुलाई जत्तिकै मलाई पनि अति हर्ष लागेको छ । तर दुःख त अझै केमा छ भने त्यस बखतमा अरुण योजना सफल हुन सकेको भए अहिलेसम्ममा त्यो भेग र त्यहाँका जनताको समृद्धि कहाँ पुगिसक्थ्यो र देश पनि दशकौसम्म अन्धकारमा नै रहने थिएन । अब त्यस्तो बुद्धि कुनै पार्टी र नेताको नहोस् ।
    — विश्वम्भर चञ्चल
    मानव सभ्यतामा नै एउटा कालो धब्बा थियो त्यो घोषित–अघोषित नाकाबन्दी । यो घाउ नेपाली आत्माले चटक्क बिर्सिन समय लाग्छ नै । तर क्षमाभन्दा ठूलो दान यो संसारमा अर्को छैन । मेलमिलापले सम्भावित अलापविलापलाई नामेट गर्न सक्दछ । मोदी एक मिथक बनेको समय हो यो । उनको बारेमा धेरै टाउको दुखाउनुभन्दा हामी नेपालीले के गर्दा नेपालको हित हुन्छ त्यो हेर्ने हो । आम नागरिकको सम्बन्ध युगौंदेखि सुमधुर छ । बेलाबेलामा हाम्रै बिभिषणहरूले अमृतको भेद बताएर बिगार्ने हुन् । आर्थिक रुपमा आत्मनिर्भर नभएको छिमेकी हेपिने सम्भावना हुन्छ नै । मत्स्यन्याय यो असत्ति संसारको कुरूप रीत हो । ओलीजीको पनि पितामह नियति हुन सक्छ । घरमुली भएर बोल्नु र घरमा पाहुना भएर बोल्नु उही कुरा होइन । झुक्ने र झुकाउने होइन । खराब सपना हो बिगत । गयो, सकियो । अब राम्रो होस् । गर्वसित भन्न पाइयोस् वाह ओलीजी ! बाँकी जिम्मा समयलाई ।
    — धनराज गिरी
    सुगौली सन्धिदेखि आजका दिनसम्म भारतले हामीमाथि गर्दै आएको थिचोमिचो र हाम्रो राष्ट्रियताप्रति खिल्ली उड़ाउँदै सीमाहरुमाथि गर्दै आएको अतिक्रमणको प्रसड्ग हाम्रो इतिहास हो । मोदीलाई गरेको स्वागत सत्कारले हाम्रो खोसिएको इतिहास फिर्ता हुन सक्छ कि सक्दैन, मूल प्रश्न यो हो ।
    — केशवराज आमोदी

    स्वास्थ्यका विषयमा जानिराखौं
    — सुदर्शन आचार्य

    फिटकिरीका यी १० फाइदा
    फिटकिरीले केवल पानी मात्र सफा गर्दैन । यसले स्वास्थ्यमा पनि कैयौं तरिकाले फाइदा गर्छ । यसको प्रयोगले विभिन्न रोगबाट बच्न सकिन्छ । फिटकिरीमा म्याग्नेसियम सल्फेट हुन्छ । म्याग्नेसियम मानिसको कोषको महत्वपूर्ण हिस्सा हो, जसले शरिरमा ३०० भन्दा बढी इन्जाइमलाई रेग्युलेट गरेर हामीलाई स्वस्थ बनाउँछ ।
    मनतातो पानीमा फिटकिरी र कन्डिसनर समान मात्रामा मिलाएर कपालमा लगाउनुस् । १५–२० मिनेटपश्चात चिसो पानीले धुनुस् । हप्तामा एकपटक यस्तो गर्दा कपाल बाक्लो हुन्छ । दुखेको हात वा खुट्टा दुई चम्मा फिटकिरी घोलेको पानीमा डुबाउनुस्, दुखाइ कम हुन्छ । म्याग्नेसियमले शरिरबाट हानिकारक पदार्थ निकाल्छ । तातो पानीमा एक कप फिटकिरी पाउडर हालेर १०–१५ मिनेटपछि त्यो पानीले नुहाउँनुस् । हप्तामा २–३ पटक यस्तो गर्दा छाला स्वच्छ बन्छ ।
    जाडो महिनामा ओठ लगायतको छाला फुट्ने समस्या अधिकांसले भोग्दै आएको हो । फिटकिरी, अलैचीको दाना एक साथ पिनेर छालामा लगाउँदा फुटेको सन्चो हुन्छ । फिटकिरी पानी हप्तामा तीनपटक पिउनुस् । शारिरीक अनि मानसिक तनाव कम गर्न यो निकै फलदायी हुन्छ । फिटकिरी पानीले नुहाउँदा मुटुलाई पनि राम्रो गर्छ । साथै हृदयघातको सम्भावना समेत कम गर्छ ।
    चिसो मौसममा औला सुन्निने समस्या पनि फिटकिरीले समाधान गर्छ । मनतातो फिटकिरी पानीमा सुन्निएको औला डुबाउँदा राहत मिल्छ । टन्सिलको समस्या छ भने फिटकिरी पानीले गारगुर गर्दा छिटो सन्चो हुन्छ । काटेको ठाउँबाट रगत बगेको छ भने फिटकिरी पानीले धुनुस् अनि फिटकिरीको पाउडर लगाउनुस् । रगत बन्द हुन्छ । साथै बगेको रगत बन्द गर्न चिनी पनि निकै सहज घरेलु उपाय हो । (ट्रस्ट खबरबाट)

    थाइराइड भएको कसरी थाहा पाउने ?

    थाइराइड मानव शरीरमा पाइने एंडोक्राइन ग्लैंडमध्ये एक हो । थायरायड ग्रंथि गर्दनमा श्वास नलीभन्दा माथि स्वरयन्त्र दुबै भागमा रहेको हुन्छ । यो पुतलीको आकारमा हुन्छ । यसले थाइराक्सिन नामक हार्मोन बनाउँछ जसले शरीरको ऊर्जा क्षय, प्रोटीन उत्पादन एवं अन्य हार्मोनमा हुने संवेदनशीलतालाई नियन्त्रित गर्छ । सुरुवाती दिनमा सरल रुपमा थायराइडको कुनै पनि लक्षण थाहा हुन नसक्छ । यसको पहिचान हुँदासम्म यसले ठूलो रुप लिइसकेको हुन्छ ।
    थाइराइड हुँदा कब्जियतको समस्या हुने गर्छ । खाना पचाउन समस्या हुन्छ । खानेकुरा सजिलै निल्न सकिँदैन । त्यसले गर्दा शरीरको तौलमा असर गर्छ । थाइराइड भयो भने व्यक्तिको हातखुट्टा चिसो हुने गर्छ । मानव शरीरको तापमान सामान्य यानी ९८.४ डिग्री फारेनहाइट (३७ डिग्री सेल्सियस) हुन्छ । तैपनि व्यक्तिको शरीर चिसो हुने गर्छ । थाइराइड भयो भने शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । इम्यून सिस्टम कमजोर हुँदा थुप्रै रोग लाग्न सक्छ । थाइराइडको लक्षणका क्रममा छिट्टै थकान महशुस हुन्छ । उसको शरीर सुस्त हन्छ । थाइराइड भएको व्यक्ति अल्छी हुनुका साथै शरीरको ऊर्जा समाप्त हुन थाल्छ । थाइराइडबाट पीडित व्यक्तिको अनुहार सुख्खा हुन्छ । त्वचामा रूखोपना आउँछ । त्वचाको माथिको भाग सेललाई क्षति हन्छ । अन्त्यमा त्वचामा सुख्खापना आउँछ । थाइराइड भयो भने व्यक्तिलाई रुघा लाग्ने गर्छ । यो सामान्य रुघाभन्दा अलग हुन्छ । यस्तो रुघा सञ्चो हुँदैन । थाइराइडको समस्या भयो भने व्यक्ति सधैँ डिप्रेशनमा रहन्छ । उसलाई कुनै पनि कुरामा मन लगाएर काम गर्न मन लाग्दैन । दिमागको सोच्ने र सम्झने शक्ति कमजोर हुन्छ । या दगर्ने क्षमता पनि ह्रास हुन्छ । थाइराइड हुँदा व्यक्तिको कलाप झर्ने समस्या देखिन्छ । टाउको कपाल झरेर टाउको कपाल बिहीन हुन्छ । साथै आँखी भौँ पनि झर्ने हुन्छ । मांसपेशी र जोड्नी दुख्ने कुरा पनि थायराइडको समस्याको लक्षणका रुपमा लिनु सकिन्छ । तपाईको परिवारमा कसैलाई थायराइडको समस्या छ भने त्यो समस्या तपाईलाई पनि हुन सक्छ । थाइराइडको समस्या भयो भने शारीरिक वा मानसिक विकासमा समस्या आउन सक्छ । शरीरको विकास अत्यन्तै सुस्त गतिमा हुन्छ । (गोर्खाली खबरबाट)

    रुसका सर्वहारा नेता
    — रामचन्द्र हुमागाई

    त्यसताका पिटेरबुर्ग रुसको राजधानी थियो र मजदुर आन्दोलनको एक महत्वपूर्ण केन्द्र वनेको थियो । त्यहाँ भूमिगत अध्ययन मण्डलीहरु सक्रिय थिए । यस्ता मण्डलीहरुका सदस्यहरु माक्र्सवादको अध्ययन र प्रगतिशील मजदुरहरुबीच माक्र्स र एन्गेल्सको विचारधारा प्रचार गर्थे । यस्तै एउटा अध्ययन मण्डलीमा लेनिनले प्रवेश गर्नुभयो । पुराना पार्टी सदस्य क्रझिझानोभस्कीले आफ्नो संस्मरणमा लेख्नुभएको थियो, हाम्रो उत्तरी भेकमा पनि यी असाधारण व्यक्तित्व देखापरे । माक्र्सको प्रतिभाद्वारा प्रतिपादित वैचारिक अस्त्र कति शक्तिशाली हुन सक्छ भन्ने कुरा यस व्यक्तिले जति अरु कसैले बुझेको थिएन । उसको लागि एक माक्र्सवादी सबभन्दा पहिले क्रान्तिकारी हुनुपथ्र्यो ।
    लेनिन ठूलो स्फूर्ति र अभिलाषासहित क्रान्तिकारी कार्यमा लाग्नुभयो । माक्र्सवादको गम्भीर अध्ययन, रुसी परिस्थितिमा माक्र्सवादी विचारधारा कसरी प्रयोग गरिनुपर्छ भन्ने ज्ञान, मजदुर संघर्षको अजेयताप्रति दृढ विश्वास र महान् संगठनात्मक प्रतिभाले लेनिनलाई छिटै पिटेरवुर्गका माक्र्सवादीहरुको वरिष्ठ नेता बनाए ।
    लेनिनले पिटरबुर्गमा आफ्नो क्रान्तिकारी काम त्यसैताका सुरु गर्नुभएको थियो जुन बेला त्यहाँ व्यापक मजदुर आन्दोलन सुरु हुँदै थियो । रुसमा तीव्र गतिमा औद्योगिक विकास हुँदै थियो । नयाँ कारखानाहरु खुल्दै थिए, मजदुर वर्गको संख्या दु्रग गतिमा बढ्दै थियो । पुँजीपतिहरुको विरुद्ध संघर्ष पनि चर्किदै थियो । आफ्नो ऐतिहासिक भूमिका पूरा गर्नको लागि सर्वहारालाई आफ्नै क्रान्तिकारी मजदुर पार्टीको आवश्यकता थियो । लेनिनले पिटेरवुर्गका माक्र्सवादीहरुको अगाडि यस्तै पार्टीको सिर्जना गर्ने उद्देश्य अगाडि राख्नुभयो ।
    माक्र्सवादी विचारधाराको विस्तार र मजदुर पार्टीको सिर्जनामा उदारवादी नोरोदनिकहरु मुख्य बाधाको रुपमा खडा भए । पिटरबुर्गमा लेनिनले उदारवादी नारोदनिकहरुको विरुद्ध आफ्नो संघर्ष जारी राख्नुभयो । नारोदनिकहरु आफ्ना पुस्तक र पत्रिकाहरुमा आफूलाई जनताका मित्र घोषित गर्दै माक्र्सवादको कडा आलोचना गर्दै सन् १८९४ को गर्मीमा लेनिनले जनताका मित्र को हुन् र उनीहरु कसरी सामाजिक जनवादीहरुको विरुद्ध संघर्ष गर्दैछन् भन्ने पुस्तक लेख्नुभयो । पुस्तकमा लेनिनले नारोदनिकहरुका सैद्धान्तिक दृष्टिकोणहरुको आलोचना गर्नुभएको थियो र उनीहरुको सिद्धान्त गलत तथा हानीकारक छ भन्ने प्रमाणित गर्नुभएको थियो । पुस्तकमा लेनिनले देखाउनु भएको थियो कुनै बखत वास्तविक क्रान्तिकारी भएका नारोदनिकहरु उदारवादी वन्न पुगेका छन् । नारोदनिकहरु सानातिना सुधारहरुको प्रस्ताव राखेर जारशाहीको विरुद्ध संघर्ष गर्ने क्रान्तिकारी लक्षबाट विमुख भएका थिए । लेनिनले उदारवादी नारोदनिकहरु जनताका झुटा हितैषी हुन् र कुलाकहरुको स्वार्थको प्रतिनिधित्व गर्दैछन् भन्ने प्रमाणित गर्नुभयो । उहाँले लेख्नुभएको थियो जनताका वास्तविक मित्र नारोदनिकहरु होइनन्, माक्र्सवादीहरु हुन । आफ्नो पुस्तकमा लेनिनले विस्तृत रुपमा माक्र्सवादी सिद्धान्तको व्याख्या गर्नुभएको थियो र रुसको क्रान्तिकारी कायापलटको लागि यस सिद्धान्तको महत्वबारे विस्तृत विश्लेषण गर्नुभएको थियो । रुसी माक्र्सवादीहरुमध्ये उहाँ पहिलो व्यक्ति हुनुहुन्थ्यो जसले नेतृत्वदायी प्रगतिशील क्रान्तिकारी शक्तिको रुपमा रुसी मजदुर वर्गको भूमिका बुझ्नुभएको थियो । लेनिनले मजदुर वर्ग समस्त श्रमिक जनताको नेतृत्व गर्न समर्थ छ, उसले मात्र हुकुमी शासन र पुँजीवादको उन्मूलन गर्न, श्रमिकहरुलाई संघर्षको मैदानमा उतार्न सक्छ र आफ्ना मजदुरहरुको सत्ता कायम गर्न सक्छ भन्ने देखाउनुभयो ।
    लेनिनले मजदुर वर्ग र किसानहरुबीच एकताको सिद्धान्त प्रतिपादन गर्नुभयो । एकताविना जारशाही जमिनदार, बुर्जुवाहरुको सत्ता उखेल्नु र मजदुर वर्गको सत्ता कायम गर्नु, नयाँ साम्यवादी समाजको निर्माण गर्नु असम्भव थियो । लेनिनले आफ्नो जीवन यसै विचारको अनुसरण गर्नुभयो, यस विचारलाई विकसित तुल्याउँदै जानुभयो, धेरै वर्षसम्म यस धारणाको कार्यान्वयनको लागि संघर्ष गर्नुभयो । लेनिन बारम्बार जोड दिनुहुन्थ्यो विभिन्न माक्र्सवादी अध्ययन मण्डलीहरुलाई एकजुट पारेर एकबद्ध क्रान्तिकारी पार्टीको सिर्जना गर्नुपर्छ र यसै क्रान्तिकारी पार्टीले मजदुर आन्दोलनको नेतृत्व गर्नेछ ।
    जनताका मित्र को हुन् र उनीहरु कसरी सामाजिक जनवादीहरुको विरुद्ध संघर्ष गर्दैछन् भन्ने पुस्तकका थोरै प्रतिहरु गोप्य रुपमा छापिएका थिए र गोप्य तरिकाबाट वितरण गरिएका थिए । पिटेरवुर्गका माक्र्सवादीहरुले यो पुस्तक प्रेसमा छपाउने सम्भावनाको अभावमा हेक्टोग्राफिक छपाई गरेका थिए । यो कृति हातैहात वितरण हुन्थ्यो । पुस्तकबारे गरमागरम बहस चल्यो, उत्तेजित टिप्पणीहरु देखापरे । यो पुस्तक पिटेरवुर्ग, माक्को, निझ्नि नोभगरद, भ्यादिभिर, किभ, रिगा र अरु सहरहरुमा पढिन थाल्यो । श्रममुक्ति दलका सदस्यहरु पनि यस पुस्तकसँग परिचित थिए । पुस्तकले ठूलो तहल्का मचायो । नारोदनिकहरुको विरुद्ध संघर्षमा यस पुस्तकले ठूलो भूमिका खेलेको थियो र रुसी क्रान्तिकारीहरुको लागि मजदुर वर्गको संघर्ष र विजयको बाटो औँल्याएको थियो । यस पुस्तकले प्रकाशनपछि भ्लादिमिर इल्यिचले माक्र्सवादीहरुबीच अझ बढी लोकप्रियता र प्रतिष्ठा हासिल गर्नुभयो । क्रान्तिकारी आन्दोलनको एक सहभागी सेइ मिच्केभिचले आफ्नो संस्मरणमा लेखेका थिए — नवोदित रुसी माक्र्सवादी विचारधाराले लेनिनको रुपमा एक विशाल राजनैतिक एवम् सैद्धान्तिक शक्ति फेला पारेको छ ।

    अमृत वचन
    — रामप्रसाद शर्मा तिमल्सिना

    — कठोर वचन नै वाण हो ।
    — लोभीको भर कहिल्यै नपर्नु ।
    — अर्ति नमान्ने मूर्ख हो । अर्ति दिनेलाई त्यागे मानिस बिग्रन्छ ।
    — प्रिय बोल्नेका धेरै मित्र हुन्छन् ।
    — सोचेर काम गरे दुःख हुँदैन ।
    — धर्मले सबैको कल्याण गर्छ ।
    — सुख र दुःखलाई एकै मान्ने नै धनी हो ।
    — घरमा जे छ त्यो सन्तोषसँग खानु राम्रो गुण हो ।
    — रोग र ऋण छैन भने मानिस खुसी हुन्छ ।
    — नपाउने चीजको आशा गर्नु बेकार हो ।

    प्रतिष्ठानको गणना

    नेपालमा प्रथमपटक सञ्चालन भइरहेको राष्ट्रिय आर्थिक गणनाको जिल्लागत स्थलगत तथ्यांक संकलन भइरहेको छ । सङ्कलनमा खटिएका गणकहरुले प्रतिष्ठानको गणना सम्पन्न गरिरहेका छन् । विभिन्न नगरपालिका र गाउँपालिकामा गणकहरू खटिएका छन् ।
    प्रतिष्ठानले वेभसाइटमार्फत स्वयं विवरण उपलब्ध गराउने गरी दर्ता गरेको अवस्था पनि छ । केही प्रतिष्ठानले पूर्ण विवरण र केही प्रतिष्ठानले आंशिक विवरण ई–सेन्ससमार्फत भरेका छन् । ट्याव्लेटमार्फत भरिएका प्रतिष्ठानको विवरण केन्द्रीय तथ्यांक विभागको सर्भरमा अपलोड भइसकेको अवस्था छ । स्थलगत गणनाको अवधि २०७५ साल वैशाख १ देखि जेठ मसान्तसम्म करिव २ महिना हुनेछ । जिल्लाभित्र गणनाको दिनमा सञ्चालनमा रहेका सबै प्रकारका प्रतिष्ठानहरूलाई गणनामा समेटिनेछ । एउटा निश्चित स्थानमा अवस्थित र सञ्चालित वा एकल स्थानमा अवस्थित आर्थिक एकाइबाहेक निश्चित स्थानमा नभई घुमफिर गरी सञ्चालन गरिएका आर्थिक क्रियाकलापहरुलाई यसमा समेटिने छैन । २०७५ साल बैशाख १ गतेलाई गणनाको सन्दर्भ दिन मानिएको छ ।
    स्थलगत तथ्यांक संकलन सम्पन्न गरिसकेपछि २०७५ साल भाद्रभित्र प्रारम्भिक नतिजा सार्वजनिक गर्ने तथा वर्षको अन्त्यसम्ममा अन्तिम नतिजा सार्वजनिक गर्ने विभागको तयारी छ ।

    डा. सुरेशराज शर्मालाई सम्मान, रमेश खकुरेललाई पुरस्कार

    कुलचन्द्र कोइराला स्मृति प्रतिष्ठानले २०७५ सालको ‘कुलचन्द्र कोइराला समाजसेवा सम्मान’ डा. सुरेशराज शर्मा र पार्थमणि भट्टराईमा समर्पण गर्ने निर्णय गरेको छ । यसै गरी २५ हजार रुपियाँको ‘कुलचन्द्र कोइराला राष्ट्रिय पुरस्कार, २०७५’ कवि रमेश खकुरेललाई प्रदान गर्ने निर्णय पनि गरेको छ ।
    प्रतिष्ठानका अध्यक्ष डा. लोकविक्रम थापाको अध्यक्षतामा बसेको प्रतिष्ठानको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो । समितिमा डा. कुलप्रसाद कोइराला, डा. विष्णुविभु घिमिरे, जीवनचन्द्र कोइराला, रविनचन्द्र कोइराला, माधव कोइराला, डा. विष्णु सापकोटा, हरि मञ्जुश्री, डा. डिल्ली ओली, प्रयागराज वाशिष्ठ र डा. कृष्णप्रसाद दाहाल रहनुभएको छ ।
    यो वर्ष कुलचन्द्र कोइराला स्मृति प्रतिष्ठानको रजतवर्ष पनि परेकाले हरि मञ्जुश्री र जीवनचन्द्र कोइरालाको संयुक्त सम्पादनमा ‘कुलचन्द्र कोइराला स्मृतिग्रन्थ’ को प्रकाशन गरी ‘दीपक’ नामबाट रजतजयन्ती स्मारिका प्रकाशन गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

    ‘रात १३’ उत्कृष्ट

    सर्वनाम थिएटरले आयोजना गरेको ३ मिनेट मोबाइल फिल्म प्रतियोगिता ‘दृश्यांश’ को पहिलो विजेताको पुरस्कार अनुज पाण्डेले निर्देशन गरेको लघुचलचित्र ‘रात १३’ ले हासिल गरेको छ । दोस्रो स्थानमा अर्पण बस्नेतको ‘ढलपल’ र तेस्रो स्थान विजय गजमेरद्वारा निर्देशित ‘द इन्टरभ्यु’ ले प्राप्त गरेको छ ।
    त्यसै गरी पब्लिक च्वाइस अवार्ड लघुचलचित्र ‘अमृत’ ले प्राप्त गरेको छ । शर्मिला आलेद्वारा निर्देशित ‘स्माइल’ ले बेस्ट मेन्सन प्राप्त गरेको थियो । टपटेनमा पर्न सफल नवीन न्यौपानेको ‘द डिपार्चर’, सुन्दर लामाको ‘कथा ः एन इन्टिमेसी विथ टाइम’, नव श्रेष्ठको ‘ए कता’, खुश्बू शर्माको ‘वुमरिङ’, असीमको ‘ड्रिम अफ हाउस वाइफ’, अर्जुन न्यौपानेको ‘महिला कर्मचारी तु आवश्यकता’ पनि दर्शकमाझ प्रदर्शन गरिएको थियो ।
    पहिलो हुनेलाई रु ७५ हजार नगद पुरस्कार, दोस्रो हुनेलाई स्यामसुङ ट्याब ३ भी र तेस्रो पुरस्कारका रुपमा टचकन ट्याब वितरण गरिएको थियो । अडियन्स च्वाइस अवार्डमा ९.७ इन्चको आइप्याड वितरण गरिएको थियो । अवार्डमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई सर्वनामद्वारा निःशुल्क तीनमहिने नाट्य कार्यशालाको पनि व्यवस्था गरिएको छ ।

    विद्यालयमा चुनाव सिकाइँदै

    भक्तपुरको बोडेमा अवस्थित ग्ल्याडस्टोन एकेडेमीले विद्यालयको विद्यार्थी प्रतिनिधि छनोटका लागि मतदान कार्यक्रम सम्पन्न ग¥यो । स्कुल हेड बोय र स्कुल हेड गर्ल छनोटका लागि गरिएको मतदान कार्यक्रममा चारजनाले उमेदवारी दिएका थिए । प्रजातान्त्रिक अभ्यासको नमुनाका रूपमा रहेको उक्त निर्वाचनमा शिक्षक–शिक्षिकासहित ४५१ जनाले सहभागिता जनाएका थिए ।
    विद्यार्थीमाझ चुनावी प्रक्रिया र प्रजातान्त्रिक व्यवस्थाको जानकारीसहित राष्ट्रप्रति विद्यार्थी वर्गले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा सचेतना जगाउने उद्देश्यले सञ्चालन गरिएको मतदान कार्यक्रमले विद्यार्थीहरुमा नेतृत्व तथा आपसी भाइचाराको विकास गर्ने र आजको समयमा राष्ट्र र राष्ट्रियताप्रति विद्यार्थी वर्ग उदासिन बन्दा अनेकौं राष्ट्रिय समस्या सिर्जना भएकाले राष्ट्र र राष्ट्रियताप्रति जिम्मेवार र उत्तरदायी बन्ने भूमिका खेल्ने कुरा विद्यालयका प्रधानाध्यापक विनोदकुमार कोइरालाले बताउनुभएको थियो ।

    चालिसेबाट दस लाखको चेक

    काठमाडौँको अरुणिमा शैक्षिक प्रतिष्ठानद्वारा लक्ष्मी चालिसे शैक्षिक छात्रवृत्तिको स्थापना गरिएको छ । कमजोर आर्थिक अवस्थाका जेहेन्दार छात्राको शिक्षामा सहयोग पुगोस् भन्ने अभिप्रायले श्रीमती लक्ष्मी चालिसेको स्मृतिमा स्थापित उक्त छात्रवृत्तिका लागि शैक्षिक प्रतिष्ठान परिवारलाई साहित्यकार विजय चालिसेले दस लाख रुसपियाँको चेक हस्तान्तरण गर्नुभएको छ । उक्त कोषमा महेन्द्र चालिसेले पनि २ लाख रुपियाँ थपिदिएर भाउजूप्रतिको आदरभाव प्रकट गर्नुभएको छ ।
    छात्रवृत्ति सोही १२ लाख रुपियाँको ब्याजबाट प्रदान गरिने भएको छ ।

    ‘मान्छे र फूल’ लाई पुरस्कार

    गत २७ गते सुदूर पश्चिमाञ्चल साहित्य समाजले १ लाख ११ हजार १ सय ११ रुपियाँ राशिको कृष्णा बद्रीनाथ भण्डारी साहित्य पुरस्कार पहिलोपटक वि. सं. २०७४ का लागि गणेशराज जोशीको कृति ‘मान्छे र फूल’ लाई प्रदान गर्ने निर्णय गरेको छ ।
    पुरस्कारमा नगदका साथमा दोसल्ला र प्रमाणपत्र रहेको छ । पुरस्कार आगामी साउन १० गते वितरण गर्ने कार्यक्रम रहेको छ ।

    एनसेल थ्रिजी ५४ प्रतिशतमा

    एनसेलले आफ्नो थ्रिजी सेवा कुल जनसंख्याको ५४ प्रतिशत जनसंख्याको पहुँचमा पुर्याएको छ । कम्पनीको प्रमुख लगानीकर्ता मलेसियन कम्पनी आजियाटाले सार्वजनिक गरेको सन् २०१७ को एकिकृत वार्षिक प्रतिवेदनमा उक्त कुरा उल्लेख गरेको छ । कम्पनीले गतवर्ष प्रविधि तटस्थताको अनुमति पाएपछि आक्रामक रुपमा विषेशगरी ग्रामिण भेगलाई लक्षित गरी यो सेवा विस्तार गर्न थालेको हो । ९०० मेगाहर्जमार्फत ग्रामिण र दुरदराजका भेगमा दु्रतगतिको मोवाइल डाटासेवाका लागि थ्रिजी सेवाको विस्तार गर्ने बताउदै आएको छ ।
    प्रतिवदन अनुसार एनसेलले सन् २०१७ को अन्त्य सम्ममा २,६९९ थ्रिजी साइटहरु जडान गरी सेवा संचालन गर्दै आएको छ भने फोरजी सेवा १५.५ प्रतिशत जनसंख्याको पहुँचमा पुर्याउदै २१ शहरमा विस्तार गरेको छ । फोरजी र थ्रिजीको विस्तारका कारण एनसेलको डाटा ग्राहक संख्या र इन्टनेटबाट हुने आम्दानी पनि बढेको देखिएको छ ।
    एनसेलले १८०० मेगाहर्ज ब्याण्डमा आफुलाई प्राप्त ११ मेगाहर्ज फ्रिक्वेन्सी मध्यबाट ५ मेगाहर्ज फोरजी सेवा विस्तारमा प्रयोग गरेको हो । कुल आयमा इन्टरनेटबाट हुने आयको १९ प्रतिशत योगदान रहेको र इन्टरनेटबाट मात्र हुने कम्पनीको आम्दानी १७.८ प्रतिशतले बढेको र इन्टरनेट खपतको भोल्युम १३१ प्रतिशतले वृद्घि भएको प्रतिवेदनमा उल्लेख छ । कम्पनीले सन् २०१७ मा रु ५८.१ अर्ब आय गरेको थियो र नेटवर्क र सेवाहरुको गुणस्तर सुधारका लागि रु १२ अर्ब लगानी गरेको प्रतिवेदनले बताएको छ । एनसेलका कुल १ करोड ६४ लाख ग्राहक छन् र ७१ लाख ग्राहकले मोवाइल इन्टरनेट सेवा लिएका छन् ।

    आइएमई र बीएन्डबीको सम्झौता

    आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र बि एन्ड बि अस्पताल प्रालिबिच आफ्ना ग्राहकहरुलाई नगदरहित हस्पिटलाइजेशन सेवा प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौतापश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुलाई बीमालेखको सीमासम्म बि एण्ड बि अस्पताल प्रालिबाट नगदरहित हस्पिटलाइजेसन सेवा प्राप्त हुनेछ र ग्राहकहरुको स्वास्थ सेवामा सहज पहुँचलाई सुनिश्चित गर्नेछ । यस इन्स्योरेन्सले बैंक तथा वित्तीय संस्था, व्यापारिक प्रतिष्ठान, उद्योगी तथा व्यापारी लगायत सम्पूर्ण ग्राहकहरुसंग सुमधुर सम्बन्ध स्थापित गरी व्यवसाय विस्तार गर्दै बीमा क्षेत्रमा उच्चकोटीको सेवा प्रदान गर्ने प्रतिवद्धता सहित आफ्ना कार्यहरु विस्तार गर्दै जानेछ ।
    सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र बि एण्ड बि अस्पताल प्रालिका तर्फबाट उपनिर्देशक डा. निरजलाल बैद्यले हस्ताक्षर गर्नुभएको थियो ।
    त्यही उद्देश्यले नै आइएमई र ब्लु क्रस अस्पताल प्रालिबीच पनि आपसी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक पवन थापा र ब्लु क्रस अस्पताल प्रालिका तर्फबाट सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गर्नुभएको थियो ।

    कलाकार जन्माउँदै ‘च्युर्लुङ झ्याइँ’

    नेपाली चलचित्र उद्योगमा प्रतिदिन नयाँ कलाकारको आगमनले तिब्रता पाएको छ । चलचित्रमा होस या टेलिफिल्ममा, नयाँ कलाकारले अभिनय गर्ने मौका पाएका छन् । पछिल्लो समय सामाजिक सन्जालको बिकाससँगैै विश्व साँघुरिएको छ । नेपालमा पनि एक दशकदेखि सञ्चारको बिकासले तिव्रता लिएको छ । दर्जनौ टेलिभिजन र सञ्चारमाध्यम स्थापना भएका छन् । चलचित्र, बृत्तचित्र, म्युजिक भिडियो निर्माणले पनि तिब्रता पाएको छ । कुनाकन्दरामा रहेका ब्यक्तिले पनि आफ्नो क्षमता प्रस्तुत गर्ने मौका पाएका छन् । यसले नयाँ कलाकारहरु जन्माउँदैछ । पछिल्लो समय सामाजिक सञ्जाल र युट्युवको लोकप्रियताले मनोरञ्जनात्मक तथा सन्देशमुलक सामाग्री प्रसारणमा सहजता ल्याइदिएको छ । युवटुव मार्फत प्रशारण भएको च्युर्लुङ झ्याईं नामक धारावाहिक हास्य टेलिचलचित्र पनि चलचित्र उद्योगमा नयाँ कलाकारहरु लिएर उनिहरुलाई चलचित्र उद्योगमा स्थापित गराउने प्रयास गरिरहेको छ ।
    समसामयिक राजनीतिक विषयका साथै समाजमा घट्ने गरेका विकृतिजन्य कृयाकलापको चिरफार मुख्य उद्देश्य राखेर सामाजिक भावनाको टेलिफिल्म ‘च्युर्लुङ झ्याईं’ युवटुयुवमा चर्चा कमाउँदै गएको छ । सात एपिसोडसम्म प्रसारण भइसकेको छ । म्युजिक एण्ड मुभी एक्सप्रेस नामक युट्युव च्यानलमार्फत सार्वजनिक भएको टेलिचलचित्रको प्रसारण प्रत्येक हप्ताको शनिबार गरिन्छ ।
    रामेश्वर जिरेलको छायाँकनमा निर्माण भएको सो सिरियलमा सुमन श्रेष्ठ (पण्डित), रबिन थापा मगर (दाहिने), तेन्जी लामा (पासा), राजु श्रेष्ठ (घोप्टे), दियाना राई (पूर्णीमा), टिना मगर (डल्ली), राजबम ठकुरी (देब्रे), रहेना राई (राम साईली), श्रिपाल मानाधर (बाल कलाकार), रजिना मर्हजन लगायतको अभिनय रहेको छ ।
    नेपाली चलचित्र उद्योगलाई माया गर्ने प्रतिभावान युवा जमात हास्यरसमा आधारित यो टेलिफिल्म निर्माणमा जुटेको हो । टेलिचलचित्रमा तेन्जी लामाको लेखन तथा निर्देशन रहेको छ ।

     

    २०७५ वैशाख २५ गते मङ्गलबार प्रकाशित विशेष सामग्रीहरू

    सम्पादकीय ः सिन्डिकेट अझै बाँकी

    बल्लतल्ल यातायात क्षेत्रको सिन्डिकेट तोडिएको हो कि भन्ने अनुभूति भएको छ । सरकारले चाह्यो भने र जनप्रतिनिधिहरू पैसामा बिकेनन् भने जनअपेक्षाअनुरूपका कामहरू देशमा हुन सक्ता रहेछन् भन्ने कुराको पुष्टि यसबाट हुन सकेको छ । जनताको पैसाबाट बनेका सडकहरू बेचेर मालामाल हुने यातायात समितिहरूको दादागिरी अब समाप्त हुने हो कि भन्ने आशा जनतामा पलाएको छ ।
    तर यो त यातायात क्षेत्रको मात्र कुरा भयो । यस्ता सिन्डिकेटहरू नेपालमा कति छन् कति ! शिक्षा क्षेत्रमा त्यस्तै सिन्डिकेट छ । स्वास्थ्य क्षेत्रमा त्यस्तै सिन्डिकेट छ । अब त्यस्ता सबै सिन्डिकेटहरूलाई भत्काउन सक्नुपर्छ सरकारले ।
    पहिले सरकारमा विभिन्न दलको प्रतिनिधित्व हुन्थ्यो । कुनै एउटा सांसद सिन्डिकेटवालाको पैसामा बिक्यो भने उसले सरकार गिराइदिने धम्की दिन्थ्यो र सत्तामा टिकिरहनका लागि सिन्डिकेटवालाको माग पूरा गर्न सरकार बाध्य बन्थ्यो । तर अहिले त्यस्तो स्थिति छैन । राजनीतिले कोल्टे फेरिसकेको छ । सरकार बहुमतका आधारमा बनेको हुनाले सरकारको तख्ता पल्टाइदिन्छु भनेर धम्की दिने सिन्डिकेटवाला व्यवसायीहरू आत्तिएका छन् जनताले तिरेको करबाट निर्माण भएका संरचनाहरूलाई वैयक्तिक हितमा प्रयोग गर्न सकिएन भनेर । उनीहरूको कुत्सित मनसाय र उद्देश्य बुझेर सरकारले आफ्नो उपस्थितिको दह«ो प्रमाण जनताका अगाडि प्रस्तुत गर्नैपर्छ ।
    सिन्डिकेट तोड्नु सर्वसत्तावाद लाद्नु होइन, जनताको आकाङ्क्षाअनुसार चल्नु हो भन्ने कुरा बुझ्नु आवश्यक छ ।

    को छैन तस्कर ?
    — प्रा. डा. गोपाल शिवाकोटी

    पहेलो सुनको कालो धन्दामा लाग्ने तस्करको हुललाई पक्राउ गरेर विराटनगरमा बयान लिने काम भइरहेको छ । खडा गरिएका अभियुक्तलाई हेर्दा मेला भर्न आएको भीडजस्तो देखिन्छ । यसमा प्रहरीका उच्च अधिकारीदेखि लोडरसम्मका कर्मचारी र भरियालगायत सबैको समावेशी चरित्र देखिन्छ । यो भीड हेर्दा को तस्कर छैन भनेर राँको बालेर खोज्नुपर्ने स्थिति आएजस्तो लाग्छ । यसले नेपालमा यसअघि दिइएको सुशासनको नाराको भन्डाफोर भएको छ । सुशासन सरकारी संयन्त्रमा नरहेर तस्करहरुमा संस्थागत विकास भएजस्तो देखिन्छ । यसैले अहिलेको ३३ किलो सुन प्रकरणमा लहरो तान्दा पहरो खसालिँदै जाने काममा को मात्र बाँच्लान् भन्ने प्रश्न उठेको छ । वास्तविक नाइकेकहाँ पुग्नुअगाडि छानबिन बन्द हुने आशंका उत्पन्न भएर सबै पक्षबाट सुनतस्करीको अनुसन्धान नबटारियोस् भन्ने माग हुन थालेको छ । अहिलेको अनुसन्धान हेर्दा बारम्बार लिक छोडेर अन्यत्रै जाने र अनुसन्धानलाई तुहाउने सेटिङ भैरहेजस्तो देखिएकाले यो आशंका उत्पन्न भएको हो । अहिले अनुसन्धानमा तस्करहरुको डायरी, बयान र टेलिफोन कलबाट बयान लिइएको र डीआईजीकै स्कर्टिङमा सुनतस्करीको कार्य भएको कुरा खुल्न आएकाले अरु कोको यस काण्डमा मुछिने हुन्, केही भन्न सकिने अवस्था छैन ।
    ३३ किलो सुनको तस्करी काण्डमा ६३ जनामाथि मुद्दा चलाइए पनि वास्तविक मालिक अझै पत्ता लागेको छैन । गृह मन्त्रालयअन्तर्गत गठन भएको छानबिन समितिको प्रतिवेदनलाई मुद्दाको आधार बनाएर मुद्दा दायर गरिएको छ । यो काण्डमा प्रहरीका उच्च अधिकृतसम्मको संलग्नता रहेको आशंका गर्दै मुद्दा दायर गरिए पनि अनुसन्धानको पाटो एकपक्षीय भएको शंका गरिएको छ । प्रतिवेदनमा प्रहरीलाई मात्र छानबिनको दायरामा ल्याइएको छ तर विमानस्थलका कर्मचारी तथा उनीहरुलाई संरक्षण दिने उच्चस्तरका राजनीतिक नेता र कर्मचारीहरु नरहे यति ठूलो काण्ड बन्न सक्ने थिएन भन्ने अनुमान गरिएको छ । सुनतस्करी शून्य हुनुपर्नेमा कुख्यात अपराधी चाल्र्स शोभराजले त्रिभुवन विमानस्थलबाट हात्तीसमेत छिराउन सक्छु भनी गरेको दावी प्रमाणित भएको छ । त्रिभुवन विमानस्थलबाट हुने तस्करीमा कमी नआएको यसबाट प्रमाणित भएको छ, खाली रुट, विमान र मानिस बदलिएका छन् । बेलामौकामा तस्करी भएको सुन पक्रिइन्छ । स्वयं तस्करहरुले प्रहरीलाई सूचना दिएर सुन पक्राउँछन् र त्यसरी पक्रिएको सुनको कमिसन त्यहाँका कर्मचारीले पाउने गरेका छन् । सुनलगायतका तस्करीमा १२ चोटीमा एकचोटी मात्र पक्रिने र ११ चोटी सेटिङमा छोडिदिने कार्य पञ्चायतकालमै थाहा भएको थियो ।
    केही समयअगाडि नेपालबारेको एक अमेरिकी प्रतिवेदनमा नेपाल तस्करहरुका लागी सुरक्षित बाटो हो भनी खुलासा गरेको थियो । नेपालबाट सुन र लागूऔषध लगायतको तस्करी हुने गरेको भन्दै खुला सिमानाको फाइदा उठाएर तस्करी हुने गरेको जानकारी गराएको थियो । तर यस काण्डमा प्रहरी प्रशासन संलग्न भएकाले प्रहरीको घेराबाटै तस्करी हुने गरेको छ र यसको लागी खुला सिमाना पर्खनुपर्दैन भन्ने देखिएको छ ।
    नेपालबाट तस्करी गर्ने काम पञ्चायतकालमा संगठित रुपमा भएको थियो । २०२८–२९ तिर ठूलो मात्रामा एकजना सचिवको सेटिङमा चामलको तस्करी बंगलादेश भएको खुलासा भएको थियो । २०३६–३७ ताका नेपालबाट ठूलो मात्रामा सर्पको छाला तस्करी भएको थियो । तस्करीमा त्यसबेलाका प्रधानमन्त्री सूर्यबहादुर थापादेखिकै संलग्नता रहेको भनी विरोध भएको थियो । त्यसैबेला परम्परागत तस्करीबाट आधुनिक तस्करीको युग सुरु भएको मानिन्छ । त्यसै बेला पाम आयलको तस्करीजस्ता ठूला काण्डहरु घटेका थिए । यो राज्यकै संलग्नतामा भएको, यसमा राजदरबार पनि मुछिएको, यसबाट पञ्चायतलाई जिताउन पैसा संग्रह गरिएको थियो भन्ने भनाइ छ ।
    पञ्चायतको अन्तिम समयमा राजदरबारका उच्चपदस्थ व्यक्तिहरुबाट सबै किसिमका तस्करीहरु प्रहरी प्रशासनको सहयोगमा हुने गरेको थियो । त्यसबेला राजकुमारहरु, आईजीपी डीबी लामा, सेनाका कर्णेल भरत गुरुङ तस्करी काण्डमा परेका थिए । उनीहरुको घर जफत भएको थियो । भरत गुरुङबाट जफत गरेको घरमा अहिले काठमाडौँ जिल्ला प्रशासन कार्यालय रहेको छ भने अर्काे जफत गरेको त्रिदेवीमार्गको भवनमा पनि सरकारी कार्यालय रहेको छ । दरबारियाहरुको आपसी विवाद, अझ धीरेन्द्र शाह र रानी ऐश्वर्यबीचको मतभेदले गर्दा तस्करीको कार्य बाहिर आएको थियो, जसबाट नेपाल छोडेर धीरेन्द्रले लन्डन भाग्नुपरेको थियो । भरत गुरुङ र डीबी लामा जेल परेका थिए । पञ्चायत व्यवस्था गयो, तर जाने बेलामा पञ्चायतलाई बचाउन र भारतले गरेको नाकाबन्दीलाई परास्त गर्न सिंगापुरदेखि तस्करलाई संगठित रुपमा नेपालमा तस्करी गर्ने सुविधा उपलब्ध गराइयो र नेपालमा संगठित रुपमा अपराध सुरु भयो । यसबाट विश्वका कुख्यात माफियाहरुको हातमा नेपालको प्रशासन र राजनीतिक क्षेत्र पुग्यो । माफियाकै निर्देशनमा सरकार चल्न थाल्यो र उनीहरुकै हातमा राजनीति आयो ।
    पञ्चायत कालको सुरुदेखि नेपालमा मन्दिरबाट पुरानो मूर्ति चोरी गरेर तस्करी गरेर विदेश निकासा गर्ने काम संगठित रुपमा हुन थाल्यो । दरबारियाहरुकै ब्यागमा राखेर मूर्तिहरु जहाज चढाइन्थे । खोजीमा गएका प्रहरीहरु सलाम ठोकेर फर्किन्थे । प्रहरीहरु ‘मुसा भनेर समात्न गएको त बाघको पुच्छर पो रहेछ, बाघले झम्टेपछि टाप ठोकेँ’ भन्ने गर्थे । त्यसबेला नेपालका ३ सयभन्दा बढी बहुमूल्य मूर्तिहरु तस्करी गरिएका थिए । त्यसमध्ये १०–१२ वटा मूर्ति मात्र नेपाल ल्याइएका छन् । पछिल्लोपटक तीनवटा मूर्तिमा उमामहेश्वर र बुद्धको खडा भएको मूर्ति अमेरिकाबाट फिर्ता गरिएको छ ।
    सुनतस्करीको पञ्चायतकालीन परम्परालाई बहुदलीय संसदीय व्यवस्थाले पनि साथ दियो । निर्वाचनको खर्च जुटाउन सुनतस्करी लगायतका कार्य हुने गरेको थियो । त्यसबेला भारतबाट नेपाल हुँदै इरानसम्म अणुबम बनाउन हुने युरेनियम तस्करी भएको थियो । यसैलाई उत्सर्जन गरी इरानले बम बनाएको हो ।
    नेपालबाट लागूऔषधको कारोबार पनि पञ्चायतकालदेखि निरन्तर रुपमा चलिआएको छ । अफिम, एसएलडी, खैरो हिरोइनजस्ता लागूपदार्थहरु पूर्वको गोल्डेन ट्रेङ्गल अर्थात थाइल्यान्ड, लाओस र बर्माको सीमाबाट नेपालमा आई तेस्रो मुलुकमा जाने गरेको छ । गोल्डेन क्रिस्टबाट अर्थात् अफगानिस्तान, पाकिस्तान र इरानको त्रिकोणबाट नेपालमा लागूपदार्थ आएर अमेरिका जाने गरेको छ भने अफ्रिकाबाट पनि नेपाललाई तस्करीको ट्रान्जिट बनाइएको छ । बहुदलीय कालमा वामदेव गौतम गृहमन्त्री हुँदा डीएसपीको सहयोगमा एक क्विन्टलभन्दा बढी सुन भित्रिएको भनेर आलोचना भएको थियो । यसपछि एमाले पार्टीको विभाजन हुन पुगेको हो ।
    योभन्दा अगाडि ल्हासाबाट कोदारी हुँदै ठूलो मात्रामा सुनतस्करी भारतसम्म हुने गरेकाले चीनले यो बाटोलाई अवरोध गरिदिएको छ । त्यसपछि रसुवा नाका प्रयोग गरेर तीसौँ किलो सामान गाडीमा राखेर काठमाडौँ ल्याएको र यसमा चिनियाँ नागरिकसमेत संलग्न रहेको कुरा केही अगाडि खुल्न गएको थियो । अहिलेसम्म भरियाहरु मात्र पक्रिने र अरु गुप्त रहने गरेका थिए । नेपालका सबै ठूला सुनका व्यापारीहरु सुनका काण्डमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा संलग्न रहेको र केही नेपाल छोडेर भागेको पाइन्छ । अहिले ठूलो मात्राको सुन त्रिभुवन विमानस्थल भन्सारको माध्यमबाट बाहिरिएको हो । एउटा भरिया मारिएपछि धेरै मात्रामा मान्छेहरु पक्राउ भएका छन् तर सुन अझै बेपत्ता छ ।
    अहिले धेरैजना आफ्नो गच्छेअनुसार तस्करीमा संलग्न रहेको पाइन्छ । ड्राइभरहरु लुकाउने ठाउँमा हालेर वा ट्यांकरमा हालेर गाँजा–चरेस तस्करी गर्दछन् । बाटोमै अन्डरग्राउन्ड भण्डारन केन्द्र खोलेर पेट्रोल तस्करी गर्ने गरेको थाहा भएपछि नयाँ किसिमको ताल्चा लगाउने काम सुरु गरिएको छ । भारतबाट नाकाबन्दी गरेको समयमा तस्करी सिमावर्ती क्षेत्रमा नियमित रुपमा विकसित भएको थियो । यसलाई राजनीतिक र प्रशासनिक संरक्षण थियो । अहिले अनियमित कार्य गर्ने र भ्रष्ट भएको भनी प्रहरीका धेरै नाइके जेलमा परेका छन् । सुडान घोटाला काण्ड अझै बाँकी रहेको छ । हिजोका लाउडा काण्ड, साउथ इस्ट चाइना एयरकाण्ड पनि माथिल्लो तहकै संरक्षणमा भए र किनारा नलगाई समाप्त भए ।
    तस्करी र अनियमितता गर्ने भ्रष्टहरुलाई राजनीतिक र उच्च ओहदाको संरक्षण छ । हिजो राजखलकको संरक्षण पाएकोमा अहिले पार्टीका नेता तथा मन्त्री, प्रधानमन्त्री, ठूलो ओहदाका कर्मचारीहरुको संरक्षण छ । कतिपय राजदूतहरुलाई यस्तो कुराको सेटिङ मिलाउन विदेश राखिएको छ । अदालत पनि भ्रष्टाचारको मामिलामा जकडिएको छ । भ्रष्टाचार निवारण गर्न बनेका संस्था नै भ्रष्टाचारीको संरक्षणमा रहेको कुरा लोकमानसिंह कार्की प्रकरणले जगजाहेर भैसकेको छ । तस्करहरुलाई अदालतमा लगेपछि विशेष अदालतले थोरै रकम धरौटीमा लिएर छोड्ने गरेकाले पनि तस्करीले प्रोत्साहन पाएको छ । यसबाट जिम्मेवार निकायहरुमा सेटिङ मिलाइएको त छैन भन्ने आशंका उत्पन्न भएको छ ।
    नेपालमा अलिकति राम्रो ठाउँमा पुग्नेबित्तिकै अकुत सम्पत्ति कमाउने गरेको प्रतिवेदन सरकारलाई दिइएको छ तर अकुत सम्पत्ति कमाउनेहरुमाथि कुनै कार्बाही गरिएको छैन । ठूला–ठूला घर र टावरहरु खडा गरिएका छन् । हिजोसम्म चप्पल लगाउने व्यक्तिहरु पदमा पुगेपछि पाँच वर्षभित्रै मोटाएर अरबपति बन्ने गरेका छन् । उनीहरुले निर्वाचनमा बढी खर्च गरेको कुरा हालैको निर्वाचनबाट खुलेको छ । अहिले सेटिङ मिलाएर निर्वाचन क्षेत्र विकासको नाममा दस करोड रुपैयाँ प्रतिव्यक्ति राष्ट्रको सम्पत्तिको लागी सिन्डिकेट बनाएर लागिपरेका छन् । उनीहरुलाई साढे पाँच अरब दिने प्रस्ताव अर्थ मन्त्रालयमा पुगेको छ । यसैले भ्रष्टाचार गर्नु र मुलुकलाई खोक्रो बनाउनु उनीहरुको संस्कृति र अधिकार भएको छ । अहिले सुशासनको कुरा गरे पनि यस्तो अवस्थाले सुशासनको अनुहार बाहिर आएको छ । विद्यार्थीबाट चर्काे शुल्क लिन उनीहरुकै सिन्डिकेटमा चर्को शुल्क असुलेका छन् । अस्पतालले चर्काे शुल्क असुलेका छन् । मेडिकल कलेजमा भएको माफियातन्त्रको विरुद्ध गोविन्द केसीले १४ चोटी अनसन बस्नुप¥यो । ठूला डनहरुलाई दल र नेताहरुले संरक्षण दिएका छन् । डनहरुकै संरक्षणमा तस्करी भैरहेको कुरा अहिलेको काण्डले खुलस्त गरेको छ । प्रत्येक चरणमा भ्रष्टाचार छ, तस्करी छ, अनियमितता छ । सुनदेखि टाउकोमा टोकरी बोेकेर गाँजा–चरेसको तस्करी भइरहेको छ । अहिले नेपालमा को तस्कर, भ्रष्ट र राष्ट्रविरोधी अपराधी छन् भनी खोज्नुभन्दा को सद्दे छ भनी राँको बालेर खोज्नुपर्ने अवस्था छ । मुलुकलाई जसले जति सक्दो खाऊ, जतिसक्दो लुट भनी छोडिदिएजस्तो भएको छ । इमानदारी र नैतिकता टाट पल्टेको छ । नेपाल इमानदार र नैतिक मानिस जन्माउने काममा बाँझो त परेको होइन भन्ने प्रश्न कालसर्पको नाममा ठगी गर्ने ज्योतिषहरुलाई सोध्नुपर्ने भएको छ ।

    मोदीको मलम
    — युवराज शर्मा

    फेरि एकपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण हुँदैछ तामझामका साथ, ठूलो तयारीका साथ । मिडिया, सरकार र दलका नेताहरूलाई यसबाट ठूलो राजनीतिक दसैँ–तिहार र छठ आएको जस्तो भएको छ । तर राष्ट्रवादी, राष्ट्रप्रेमी, स्वतन्त्र न्यायप्रेमी जनतालाई चाहिँ कागलाई बेल पाक्यो हर्ष न बिस्मातको स्थिति छ । साँच्चै भनौँ भने अब त आम स्वाभिमानी नेपाली जनतालाई मोदीले केही दिन्छन् कि भन्ने त आशै छैन, सिर्फ आग्रह मात्र छ भूकम्पपीडित जनताको आलो घाउमा नाकाबन्दीय नुनचुक छरेजस्तै गरी दुःख नदिए हुन्थ्यो । मुखमा रामराम बगलीमा छुरा नगरे हुन्थ्यो ।
    त्यसो त नरेन्द्र मोदीले नेपाललाई यति सहयोग गर्ने र यो कार्यक्रमको उद्घाटन गर्ने भनेर पनि समाचारहरू प्रकाशनमा आएका छन् । तर भारतप्रति नेपाली जनताको मनमा गढेको पीडामा त्यसले मलम लगाउन सक्तैन । नरेन्द्र मोदीले त्यसको प्रायश्चित्त गर्न खोजेका हुन् भने त्यो पनि सम्भव छैन । भूकम्पले थिलथिलो बनेका नेपाली जनतालाई थप पीडा दिन अघोषित आर्थिक नाकाबन्दी लगाएको विषयलाई लिएर आफ्नो सम्बोधनमा उनले क्षमा मागे भनेचाहिँ सहृदयी नेपाली जनताले त्यसलाई घाउको मलम सम्झनेछन् ।

    निर्धक्क निर्णय फुर्सदमा पश्चात्ताप
    — रामचन्द्र हुमागाईं

    वैशाख १८ गते । मुलुक संघीयतामा गैसकेको छ । सातवटा संघ मिलेर बनेको नेपाललाई नयाँ नेपाल बनाउन त्यति सजिलो छैन । सबैभन्दा असजिलो समस्या भनेको आर्थिक हो । अर्थमा प्रभाव पार्ने बस्तु भनेको राजश्व हो । राजश्व उठाउने ठाउँ निकै कठिन मोडमा छ । प्रदेशको राजधानी भारतको सिमानामा लगेर राखिएको छ । सिमानापारि ठुलाठुला दैनिक उपभोग्य सामान बिक्री गर्ने पसलहरू छन् । ती पसलका उपभोक्ताहरू नेपाली नै हुन् । मुख्यमन्त्री र उनका परिवार पनि दैनिक उपभोग्य सामग्री खरिद गर्न तिनै पसलहरूमा पुग्छन् । राजश्व तिरेर ल्याएको सामान र सिमानापारि खरिद गरिएको सामानको मूल्य बराबर हुन्छ । यसले गर्दा नेपालमा राजश्व उठ्तैन । तर यो विषयमा सरकार मौन छ । कसरी संघीयता सफल होला र खोइ ?
    वैशाख १९ गते । बाहिरी चक्रपथको चर्चा चलेको कति वर्ष भयो, यकिनका साथ भन्न नसकिए पनि दस वर्ष त पक्कै वित्यो । दस वर्ष भनेको कमाई खाने वर्ष हो । कुनै उद्योगपति वा व्यापारीले दस वर्ष पायो भने बीस अर्ब कमाइदिन्छ । सरकार पनि एक किसिमको व्यापारी नै हो । सरकारले नाफा कमाएन भने दैनिक कारोवार चल्दैन । नचलेपछि सरकार टिक्तैन । संसारमा नेपाल मात्रै एउटा यस्तो देश हो जहाँ आम्दानी नभए पनि आफूलाई प्रशस्तै खर्च पु¥याउन सक्ने भएकाले मात्रै चलेको छ । बाहिरी चक्रपथको पनि यही हालत हो । दस वर्ष अघि र पछिको आर्थिक समानता एकै ठान्छ र निर्धक्क निर्णय गर्छ, फुर्सदमा पछुताउँछ ।
    वैशाख २० गते । लगानी वोर्डले खानीखोलादेखि धुलिखेलसम्म मेट्रोट्रेन चलाउने योजना बनाएर सार्वजनिक पनि गरिसकेको छ । यो र यस्ता मात्रै होइन, लगानी बोर्डले निकै ठूलाठूला योजना पनि बनाइसकेको छ । योजना अनुसार काम पनि भए त राम्रै होला । होइन, अन्य योजना जस्तै निर्धक्क निर्णय गर्ने फुर्सदमा पछुताउने भयो भने यस्ता योजनाको के अर्थ रहला र ?
    वैशाख २१ गते । बाजेको सेकुवा । एकताकाका सेकुवा पारखीहरूको मुखमा निकै प्यारो बनेको शव्द हो यो । बाजे बुढा पूर्वतिरबाट मासु व्यापार गर्दै काठमाडौं छिर्न वाध्य बनाउने माओवादीहरूलाई निकै प्रशंसा गर्ने गर्थे तर अहिले उनका छोराहरू मासु व्यापार गरेर नपुगेर सुन तस्करीमा लागेको सुन्दा ती सेकुवा पारखीहरू के गरेर वसेका होलान् ? कि यो पनि निर्धक्क निर्णय गरेर फुर्सदमा पछुताएजस्तै हो ?
    वैशाख २२ गते । महान् साम्यवादी दर्शनका भीष्मपितामह कार्ल माक्र्सको २०० औं जन्मजयन्ति । उनका अनुयायीहरू विश्वमा फैलिएर बसेका भए पनि अधिकांशले उनलाई सत्ताको सिँढी बनाएमा छन् । सात अर्ब जनतामध्ये पाँच अर्बभन्दा बढीका प्यारा कार्ल माक्र्सले आर्जन गरेको पुँजी (अर्थतन्त्रको ऐतिहासिक दस्तावेज) लाई सामन्तवादले तोडमोड गरेर आफ्नो नियन्त्रणमा लिइरहेको अवस्थामा पनि माक्र्सको महत्व उत्तिकै रहेको पाइन्छ ।
    वैशाख २३ गते । खर्बौ लगानी गरेर अर्बौं आर्जन गर्ने तर देशलाई दुई पैसा पनि राजश्व नतिर्ने यातायात व्यवसायी र सरकारबीच ठूलै युद्ध चल्ला जस्तो छ । सिन्डिकेटका विरुद्ध सरकारले जे निर्णय ग¥यो त्यो निर्णयको खिलाफमा उत्रिएका यातायात व्यवसायीहरूले योपटक निकै ठूलो चोट खानुपर्ला जस्तो छ । सेवाको नाममा मेवा खाने बानी परिसकेपछि सजिलै स्वाद गुमाउन को नै पछि हट्ला र !
    वैशाख २४ गते । हतारमा निर्णय गरेर फुर्सदमा पछुताएको एउटा महत्वपूर्ण विषय यो वर्षको वाम एकता पनि हो । गत निर्वाचनमा धुलो चटाइमा परिन्छ भनेर हतार हतारमा एमाले—माकेले पहिले निर्वाचनमा जाउँ, पछि एकता गरौंला भनेर सहकार्यमा निर्वाचन त लडे तर अहिले भागबण्डा नमिल्दा पछुताएर आजै एकता हुन्छ, भोली नै एकता हुन्छ भनेर बाहिर ¥याल काढिरहेका छन् तर वार्तामा बसेर पिस्नुपरेको चक्कीले हैरान भएर राजनीतिबाटै संन्यास पो लिने हो कि भन्दै हिडेको पनि सुन्नमा आएको छ ।ं

    अनि लाजले शिर निहुरिन्छ
    — मुकुन्दप्रसाद उपाध्याय

    भ्रष्टाचार भन्नासाथ हामी आर्थिक भ्रष्टाचार भनेर बुझ्ने गर्दछौँ । तर यथार्थमा भ्रष्टाचार शब्द भ्रष्ट र आचार शब्दबाट बनेको हुन्छ । अर्को पाटोबाट बुझ्दा सदाचार वा श्रेष्ठाचारको विपरीतार्थ अर्थबोध हुन्छ भ्रष्टाचार शब्दबाट । वर्गीय कित्ता, वर्गीय जिम्मेवारी र उत्तरदायित्वअनुसार कुन वर्गका लागि कस्तो भ्रष्टाचारचाहिँ महापाप वा भनौँ अक्षम्य अपराध हो त भन्ने पक्षको परिचर्चा हुनु पनि सान्दर्भिक नै देखिन्छ ।
    गत हप्ता मिडियामा आएको ३३ किलो सुनतस्करी प्रकरणको निकै चर्चा छ । त्यो तस्करीमा प्रहरीका जिम्मेवार अधिकृत र उच्चपदस्थ पदाधिकारीहरूसमेत मुछिएको समाचारले सारा राष्ट्र स्तब्ध भएको छ । यसअघि सुनकाण्डमा तस्कर, व्यापारी र राजनीतिक नेतृत्वको नाम आउँदा ‘ए, भ्रष्ट भएछन्’ भनिन्थ्यो मानौँ सानोतिनो अपराध वा कसुर हो, महाअपराध, महापाप वा जघन्य अपराध होइन । तस्कर व्यापारीहरूको वर्गीय अभीष्ट नै जसरी पनि कमाउनु, ठगी गर्नु हुन्छ । राजनीतिकर्मीको पनि नेपाल र भारतजस्ता देशमा, जहाँ आवधिक निर्वाचनमा भ्रष्ट मतदाताहरू किनेर नै निर्वाचन जित्नुपर्ने बाध्यात्मक परिस्थितिले आर्थिक भ्रष्टाचार जघन्य अपराध नहोला । तर तिनै राजनीतिकर्मीले राष्ट्रियता, स्वाधीनता, क्षेत्रीय अखण्डतामा सम्झौता गरे, चुके वा बेइमानी गरे भनेचाहिँ त्यो महाअपराध, जघन्य अपराध, महापाप ठहर्छ । तर प्रहरी अधिकृतहरूबाट, जो समाज र जनताका रक्षक मानिन्छन्, समग्रमा एउटा बर्दीधारी व्यक्ति सरकारकै प्रतिनिधि पात्र हुन्छ र राष्ट्रसेवक कर्मचारी भएकाले गरिब जनताले तिरेको करबाट तिनका परिवार भरणपोषण गर्न पुग्ने खान्की (तलब, भत्ता तथा पेन्सन सुविधा) दिएकै हुन्छ, त्यस्ता प्रहरी अधिकृतहरू सुनकाण्डमा मुछिनुचाहिँ सारा राष्ट्र स्तब्ध हुनुपर्ने विषयचाहिँ पक्कै हो । यस्तो काण्डमा प्रहरीको संलग्नता हुनु अनि प्रहरी अधिकृतहरूबाट पीडित पक्षको पृष्ठपोषण नभई पीडक पक्षको पृष्ठपोषक, पीडक पक्षको दावेदार वकिल भइदियो भनेचाहिँ त्यो कसुर जघन्य अपराध, महापाप नै हो ।
    जस्तै प्रायः सबै देशका छापाहरूमा यौन शोषणका घटनाहरू आइरहन्छन् । ती समाचारले हाम्रो, हामी सबै पाठकको ध्यानाकर्षण गर्छन् नै । तर कुनै दिन सामूहिक बलात्कार, बालिका बलात्कार, हाडनाता बलात्कार, प्रहरी सेनाका जवान अफिसरबाट बलात्कार जस्तो समाचार आउँछ, हामी सबैको गम्भीर ध्यानाकर्षण हुन्छ । हामी त्यसलाई ठूलो अपराध मान्दछौँ पनि । तर कुनै दिन कुनै श्रद्धेय, आदरणीय, पथप्रदर्शक धर्मगुरुहरू बलात्कारको कसुरमा दोषी ठहर भएको समाचार आउँछ, तब सिङ्गो राष्ट्र स्तब्ध हुन्छ । राष्ट्रको समुदायकै शिर लाजले निहुरिन्छ । त्यो महाअपराध हुन्छ । अक्षम्य, जघन्य महापाप ठहरिन्छ । किनभने धर्मगुरु, समाजसुधारक, अगुवाहरूको सम्पत्ति, पुँजी र सर्वस्व भनेकै चरित्र हुन्छ ।
    अर्थात् हरेक वर्गविशेषको वर्गीय कर्मधर्म हुन्छ । त्यो कर्मधर्मको निर्वाह गर्नबाट ऊ चुक्यो, विचलित भयो भने त्यो कसुरचाहिँ महापाप, जघन्य अपराध नै ठहर्छ । जस्तो खाद्यव्यापारीका लागि आर्थिक भ्रष्टाचार, मुनाफाखोरी महापाप नहोला, तर खाद्यपदार्थमा अखाद्य वस्तु मिलावट, म्याद गुज्रेका औषधि बिक्री आदि महाअपराध मानिन्छ । एउटा शिक्षकका लागि प्राइभेट ट्युसन सामान्य कसुर मानिएला, तर कमसल विद्यार्थी, फेल भएको विद्यार्थीलाई बढी अङ्क थपेर पास गर्नु र पास भएको विद्यार्थीको अङ्क घटाएर फेल गरिदिनुचाहिँ वर्गीय दृष्टिले महापाप, जघन्य अपराध नै मान्नुपर्ने हुन्छ । अझ त्यसमाथि पनि आम जनताको जीवनसँग खेल्नुपर्ने मेडिकल तर्फबाट विद्यार्थीको हकमा त्यसो गर्नु त अक्षम्य अपराध नै ठहर्दछ । त्यसो गर्न–गराउन भनसुन गर्ने, सामाजिक–राजनीतिक दबाब दिनेहरू पनि अपराधी नै ठहर्दछन् ।
    पेसागत इन्जिनियरहरूको कुरा गर्दा ठेक्कापट्टा, लागत इस्टिमेट आदिमा ५ — १० प्रतिशत कमिसन आदिलाई सामान्य कसुर र अनैतिक कार्यसम्म मान्न सकिएला, तर असमयमै ढलेर ठूलो धनजनको क्षति हुने जान्दाजान्दै गुणस्तरहीन, कमसल सार्वजनिक निर्माणका भवन पुल आदिको जाँचपास गरिदिनुचाहिँ जघन्य अपराध, महापाप ठहर्दछ ।
    नेपालमा पद, प्रतिष्ठा र पहुँचले उच्च स्थानमा पुगेका वरिष्ठहरूको दुईथरि सोच देखिन्छ — ‘म सबैलाई ठीक गर्छु, हेर्दै जाऊ न’ भन्ने एउटा सोच, र ‘म पनि सच्चिन्छु, आत्मसमीक्षा गर्छु र सबैलाई मिलाएर लैजान्छु’ भन्ने सोच । पहिलो श्रेणीमा पर्नेहरूमा राजा–महाराजा, सनापति, प्रहरी प्रमुख, सचिव आदि, संवैधानिक प्रमुख, न्यायमूर्तिहरू देखिन्छन् । उदाहरणका लागि नामै लिएर भन्नुपर्दा पूर्वराजा ज्ञानेन्द्र, पूर्व अख्तियार प्रमुख लोकमानसिंह कार्की, पूर्व प्रधान न्यायाधीश गोपाल पराजुली आदि पर्दछन् । दोस्रोथरिको सोच पाल्नेहरूमा यथार्थमा समाजसेवी, राजनीतिज्ञ, जनप्रतिनिधिहरू पर्दछन् । राजनीतिकर्मी, जनप्रतिनिधि, मन्त्री, प्रधानमन्त्री (अब त मुख्यमन्त्री पनि) हरूमा केही आर्थिक भ्रष्टाचार, नातावाद, कृपावाद र अलिअलि सर्वसत्तावादका बाछिटाहरू देखिए पनि आत्मालोचना, आत्मसमीक्षा गरेर आफूलाई सच्याउने, सुधार गर्ने र सबैलाई (आफ्ना विरोधीहरूलाई पनि) मिलाएर लैजान्छु भन्ने सोच देखिन्छ । यसो हुनुको कारण सायद लोकतन्त्रमा हुने आवधिक निर्वाचन नै हो । पहिलो कोटिकाले पटक–पटक आफ्नो परीक्षा दिइरहनैपर्दैन । आफूलाई जनअनुमोदन लिनैपर्दैन । त्यसैले त्यस्ता प्रशासक, न्यायाधीश, मठाधीश, विभिन्न पति (सेनापति आदि), संंवैधानिक आयोगका प्रमुखहरूमा पदीय दम्भ, अहङ्कार र सामन्तवादी प्रवृत्ति बढी देखिन्छ । त्यसैले उनीहरू भन्छन् — ‘म सबैलाई ठीक पार्छु ।’ पदच्युत हुनुभन्दा हप्ता दिन अघिसम्म पनि माथि उद्धृत तीनैजनाले त्यही भनेको सुनियो — ‘म सबैलाई ठीक पार्छु ।’ यथार्थमा ‘म आफूलाई ठीक पार्छु’ भन्ने विचार पैदा भयो भने अरू सबै आफसेआफ ठीक भइहाल्छन् । ठीक पार्नैपर्दैन ।
    सायद नेपालमा दोस्रोथरि सोचवालाभन्दा पहिलोथरि सोचवालाहरूबाट नै बढी भ्रष्टाचार भएको छ, भइरहेको हुन सक्छ र भविष्यमा पनि हुने सम्भावना देखिन्छ ।

    काङ्ग्रेस झन् ओरालोतिर
    — कृष्णविनोद शर्मा

    नेपाली काङ्ग्रेस देशको सबैभन्दा पुरानो र जेठो पार्टी । पछिल्लो १३ औँ महाधिवेशन हुँदासम्मको सबैभन्दा ठूलो पार्टी । सात दशकमा तीनपटक क्रान्तिकारी परिवर्तनको नेतृत्व गर्ने पार्टी । अनि आफ्नो पार्टीलाई पार्टीका पक्षधरहरूले लोकतन्त्रको पर्याय ठान्ने पार्टी । यी सबै विशेषण, उपमा र अलङ्कारको विपरीत २०७४ सालको तीन तहको निर्वाचनमा नराम्रोसँग पछारिएकोमा निर्वाचनमा पराजयको समीक्षा गर्न बसेको केन्द्रीय समितिलाई समीक्षाको नाउँमा गुटगत आक्षेप र बचाउ गर्न १४ दिन लाग्यो । १४ दिनको बहस, कटाक्ष, आरोप, प्रत्यारोप हेर्दा कमसेकम गर्वका साथ यति भन्न सकिन्छ कि त्यस मामलामा चाहिँ अझै नेपाली काङ्ग्रेस नै सबैभन्दा ठूलो पार्टी हो देशको । किनकि यस्तो परिस्थिति त ६ दल मिलेर बनेको राष्ट्रिय जनता पार्टीको केन्द्रीय समिति बैठकमा समेत देखिएन । संस्थापन पक्ष, पौडेल (पूर्व कोइराला) पक्ष र तेस्रो च्याँखे धार सिटौला पक्ष, नव च्याँखे धार विजय गच्छदार पक्ष (स्वर्गीय भएकाले खुमबहादुर खड्का गुटको चाहिँ उल्लेख नगरौँ) का शीर्ष पहिलो पुस्ताका एक दर्जन नेताहरूलाई सीएनएन वा बीबीसीका कुनै पत्रकारले ‘तपाईंको पार्टीको भिजन, मिसन र एक दशकको मार्गचित्रबारे सङ्क्षेपमा भन्नुस् त’ भनेर सोध्यो भने के भन्लान् त ती नेताहरूले ?
    सभापति शेरबहादुर देउवाले भनेको कुरा पत्रकारले बुझ्दैनन् अनि ‘हवस् त धन्यवाद’ भनेर पन्छिन्छन् । रामचन्द्र पौडेलले कनी–कनी प्रजातन्त्र, समाजवाद, विधिको शासन अनि बीपी हाम्रो आयडियल, साठी–चालीसको भागबन्डा आदि भन्लान् । अन्य नेताहरूले भिजन भन्नुपर्नेमा मिसन भन्लान्, मार्गचित्रमा कुनै दिन आफू सभापति र प्रधानमन्त्री हुने भित्री सपना गोलमटोल भाषामा भन्लान् । उनीहरू सबका सब नालायक नेताहरू हुन् भन्न खोजिएको होइन । सबै एकसेएक त्यागी, दुःखकष्ट झेलेका, खारिएका नेताहरू छन् । पार्टीका शीर्ष नेताहरू यसमा स्पष्ट हुनका लागि पार्टीमा नियमित महासमिति बैठक बस्नुपर्छ अनि ती बैठकहरूमा गुट–उपगुटभन्दा माथि उठेर वैचारिक बहस र विचार–विमर्श हुनुपर्छ, पुस्तान्तरण हेतु प्रशिक्षण कार्यक्रमहरू गर्नुपर्छ । सात दशकको लामो इतिहासमा जम्मा ९ वटा मात्र महासमिति बैठक बसेको छ । तीस वर्ष पञ्चायती कालखण्डमा पार्टी प्रतिबन्धित भएको अवधिलाई घटाउँदा पनि ४० वटा महासमिति बैठक हुनुपर्नेमा जम्माजम्मी ९ वटा भए र ती सबैमा पार्टी कब्जा, गुट–उपगुटको द्वन्द्व, भागबन्डा आदि विषयमा नै बैठक सीमित रह्यो ।
    २०७४ सालको तीन तहको निर्वाचनमा लज्जास्पद पराजय बेहोर्दा पनि पार्टीमा चेत पलाएको छैन । बीजारोपण भएको भए पो पलाउँथ्यो ! निर्वाचन हारको समीक्षा गर्नमा नै १ वर्ष बित्छ भने कहिले नीतिगत समीक्षा, पुनरवलोकन गर्ने अनि कहिले अर्को निर्वाचनका लागि स्ट्राटेजी प्लानिङ गर्ने ? अहिले पनि शेरबहादुर देउवालाई कसरी हटाउने, उपाध्यक्ष आदि पद कसरी हत्याउने भन्नेमै सीमित छन् नेताहरू । अर्को उदेकलाग्दो दुर्भाग्यपूर्ण पक्षचाहिँ के हो भने यसरी नराम्रोसँग मतदाताबाट बहिष्कृत भइसक्ता पनि आम मतदातालाई पटक्कै मन नपर्ने गरी फौजदारी अभियुक्त सांसदहरूको सांसद पद खारेज हुनु हुँदैन भन्ने अडान राख्तैछ नेपाली काङ्ग्रेसले ।
    सायद नेपाली काङ्ग्रेसको यो किचलो र हविगतकै कारण नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण हुन ढिलो भइरहेको छ । किनभने गत वर्ष देशको सबैभन्दा जेठो, सबैभन्दा पुरानो, सशक्त र अन्तर्राष्ट्रिय साख बनाएको पार्टीलाई परास्त गर्नु थियो । तब वाम पार्टीबीच एकता रणनीतिक आवश्यकता थियो र रणनीति सफल पनि भयो । अब नेपाली काङ्ग्रेस झन् ओरालो लाग्दैछ भने किन एकता ? एकतालाई केको हतार ? त्यसैले अब एकीकरणको आवश्यकता नै देखिरहेका छैनन् माओवादी केन्द्र र नेकपा एमालेका नेताहरू ।

    बाहुन–छेत्री हुँदा अयोग्य ?
    — सङ्गीता रेग्मी

    नेपालमा आरक्षण आवश्यक छ कि छैन भन्ने विषय अहिले बहसको विषय बनेको छ । देशको विकास र समृद्धिमा सबै नागरिकले उचित अवसर पाउन सकुन् भन्ने उद्देश्यले समावेशिताको सिद्धान्तलाई अगाडि ल्याइएको हो । समावेशिताले व्यक्ति एवं समुदायको पहुँच, पहिचान, प्रतिनिधित्व, स्वामित्व, सहभागिता, अधिकारको स्थान सुरक्षित गर्दै उनीहरूको सबलीकरणका लागि मार्गनिर्देश गर्दछ । विगत लामो समयदेखि राज्यका हरेक निकायहरूमा कुनै विशेष जात वा समुदायको मात्र वर्चस्व रहँदै आयो । त्यसैले सम्पूर्ण जात र समुदायलाई राज्यको हरेक क्षेत्रको मूल प्रवाहमा ल्याउनको लागि आरक्षणको व्यवस्था गरिएको हो । अहिले नेपालमा जात र समुदायको आधारमा आरक्षण दिइदै आइएको छ ।
    कुनै विशेष जातमा जन्मिएकै भरमा कुनै व्यक्ति धनी वा कुनै व्यक्ति गरिब हुँदैन । सबै खस आर्य शोषक होइन, सबै मधेशी पीडित होइनन्, सबै दलित गरिब छैनन्, सबै जनजाति अनपढ छैनन् । आरक्षणका आधारहरू जात वा समुदाय होइनन् बरू वर्ग वा व्यक्ति हुन सक्छन् । तराईमा जन्मिएर मधेशी भएकै आधारमा, काठमाडौंमै जन्मिएर आदिवासी, जनजाति भएकै आधारमा कुनै व्यक्तिले आरक्षित सिट पाउने तर जुम्लामा जन्मिएर बाहुन भएकै आधारमा कुनै व्यक्तिले आरक्षित सिट नपाउनु समावेशी सिद्धान्त होइन ।
    आरक्षणले पछाडि परेका जात र समुदायलाई समेट्नुभन्दा पनि त्यही आरक्षणको नाम लिएर आफ्ना पत्नीदेखि, सालीसम्म र ज्वाइँदेखि सम्धीसम्मलाई समानुपातिक सभासद् बनाउन उपल्लो तहका नेताहरु लागिपरेको देखिन्छ । मधेशीको नाममा आरक्षित गरिएको सिटमा मधेशमा अति पिछडिएका र विपन्नहरूले पाउनुपर्नेमा मधेशकै सम्पन्न समुदायलेहरुले त्यो अवसर लिईरहेको देखिन्छ । महिलाको ३५% सहभागिताको लागि आरक्षित सिटमा सकेसम्म आफ्नै श्रीमती नसके आफ्ना नजिकका आफन्तलाई स्थान दिएको पाइन्छ । यसरी हेर्दा आरक्षणले विपन्नलाई भन्दा पनि सम्पन्नलाई झन् माथि उठाउन मद्दत गरेको देखिन्छ । मधेशको मुसहर समुदाय जो शिक्षित छैन उसको लागि निजामती सेवामा आरक्षित सिट राखेर मात्र हुन्न । उसलाई त्यहाँसम्म पु¥याउनको लागि राज्यले सहयोग गर्नुपर्छ र उनीहरुको शिक्षाको लागि राज्यका आरक्षणको व्यवस्था गर्नुपर्छ । निजामती सेवामा आरक्षणले केही समावेशिता ल्याएको देखिन्छ भने राजनीतिको पाटोमा सोचेअनुरूपको उपलब्धि पाइन्न ।
    आरक्षण आर्थिक स्तर कमजोर भएकोलाई निःशुल्क पढाउने सवालमा, विभिन्न व्यवसायिक तालिम दिने सवालमा, जीविकोपार्जनको क्षेत्र उपलव्ध गराउने सम्बन्धमा दिइनु सान्दर्भिक हुन्छ । त्यो पनि कुनै जातका आधारमा आरक्षण दिइनु ठिक होइन । जातीय आधारमा माथिल्लो मानिनेहरु पनि निकै कमजोर आर्थिक हैसियतमा रहेका हुन्छन् भन्ने जातको आधारमा तल्लो मानिएकाहरू पनि आर्थिक रूपमा सम्पन्न भएका धेरै उदाहरणहरू हामी देख्न सक्छौं । हुम्ला, मुगुमा बस्ने बाहुन, क्षत्री, दलित र काठमाडौ, पोखरा, बुटवलमा बस्नेहरुको आर्थिक, सामाजिक हैसियत समान हुँदैन । त्यसैले राज्यले हेर्दा दलित भनेर सबै न्युन आर्थिक अवस्था र पिछडिएको मान्ने, जनजाती भनेर सबै काठमाडांै वरपरका व्यापारी नेवार ब्रिटिश लाहुरे बनेर राम्रो आर्थिक हैसियत बनाएका पोखरा, काठमाडौंमा बस्ने गुरुङलाई मान्ने, मधेशी भनेर जनकपुरमा मजदुरी गरेर जिविका चलाउनेलाई मान्ने र बाहुन एवं क्षत्री भनेर उच्च पदमा पुगेका व्यक्तिहरुलाई मानेर त्यही अनुरुप आरक्षणको जसरी व्यवस्था गरिएको छ, यो सरासर गलत हुन्छ ।
    उच्च वर्ग मानिने समुदाय पनि भुगोल र क्षेत्र अनि उपलव्ध भूमि, अवसर इत्यादि कारणले पिछडिएका हुन सक्छन् । दलित एवं जनजाति, मधेशी, आदिवासी वर्गमा छुट्टाइएकाहरु पनि ठाउँ विशेष र अवसरको उपलव्धताको कारण सम्पन एवं राम्रो हैसियत बनाएका हुन सक्छन् । यसैले कुनै पनि जातजाति र समुदायका आधारमा राज्यले दिने सुविधाहरुलाई वर्गीकरण गर्नुभन्दा वास्तविक व्यक्तिहरुको अवस्थालाई मुल्यांकन गरिनुपर्छ ।
    जनजाति वा दलित वा मधेशी भएकै कारणबाट असक्षमले पनि राज्यका विभिन्न निकायमा अवसर पाउने र बाहुन, क्षत्री भएकै कारण योग्य, सक्षम भएर पनि राज्यको विभिन्न निकायहरुमा अवसर पाउन नसक्ने अवस्था आउनु भएन । बरू पिछडिएका जात र समुदायका व्यक्तिहरूलाई शिक्षामा, स्वास्थ्यमा राज्यले अनुदान देओस् । उनीहरूको क्षमता र दक्षता अभिवृद्धि गरेर हरेक क्षेत्रमा खुला प्रतिस्पर्धाबाट आउन सक्ने बनाउनु राज्यको दायित्व हो तर जातकै आधारमा आरक्षणको व्यवस्था गरी त्यस्ता समुदायलाई तँ अरूभन्दा कमजोर होस् भनेर प्रमाणित गर्ने काम राज्यले नगरोस् ।
    महिला, दलित, मधेशी, आदिवासी, जनजाति र पिछडिएका क्षेत्रकालाई आरक्षणको पछि लागेर देशलाई बीसौँ वर्ष अहिलेकै अन्योल र अनिश्चितताको अवस्थामा राख्ने कि कमजोरलाई संरक्षण र अवसर दिएर समृद्धितर्फ अगाडि बढ्ने हो, यो अहिलेको गम्भीर चुनौती बनेको छ । प्रतिभाहरूलाई योग्यताकै आधारमा देशभित्रै रोजगारी दिने नीति अवलम्बन गरे समावेशी कार्यक्रमको आवश्यकता पनि क्रमशः गौण बन्दै जानेछ । (मधेस दर्पण फिचर सेवा)

    पुलिस खेद्ने, पसले भाग्ने
    — पोष चापागाईं

    भियतनामको होचिमिन्ह सहरबाट भियतनामकै हनोई पुग्ने प्लेनमा हामीलाई एक घन्टा चालीस मिनेट लाग्यो । टाढा रहेछ । काठमाडौँका मान्छेहरू पोखराको लेकसाइड हेर्न गएजस्तै हामी पनि लेकसाइड हेर्ने इच्छा बोकेर त्यता जाँदैछौँ ।
    प्लेनबाट बाहिर निस्किएर साथीहरूले कार हायर गर्नुभयो । अरूसँगै म भित्र पसेँ । बाटोमा ठूलो नदी आयो । नदी, पानी, अभिषेक त मैले यदाकदा लिएकै हो । समुद्र पनि देखेकै हो । तर नौलो र आश्चर्यजनक लाग्यो पुल । डरलाग्दो । कति ठूलो ठूलो । एक साइडबाट पाँचवटा गाडी एकैपटक जान सक्ने । त्यसरी नै अर्को साइडबाट पाँचवटा गाडी आउने । अन्दाजी एकैपटक आउजाउ गर्ने दसवटा गाडी । हौ, हेर्दै मजा । कुदि त गो कार । हेरिरहन, झोक्राउन पाइनँ मैले ।
    बुक गरिसकेको रहेछ होटल वाटर मार्क । अनलाइन । कारबाट निस्किएर होटलभित्र गयौँ । साँचो लियौँ । पस्यौँ । बस्यौँ । बाथरूमभित्र पसेर मनलाग्दी ग¥यौँ । निस्किएर अरू लुगा फेर्न थाले । हतारहतार लुगा लाइसकेर दस तलामाथिको कोठाको कौसीमा बसेर तल हेर्न थालेँ म ।
    होटलअघि सडक । सडकसँगै झुरुम्म घर । घरहरूनजिकै पीच सडक । सडकमै जोडिएको विशाल दह पानीको । पानी र सडकको बीचमा हरिया झ्याम्म रूखहरू । माथिबाट चारैतिर देखिन्छ उज्यालो । उज्याला घरहरू । मान्छेहरू । अमृतरत्न गङ्गाजल । पानीमा फाट्टफुट्ट नाउ । भीड छैन ।
    त्यता हेर्दाहेर्दै म मोहित भएँ । ‘जाऔँ घुम्न ।’ ‘हुन्छ । म तयार छु ।’
    कारबाट निस्किएर लेकसाइडको बजार घुम्न थाल्यौँ । साँझ परिसकेको थियो । घामको सट्टा बिजुलीबत्ती चहचह थियो । हनोईको लेकसाइडमा पर्यटकहरूको औधि बिगबिगी थियो । म हिँड्ने कम, हेर्ने धेरै गर्दै थिएँ । लागि त गो भोक ! निचोरि त गो पेट ! उखपट्याङ । अरू के सुरमा, म खाने सुरमा । एक मन भन्छ — ‘नकरा, हिँड् ।’ पेटभित्र भोकले ठोकेको छ, छ । भकुरेको छ, छ । भोकले पेटमा भुक्कु लात्तले ठोक्छ । म ऐया भन्छु ।
    हिँड्दाहिँड्दै हामी ओल्ड क्वार्टरमा पुगेछौँ । घर ओल्ड । बजार ओल्ड । रहनसहन, खानपिन ओल्ड । ओल्डमा ओल्ड थपियौँ हामीहरू ।
    फुटपाथमा खानेकुराको बजार छ । बैङ्ककको फुटपाथमा जस्तै । मासु पकाउँदै, उसिन्दै, भुलुकभुलुक उमाल्दैछन् पसलेहरू । फुटपाथमा चलेको छ मजाले होटल । भ्याइनभ्याइ छ । खाने–बस्ने टेबल छ । भाँडा माझ्ने ठाउँ छ । नक्कले–नक्कली रमाउने, खितिती गर्ने ठाउँ छ । कतै रूखले छेलेर अँध्यारो छ फुटपाथ । कतै चहचह । कतै अर्धउज्यालो । साह«ै पुरानो ठाउँ । विदेशीहरू ओइरिएका छन् । ओइरिएकाले भने — ‘खाने होइन ?’ सबैलाई मेरै समस्या रहेछ – भोक ।
    एकै स्वरमा स्वरलहरी मुस्कुरायो — ‘जाने, खाने ।’ म ङिसिङ्क हाँसेँ । ‘फुटपाथमा बसेर खाने कि भित्र ?’ ‘फुटपाथमा मजा हुन्छ । बाहिरै खाने ।’ फुटपाथको पसलको बेन्चमा गएर हामी पाँचैजना बस्यौँ थचक्क ।
    खानेकुरा म अर्डर गर्दिनँ । किनभने म जान्दिनँ । अर्डर गरेका परिकार मजाले ठोकी–ठोकी बजाउँछु । किनभने प्रायः म अल्तलिएको हुन्छु । यात्रा गर्दा यो मेरो नियम पूर्णतः लागू हुन्छ । नमगाउने, मगाएकामध्ये मीठो–मीठो गोद्ने ।
    आयो अगाडि खानेकुरा । खाँदैछौँ । म खाँदै हेर्दैछु । फुटपाथको नजिक–नजिकै देखिन्छन् अग्ला, सुरिला, झ्याम्म रूखहरू । लैनचौरतिरका रूखको झझल्को आउँछ । लैनचौर मात्र होइन, नजिकैको ठमेलको पनि झझल्को आयो । खैरे–खैरिनीहरू झोला बोकेर कुद्दैछन् । उः, मोराले रूखमा छेलिएर मोरीलाई चुम्मा दियो । नेपाली र भियतनामी जनता उस्तै त हुन् ! दुवै गरिब । एउटालाई अमेरिकाले चुस्यो । अर्कालाई राणाहरूले ।
    फुटपाथको कुर्सीमा बसेर खाँदै थियौँ, परबाट गुडुडु कुद्दै मान्छेको हुल हामीतिर आयो । पसलेले भन्यो — ‘नआत्तिनुस् । पुलिस आयो । भित्र बस्नुस् ।’ उसले बाहिरबाट कुर्सी भित्र ल्यायो । बस्यौँ । खायौँ । हेर्दाहेर्दै फुटपाथका पसल घरभित्र पसे । हामी खाइसकेर पैसा तिर्दै थियौँ, मैले हेरेँ — सबै फुटपाथ पूर्ववत् भरिभराउ । मैले सोधेँ — ‘सधै यस्तै हो भाइ ?’
    उसले भन्यो — ‘हो, पुलिसले समात्यो भने फुटपाथमा पसल राखेबापत धेरै जरिवाना तिर्नुपर्छ । पुलिस खेदेजस्तो गर्छ, पसलेहरू भागेजस्तो गर्छन । लुकामारी चलिरहन्छ । सबैले पसलको भाडा तिर्न सक्तैनन् । महँगो हुन्छ । फुटपाथमा पसल नराखेर के गर्नु त गरिबहरूले ।’
    मैले ‘ए’ भनेँ । बाटो लाग्यौँ ।

    चुरेभावरको आलोकमा मधेसी आन्दोलन
    — डा. श्याम भट्टराई

    २०७४ चैत्रमा पार्थमणि भट्टराईको ‘चुरेभावरको आलोकमा मधेसी आन्दोलन’ नामक पुस्तकको लोकार्पण समारोहमा सहभागी भएँ । यस लोकार्पण समारोहको मञ्चमा प्रमुख अतिथि पूर्वमन्त्री होमनाथ दाहाल र अतिथि वक्ता प्रा. पुरुषोत्तम दाहाल, प्रा. डा. सुरेन्द्र के. सी., प्रा. खगेन्द्र भट्टराई, डा. रमेश ढुङ्गेललगायतका महानुभावहरू आसिन थिए ।
    लेखक पार्थमणि भट्टराईले यस पुस्तकको रचनागर्भ रूपमा चुरेभावर एकता समाजको जन्मका बारेमा आफ्नो धारणा व्यक्त गर्ने क्रममा भन्नुभयो – ‘त्यसताका मधेसमा विभिन्न प्रकारका अधिकारका नाममा जातीय आन्दोलन, भाषिक आन्दोलन, पृथकतावादी आन्दोलन भइरहेको अवस्थामा सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका पहाडियाहरू किंकर्तव्यविमूढ बनेर मधेसीको ज्यूज्यू गर्दा पनि जोगिन सकेनन् । धेरै ठाउँमा अल्पसङ्ख्यक पहाडिया विस्थापित हुन थाले, कुटिए, लुटिए, बलात्कृत बने, शारीरिक र मानसिक यातना पाएर पिल्सदै रहे । तर कुनै पनि संसद न पहाडिया न मधेसी त्यस्तो अन्यायको विरुद्ध आवाज उठाउन अगाडि सरेनन् । भावरको भोट मृतप्रायः बन्यो । भावरबासीले अब आफ्नो सुरक्षा आफैँ रोज्नुपर्ने भयो । सबैको मनमा एउटै विचार उब्जियो सुरक्षित हुन संगठित बन्नुपर्छ तर कसरी ? विचारको मन्थन, अभ्यासमा जाँदै गर्दा अनुभव र व्यवहारमा पाकोपन बदलिदै गयो अनि जन्मियो चुरेभावर प्रदेश ।
    लेखकले आफ्नो धारणा राख्ने क्रममा भन्नुभयो – चुरेभावर प्रदेश एकता समाज कुनै राजनीतिक, जातीय, धार्मिक आस्थाबाट अभिप्रेरित नभएको विशुद्ध रूपले सामाजिक सद्भाव, राष्ट्रिय गौरव र देशको भौगोलिक अखण्डताप्रति कटिबद्ध भएको संस्था हो । यो कसैको बुइ चढेर या ठूलो हैसियतवाला बन्ने योजना गरेर अस्तित्वमा आएको नयाँ दल होइन । यो त चुरेभावर प्रदेश र चारकोसे झाडीभित्र बसोबास गर्ने बहुसङ्ख्यक, अल्पसङ्ख्यक अनेक प्रकारका जाति, जनजाति, दलित, आदिवासी, पहाडे, मधिसे, मुसलमान, मारवाडी, कोचे, डागर आदि ज्ञात–अज्ञात समुदायका मानिस बसेको मिश्रित बस्ती हो । यहाँ दक्षिणपन्थी, घोर उग्रवादी समूहका विहारी शैलीले साम्प्रदायिक सद्भाव विथोल्न सजिस गरेको बुझिन्छ । नेपाली सीमाको दक्षिणबाट अनियन्त्रित झिकाइने क्षपराधी एवं हतियार उपकरण आदिका कारण नवसिखिया नेपाली आपराधिक गिरोहसमेतले गर्दा तराई आक्रान्त छ । देशमा बस्ने सबै नागरिकले शान्तिसुखको अनुभव गरी चलनचल्तीको कानुनबमोजिम काम गरेर खान पाउनुपर्छ । जीउधनको सुरक्षा हुनुपर्छ । चाहे मधिसे बहुल ठाउँमा बस्ने पहाडे होस्, चाहे पहाडे बहुल ठाउँमा बस्ने अन्य कोही होस्, उसले भयरहित वातावरणमा बालबच्चाको भरणपोषण गराउन पाउनुपर्छ भन्ने यो समाजको चाहना हो । यसर्थ चुरेभावर क्षेत्रका बासिन्दाले आफ्नो अस्तित्व जोगाएर सहअस्तित्व कायम गर्न वसुधैव कटुम्बकम्को विचार बोकी बसेका तमाम पहाडी मूलका तराईवासी, आदिवासी, जनजाति, दलित, मारवाडी, मुसलमान आदिलाई आफ्नो प्रतिरक्षा गर्न जन्मिएको हो चुरेभावर एकता समाज ।
    लेखकको रचनागर्भपश्चात् सुरुवात भएको लोकार्पण कार्यक्रमका वक्ताले वि. सं. २०६२–६३ मा भएका आन्दोलनले महिला, दलित, जनजाति, मधेसी लगायतका समुदायको प्रतिनिधित्व सुनिश्चित गराउने मुद्दा बोकेर आएको थियो । त्यसले अहिलेको राज्यसंयन्त्रमा सहयोग पु¥याउनुको सट्टा व्यक्तिवादी चिन्तनलाई प्राथमिकता दिएको देखियो जुन देशको लागि खतरनाक हुन सक्छ । त्यत्रो हावाहुण्डरी संवैधानिक व्यवस्थाका बाबजुद आउनु देशका लागि हितकर हुँदैन । राष्ट्रलाई एउटा राज्यका रूपमा खुम्चाउनुपर्ने बाध्यता कहाँबाट आयो ? उनान्सय प्रतिशत ओमकार परिवार रहेको मुलुकलाई धर्मनिरपेक्ष घोषणा गर्नु कसको अभीष्ट पूरा गर्नु हो ? सानो मुलुकलाई संघीयता उन्मुख गराउनेतर्फ कसले खर्च ग¥यो ? यसबाट लक्षित वर्गले के पाए ? त्यस आन्दोलबाट कस्तो उपलब्धि भयो ? जनताले नेताको सोपान हुनुपर्ने बाध्यता किन आयो ? चुरेको संरक्षण नभए देशको दुर्दशा हुने विषयलाई वक्ताले आफ्नो धारणा राख्नुभएको थियो
    दर्शकदीर्घामा रहेर वक्ताको कुरा सुन्दासुन्दै पुस्तकप्रति उत्सुकता जाग्रित भयो । अनि खरिद गरी पढेँ । सोह« अध्यायमा विभाजन गरिएको सो पुस्तकमा पौराणिक, ऐतिहासिक, सामाजिक पृष्ठभूमिलाई आधार बनाएर लेखिएको रहेछ । पुस्तकमा समावेश विषयवस्तु तथ्य र तथ्याङ्कको आधारमा लेखिएको रहेछ । यस पुस्तकको २०२ पृष्ठमा भनिएको छ – चुरे पहाडी शृङ्खलालाई शिवालिक वा शैवालिक पर्वतमाला पनि भनिन्छ । भूपर्यावरणीय प्रक्रियाका आधारमा शिवजीको बासस्थान पहाड मानिने भएकाले यो पर्वतमालालाई शिवालिक क्षेत्र पनि भन्ने गरिन्छ । यस आधारमा यो क्षेत्रलाई हेर्ने हो भने प्रागैतिहासिक कालदेखि यहाँ आपसी सहअस्तित्वलाई स्विकारेको देखिन्छ । शिवको बासस्थान रहेको यस क्षेत्रमा बसोबास गर्ने मानिसले शिवको पारिवारिक स्थितिलाई अवलोकन गरी आत्मसात गर्नुपर्ने देखिन्छ । एकपटक शिवजीको तस्बिर ल्याई अध्ययन गर्नुस्, त्यहाँ देखिनेछ मुसा, मयुर, सर्प, बाघ, साँढे जुन गणेश, कुमार, शिव र पार्वतीका बाहन हुन्, जुन एक–आपसका विरोधी या दुष्मन तर कसरी मिलेर बसेका छन् ? समन्वयकारी परिवारको उदाहरण बनेर । तसर्थ यो शिवालिक क्षेत्रमा बसोबास गर्ने मानिसले यसबाट शिक्षा लिनुपर्छ । राज्यले पनि जनताको जीवनस्तर उकास्न शिवको समन्वयकारी परिवारबाट शिक्षा लिनुपर्छ । जनताको जीवनस्तर उकास्न अर्थले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । मानिसलाई समन्वयकारी भूमिका निर्वाहका लागि राज्यले राम र कामको व्यवस्था गर्नुपर्छ । मानिस न रामविना रहन सक्छन् न कामविना । मानिसका जीवनका लागि यी अनिवार्य वस्तु हुन् । यी कुरा प्राप्त गर्न मानव जीवनका निम्ति शरीर र मनको स्थिति र उन्नतिका निम्ति शान्ति अपरिहार्य रहन्छ भने सद्भाव र सहिष्णुता आवश्यक रहन्छ । पहिलो प्राथमिकता शान्ति हो । शान्ति कायम गर्न पहिले देश चाहिन्छ, त्यसपछि प्रदेश । तर यहाँ ठीक विपरीत रहेको छ । प्रदेश बनाउने नाममा देशलाई कमजोर बनाइँदैछ । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको यतिका वर्ष बितिसक्दा पनि राजनीतिक रूपबाट मुलुक राम्ररी अगाडि बढ्न सकेको छैन । सबै पार्टीका नेताले आफ्ना मतदातालाई हेरेर प्रदेश निर्माण गर्न लगाएका छन् जुन देशका लािग हितकर छैन । यसलाई स्विकारेर राजनैतिक रूपबाट मुलुक अगाडि बढेको माने पनि जनताको जीवनस्तर उस्तै छ । अब जनताले आर्थिक समानताका सास फरिसक्नुपर्ने होइन र ? यहाँ त अवसर पाउन्जेल त्यही पार्टीको गुणगान गर्ने र अवसरबाट ओझेल पर्नासाथ अर्काे पार्टीको झण्डामुनि जाने र फेरि अवसर खोज्ने प्रवृत्ति बढ्दो छ । यो प्रवृत्ति रहुन्जेल जनताको जीवनस्तर उठ्दैन । मधेशवादी दलका नेताको अवस्था त्यस्तै देखिएको छ ।
    हाम्रा नेता तथा विद्वान् जन्मले, धनले, बलले र अवसरले यस मुलुकमा उभिएका छन् । समय–समयमा अवसरको खोजीमा निस्किरहेका छन् । त्यसैले तथ्य र तथ्याङ्कलाई स्विकार्दैनन् । तथ्य र तथ्याङ्कविना लेख्छन्, बोल्छन् किनकि तथ्याङ्क खोजे आफ्नो अवसर गुम्छ । किन खोज्ने तथ्याङ्क ? विनातथ्याङ्क बोले भ्रमको खेती गर्न पाइने, अवसर प्राप्त गर्न सकिने, अनि बाढीमा माछा समाउन पाइने भएकाले तथ्याङ्कविना बोल्ने–लेख्ने परिपाटीको विकास भएको छ । यस्तो गरे आफू योग्य भइने अनि अनैतिक तरिकाबाट आर्थिक लाभ हुने । यसरी कमाएको पैसाबाट आफूलाई सभ्य भएको ठान्नु, ढाँट्नुलाई सान सम्झनु जस्ता कुरा तराईमा रहेका अवसरवादी नेता र विद्वान्बाट भएगरेको देखिएको छ । नेता त नेतै भए, आफ्नो स्वार्थका लागि जस्तो कदम पनि उठाउन तयार हुन्छन् र उठाएका पनि छन् । तर विद्वान्बाट यस्तो हुनुनपर्ने तर भैदियो भन्ने संकेत यस पुस्तकमा रहेको छ । यो ऐजेरूको कथाबाट प्रस्ट हुन्छ । यो कथा प्रा. डा. राजेन्द्र विमलबाट रचना गरिएको हो । यो कथा लेख्नुको उद्देश्य समाजलाई दिग्भ्रमित, उत्तेजक तथा त्रासपूर्ण बनाउनु हो । एउटा विद्वान्ले समन्वयकारी भावनालाई जाग्रित गर्नुपर्ने होइन र ? देशलाई केन्द्रमा राखेर विद्वान् हिँड्नुपर्ने होइन र ? किन विद्वान्मा यस्तो संकुचन ? चुरेभावर क्षेत्र मात्र नहेरी देशलाई हेर्नुपर्ने होइन र ? देश बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय, बहुधार्मिक प्रकृतिका मानिसको बसोबास रहेको चित्र खिच्नुपर्नेमा किन ऐजेरू देख्नुभो तराईमा बसोबास गर्ने पहाडियालाई डा. साहेबले ? सोचनीय विषय हो ।
    विषयलाई अगाडि बढाउने क्रममा पुस्तकमा भनिएको छ – अतीतका शासकको जनताप्रति अनुदार व्यवहारप्रति आजको पहाडी पुस्ताले प्रायश्चित्त गरेर भए पनि राष्ट्र टुक्रिनबाट जोगाउन सक्नुपर्छ । मधिसे भनिनेहरूले पनि समकालीन समाजको इतिहासको मूल्य संयमतापूर्वक बुझेर आजको समस्यामा बौद्धिकतासाथ आफ्नो नागरिक हक लिन डटेर लाग्नु उचित हुन्छ । यसबाट प्रस्ट हुन्छ, राज्यबाट उपलब्ध हरेक प्रकारका सुविधालाई आदिवासी, जनजाति, दलित र उत्पीडितभन्दा पनि आवश्यकताको आधारमा सेवालाई समानुपातिक तवरले पारदर्शी रूपमा वितरण गर्नुपर्छ, नकि सीमित जनमा । यसबाट एक प्रकारको समन्वयकारी मुलुक रहन्छ भन्ने भाव झल्कन्छ । अन्यथा हाम्रो स्वतन्त्रता अपहरण हुन सक्छ ।
    जननायक विश्वेश्वरप्रसाद कोइरालाले भनेका छन् – ‘हाम्रो कोसिस हुनुपर्छ, हाम्रो आफ्नो ऐतिहासिक स्वतन्त्रतालाई झन् सुदृढ बनाऊँ । आजकालको अन्तर्राष्ट्रिय परिस्थितिमा जागरूक भएर हरघडि देशको सार्वभौमिकताको रक्षाका लािग तत्पर रहेनौँ भने स्वतन्त्रताको अपरहण हुन बेर लाग्दैन ।’ यो सोचलाई गुरुमन्त्रका रूपमा लिनपुपर्छ । सामान्यभन्दा सामान्य जनभावनालाई एकै ठाउँमा ल्याएर समेट्नु नै स्वतन्त्रता र प्रजातन्त्र हो । यसमा चनाखो वा जागरुक भएनाँै या प्राप्त गरेको स्वतन्त्रतालाई दुरुपयोग गरियो भने त्यहाँ छाडातन्त्र हुन्छ । अन्ततोगत्वा स्वतन्त्रता अपहरण हुन सक्छ । यतातर्फ सचेत हुनुपर्छ । तर यहाँ कालापानीले कसलाई पोलेको छ र ! लिपुलेक कसलाई दुखेको छ र ! जङ्गेपिलरले कसलाई छेकेको छ र ! देशको सीमा सुरक्षा गर्दा तिलाठीका देवनारायण यादवलाई राष्ट्रले कसरी सम्झेको छ ? यस्ता विषयले हामी जागरुक हुन नसकेको सङ्केत गरेको छ । यसलाई इतिहासको कालखण्डमा डुबाइदिँदा पनि शान्तिसुरक्षाको अभावमा वर्तमान रोएको पनि नेताले देख्न छोडेका छन् । ठुल्ठूला भाषण गर्छन्, जनता रासन नपाएर भोकै छन् । भ्रष्टाचारको कुरो कोट्याउँदा आफैँलाई लाज लाग्छ । यस्तो अवस्थाबाट देश हिँडेको छ । देशका राजनीतिक पार्टी भने शास्त्रीय नीतिलाई त्यागी क्षेत्रीय तथा जातीय वर्णन गरेर हिँडेका छन् । देशलाई विनष्ट र पीडित राष्ट्रका रूपमा रूपान्तरण गर्दैछन् । देशलाई खुम्च्याई प्रदेशमा ल्याएर साम्प्रदायिक भावलाई प्रश्रय दिइरहेका छन् । राष्ट्रलाई विकासतर्फ डो¥याउनुको साटो क्रान्तिका नाममा क्षेत्रीय तथा जातीय नारा बोकेर हिँडेका विधायकबाट जनताले के आशा गर्ने ?
    मुलुकबाट राजतन्त्र हटे पनि राजतन्त्रको अवशेष बाँकी रहेको कुरा संसद् भवन आउँदा शाही तामझामका साथ वर्तमान राष्ट्रपति बग्गीमा बसेर आउनुले संकेत गर्छ । यस्तो रवैयाले राजतन्त्र उखेलेर फ्याँकेको ठूलो खाडल पुर्न सक्तछ ? समयमै नेताले बुझ्नुपर्ने हो । हामीले देशको गरिबी, अशिक्षा, अज्ञानता र बेरोजगारी हटाउनुपर्ने होइन ? किन शाही तामझाम ? नेताले बुझ्नुप¥यो स्वाधीन नागरिकको दायित्व अनि यसलाई निर्वाह पनि गर्नुप¥यो ।
    ‘चुरेभावरको आलोकमा मधेसी आन्दोलन’ अध्ययनपछि लाग्यो विचार आफैँमा शाश्वत चिन्तन हो । विचार बत्तीको शिखा हो । दियो बालेर त्यसलाई घोप्ट्याए पनि त्यसको ज्योति माथि उठ्छ । विचार पनि त्यस्तै हो । त्यसैले भनिन्छ विचार पहिले आउँछ, अनि मात्र व्यवहार हुन्छ । त्यही पहिचानलाई प्रवाह दिने काम विचारले गर्नुपर्छ । तर हाम्रो देशका नेताहरू झूटको खेती गरी हिँडेका छन् । कर्मचारी, व्यापारी, बुद्धिजीवीहरू पनि तथ्याङ्कको सहयोगविना बोल्न थालेका छन् नेताजस्तै । यसैमा फाइदा भएपछि तथ्याङ्क किन खोज्ने ? तर यस पुस्तकका लेखकले पुस्तकमा राखेका सामग्री तथ्य र तथ्याङ्कका आधारमा दृष्टान्त दिएरै लेख्नुभएको छ । पुस्तक पठनीय र सङ्ग्रहणीय छ ।

    लोभीको मुख देखे लाभ हुँदैन
    — कविप्रसाद प्याकुरेल

    मुञ्ज तपोवन प्रस्थान गरेपछि राजा भोजले उनै ज्योतिषाचार्य बुद्धिसागरलाई प्रधानमन्त्री नियुक्त गरी राज्य सञ्चालन गर्न लागे । समय आफ्नै गतिमा लुकामारी खेल्दै गयो । कुनै दिन क्रीडोद्यान जाँदै गरेका राजा भोजका अगाडि धारानगरनिवासी कुनै ब्राह्मण देखापरे । दुवै आँखा चिम्लेर हिँडेका ब्राह्मणलाई राजाले सोधे, “गुरुजी ! राजालाई स्वस्ति गर्नुपर्दैन ? राजालाई देख्तादेख्तै किन दुवै आँखा चिम्लनुभएको ?”
    ब्राह्मणले भने, “सरकार, मौसुफ वैष्णव हुनुहुन्छ । वैष्णवबाट कदापि कसैको अपकार हुन सक्तैन । अतः ब्राह्मणलाई वैष्णव राजाको भय रहँदैन । वैष्णव राजाबाट खासै लाभहानि पनि हुँदैन । प्रातःकालमा कृपणको मुख देख्ता दिनभरि लाभ नहोला भनेर आँखा चिम्लेको हुँ ।”
    जसको कोष रित्तो छ प्रसाद नित्य निष्फल । प्रजाका निम्ति त्यो राजा सर्वदा निष्प्रयोजन ।।४७।। प्रतिभाहीन विद्या औ तुच्छ कृपणको धन । भीरुको बल व्यक्तित्व सर्वथा छ निरर्थक ।।४८।।
    यो सुनेर राजाले भने, “ब्राह्मण देवता ! मेरा वृद्ध पिता काशीवास पाल्नुभएको छ र मेरो शिक्षा पुष्ट छ । आज्ञा होस् अब मेरो कर्तव्य के हो ? पिताजी बारम्बार भन्नुहुन्थ्यो — विद्याले भरिपूर्ण त्यो सहृदयी व्यक्ति सदा नम्रता । नारीको वशमा नपर्नु जनले लाग्नु पुरुषार्थमा ।। शक्तिशाली सचिव मन्त्रीहरू औ न्यायी गुणी शासक । त्यो राजा छ सदैव यो जगतमा सौभाग्यशाली भूप ।।४९।। पातकान्तहरूमध्ये दुइटा मुख्य पातक । एक दुष्ट सचिव औ अर्को विश्वासघातक ।।५०।। अविवेक मति राजा गुणी मन्त्रीहरूप्रति । टेढो दुष्ट मति राख्छन् हुन्छ सर्वत्र दुर्गति ।।५१।। पतित देहका लागि यश औ धर्मकीर्तिको । देहभन्दा यश कीर्ति धर्म रक्षण मुख्य हो ।।५२।। पण्डित मूर्ख बली दुर्बल पुंशनारी । अर्बपति नास्तिक औ भिखारी ।। राजा, प्रजा, सचिव, मन्त्री र कर्मचारी । मृत्यु अभिन्न छ कृत निश्चय कष्टकारी ।।५३।। निमेष मात्र म अलिकति बाँच्न पाऊँ । बिन्ती छ लाख परमेश्वर भोलि आऊ ।। मान्दैन कत्ति पनि त्यो यमराज दुष्ट । तस्मात् जीवन रहोस् यशका निमित्त ।।५४।। हो जिन्दगी सार्थक सत्यनिष्ठ । ज्ञानादि दान सुख साधनका निमित्त ।। लज्जा कला कुलीनता यशका निमित्त । तदन्यथा शरीर हुन्न महत्वपूर्ण ।।५५।। सततः प्रियवादीको सर्वत्र हुन्छ सम्भव । अहित अप्रियवादी वक्ता श्रोता सुदुर्लभ ।।५६।।
    यस्ता वचन सुनेर राजा भोज अमृतकुण्डमा स्नानपछिको परब्रह्म प्राप्तिको अवस्थामा पुगेर ब्राह्मणलाई भने — मनीषी मति भएका जोजति छन् मनुष्य । तिनीहरू हितकारी कार्यमा छन् अदक्ष ।। त्रिभुवन हितकारी जोजति छन् मनुष्य । मनीषी गुण गरिमा सर्वथा नै अभाव ।।५७।।
    अनि ब्राह्मणलाई एक लाख रुपियाँ प्रदान गर्दै राजाले सोधे, “गुरुको शुभ नाम के होला ?”
    ब्राह्मणले धुलिमाटीमा ‘गोविन्द’ लेखे । राजाले भने, “यसै गरी सदासर्वदा राजदरबार पवित्र पार्दै रहनुहोला । दरबार सदासर्वदा प्रतीक्षारत छ । कदापि विद्वान् र कवि वर्गले अभावमा पर्नु हुँदैन र सन्त महन्त विद्वान् विदुषीको कृपाबाट राजा वञ्चित हुनु हुँदैन । यो हामी दुबैको अधिकार पनि हो ।”
    वरमातङ्गको कर्ता अखण्ड मेदिनी पति । उसैका बैसमा हुन्छ समृद्ध कोषको स्थिति ।।५८।।
    केही दिनपछि राजा भोज दानवित्तेश्वरका रूपमा विश्व विख्यात भए । दरबारमा विश्व विख्यात विद्वान् विदुषी र कविहरूको घुइँचो लाग्यो । एक दिन राजालाई प्रधानमन्त्रीले भने, “सशक्त कोषाधिकारी नै सर्वदा विजयी हुन्छ ।”
    धनीको धनमै तृष्णा रहने गर्छ प्रायशः । लाखको धनुको ताँदो निशाना हुन्छ कोटिमा ।।५९।।
    प्रधानमन्त्रीलाई राजाले जवाफ दिए — उपभोग तथा दान मित्रका उपकारमा । धन प्रयोग नभए स्वतः नासिन्छ त्यो धन ।।६०।।
    तत्काल राजाले उक्त कृपण मन्त्रीका स्थानमा अर्का उदार मन्त्रीको नियुक्ति गरी यो घोषणा गरे — लाख महाकविलाई आधा लाख विविधमा । यसरी योग्यता हेरी दिनुपर्दछ दक्षिणा ।।६१।। धनी हो धनको स्वामी धनको दास होइन । मृत्युपश्चात धनमा रम्ने हुन्छन् अनेकन ।।६२।। प्रिय राजा त्यही हुन्छ प्रजापति उदारता । मेघको प्रार्थना हुन्छ निरर्थ मृत सागर ।।६३।। रसातल भएको छ सङ्ग्रही दुष्ट सागर । पर्जन्य जलको दाता मेघ सम्पूज्य सर्वदा ।।६४।।

    द्रुत आर्थिक विकासका लागि प्रविधि उपयोग
    — डा. रत्नाकर अधिकारी

    संयुक्त राष्ट्रसंघको महासभामा सदस्य राष्ट्रहरूले जनाएको प्रतिबद्धता अनुसार सन् २०३० सम्म हासिल गर्नुपर्ने दिगो विकास लक्ष्य हासिल गर्न अल्पविकसित देशहरूका लागि प्रविधिको उपयोग अत्यन्त आवश्यक हुने देखिन्छ । दिगो विकास लक्ष्य तय हुनुभन्दा अघि पृष्ठभूमिमा तयार गरिएका विभिन्न अध्ययनहरूमध्येको एक ‘युरोपियन रिपोर्ट अन डभेलपमेन्ट’ ले नेपालको विकासमा चार क्षेत्रको योगदान महàवपूर्ण हुने पहिचान गरेको छ — लगानी र व्यापार, विप्रेषण, वैदेशिक सहयोग र प्रविधि उपयोग ।
    उल्लिखितमध्ये प्रविधिको उपयोगमा हामी धेरै पछाडि छौँ । अहिले विश्व चौथो औद्योगिक क्रान्तिको चरणमा आइपुगेको छ । सन् १८५० मा विश्वमा औद्योगिकीकरण सुरु भएयता बाफबाट चल्ने स्टीम इन्जिन, दोस्रो चरणमा विद्युतीय इन्जिनहरू, तेस्रो चरणमा सूचना प्रविधिको विकाससँगै औद्योगिक तथा सेवा क्षेत्रमा भएको अटोमेसन र सन् २०१० यता कृत्रिम मानवहरू (आर्टिफिसियल इन्टेलिजेन्स) को युग प्रारम्भ भएको छ जसरी सूचना प्रविधिको विकाससँगै नेपालले औद्योगिक क्रान्तिमा प्रवेश नै नगरी एकैपटक कृषिबाट सेवा क्षेत्रले नेतृत्व गरेको आर्थिक विकासमा फड्को मारेको छ । चौथो चरणको औद्योगिक क्रान्तिले नेपालमा खास प्रकृतिका उद्योगहरूको विकास तथा कृषि क्षेत्रको रूपान्तरणमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
    सूचना प्रविधिले ल्याएको क्रान्तिभन्दा एक कदम अघि आर्टिफिसियल इन्टेलिजेन्स, एडिटिभ म्यानुफ्याक्चरिङ (थ्री डी प्रिन्टिङ), ब्लक चेन जस्ता प्रविधि प्रयोगमा आइसकेका छन् । नेपालजस्ता अल्पविकसित देशहरूले यसबाट फाइदा लिने ठाउँ पनि छ । फाइदा लिनका लागि सबैभन्दा महàवपूर्ण त्यसमा हाम्रो पहुँच, सामथ्र्य तथा उपयोगमा ध्यान दिनुपर्छ ।
    पहुँचको कुरा गर्दा कतिपय प्रविधिमा हाम्रो पहुँच नहुन सक्छ । किनकि यिनीहरू बौद्धिक सम्पत्तिबाट संरक्षित हुन सक्छन् । त्यस्ता बौद्धिक सम्पत्ति संरक्षित प्रविधिहरू भि†याउनका लागि कस्तो अन्तर्राष्ट्रिय पहल चाहिन्छ भनेर अहिलेदेखि नै गृहकार्य गर्नुपर्छ । यसका लागि विश्वव्यापार सङ्गठन डब्लुटीओ र विश्व बौद्धिक सम्पत्ति सङ्गठन वाइपो जस्ता बहुपक्षीय निकायहरूबाट पहल अघि बढाउनपर्छ । प्रविधिको उपयोग प्रोत्साहनका लागि वल्र्ड इकोनोमिक फोरम, क्यालिफोर्निया स्थित सेन्टर फर फोर्थे इन्डस्ट्रियल रिभोलुसन’ लगायतले पनि काम गरिरहेका छन् । यस्ता संस्थाहरू तथा दातृ निकाय समेतको सहयोगबाट प्रविधिको माध्यमले हामीले समुन्नत समाजको निर्माण गर्न सक्छौँ । विकसित देशमा तयार भएका प्रविधि मात्र राम्रो हुन्छ, शाश्वत भने होइन । फेरि प्रविधि मात्र राम्रो भएर पनि भएन, त्यसलाई उपयोग गर्नका लागि छुट्टै सीप आवश्यक पर्छ भने प्रविधि भि†याउन ठूलो धनराशि आवश्यक हुन सक्छ भने विदेशी परामर्शदाता समेतको खर्च व्यहोर्नुपर्ने हुन सक्छ । यस्तो अवस्थामा हामीले स्वदेशमै प्रविधि विकासलाई प्रवद्र्धन गर्न विभिन्न कम्पनीहरूलाई प्रविधि विकासमा सहयोग गर्न वित्तीय नीति तथा मौद्रिक नीतिमार्फत् प्रोत्साहन दिन सकिन्छ । निजी कम्पनीहरूलाई अनुसन्धान र विकासमा प्रोत्साहन गर्ने बाहेक सरकारले नै प्रविधि विकासका लागि लगानी गर्नुपर्छ । त्यसका लागि कृषिको क्षेत्रमा काम गरिरहेको नेपाल कृषि अनुसन्धान परिषद्, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान जस्ता प्रतिष्ठानहरूलाई सहयोग उपलब्ध गराउनुपर्ने हुन्छ । यी प्रतिष्ठानहरूले विश्वविद्यालय र निजी क्षेत्रका कम्पनीहरूसँग समन्वय, सहकार्य गरी अनुसन्धान र विकासको संस्कारलाई प्रवद्र्धन गर्न सक्छन् । विश्वका धेरै देशहरूले अनुसन्धान र विकासमा ठुलो लगानी गरिरहेका छन् । विश्वमा प्रचलित मापन पद्धति ‘ग्रस डोमेस्टिक एक्सपेन्डिचर अन रिसर्च एण्ड डेभलपमेन्ट’ मा इजरायल सबैभन्दा अघि देखिएको छ । इजरायलले हरेक वर्ष कुल गार्हस्थ उत्पादनको ३ प्रतिशतभन्दा बढी लगानी गर्छ, नेपालले ०.२ प्रतिशतभन्दा कम लगानी गर्दै आएको छ । अनुसन्धान र विकासमा लगानी नगरी प्रविधिको उपयोगबाट लाभ लिने भन्ने सम्भव हुँदैन ।
    प्रविधि उपयोय गर्न क्रय क्षमता त्यत्तिकै महàवपूर्ण हो । सबैखाले प्रविधिमा हाम्रो क्रय क्षमताले नभ्याउन सक्छ । वित्तीय र मौद्रिक नीतिमार्फत् प्रोत्साहन दिएर प्रविधि भि†याउने कुरा त छँदैछ । प्रविधि भि†याउँदा भन्सार महसुल तथा मूल्य अभिवृद्धि कर सहुलियत, उन्नत प्रविधि भि†याएर उत्पादन गर्ने कम्पनीहरूलाई बैंकहरुबाट सहुलियत कर्जा जस्ता यावत् उपायहरुमार्फत् प्रविधि भि†याउन सकिन्छ । प्रविधिको प्रयोग नगरी प्रतिस्पर्धी हुने भन्ने अब कल्पनाबाहिरको कुरा भएको छ । अन्य देशहरूले पनि प्रविधि आयातका लागि बैङ्कको कर्जामा सहुलियत दिएका पनि छन् । नेपालमा पनि राष्ट्र बैङ्कको पुनर्कर्जा सुविधालाई यो क्षेत्रमा प्रयोग गर्न सकिन्छ । प्रविधि सबै आयात नै गर्नुपर्छ भन्ने पनि छैन, स्थानीय तहमा सस्तो प्रविधि विकास गरेर प्रयोगमा ल्याउन र सोही प्रविधिलाई बिक्री गरी लाभ पनि लिन सकिन्छ । तर अनुसन्धान र विकासमा लगानी बढाउँदै गएपछि एउटा अन्तरालमा हामी प्रविधि निर्यात गर्न सक्ने अवस्थामा पनि पुगौँला । केही आइटी इन्जिनियरहरूले त नयाँ प्रविधिहरू विकास गरेर विश्वका विभिन्न देशहरूमा पु¥याएका पनि छन् । केही अपवादबाहेक ठुलो स्केलमा स्थानीय प्रविधि विकास तत्कालै नहुन सक्छ । यस्तो अवस्थामा प्रविधि आयात गर्दा प्रतिस्पर्धाको माध्यमबाट गराउनुपर्छ । कुनै एउटा मात्र प्रविधि आपूर्तिकर्तामा भरपर्दा उसको एकाधिकारले लागत महँगो पनि हुन सक्छ । यस्तो अवस्थामा आफूलाई चाहिएको प्रविधि कुन—कुन देशका आपूर्तिकर्ताले कति मूल्यमा आपूर्ति गर्न सक्छन् भनेर प्रतिस्पर्धा गराउनैपर्छ । प्रविधि आपूर्तिकर्ताहरुमा अहिले विश्वव्यापी रुपमा प्रतिस्पर्धा तीव्र हुँदै गएकाले प्रतिस्पर्धात्मक माध्यमबाट प्रविधि भि†याउनेतर्फ हामी सचेत हुनुपर्छ ।
    प्रविधिमा पहुँच पनि भयो, खरिद गर्ने क्षमता पनि भयो तर उपयोग गर्ने सीप भएन भने पनि यसबाट लाभ लिन सकिदैन । प्रविधिको उपयोग हुनुप¥यो, यसका माध्यमबाट कृषि, शिक्षा, स्वास्थ्य, औद्योगिक उत्पादन र सेवा प्रवाहमा रूपान्तरण ल्याउन, कार्यकुशलता र प्रभावकारिता बढाउन त्यहीअनुसारको सीपयुक्त जनशक्ति पनि आवश्यक पर्छ । हाम्रा युवा युवतीहरूको सीप बढाउनुप¥यो, यससँगै उनीहरूले प्रविधिको उपयोग गर्न सक्छन् । यसबाट रोजगारी र उद्यमशीलताको सिर्जना हुन्छ । यसका लागि अहिलेको हाम्रो शिक्षा प्रणालीमा आमूल परिवर्तन ल्याउनुपर्ने हुन्छ । ‘साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ एन्ड म्याथम्याटिक्स’ को अध्ययन–अध्यापनमा विशेष ध्यान दिनुपर्छ । निजी क्षेत्रसँगको सहकार्यमा तिनीहरूले उपयोग गर्ने प्रविधि र भविष्यमा विकास हुनसक्ने उद्योगहरूको समेत ख्याल गरी सीपयुक्त जनशक्ति विकासका लागि पाठ्यक्रम विकास गर्नुपर्छ । सीप विकासका लागि विश्वविद्यालय र निजी क्षेत्रले सहकार्य गरेर अघि बढेको खण्डमा हामीलाई आवश्यक जनशक्ति विकास गर्न सकिन्छ ।
    यसबाहेक प्रविधिको उपयोगका लागि पूर्वाधारको अत्यन्त महàवपूर्ण हुन्छ । उदाहरणका लागि उपकरणहरू चलाउन विद्युतको नियमित आपूर्ति हुनुप¥यो, इन्टरनेटको गति बढाउनका लागि फाइबर अप्टिक्सहरु र टावरहरू त्यहीअनुसार हुनुप¥यो । प्रविधिको उपयोग गर्नका लागि नीतिगत पक्षमा पनि हामी सबल हुनुपर्छ । प्रविधिको विकाससँगै यसको दुरुपयोग गर्नेहरु पनि बढ्दै गएका छन् । दुरुपयोग रोक्नका लागि तथा प्रविधिलाई प्रोत्साहन गर्नका लागि नीतिगत आवश्यकता हुन्छ । यसअघि उल्लेख गरिएको वित्तीय नीति र मौद्रिक नीतिमार्फत् प्रविधिलाई प्रोत्साहन गर्ने विषयलाई पनि प्रविधिसम्बन्धी नीतिले समेट्नुपर्ने हुन्छ । प्रविधिले सबै राम्रो गर्छ भन्ने पनि छैन, उदाहरणका लागि अटोमेसनपछि कतिपय रोजगारीहरू कटौती पनि भएका छन् । तर प्रविधिको उपयोगले उत्पादनमा क्रान्ति ल्याएपछि त्यत्तिकै रोजगारीहरू सिर्जना भएका छन् । उदाहरणका लागि अहिले मोबाइलबाटै सेवा उपभोगको बिल तिर्न सकिने, स्मार्ट मिटरहरूले त्यही बिलको रकम उल्लेख गरिदिने भएपछि केही अपरेटर तथा मिटर रिडरहरुको रोजगारी कटौती भएको होला तर अर्को पक्षमा मोबाइल बिक्रीका लागि खुलेका ‘सो—रुम’ हरू तथा मर्मत केन्द्रहरूमा रोजगारी सिर्जना भएका छन् । त्यसकारण प्रविधिले रोजगारी कटौती मात्र होइन, रोजगारी सिर्जनामा पनि त्यत्तिकै महàवपूर्ण भूमिका निर्वाह गरेको छ । अर्कोतर्फ प्रविधिको उपयोगसँगै कतिपय अवस्थामा गोपनीयता हनन भएका घटनाहरू छन् । त्यसकारण साइबर सुरक्षाको विषय पनि त्यत्तिकै महàवपूर्ण छ । साइबर सुरक्षाको विषय आज एउटा मुलुकभित्र मात्र कडाइ गरेर सम्भव छैन, एउटा देशको नागरिकले प्रविधिको माध्यमबाट अर्को देशमा साइबर अपराध गर्न सक्छ । त्यसकारण यस्ता अपराध निरुत्साहित तथा निराकरणका लागि सोही अनुसारका कानुनहरू तथा यस्ता अपराध रोक्न अन्तर्राष्ट्रिय साझेदारी पनि त्यत्तिकै अपरिहार्य छ । (अर्थको अर्थले रजत जयन्तीका अवसरमा प्रकाशन गरेको स्मारिकाबाट साभार)

    क्रान्तिकारी सङ्घर्षका लागि शक्तिसञ्चय
    — रामचन्द्र हुमागाई

    लेनिन क्रान्तिकारी आन्दोलनमा उत्रिँदा माक्र्सवादी विचारधाराले पश्चिम युरोपेली मजदुर आन्दोलनमा नेतृत्वदायी भूमिका ओगटिसकेको थियो र यो विचारधारा रुसमा फैलिन थालेको थियो । गेओर्गी प्लेखानोभ रुसमा माक्र्सवादको पहिलो प्रमुख प्रचारक हुनुहुन्थ्यो । जारशाही दमनले गर्दा विदेसिन बाध्य हुनुभएको प्लेखानोभ र अन्य सहयोगीहरुले सन् १८८३ मा जेनेभामा पहिलो रुसी माक्र्सवादी श्रम मुक्ति दल नामक गुट खडा गरेका थिए । यस दलका सदस्यहरु माक्र्स र एन्गेल्सका कृतिहरु रुसी भाषामा अनुवाद गर्थे र गोप्य तरिकाले रुस पठाउने गर्थे । उन्नाइसौं शताव्दीको आठौं दशकको सुरुमा रुसमा माक्र्सवादी अध्ययनमण्डली र गुटहरु देखापर्न थाले ।
    युवा उल्यानोभ माक्र्सवादलाई वैचारिक हतियार ठान्नुहुन्थ्यो जसद्वारा रुसी सर्वहाराले आफ्नो स्वतन्त्रता हासिल गर्न सक्नेछ र रुसमा समाजवादी व्यवस्था कायम गर्न सक्नेछ । वहाँले माक्र्सको पुँजीको गम्भीर अध्ययन गर्नुभयो । पछि आन्ना इल्यिनिच्नाले सम्झना गर्नुभएको थियो भ्लादिमिर ठूलो उत्साहपूर्वक वहाँलाई माक्र्सका सिद्धान्तहरुबारे र यस सिद्धान्तले देखाएका नयाँ क्षितिजहरुबारे बयान गर्नुहुन्थ्यो । ऊ कति जोसिलो विश्वासले भरिएको थियो भने ऊसँग कुरा गर्ने व्यक्तिहरु उत्साहले भरिन्थे । त्यस बेला उसले आफूसँग कुरा गर्ने मानिसलाई विश्वास दिलाउन र आफ्नो शब्दले आकर्षित गर्न सिकिसकेको थियो । भ्लादिमिर उल्यानोभ पक्का माक्र्सवादी बन्नुभयो र वैज्ञानिक समाजवादी विचारधाराको प्रचार गर्न थाल्नुभयो ।
    मे १८८९ तिर भ्लादिमिर इल्यिच आफ्नो परिवारसहित काजानबाट सामारा गुबेर्निया आउनुभयो र साढे चार वर्ष बस्नुभयो । गर्मीको समय पुरा परिवार आलोकायेभ्का गाउँको नजिक रहको सानो घरमा बिताउँथ्यो र शरद्मा सामारा सथ्र्यो । यो अवधि लेनिनले गम्भीर अध्ययनमा लगाउनुभयो । लेनिनले माक्र्स र एन्गेल्सका कृतिहरुको अध्ययन जारी राख्नुभयो र जर्मन भाषाको अध्ययन गर्नुभयो । यसै समयमा जर्मन भाषाबाट रुसीमा माक्र्स र एन्गेल्सको महत्वपूर्ण कृति कम्युनिस्ट घोषणापत्रको अनुवाद गर्नुभयो । अनुवादको पाण्डुलिपि युवा क्रान्तिकारी अध्ययनमण्डलीमा पढिन्थ्यो । आफ्नो स्वाभाविक उत्साह र विश्वाससहित लेनिनले माक्र्सवादी विचारधाराको प्रचार गर्न थाल्नुभयो ।
    लेनिनको सामारा आगमनको समयमा यहाँका क्रान्तिकारी युवा र विद्यार्थीहरु नारोदनिकहरुको प्रभावमा परेका थिए । रुसी क्रान्तिकारी आन्दोलनमा यस विचारधाराको आधिपत्य कायमै थियो । रुसमा पुँजीवादको विकास हुन सक्तैन भन्ने नारोदनिकहरुको विचार थियो । उनीहरु मजदुर वर्गको ऐतिहासिक भूमिका स्वीकार गर्दैनथे र किसानहरुलाई आधारभूत क्रान्तिकारी शक्ति मान्दथे, निरंकुश शासनको विरुद्ध किसानहरुलाई विद्रोह गराउन चाहन्थे । यसै विचारधाराको प्रचार गर्न क्रान्तिकारी बुद्धिजीवीहरु गाउँहरुमा जान्थे । रुसी शब्द नारोदबाटै यस विचारधाराका अनुयायीहरु नारोदनिक भनिन थाले । तर किसानहरु उनीहरुलाई अविश्वासको दृष्टिले हेर्थे । जारशाही निरंकुश शासनको विरुद्ध आफ्नो संघर्षमा नारोदनिकहरु आतंकवादी तरिकाहरु अपनाउँथे । उनीहरु जारशाही सत्ताको विभिन्न प्रतिनिधिहरुको हत्याद्वारा सत्तारुढ वर्गलाई तर्साएर उनीहरुको नीति बदल्न बाध्य गराउन चाहन्थे । जनताले नभएर केही व्यक्तिहरुले जारशाहीको उन्मूलन गर्न सक्नेछन् भन्ने उनीहरुको विचार थियो । तर उनीहरु भ्रममा परेका थिए । जारका केही वरिष्ठ अधिकारीहरु अथवा जारकै हत्याद्वारा तत्कालीन व्यवस्थाको उन्मूलन गर्न सकिन्नथ्यो । जारशाही व्यवस्था कायम रह्यो । हत्या गरिएका मन्त्रीहरुको ठाउँमा उनीहरुजत्तिकै जारप्रति वफादार नयाँ मन्त्रीहरु मनोनीत हुन्थे । नारोदनिकहरुको कठोरतापूर्वक दमन गरियो । उनीहरु जेल पठाइए, फाँसीमा झुन्डाइए, निर्वासित भए । नारोदनिकहरुको वीरता र आत्मत्यागले उनीहरु क्रान्तिकारीहरुको रुपमा प्रख्यात बने । बुद्धिजीवी तथा प्रगतिशील मजदुरहरुबीच उनीहरुको प्रभाव बढ्न थाल्यो । नारोदनिकहरुको क्रान्तिकारी अनुभव, साहस र दृढताको सराहना गर्दै लेनिनले उनीहरुको गलत दृष्टिकोण र क्रियाकलापको आलोचना गर्नुभएको थियो ।
    जारशाही सरकारद्वारा गोप्य संगठन नारोदनाया भोल्याको उन्मुलन गरिएपछि धेरैजसो नारोदनिकहरुले क्रान्तिकारी संघर्ष गर्न छोडे । उनीहरुले जनतालाई हुकुमी शासनप्रति नतमस्तक हुने पाठ पढाउन थाले । पहिलेका क्रान्तिकारी नारोदनिकहरुको विपरीत सन् १८९० तिरका नारोदनिकहरुले निरंकुश शासनको विरुद्ध संघर्ष गर्न मात्र छोडेका होइनन्, शासकहरुको चाकडीसमेत गर्न थाले । यस प्रकारले आफ्नो क्रान्तिकारी दृष्टिकोण र क्रियाकलाप परित्याग गरेका नारोदनिकहरु उदारवादी भनिन थालिए । लेनिनले उनीहरुको विरुद्ध निर्णायक युद्ध छेड्नुभयो । सामारामा वहाँले पहिलोपल्ट नारोदनिकहरुको सार्वजनिक रुपमा आलोचना गर्नुभयो । गरमागरम बहस र वादविवादको सिलसिलामा लेनिन उनीहरुका सिद्धान्तहरुको दिवालियापन र अव्यावहारिक प्रमाणित गर्नुहुन्थ्यो ।
    लेनिनले ठूलो मिहिनेतसाथ अध्ययन जारी राख्नुभयो । गर्मीको समयमा वहाँले अलाकायेभ्का गाउँको लाइम रुखहरुले भरिएको बगैंचाको एउटा एकान्त कुना फेला पार्नुभयो । त्यहाँ एउटा टेवुल र वेन्च राखिएको थियो । प्रत्येक विहान चिया पिइसकेपछि कितावको ठेली बोकेर ऊ ठीक समयमा त्यस कुनामा पुग्थ्यो, मानौं उसलाई त्यहाँ कुनै कडा शिक्षक पर्खेर बसिरहेको छ । त्यहाँ यस एकान्त ठाउँमा ऊ दिउँसो खाने बेला नभएसम्म बिताउँथ्यो । आन्ना इल्यिनिच्नाले आफ्नो संस्मरणमा लेख्नुभएको थियो ।
    लेनिन अध्ययनको साथसाथै आराम पनि गर्न जान्नुहुन्थ्यो । वहाँ नियमित रुपमा कसरत गर्नुहुन्थ्यो, डुल्न जानुहुन्थ्यो, संगीत सुन्न रुचाउनुहुन्थ्यो र सतरञ्ज खेल्नुहुन्थ्यो । वहाँ हाँसोठट्टा गर्न खुब मन पराउनुहुन्थ्यो । आफ्नो उल्लासपूर्ण रमाइलो किशोर स्फूर्तिले सबैलाई मुग्ध तुल्याउनुभएको थियो ।
    लेनिनले घरैमा बसेर डेढ वर्षभित्र विश्वविद्यालयको चारवर्षे कोर्स पूरा गर्नुभयो । सन् १८९१ मा वहाँले पिटेरवुर्ग विश्वविद्यालयको कानुन विभागमा जाँच दिनुभयो र पहिलो श्रेणीमा उत्तीर्ण हुनुभयो । सन् १८९२ मा लेनिनले सामाराको जिल्ला अदालतमा वकालत गर्न सुरु गर्नुभयो । वहाँ गरिब किसानहरुको लागि वकालत गर्नुहुन्थ्यो । तर वकालती लेनिनको मुख्य पेसा बनेन । वहाँले आफ्नो सम्पूर्ण शक्ति माक्र्सवादको अध्ययन र सक्रिय क्रान्तिकारी क्रियाकलापको तयारीमा लगाउनुभयो ।
    सन् १८९२ मा लेनिनले सामारामा पहिलो माक्र्सवादी अध्ययनमण्डली खोल्नुभयो । मण्डलीका सदस्यहरु माक्र्स र एन्गेल्सका कृतिहरु पढ्थे र माक्र्सवादको प्रचार गर्थे । अपा स्कल्यारेन्को, इखी लालयन्च मई सिम्योनभ, इअ कुज्नेचोभ, मई लेबिटेभाजस्ता युवा क्रान्तिकारीहरु यस मण्डलीका सदस्य थिए । त्यस बेला आफ्नो गाढा ज्ञान, विश्वास र समर्थकहरु बढाउन सक्ने क्षमताले गर्दा लेनिनले आफ्ना सहयोगीहरुलाई चकित तुलाइसक्नुभएको थियो । अध्ययनमण्डलीका सदस्य इख्री लालायन्चले संस्मरणमा लेख्नुभएको थियो — त्यस तेईस वर्षीय युवकमा सरलता, सहृदयता र उत्साहको साथै गम्भीरता, गहन ज्ञान, कठोर तर्कशीलता र स्पष्ट एवं उद्धत विवेकशक्तिको गजबको सम्मिश्रण पाइन्थ्यो ।
    लेनिनले आफ्नै आँखाले रुसी ग्रामीण जीवन देख्नुभएको थियो । वहाँ अक्सर किसानहरुसँग कुराकानी गर्नुहुन्थ्यो । उनीहरुका समस्याहरुबारे सोधपुछ गर्नुहुन्थ्यो । उनीहरुको कुरा ध्यानपूर्वक सुन्नुहुन्थ्यो । लेनिन किसानहरुको अवस्थाबारे आर्थिक कृतिहरु र तथ्यांकहरुको अध्ययन गर्नुहुन्थ्यो । सामारामा लेनिनले कृषि जीवनमा नयाँ आर्थिक आन्दोेलन लेख लेख्नुहुन्थ्यो । यो लेनिनको पहिलो वैज्ञानिक कृति हो । यस लेखमा वहाँले रुसको कृषि व्यवस्थामा कसरी पुँजीबाद घुस्दैछ र किसानहरुलाई गरिव, मध्यम वर्ग र धनीहरुमा विभाजन गर्दैछ भन्ने देखाउनुभएको थियो ।
    लेनिनको क्रान्तिकारी क्रियाकलाप सामारामा सीमित रहेन । वहाँले काजान, सरातोभ, सिजरानजस्ता भोल्गा तटवर्ती सहरहरुका माक्र्सवादीसँग सम्वन्ध कायम गर्नुभयो ।
    लेनिनको भावी क्रान्तिकारी क्रियाकलापको लागि सामारामा वहाँले बिताएको समय महत्वपूर्ण ठहरियो । यसै अवधिमा लेनिन क्रान्तिकारी संघर्षको विस्तृत मार्गमा निस्कनको लागि शक्ति सञ्चय गर्दै हुनुहुन्थ्यो । यहीँ वहाँको माक्र्सवादी, साम्यवादी विचारधाराले प्रौढता हासिल ग¥यो । लेनिनले माक्र्स र एन्गेल्सले सुरु गर्नुभएको कार्य र वहाँहरुको शिक्षालाई अगाडि बढाउनुभयो । तर लेनिनको क्रियाकलापको लागि सामाराजस्तो प्रान्तीय सहर सीमित कार्यक्षेत्र ठहरियो । वहाँ त्यस्तो ठूलो औद्योगिक केन्द्रमा पुग्न चाहनुहुन्थ्यो जहाँ सर्वहाराको विशाल संख्या केन्द्रित भएको होस् र क्रान्तिकारी क्रियाकलापको लागि प्रशस्त सम्भावना होस् । अगस्ट १८९३ मा लेनिन टिपेरवुर्ग आइपुग्नुभयो ।

    कसले सधैं सुख दिन्छ ?
    — मुकुन्दप्रसाद उपाध्याय

    श्यामाश्याम धाम अर्थात् राधाकृष्ण धामका परिकल्पनाकार ब्रह्मलीन स्वामी कृपालुजी महाराज आफ्नो दिव्य प्रवचनका क्रममा भन्नुहुन्थ्यो — “भौतिक वस्तुमा सुख छैन । त्यसले सुख दिँदैन । दिइहाले पनि त्यो क्षणिक हुन्छ, चिरस्थायी हुँदैन । साइकल पनि किन्न नसकेको एक गरिब मजदुरलाई लाग्छ साइकल प्राप्ति र चलाउनुमा सुख छ । उसले त्यो पाएपछि साइकलले सुख दिन छोड्छ र लाग्छ मोटरसाइकलमा सुख छ । मोटरसाइकल प्राप्तिपछि त्यसले पनि सुख दिन छाड्छ । अनि कार, कारमा बीएमडब्लू, रोल्स रोयस कार अनि निजी हेलिकप्टरसमम पुग्दा पनि स्थायी सुख मिल्दैन, क्षणिक मात्र हुन्छ ।”
    भौतिक वस्तुले सुख दिन्छ, त्यो पनि क्षणिक । स्थायी सुख अर्थात् आनन्द अभौतिक वस्तुबाट मात्र प्राप्त हुन्छ अर्थात् जडभिन्न वस्तु मात्र आनन्दको स्रोत हुन सक्छ । जसरी हामी प्रत्येक जीवात्मालाई परमात्माको अंश मान्दछौँ, जीव नै शिवको अंशी हो भन्छौँ, त्यसरी नै त्यो सुख, जो क्षणिक नै किन नहोस्, आनन्दको लघुत्तम अंश त हो नि ! इमर्जेन्सीमा मलमूत्र विसर्जन गर्दा होस् वा लुतो र दाद कन्याउँदा होस्, हामीले पाउने सुखानुभूतिले नै जीवलाई नित्य नूतन दिव्य सुख, आनन्द, दिव्यानन्द, रामानन्द, परमानन्दको बाटोमा हिँड्न प्रेरित गर्ने गर्दछ ।
    तàवमा माटोको एउटा सूक्ष्म कणले विशाल धर्तीको प्रतिनिधित्व गर्दछ । पानीको एउटा थोपाले विशाल महासागरको प्रतिनिधित्व गर्दछ । सलाई कोर्दा प्रकट हुने अग्निको झिल्कोले विराट सूर्य, चन्द्र र अग्नितàवको प्रतिनिधित्व गर्दछ । त्यस्तै बेलुनभित्रको वायुले वायुमण्डलीय हुरी–बतासको र घडामा व्याप्त आकाशले महाकाशको प्रतिनिधित्व गर्दछ । त्यसरी नै एक सामान्य जीव परमात्माको अंशी वा प्रतिनिधि पात्र हो भने अति क्षणिक सुख पनि त दिव्यानन्द परमानन्दको लघुत्तम अंश हो नै !
    हामीले केचाहिँ विचार गर्नुपर्ने हुन्छ भने हामीले तत्काल जुन वस्तुबाट सुखको अनुभूति गर्दछौँ, त्यो वस्तु नै कत्तिको स्थायी वस्तु हो ! क्षणिक, अस्थायी, विकारी, मरणशील वस्तुहरूबाट प्राप्त हुने सुख तदनुसार नै क्षणिक, अस्थायी र विकारी हुनु स्वाभाविकै हो ।
    यो विश्वमा देखिने भौतिक वस्तुहरूमध्ये सबैभन्दा स्थायी र दीर्घायु वस्तुहरू प्रकृतिका पञ्चतàवहरू हुन् । पञ्चतàवहरूमा स्थूलताबाट सूक्ष्मतातिर गणना गर्दा क्रमशः धर्ती (माटो), जल, अग्नि (तेज), वायु र आकाश हुन् । हरेक तàवका विशेष गुण हुन्छन् । आकाशको शब्द, वायुको स्पर्श, तेजको रूप, जलको रस र धर्तीको गन्ध विशेष गुण हो । हामीलाई सुख प्राप्त हुने कुराहरूमा जति उपभोग गर्दा पनि नअघाउने, नियमित बारम्बार ग्रहण गर्दा पनि राम्रो लाग्ने, सुख प्राप्त हुनेमा पञ्चतàवप्रदत्त गुणहरू हुन्छन् । जस्तै हामी जति बोले पनि, आफ्नो गुणगान अरूको वाणीबाट जति सुने पनि अघाउँदैनौँ । किनकि त्यो शब्द वा वाणी आकाशतàवको गुण हो । हामी दिनका दिन, छिनका छिन वायु भक्षण गर्दछौँ, सास फेर्दछौँ । सास फेर्ने क्रमबाट हामी कहिल्यै अघाउँदैनौँ । तेजको गुण रूप हो । त्यसैले प्राकृतिक सुन्दर छटाहरू, दृश्यहरूबाट पनि प्रायः व्यक्ति अघाउँदैन । अनि अग्नितàव, तातोपनबाट पनि कहिल्यै अघाउँदैन । कति हिउँद आए, गए । प्रत्येक हिउँदमा न्योनापन प्रिय हुन्छ । न्यानोपनबाट हामी अघाउँदैनौँ । त्यसरी नै दिनका दिन पानी खान्छौँ । तर पानीबाट कहिल्यै अघाउँदैनौँ । त्यसले सधैँ सुख प्रदान गर्दछ । अनि गन्ध धर्तीको गुण भएकाले फूलहरूको सुगन्धले पनि हामी कहिल्यै अघाउँदैनौँ । त्यसबाट सधैँभरि सुखानुभूति हुने गर्दछ ।
    क्षणिक, विकारी, मानवनिर्मित वस्तु र सेवाहरूले दिने सुखभन्दा प्रकृतिनिर्मित पञ्चतàवले दिने सुख केही स्थायी र चिरस्थायी हुन्छ । यो प्रकृतिलाई अपरा प्रकृति भनिन्छ भने परा प्रकृतिले दिने सुख झन् बढी स्थायी र दिव्य हुनुपर्छ । त्यो सुख झन्डै आनन्दको नजिक हुन्छ होला । अनि जेबाट परा र अपरा दुवै प्रकृति बन्छ, जसको शक्तिबाट परा र अपरा प्रकृतिले कार्य गर्दछ, त्यो ब्रह्म हो । त्यो परब्रह्म परमात्माको सान्निध्य, अनुभूति र साक्षात्कारबाट प्राप्त हुने सुखचाहिँ परम सुख, दिव्य आनन्द हो । त्यो नित्य नूतन र अजर–अमर हुन्छ । त्यसैले ब्रह्मलाई सत्–चित्–आनन्दमय भनिएको छ ।
    ‘गीता’ को द्वितीय अध्यायको १६ औँ श्लोकले पनि भन्छ — ‘असत् वस्तुको सत्ता नै छैन, अनि सत् वस्तुको अभाव नै छैन ।’ त्यसैले हामी मनुष्यहरूलाई असत् वस्तुहरूबाट प्राप्त हुने सुख क्षणिक हुन्छ, छिटै अघाउनेवाला हुन्छ, अर्थात् वेदान्तीय भाषामा सुखको आभास मात्र हो, यथार्थमा मिथ्या हो । तर सत् वस्तुबाट प्राप्त हुने सुख दिगो हुन्छ, चिरस्थायी हुन्छ र त्यो सत्–चित्–आनन्दमय हुन्छ । त्यसैले हामी मुमुक्षुहरूलाई भक्तिमा चुर्लुम्म डुब्दा, मनोनिग्रहद्वारा एकचित्त भई बस्ता अनि ध्यानस्थ हुँदा प्राप्त हुने सुख मीठो, दिगो, नित्य नवीन र आनन्दमय लागेको हो । किनभने ईश्वरीय सत्ता सत् वस्तु हो ।

    थकालीका सन्तान कतिकति
    — हुचरा

    निकै पहिलेदेखिको सोच थियो मुस्ताङ घुम्न जाने । कहिले समयले साथ दिएन त कहिले स्वास्थ्यले । असक्तताकै बाबजुद पनि यो बैशाखको मध्यतिर एक्लै भए पनि मुस्ताङ जाने सोच मनभित्र रुमलिदै थियो । कोलकातामा लामै समयदेखि बसोवास गर्दै आएका काभ्रे पात्लेखेतका भाइ नारायण हुमागाईं पनि यो पटकको नेपाल बसाईंमा मुस्ताङ जाने सोच वनाएरै आएका रहेछन्, मलाई सुनमाथि सुगन्ध थपिएको अनुभव भयो ।
    बैशाख ९ गते मुस्ताङका लागि निस्कने सोच उनले बनाइसकेका रहेछन् । मैले पनि आफूलाई पनि साथै लैजान अनुरोध गरें उनलाई । गाडी बस्दोवस्त गरिदिनेसँग फोनमा सम्पर्क गरिहाले । म पनि तयारीमा थिएँ, साँझसम्म निश्चित हुने खवर बोकेर हामी छुट्टियौं । साँझ नारायणले फोन गरेर भने, ‘दाई गाडिको बस्दोवस्त भयो, रु. १५ हजार प्रतिव्यक्ति, बिहान ५ बजे हिड्ने’ । उनको यो छोटो खबरले म पनि उक्सिएँ, अलिक रकम बढी भयो कि जस्तो पनि लाग्यो । गाडि कस्तो हो ? त्यसको पनि कौतुहलले रातैभरि निद्रा लागेन ।
    बिहान चारै बजे उठेर हातमुख र शौचादि सकेर बबरमहल पुगें । गाडि चालक रुपेश बस्नेतले माइतिघरलाई बबरमहल भन्ने ठानेछन् । त्यहाँ पुगेर फोन गरे । नारायणको फोन त्यो दिन मौन बसेको ब्रतालुजस्तो भएको रहेछ, चल्दै चलेन । एकैपटक पोखरा पुगेपछि मात्रै फोनले मौनता तोड्यो । बस्नेतले गाडि घुमाएर काठमाडौं जिल्ला अदालत अगाडि ल्याए, गाडि चढेपछि बल्ल यात्रा आरामदायि हुने भयो भनेर सञ्चो लाग्यो । त्यतिवेला गाडिमा तीनजना मात्रै थियौं म, नारायण र रुपेश । अरु चारजना बौद्ध, जोरपाटीमा लिन जानुपर्ने । स्कारपियोमा हामी हानियौं जोरपाटीतर्फ । यहाँबाट बस्ने यात्री कस्ता होलान भनेको त एकजना हात भाँचिएका धादिङ च्याङलीका लालाबहादुर मगर र उनका एक छोरा, बुहारी, श्रीमती रहेछन् । नौ सिटे गाडिमा चालकसमेत सातजना । गाडि त्यहाँबाट आयो रातोपुलमा । त्यहाँ उसको कार्यालय रहेछ । हिजोआज फेसनकै रुपमा चलेको दाह्रीलाई चिटिक्क पारेर पालेका युवक सडकमा उभिएका । उनले हामी सबैलाई अभिवादन गर्दै हात फैल्याएर नगद माग्दाको दृश्य अर्कै । उनले हामीलाई ब्रिफिङ्ग गरे, तपाईंहरूको यात्रा चार रात र पाँच दिनको हुनेछ । विहानको ब्रेकफास्ट, लन्च, डिनर र वातानुकुलित होटलमा वास । यिनको व्यबहारले निकै लोभ्यायो र अव नेपालमा पनि दक्ष र योग्य व्यवसायीहरू उत्पादन हुन थालेछन् भन्ने अनुभूति बटुल्दै हामी लाग्यौं थानकोटतर्फ ।
    हामी थानकोट पुग्दा यो सभ्य समाजको सिंदूर पोतेको काठमाडौं व्युतिसकेको थिएन । बरू खराव वातावरणको प्रताडनाले छट्पटिएका चराचुरूङ्गीहरू चिरविर चिरविर गर्दै हामीलाई विदा गरिरहेका थिए । राजा त्रिभुवनकै पालामा निर्मित त्रिभुवन राजपथ एउटा ट्रक खानीखोलाबाट उकालो लाग्दा नागढुङ्गासम्मै रमाइलो लाग्ने जमानामा बनेको थियो । अहिले पनि थोरबहुत मात्रै मर्मत भएको तर एक मिनेटमा २५ वटा त्यो पनि बाह्रचक्के गाडिले पार गर्न खोज्दा के आनन्दको अनुभूति हुन्थ्यो र ! तैपनि लोभकुण्डको भण्डार यो उपत्यका पार गर्नैपर्ने भन्दै हामी नागढुङ्गाको आरोलो पार गर्न थाल्यौं ।
    विहानको खाना नौलो डाँडामा रहेछ । आजभन्दा पाँचवर्ष अगाडि त्यो नौलो डाडाँमा एउटा मात्रै थकालीको भात पसल थियो । पछाडिको आँगनमा बसेर त्रिशुलीको नैनानुभूति गर्दा संसारै मेरो जस्तो लाग्यो । त्यो नौलो डाँडाले पनि शहरको रुप लिइसकेको रहेछ । कति थकालीका भात पसल । जनसंख्याविद्हरूले लेखेका छन्, ‘नेपालमा मात्रै बसोवास भएको यो थकाली थर अत्यन्तै न्युन छन्’ । तर जति बाटाघाटा बढ्दै गएका छन् उति थकालीको संख्या पनि बढेको बढ्यै छ, कि रातैभरि सुत्तैनन् ? सत्य के हो भने थकालीहरू निकै मिहिनेती हुन्छन् । परिवार आफैं खट्छन् ।
    नौलो डाँडाको मीठो दालभात, तरकारीले हामी रमायौं । दस वर्षअगाडि दालभात तरकारी ‘खाए खा नखाए घिच्’ भन्ने खालको पाइन्थ्यो, त्यो पनि काठमाडौंबाट निस्किएपछि एकैपटक मुङलिनमा पाइन्थ्यो । एकपटक पत्रकार शंकर कार्कीले जोक गरेका थिए, ‘यो ठाउँमा तिमीले कुकुर देखेका छौ ?’ त्यहाँ कुकुर पनि काटेर खसीको मासुकै मूल्यमा बिक्री गरिन्छ भन्ने हल्ला काठमाडौंमा चलेको थियो । हल्लैहल्लाको काठमाडौंमा कहिलेकाहीँ सत्य हल्ला पनि आउँथे ।
    नौलो डाँडाको मीठो खानापछिको हाम्रो लक्ष थियो पोखराको । समयभन्दा छिटो पोखरा पुगिने भएपछि धिमागतिमा निर्माणाधीन नारायणगण—मुङलिनको बाटो टाढैबाट नियाल्दै त्रिशुली पार ग¥यौं । मस्र्याङदी र त्रिशुलीमा नयाँ पुल निर्माण हुदै रहेछ, त्योपनि अत्युाधुनिक गोलाकार पारामा । सायद केही महिनापछि त्यो पुलले पनि पूर्णता पाउँछ होला कमिशनखोरहरूको वोलवाला चलेन भने । त्योभन्दा निकै वर्षअगाडि सञ्चालनमा आएको मस्र्यांङदी जलविद्युत आयोजना बाटैमा पर्ने भएकाले नारायण र लालबहादुरलाई नौलो लाग्ने नै भयो । लालबहादुरले त एक हातको जिब्रो बाहिरै निकाले, ‘ओ ! यति लामो सुरुङ्ग । मैले थपिदिएँ, ‘यो त केही पनि होइन, पानी नआए पनि मेलम्चि खाने पानीको सुरुङ २८ किमि छ’ । यत्तिकै रौसिदै हामी त्यो रात पोखरामा वास बस्यौं ।

    राजा विक्रमादित्य नेपाली रहेछन्
    — रामचन्द्र खत्री

    विक्रम सम्वत् परापूर्वकालदेखि नेपालमा चल्दै आएको एउटा ऐतिहासिक र मौलिक सम्वत हो । यो सम्वत् अन्य सम्वत्हरूभन्दा ज्येष्ठ हुनुको अलवा शक सम्वत्, नेपाल सम्वत् र अन्य सम्वत्हरूझैँ तिथिका आधारमा चल्दै आएको छ । यस सम्वत्मा गते एवं बारसमेत उल्लेख गर्न थालेपछि विक्रम सम्वत् अन्य सम्वत्हरूभन्दा अधिक लोकप्रिय बन्न पुगेको हो । किनभने तिथिहरू कहिलेकाहीँ एकै दिन दुईवटा पनि पर्न जाने भएबाट व्यवहारमा असहज पर्न गएकाले विक्रम सम्वत्मा गते एवं बार उल्लेख गर्ने प्रचलन बसेको हो, यसमा सन्देह रहन्न । शक सम्वत्, नेपाल सम्वत् र अन्य प्रचलनमा आएका सम्वत्हरू भने गते एवं बारका आधारमा भन्दा पनि तिथिका आधारमा चलेको पाइन्छ । तसर्थ व्यावहारिक कोणबाट दृष्टिगत गर्दा पनि विक्रम सम्वत् समग्र हिमवत्खण्ड नेपालका विभिन्न ससाना राज्यहरूमा प्रचलित भइरहेकोमा पछि विशाल नेपाल राज्यको एकीकरणपश्चात् भने राष्ट्रिय सम्वत्का रूपमा स्थापित हुन आएको हो । त्यसो त हिमवत्खण्डअन्तर्गत पर्न गएका एकीकरणपूर्वका सेनवंशी, किरातवंशी, पश्चिमका बाइसी–चौबिसी राज्य, सिँजा प्रदेश तथा काठमाडौँ उपत्यका (काठमाडौँ, ललितपुर र भक्तपुर सहर) लगायत ब्रह्मपुत्रको फाँटदेखि गङ्गा–यमुना नदीको आसपासमा विक्रम सम्वत् प्रचलनमा आएका तथ्यहरू यथेष्ट छन् ।
    विक्रम सम्वत्मा वर्षको ३६५ दिन र शक तथा नेपाल सम्वत्मा वर्षको ३५४ दिन मात्रै हुने भएकाले गे्रगोरियन क्यालेन्डरअनुसार ईस्वी सम्वत्सँग तादात्म्य मिलाउन विक्रम सम्वत् धेरै उपयोगी र व्यावहारिकसमेत देखिन्छ । परन्तु यो बेग्लै आयाम हो । अतः यो सन्दर्भलाई हाल यहीँ छाडेर तथ्यपरक विषयवस्तुमा केन्द्रित भई यसको मर्म एवं ध्येय उठान गर्नेतर्फ लागौँ ।
    पशुपतिपुराणमा उल्लेख भएअनुरूप ‘अथ सूर्यवंश प्रभावान्नेपाले किराँत राजन निजित्य लिच्छवि वंश प्रवर्तते’ अर्थात सूर्यवंशी लिच्छविराजाको प्रभावले किराँती राजालाई परास्त गरी लिच्छविवंशको अभ्युदय भएपछि उनै लिच्छविवंशका प्रजापालक राजा धर्मपाल, जो भूमिबर्मा विक्रमादित्यको उपाधिबाट समेत पुकारिन्थे, उनैले काठमाडौँको बत्तीसपुतलीमा राजधानी स्थापना गरी शासन गरेको तथा उनैको समयदेखि विक्रम सम्वत्को उठान भएको हो भन्न कुरा वर्णन गरिएको छ ।
    जे होस्, ईस्वी सम्वत्, नेपाल सम्वत्, शक सम्वत् र अन्य सम्वत्हरूभन्दा पनि जेठो भएकाले होला, विक्रम सम्वत्ले आजपर्यन्त ऐतिहासिक तथ्यहरूलाई जीवन्त राख्न सफल भएको छ । यसै गरी ‘श्री वीरपाल नृपति तत् अभूतः अस्मात् विक्रमादित्य भूपः’ भन्ने वाक्यांश देवमाला वंशावलीमा उल्लेख भएको देखिन आएकाले विक्रमादित्य नामका कुनै एक चक्रवर्ती राजाको काठमाडौँ बत्तीसपुतलीस्थित हालको राममन्दिर भएकै स्थानमा राजसिंहासन थियो भन्ने कुरा वर्णित भएको पाइन्छ । यसबाट नाला (काभ्रे जिल्लाको प्राचीन सहर) मा पनि विक्रमादित्य नाम गरेका कुनै राजाले शासन गरेको तथ्य काभ्रे जिल्लाको ‘काभ्रे–सिन्धु वृत्तान्त’ मा समेत उल्लेख गरेको देखिन्छ ।
    यस्तै, लिच्छविकालीन वंशावलीमा उल्लेख भएअनुसार ललितपुरको हरिसिद्धि मन्दिरको निर्माण र हरिसिद्धि नाटकको मञ्चन क्रमशः वि. सं. ७११ र ९४५ मा भएको थियो । मल्लकालीन प्रतापी राजा जयस्थिति मल्लको पालाको सुवर्णपत्रमा पनि ‘विक्रम राजवर्ष १४४८ श्रीमत् नेपाली के श्रेयोस्तु’ भनी उल्लेख भएबाट मल्लकालीन अवधिमा समेत विक्रम सम्वत् चलनचल्तीमा रहेको कुरा स्पष्ट हुन आउँछ । यसप्रकार विक्रमादित्य नामका चक्रवर्ती राजाले साँखुको वज्रयोगिनीबाट पारसमणिसहित आशीर्वाद प्राप्त गरी नारायणहिटी दरबारको दक्षिणतर्फ नारायणको मूर्तिसँगै जोडी धारा बनाई विक्रम सम्वत् चलाएको तथ्य वर्णन गरिएको छ । साँखु वज्रयोगिनीको मन्दिरबाट केही पर माथि एउटा मन्दिरमा विक्रमादित्य नामक राजाको शिर रहेको र वज्राचार्य वंशका पुजारीले अद्यापि सो शिरको पूजा–अर्चना गरेर बस्ने गरेका छन् भनिन्छ । साँखुमा प्राप्त शिलालेखमा उल्लेख भएमुताबिक विक्रमादित्य नाम गरेका राजाले नेपालमा शासन गरेको योभन्दा अरू ज्वलन्त उदाहरण के हुन सक्छ ?
    त्यसै गरी नेपालमा प्रचलित पुराना सम्वत्हरूको अध्ययन गर्न वि. सं. १९३७ तिर नेपालको भ्रमणमा रहनुभएका भारतीय विद्वान् पं. भगवान्लाल इन्द्रजीले त्यसताका नेपालबाट २३ वटा अभिलेखहरू खोजेर लगी अध्ययन गर्दै लिच्छविकालीन सम्वत्हरू सबैलाई विक्रम सम्वत् नै ठहराउनुभएको थियो । त्यस्तै, भारतको कलकत्ता विश्वविद्यालयका इतिहासतर्फका प्राध्यापक राधागोविन्द श्रीवास्तवको मतानुसार ‘चाँगुनारायण मन्दिरको अभिलेखमा भेटिएको सम्वत ३८६ नै विक्रम सम्वत् हो ।’ फेरि नेपालका इतिहासविद् शङ्करमान राजवंशी भन्नुहुन्छ कि लिच्छविकालपूर्व र लिच्छविकालउत्तरका सम्वत्हरू शक सम्वत् नै होइनन् । तर यसो हुँदाहुँदै पनि नेपालकै कतिपय इतिहासकारहरू विक्रम सम्वत् नेपालको नभएर भारतको उज्जैनबाट प्रारम्भ भएको हो भन्ने कुराको जिकिर गर्दछन्, अर्थात् मत जाहेर गर्दछन् । तर यसमा कत्तिको सत्यता छ वा छैन, त्यो त समयले नै पुष्टि गर्ला । तथापि भारतको इतिहासमा उल्लेख भएअनुसार इ. सं. ४०० तिर गुप्तवंशीय सम्राट चन्द्रगुप्त मौर्यले अयोध्याउपर विजय प्राप्त गरी छालाको मुद्रामा विक्रमादित्य लेख्न लगाएको र सोही आधारमा विक्रम सम्वत् उनै विक्रमादित्यले उठान गरेका हुन् भन्ने मनगढन्ते एवं कपोलकल्पित कुरा पनि बाहिर आएको देखिन्छ, जुन कुरा तर्कयुक्त र तथ्यगत हुँदै होइनन् । यसै विषयमा केन्द्रित भई इतिहासशिरोमणि बाबुराम आचार्यले लेख्नुभएको छ कि जुन समय ईसापूर्व ५७ मा यो सम्वत् उठान भएको भनिएको छ, तत् समयमा उज्जैनमा चक्रवर्ती सम्राट विक्रमादित्यको अस्तित्व भारतीय इतिहासमा कहीँ कतै भेटिँदैन । फेरि उज्जैनका महàवपूर्ण अभिलेख एवं ऐतिहासिक खण्डहरको उत्खनन हुँदासमेत भारतमा सम्राट विक्रमादित्यले शासन गरेका तथ्य–प्रमाणहरू कहीँ केही पत्ता लागेको देखिँदैन ।
    अन्त्यमा, माथि उल्लिखित ऐतिहासिक तथ्य एवं अभिलेखअनुसार पनि विक्रम सम्वत्को प्रारम्भ नेपालमा नै भएको हो । किनकि भारतलगायत एसिया महादेशका कतिपय राष्ट्रहरूमा अङ्ग्रेजको शासन भएको र सोही शासनको प्रभावका कारण त्यस राष्ट्रका मौलिक सम्वत्हरू मेटिन गई ईस्वी सम्वत् प्रचलनमा आएको देखिन्छ । तर नेपाल मात्र विश्वमा एक मात्र यस्तो देश हो, जुन आजसम्म पनि साम्राज्यवादी प्रभावबाट जोगिएका कारण यसको आफ्नो मौलिकता र पहिचान बच्न जानुको अलावा विक्रम सम्वत् पनि यथावतै रहन सकेको हो । यसप्रकार इतिहासको उषाकालदेखि नै नेपाल एक स्वतन्त्र र सार्वभौम देश थियो भन्ने तथ्यको ठोस प्रमाण नै विक्रम सम्वत्को निरन्तरता हो । यसमा कसैको द्विविधा नरहला ।

    नकचराको औषधि हुँदैन
    — रोशन मञ्जुश्री

    हरेक पटक नयाँ अनुहार, हरेक पटक नयाँ व्यक्तित्व । मान्छेले ऐनालाई हैरान पारिसके ।

    — सुनील सापकोटा

    हामीसँग बुद्ध थिए तर बुद्धुहरूले गर्दा शान्ति रहेन । हामीसँग अरनिको थिए तर अनिष्टकारीले गर्दा कला रहेन । हामीसँग गोरखा छ तर गोरूको संख्या बढ्नाले नेपालको गौरव रहेन । हामीसँग सगरमाथा छ तर सकारात्मक सरकार नहुनाले शिर ठाडो हुन सकेन । हामीसँग वेद, त्रिपिटक र मन्धुम छ तर पाश्चात्य, पुरस्कार र पदका लालचीको फन्दामा परेर बिलखबन्द हुन पुगेको छ ।

    — हरिप्रसाद सोडारी

    नकचराको औषधि हुँदैन भन्छन् । अहिलेका सांसदहरूको मागले यसलाई अझ पुष्टि गरेको छ । होइन भने देश गणतन्त्रमा गइसकेपछि र स्थानीय तह र प्रदेशका लागिसमेत बिकास बजेट केन्द्रीय सरकारले उपलब्ध गराइसक्दा पनि फेरि कसका र केका लागि भनेर सांसदहरूले प्रतिव्यक्ति दस–दस करोड माग गरेका हुन् ? यसले त राजतन्त्रलाई पनि माथ गरेको छ ।

    — विश्वम्भर चञ्चल

    श्रमजीवी मजदुरहरुले योग्यता–क्षमता अनुसारको काम, कामअनुसारको दाम पाउन् र सुकिलामुकिलाहरुको अपहेलनाको सिकार नवनुन् ।

    — दुर्योधन बस्नेत

    सपना राम्रै देखिन्छ यदि सुताइ राम्रो छ भने । खुट्टा खुम्च्याइएको भए सपना पनि राम्रो देखिदैन भन्छन् । आनन्दको सुताइभित्रको सपना जस्तै होस्, सपना सार्थक बन्नेछ ।

    — नूरेश्वर अधिकारी

    अमृत वचन
    — रामप्रसाद शर्मा तिमल्सिना

    — कसैको निन्दा र चियोचर्चो नगरौँ ।
    — झूटो नबोलौँ ।
    — कटु शब्द, अपशब्द नबोलौँ । कसैलाई श्राप नगरौँ । अश्लील शब्दको उच्चारण नगरौँ ।
    — नम्रतापूर्ण र मधुर वचन प्रयोग गरौँ ।
    — व्यर्थै नबोलौँ तथा अभिमानका वाक्य प्रयोग नगरौँ ।
    — आफ्नो प्रशंसा आफैँ नगरौँ ।
    — पवित्र पद गाउने बानी बसालौँ । ईश्वरको नाम भजौँ ।
    — गाई, ब्राह्मण वा गरिब अथवा कसैको पनि हितमा हानि पुग्ने वचन प्रयोग नगरौँ ।
    — आवश्यकता भए अर्काको सच्चा प्रशंसा गरे तापनि व्यर्थमा कसैको चाकडी नगरौँ ।
    — कहिल्यै कसैको नराम्रो नचिताऊँ र कसैको नराम्रो हुँदै गरेको देखेर प्रसन्न नबनौँ ।
    — व्यर्थ चिन्तन, अर्काको अनिष्ट हुने चिन्तन, काम, क्रोध, लोभ आदिका लागि चिन्तन नगरौँ ।
    — कसैप्रति कहिल्यै हिंसा नगरौँ ।
    — भगवान्को कृपामाथि विश्वास गरौँ । भगवान्को चिन्तन गरौँ । उनका लीला, नाम, गुण र तàवको चिन्तन गरौँ ।
    — सन्तहरूका चरित्रको र उपदेशको चिन्तन गरौँ ।
    — तन, मन र धनले सबैको यथायोग्य सेवा गरौँ, किनकि प्रत्येक प्राणीमा भगवान्को बास हुन्छ । यही जानेर सबैको सम्मान गरौँ ।

    कता खुट्टा नतेस्र्याउने ?
    — सुदर्शन आचार्य

    हिन्दूधर्मअनुसार कुनै–कुनै यस्ता चिजहरु हुन्छन् जसप्रति खुट्टा तेर्साउने हो भने अशुभ हुने विश्वास गरिन्छ । आज हामी त्यस्तै ६ चिजहरुसँग तपाईहरुको परिचय गराउनेछौँ ।
    १. देवता ः देवतालाई हामीले सधैँ पुज्ने गरेका छौँ । त्यसैले पनि यो कुरा धेरै मानिसहरुलाई थाहा हुन्छ कि भगवान्तिर खुट्टा तेर्साउनु भनेको भगवान्को अपमान गर्नु हो ।
    २. ऋषिमुनि ः ऋषिमुनिको उत्पत्ति भगवान् विष्णुको मुखबाट भएको विश्वास गरिन्छ । त्यसैले उनीहरुप्रति पनि खुट्टा तेर्साउनु हुँदैन ।
    ३. गाई ः विभिन्न ग्रन्थका अनुसार गाईमा पनि माता लक्ष्मीको वास हुने भएकाले उनीहरुलाई खुट्टा लगाउनु हुँदैन । देवताको वास हुने भएकाले हाम्रो धर्ममा गाईलाई पूजासमेत गरिन्छ ।
    ४. अग्नि ः अग्निलाई देवताहरुको मुख मानिने गरिन्छ । यसैकारण आगो बलिरहेको स्थानमा पनि हामीले खुट्टा फर्काउनु हुँदैन ।
    ५. सूर्य ः सूर्यलाई पञ्चदेवतामध्येका एक मानिने हुनाले पनि सूर्यको पूजा गरिन्छ । त्यसैले सूर्यतर्फ खुट्टा फर्काउनु पनि राम्रो मानिदैन ।
    ६. चन्द्रमा ः चन्द्रमालाई वनस्पतिहरुको भगवान् मानिन्छ । त्यसैले चन्द्रमातर्फ खुट्टा देखाउनु पनि राम्रो मानिदैन ।

    सुख कहाँ पाउनु !
    — विश्वराम खत्री

    गुन लगाउने भाग्य रहेछ, बैगुन कसलाई लाउनु
    दुःख पाउने कर्म रहेछ, सुख कहाँ पाउनु
    उन्नतिको शिखर चढ्ने मलाई पनि रहर छ
    तर थामिनसक्नु यो भारी कहाँ बिसाउनु
    दुःख पाउने कर्म रहेछ, सुख कहाँ पाउनु
    बाबुआमाको कमाइमा बाँच्नुको मजा बेग्लै
    आफ्नो थाप्लोमा परेपछि मर्नु न मोटाउनु
    दुःख पाउने कर्म रहेछ, सुख कहाँ पाउनु
    आफू बुझेँ, समाज बुझेँ, बुझेँ देश–देशावर
    लोभी–पापीहरूलाई चाहिँ के भनी बुझाउनु
    दुःख पाउने कर्म रहेछ, सुख कहाँ पाउनु
    जता कोल्टे फेरे पनि शान्ति छैन मनमा
    के सोच्छ मन, कहाँ–कहाँ पुग्छ, कसरी निदाउनु
    दुःख पाउने कर्म रहेछ, सुख कहाँ पाउनु

    गोकुलेमा बस पुग्दा जनता खुसी

    काभ्रे जिल्लाको विकट भनेर चिनिने महाभारत गाउँपालिका वडा नं. १ गोकुलेधापमा पहिलोपटक बस पुग्दा स्थानीय खुसी भएका छन् । बस पुग्दा स्थानीय जनताले बस र चालकलाई भव्य रुपमा स्वागत गरेका थिए । गाउँपालिकाले विनियोजन गरेको ३३ लाख बजेटले उक्त सडक निर्माण कार्य सम्पन्न भएको थियो ।
    सडक उद्घाटन १ नं. वडा अध्यक्ष कान्छामान जिम्बा रोहित र योङ कम्युनिष्ट लिग नेपालका जिल्ला सचिव प्रदीप योन्जनले संयुक्त रुपमा गरेका थिए । पूर्व ऊर्जाराज्यमन्त्री सूर्यमान दोङ, प्रतिनिधिसभा सदस्य गंगाबहादुर दोङ, प्रदेशसभा सदस्य रत्न ढकाल र गाउँपालिकाका प्रमुख कान्छामान जिम्बाको आतिथ्यमा उद्घाटन गरिने तय भए पनि प्रतिकूल मौसमका कारण त्यो सम्भव हुन सकेको थिएन ।
    कार्यक्रममा जिम्बाले यातायातको सुविधाबाट बञ्चित भएका यहाँका जनताले अब कहिल्यै यातायातको सुविधाबाट बञ्चित हुनु नपर्ने र वडाबासीको साथ–सहयोगले मात्र यो काम सम्पन्न भएको बताए । ‘अब सिंगो महाभारत गाउँपालिकाको नमुना वडा बनाउन जस्तोसुकै समस्याको सामना गर्न म तयार छु ।’ जिम्बाले भने– ‘अब सडकको स्तरोन्नति गर्ने, बाँकी ट्र्याक खोल्ने र निरन्तर बस चल्ने वातावरण बनाउँछु ।’
    योञ्जनले पनि पहिलोपटक बस ल्याउन सफल भएकोमा खुशी व्यक्त गरे । यातायातको सुविधा नभएकोले यहाँको जनताले अकालमै ज्यान गुमाउनुपरेको, यस भेगका जनताको जीवनशैली कष्टकर भएको बताउँदै आगामी दिनहरुमा जनताको समस्यासँग आफूहरु हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता जाहेर गरे ।

    अधिकारी प्रतिष्ठानको साधारण सभा

    कश्यपगोत्रीय अधिकारी वंश प्रतिष्ठान काभ्रेपलाञ्चोकको प्रथम साधारण सभा गत वैशाख २२ गते शनिबार बनेपास्थित शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भएको छ । साधारण सभाले प्रतिष्ठानको तदर्थ समितिबाट गरिएका कार्यहरूलाई अनुमोदन गर्दै विभिन्न निर्णयहरू गरेको छ ।
    साधारण सभाले रामप्रसाद अधिकारीलाई प्रतिष्ठानको सल्लाहकार मनोनयन गरेको छ भने हरि मञ्जुश्री अधिकारीको अध्यक्षतामा राजेन्द्रप्रसाद अधिकारी उपाध्यक्ष, इन्द्रप्रसाद अधिकारी सचिव, मनोज अधिकारी सहसचिव र दण्डपाणि अधिकारी कोषाध्यक्ष रहने गरी १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

    तिम्रो जति आँसु झ¥यो

    नेत्र सहायकको अध्ययन पूरा गरेकी र इटहरीको सुनसरीमा स्थायी बसोबास गर्ने अस्मिता पाण्डेले हालसालै एउटा नयाँ गीत ‘तिम्रो जति आँसु झ¥यो’ सार्वजनिक गरेकी छन् ।
    अस्मिता पाण्डे बिगत ४ वर्षदेखि आँखा अस्पतालमा कार्यरत छिन् । उनको रुचि गीत संगीतको क्षेत्रमा अगाडि बढ्ने र समाजसेवा गर्ने हो । विभिन्न स्टेज प्रोगाममा आफ्नो गायन कला प्रस्तुत गरिसकेकी उनी सरल मिलनसार स्वभावकी छन् । भविष्यमा स्थापित र सफल गायिका बन्ने उनको सोच रहेको छ । सबैको हौसला, साथ, माया र आशीर्बाद पाएमा अगाडि बढ्ने उनको धारणा छ । आफ्नो जागिर पढ़ाइ र संगीत क्षेत्रमा समय मिलाएर अगाडि बढ्ने उनी बताउछिन्

    हजुरले लाएको टोपी मन प¥यो

    उनी संगीतकार हुन् । तर गीत गाउँछिन् र लेख्छिन् पनि । गीतसंगीतमा तीनै विधाकी प्रतिभा हुन् नीलम रोजु राई । उनले गाएको ‘हजुरले लाएको टोपी मन प¥यो’ बोलको गीत तथा भिडियो हालै सार्वजनिक भएको छ । गीत सार्वजनिक गरेपछि नीलमले भनिन्, ‘क्षमताले भ्याएसम्म गाउन, संगीत गर्ने र लेख्ने सबै गर्छु ।’
    ‘मलाई हजुरले लाएको टोपी मन प¥यो’ गीतले माया प्रेमका साथै राष्ट्रभाव पनि बोकेको छ । नीलमकै शब्द, संगीत र स्वर रहेको यस गीतलाई श्रोता दर्शकले रुचाएका छन् । नीलमका अनुसार अहिले गीतले राम्रो प्रतिक्रिया पाइरहेको छ । उनले यस गीतबाट चर्चा पनि पाइरहेकी छन् । यस गीतको फरक शब्दशिल्प, मिठासपूर्ण संगीत र मधुर स्वरले नीलमलाई चर्चामा ल्याएको हो ।
    भिडियोलाई कमल राईले निर्देशन गरेका हुन् भने छायांकन युवराज राईले । भिडियोमा दक्षकुमार राई, ऋचा थापा, निर्मला पुलामी मगर र देविकाश्री मगरले अभिनय गरेका छन् । यसको भिडियो निर्माणका लागि मिहिनेत निकै खर्चिएको नीलमले बताइन् ।
    दक्ष फिल्म प्रालिको ब्यानरमा निर्माण गरिएको यस भिडियोलाई नीलमले आफ्नै अफिसियल यु–ट्युब च्यानलमार्फत रिलिज गरेकी हुन् । दर्जनौँ गीतमा संगीतका साथै स्वर दिइसकेकी नीलमको यो पछिल्लो सांगीतिक सौगात हो, जसलाई उनले नयाँ वर्षको अवसरमा ल्याएकी हुन् ।

    भक्तपुरमा पारायण

    भक्तपुर कटुन्जेमा रहेको श्रीमन्निजानन्द ब्रह्मसभा भवन तथा श्रीकृष्णप्रणामी मन्दिरको अठाह«ौँ वार्षिकोत्सवका अवसरमा गत वैशाख १६ गतेदेखि २२ गतेसम्म साप्ताहिक पारायण महोत्सवको आयोजना गरियो ।
    श्रीकृष्णप्रणामी सेवा समिति नेपाल साप्ताहिक पारायण मूल समारोह समितिद्वारा आयोजित उक्त महोत्सवको तेस्रो दिन वैशाख १८ गते शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री र काठमाडौँ विश्वविद्यालयका असिस्टेन्ट प्रोफेसर रामचन्द्र पौडेलले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
    लेखकहरू टहलदास शिवाकोटी ‘यात्री’, चन्द्रमणि प्रसाईं र तुतुकाजी प्रणामी श्रेष्ठ तथा श्याम केसी, लोकेन्द्र ढकाल आदिको समेत उपस्थिति रहेको उक्त महोत्सवमा विभिन्न भक्तजनको भीड लागेको थियो ।

    ट्रेकिङ रुट सङ्कटमा

    पछिल्लो समय सडक सञ्जालको विकास एवं विस्तार भएसँगै प्रसिद्ध ट्रेकिङ रुटहरुको अस्तित्व मेटिन थालेको छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अनुसार नेपालमा लामो तथा छोटो गरी करिब एक सयको हाराहारीमा ट्रेकिङ रुटहरु रहेका छन् । त्यसमा पनि अन्नपूर्ण, सगरमाथा, लाङटाङ, कञ्चनजंगा, मनास्लु, मकालु जस्ता ट्रेकिङ रुट निकै प्रसिद्ध छन् । पछिल्लो समय रसुवाको तामाङ हेरिटेज, धादिङको रुपी भ्याली, गोर्खाको चुन भ्याली पनि पर्यटक माझ लोकप्रिय बन्दै गएका छन् । तर ती जिल्लाहरुमा सडक सञ्जालको विस्तार भएसँगै यी रुटहरु छोटिएका छन् ।
    ट्रेकिङका लागि निकै रुचाइएको कास्कीको नयाँपुल–घान्द्रुक–घोरेपानी हँुदै जोमसोमसम्मको रुटमा पनि सडक विस्तारसँगै पदमार्ग नै विस्थापित हुन पुगेको छ । शरद ऋतुमा भारत, चीन, अमेरिका, जर्मनी, फ्रान्स, बेलायत लगायतका देशका पर्यटकहरु पदयात्राका लागि नेपाल आउँछन् । नेपालमा करिब १८ सयको हाराहारीमा ट्रेकिङ ब्यवसायी छन् भने लाखौँले यस क्षेत्रमा रोजगारी पाएका छन् ।
    ट्रेकिङ रुटलाई व्यवस्थित गर्न सडक विस्तारलाई वैकल्पिक मार्गको रुपमा विकास नगर्ने हो भने नेपालका पदमार्गहरु लोप हुने भन्दै टानले सरकारको ध्यानाकर्षण गराएको छ । सडक विस्तार गर्दा पदमार्गलाई नछुने गरी गर्नुपर्ने सरोकारवालाहरुको भनाइ छ । पदयात्राका लागि वार्षिक लाखौँ पर्यटकहरु नेपाल आउने गरेका छन् । (बीआरटी नेपाल)

    जिपमा पेस्तोल र गोली

    काठमाडौं गैरीधारा बस्ने लम्जुङ्ग सुन्दरबजार घर भएका ४२ वर्षीय सुमन थापालाई युएसए लेखेको पेस्तोल १ थान, म्याग्जिन १ थान र ३ राउण्ड गोली सहित प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका — ३ बसुन्धरा स्थित सडकखण्डमा थापाले हाँकेको बा. ३ च १६५४ नम्बरको निशान जिपले बा. ४० प ५७७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक काठमाडौं महानगरपालिका — २६ बस्ने स्याङजा पुतलीबजार घर भएका सन्तोष नेपाली र अर्जुन बोहरा घाइते भएकाले थापालाई नियन्त्रणमा लिई जिप तलासी गर्दा अगाडिको सिटमा उक्त पेस्तोल र गोली बरामद भएको थियो ।
    घाइते नेपाली र बोहरालाई उपचारको लागि शिक्षण अस्पताल महाराजगंज लगिएकोमा उपचारको क्रममा नेपालीको मृत्यु भएको छ ।

    प्रहरीको हातमा बन्दुक र गाँजा

    मकवानपुर बकैया गाउँपालिका — ११ मोरङगे बस्ने ३० वर्षीय झलकमान न्यासुरलाई प्रहरीले भरुवा बन्दुक १ थान र लागूऔषध गाँजा डेढ किलोसहित पक्राउ गरेको छ ।
    इलाका प्रहरी कार्यालय ठिंगनबाट खटिएको प्रहरी टोलीले न्यासुरको घर तलासी गर्दा भरुवा बन्दुक र गाँजा बरामद गरेको हो ।

    भत्केको टहरा जुवातासको अखडा

    काठमाडौं महानगरपालिका — ३२ कोटेश्वर असर्जी गल्ली डेरा गरी बस्ने काभ्रे दाप्चा घर भएका ६७ वर्षीय प्रताप सिंह तामाङको कोठामा जुवातास खेलिरहेका तामाङ सहित ७ जनालाई प्रहरीले नगद ३४ हजार ४ सय ३० रुपैयाँ र ११ बुक तास सहित पक्राउ गरेको छ ।
    यसै गरी काभ्रे धुलिखेल नगरपालिका — १२ इँटे स्थित प्रेमबहादुर शाहीको भूकम्पले भत्किएको टहरामा जुवातास खेलिरहेका सोही ठाउँ बस्ने ६९ वर्षीय रामबहादुर शाही सहित ९ जनालाई नगद २ लाख २ हजार ४ सय ७० रुपैयाँ र तास सहित प्रहरीले पक्राउ गरेको छ ।

    हुन्डी कारोबार गर्ने समातिए

    काठमाडौं न्यूरोड इलाकामा हुण्डी (समानान्तर बैकिङ) कारोबार गरिरहेका झापा शिबगंज गाउँपालिका — २ घर भएका २४ वर्षीय बिपिन उप्रेतीलाई प्रहरीले नगद १० लाख ४० हजार रुपैयाँ सहित पक्राउ गरेको छ ।
    महानगरीय प्रहरी बृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले उप्रेतीलाई शंकास्पद अवस्थामा झोला बोकी हिँडिरहेको अवस्थामा फेला पारी चेक गर्दा उक्त नगद बरामद भएको थियो । उप्रेतीले हुण्डी कारोवार गरेको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । उक्त कारोबारको मुख्य कारोबारी रमेश सिबाकोटी रहेको र ३३ लाख रुपैयाँसम्म कारोवार भएको खुल्न आएको छ ।

    बालिका बलात्कृत

    सर्लाहीको पर्सा गाउँपालिका — ५ बस्ने ४० वर्षीय हाकिम कारी भन्ने हाकिम बैठालाई बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
    बैठाले शनिबार राति सोही ठाउँ घर भएकी १० वर्षीया बालिकालाई घरदेखि २ सय मिटर टाढा पोखरीको डिलमा लगेर जवरजस्ती करणी गरेको भनी पीडित बालिकाको बाबुले प्रहरीलाई खबर गर्नासाथ खटिएको प्रहरी टोलीले बैठालाई पक्राउ गरेको हो ।
    पीडित बालिकाको स्वास्थ्य परीक्षण तथा उपचारको लागि जिल्ला अस्पतालमा पठाएको छ ।

    मगन्तेलाई ट्रकको ठक्कर

    चितवनको भरतपुर महानगरपालिका — ६ वीरेन्द्र टोलमा ना. ५४ प ८८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टँदा मोटरसाइकलमा सवार चालक सोही महानगरपालिका — २४ बस्ने ३५ वर्षीय भरत रामदाम र उनको १० वर्षीय छोरा समिर रामदाम गम्भीर घाइते भएकोले उपचारको लागि मेडिकल कलेज भरतपुर पठाइएकोमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको छ ।
    महोत्तरीको बर्दिवास नगरपालिका — ५ बरम्दु चोक स्थित पूर्व–पश्चिम राजमार्गमा नम्बर नखुलेको ट्रकले नाम, थर, वतन नखुलेको मागी खाई हिँड्ने अन्दाजी ८० वर्षीय पुरुषलाई ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको छ । फरार ट्रक र चालकलाई प्रहरीले खोजतलास गरिरहेको छ ।
    आगोले २२ लाख स्वाहा
    महोत्तरीको औरही नगरपालिका — १ औरही बजार बस्ने रामचन्द्र मण्डलको टायलले छाएको एकतले घरमा आगलागी हुँदा करीव ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।
    सल्यानको कुमाख गाउँपालिका — ६ थापाचौर बस्ने गंगनराम नाथको एकतले कच्ची गोठमा आगलागी हुँदा गोठ पूर्णरुपमा जलेर करीव २ लाख ५४ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
    कास्कीको पोखरा लेखनाथ महानगरपालिका — ८ न्यूरोड बुद्धमार्ग स्थित चिप्लेढुङ्गा बस्ने कमला पुरीले संचालन गरेको कमिसा कुर्था पसल एण्ड लेडिज टेलर्स पसलमा आगलागी हुँदा पसलमा रहेका सम्पूर्ण कपडाहरु जलेर करीव १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

    डुबेर मृत्यु

    सुनसरीको बराह नगरपालिका — ७ बस्ने हस्त राउतको १० वर्षीय छोरा किरण राउतको सोही ठाउँको नहरमा नुहाउने क्रममा डुबेर मृत्यु भएको छ ।

    सम्मान तथा काव्यगोष्ठी

    काठमाडौँमा दीपज्योति साहित्य सम्मान तथा वसन्त काव्यगोष्ठी कार्यक्रम सम्पन्न भएको छ । रत्नप्रसाद अनामणि श्रेष्ठ र यशोदा अधिकारीलाई दीपज्योति सम्मानबाट प्रमुख अतिथि तथा नेप्रप्रका सदस्य सचिव जीवेन्द्रदेव गिरीले सम्मानित गर्नुभएको हो ।
    त्यस अवसरमा अतिथि चेतनाथ धमला, मणि लोहनी र डा. बमबहादुर जितालीले कविता वाचन गरे । हृदय अधिकारी, द्वारिका कुइकेल, तारा केसी, दीपक दाहाल, रीता खतिवडा, सानु शर्मा,, धरणीधर गुरागाई, तुलबहादुर लोहनी, जानुका थापा, महेश्वरप्रसाद दाहाल, मिसन अधिकारी, लक्ष्मी केसी, भवानी पन्त, शितास्मा बानियाँ, गणेश कडरिया, भाग्यशाली अधिकारी, नीमा तिमल्सिना, जेहन्ता पाण्डे र विजयध्वज थापा आदिले पनि कविता वाचन गरे ।
    दीपज्योति स्कुलद्वारा आयोजित तथा उमेश पाण्डेद्वारा सञ्चालित कार्यक्रममा प्रदेश सांसद योगेन्द्र सङ्ग्रौला, प्राज्ञ नर्मदेश्वरी सत्याल, स्कुलका प्रिन्सिपल विमला अधिकारी कुँवर, प्रेमनरसिंह अधिकारी र डा. गार्गी शर्माले मन्तव्य राखे । तारा केसी, धरणीधर गुरागाई र भवानी पन्तका कवितालाई पुरस्कार दिइएको थियो ।

    बालकृष्ण पोखरेललाई एक लाखको पुरस्कार

    नगेन्द्र आशालता प्रतिष्ठानद्वारा विराटनगरमा गत २२ गते आयोजित साहित्यिक सभामा भाषाशास्त्री प्रा. बालकृष्ण पोखरेललाई रु. एक लाख रुपियाँको भाषा–साहित्यतर्फको पुरस्कार र स्वर्गद्वारी मठलाई धर्म–संस्कतितर्फको पुरस्कार प्रदान गरियो ।
    त्यसै गरी गत २३ गते पूर्वान्चल साहित्य प्रतिष्ठानद्वारा आयोजित समारोहमा समालोचक डा. तुलसी भट्टराईलाई टेकनाथ शिवकुमारी साहित्य–संस्कृति पुरस्कार समर्पण गरियो ।
    पुरस्कृत व्यक्तित्वहरूलाई शब्दयात्रा प्रकाशनका तर्फबाट हार्दिक बधाई !

    २०७५ वैशाख १८ गतेको अङ्कमा प्रकाशित विशेष सामग्रीहरू

    होला त वाम एकीकरण ?
    — कृष्णविनोद शर्मा

    आसन्न राजनीतिक गत्यावरोधका रूपमा नै चर्चा हुन थालेको छ वाम एकताको अर्थात् सत्तारूढ दुई ठूला दल नेकपा एमाले र माओवादी केन्द्रका बीच गर्ने भनिएको एकता । प्रथम संविधान सभाको निर्वाचनपछि उक्त सभा भङ्ग नहुँदासम्म अनि दोस्रो संविधान सभाको गठनपश्चात् संविधान जारी नहुँदासम्म ‘के संविधान सभाले नयाँ संविधान जारी गर्ला त ?’ भन्ने अस्पष्टता, आशङ्का र अन्योलजस्तो भएको छ यो विषय अर्थात् अहिलेको एकतासम्बन्धी गत्यावरोध । त्यो गत्यावरोधलाई नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका उखान–टुक्काहरूले र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आशङ्कामिश्रित दृढ अभिव्यक्तिले झनै रोचक बनाइदिएका छन् । संविधान जारी हुनुभन्दा पूर्व आम बुद्धिजीवीहरू र नेताहरूको पनि भनाइ हुन्थ्यो — ‘दलहरू मिल्नुको विकल्प छैन ।’ तर दलहरू मिल्दैनथे । अहिले पनि वाम बुद्धिजीवी र वाम नेताहरू भन्दैछन्, भनेर थाक्तैनन् पनि — ‘पार्टी एकताको विकल्प छैन ।’ तर एकता भइरहेको पनि छैन । यस्तो पेचिलो स्थितिमा अनेकथरि अड्कलबाजी र विश्लेषणहरू भएका छन् र हुन सक्छन् ।
    पहिलो कुरो ः वास्तवमा पार्टी एकीकरण नगर्नका लागि नै एकताको बिगुल फुकिएको थियो । त्यसैले एकता सम्भव नै छैन । नामअघि नेकपा विशेषणदेखि बाहेक सोच, सिद्धान्त, पृष्ठभूमि, आचरण र व्यवहार दुई पार्टीको मिल्दै मिल्दैन । पार्टी एकताको नाराद्वारा जनभ्रम सिर्जना गरी मत बटुलेर सत्ता कब्जा गर्ने रणनीति थियो । त्यो रणनीति सफल भयो । अब सत्ता साझेदारीमा बार्गेनिङ र जोडघटाउ गर्दै चार वर्ष काट्ने रणनीति छ दुवै अध्यक्षहरूको । यो अड्कल धेरैले गरेका छन् ।
    दोस्रो कुरो ः सुरुमा आन्तरिक र बाह्य कारणले दुई ठूला कम्युनिस्ट पार्टीहरू मिल्नुपर्छ भन्ने सोच पलाएरै मोर्चाबन्दी भएको हो । एकीकरणको सपना देखिएकै हो । तर करिब दुई तिहाइ बहुमत आई छवटै प्रदेश सरकारको गठन भएपछि राजनीतिका धूर्त र चतुर खेलाडीद्वयको दूरदृष्टि (चातुर्यपूर्ण दृष्टि) ले के देख्यो भने नेपाली जनता वा नेपाली मतदाताको मनोविज्ञानमा छिटो–छिटो परिवर्तनको चाहना छ । सात दशकमा आधा दर्जन संविधान परिवर्तन हुनु त्यसैको प्रतिफल हो । त्यसैले अर्को निर्वाचनमा एकीकृत कम्युनिस्ट पार्टीप्रति पनि वितृष्णा बढ्न सक्नेछ । चार वर्षमा गर्न सकिने र हुनेवाला केही छैन । ढुकुटी रित्तो छ । दाताहरू वचन मात्र दिन्छन्, रकम दिँदैनन् । यस स्थितिमा पुनः सत्ता कब्जा गर्नका लागि अर्को पार्टी नेपाली काङ्ग्रेस वा मधेसवादी दलसँग घाँटी नजोडी सम्भवै छैन । त्यसैले पार्टी एकता दूरदर्शी कदम हुँदैन कि भन्ने लागेको हुन सक्छ दुवै शीर्ष चतुर नेताहरूलाई । यसो पनि भन्न थालिएको छ ।
    तेस्रो कुरो ः न त निर्देशित लोकतन्त्र दिगो हुन्छ, न त निर्देशित पार्टी एकीकरण नै । २०६२–६३ सालपछि राजनीतिक दलहरूले गरेका विभिन्न मोर्चा र पार्टी एकीकरणका प्रयासहरू निर्देशित हुन् भन्छन् जानिफकारहरू । पूर्वपञ्चहरूको राष्ट्रिय प्रजातन्त्र पार्टी फुट्नु अनि फेरि जुट्ने कसरत गर्नु, दुवैमा पूर्वराजा ज्ञानेन्द्रको निर्देशन र आग्रहले काम गरेको कुरा त स्वयं राप्रपाका शीर्ष नेताहरूले स्वीकार गरेकै कुरा हो । गत असोजमा माओवादी केन्द्र र नेकपा एमालेको गठबन्धन उत्तरी मित्रराष्ट्र चीनको निर्देशन वा आग्रहबाट अभिप्रेरित थियो भनेर छापाहरूले लेखेको हामी सबैले पढेकै कुरा हो । त्यो देखी दक्षिणी मित्रराष्ट्र भारतले पनि मूलको परखमा भूल गर्दै मधेसवादी दलहरूलाई एकता गर्न प्रेरित ग¥यो । फलस्वरूप राष्ट्रिय जनता पार्टीको जन्म भयो । तर एक वर्ष नपुग्दै राजपा पनि फुटेको समाचार गत हप्ता मिडियामा आयो पनि । नेकपा एमाले र माओवादी एकीकरणको भ्यागुते धार्नी लम्बिँदै जाँदा मित्रराष्ट्र चीनका बुद्धिजीवी प्राज्ञहरूले एकतामा विलम्ब नगर्न सुझाव दिएको कुरा पनि छापामा आयो । यसरी हेर्दा राष्ट्रिय आवश्यकता र आम जनता अनि कार्यकर्ताको चाहनाभन्दा पनि अन्तर्राष्ट्रिय चासो, स्वार्थ र डिजाइनबाट अभिप्रेरित बनेको पार्टी एकता त्यति सहज हुँदैन भन्ने देखिन्छ । दबाबमा परेर एकता भइहाले पनि त्यो एकता दिगो हुँदैन राजपाको जस्तै । त्यही स्थिति हुन सक्छ नेकपा एमालेको र माओवादी केन्द्रको एकता अभियानमा पनि । यस्तो विश्लेषण पनि हुन थालेको छ ।
    नेपालको पछिल्लो डेढ दशकको राजनीतिक क्यालेन्डरको समीक्षा गर्दा के देखिन्छ भने भलै धार्मिक हिसाबले दसैँ–तिहार पर्ने महिना असोज शुभ हुन्छ, तर राजनीतिक दृष्टिले त्यति शुभ मानिदैन । पूर्वराजा ज्ञानेन्द्रको प्रतिगमनको प्रस्थानविन्दु पनि असोज थियो, जसलाई असोजतन्त्र भनियो । उनै ज्ञानेन्द्रले जनतामाझ साह«ै अलोकप्रिय छवि बनाएका पुत्र पारस शाहलाई युवराज घोषणा गर्न पनि असोज महिना नै रोजे । वर्तमान संविधान जारी गर्दाको साइत पनि असोज परेकाले अझै भारतले सहृदयपूर्ण रूपले स्वीकार गरिसकेको छैन । सङ्घीयताको कार्यान्वयनमा जटिलता छँदैछ । त्यसरी नै पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीले पार्टी एकीकरणको बिगुल फुक्नका लागि पनि असोज महिना नै रोजे । सायद त्यसैले एकीकरण टुङ्गोमा पुगिरहेको छैन भने अर्कातिर झन्डै ९० प्रतिशत जनताले मान्ने धार्मिक पर्व–बिदाहरूको कटौती र वर्तमान सत्ताको धरातल लोकतन्त्र दिवस र गणतन्त्र दिवसको सार्वजनिक बिदा पनि कटौती गरेबाट वर्तमान नेकपा एमाले — माओवादी केन्द्र गठबन्धन सरकारको वर्तमान कदम नवअसोजतन्त्रको सङ्केत त होइन भनेर गम्भीर हुनुपर्नेचाहिँ भएको छ ।
    स्मरण रहोस् — नेपालको इतिहासलाई एक शताब्दी पछि पार्ने राणाशासनको प्रस्थानविन्दु १९०३ सालको कोतपर्व पनि असोज २ गते नै भएको थियो । धन्न हाम्रा नेताहरूले असोज २ गते वर्तमान संविधान जारी गरेनछन् !

    दुई कुरामा परतन्त्र
    — मुकुन्दप्रसाद उपाध्याय

    सुगन्धविनाका फूलहरू, स्वादविनाका फलहरू, रस र पोषणविनाको भोजनजस्तै हुन्छन् सदाचारविनाका मनुष्य । भलै मनुष्यमा विद्वत्ता नहोस्, शिल्प र कलाकारिता नहोस्, खासै फरक पर्दैन । तर व्यक्ति सदाचारी छैन भने ऊ फगत् एक मृत्युको पर्खाइमा बाँचिरहेको दुईखुट्टे जीव हो । जीवनमा सुख, समृद्धि र आनन्द प्राप्तिका लागि सदाचारी हुनु जरुरी हुन्छ । सदाचारी व्यक्ति सबैको मित्र हुन्छ । कसैसँग उसले मीत लगाइरहनु पर्दैन । उसले कसैसँग डराउनु पर्दैन । अनि ऊसँग पनि कसैले डराउनु पर्दैन । अनि सदाचारी व्यक्तिले आफू सदाचारी भएको मार्केटिङ पनि गरिरहनु पर्दैन । कस्तुरी मृगलाई आफ्नो आगमनको सूचना दिन कुनै रिसल्ला मृगहरूको दरकार नै पर्दैन । हुन त सामान्य जनहरूले सदाचारी र दुराचारी दुवैबाट कष्ट खेप्नुपर्छ । तर फरक यति मात्र हो कि दुराचारी व्यक्तिसँग जम्काभेट हुँदा कष्ट हुन्छ भने सदाचारी व्यक्तिसँग छुट्टिनुपर्दा कष्ट हुन्छ ।
    महामानव त के, भद्र र विशिष्ट व्यक्ति पनि हुनु जरुरी छैन । सिर्फ दुराचार, व्यभिचार र अविवेक नभएको सामान्य ‘व्यक्तित्व’ भए पुग्छ । जीवनमा धेरै ठूलो लक्ष्य पनि चाहिँदैन । गोकर्ण बन्न नसके पनि कहिल्यै पनि धुन्धुकारी हुनु नपरोस्, त्यति भए सम्झनु यो जीवन व्यर्थ गएनछ ।
    जीवनको सार्थकता केमा छ त ? ठूलो मान्छे चुलिएको व्यक्तित्व, जसको निधनमा हजारौँ जनहरू घाटमा ओइरिउन् अनि घाटबाट फर्कंदा क्रिया बस्नेजतिले मात्र छाक छाड्नु वा सामान्य सदाचारी व्यक्ति थाहा पाएर घाट पुग्ने, दुई–चार विगोत्री, विजाति र विधर्मीले समेत छाक छोडोस् अनि थाहा पाउनेहरूले खबर सुनेर ‘अहो’ मात्र भनेर दुःख प्रकट गरून् । सायद त्यति नै त हो हाम्रो जीवनको सार्थकता !
    यथार्थमा जीवनको सार्थकता जीवन जिउने कलामा निर्भर गर्दछ । त्यही कलालाई अर्को शब्दमा गीताले कर्म भन्छ क्यारे ! किनभने पूर्वीय दर्शन र वैदिक मान्यताका अनुसार मान्छे कर्म गर्नमा पूर्ण स्वतन्त्र छ । त्यही स्वतन्त्रताले गर्दा मान्छेबाट दुष्कर्म, अकर्म, विकर्म, सकाम कर्म हुने गर्दछ । हो, मान्छे दुई कुरामा चाहिँ पूर्ण परतन्त्र छ, त्यो हो जन्म र मृत्यु । हामीमध्ये कसैले पनि यो दावी गर्न सक्तैन कि ऊ आफ्नै इच्छाले अमुक देशमा, अमुक कालमा, अमुक कुलमा, अमुकको पुत्र वा पुत्री भएर जन्मेको होस् । आस्तिकले भन्छ ईश्वरको वा विधिको इच्छाले वा पूर्वजन्मको कर्मफलले त्यो निश्चित हुन्छ । भौतिकवादीले भन्ला प्रकृतिको नियमले हुन्छ होला । अनि डार्विनवादीले भन्लान् बाँदर परिष्कृत हुँदै वनमान्छे चिम्पान्जी हुँदै मान्छे भइयो होला भनेर । फरक त्यत्ति हो । तर सारमा दुवै दृष्टिकोणले भन्छ जन्म हाम्रो हातमा छैन । त्यसरी नै मृत्यु कहिले, कहाँ, कसरी भन्ने कुरा पनि अज्ञात रहन्छ । हो, बढीमा १०० वर्ष + १०–२० वर्षलाई औसतसम्म मान्छ । कोही जडसूत्रवादीले भन्न सक्ला मृत्यु व्यक्तिको हातमा हुन सक्छ यदि कसैले आत्मदाह, आत्महत्या गरेमा । तर त्यहाँनेर पनि पूर्वीय दर्शनले भन्छ होइन, त्यो पनि पूर्वनिर्धारित र पूर्वनिश्चित हुन्छ । त्यही पूर्वनिश्चितता प्रारब्ध बनेर व्यक्तिको मनोविज्ञानमा प्रवेश गर्छ र व्यक्तिलाई आत्महत्या गर्न बाध्य पार्छ । मृत्युका कारण रोगव्याधि, दुर्घटनासमेत परोक्ष यमदूतहरू नै हुन् ।
    त्यसैले जुन कुरा व्यक्तिको हातमा छैन, त्यसको चिन्ता छाडेर जे गर्नमा हामी स्वतन्त्र छौँ र त्यसकै लागि हामीलाई देवले भनौँ वा प्रकृतिले पञ्चकर्मेन्द्रिय, ज्ञानेन्द्रिय र चार अन्तस्करण (मन, बुद्धि, चित्त र अहङ्कार) दिएको छ भने तिनैको समुचित प्रयोग र व्यवस्थापनद्वारा सत्कर्मद्वारा सदाचारी बन्नु नै हाम्रो जन्मको सार्थकता हो र हुनुपर्दछ पनि ।

    समुद्र तरेर किनारमा किचकिच
    — रामचन्द्र हुमागाईं

    वैशाख ११ गते । नेपाली नेताहरूमाथि धर्मपरिवर्तमा सकृय रहेको आरोप लागिरहेका बेला प्रधानमन्त्रीको कार्यालयले ‘यदि कसैले लोभलालच वा जवर्जस्ती धर्म परिवर्तन गर्न लगाएको पाइएमा विदेशी रहेछ भने देशनिकाला गरिने र स्वदेशी रहेछ भने हदैसम्मको सजाय दिने’ सूचना जारी गरेर नयाँ कामको थालनी गरेकोमा धन्यवाद दिनैपर्छ । तर कथनी र करनीमा फरक फरक व्यवहार हुने देशमा बोलीको विश्वास गर्न भने मुस्किल नै भएको छ ।
    वैशाख १२ गते । यातायात व्यवसायीहरूले नेपाल सरकारका विगतका कारिन्दाहरूलाई व्याधाले बोको डो¥याएझैं डो¥याएर आफूखुसी कारोवार गरेको र यात्रुहरूलाई रैती बनाएर रकम असुल गरिरहेकोमा यो पटकको सरकारले यातायात व्यवसायीलाई नै डो¥याउने हिम्मत देखाएकोमा यात्रुहरू मख्ख भएका छन् । यो मख्खतालाई निरन्तरता दिन सक्यो भने सरकारले केही गर्छ कि भन्न सकिने भएको छ ।
    वैशाख १२ गते । रेल विभागका महानिर्देशक अनन्त आचार्यले ‘नेपालमा चीन र भारतको जति धेरै प्रतिस्पर्धा भयो उति चाँडो नेपालमा रेल’ भनेछन् । यस्तो भन्न एउटा सहसचिव स्तरको निजामती कर्मचारीले मिल्छ कि मिल्दैन ? कर्मचारीहरूले तोलमोल र बोल भन्ने सिद्धान्तलाई लागू गर्नुपर्ने होइन र ?
    वैशाख १३ गते । चारैतिर ‘एमाले र माकेबीच चाँडै एकता होस्’ भनिरहेका वेला एमाले—माके भने समुद्र तरेर किनारमा कचकच गरिरहेको देख्ता कतै यिनीहरूलाई कुनै तत्वले चलाइरहेको त छैन भन्दा कसो होला ?
    वैशाख १४ गते । तीन महिनामा खर्बभन्दा बढी पेट्रोलियम पदार्थ भारतबाट ल्याउने देशले दैनिक पाँच खर्ब लिटर पानी सित्तैँ भारत बगेर जाँदा पनि मुआव्जा माग्न नेपाल सरकार सक्तैन । प्रतिलिटर १ पैसा मात्रै रोयल्टी पाइने हो भने नेपाल कहाँ पुग्थ्यो होला ?
    वैशाख १५ गते । सांसद कोषको सोच कसले ल्याएको हो ? आफ्नो निर्वाचन क्षेत्रमा रकम छुट्याएर विकास गर्न पल्किएका सांसदहरूले रकम कुल्याएर कार्यकर्तालाई साइकल किनेर दिने सांसदलाई किन पैसा दिने ? एकपटक सोच्ने हो कि ?
    वैशाख १६ गते । पूर्व प्रधान न्यायाधीश गोपाल पराजुली फटाहा नै साबित भएका छन् । उनले उमेर ढाँटेर झण्डै एक वर्ष बढी न्यायालयमा रजाइँ गरेको सर्वोच्च अदालतबाटै प्रमाणित भएको छ । यतिखेरको सर्वोच्च अदालत भनेको राष्ट्रको कार्यकारी प्रधानमन्त्रीलाई पनि निर्देशित गर्ने हैसियत राख्छ । यस्तो शक्तिशाली न्यायालयका प्रमुख नै उमेर ढाँट्ने जस्तो निच काम गर्छ भने कसरी राज्यले सामन्तवादबाट मुक्ति पाउँछ ?
    वैशाख १७ गते । अन्तमा आएर नेपालमाथि भारतीय साम्राज्यवाद लादिएकै रहेछ भन्ने कुरा प्रमाणित भएको छ । भारतले एकतर्फी जबर्जस्ती लादेको व्यापार तथा पारबहन सन्धीलाई हतियार बनाएर भारतबाट आयात गरिने सामानमा आफूखुसी मूल्य निर्धारण गर्ने, भन्सार महसुल तोक्ने तर नेपालमा उत्पादन भएका कृषि सामग्री समेतमा रोक लगाउने गरेका कारण वर्षेनी अर्बौंको घाटा व्यहारिरहेको विषयमा परिमार्जन हुने भएको छ । हेर्दै जाऊँ यो परिमार्जनको कुरो उठ्ने मात्रै हो कि बैठान पनि हुन जान्छ ।

    भूकम्पीय सम्वेदनामाथि राक्षसी हाँसो
    — प्रा. डा. गोपाल शिवाकोटी

    नेपालमा पछिल्लो या २०७२ सालको महाभूकम्प गएको चौथो वर्ष लागेको छ । भूकम्प गएको दिनको सम्झनामा विभिन्न कार्यक्रमसहित अनेक वाचाहरु गर्ने, ठूला–ठूला सपनाहरु बाँड्ने काम जिम्मेवार व्यक्तिहरुबाट भएको छ । उनीहरुले जनतालाई भूकम्पबाट जोगिने उपदेशहरु पनि दिएका छन् । भूकम्प गएको तीन वर्षको अवधिमा वर्षा, जाडो र गर्मीको पीडा खपेर जस्ताको कटेरामा बसेका जनताहरुमाथि भुकम्पको पिडाबाट उत्पन्न भएको संवेदनालाई अहिले राज्यको जिम्मेवार निकायमा बसेका व्यक्तिहरुले भूकम्पको बारेमा अनेक किसिमका भाषणहरु गर्नु, जनताप्रति संवेदना भएको देखाउन कपटपूर्ण हाँसो गर्नुजस्ता कुराले भूकम्पमाथि पिडित भएका जनताहरुको भूकम्पीय संवेदनामाथि राक्षसी अट्टहासको रुपमा गुञ्जिन पुगेकोले नेपालका जिम्मेवार नेताहरु कति संवेदनहीन पत्थर दिलका भएका छन्, आफ्नो स्वार्थको लागी जे पनि गर्न, जे पनि भन्न र निर्लज्जता प्रदर्शन गर्न सक्दछन् भन्ने देखिएको छ ।
    काठमाडौँको मुटुमा रहेको रानीपोखरीको बिजोग अहिले उस्तै छ । अढाई वर्षअगाडि तामझामसहित राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माण गर्न भूकम्प दिवसको ‘सु’अवसर पारेर शिलान्यास गरेकी थिइन् । तीन वर्ष बित्दा रानीपोखरीको दुर्दशा पहिलेभन्दा खराब भएको छ । तीन वर्षको अवधिमा रानीपोखरीको नाममा लाभ लिएका छन् । विद्यादेवी भण्डारीले शिलान्यास गरेको रानीपोखरी उनकै दलका मेयर विद्यासुन्दर शाक्यले अढाई करोड खर्च गरेर विकृत गर्ने काम गरे । त्यहाँ गरिएका निर्माणलाई पुर्न फेरि अशुली गर्ने तरिकामा लागेका छन् । भूकम्पको नाममा कति अशुल्ने हुन् र ककसलाई कति बाँड्ने हुन् । रानीपोखरीको स्वरुप नबदले पनि नेताहरु र सम्बन्धित व्यक्तिको अनुहार बद्लिएको छ । उनीहरु मोटाएका छन् । रानीपोखरी खोक्रै छ । निर्माण गरिएका संरचनाहरु भत्काएपछि पुनर्निर्माण गर्ने कुराले वालकथाको याद गराएको छ । बालकथामा कुखुरी काँ, बासी खाँ, खोई मेरो बासी भात बिरालोले खायो, खोइ बिरालो मुसा मार्न गयो, खोइ मुसा दुलोमा पस्यो, खोइ दुलो गाईले कुल्च्यो, खोइ गाई खोलाले बगायो, खोइ खोलो, सुक्यो भनेजस्तै रानीपोखरी पनि भएको छ । राष्ट्रपतिले शिलान्यास गरेपछि बालगोपालेश्वर मन्दिरको पिँध बनाइयो । त्यसको विरोध भएपछि त्यसलाई उखेलियो । त्यसपछि वरिपरि सिमेन्टको संरचना उठाइयो । त्यसको विरोध भएपछि त्यसलाई पनि उखेलियो । अब त्यहाँँ कुनै संरचना छैनन् । खोलाले बगायो, बजेटले बगायो, चिल्लै भएको छ । नेपालमा यस्ता रानीपोखरी बनाउने र पुर्ने काम बारम्बार हुँदै आएका छन् । कामै नगरेर काठमाडौँमा बसेर पोखरी बनाउन खर्च गरेको भनी बेल पेस गरेर खाने, अनि पोखरीले खतरा ल्यायो भनी पुर्नका लागी आदेश दिने र पुरेको बिल लिएर खाने र निरीक्षण गर्दा त्यो ठाउँमा केही नदेखिने गरेर बनाउन पनि खाने र पुर्न पनि खाने प्रवृत्ति रानीपोखरीमा पनि पुनरावृत्ति भएको छ ।
    रानीपोखरीले नेपालको राजतन्त्रपछि राष्ट्रपतिको रुपमा स्थापित भएकी राष्ट्रपतिको कार्यको गैरजिम्मेवारी, उद्घाटन र प्रदर्शनकारी भूमिका निर्वाह गर्ने कुरा छरपस्ट भएको छ । तीन वर्ष बितिसक्दा पनि रानीपोखरी कस्तो र कसरी निर्माण गर्नुपर्दछ भन्ने कुराको योजना नबन्दै २०७२ साल माघ २ गते भूकम्प दिवस पारेर राष्ट्रपतिले शिलान्यास गरिन् । उनले हतारहतार किन शिलान्यास गरेको हो, टेलिभिजनमा अनुहार देखाउन, फेसन देखाउन वा शक्ति देखाउन हो वा अरुले शिलान्यास गरिदिन्छ, आफू पछाडि परिन्छ भनेर हो ? अन्यथा पोखरीको निर्माण गर्ने योजना नभई, मोडालिटीको निर्धारण नभई शिलान्यास गर्न किन राष्ट्रपति तामझामसहित पुगिन् ? यसको कुनै कुराको निर्णय भएको छैन भन्ने कुरा करोडौँ खर्च गरी राखेको आलङ्कारिक राष्ट्रपतिका कर्मचारीहरुलाई थाहा थिएन कसरी भन्ने ? राष्ट्रपतिले गरेको कुरा पत्याउनैप¥यो । राष्ट्रपति कार्यालयले गरेको कुरा जिम्मेवारीपूर्ण हुन्छ भनी पत्याउनैप¥यो । उच्च पदमा बसेको, करोडौँ खर्च गरेर विज्ञको नाममा राखिएको कर्मचारीको विश्वास गर्नैप¥यो । नभए के राष्ट्रपतिलाई जहाँ बोलायो त्यहाँ मनपरी रुपमा उद्घाटन गर्न, शिलान्यास गर्न दिनु हुन्छ कि हुँदैन ? राष्ट्रपति शिलान्यास वा उद्घाटन गरेपछि राष्ट्रपतिको कार्यालयले यसप्रति चासो दिनुपर्छ कि पर्दैन ? ढुंगा राखेर फर्केर आएपछि जिम्मेवारी पूरा भयो ? आफूले सुरु गरेका कामहरु कति अगाडि बढे त्यो बारेमा रिपोर्ट लिनुपर्छ कि पर्दैन ? शिलान्यास गर्नुको अर्थ सर्वाेच्च पदबाट काम थालनी भएको हुँदा यो कार्यलाई गम्भीरतापूर्वक राज्यले लिन्छ भन्ने ठानिन्छ । राष्ट्रपतिबाट प्रारम्भ गरेपछि पनि लथालिंग हुँदा राष्ट्रपति पद लथालिंग भएको ठहर्छ कि ठहर्दैन ? यो पनि भूकम्पको संवेदनामा भएको राक्षसी अट्टहास ठहर्छ कि अन्यथा ठहर्छ, स्वयम् पदासिन पदाधिकारीले सोचेर यस्तो गैरजिम्मेवार कार्यहरु जिम्मेवारी बोकेको मुलुकको जिम्मेवारीको दायित्व पाइएको पदको गरिमा कहाँ पुग्छ भन्ने कुरा भूकम्पको धक्काले राष्ट्रपतिको कार्यलाई धक्का दिएको ठान्ने कि नठान्ने ?
    भुकम्पले धरहरालाई भत्काइदिएको थियो । यसलाई नेपालको राष्ट्रिय गौरवको स्तम्भ भत्काइएको रुपमा लिइएको थियो । भीमसेन थापाले निर्माण गरेको धरहरा भत्किएकोप्रति नेपालीहरुको हृदयमा गहिरो धक्का प¥यो । केही समयपछि भूकम्पीय दिनको मौका पारेर तत्कालीन प्रधानमन्त्री केपी ओलीले तामझामका साथ मेरो धराहरा म आफैँले बनाउँछु भनी उद्घोष गरेका थिए । उनले केही रकम दिएर बैंकमा खाता खोलेको कुरा सञ्चार माध्यमहरु लगाएर प्रचार गराइएको थियो । देशका ठूलाबडा पछि लागेर उनले खोलेका खातामा पैसा जम्मा पनि गरेका थिए । भूकम्पले विनास गरेको धरहरालाई ठाडो गराउने वचन दिएर सार्वजनिक माध्यमबाट प्रचार गराएर आफ्नो अनुहार देखाउने काम गरेका थिए । यो कार्य पनि राजतन्त्रमा झैँ राजाले कुनै कुरा गरेपछि उनकै पछाडि लाग्ने चलन दोहोरियो । ओलीले निर्माण गर्ने उद्घोष गरेको काम भूकम्प अढाई वर्ष पुग्दा पनि ठडिएन । भूकम्पले भत्काएको एक वर्षपछि ओली पनि धराशायी भए । फेरि उनी ठाडो भएपछि अढाई वर्षको ठाउँमा तामझामसहित आफ्नो साइकोफेन्टहरुलाई अगाडि पछाडि लगाएर धराहराको पुनःनिर्माण गर्ने उद्घोष गराएका छन् । यस समयमा पहिलेभन्दा बढी आफैँले कुटो कोदालो र खर्पन लिएर पुग्नुपरे पुग्छु भनी दुई वर्ष अगाडिकै शब्दहरु जस्ताको त्यस्तै दोहो¥याएका छन् । क्यालेन्डरका पात्रहरु फेरिए तर लडेको धराहराले कति सुन्यो भन्न सकिँदैन । तर नेपाली जनताले अर्काेचोटी ओलीको बोलीको प्रहार खेप्नुप¥यो । यसले पनि ओलीको बोलीको प्रतिबद्धता र विश्वसनियतालाई धक्का दिएको छ । उनको बोलीमा कुनै सार हुँदैन, सत्य हुँदैन, योजना हुँदैन, खाली अभिव्यञ्जना र उत्तेजना मात्र रहेको हुन्छ । उनका पछाडिका गरिएका मान्छेहरुले तालि दिन्छन् । यति मात्र हुन्छ ।
    भुँइचालोले भत्केको नौतले धराहराको पेटीमा बसेर दिइएको धराहराको भूकम्पीय संवेदनामाथि दोस्रोचोटी त्यही ठाउँमा उभिएर प्रधानमन्त्रीले दिएको भाषणले अर्काे कठोर उपहास भएको छ । धराहराको नाममा अरु कतिचोटी भाषाण गरिने हो, त्यो कुराको लेखाजोखा गर्न सकिने स्थिति छैन । बरु धराहराले भीमसेन थापालाई अर्काेचोटी सम्झाइदिएको छ । भीमसेन थापाले बनाएको दरबारको क्षतिको नाममा सो दरबारलाई भत्काएर व्यापारी र तस्करहरुलाई अरबौँ कमाउने योजना बनाउन सुरु गरेको हुन सक्छ । अहिले भीमसेनको थापाको दरबार मात्र होइन, प्रधानमन्त्री आफैँ बसेको दरबार पनि भत्काउन माफियाहरुको चलखेलले प्रश्रय पाएको छ । सिंहदरबार पनि कहिले निर्माण गरिने हो, साइत मात्र कुरेर बस्नुपरेको छ । सिंहदरबारको नाममा पनि श्रद्धाञ्जली दिने काम छिटै आउनेछ भन्ने कुरा बागदरबारको नियतीले सम्झाइदिएको छ ।
    प्रधानमन्त्रीको काम भाषण मात्र दिने हो कि भनेको कुराको पूरा पनि गर्ने हो, आफैँ खन्ती र खर्पन लिएर जाने हो भने खर्पनवालाहरुको अपमान गरेको हो कि वा सम्मान गरेको हो बुझ्न सकिएको छैन ।
    भूकम्पले नष्ट गरेका भौतिक संरचनाहरु पुनःनिर्माण हुन सकेका छैनन् । गोरखा बार्पाक केन्द्र बनाएर गएको भूकम्प र यसको परकम्पहरुले नौ हजारभन्दा बढीको ज्यान लिएको थियो । अंगभंग पारेको थियो । लाखौँ मानिसहरु घरबासविहिन बनेका थिए । त्यस विपदको समयमा सबै पक्षबाट देखाएको ऐक्यबद्धता र सहयोग अनुकरणीय थियो तर विपत्पछि सरकारी स्तरबाट पुर्ननिर्माण र पुनरुद्धारको लागी देखाएको उपेक्षा र भूकम्पपिडितका लागी आएका सामग्रीहरु कुम्ल्याउन र भूकम्पको सहयोगको लुट गर्नमा खर्चेको र आफ्नो पार्टी र आफ्नो कार्यकर्तालाई पोस्ने जुन काम गरिए, यसबाट सरकार र सरकारमा बसेका उच्च पदका व्यक्तिहरुको संवेदनहीनतामा कमाउने, पैचासिकताले पराकाष्ट भएकोले अहिलेसम्म भूकम्पपिडितले टहरामा कठोर जीवन बिताउनुपरेको खेदजनक स्थिति छ । जोखिम वस्तीहरुलाई उठाएर पुर्नवास गर्ने कुराको नाममा केही रकम दिएर आफ्नो व्यवस्था आपैmँ गर्ने जिम्मा दिने गैरजिम्मेवारीको परकाष्ठा देखिन थालेको छ । यसले गर्दा जोखिममा परेका ४ हजार गाउँका मानिसहरु अरु जोखिममा बस्न बाध्य छन्, चिरिएका घरमा बास लिनुपर्ने स्थितिमा छन् । तर जिम्मा लिएका सरकारी निकायहरु र दलहरु भूकम्पबाट कमाउने र यसको नाममा उपदेश दिएर जिम्मेवारीबाट भाग्ने मात्र प्रयास गरिरहेको देखिएको छ । भूकम्पपीडितका नाममा आएका रकम पनि विभिन्न झन्झट खडा गरेर पिडितसमक्ष नपु¥याएर आफैँले हजम गर्ने प्रयास गरिरहेको खेदजनक स्थिति पनि छ । १९९० सालमा आएको भूकम्पपछि राणा सरकारको प्रधानमन्त्री जुद्धशमशेरले तत्परता देखाई जापानको अनुभवबाट नेपालको भूकम्पपिडितलाई पुनरुद्धार गर्ने काम गरेका थिए । तर अहिलेको लोकतान्त्रिक सरकारले जनताको पिडामा नुन छर्कने काम काम गरी नालायकी र जनविरोधी अनुहार प्रष्ट गर्दै लगेको छ । जिम्मेवार दलहरुले भूकम्पलाई निर्वाचनको नारा बनाएका छन् । उनीहरुमा संवेदना देखिएको छैन । बढी पिडित भएको काभ्रेका जनताको जीवन कष्टकर र दयनीय बन्दै गएको छ । उनीहरुलाई दिएका आश्वासनहरु अर्काे भूकम्पमा मरेपछि मात्र प्राप्त हुने हो कि परत्रमा प्राप्त हुने हो ठेगान छैन । पुनःनिर्माणमा लागेकाहरुले राजनीतिक नेतृत्वको अकर्मण्यता, स्वार्थ, सरकारी निकायबीच समन्वयको समस्या तथा प्रशासनीक प्रक्रियाको मार खेप्नुपरेको छ । भर्खरै मापदण्ड कडा बनाउने नाममा फेरी अर्काे ताण्डव खडा गर्ने काम सरकारी पक्षले बुन्दै गरेको जानकारीमा आएको छ । उनीहरुले आफ्नो स्वार्थभन्दा अगाडि एक इन्च पनि देख्न सकेका छैनन् । भूकम्पको नाममा आएको रकम र सहयोगहरु आफूले कसरी हजम गर्ने भन्ने दाउ हेरेर बसेको मात्र देखिएको छ । सबै कुरामा अल्झो हाल्ने र आश्वासनको सपना बाँड्ने गरेको देखिन्छ । यसैले भूकम्प गएको चार वर्ष लाग्दा पनि लाखौँ पिडितहरुको वास टहरामै छ । अझ कति वर्ष बस्नुपर्ने हो, यो पुस्ताले पाउने हो कि अर्काे पुस्ताको समयमा, टुंगो छैन । अहिलेको बैंकबाट रकम पाउने हो कि अर्काे बंैक बनेर पाउने हो । राष्ट्रबैंकको घर भूकम्पबाट भत्कीयो । यसालाई पुनःनिर्माण गर्ने र जनतालाई सुविधापूर्ण रुपमा प्रतिबद्धताअनुसारको ऋण उपलब्ध गराउनुभन्दा आफ्नै घर भत्काएर माफियाहरुबाट ठूलो रकम हात पार्ने काममा गभर्नर र उनका वरिपरिका मानिसहरु लागेकोले उनीहरुमा भूकम्पले कमाउने अवसर दिएको ठानेजस्तो देखिएको छ । यसरी भूकम्पपछि नवनिर्माण गर्न मुलुक चुकेको मात्र छैन, मुलुकको जिम्मेवारहरु गैरजिम्मेवार र जनताको भूकम्पीय संवेदनाप्रति क्रुर र संवेदनाहीन छन् भन्ने कुराको भण्डाफोर भएको छ । उनीहरु राणा शासकभन्दा नालायक ठहरिएकाले पुनःनिर्माणको कार्य पट्यारलाग्दो हुँदै गएको छ । प्रधानमन्त्री र राष्ट्रपतिको धरहरा र रानीपोखरीको उदाहरणले जेठाको भांग्राको धोती कान्छाको के गति भन्ने नेपाली लोकोक्ती लागू गराएको छ ।

    दाजु हिँडेको बाटोमा
    — रामचन्द्र हुमागाई

    लेनिन दाजु अलेक्सान्दरबाट प्रभावित हुनुहुन्थ्यो । अलेक्सान्दर दरिलो स्वभावका र उच्च नैतिक चरित्र भएका व्यक्ति थिए । लेनिनकी दिदी आन्ना इल्यिनिच्ना उल्यानोभा एलिजारोभाले आफ्नो संस्मरणमा लेख्नुभएको थियो, आफ्नो प्यारो दाजु अलेक्सान्दरको उदाहरण भ्लादिमिरको निम्ति अगाध महत्वको कुरा थियो । बालककालदेखि उहाँ हरेक कुरामा दाजुको अनुकरण गर्नुहुन्थ्यो । बालक भ्लादिमिरलाई कुनै कुराबारे उहाँको राय सोध्दा उहाँको नित्य उत्तर हुन्थ्यो, अलेक्सान्दरजस्तै । अलेक्सान्दर पिटेरवर्ग विश्वविद्यालयको विद्यार्थी हुनुहुन्थ्यो र पछि उच्चकोटिको वैज्ञानिक बन्न सक्नुहुन्थ्यो । परन्तु जारशाहीको विरुद्ध क्रान्तिकारी संघर्ष गर्नु उहाँले आफ्नो जीवनको मुख्य उद्देश्य ठान्नुभयो र यसै उद्देश्य प्राप्तिको लागि सम्पूर्ण जीवन अर्पण गर्नुभयो । अलेक्सान्दर जनताको जीवन सुधार्न चाहनुहुन्थ्यो । उहाँको दृष्टिकोण नारोद्नाया भोल्या र माक्र्सवादको बीचमा थियो । आफ्नो जेठो दाजुबाट लेनिनले माक्र्सवादी साहित्यको प्रारम्भिक ज्ञान हासिल गर्नुभएको थियो ।
    किशोरावस्थामा भ्लादिमिरले ठूलो चोट सहनुप¥यो । सन् १८८६ मा अकस्मात पिताको देहावसान भयो । परिवारले यो गहिरो वेदना बिर्सन पाएको थिएन, नयाँ विपद आइलाग्यो । मार्च १८८७ मा अलेक्सान्दर पिटेरबुर्गमा गिरफ्तार हुनुभयो । उहाँमाथि रुसी जार अलेक्सान्दर तृतीयको हत्या षड्यन्त्रमा सामेल भएको आरोप लगाइएको थियो । त्यसै वर्षको मे महिनामा अलेक्सान्दरलाई स्लिसेल्बुर्ग किल्लामा फाँसी दिइयो । आन्ना इल्यिनिच्नाले लेख्नुभएको थियो – अलेक्सान्दर सहिद भए । उनको रगतमा पोतिएको क्रान्तिकारी लाली उनैको बाटोमा लागेका भाइ भ्लादिमिरका लागि पथप्रदर्शक बन्यो ।
    दाजुको फाँसीले भ्लादिमिरलाई ठूलो चोट पु¥यायो । उहाँले आफ्नो सम्पूर्ण जीवन क्रान्तिकारी संघर्षमा लगाउने संकल्प गर्नुभयो । भ्लादिमिर दाजु र उहाँका साथीहरुको साहस र आत्मत्यागको प्रशंसा हुनुहुन्थ्यो तर दाजुले रोज्नुभएको बाटोमा लाग्न चाहनुभएन । किशोर भ्लादिमिर जारशाही सरकारका भरौटेहरु अथवा जारकै हत्याद्वारा जारशाहीको विरुद्ध संघर्ष गर्नु गलत हो र यसले क्रान्तिको उद्देश्य पुरा गर्न सक्तैन भन्ने ठान्नुहुन्थ्यो । यो ठीक बाटो होइन, हामी यो बाटो जाने छैनौं, उहाँले भन्नुभएको थियो ।
    यसप्रकार भ्लादिमिर उल्यानोभले श्रमिक जनताको स्वाधीनताको लागि अर्कै बाटो खोज्न सुरु गर्नुभयो । क्रान्तिकारी कामको लागि आफूलाई तयार गर्दै किशोर भ्लादिमिर सामाजिक विज्ञानहरुप्रति विशेष ध्यान दिनुहुन्थ्यो । उहाँले यी विज्ञानहरुको गम्भीरतापूर्वक अध्ययन गर्न थाल्नुभयो । स्वर्णपदकसहित जिम्नेसियम समाप्त गर्नुभएपछि अगस्ट १८८७ मा उहाँ काजान विश्वविद्यालयको कानुन विभागमा भर्ना हुनुभयो । विश्वविद्यालयमा युवा उल्यानोभले प्रगतिशील र क्रान्तिकारी दृष्टिकोण राख्ने विद्यार्थीहरुसँग सम्वन्ध कायम गर्नुभयो । डिसेम्वर १८८७ मा विद्यार्थीहरुको क्रान्तिकारी सभामा सक्रिय भाग लिएवापत उहाँ विश्वविद्यालयबाट निकालिनुभयो । उहाँ गिरफ्तार हुनुभयो । पछि लेनिनले यस गिरफ्तारीको समयमा आफूलाई जेल पु¥याउने पुलिस अफिसरसँग भएको वार्ता गर्नुभएको थियो । युवा उल्यानोभलाई अर्ती दिँदै अफिसरले भनेका थिए, नौजवान ! किन बेकारमा विद्रोह गर्छौ, देख्दैनौ, तिम्रो अगाडि भित्ता छ । युवा उल्यानोभले जवाफ दिनुभएको थियो, हो, देख्छु । भित्ता छ, तर यो भित्ता यति मकिइसकेको छ कि एकै धक्कामा भत्किहाल्छ ।
    यस प्रकारले सत्रवर्षीय युवक भ्लादिमिर उल्यानोभले जारशाहीको विरुद्ध क्रान्तिकारी संघर्षको बाटोमा खुट्टा टेक्नुभयो । भ्लादिमिर उल्यानोभ काजान गुबेर्नियाको कोकुसकिनो (हाल लेनिनो) गाउँमा निष्कासित हुनुभयो । यस बेलादेखि पुलिसले उहाँमाथि कडा निगरानी राख्न सुरु ग¥यो । सानो सुनसान गाउँमा बस्न बाध्य हुनुभएको लेनिन धेरैजस्तो समय पढ्नमै बिताउनुहुन्थ्यो । पछि लेनिनले सम्झना गर्नुभएको थियो, मलाई लाग्छ पछि जीवनमा कहिल्यै पिटेरबुर्ग र साइबेरियाका जेलहरुमा पनि त्यति पढिन, जति मैले काजानको गाउँमा निर्वासन कालमा पढेको थिएँ । म बिहान सबेर उठ्थें र राती अबेलासम्म पढ्ने गर्थे । एक वर्षपछि उहाँले काजानमा फर्कने अनुमति पाउनुभयो । लेनिनले फेरि विश्वविद्यालयमा भर्ना हुने कोसिस गर्नुभयो, पढ्न विदेश जाने अनुमति माग्नुभयो तर जारशाही सरकारले अनुमति दिएन । सरकारले उल्यानोभलाई शंकास्पद व्यक्तिहरुको सूचीमा गाभेको थियो ।
    त्यस बेला काजानमा केही अवैधानिक (गोप्य) क्रान्तिकारी गुटहरु थिए । यी गुटहरु प्रथम रुसी माक्र्सवादी क्रान्तिकारीहरुमध्ये एक नि. ए. फेदोसेएभले गठन गरेका थिए । लेनिन यी गुटहरुका सदस्यहरुसँग परिचित हुनुभयो र आफै एक गुटको सदस्य बन्नुभयो । भ्लादिमिर उल्यानोभले माक्र्सवादको गम्भीर अध्ययन सुरु गर्नुभयो । कार्ल माक्र्सले यस क्रान्तिकारी शिक्षाको प्रतिपादन गर्नुभएको थियो । माक्र्स र वहाँको मित्र एन्गेल्सले आफ्नो सम्पूर्ण जीवन मजदुर वर्ग र समस्त श्रमिक जनतालाई पुँजीवादको पञ्जाबाट छुटाउनको लागि समर्पण गर्नुभएको थियो । उन्नाइसौं शताब्दीको मध्यावधिमा वहाँहरुले सामाजिक विकाससम्वन्धी विज्ञानको प्रतिपादन गर्नुभएको थियो र समाजको क्रान्तिकारी पुनर्निर्माणको बाटो देखाउनुभएको थियो । सर्वहारा वर्गका यी शिक्षकहरुले प्रमाणित गर्नुभएको थियो कि श्रमिकहरुको शोषणद्वारा पुँजीजीवीहरुलाई धनी बनाउने सामाजिक व्यवस्था चिरस्थायी छैन । मानवजातिलाई पुँजीवादी अत्याचारबाट मुक्त गर्नका लागि पुँजीजीवी सत्ता उखेल्न र नयाँ समाजवादी व्यवस्थाको निर्माण गर्न समर्थ शक्तिको आवश्यकता छ । यो शक्ति हो सर्वहारा अर्थात् मजदुर वर्ग । सर्वहारा वर्ग पुँजीजीवी समाजको सबभन्दा दलित सबभन्दा संगठित र सबभन्दा क्रान्तिकारी वर्ग हो । पछि माक्र्सवादको सार बताउँदै लेनिनले भन्नुभएको थियो, माक्र्स र एन्गेल्सको महान् विश्वव्यापी ऐतिहासिक भूमिका केमा निहित छ भने उहाँहरुले विश्वभरिका सर्वहाराहरुलाई उनीहरुको कर्तव्य, उनीहरुको लक्षप्रति जागरुक तुल्याउनुभयो । वहाँहरुले सर्वहारा वर्गलाई पुँजीको विरुद्ध क्रान्तिकारी संघर्ष गर्ने, यस संघर्षको लागि आफ्नो वरिपरि समस्त श्रमिकहरु र शोषितहरुलाई एकजुट तुल्याउन सिकाउनुभयो ।
    माक्र्स र एन्गेल्सले सिकाउनुभएको थियो सर्वहारा र पुँजीजीवीहरुबीचको संघर्षले अन्ततोगत्वा समाजवादी सुरुआत गर्नेछ, मजदुर वर्गले पुँजीजीवीहरुको सत्ता उखेल्नेछ र श्रमिक जनताको हितार्थ सर्वहारा अधिनायकवाद अर्थात् मजदुर वर्गको सत्ता कायम गर्नेछ ।
    सर्वहारा अधिनायकवाद माक्र्सवादी सिद्धान्तको कडी हो । पुँजीपति तथा जमिनदारहरु जस्ता शोषक वर्गहरुको प्रतिरोध दबाउनको लागि, किसानहरुलाई आफ्नो वरिपरि गोलबन्द गर्नको लागि र नयाँ समाजवादी व्यवस्थाको निर्माण गर्नको लागि मजदुरहरुलाई सर्वहारा अधिनायकवादको आवश्यकता छ । यस ऐतिहासिक लक्ष प्राप्तिको लागि सर्वहाराले आफ्नो क्रान्तिकारी पार्टीको सिर्जना गर्नुपर्दछ जुन पार्टीको वैज्ञानिक सिद्धान्तको आधारमा मजदुर वर्गलाई उचित बाटो देखाउनेछ र समाजवादको लागि संघर्षको नेतृत्व गर्नेछ ।

    ग्यास्ट्रिकबाट बच्ने घरेलु औषधि
    — सुदर्शन आचार्य

    पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि लक्षणयुक्त समस्याको चिकित्सकीय नाम ग्यास्ट्राइटिस हो । छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्नु, पेट पोल्नु, भोक हराउनु, अम्लपित बढ्नु, मुख बिग्रिनु, पेट भारी हुनु, आपन वायु बढ्नु, रिंगटा लाग्नु, टाउको दुख्नु, पेट फुल्नु ग्यास्ट्रिकका लक्षण हुन् । ग्यास्ट्रिकमा वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउढ्याउ आउने, वान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, पेट हुडेल्ने, तौल कम हुने लक्षण देखिन्छ । आमाशयको भित्तामा सुन्निएर रातो तातो भएर दुख्ने, आमाशयका भित्ताको श्लेष्म झिल्ली च्यातिएर घाउ भएको अवस्थालाई भने ग्यास्ट्रिक अल्सर भनिन्छ । ग्यास्ट्रिकको प्रारम्भिक अवस्था हो भने अल्सर त्यसैको विकराल रूप हो ।
    ग्यास्ट्राइटिसलाई तीव्र तथा जीर्ण गरेर दुई समूहमा बाँडिएको छ । तीव्र ग्यास्ट्राइटिस पेटका भित्ताहरूमा भएका कोषहरूका लागी हानी गर्ने पदार्थहरूको सेवनले गर्दा हुन्छ । यी पदार्थहरूमा एस्प्रिन, बु्रफेन, निम्स, नेप्प्रोक्सिनजस्ता दुखाइ कम गर्ने औषधीसेवन, मसला, खुर्सानी र नुन ज्यादा हालेको खानेकुरा, जाँडरक्सी, कोकिनजस्ता मादक पदार्थ पर्दछन् । जीर्ण ग्यास्ट्राइटिस रोग हाम्रो जीवनशैली खानपान, शैली मानसिकता र शरीरको प्रकृतिसँग जोडिएको छ । जथाभावी खानपानले पनि ग्यास्ट्रिक बढाउँछ ।
    भोक लागेको बेलामा नखाने, भोकभन्दा ज्यादा खाने, खाना निश्चित समयमा नखाने, पचाउन कठिन हुने खाना खाएपछि तत्कालै सुत्ने र शारीरिक श्रम गरेलगत्तै खानेहरूमा यो रोग ज्यादा देखिएको छ । व्यस्तता र भागदौडले भरिएको जीवन ज्यूँनेहरू, मानसिक तनावको चपेटामा परेकाहरू, मनोरञ्जन नगर्नेहरू, भय, चिन्ता, शोक, उदासिनता र अनिद्राका रोगी, शारीरिक श्रम वा व्यायाम नगर्नेहरू पनि यो रोगका सिकार हुन्छन् । लामो समयसम्म जाँडरक्सी, चिया, कफी, कोक, पेप्सी आदि खानेहरूमा पनि यो रोग ज्यादा देखिएको छ । आत्मघाती प्रतिरक्षा प्रणालीको कारणले पनि यो रोग हुने गर्छ । पेटको अपरेसन कलेजो, मिर्गौला, फियो तथा आन्द्राका रोग, एचआइभी एड्स र विशेष मानसिक रोगावस्थामा पनि देखापर्छ ।
    यो रोगको समयमै उपचार नभए ग्यास्ट्रिक अल्सर तथा क्यान्सर हुन सक्छ । अल्सर हुँदा बारम्बार रक्तस्रावले गर्दा रक्तअल्पताका समस्या देखापर्छ । भिटामिन बी १२ को अवशोषणमा चाहिने तत्वहरूको उत्पादन हुन नसक्दा रक्तअल्पता, स्नायु तथा नाडीहरूको क्षय, अन्ननली सुन्निने, दम बड्ने, मुखमा घाउखटिरा आइरहने, आन्द्रामा घाउ हुने, खानाको पाचन र अवशोषण सुचारु नहुने र मल निष्कासनमा जटिलता आई कब्जियतका लक्षण देखापर्न सक्छन् ।
    तीव्र ग्यास्ट्राइटिस समयमै उपचार हुन सके रोग जीर्ण हुनबाट बचाई यसका अन्य जोखिम निवारण गर्न सकिन्छ । तसर्थ चिकित्सकको निगरानीमा रोगको निदान तथा उपचार गर्नतिर लागौं । जीर्ण ग्यास्ट्राइटिसको ठूलो हिस्सा जीवनशैलीसँग सम्बन्धित भएकाले जीवनशैली परिवर्तन गर्न जरुरी छ । जीवनशैली परिवर्तन भनेको भोजन, व्यायाम, विश्राम, विचार र व्यवहारलाई स्वास्थमैत्री हुने गरी समायोजन गर्नु हो ।
    हानिकारक मानिएका खाना छाडेर रेसा र चोकरयुक्त खस्रामोटा खानेकुराहरू, सागसब्जी, सलाद–फलफूल र अंकुरित अन्न, फलको रस, ताजा मोही, लस्सीको सेवन ग्यास्ट्राइटिसमा उपयोगी छ । स्याऊ, स्ट्रबेरी, मेवा, लसुन, प्याज, हिङ, जीराजस्ता खाद्य पदार्थलाई भोजनमा समावेश गरौं । पानी प्रशस्त पिउनुपर्छ । यसो गर्दा ग्यास्ट्रिक एसिडले आमाशयलाई हानी पु¥याउन पाउँदैन ।
    अंग व्यायाम, रिढ व्यायाम, शिथिलीकरण व्यायाम, प्रातःभ्रमण, दौडिने, कुद्ने, योगाभ्यास, सूर्य नमस्कार जस्ता व्यायाम ग्यास्ट्राइटिसमा उपयोगी हुन्छन् । बज्रासन, पवनमुक्ताशन, सर्वांङ्गासन, मत्स्यन्द्र, भुजंग, उदारकर्श र धनुराशन, ताडाशन, त्रियकताडाशन जस्ता आसनविधि, अनुलोमविलोम, शीतली, सित्करी, वामनासिका श्वासन जस्ता विधिले पनि यस रोगमा फाइदा पु¥याउँछन्, तर रोगको अवस्था गम्भीर छ भने चिकित्सकको परामर्श लिनुपर्छ । जलनेती (नाकको सफाइ), कुन्जल (पेटको सफाइ), एनिमा (ठूलो आन्द्राको सफाइ), शंखप्रक्षालन (सम्पूर्ण पाचन प्रणालीको सफाइ) जस्ता उपचार पद्धतिले ग्यास्ट्राइटिस समनमा ठूलो सहयोग पु¥याउँछ । यसमा पेटको मालिस, माटोको पट्टी, ग्यास्ट्रो–हेपेटिकप्याक, नौली तथा गणेश क्रियाको अभ्यास, अकुपन्चर तथा अकुप्रेशर जस्ता विधिले पनि राम्रो गर्छ ।
    ग्यास्ट्राइटिस डर, चिन्ता, खिन्नता, उदासिनता र अनिद्राका रोगीलाई हुने रोग हो । तसर्थ तनाव व्यवस्थापन ग्यास्ट्राइटिस निवारणको कडी हो । शारीरिक तथा मानसिक रूपले विश्राम लिन योगासन, योगनिद्रा, माइन्ड साउन्ड टेक्निक, ध्यानविधिको अभ्यास गर्नुपर्छ । सकारात्मक चिन्तनलाई जीवनको अभिन्न अंग बनाउनुपर्छ । सातामा एकपटक सम्पूर्ण शरीरको मालिस तेल अभ्यंग, बाष्पस्नान, सउना, फोहरा स्नान, तैरनु, पौडनु र प्राकृतिक दृश्यमा रम्ने बानी बसालौं । दुखाइ कम गर्ने तथा अन्य दबाइहरू चिकित्सकको परामर्शमा मात्र लिने गरौं । चिकित्सकले दिएको औषधी पूर्ण रूपले खाने गरौं । कलेजो, मिर्गौला, फियो र आन्द्राका रोग भएकाहरूले रोगको उपचारमा सावधानी अपनाऔं । पेट तथा छातीको अपरेसन गर्दा ग्यास्ट्रिक हुने सम्भावना ज्यादा रहने भएकाले सावधानी अपनाऔं ।
    यसबाट बच्ने घरेलु उपायहरू धेरै छन् । जस्तै ः दिनको एक ग्लास दुधमा चप गरेको बेसारको पात मिसाउनु र दिनहुँ पिउनुहोस् । यसो गर्दा ग्यास्ट्रिकको समस्या कम हुँदै जानेछ । अम्बाको पात एउटा अम्बाको पात लिनुहोस् र त्यसलाई पानीमा उमाल्नुहोस् । यसलाई दिनहँु पिउँदा ग्यास्ट्रिकको समस्या कम हुँदै जानेछ । आलुलाई सफा गर्नुहोस् र त्यसपछि बोक्रा हटाई चप गरेर पानीमा उमाल्नुस् । दिनकै एक ग्लास ३ पटक खाना अघि पिउनुहोस् । ग्यास्ट्रिकको समस्या कम गर्ने अर्काे तरिका अदुवा हो । अदुवालाई औषधिको रुपमा पनि मानिन्छ । दिनहुँ खाना खाएपछि ताजा अदुवाको टुक्रा चपाउनुहोस् यो समस्या आफैँ टाढा हुन्छ । यसरी अदुवाको धूलो, नुन, हिंग पानीमा मिसाउनु र दिनहुँ पिउने गर्नुहोस् । बेकिङ सोडामा धेरै मात्रामा ब्लतबअष्म भएको कारण यसले ग्यास्ट्रिकको समस्या हटाउन मदत गर्दछ । एक ग्लासमा आधा चम्चा बेकिङ सोडा राखेर मिसाउनुस् र दिनहुँ यसको प्रयोग गर्ने गर्नुहोस् । तातेको दूधमा आधा चम्चा दालचिनी को धूलो, मह अलिकति राखेर मिसाउने र यसको सेवन राती सुत्नु अगाडि गर्नु । यसले ग्यास्ट्रिकको समस्या कम गर्न मदत गर्दछ । हिंगमा पानी मिसाइ यसको पेस्ट बनाउनु र यसलाई पेटमा राखी केही समय राख्नु । यस्तो गर्दा यो समस्या हट्दै जान्छ । एक ग्लास तातो पानीमा एक चम्चा जिरा बिउ राखेर उमाल्ने र केही समयसम्म यसलाई ढाकेर राख्ने र त्यसपछि यसको सेवन गर्नुहोस् । २–३ वटा लसुनलाई आगोमा पोल्नुस्, त्यसपछि त्यसको बोक्रा निकालेर खानुहोस् । ताजा लसुनलाई पिस्नु, जिराको धूलो, जिराको गेडालाई पानीमा राखी उमाल्नु र यसको सेवन गर्नु । सुप पनि एक प्रकारको औषधि हो । पानीमा सुपको दाना राखी उमाल्नुस् र सेलाएपछि खानुहोस् । एक ग्लास पानीमा ताजा पुदिना राखेर उमाल्ने र सेलाएपछि त्यसमा मह हालेर दिनको दुई र तीन पटक खानुहोस् । यसले ग्यास्ट्रिक समस्यालाई हटाउन मदत गर्दछ । (टीभी नेपाल डट कम)

    शिक्षाक्षेत्रका ऋषि
    — डा. सुरेशराज शर्मा

    डा. त्रैलोक्यनाथ उप्रेतीलाई ८१ वर्षको उमेरमध्ये झन्डै ६० वर्ष शिक्षालाई सुम्पिएको र रातोदिन शिक्षाबाट बाहिर निस्कन नसकेको व्यक्तिका रूपमा शिक्षाजगत्ले चिनेको छ ।
    त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर हाताको निर्माणकार्यमा देखाउनुभएको सबल नेतृत्व, विश्वविद्यालयको स्थापनामा युवा पुस्तालाई निम्त्याउन र समर्पित गराउन उहाँबाट भएको योगदान अतुलनीय छ । त्रिभुवन विश्वविद्यालयको शिक्षणभवनको कुरा गर्दा होस् वा आवासीय भवनका, शिक्षाशास्त्र सङ्कायको भौतिक संरचनाका कुरा गर्दा होस् वा केन्द्रीय पुस्तकालयको स्थापना र सुदृढीकरणमा होस्, खेलकुद मैदानको निर्माणमा होस् वा वनस्पति उद्यानको विकासमा होस् डा. उप्रेती नै सर्वव्यापी देखिनुहुन्थ्यो । त्यस विश्वविद्यालयका प्रत्येक उपलब्धिमा रमाउने र प्रत्येक कठिनाइमा खिन्न हुने र रुने उहाँभन्दा मर्मज्ञ अरू को नै हुन सक्यो र ?
    उहाँलाई नजिकैबाट चिन्नेमा सम्भवतः म पनि पर्छु होला । मलाई अझै सम्झना छ – एकपटक विद्यार्थीहरूले हडताल गरी ढोकाबाट कसैलाई छिर्न नदिएको बेला उहाँ अर्कै बाटोबाट अफिसमा पुग्नुभई विद्यार्थीकै समस्यालाई सुल्झाउन तल्लीन हुँदा अञ्चलाधीश कार्यालयबाट पुलिस पठाई ढोकाबाट विद्यार्थीलाई तितरबितर पारेपछि विश्वविद्यालयमा किन पुलिस बोलायौ ? भनी विद्यार्थीको उत्तेजित हुलले उहाँको कोठामा पसी पुलिसलाई हटाउन अञ्चलाधीशलाई फोन गर नत्र टाउको फोर्छांै भनेर लठ्ठी टाउकोमाथि राख्ता उहाँ भन्दै हुनुहुन्थ्यो — पुलिस मैले बोलाएको होइन, समस्या तपाईंहरू र म भएर सुल्झाऔँ, बस्नोस् न ! उत्तेजित भएर त झन् बिग्रन्छ । तपाईंहरू शान्त हुनुहोस् । जे गर्दा विश्वविद्यालयलाई राम्रो हुन्छ, तपाईंहरूलाई सन्तोष हुन्छ, त्यही गरौँ न, म पनि तपार्इंहरूमध्यकै एक हुँ न, विद्यार्थीको हित नचिताउने म कसरी हुन सक्छु र ? भनी विद्यार्थीको आक्रोशलाई शान्त पार्नुभएको थियो । यो घटना राष्ट्रिय शिक्षापद्धतिको योजना विश्वविद्यालयमा लागू गर्दा २०२९ सालमा असन्तुष्ट विद्यार्थीको आक्रोश उठिरहेको बेलाको हो । अर्को घटना राजा महेन्द्रबाट कीर्तिपुरहातामा विश्वविद्यालयको चाँडै विकास गर्नुप¥यो भन्ने हुकुम भयो तर न त्यहाँ जमिन पूरा अधिकरण भइसकेको थियो, न जनताले जमिन छोडिसकेका थिए, न पर्याप्त शिक्षणभवन र आवासीय भवनहरू नै बनेका थिए, न राम्रो बाटो नै बनेको थियो, न विद्यार्थी र शिक्षक एवं कर्मचारीलाई त्यहाँ आवतजावत गर्ने बसको व्यवस्था थियो, न त्यहाँ खानपिनसम्म गर्ने रेस्टुरेन्ट थियो, न कार्यालय, बैङ्क, पोस्ट अफिस आदिका लागि पर्याप्त सुविधा नै बनिसकेको थियो ।
    डा. उप्रेतीले निर्जन ठाउँमा टाउको लुकाउन मात्र पुग्ने एउटा क्वार्टरजस्तो घरमा आफैँ बस्ने गरी जानुभएको र दिउँसै स्याल कराउने पाखोमा ९ बजेदेखि नै अफिसमा डटी सबै क्रियाकलापमा अगाडि आफैँ परिरहेको हामीले देखेका थियौँ । उहाँको आवेशमा कहिल्यै नआउने, सबैसित मीठो बोलीवचन गर्ने र सधैँ फुर्तिलो भई आफैँ अगाडि सर्ने स्वभाव त उहाँलाई चिन्ने सबैले देखिआएकै स्वभाव हो । पहिलो दुई–तीन वर्ष रजिस्ट्रार र पछिको चार वर्ष उपकुलपति भई त्रिभुवन विश्वविद्यालयको स्थापनाकालमा कीतिपुरको हातालाई विद्याको आकर्षक केन्द्रमा पु¥याउन योगदान पु¥याउने शीर्षस्थ व्यक्तित्व उहाँ नै हुनुहुन्थ्यो ।
    नेपालको शिक्षामा अमेरिकी सहयोग नियोग र भारतीय सहयोग नियोगलाई आकर्षित गर्ने कुरामा होस् वा युनेस्कोजस्तो अन्तर्राष्ट्रिय संस्थामा नेपालको सशक्त भूमिका वा उपाध्यक्षसम्म पु¥याउने कुरामा होस्, उहाँको अमूल्य योगदान त कसैले बिर्सनै सत्तैmन ।
    असी वर्षको आसपासमा पुग्दा उहाँले नागरिक शिक्षाको प्रवद्र्धनमा अहोरात्र तल्लीन भई डिल्लीबजारको नेपाल सांस्कृतिक केन्द्रभित्रको कोठामा बस्ता होस् वा धनगढी, नेपालगन्ज, विराटनगर, पोखरादेखि काठमाडौँमा भेला भएका शिक्षाप्रेमी राजनीतिक व्यक्तित्व र समाजसेवीबीच हुँदा होस्, उहाँको चुम्बकीय व्यक्तित्व सदा अगाडि सरिरहेको देखिन्थ्यो । आफूले हात हालेको कामलाई कुनै मानिसले कति जिम्मेवारीका साथ पूरा गर्नुपर्छ भन्ने कुराको ज्वलन्त उदाहरण त उहाँ नै हुनुहुन्थ्यो ।
    कस्तै प्रतिकूलतामा पनि उहाँ आफ्नो वचनप्रति प्रतिबद्ध हुनुहुन्थ्यो । बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानको दीक्षान्त–भाषणताका उहाँलाई पहिलोपटक हृदयाघात भएको थियो । पूर्ण स्वास्थ्यलाभका लागि उहाँलाई डाक्टर र परिवारजनले सो कार्यक्रममा सहभागी नहुन अनुरोध गरेका थिए, तर उहाँले आफ्नो वचनबद्धताको भूमिका निर्वाह गरिछाड्नुभयो । त्यस्तै, अशक्त हुँदाहुँदै धुलिखेल अस्पतालमा धुलिखेल मेडिकल इन्स्टिच्युटका विद्यार्थीको दीक्षान्तलाई पनि उहाँले सम्बोधन गर्नुभयो ।
    काठमाडौँ विश्वविद्यालयको विश्वविद्यालयसभामा उहाँ झन्डै एघार वर्ष निरन्तर रूपमा रहनुभयो । उहाँ एउटा सभामा पनि अनुपस्थित हुनुभएन र प्रत्येक सभामा बहुमूल्य सुझाव दिन पनि चुक्नुभएन ।
    उहाँबाट प्राप्त ममता र मार्गदर्शनलाई जीवनमा लागू गर्नु एउटा चुनौतीपूर्ण कार्य हो भन्ने मलाई लाग्छ । त्रिभुवन विश्वविद्यालयको स्थापनाकालमा होस् वा काठमाडौँ विश्वविद्यालयको, नेपालमा शिक्षाशास्त्रको शिक्षाको जग बसाल्नमा होस् वा कान्तिईश्वरी शिशु विद्यालयको सुदृढीकरणमा, नेपालको युनेस्को गतिविधिमा अग्रणी भूमिका निर्वाह गर्नमा होस् वा नेपाल स्काउटको विकासको नसानसामा उहाँको अविस्मरणीय योगदान रहेको छ । यस्ता बहुमूल्य योगदानका सशक्त हस्तीलाई गुमाउनुपर्दा नेपालको शिक्षाक्षेत्र कति दुःखित हुन पुगेको छ भने म आफ्ना विचार कुनै शब्दमा व्यक्त गर्नै सकिरहेको छैन ।

    आफ्नै रगतबाट लेखियो चिठी
    — कविप्रसाद प्याकुरेल

    लक्ष्मी कौस्तुभ पारिजात सहजै ऋतम्भरा सत्सुधा । दैवी दिव्य कृपा प्रसाद विधिको पाई स्वयं शङ्कर । कालो कूट पिए पनि जीवन कल्याणकारी शिव । यो पाषाण बलिष्ट लेखन विधि सारा अनिवार्य छ ।।२९।। पाषाण मार्गको यात्रा कष्टकारी हिमालमा । सामुद्रिक महायात्रा जेल, नेल र बन्धन । जेजस्तो लेखिएको छ आफ्ना प्रारब्ध भागमा । भोग्नै पनि अनिवार्य कराल कालमा नमः ।।३०।। जल पनि स्थलजस्तो भूमि पाषाण वारी । मेरु मन्दार पग्ली कण अणु सदुश त्यै अणु भारीभारी । अग्नि चिसो प्रवाह हिम शीतल सफा निर्झरी अग्निज्वाला । सारा लीला उनैको स्थिति लय रचनाकारमा ढोग्छु आज ।।३१।।
    त्यसपछि वटवृक्षको सग्लो सुन्दर पात टिपेर दुना गाँसेर केतकिकण्टक (केत्तुकेको काँडा) ले आफ्ना जङ्घाबाट उक्त दुनाभरि रगत निकालेर उक्त रगतद्वारा लिखित भोजपत्र (भोज वृक्षको बोक्रो) दिँदै वत्सराजसँग भने ः
    मातापिता तथा भार्याबाट हुन्न सहायता । अन्त्यमा धर्मले मात्र सहारा दिन सक्दछ ।।३२।। यो शरीर त्याग गर्दा रहन्छ धर्म केवल । यो शरीरसँगै नाश हुने हो अरू जे त छ ।।३३।। सशक्त तर अशक्त धनी हो तर निर्धनी । धर्म विमुख व्यक्ति मूर्खै हो विशारद भए पनि ।।३४।। यस्तो घोर नरकको चिकित्साबाट वञ्चित । औषधी खान मान्दैन भने मृत्यु सुनिश्चित ।।३५।। जरा मृत्यु व्याधि भय इत्यादि जानकारी छ । सदैव स्वस्थ त्यो व्यक्ति मुमुक्षु ज्ञानी पण्डित ।।३६।। अरूको मृत्यु देखेर झस्कन्छ जसको मन । जसको मन चस्कन्न त्यो हो पाषाण दुर्जन ।।३७।।
    त्यसपछि वैरागी वत्सराज ‘भोजलाई क्षमा होस्’ भन्दै मुञ्जलाई प्रणाम गरेर आफ्नो रथमा बसेर आफ्नै देश बङ्गालदेश जाने भन्दै गुप्त रूपले भोजलाई भेटेर क्षमा मागे । भोजलाई पनि गुप्त रूपमा सँगै राखी कुशल शिल्पकारद्वारा भोजजस्तै र जत्रै भोजको प्रतिमूर्ति सहित राजदरबार पुगेर राजालाई प्रमाणपूर्वक बिन्ती चढाए, “सरकारको हुकुम बमोजिमको कार्य सम्पन्न भयो ।”
    भोजको मृत शरीर देखेर मुञ्जले सोधे, “खड्ग प्रहार गर्दा भोजले के भने ?”
    वत्सराजले ‘सरकार स्वयं नजर होस्’ भन्दै भोजले आफैँ रगतले लेखेको भोजपत्र प्रदान गरे । राजाले घिउको दीपको प्रकाशमा पत्र पढे । लेखिएको थियो ः
    मान्धाता शुभ नाम भूपति पनि संसार त्यागी गए । सेतु साधक रावणादि भूपका लीला समाप्तै भए । पाण्डु पुत्र युधिष्ठिरादि भूपको कीर्ति रह्यो केवल । राजा मुञ्ज सदैव जीवित रहून् यै भोजको प्रार्थना ।।३८।।
    भोजको रक्तलिखित पत्र पढेर राजा मुञ्ज भूमिमा पछारिए । रानी रुँदै पङ्खा हम्कन थालिन् । मुञ्जले रुँदै रानीलाई भने, “देवी ! म दाजुको विश्वासघाती, पुत्रघातीलाई स्पर्श नगर ।”
    रानीले तत्काल ब्राह्मण वर्ग डाक्न पठाइन् । ब्राह्मण वर्गसँग राजाले पुत्रबधको प्रायश्चित्तबारे प्रार्थना गरे । ब्राह्मण वर्गले प्रायश्चित्तका लागि तत्काल अग्नि प्रवेशको आज्ञा दिए । त्यसपछि ज्योतिषाचार्य बुद्धिसागरले मुञ्जलाई भने, “कस्तो दुर्भाग्य ! सिन्धुल महाराजको सहोदर, मुञ्जजस्तो अधम । त्यस्तै वत्सराज पनि मन्त्रीहरूमै अधम हो । राजाले भोजलाई पालना गर्न दिएको राज्यले तिमीलाई भष्म गर्दछ ।”
    मदरूपी मदिराले मात्तिएको दुरात्मा । प्रतिपल अपराधी बस्न सक्दैन सत्मा ।।३९।। तृण अलिकति जसले झार्दियो शिरबाट । उपकारी गुणी व्यक्ति दिन्छ भूमि सुवर्ण । मदरूपी मदिराले मात्तिएको दुरात्मा । माता, पिता, गुरु, पुत्रलाई मारेर खान्छ ।।४०।। उपकार अपकार बिर्सेर मासु खान्छ जो । इहलोक, परलोक शून्य पाषाण मूर्खको ।।४१।। परोपकारी वनका सूक्ष्म पल्लव अङ्कुर । परोपकारका लागि सय हजार वर्षमा ।।४२।। हिरण्य औषधी रत्न धनधान्य निरन्तर । प्रजाका लागि राजाले गर्नै पर्दछ अर्पण ।।४३।। धर्म प्राज्ञ हुँदा भूप प्रजाले मोक्ष पाउँछन् । राजा दुष्ट भएदेखि प्रजा नरक पर्दछन् ।।४४।। सफा शीतल पानीको सुविधा यत्रतत्र छ । सर्वत्र सुलभ शिक्षा किन चाहिन्छ रुपियाँ । गाउँगाउँ रमणीय कुटी निर्झरी यत्रतत्र । भिक्षाशिक्षा सुलभ सरल सम्पदा श्री निरर्थ ।।४५।।
    “महाराज, हाम्रो एउटा मात्र देश छैन । सारा भूमण्डल स्वतन्त्र रूपमा हामी भ्रमण गर्दछौँ । सारा जीवन यात्रा गुरुको उपदेश अनुसार सञ्चालन हुन्छ । सम्पूर्ण भूमण्डल आफ्नै हत्केलामा छ । सर्पदंश र विषव्याधिका रोगीहरूको हामी निःशुल्क उपचार गरिदिन्छौँ ।”
    योगीका यस्ता कुरा सुनेर राजाले कपालीलाई प्रणाम गरे, अनि बद्धाञ्जलि भएर प्रार्थना गरे, “हे योगेन्द्र, तपाईँ कल्याणकारी शिवजीजस्तै परोपकार परायण हुनुहुन्छ । मैले अञ्जानमा गरेको पुत्र हत्या क्षमा गरी पुनर्जीवित गराएर हाम्रो रक्षा गर्नुहोस् ।”
    कपाली योगीले भने, “राजन, चिन्ता गर्नुपर्दैन । अनजान भएको अपराध कल्याणकारी परमपिता महादेवद्वारा क्षमा हुनेछ र तपाईंको पुत्र सकुशल घर आउनेछ । तर श्मशान भूमिमा कोटिहोम गर्नुपर्दछ । तसर्थ त्यहाँ तत्काल होम सामग्री पठाउनुहोला ।”
    कपालीको आज्ञा अनुसार राजाले तत्काल सामग्री पठाउन हुकुम गरे ।
    उता मध्य रातमा भोजलाई नदी तटमा गुप्त रूपमा पु¥याइयो । योगीले भोजलाई बचाएको सर्वत्र प्रचार भयो । भोजको स्वागतमा सारा देशवासी विजययात्रा गर्दै आए । भोजलाई सालङ्कार गजारुढ गराएर स्वस्तिवाचन, गीत, नृत्यसाथै शङ्खादि वादन गर्दै राजभवन प्रवेश गराइयो । भोजलाई सिंहासनमा विराजमान गराई आलिङ्गन गराई राजा विलाप गर्न लागे । काका रोएपछि भोजले पनि आँसु रोक्न सकेनन् । राजाले श्वेत छत्रचमरले विभूषित गर्दै शास्त्रोक्त विधिले भोजको राज्याभिषेक महोत्सव गराए । आफ्ना सम्पूर्ण पुत्रहरूलाई एकएक मण्डलको अधिपति घोषणा गरे । परमप्रिय जयन्तलाई राज्य सुरक्षा सुम्पेर आफ्नी पटरानीसहित राजा तपोभूमि प्रस्थान गरे । भोज राजा भएर देवताको आशीर्वाद र ब्राह्मणको आज्ञाकृपाद्वारा राज्य गर्न लागे ।

    संस्कृत कसको मातृभाषा ?
    — मुकुन्दप्रसाद उपाध्याय

    राजनीतिक आग्रह–पूर्वाग्रह, दलीय स्वार्थ र बाध्यता एवं शक्तिराष्ट्रहरूको दीर्घकालीन रणनीति आदि कारणले राजनीतिक परिवर्तनमा सघाएको मुआब्जाबापत शदियौँदेखिको हिन्दूराष्ट्र नेपाल धर्मनिरपेक्ष राष्ट्रमा रूपान्तरण हुनु एउटा सन्दर्भ हो । नेपालको र छिमेकी राष्ट्र भारतको प्राचीन र मध्यकालीन इतिहासको तुलनात्मक अध्ययन गर्दा के देखिन्छ भने भारतलाई हिन्दूस्थान भनिए पनि इतिहासमा भारतीय वैदिक संस्कृतिलाई अन्य संस्कृतिहरूले अतिक्रमण र विस्थापन गरेको छ । तर नेपालमा त्यस्तो देखिादैन । उत्तरी मित्रराष्ट्र चीनको इतिहासमा पनि त्यस्तो देखिँदैन । अपितु राजनीतिक सत्ता परिवर्तनका घटनाहरू भने नभएका होइनन् । भारतमा हिन्दू संस्कृति, वैदिक संस्कृतिलाई मौर्यकालमै बौद्ध संस्कृतिले विस्थापित ग¥यो । माध्यमिक कालखण्डमा इस्लाम धर्म–संस्कृतिले विस्थापित ग¥यो भने पछिल्लो आधुनिक कालखण्डमा नै पनि अङ्ग्रेज शासनद्वारा इसाई संस्कृति हावी भयो । तर नेपालमा त्यस्तो भएन । पौराणिक कालदेखि आधुनिक कालखण्डसम्म हिन्दू धर्म–संस्कृतिकै निरन्तरता र वर्चश्व रह्यो । सायद यही कारणले पनि होला पछिल्लो राष्ट्रिय जनगणना २०६९ सालसम्म आइपुग्दा धार्मिक रूपमा १० थरि धर्म मान्ने जनताहरू देखिए पनि हिन्दूहरू ८१.३ प्रतिशत, बौद्धहरू ९ प्रतिशत, इस्लामहरू ४ प्रतिशत, किरातहरू ४ प्रतिशत, इसाईहरू ३ प्रतिशत र अन्य प्राकृतकि धर्म मान्नेहरू क्रमशः १.४ प्रतिशत र ०.४ प्रतिशत देखिए ।
    यस अर्थमा वैदिक ॐकार परिवारभित्र ९४.३ प्रतिशत जनसङ्ख्या रहेछ । यी ९४ प्रतिशतको धर्म–संस्कृतिको मूल स्रोत र आधार वैदिक साहित्य हो । वैदिक साहित्यभित्र वेद, उपनिषद्, संहिताहरू, स्मृतिहरू, १८ पुराण, १८ उपपुराण, रामायण, महाभारत आदि महाकाव्य आदि पर्दछन् । यी सबै वैदिक साहित्यको भाषा संस्कृत भाषा हो । हाम्रो वैदिक साहित्य मूलतः ब्राह्मी÷देवनागरी लिपि एवं पाणिनि व्याकरणमा आधारित छ । अर्कातिर २०६८ सालकै जनगणनाको नतिजा हेर्दा नेपालमा १२५ वटा जातजातिहरू देखिएका छन् भने मातृभाषी सङ्ख्या १२३ वटा छन् । तर कुनै पनि जाति, जनजातिको मातृभाषा संस्कृतचाहिँ छैन । आखिर किन छैन त ? यो अहम्, गम्भीर, यक्ष प्रश्न हो हामी सबैका लागि । भाषिक विभाजनमा नेपाली भाषा बोल्ने ४४.६ प्रतिशत, मैथिली भाषा बोल्ने ११.७ प्रतिशत, भोजपुरी भाषा बोल्ने ६ प्रतिशत, थारू भाषा बोल्ने ५.८ प्रतिशत, तामाङ भाषा बोल्ने ५.१ प्रतिशत र नेवारी भाषी ३.२ प्रतिशत रहेका छन् । तर संस्कृत मातृभाषा हुने जाति नेपालमा देखिएन भने भारतमा पनि संस्कृत मातृभाषी देखिँदैनन् । संस्कृत पढ्नु–पढाउनु, गुरुकुलहरू हुनु, संस्कृतका प्रा. डा. हरू हुनु, विदेशी विश्वविद्यालयहरूमा समेत संस्कृत भाषाको अध्यापन र अनुसन्धान हुनु बेग्लै पक्ष हो ।
    यस्तो सनातन मानिने वैदिक धर्म–संस्कृतिको भाषा संस्कृत मातृभाषा नहुनु थप गहन अध्ययन र अनुसन्धानको विषय होइन र ? नेपाल र भारतका जातजातिहरूको गोत्र र प्रवरको अध्ययन गर्दा प्रायः सबै गोत्र–प्रवरहरू वैदिक ऋषिमुनिहरू नै छन् । ती द्रष्टा–स्रष्टा ऋषिमुनिहरूको भाषा मातृपितृभाषा पनि संस्कृत नै थियो भने इतिहासको कुन कालखण्डमा आएर ती संस्कृत मातृभाषीहरू अन्य भाषाभाषी भए ? किन र कसरी भए त ? भन्ने कुरामा थप गहन अध्ययन–अनुसन्धान जरुरी देखिन्छ । हाम्रो देशमा त झन् दोस्रो पुरानो विश्वविद्यालय नै संस्कृत विश्वविद्यालय छ । त्यो विश्वविद्यालयका प्राज्ञहरूका लागि पनि यो अनुसन्धानको विषय हो । शक्तिको आडमा राजनीतिक परिवर्तनपछि भाषा–व्याकरणमा पनि परिवर्तन गराइन्छ भन्ने कुराको उदाहरण २०६२–६३ पछिको नेपालमा पनि देख्न पाइएको छ । सरलीकरणको नाउँमा युनिकोडका कारण व्याकरणमाथि हेलचेक्य्राइँ भएको पनि देखिएकै छ । यी तथ्यहरू अनुसन्धानका लागि सहायक हुन सक्छन् ।
    यो सन्दर्भ र जिज्ञासा धार्मिक क्षेत्रका पण्डित, सन्त–महन्तहरूसँग राख्ता एकथरिको धारणा यस्तो छ । संस्कृत भाषा देवभाषा हो, देवताहरूको भाषा भएकाले, वेदको वाणी भएकाले कलियुगी मनुवाहरूको मातृभाषा हुने कुरै भएन अरे । एक छिनका लागि त्यो भनाइलाई सत्य मानिहाल्दा पनि के प्रश्न उठ्छ भने सृष्टिकर्ता ब्रह्माजीका प्राकृत र वैकृत सृष्टि गरी जम्मा दस प्रकारका सृष्टिमा दसौँ सृष्टि देवसृष्टिभित्र इन्द्र आदि देवगण, पितृगण, असुर, यक्ष, गन्धर्व, अप्सरा, राक्षस, सिद्ध, चारण, विद्याधर, भूत–प्रेत–पिशाच, किन्नर आदि सबै पर्दछन् भने के यी सबैको भाषा संस्कृत नै थियो त ? यो पनि थप अनुसन्धानको विषय हो ।
    एउटा कुराचाहिँ सबैले स्वीकार गरिसके कि सर्वप्राचीन लिपि ब्राह्मी लिपि र सर्वप्राचीन भाषा संस्कृत हो र सर्वप्राचीन ग्रन्थ संस्कृतमा लेखिएको वेद नै हो । अनि अङ्ग्रेजी आदि अन्य भाषाका व्याकरणहरूको मूल स्रोत पनि संस्कृत व्याकरण नै हो । पौराणिक कालदेखि लिपि र कागजको आविष्कारपूर्व पनि प्राचीन गुरुकुलहरूमा श्रुति, स्मृति पद्धतिद्वारा वेदका ऋचाहरू पढाइन्थ्यो, पुस्तान्तरण हुन्थ्यो । पौराणिक कालदेखि आजपर्यन्त भारतवर्षमा गुरुकुलीय पद्धतिमा संस्कृत भाषा, साहित्य, व्याकरण आदि अध्यापन हुन्छ नै । अनि संस्कृतका विद्वान्हरूले संस्कृत भाषाका काव्य, महाकाव्य, नाटक आदि लेखेका अद्यापि छँदै छन् । भनेपछि संस्कृत भाषा–साहित्य अटुट रूपमा पौराणिक कालदेखि आजसम्म रहनु तर संस्कृत मातृभाषा वर्तमानमा कुनै पनि जाति, जनजातिहरूको नहुनु त झनै आश्चर्यको विषय भएन र ?
    त्यसैले नेपाल र भारतमा कहिलेदेखि र कुन–कुन कारणले संस्कृत भाषा मातृभाषा हुन छाड्यो भन्ने विषयमा नेपाल र भातका पुराना विश्वविद्यालयहरू, खास गरी संस्कृत विश्वविद्यालयहरूमा व्यापक अनुसन्धान हुनु जरुरी देखिन्छ ।

    युद्धले स्वाहा बनाएको ठाउँ हेर्दै
    — पोष चापागाईं

    ऊ अर्थात् गाइड भन्दैछ । हामी सुन्दैछौँ ।
    “अहिले हामी घुमिरहेको ठाउँमा युद्ध भएको बेला विशाल वन थियो । कतै कोही नदेखिने बाक्लो वन । यस ठाउँमा पचासौँ वर्ष अमेरिकी सेनाले बम र बारुद फाल्दा–फाल्दा अनन्त मान्छे स्वाहा भए । मान्छेसँगै त्यति ठूलो वन पनि सकियो । पुच्छर लुकाएर अमेरिकीहरू आफ्नो देशतिर भागेपछि हाम्रो देशले विकासको थालनी ग¥यो । होबाको दूरदर्शी योजनाअनुसार बम र बारुदले डढेर खरानी भएका ठाउँमा पूर्ववत वृक्षारोपण गरियो । अहिले हामीले हेरेको, डुलेको वन नयाँ हो । आज यहाँका रूखपात, चराचुरुङ्गी, मान्छे सबै प्रसन्न छन् ।”
    मैले सोधेँ — “माथि डाँडामा पोथ्रा रूख मात्रै छन् नि ?”
    उसले भन्यो — “हो, त्यो डाँडावरिपरि पनि साह«ै बाक्लो वन थियो । दुःखद युद्धकालमा शत्रुहरूले त्यहाँ यति धेरै बम र बारुद खसाले कि सम्पूर्ण वन विनाश भयो । युद्धान्तपछि त्यो डाँडालाई हराभरा बनाउन सरकारले धेरै प्रयास ग¥यो, सकेन । त्यहाँको रूखका जरा र धर्तीभित्रको माटो पनि डढेर स्वाहा भएछ बम र बारुदले । त्यसैले त्यो डाँडो नाङ्गै छ ।”
    “अनि भन्नुस् त यहाँका टनेल कति गहिरा छन् ?”
    “राम्रो प्रश्न । यहाँका टनेललाई तीन तहमा छुट्याइएको छ । तीनफिटे, छफिटे र दसफिटे टनेल । युद्धको बेला आवश्यकताअनुसार हाम्रो देशका वीर जवानहरूलाई ती सुरुङभित्र राखिन्थ्यो । लुक्न र आक्रमण गर्न बनाएका टनेलहरू । शत्रुले थाहा पाएर पनि टनेलभित्र पस्ने आँट गर्दैनथे । के छ, के छ भित्र । टनेलमाथि आएर, चढेर, सुँघेर, हेरेर पनि अमेरिकी कुकुरहरू फनक्क फर्किन्थे । यी टनेलहरू पूर्वयोजनाअनुसार बनाइएका होइनन् । युद्धकालमा शत्रुसँग जुन बेला जसरी लड्नुप¥यो, सोही बेला मौकाअनुसार तत्काल खनेर बनाइएका हुन् ।
    सैनिकको प्राण रक्षा गर्ने टनेलहरू !
    यस्ता टनेल यहाँ धेरै छन् । युद्धको बेला आवश्यकताअनुसार खनेका टनेलहरू यहाँ मात्रै छ्रैनन् । जुन ठाउँमा जहिले युद्ध भयो, सो ठाउँमा समय र परिस्थितिअनुसार टनेल खनेर योद्धाहरूले आफ्नो र देशको सुरक्षा गरे । अमेरिकालाई हराउन हाम्रो रणकौशल र टनेल फर्मुलाले अहम् भूमिका खेलेको थियो ।
    भियतनामलाई अमेरिकी बाघको मुखबाट बचाउने अनि ती बाघहरूलाई हराएर भगाउने, लखेट्ने टनेलहरू !
    सुन्दासुन्दा कताकता आनन्दको मधुर सङ्गीत झङ्कृत भएको अनुभूति भयो यो दिङ्लालीलाई ।
    ‘यस्तै हो । हेर्ने त धेरै कुरा छन् लडाइँका । दिनभरि हेरे पनि सकिन्न । फर्काैं ।’ यसो भन्यो गाइडले । सबैले ‘हुन्छ’ भने ।
    हुन्छ । हुन्न । कोही नभने पनि म अरूसँगै फर्किदैछु । फर्किदा बाटामा रूखको फेदमा बसेर दुईवटी अधबैंसे नारीहरू हाम्रो तरुल वा गिठ्ठा–भ्याकुरजस्ता अनौठा फल बेच्तै थिए ।
    ऊ रोकियो । हामी उभियौँ । अहिले त्यो फल किनेर खाँदैछौँ । हामी खाँदैछौँ । ऊ फलाक्तैछ ।
    “यो टनेल युद्धको इतिहास हो । हो ची मिन्हको वीरगाथा हो । भियतनामको सान हो, जसले अमेरिकालाई युद्धमा हरायो । भगायो ।”
    फेरि हिँड्न थाल्यौँ । बाटोमा तीनवटा घर देखेँ । हामी अहिले भित्र पस्ताको होइन, फर्किने अर्कै बाटोबाट हिँड्दैछौँ । ती घरमा क्युरियोका समान भन्नुभन्दा पनि युद्धकथा बोकेका सामानहरू देखेँ । हतियार, बम, बारुद, सिपाहीका लुगा । यस्तै–यस्तै ।
    ‘च्यातिएका लुगा लगाएर च्यातिएको मन भएको भियतनाम । कति चाँडै, कति धेरै प्रगति गरेको । रोपेको रूख हलक्क बढेजस्तै भियतनाम हलक्कै बढ्छ होला ।’ यसो भन्यो त्यति बेला मेरो मनले ।
    चिटिक्कको गेटबाट बाहिर निस्कियौँ । सुनसान छ रोडमा । रोडनजिकै भाँचिएका, कुच्चिएका गाडी देखिन्छन् । हतियार देखिन्छन् युद्धका । वातावरणले भन्छ — यहाँ विशाल युद्ध भएको हुनुपर्छ । कौरव–पाण्डवको युद्धभूमि कुरुक्षेत्र होइन यो । यो त हो अमेरिका र भियतनामको युद्धस्थल । चु ची टनेल क्षेत्र ।
    डढेर कालो भएका नाङ्गा डाँडाहरू हामीतिर हेर्दै थिए, हामी कारभित्र पस्यौँ ।

    एउटा छोड्दै अर्कोमा जाँदै
    — ध्रुव कुँवर

    यस धर्तीका सबै चीजहरू गतिशील र नाशवान् छन् । वेलावेला आपसमा टकराउँछन् र आफ्नो मतिअनुसारको परिणति भोग्छन् । समय वलवान छ । सबै कुराको फैसला समयले गर्छ । कतिपयले आफूलाई समयभन्दा वलवान् र चतुर भएको देखाउने कष्ट गर्छन् । त्यसैबाट विकृतिको पहाड निर्माण हुन्छ । अनि हामी भुल्न थाल्छौँ भौतिक शरीर नाशवान् छ र यो कुनै पनि बेला नाश हुन्छ । मृत्यु सत्य कुरा हो । कसैलाई अनिश्चित कालसम्म बचाइराख्न सम्भव छैन । शास्त्रहरू भन्छन् आत्मा अजर–अमर हुन्छ । किनकि यो नाशवान् छैन । यो पुनर्जन्म चक्र लीलामा समाहित हुँदै जान्छ ।
    आत्माहरू धेरै प्रकारका हुन्छन् । कुल अर्थात् धर्मको अनुसरण गर्ने आत्मा शरीरमा छ भने मानिसले साँचो वा झुटो के हो भनेर छुट्याउँछ । समाजलाई बताउँछ । सत्मार्गमा हिँड्न प्रयास गर्छ । यो समूहमा चार प्रकारका आत्माहरू रहन्छन् जसले समाजलाई राम्रो बाटोमा डो¥याउन कोसिस गर्छन् ।
    अर्को प्रकारको आत्मा हुन्छ प्रेतात्मा । यस प्रकारको आत्मा भएका मानिसहरू अरूलाई परेसानी गर्ने, झुटोको सहारा लिने, अरूलाई दुःख दिएर फाइदा लिने, असत्यलाई सत्य बनाउन खोज्ने, गलत कर्मलाई सही ठान्ने । यो समूहमा पनि चार प्रकारका आत्मा रहेका हुन्छन् । यसले समाजमा विखण्डन निम्त्याउने, द्वन्द्व चर्काउने, मतिभ्रष्ट गराउने काम गरिरहेको हुन्छ । पृथ्वीलोकको स्वर्ग मानिने अमेरिकामा आएर पनि हामी प्रेतात्माको बाटोमा हिँड्न खोज्दैछौँ । कुनै न कुनै बहानामा परेसान आत्माहरूको वदमासीलाई चोख्याउने प्रयास गरिरहेका छौँ ।
    नराम्रो अर्थात् नरकतर्फ धकेल्ने आत्मालाई बढुवा गर्ने हाम्रो मति हो समाजलाई दुर्गन्धित र तहसनहस बनाउने । हामी जानी–नजानी प्रेतात्माहरुलाई मलजल गर्दैर्छौ । थप प्रेतात्माहरु जन्माउन खोज्दैछौँ । पुनर्जन्ममा विश्वास गर्नेहरु प्रेतात्माले कहिल्यै मुक्ति पाउन नसक्ने विश्वास गर्छन् । अपराधको भारीले यसै जुनीमा उसको शरीर किचिन्छ । रोग–ब्याधि, दुख–पिडा र सकस भोग्दै मृत्यु वरण गर्छ । मरेपछि पनि आत्माले मुक्ति पाउँदैन ।
    सबैलाई थाहा छ आत्मालाई हाम्रो खुला आँखाले देख्न सकिन्न । त्यसैले खराब आत्माहरूको आयतन मापन गर्ने कुनै भौतिक सामग्री बन्नै सक्दैन । खराब आत्माको आयतन मापन गर्न सक्ने हो भने यसको खराब परिणाम आउन नदिने भौतिक उपायको पनि खोजी गर्न सकिने थियो । तर भौतिक विज्ञानको उच्चतम विकास र वैज्ञानिकहरूको अनुसन्धानले औँल्याएका सम्भाव्य आयामभन्दा यो धेरै परको कुरा भएकाले यसलाई भौतिक दुनियाँमा देखाउन सहज छैन । तर वैज्ञानिकहरू आत्माको खोजीमा जुटेका जुट्यै छन् ।
    मानिस जन्मन्छ । बुढो हुन्छ । मृत्यु हुन्छ । यो सबै देखिन्छ तर आत्मालाई महसुस गर्न सक्ने मात्र हो । आत्माले हाम्रो भौतिक शरीरमा परिवर्तन गराउँदै अन्ततः आफू बुढो नभई वाहिरिन्छ । आधुनिक जमानामा यो कुरामा विश्वास गर्नेले अपराध गर्न डराउँछ । तर धेरैले यी कुरामा विश्वास गर्दैनन् । त्यसैले अपराध गर्न उद्धत भइरहेका हुन्छन् ।
    हामी कपडा पुरानो भएपछि परिवर्तन गरी नयाँ कपडा लगाउँछौँ । आत्माले पनि प्राणीको भौतिक शरीर निश्चित समयपछि त्याग गर्दछ र नयाँ जन्म लिँदै गरेको प्राणीमा प्रवेश गर्न पुग्छ । यो शाश्वत सत्यलाई हामी सबैले स्वीकार गर्न नसके पनि सत्य यही हो । जसरी एउटा बालकलाई आमाले यो तेरो बाबु हो भनेर चिनाउछिन र बालकले स्वीकार गर्दछ, त्यसै गरी यसको सत्यतालाई हाम्रा शास्त्रहरूले बताएअनुसार हामीले स्वीकार गर्नुपर्दछ । किनकि योभन्दा माथि यसलाई प्रमाणित गर्ने कुनै आधिकारिक माध्यम छैन । आत्माको उपस्थितिलाई बुझ्न महापुरुसहरुसंगको सङ्गत र विभिन्न धर्मग्रन्थ पढ्नुबाहेक अर्को स्रोत छैन ।
    कोही मानिस मर्दा वा हाम्रा आफन्तहरूले देह त्याग गर्दा हामीलाई निकै दुःख लाग्छ । तर उ मरेको होइन उसको भौतिक शरीरलाई आत्माले छोडेर अर्को जीवमा प्रवेश गरेको हो । यो पृथ्वीलोकमा प्रत्येक मिनेट १ सय ५ मानिसको भौतिक शरीर आत्माले त्याग गरिरहेको हुन्छ र एक मिनेटमा २ सय ५० नयाँ मानवजन्ममा आत्मा प्रवेश गरिसकेको हुन्छ ।
    संसारमा अहिले दुई प्रकारका मानिसहरू छन् अध्यात्मवादी र भौतिकवादी । भौतिकबादीहरुलाई अध्यात्मबादीहरु नास्तिक भन्दछन् । यी दुवै वादीहरूका कुरा मान्ने हो भने हामी मानिसको मृत्युमा शोक गर्नुपर्ने कारण देखिन्न । किनकि भौतिक संसारमा मानिसहरूले बनाएका ठुलाठुला भौतिक संरचनाहरू केही समयको लागि अस्तित्वमा रहन्छन्, केही समयपछि त्यसलाई ढलाइन्छ र त्यो प्रकृतिमै लिन हुन्छ । मानिसको शारीरलाई पनि भौतिक मान्नुपर्छ जो निश्चित समयावधिसम्मको लागि मात्र काम लाग्ने हुन्छ ।
    अध्यात्मलाई मान्ने हो भने जीवहरूको चोला मानिसले लगाउने कपडासँग तुलना गरिन्छ जसलाई मानिसले निश्चित समयमा परिवर्तन गर्दछन् । त्यसैले हामीले आत्माको अस्तित्वलाई स्वीकार गर्रौ वा नगरौँ, दुवै परिस्थितिमा भौतिक जीवनलीला समाप्त हुँदा शोक गर्नुपर्ने कारण छैन । जीबात्मा अजर अमर छ । त्यसैले अर्को जीवमा गएर जन्म लिन्छ जसलाई हामी पुनर्जन्म भन्ने गर्दछौ । प्राणीको शरीर नाशवान छ तर आत्मा अबिनासी छ । राम्रो कर्म गर्ने मानिसको आत्मा सधैँ राम्रै गर्ने जीवहरूमा सर्दै जान्छ । प्रेतात्मा पुनर्जन्ममा पनि नराम्रो ठाउँमा प्रवेश गर्न पुग्छ । यो जन्ममा राम्रो कर्म गर्ने प्रयास गरौँ । मरेपछि आत्माले शान्ति पाउँछ । (बीआरटी नेपाल)

    बिर्सिएका कथाकार दलभञ्जन कार्की
    — ओतबहादुर खड्का

    कुरा २०१४–१५ सालतिरको हो । त्यस बेला दलभञ्जन कार्की देवानी पहिलो फाँटको विचारी पदमा बहाल हुनुहुन्थ्यो । त्यस बेला म पनि वन विभागमा बहिदार पदमा जागिरे भइसकेको थिएँ । दलभञ्जन दाइको घर काठमाडौँको डिल्लीबजारमा थियो । पनौतीको घरमा बाबुआमा मात्र बस्थे ।
    दलभञ्जन दाइ अफिसको काम सकी घर फर्केपछि आफ्नो कोठामा गएर कापी–कलम झिकी लेख्न बसिहाल्नुहुन्थ्यो । म पनि अफिसबाट आफ्नो डेरामा नगई सरासर उहाँकै घरमा आउँथेँ । त्यहाँ आएपछि मैले पनि खाजा खान पाउँदथेँ । दलभञ्जन दाइ मेरा मामाका छोरा हुनुहुन्थ्यो । उहाँका साथी कृष्णप्रसाद पराजुली हुनुहुन्थ्यो । उहाँहरू दुईजनाको खुबै मिल्ती थियो । कृष्णप्रसाद गुरु पनि डिल्लीबजारमै अड्डा जाँच भन्ने अदालतमा मुखिया पदमा बहाल हुनुहुन्थ्यो । त्यसैले अड्डा छुट्नेबित्तिकै दुवैजना दलभञ्जन दाइकै घरमा आउनुहुन्थ्यो । खाजा खाँदा दुवैजनाका कुरा हुने गर्थे । कृष्णप्रसाद पराजुली गुरु भन्नुहुन्थ्यो — “विचारी काजी ! हामीले जागिर खाएर मात्र काठमाडौँमा बस्नु हुँदैन । आफ्नो जिन्दगीलाई चिनाउने कुनै कामहरू गर्नुपर्दछ । जागिरको परिचय जागिर भएसम्म हो ।”
    मचाहिँ कुरा सुनेर मात्र बस्थेँ ।
    त्यसैले होला विचारी दाइ दलभञ्जन अड्डाबाट छुटेर घर आयो कि कोठाभित्र पसेर कलम–कापी झिकेर लेख्न सुरु गरिहाल्नुहुन्थ्यो । केही महिनापछि २०१६ सालमा उहाँले एउटा कथासङ्ग्रह ‘मामाघर’ तयार गरी प्रकाशनमा ल्याउनुभयो । त्यसमा उहाँले कसैको पनि भूमिका लेखाई छपाउनुभएन । आफैँले लेख्नुभयो, आफैँले छपाउनुभयो, आफैँले वितरण गर्नुभयो । त्यसैले होला ‘मामाघर’ ले चर्चा पाउन सकेन । अचेलको जस्तो तामझाम गरी किताब सार्वजनिक गरिएको भए, राम्रा नाम चलेका साहित्यकारद्वारा भूमिका लेखाई सार्वजनिक गरिएको भए दलभञ्जन कार्कीको ‘मामाघर’ कथासङ्ग्रह पनि राम्रो कथाकृतिका रूपमा उभिन सक्ने थियो कि ? लेखकले त्यस बेला धनी र गरिबको कथा–व्यथालाई देखाउन खोज्नुभएको थियो किताबमा ।
    उहाँको पिताको नाम देवीबहादुर कार्की । उहाँका दुई श्रीमतीमध्ये कान्छी श्रीमतीपट्टिका एक्लो सन्तान हुनुहुन्थ्यो दलभञ्जन । उहाँको बाल्यकाल राम्रैसँग बित्यो । उहाँले नेपाली मध्यमा परीक्षा र नेपाली भाषा परिषद्बाट सञ्चालित नेपाली प्रवेशिकासमेत पास गर्नुभएको थियो ।
    उहाँका पनि दुइटी श्रीमती हुनुहुन्थ्यो । उहाँकी जेठी श्रीमतीबाट सन्तान नहुने निश्चय गरिएपछि कान्छी श्रीमती विवाह गरी कान्छी श्रीमतीबाट उहाँका दुईवटा छोरा र एउटी छोरी छन् । जेठा छोराको नाम श्याम कार्की र कान्छा छोराको नाम लव कार्की हो । हाल जेठा श्याम अमेरिकामा र कान्छा लव लन्डनमा बसोबास गरिरहेका छन् । पनौती र काठमाडौँको घरजेथा आमाले हेर्दै बस्नुभएको छ । हाल ‘मामाघर’ का लेखक दलभञ्जन कार्की र उहाँकी जेठी श्रीमतीको मृत्यु भइसकेको छ ।
    यहाँ मैले यसरी लेख्नुको कारण हरि मञ्जुश्रीको धेरै पटकको आग्रह मान्नुका साथै समाजसुधारका लागि लेख्ने लेखकलाई हामीले भुल्नु हुँदैन भन्नु पनि हो ।

    धेरै ठाउँमा आगलागी

    मकवानपुरको इन्द्रसरोवर गाउँपालिका — २ सुलीकोट बस्ने मिलन वाइवाको किराना पसल भएको घरमा बिजुलीको तार सर्ट भई आगलागी हुँदा घर र पसल पूर्ण रुपमा नष्ट भई करीव १० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
    धनुषाको कमला नगरपालिका — ३ मुसहरी टोल बस्ने रामगणेश सदाको २ वटा कच्ची घरमा विद्युत सर्ट भई आगलागी हुँदा अन्नपात, लत्ताकपडा, नगद ७० हजार र दुवै घरसमेत जलेर करीव ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
    ताप्लेजुङको फुङलिङ नगरपालिका — ५ बाजगरा बस्ने लली गुरुङको घरमा आगलागी हुँदा घर, भाँडावर्तन लत्ताकपडा, अन्नपात गरी करीव ९ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।
    कास्कीको पोखरा लेखनाथ महानगरपालिका — २६ बिजयपुरस्थित चन्द्रा परियारको गोठमा आगलागी हुँदा ३ सय ६० भारी पराल र टौवाको काठपात समेत जलेर करीव ३ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
    बाराको कलैया उपमहानगरपालिका — २१ भोडाहास्थित उपेन्द्र चौधरीको घरमा आगलागी हुँदा घर जलेर नष्ट भई करीव २० लाख रूपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
    सर्लाहीको बरहथवा नगरपालिका — ६ बरहथवा बजारस्थित संजय साहको ओम साई ट्रेडर्स किचेन हाउसमा बिजुली सर्ट भई आगलागी हुँदा किचेनका सामानहरु, साईकलका सामानहरु जनरे करीव १५ लाख रुपैयाँ बरावरको धनमाल क्षति भएको छ ।
    पर्साको बीरगंज महानगरपालिका — २१ परवानपुरस्थित राजहंस मैदा मिल र गोदाममा आगलागी हुँदा मिलभित्र रहेको गहुँ र अन्य सामानहरु जलेर करीव ५० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

    चट्याङले दुईजनाको मृत्यु

    सुनसरीको दुहबी नगरपालिका — ११ तनमुन्ना बस्ने १८ वर्षीय रोशनकुमार ऋषिदेव पिपलको रुखमुनी बसिरहेको अबस्थामा अचानक चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको छ । सोही ठाउँ बस्ने २५ वर्षीय मिठू मण्डल गम्भीर घाइते भएकोले उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएको छ ।
    पाँचथरको फिदिम नगरपालिका — ११ धुसेनी बस्ने कुमकरण राईको घरमा चट्याङ पर्दा उनकी श्रीमती ४७ वर्षीया कल्पना राई र छोरी २१ वर्षीया हेमकुमारी राई घाइते भएपछि उपचारको लागि जिल्ला अस्पताल फिदिम लगिएकोमा उपचारको क्रममा हेमकुमारीको मृत्यु भएको छ । कल्पनाको अवस्था सामान्य रहेको छ ।

    करेन्ट लागेर दुईजना मरे

    काभ्रेको पनौती नगरपालिका — १२ कलाती भूमिडाँडा बस्ने ५२ वर्षीय क्षेत्रबहादुर गुरुङको आफ्नै घरमा वायरिङ गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।
    उदयपुरको कटारी नगरपालिका — २ खोक्सास्थित उदयपुर–सिन्धुली जोडने तावाखोलामा लुम्बिनी शान्तिदेवी कन्स्ट्रक्सन कम्पनीले निर्माण गरिरहेको पुलको पिलर नजिक जमेको पानी मोटरले तान्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका सोही कम्पनीमा काम गर्ने बर्दिया बारबर्दिया नगरपालिका — ७ सोलपुर बस्ने १९ वर्षीय सुचिप चौधरीको हेम्स पोलिक्लिनिक दुधौली सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको छ ।

    मर्नेहरू ११ जना पुगे

    काठमाडौंको टोखा नगरपालिका — ४ धापासी डेरा गरी बस्ने कपिलबस्तु तौलिहवाकी ३५ वर्षीया वविता श्रीमतको कोठामा कतारबाट आई बसेका उनकै भाई २१ वर्षीय युवराज भरत सुनार सुतेकै बिस्तारामा मृत अबस्थामा फेला परेका छन् ।
    काठमाडौं तारकेश्वर नगरपालिका — ११ नेपालटार बस्ने ५० वर्षीय सानुवाबु महर्जन आफ्नै घरको कोठामा सुतिरहेको अबस्थामा मृत फेला परेका छन् ।
    काठमाडौं महानगरपालिका — ३१ बानेश्वर सुकुम्बासी बस्तीस्थित भवानी सापकोटाको टहराको कोठामा बस्ने सिराहाका ३५ वर्षीय दिलिप यादवको ताला लगाएको बन्द कोठामा सुकुम्बासी बस्ती बस्ने सप्तरी मोहनियाका बिमला सरदारका नातीद्वय ६ वर्षीय सुजल सरदार र ८ वर्षीय सुशिल सरदारको शव सडेगलेको अवस्थामा फेला परेको छ । कोठाधनी दिलिप यादव सम्पर्क विहिन रहेकोले खोजी कार्य भइरहेको छ ।
    कास्कीको पोखरा लेखनाथ महानगरपालिका — १३ स्थित दुई कुलाको मुहानमा पोखरा सिग्देल टोल बस्ने मादी गाउँपालिका — ४ ताङतिङका १९ वर्षीय कुमार नेपाली र हाल नाम, थर, वतन नखुलेका करीव ४० वर्षीय मानिसको शव फेला परेको छ ।
    मोरङको सुनवर्सी नगरपालिका — ८ सिक्टी कुडेलीमा सोही नगरपालिका — ६ बस्ने ७० वर्षीय डोमा ठाकुर मृत अवस्थामा फेला परेका छन् ।
    सल्यानको कुमाखमालिका गाउँपालिका — १ बस्ने हिमलाल बुढाथोकीको छोरी १२ वर्षीया अनिता बुढाथोकी बैशाख ५ गतेदेखि घरबाट हराई बेपत्ता भएकोमा खोजी गर्ने क्रममा धानटाकुरास्थित पानीको कुलोमा मृत अबस्थामा फेला परेकी छन् । उनको मानसिक सन्तुलन ठिक नभएको वताइएको छ ।
    सिन्धुलीको दुधौली नगरपालिका — ६ स्थित बाटोमा सोही नगरपालिका — ४ बस्ने ४० वर्षीय काले भन्ने दिपेन्द्र दाहाल मृत अवस्था फेला परेका छन् ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका — ४ दोधरास्थित पल्टु पाण्डेको छाप्रोमा हाल नाम, थर, वतन नखुलेका करीव ५५ वर्षीय पुरुष मृत अबस्थामा फेला परेका छन् ।
    मोरङको उर्लाबारी नगरपालिका — ६ हाटखोलास्थित सडक पेटीमा बेहोस अवस्थामा फेला परेका सोही नगरपालिका — ५ झुम्राहा बस्ने ५१ वर्षीय सोमबहादुर बिश्वकर्माको मंगलबारे अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

    चार लाख हरायो

    काठमाडौं महानगरपालिका — ११ बबरमहल समिति मार्ग्स्थित गोबिन्द खरेलको घरको माथिल्लो तलाको पूजाकोठाको ढोका फोडेर स्टिलको दराजमा राखेको नगद ४ लाख रूपैयाँ चोरी भएको छ । बैशाख ९ गतेदेखि उक्त घरमा कोही नभएको र शुक्रबार कोठा खोली हेर्दा नगद चोरी भएको पाइएको बताइएको छ ।

    अस्पताल जाँदाजाँदै

    बरेङ गाउँपालिका — ३ खाल्डे बस्ने ३० वर्षीय यमबहादुर सार्कीको छिमेकीको कुटपिटबाट मृत्यु भएको छ । सोही ठाउँ बस्ने ४० वर्षीया सुमित्रा सार्की र उनकै छोरा १९ वर्षीय अर्जुन सार्कीबीच घरायसी बिषयलाई लिएर झैझगडा भइरहेको अवस्थामा मादक पदार्थ सेवन गरेका यमबहादुर झगडा मिलाउन गएकोमा आमाछोरा मिलेर कुटपिट गर्दा घाइते भएका यमबहादुरको उपचारको लागि मिसन अस्पताल पाल्पातर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

    जबर्जस्ती करणी

    काठमाडौं महानगरपालिका — १७ ढल्कु बस्ने रामेछापकी १८ वर्षीया महिलालाई आफ्नै डेराकोठामा जबरजस्ती करणी उद्योग गरेको अभियोगमा काठमाडौं महानगरपालिका — १७ धोवीचौर डेरा गरी बस्ने दोलखा शैलुङ्गेश्वरी गाउँपालिका — ४ का २२ वर्षीय सागर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
    बाँकेको बैजनाथ गाउँपालिका — ४ नेउलापुर बस्ने ५५ वर्षीया महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ६५ वर्षीय बिहारी थारुलाई प्रहरीले पक्राउ गरेको छ ।
    यसै गरी आफ्नै १५ वर्षीया बालिका छोरीलाई समय–समयमा जवरजस्ती करणी गर्ने गरेको अभियोगमा बाँके कोहलपुर नगरपालिका — ८ शितलनगर बस्ने ४० वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
    धनुषाको क्षिरेश्वरनाथ नगरपालिका — ५ दुधमती टोल बस्ने २५ वर्षीया महिलालाई आफ्नै घरमा सुतीरहेको अवस्थामा जवरजस्ती करणी गरेको अभियोगमा धनुषा लक्ष्मीनिया गाउँपालिका — ३ गजडीया टोल बस्ने ५० वर्षीय तेतर राउतलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

    रूबी, चरेस र गाँजा पक्राउ

    काठमाडौंको चन्द्रागिरी नगरपालिका — २ स्थित नागढुंगा चेकपोष्टमा सवारी साधन जाँच गर्ने क्रममा धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा. ४ ख ५८४६ नम्बरको माइक्रोमा सवार धादिङ निलकण्ठ नगरपालिका — ४ का २१ वर्षीय सुर्य तामाङलाई अवैध रुपमा साथमा ल्याएको ४ सय ६२ ग्राम रूवी धातु सहित प्रहरीले पक्राउ गरेको छ ।
    काठमाडौं महानगरपालिका — २६ ठमेलस्थित जष्ट जुस सेख क्याफेबाट मोरङ बेलवारी नगरपालिका — ८ का २७ वर्षीय सरोज थापा, चितवन भण्डारा नगरपालिका — ८ का २२ वर्षीय रिगम श्रेष्ठ र ललितपुर गोदावारी नगरपालिका — ३ बस्ने २७ वर्षीय आकाश तामाङलाई लागूऔषाध चरेश करीव १ सय ७० ग्राम सहित प्रहरीले पक्राउ गरेको छ ।
    यसै गरी काठमाडौं चन्द्रागिरी नगरपालिका — २ नागढुंगा चेकपोष्टमा सवारी साधन जाँच गर्ने क्रममा लम्जुङबाट काठमाडौं आउँदै गरेको बा. १७ च ३१५४ नम्बरको कारमा सवार ललितपुर — १४ थसीखेल बस्ने ५० वर्षीय गौतम सुब्बालाई झोलामा लुकाई छिपाई राखेको ७ सय ग्राम लागूऔषध गाँजा सहित प्रहरीले पक्राउ गरेको छ ।

    काले दाइको राइफलको सिरानी सार्वजनिक

    चलचित्र ‘काले दाइ’ को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘राइफलको सिरानी’ बोलको गीत लोकलयमा निर्माण गरिएको छ । गत वर्ष रिलिज भएको ‘पर्व’ सिनेमामा समावेश हिट गीत ‘काले दाइ’ बाट नाम सापटी लिएर बनाएको चलचित्रलाई शिव शर्माले निर्देशन गरेका हुन् ।
    सुमन बैरागीको शब्द र दीपक शर्माको संगीतमा तयार भएको गीतमा ध्रुव बिस्को र समिहा श्रेष्ठको स्वर छ । रामजी लामिछानेले कोरियोग्राफी भरेको गीतमा इन्द्र राम्जाली, बिनु शाक्य र रामचन्द्र अधिकारीले कम्मर मर्काएका छन् ।
    चलचित्रमा इन्द्र राम्जाली, शिशिर भण्डारी, अनु पराजुली, रामचन्द्र अधिकारी, सुरेन्द्र केसी, गीता अधिकारी, विष्णु सापकोटा, सारिका घिमिरे, उत्तम केसी, गोविन्द श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।
    शमशेर गुरुङ र इन्द्र राम्जालीले निर्माण गरेको ‘काले दाइ’ मा पवन गौतम र रामेश्वर कार्कीको छायाङ्कन र तारा थापा किम्भेको सम्पादन रहेको छ । चलचित्रको प्रदर्शन मिति हालमा तय भइसकेको छैन ।

    अञ्जु पन्तको धर्तीमा आएँ

    पछिल्लो समय अत्यधिक रुचाइएकी गायिका अञ्जु पन्तको स्वर रहेको ‘धर्तीमा आएँ एक्लै’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । भिडियोमा रंगमञ्च र नृत्य दुवै विधामा सशक्त रहेका मोडल बिनु शाक्य, सनम कठायत लगायतको अभिनय रहेको छ ।
    वसन्त लम्सालको शब्द तथा संगीत रहेको उक्त गीतको भिडियोमा विकास घले गुरुङको निर्देशन रहेको छ भने टेकेन्द्र शाहको सम्पादन र मुकेश हुमागाईंको छायाङ्कन रहेको छ ।

    नमुना घर हस्तान्तरण

    काभ्रे जिल्लाको पाँचखाल नगरपालिका – १२, ओझेटारमा निर्माण गरिएको नमुना घर एक कार्यक्रमका बीच हस्तान्तरण गरिएकोे छ । ह्याबिट्याट फर ह्युम्यानिटी नेपाल, एएसएफ नेपाल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको संयुक्त प्रयासमा निर्माण गरिएको भूकम्प प्रतिरोधी नमुनाघर हस्तान्तरण गरिएको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यसमिति सदस्य डा. विष्णुबहादुर भण्डारीले संस्थाले निर्माण गरेको नमुनाघर एकल महिला चमेली दनुवारलाई हस्तान्तरण गरेका थिए । ह्याबिट्याट फर ह्युम्यानिटी नेपाल, एएसएफ नेपालले विशेष गरी गरिब, पिछडिएको, जनजाति, एकल महिला, अपाङ्गता भएका व्यक्ति तथा परिवारको घर पुनर्निर्माणको काममा सहयोग गर्दै आएको छ ।
    ह्याबिट्याट फर ह्युम्यानिटी नेपालले इँटा बनाउने तालिमपश्चात घर बनाउने तालिमसमेत संचालन गरी ८० प्रतिशत महिलालाई सहभागी गराई महिला जनशक्तिबाट नै उक्त नमुना घर निर्माण गरेको हो । संस्थाले भूकम्पपश्चात् पाँचखाल नगरपालिकाको — ४ पिपलटारमा ८७ वटा भूकम्पप्रतिरोधी घर पुनःनिर्माण गरी सम्बन्धित भूकम्पपीडितलाई हस्तान्तरण गरिसकेको छ भने पाँचखाल नगरभित्रका विभिन्न स्थानमा १०५० वटा घरलाई विभिन्न तहको सहयोग गर्दै आएकोमा ३५० वटा घर निर्माण सम्पन्न भइसकेको ह्याविट्याट फर ह्युम्यानिटी नेपालका जिल्ला अधिकृत सिमराज दनुवारले जानकारी दिए ।
    कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उपसचिव शिवराम गेलाल, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण काभ्रेका प्रमुख ध्रुव गैँडा, पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल, उपप्रमुख लक्ष्मी दनुवार, पाँचखाल — १२ का वडाअध्यक्ष गोपालबहादुर दनुवार आदिको आतिथ्य रहेको थियो ।

    प्राश्ना शाक्यले हावा ल्याइन्

    ‘आवाज देउ’ बोलको गीत गाएर चर्चामा आएकी गायिका प्राश्ना शाक्यको ‘हावा’ गीत सार्वजनिक भएको छ । सार्वजनिक भएको ‘ए हावा’ बोलको गीतमा हरि लम्सालको संगीत र सरिता तुलाधरको शब्दरचना छ । गीतमा उदयराज पौडेलको एरेन्जमेन्ट छ ।
    सुमधुर गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । युवराज वाइबाको निर्देशनमा बनेको म्युजिक भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् । अनिल र श्वेताको अभिनय रहेको भिडियोमा दुई बिछोडिएका प्रेमी–प्रेमिकाको कथालाई देखाउन खोजिएको छ ।

    पठन संस्कृति गोष्ठी

    डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालय तथा सानेपास्थित सामुदायिक बालविकास पुस्तकालयको संयुक्त आयोजनामा डिल्लीरमण पुस्तकालयमा बालबालिकामा पठन संस्कृतिको विकास विषयमा गोष्ठी सम्पन्न भयो ।
    शान्तदास मानन्धरको अध्यक्षतामा भएको गोष्ठीको पहिलो सत्रमा विनयकुमार कसजूले ‘बालबालिकामा पढ्ने बानीको विकास गर्न बालसाहित्यको भूमिका’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रबारे प्राडा मोहन लोहनी, मुरारीविनोद पोखरेल, देवकी श्रेष्ठ, मित्रमणि त्रिपाठी, गुणप्रसाद न्यौपाने, केके कर्माचार्य, कार्तिकेय घिमिरे, जुजुभाइ डंगोल र डा. शैलेन्दुप्रकाश नेपालले मन्तव्य प्रकट गर्नुभएको थियो । दोस्रो सत्र डा. तुलसी भट्टराईको अध्यक्षतामा भएको थियो । सो सत्रमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कार्यक्रमको उद्घाटन गर्दै शुभकामना दिनुभएको थियो । त्यस सत्रमा इन्दिरा दलीले ‘पठन संस्कृतिको विकासमा बालपुस्तकालयको भूमिका’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

    अमृत वचन
    — रामप्रसाद शर्मा तिमल्सिना

    — एक मात्र ईश्वर सत्य र ज्ञानको कारण हो ।
    — आर्यज्ञान वेदमा सङ्कलित छ, प्रत्येक आर्यले वेद अध्ययन गर्नुपर्छ ।
    — सत्यलाई ग्रहण गरेर असत्यलाई त्याग्नुपर्छ ।
    — कुनै पनि काम गर्दा सोचविचार गरेर मात्र गर्नुपर्छ ।
    — समाजको उद्देश्य मानव–कल्याण हो । मानिसले शारीरिक, आध्यात्मिक र सामाजिक विकासका लागि काम गर्नुपर्छ ।
    — ईश्वर सत्य, शिव र सुन्दर छन् ।
    — सबैसित प्रेम, न्याय, दया तथा सद्व्यवहार गर्न सक्नुपर्छ ।
    — अज्ञानलाई फाली ज्ञान प्राप्त गर्नुपर्दछ ।
    — निःस्वार्थ भावनाले कार्यमा लागि परोपकार गर्नुपर्छ ।
    — सार्वजनिक हितका विरुद्ध कुनै काम गर्नु हुँदैन ।

    नेताका छोराछोरी असहाय
    — केशव थापा

    अनाथ, परित्यक्त, द्वन्द्वपीडित बालबालिका, कैदीबन्दीका छोराछोरीको बालअधिकारको रक्षा गर्ने, पालनपोषण गर्ने, शिक्षामा सहयोग गर्ने र कमजोर आर्थिक अवस्था भएका परिवारका बच्चालाई शिक्षामा सहयोग गर्ने मुख्य उद्देश्य भएको नेपाल बाल संगठनमा (बाल मन्दिर) असहायका कोटामा नेताका छोराछोरी भन्ने कुरीकुरी लाग्ने समाचारलाई के भन्नु खै ? भविष्यमा छोराछोरी बुझ्ने भएपछि नेता बाउले आफूलाई कस्तो हैसियत दिएका भनेर चित्त दुखाउलान् वा मेरो ड्याड क्या क्लेभर भनेर जँुगामा ताउ लाउलान् ? नेपालको बाल मन्दिरको लागि त यस्तो भएपछि वैदेशिक छात्रवृत्तिको हालत कस्तो होला ? जहाँ पनि जहिले पनि नेतृत्व गणको यस्तो बाघ झम्टाई र आफ्ना परिवार बाहेक अरूलाई आफ्नो देख्दै नदेख्ने, जनताप्रतिको जिम्मेवारी र जवाफदेहितालाई हेक्कै नराख्ने रतन्धोपनले न्यायपूर्ण, समृद्ध नेपाल बन्ला त ?

    अनि गर बराबरीको कुरा
    — डा. भास्कर हुमागाईं

    एउटा डाक्टर मिसन जानु भनेको डाक्टरको नाताले हो प्रहरी या सैनिक भएर होइन । मिसन जानु सेवा हो, त्यहाँ खतरा पनि उत्तिकै हुन्छ । हामी सरकारी डाक्टर पनि त्यो मिसन जान चाहन्छौं, हामी पनि त्यो सेवा गर्न चाहन्छौं । जुन दिन यो पूरा हुन्छ अनि मात्र गर्नु बराबरीको कुरा । सरकारी हस्पिटलले सामान्य नागरिक निःशुल्कसरह जचाउँछन् । फोर्सका हस्पिटलले पनि त्यही गर्छन् । तर फोर्सका शिक्षालयहरुमा आरक्षण फोर्सका परिवारहरुलाई हुन्छ । ती शिक्षालयहरुमा हाम्रा परिवारलाई पनि ब्यबस्थापन गर्नु अनि गर्नु बराबरीको कुरा । हामीलाई पनि रासन खर्च चाहिन्छ अनि मात्र भइन्छ बराबर । हामीलाई पनि मिसनको भत्ता चाहिन्छ तब छात्रबृत्ति प्रोत्साहन छाडौंला अनि त्यही पैसाले निजी मेडिकल कलेजमा ज्वाइन गरौंला, तब बराबर मात्र होइन महान् नै भइएला । हाम्रो परिवारलाई पनि निःशुल्क स्वास्थ्य सेवा प्रदान गर, अनि मात्र गर बराबरीको कुरा ।

    नेपाली विषयको पूर्णाङ्क थपौं
    — डा. रामप्रसाद ज्ञवाली

    पाठ्यक्रमबाट नेपाली भाषासाहित्यलाई हटाउने चलखेल पहिलेदेखि नै हुँदै आएको हो । विदेशीको डलरमा बिक्ने तथाकथित नीतिनिर्माता र राजनीतिक हनुमानगिरी गरेर विषय समितिमा पुगेका तथाकथित विषयविज्ञ विद्वान््हरूले व्यक्तिगत लाभ र तुच्छ स्वार्थका लागि यो भाषामाथि बेवास्ता गर्दै आएका छन् । कुनै देश र त्यस देशको मौलिकता समाप्त पार्नुछ भने त्यसको मुख्य भाषा र मौलिक पहिचानका पक्षमाथि आक्रमण गर्नुपर्छ भन्ने साम्राज्यवादीहरूको मान्यता यहाँ लागू गर्न प्रयत्न भयरहेको छ । त्यसैले नेपाल, नेपाली मौलिकता, नेपाली अस्तित्व र नेपालको पहिचान जोगाउने हो भने पाठ्यक्रममा नेपाली विषयको पूर्णाङ्क र पाठ्यभार हटाउने होइन, थप्नुपर्छ र बीए–एमएसम्म नै राख्नु जरुरी छ । आफूलाई नेपाली हुँ भन्ने सबैले यस कुराका लागि आवाज उठाऔँ ।

    लमजुङ
    — प्रह्लाद पोख्रेल

    इच्छा जाग्दछ हेर्न राष्ट्रकविको प्यारो धरा लम्जुङ
    कस्तो भो नववर्षमा प्रकृतिको लाली चढेको रङ ?
    जाऊँ ‘गाउँ’ उँभो कि तल्तिर यतै ‘बेँसी’ कुरेरै बसूँ
    जाऊँ पुस्तुनतर्फ घुम्न अथवा ओडारभित्रै पसूँ ?
    गौरीशङ्कर–द्रौपदीसुत बनी जो झुल्किए देशमा
    ‘गौरी’ सिर्जनबाट साधक बनी जो फैलिए विश्वमा
    त्यस्ता उन्नत चेतनासित मिली हामी भयौँ जाग्रत
    हाम्रो लम्जुङ जागृतिस्थल बनोस् आह्लादकारी स्वतः
    डिल्लीजङ् कवि, लाँकुरीसित रमी डुल्ने छ इच्छा अनि
    हेर्ने उत्कट चाहना छ कविको प्रेमोपहारै पनि
    के गर्थे अघि तीर्थराज कविजी पालो र पैँचो गरी
    आफ्नै सुन्दर बाँसुरी–धुनसँगै सङ्गीत भाका भरी ?
    मस्र्याङ्दीतिर पौडिएर खुस भै धेरै सुसेले पनि
    डाँफेदूत बनेर निर्भय हिँडी के गर्दथे मेदिनी ?
    हिँड्थे हाटबजारतर्फ कुटुरो पारी समस्या कि त !
    गर्दै व्यङ्ग्यविनोद एकसुरले मान्छे र माटासित !
    झार्दै झर्झर छन्दबाट छहरा ब्यूँझाउँदै जीवनी
    के गर्थे नि वसुन्धरातिर घुमी हाम्रा जिताली पनि
    हिँड्दा व्यङ्ग्य र हास्य मिश्रण गरी ‘धोती न टोपी’ बनी
    के हेर्दैछ कहाँ बसेर रमिता गोविन्दको लेखनी ?
    के साँच्चै यदुनाथ छन् सरल या छन् इन्द्र कस्ता अनि
    गुन्जिन्छन् कति मुक्तिनाथसितका भाषा र भाका ध्वनि ?
    के आरोहण गर्छ जीवन यहाँ पृथ्वी उकालो चुनी
    साझा पौरखबाट आर्जन गरी लालित्यको इन्द्रिनी
    देवीको छ अनन्य शक्ति कतिको पैल्याउने नाटक
    हेरौँ लाग्दछ के गरी विजयका खुल्छन् नयाँ फाटक ?
    के गर्लान् जगदीश जन्मधरणी सम्झेर सुस्ताउँदा
    ‘श्वेता’ साथ लिएर चन्द्रवदना सम्झी घरै आउँदा
    इच्छा लाग्दछ हेर्न झन् पथिकका कस्ता हुनन् पाइला
    लीला प्राकृत गर्न उद्यत हुने खै प्रेमजी जोसिला ?
    गर्लान् पाठकवर्ग जाग्रत युवा श्रीकान्तको सम्झना ?
    या गर्लान् ऋषि, राम, सूर्यसहितै श्रीकृष्णको वन्दना !
    कुर्लेलान् जब अञ्जना–स्वरहरू रन्काउँदै यो धरा
    लाग्ला जागृतितर्फ जीवन–जगत् उद्देश्य पारी पुरा
    पन्पेलान् नवजागृति प्रखर भै नौला नयाँ आँकुरा
    घन्काऊन् घननन्न गीत गहिरा बीमाकुमारी दुरा
    गाऊन् कृष्णसुधा सुधारस भरी यी लोकका जीवनी
    मान्छेका मनभित्र झङ्कृत गरी सङ्गीत सञ्जीवनी
    खेपी भीषण हुन्डरीसहितका दुर्दान्त हावा–हुरी
    ऊर्जाशील बनेर छर्न सकियोस् साहित्यको माधुरी
    आई पिङ्गल छम्छमाउन सकून् साहित्यका फाँटमा
    भर्दै शाश्वत सिर्जना लयहरू यी लम्जुङे आँतमा
    वाणी नित्य सरस्वती सृजनकी देवी बनून् दाहिने
    हाम्रा सिर्जन पुस्तकालय बनून् आत्मीय आस्था छुने

    हरिद्वार कि मलद्वार ?
    — रोशन मञ्जुश्री

    एकात्मक राज्य, वर्गीय—जातीय—क्षेत्रीय र लैङ्गिक विभेदको अन्त्यका लागि हामीले २०६२—६३ को जनआन्दोलन गरेका थियौँ । एउटा नागरिक र स्रष्टाको हैसियतले म पनि आन्दोलनको मोर्चामा थिएँ । एउटा तानाशाहलाई समाप्त गरेर ल्याएको लोकतन्त्रमाथि राष्ट्रवादका नाममा नयाँनयाँ कठपुतलीहरू तानाशाह बन्न खोजिरहेछन् । यसलाई गहिरिएर हेरिरहेछु ।

    — खुमनारायण पौडेल

    जसले साहित्य वा अक्षरलाई तलवको स्केलले मापन गर्छन् म उनीहरूको अज्ञानताप्रति बढो ठूलो स्नेह राख्छु । राखिरहन्छु ।

    — त्रिभुवनचन्द्र वाग्ले

    देशको भाषा, साहित्य र संस्कृति त्यो देशको पहिचान र गर्वको बिषय बन्नुपर्दछ । तर दुर्भाग्य नै मान्नुपर्छ हाम्रो देश उल्टो दिशामा हिड्न सदा उद्दत रहन्छ ।

    — कृष्ण पौड्याल

    देशको पहिचान र सनातनी विशेषता बोकेको नेपाली र अन्य धेरै भाषाको जननी भाषा संस्कृतमाथिको कुत्सित आक्रमण कुनै हालतमा सह्य हुने छैन ।

    — अर्जुन पौडेल

    हिन्दीको प्रभावमा परिसक्यो नेपाली भाषा धेरै हदसम्म । हिन्दीभन्दा धेरै पुराना अवधी, मैथिलीहरू लोपोन्मुख भैसके । नेपाली भाषाको ढाड भाँच्ने काम डलरेहरू गर्दैछन् ।

    — सूर्य चापागाई

    संस्कृत भाषा आज वैज्ञानिकहरुको रोजाइको भाषा बनिसक्यो । के भन्नु खै हरिद्वार र मलद्वार छुट्याउन नसक्ने हनुमानहरुलाई !

    — श्रीकृष्ण पन्थी

    मानिसहरुमा बिबेक छैन । घरको आँगन सफा गरेजस्तै नदीलाई संधैँ सफा गर्न सकिन्छ ? १०० हप्ता लगाएर बाग्मती सफाइ अभियान चल्यो । अहिले फोहोर र दुर्गन्ध ज्यूँ का त्यूँ । सबै मिलेर फोहोर आउने मुहान बन्द गरौं । रोग लागेर उपचार गर्नुभन्दा रोगै लाग्न नदिनु राम्रो होइन र ?

    — डीबी थापा

    २०७५ वैशाख ११ गते मङ्गलबार प्रकाशित अङ्कका विशेष सामग्रीहरू

    सिन्डिकेट तोड्ने सरकारी अभियान
    — कृष्णविनोद शर्मा

    यस जगत्मा जति पनि जड र चेतन तàवहरू छन्, सबै नै गुण र दोषले युक्त हुन्छन् । गुणैगुण र दोषैदोषले युक्त पदार्थ भेट्टाउन दुर्लभ हुन्छ । यही सिद्धान्त वाद, व्यवस्था, नेतृत्व र निर्णयहरूमा पनि लागू हुन्छ । तर यो धरातलीय यथार्थलाई आत्मसात गरी गुण र दोष केलाएर ग्रहण गर्नुपर्नेमा वा दोष र कमी–कमजोरी सुधार्दै लैजानुपर्नेमा सामान्यतया हामी अतिवादको आश्रय लिन पुग्दछौँ । अहिलेको यातायात व्यवस्थामा पलाएको सिन्डिकेट अर्थात् समितिद्वारा व्यवस्थापन गर्ने प्रणालीमा समयसापेक्ष पुनरवलोकन, परिमार्जन र सुधारको बाटो अवलम्बन नगरी तत्कालीन आवेगयुक्त जनसमर्थनको आडमा सबै समितिहरू भङ्ग र खारेज गर्ने अतिवादी चिन्तनमा पो हामी लागिपरेका छौँ कि ?
    इतिहासमा पनि सत्तापक्षबाट यस्तै–यस्तै गल्तीहरू भएका उदाहरणहरू भेटिन्छन् । जस्तै २००७ सालको क्रान्तिपछिको दशकमा बहुदलीय प्रजातन्त्रमा अनेक विकृति र विसङ्गतिहरू पनि भित्रिए । ती विकृति र विसङ्गतिहरूलाई न्यूनीकरण गर्दै जानुको सट्टा, सुधार गर्दै लैजानुको सट्टा राजा महेन्द्रमा अतिवादी चिन्तन हावी भयो र ‘कू’ गरेर बहुदलीय व्यवस्था नै हटाइदिए । त्यस्तै अर्को घटना, २०४६ सालमा प्रजातन्त्रको पुनस्र्थापना भएपछिको नेपाली काङ्ग्रेसको सरकारले देशका सार्वजनिक संस्थानहरूमा भित्रिएका विकृति र विसङ्गतिहरू (घाटामा चल्नु, बेथिति हुनु, शाही नातेदार भाइभारदार, पञ्च परिवारबाट महाप्रबन्धक नियुक्त हुनु आदि र केही संस्थानले शाही परिवारलाई महँगा गाडी किनेर उपहार दिनु आदि–इत्यादि) लाई सुधार्दै लैजानुको साटो सरकारले व्यापार गर्ने होइन, उद्योग चलाउने होइन भनेर अतिवादी चिन्तनले नाफामा चलेका उद्योगहरू पनि सरकारले कौडीको मूल्यमा बिक्री ग¥यो र २६–२७ वर्षयता एउटा पनि सरकारी उद्योग–संस्थान जन्मेनन् । सायद त्यही नीतिको नतिजा हो अहिले निजी क्षेत्रको बाहुल्य भएको क्षेत्रमा समिति (सिन्डिकेट) हावी भएको । भएका यातायात संस्थान, ट्रलिबस सेवा, जनकपुर–जयनगर रेलवे, साझा यातायात आदि बन्द भएपछि यातायात क्षेत्रमा सरकार निजी क्षेत्रमाथि परनिर्भर हुँदै जाँदा अनि त्यही निजी क्षेत्रमा ठूला दलका नेता तथा कार्यकर्ताहरू र नेता परिवारका नातेदारको लगानी अनि ठूला दलको अधिवेशन, सभा, सम्मेलन र निर्वाचनमा चन्दा असुलीका कारणले नै सार्वजनिक यातायातमा सिन्डिकेट हावी भएको हो । त्यस्तो हुनुमा समितिका सञ्चालकहरूभन्दा सरकारी नीति, राजनीतिक दलका लगानीकर्ता र भ्रष्ट कर्मचारीतन्त्र नै बढी जिम्मेवार छन् ।
    यस स्थितिमा नीतिनिर्माताहरू, दलका नेताहरू र शीर्ष कर्मचारीहरूले आ–आफ्ना गल्ती र कमी–कमजोरीको समेत आत्मसमीक्षा गर्दै आफूहरूकै कारणले बलियो भएको सिन्डिकेट र समितिमा भित्रिएका विकृति र विसङ्गतिहरू हटाउँदै र सुधार गर्दै जानुको सट्टा सबै यातायात समितिहरू खारेज गर्ने चिन्तन त्यही राजा महेन्द्रको चिन्तन अनि निजीकरणको चिन्तनको पुनरावृत्तिजस्तै देखिन्छ ।
    पहिले सिन्डिकेट नहुँदा कम्पनी बसहरूको सेवा पनि हामीले भोगिसकेका छौँ । अफ सिजनमा एकथरि भाडा, दसैँ–तिहारमा दुई गुणा भाडा, यात्री नभरिए बस नै नचलाउने, काठमाडौँबाट भैरहवा जाँदा बुटवलमा धेरै यात्री ओर्लिएमा बचेखुचेका यात्री (महिला, बृद्ध र अशक्तहरूसमेत) राति २–३ बजे बुटवलमै ओर्लेर लोकल बसमा जानुपर्ने, सिजनमा ठूला सुटकसको पनि लगेज चार्ज तिर्नुपर्ने आदि विकृति र विसङ्गतिहरू थिए, नभएका होइनन् । त्यस्तै, वर्तमान समितिहरूका पनि केही राम्रा पक्षहरू छन्, सबै खराब पक्षहरू मात्रै पनि छैनन् । समितिहरू भङ्ग वा खारेज गरेर पनि समस्याको समाधान हुनेवाला छैन । यिनै समितिका सञ्चालकहरू नै विभिन्न कम्पनीका सञ्चालकहरू हुने त हुन् नि ! उही २०३६ सालपछि पञ्चायत सुधारिएको पञ्चायत भएजस्तै ।
    अर्को पक्ष पनि महàवपूर्ण छ । समितिहरू खारेज भएपछि समितिहरूले गर्ने कार्यहरू गर्न–गराउन सरकारी संयन्त्र योग्य, चुस्त, दुरुस्त छन् त ? कर्मचारी तन्त्र रातारात खै केबाट साधुसन्त भइसके त ? थोरबहुत सिन्डिकेटीय सोच त सबै क्षेत्रमा हुन्छ नै ! संविधानमा ३ प्रतिशत थ्रेसहोल्डको व्यवस्था गर्नु पनि एक किसिमको ठूला दलको सिन्डिकेट नै त हो !
    जहाँसम्म तत्कालीन जनसमर्थनको कुरो छ, २०१७ साल पौष १ गते साँझ पनि देशमा दीपावली भएकै हो । २०४७ सालपछिको निजीकरणको पनि स्वागत भएकै हो । प्रजातन्त्रको पुनस्र्थापना हुँदाको पूर्वसन्ध्याको प्रतिकार ¥यालीमा पनि भीडभाड देखिएकै हो । २०५८ सालको असोजतन्त्रलाई पनि प्रतिगमन आधा सच्चियो भनेर समर्थन गरिएकै हो । अहिले पनि पूर्वराजाको तीर्थाटनमा भीडभाड नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे परेकै छ ।
    त्यसैले गुण र दोष सबैलाई केलाएर, विकृति र विसङ्गतिका स्रोतहरू पहिल्याएर मात्र निर्णय गर्नुपर्ने हुन्छ । हाम्रा दुई छिमेकी देश चीन र भारतमा दुईथरि मोडेलहरू छन् । चीनमा सबै सार्वजनिक यातायात सरकारले सञ्चालन गर्दछ भने भारतमा बेन्चमार्क निर्धारण र कार्टेलिङ नियन्त्रण गर्ने राज्य सरकारका परिवहन निगमका बसहरू पनि सबै रुटमा छन् अनि निजी कम्पनी बसहरू पनि चल्छन् । यी दुई मोडेलबाहेकको तेस्रो मोडेलमा जाँदा के सफल होइएला र ? गम्भीर पुनरवलोकनको विषय हो यो । केन्द्र, प्रदेश र स्थानीय सरकारहरूले हरेक क्षेत्र र रुटहरूमा साझा बसहरू सफलतापूर्वक सञ्चालन गर्न सकेपछि मात्र समितिहरू खारेज गर्नेतर्फ विचार गर्दा राम्रो हुन्छ कि ? स्थीर र दिगो सरकारले एउटा सिन्डिकेटका सामु नतमस्तक हुनु हुँदैन, हार खानु पनि हुँदैन । सिन्डिकेट तोडिनैपर्छ । तर यसलाई हार र जीतको विषय नबनाई यो राष्ट्रिय सरोकारको र आम चासाको विषय भएकाले दूरगामी, मध्यमार्गी तर उपयुक्त विकल्पको खोजी हुनुचाहिँ जरुरी देखिन्छ ।

    विद्यार्थी भर्नामा कतै नभएको तमासा
    — प्रा. डा. गोपाल शिवाकोटी

    यस वर्षको विद्यार्थी भर्नामा कतै नदेखिएको तमासा गरिएको छ । पुँजीवादी पद्धतिको र पुँजीवादीहरुकै लागी उत्पादन गरिने विद्यार्थीहरुलाई समाजवादी शिक्षाको रुपमा व्याख्या गर्ने तमासा खडा गरिएको छ । दुईजना दलित विद्यार्थी डोम र मुसहार विद्यार्थीलाई भर्ना गर्न दुई लाखभन्दा बढी सरकारको तर्फबाट हेलिकप्टरको सयर गरी भर्ना खातामा दस्तखत गर्नु अर्काे तमासा बनेको छ । तामझाम सहित राजसी पोजमा वरिपरि गार्ड र शक्तिशाली कर्मचारीको लर्काे लगाएर पुगेका प्रधानमन्त्री तथा शिक्षामन्त्रीले यसलाई नेपालको शिक्षामा ऐतिहासिक कार्य भएको प्रस्तुति गरेका छन् भने दलित विद्यार्थी प्रधानमन्त्रीको हात र अभिभावकत्वबाट भर्ना भएपछिको अभिव्यक्तिले हास्य अभिनेतालाई नेताले पछाडि पारिदिएका छन् । हास्यनेताभन्दा नेता ठूला हाँसोको पात्र बन्नु पनि अर्काे तमासा भएको छ ।
    वर्तमान वामपन्थी सरकारले चलाएको भर्ना अभियान र नेपालका तीन प्रतिशतभन्दा बढी उमेरसमूहका विद्यार्थी स्कुलबाहिर रहेको अभिव्यक्ति आएको छ । पाँच लाखभन्दा बढी केटाकेटीलाई घृणित श्रममा इटाभट्टामा लगाइएको समाचार समेत आएको छ । यी कुराले सरकारले अरबौँ खर्च गरेर लागू गरेको शिक्षा असफल भएको देखाउँछ । प्रकाशित एउटा प्रतिवेदनले विद्यार्थीहरुको स्तर खस्किँदै गएको भनेर मन्त्री, प्रधानमन्त्रीहरुको तमासाको उपहास गरेको छ । ठूला पार्टीका ठूला नेताहरुले प्राविधिक वा व्यावसायिक शिक्षालाई समाजवादी शिक्षाको रुपमा लिएको देखिन्छ । यसैले कम्युनिष्ट पार्टीका ठूला नेताहरु समेत समाजवादी र जनवादी शिक्षा के हो भन्नेमा भ्रममा परेको देखिन्छ । उनीहरुले बारम्बार शिक्षाको स्तरमा भाषण दिएको देखिन्छ । तर गुणस्तर भनेको के हो, भारतको गुणस्तर हो कि, अमेरिकाको वा ग्रामीण क्षेत्रको हो, थाहा छैन । अहिले पाठ्यक्रममा विदेशी नक्कल गरेर संयोजन गरिन्छ । ठूलो खर्च गरेर विद्यार्थीहरुलाई शिक्षा दिइन्छ । प्राविधीक तथा अप्राविधिक सबै खालका विद्यार्थी प्रमाणपत्र लिनेबित्तिकै अमेरिका, युरोप र प्लस टु पास गरेकाहरु खाडी मुलुकमा उँट र गधाको गोठालो भई धन कमाउन जाने गरेका छन् । हाम्रो शिक्षाविद्हरुले अन्तर्राष्ट्रिय स्तरमा विक्री हुने खालको शिक्षा भन्ने गरेको देखिन्छ । शिक्षा नेपालको लागी हो वा पुँजीवादीहरुको लागी उत्पादन गर्ने पुँजीवादी शिक्षा हो भन्नेमा ध्यान गएको देखिँदेैन । पुँजीवादी मुलुकको लागी जनशक्ति तयार गर्दा नेपालले प्रतिवर्ष ९० अरबभन्दा बढी खर्च गरिरहेको छ । गरिब नेपालीले तिरेको पैसाबाट विदेशी पुँजीवादीहरुको लागी उत्पन्न भएका छन् । नेपालमा यसैका लागी भर्ना गर्दा प्रधानमन्त्री, मुख्यमन्त्री वा ठूला पदाधिकारीहरु तामझामसहित तमसा गरेर अरबौँ खर्च गरी हेलिकप्टर लिएर भर्ना गर्न जान्छन् । संविधानले सबै विद्यार्थीलाई विनापैसा शिक्षा हासिल गर्ने सुविधा दिएको छ भने करोडौँ खर्च गरेर विद्यार्थी भर्ना गर्न जानुको अर्थ के ? आफ्नो शोख पूरा गर्न गएका हुन् वा भविष्यमा भिजिलान्ते, साइफेन्ट, राजनीतिक निर्वाचन स्वार्थको लागी गरिएको हो ? यी तमासाहरु शिक्षा र विद्यार्थीको लागी नभएर शोख पूरा गर्न, भिजीलान्ते उत्पादन गर्न र भोटको लागी गरेको प्रपन्चबाहेक अरु केही होइन । विदेशीहरुको पाठ्यक्रम पढाउनु, विदेशीको लागी जनशक्ति तयार गर्नुले नेपालीको हित हुन सक्दैन । जनताको अनुभवलाई पाठ्यक्रम बनाएर समाजलाई आवश्यक भएको जनशक्ति उत्पादन गर्नु र समाजकै नियन्त्रणमा शिक्षालाई राख्नु समाजवादी शिक्षा हो भन्ने कुरा हाम्रो भाग्यविधाताले नबुझेका हुन् वा बुझ पचाएका हुन् ? उनीहरुले ठूलो ठाउँमा शिक्षा पाएको र उनीहरुको छोराछोरीले क्याम्ब्रीज, हडबर्ड विश्वविद्यालयमा शिक्षा पाएकोले दलितका छोराछोरीहरुको पनि हामी अभिभावक भइदिएकोले डाक्टर, पाइलट हुन्छन् भनी आफूलाई देवत्व प्राप्त भएको छ भनी देखाउन खोजेजस्तो देखिन्छ । अहिले सरकारले शिक्षामा परिवर्तन गर्ने भनी जुन कार्यक्रम घोषणा गरेको छ, यो समाजवादी शिक्षा नभएर सामन्तवादी र पुजीवादी शिक्षाप्रणालीकै वर्णशंकर हो । यसमा निजी शिक्षा सार्वजनिक शिक्षामा ल्याउने प्रयास भएको देखिन्छ । तर नेपालका ठूला राजनीतिक दलका नेताहरु तथा उनीहरुको समर्थकले, सरकारी निकायका पदाधिकारीहरुले नीजि विद्यालयहरु सञ्चालन गरी करौडौँ नाफा कमाउने गरेको कुरा प्रकाशमा आएको छ । एउटा विद्यार्थीको भर्नाको लागी लाखौँ रुपैयाँ तिर्न अभिभावक र अशुल गर्ने शैक्षिक संस्थाहरु नेपालमा कमाउने उद्योगको रुपमा विकसित भएका छन् । यीनै महंगो विद्यालयमा गरिब विद्यार्थीहरुलाई २५ प्रतिशत निशुल्क पढाउनुपर्छ भन्ने व्यवस्था गरिँदैछ । यो व्यवस्थाले कमजोर तहका विद्यार्थीहरुलाई पनि पुँजीपतिका छोराछोरीसँग एकै विद्यालयमा पठाएर वर्ग अन्तर कम गर्ने फन्टुस कुरा गरिएका छन् । यो पुँजीवादको नमुना र श्रृखला हो । ठूला र महंगा विद्यालयमा गरिबका छोराछोरीलाई पढाउनु समाजवादी शिक्षा होइन । नेपालमा नीजि र सार्वजनिक शिक्षा रहेका छन्, यो शिक्षाको वर्गीय विभाजनले विभाजित समाजको निर्माण गर्दछ । नेपालमा शिक्षामा वर्गीय विभाजनले ठूलाबडाका छोराछोरी हाकिम र गरिब मजदुरका छोराछोरी क्लर्क र तल्लो तहका जनशक्तिको रुपमा विकसित भएका छन् । सार्वजनिक विद्यालय भनेको धनी गरिब, हुने नहुने, जातजाति, धर्म सम्प्रदाय, मधेशी पहाडी सबै एउटै छानामुनि पढ्ने सिक्ने प्रणाली हो । नयाँ शिक्षाको नाममा पञ्चायती व्यवस्थाले राजावादी बनाउन सुरु गरेको शिक्षाप्रणाली पछि नेपालमा स्थापित भएको बहुदलीय उदारवादी व्यवस्थाले नीजि र सार्वजनिक विद्यालय गरी शिक्षामा जगैदेखि विभाजित गरी वर्गीय विभाजन गर्ने व्यवस्था गरिएकोले नेपालमा समान खालको शिक्षाको व्यवस्था अन्त्य भएको छ । यही व्यवस्थालाई अहिलेको सरकारले निरन्तरता र वैधानिकता दिने काम गरेको छ भने दल र यसका नेताहरुले खोलेका विद्यालयहरु, कलेजहरुलाई प्रोत्साहित गर्ने काम भएको छ । देखाउनका लागी २५ प्रतिशतको नारा ल्याउने, गरिबका छोराछोरी एकजनालाई स्कुल भर्ना गराई जिम्मेवारीबाट पन्छने काम सरकारले गरी आफ्ना अभिष्टलाई खोल लगाउने मात्र काम गरेको छ । यसलाई समाजवाद उन्मुख शिक्षाप्रणाली भनी विल्ला लगाइदिने कसरत भैरहेको छ । राज्यले प्राविधिक शिक्षामा प्रर्याप्त लगानी गरेर समाजवादी शिक्षा हुन सक्छ भन्ने भ्रमपूर्ण व्याख्या गरिरहेका छन् । प्राविधिक शिक्षा समाजवादी शिक्षा हो भन्ने भ्रम पार्ने काम गरेका छन् । प्राविधिक शिक्षा मात्र समाजवादी शिक्षा होइन, प्राविधिक शिक्षाले प्राविधिक जनशक्ति उत्पादन गर्दछ, यो मुलुकका लागीभन्दा अन्य मुलुकमा विक्री गर्नका लागी गरिने वस्तुको रुपमा रहन्छन् । अहिले नेपालबाट २५ सयभन्दा बढी इन्जिनियर, पचास हजारभन्दा बढी नर्स, हजारौँ डाक्टर विदेश पलायन भएका छन् । यस्तो जनशक्ति नेपालले ठूलो लगानी गरेर पुँजीवादी मुलुकहरुको उत्पादनको लागी कच्चा पदार्थ भएका छन् । फाइदा पुँजीवादी मुलुकहरुले लिएका छन् भने गरिब नेपालजस्ता मुलुकले प्रतिवर्ष ९० अरबभन्दा बढी रकम यिनैमाथि खर्च गरिरहेको छ । यसैले नेपालमा शिक्षा प्रणालीलाई पूर्ण रुपमा उन्मुलन गरी नेपालको लागी आवश्यक र नेपाली स्तरको शिक्षाको व्यवस्था गर्नु समाजवाद उन्मुख शिक्षा प्रणाली हुन सक्दछ । विदेशी पुँजीवादीहरुको लागी कच्चा मालको रुपमा उत्पादन हुने गुणस्तरका चिह्न पाएको शैक्षिक जनशक्ति नेपालको राष्ट्रिय हित र आवश्यकता विपरित छन् । यसलाई ध्वस्त नपारी समाजवादी शिक्षा हुन सक्दैन ।
    नेपालमा सर्वसाधारणका लागी सामुदायिक र नीजी विद्यालय गरी दुईथरीको शिक्षा लागू भएको छ । समाजवादमा सबै शिक्षको जिम्मा सार्वजनिक विद्यालयले लिएको हुन्छ । एकै खालको विद्यार्थी उत्पादन गर्दछन् । शिक्षा निजी क्षेत्रको कमाउने साधनको रुपमा रहँदैन । तर नेपालमा नीजि विद्यालयलाई प्रोत्साहित गरेर माफियातन्त्रको हातमा दिएको छ । माफिया स्वयम् पार्टीका नेता र सरकारको ठूला नेता रहेका छन् तर भाषण गर्दा शिक्षाको समानताको कुरा गरेर जनतालाई हसाउने काम गरेका छन् । निजी विद्यालयका सञ्चालकहरु सांसद र मन्त्री भएका छन् । नीजि क्षेत्रलाई प्रोत्साहित गरिएको, सार्वजनिक क्षेत्रलाई निरुत्साहित गर्ने काम भएको छ । उनीहरु शिक्षाका समानताका कुराहरु गर्ने तमासा गर्दै आएका छन् ।
    बुर्जुवा शिक्षामा विद्यालय जनतामाथि वैचारिक दासता थोपर्ने साधनको रुपमा रहेकोले यसलाई समाप्त गर्न समाजवादी शिक्षा आवश्यक भएको हो । पुँजीवादी विद्यालयमा जनताको हीतमा नभएर प्रभुत्वशाली बुर्जूवा वर्गको स्वार्थमा निर्धारित भएको हुन्छ । बुर्जुवा वर्ग र विद्यार्थीहरुको स्वार्थमा अन्तरविरोध रहने गर्दछ । बुर्जुवा विद्यालयहरुबाट बुर्जुवाहरुकै हितको शिक्षा दिएर उनीहरुको चरित्र निर्माण गर्दछ । यसैले विद्यार्थीको हीत जनसाधारण तथा समाजको हीत अनुकुल हुने गरी समाजवादी विद्यालय स्थापना गरिनुपर्दछ । बुर्जुवा शिक्षामा सुधार गरेर पुग्दैन वा गरिबलाई महंगो विद्यालयमा निशुल्क पढाउँदै वा प्रधानमन्त्रीले अभिभावकत्व लिँदैमा पुग्दैन, यसले मण्डले, भिजीलान्ते र परनिर्भर भाग्यवादी दासहरुको समूह पैदा गर्दछ । त्यही प्रयास अहिलेको भर्ना अभियानमा देखिएको छ । व्यवसायीक शिक्षालाई समाजवादी शिक्षामा महत्व दिइन्छ । स्कुलबाहिर व्यवसायिक शिक्षा दिने गरिन्छ । पुँजीवादी मुलुकमा मालिक र पुँजीवादीहरुले व्यवसायिक शिक्षामा रुचि राख्ने गरेका हुन्छन् र उनीहरुले आफ्नो लागी कामदारको रुपमा औद्योगिक औजारको निर्माण गर्दछन् । समाजवादी शिक्षामा व्यवसायिक शिक्षा कामदार वर्ग र सर्वसाधारणलाई पनि दिने गरिन्छ । यसबाट उनीहरुको सीप विकास भई जिविका चलाउन सक्षम हुन्छन् । आधुनिक प्रविधिसँग परिचित हुनका लागी पोलिटेक्निक शिक्षा आवश्यक पर्दछ । यो प्राविधिक विषयको धार हो । यो शिक्षा श्रमसँग जोडेर दिने काम समाजवादमा हुने गर्दछ । यसले विशेषज्ञ उत्पादन गरी श्रमिकलाई सशक्त र आत्मनिर्भर बनाउँछ ।
    जनवादी शिक्षा नेपालमा लोकप्रिय नाम हो । यो शिक्षा जनताको दैनिकीसँग जोडिएको शिक्षा हो । यसले मानवीय हितनिरपेक्ष या रचनात्मक शिक्षालाई समाप्त गर्दछ । यस्तो शिक्षाले महिला र पुरुष दुबैलाई भविष्यमा रोजगारीको चिन्ताबाट मुक्त गर्दछ । हरेक व्यवहारिक क्रियाकलापको प्रवृत्ति आफ्नो लागी विशेषज्ञ, बौद्धिक क्रियाकलापको प्रवृत्तिसँग जोडी आफ्नो लागी आफ्नै संस्कृति निर्माण गर्नेतर्फ यो शिक्षा उन्मुख हुन्छ । सामाजिक जीवनको सिद्धान्तका रुपमा समाज विज्ञान शिक्षाका रूपमा यसको व्यवस्था गरिन्छ ।
    समाजवादी शिक्षाको अन्तरवस्तुमा राजनीतिक र विचारधारात्मक शिक्षा, वैज्ञानिक र प्राविधिक शिक्षा र शारीरिक शिक्षा पर्दछन् । राजनीतिक र विचारधारात्मक शिक्षाले क्रान्तिकारी विश्व दृष्टिकोणको निर्माण गराउँछ । यसबाट माक्र्सवादी दृष्टिकोण निर्माण हुन जान्छ । यसले मजदुरवर्गीय क्रान्तिकारी दृष्टिकोण निर्माण गर्दछ । वर्गीय चेतनाको निर्माण हुन्छ । मजदुर वर्गको पक्षमा संघर्ष गर्न प्रशिक्षित गरिन्छ । विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय सर्वहारातर्फ सुसज्जीत गरिन्छ । समाजवादी निती नियम र आर्दश सिकाइन्छ । कम्युनिष्ट नैतिकता र जीवनशैली सिकाइन्छ । मानिसको विचारधारात्मक विकासको सम्बन्ध उसको शारीरिक विकाससँग सम्बन्धित हुन्छ । यसैले प्राथमिक र माध्यमिक तहका विद्यार्थीहरुलाई कुनै पनि कुराको मूल्य मान्यताबारेको धारणा र अन्र्तवस्तुका साथै तिनको परिवर्तन र विकाससम्बन्धि शिक्षा दिइन्छ । भौतिकशास्त्र, रसायनशास्त्र, गर्णित, जीवशास्त्रको ज्ञान दिइन्छ । निर्माणको आधारभूत कुराको ज्ञान दिइन्छ । शारीरिक शिक्षाले उनीहरुलाई श्रम गर्न र मुलुकको लागी लड्न उत्प्रेरित गर्दछ । समाजवादी शिक्षा वैज्ञानिक र क्रान्तिकारी विधिबाट दिइन्छ । क्रान्तिकारी विधिको प्रयोग गरिन्छ । समाजवादी शिक्षाको विधिमा अनुसन्धानत्मक शिक्षण, सैद्धान्तिक शिक्षालाई व्यवहार र उत्पादनसँग जोड्ने विधि, संगठनिक जीवन र सामाजिक तथा राजनीतिक क्रियाकलापलाई सुदृढ बनाउने, विद्यालय र सामाजिक शिक्षालाई जोड्ने गरिन्छ । समाजवादी शिक्षा प्रणालीमा विश्वव्यापी अनिवार्य शिक्षा प्रणाली, विश्वव्यापी निशुल्क शिक्षा, कामसँगसँगै अध्ययन गर्ने शिक्षा प्रणाली, बालबालिकाको लालनपालन र शिक्षासम्बन्धी राज्यको नीति आदि पर्दछन् ।
    अहिलेको शिक्षामा निजी लगानी र नाफा आर्जनको विषय विद्यालयलाई बनाउने काम भएको छ । वर्गविभेद उत्पन्न गर्ने शिक्षाको व्यवस्था भएको छ । पुँजीवादी शिक्षाका निर्देशनात्मक पाठ्यक्रम निर्माण भएका छन् र पुँजीवादी शिक्षालाई मानांक निर्धारण गरी गुणस्तर भनिएको छ । यसबाट उत्पादन हुने जनशक्ति पनि पुँजीवादी देशहरुमा खपत हुन सक्ने वस्तुको रुपमा व्यवस्था गरिएका छन् । सरकारी विद्यालयलाई दलविशेषका प्रभावबाट मुक्त, प्रभावकारी व्यवस्थापन तथा गुणस्तर वृद्धिको जबरजस्त योजना र नीजि विद्यालयलाई सार्वजनिक विद्यालयमा रुपान्तरण वा विघटन गर्ने कार्य नभई शिक्षामा सुधारको अपेक्षा गर्न सकिँदैन । सामन्तवादी, पुँजीवादी र वर्गविभेदकारी शिक्षालाई निरन्तरता दिनुलाई र प्राविधिक शिक्षा जोड्नुले मात्र समाजवादी शिक्षा हुँदैन । समाजको नियन्त्रण र समाजको आवश्यकता, जनताको अनुभवबाट, जनताको ज्ञानलाई परिमार्जन गरेर मात्र समाजवादी शिक्षातर्फको यात्रा प्रारम्भ हुन्छ ।

    कसले दिने उत्तर ?
    — जयप्रकाश गुरागाई

    सनातन धर्मलाई अन्धविश्वास र सैतानको धर्म भन्नेहरूका लागि केही प्रश्नहरू छन् ।
    किन अमेरिकाको सेटन विश्वविद्यालयमा गीताको पढाइ हुन्छ ? नासाका वैज्ञानिकहरुका अनुसार सूर्यबाट ॐ को आवाज आउँछ कसरी ? किन अमेरिकाले हिन्दूहरूको पवित्र गौमुत्रको पेटेन्ट अधिकार लिएर क्यान्सरको औषधि बनाइरहेको छ जबकि हामीलाई गौमुत्रको महत्व हजार साल पहिलेबाट थाहा थियो ? किन इस्लामिक देश इन्डोनेसियाको विमानको नाम भगवान नारायणको वाहन गरुडको नाममा ‘गरुड इन्डोनेसिया’ राखिएको छ र त्यसमा गरूडको प्रतीक पनि छ ? किन इन्डोनेसियाको पैसामा भगवान गणेशको फोटो छ ? किन बाराक ओबामा आफ्नो खल्तीमा हनुमानजीको फोटो राख्छन् ? किन आज सारा दुनियाँ योग र प्राणायामको पछि छन् ? कसरी हिन्दु वैज्ञानिकहरू हजार सालपहिले बताउन सफल भए कि धर्ती गोलो छ ? किन जर्मनीको विमानको नाम संस्कृत नाम लुफ्थान्सा छ ? किन हिन्दुको नाममा अफगानिस्थानको पर्वतको नाम हिन्दूकुश छ ? कसरी भियतनाममा विष्णु भगवान्को २००० साल पुरानो मूर्ति पाइयो ? किन अमेरिकी वैज्ञानिक हार्वर्डको शोधपछि मानियो कि गायत्री मन्त्रमा ११०००० फ्रिक्वेन्सीको कम्पन छ ? हिन्दु धर्ममा यज्ञ गर्नु अन्धविश्वास हो भने साइन्सलाई सोध, गोबरमा घ्यू जलाउनाले १० लाख टन अक्ीिजन बन्छ र वातावरण स्वच्छ हुन्छ । किन अमेरिकी अभिनेत्री र चलचित्र निर्मात्री जुलिया रोबर्टस्ले हिन्दु धर्म अपनाइन् ? रामायण झुटो हो भने कसरी दुनियाभरमा केवल रामसेतुको पत्थर आज पनि तैरिरहन्छ ? महाभारत झूटो हो भने कसरी भीमपुत्र घटोत्कचको विशालकाय कंकाल २००७ मा नेसनल जिओग्राफीको टीमले उत्तर भारतमा भेट्यो ? कसरी अमेरिकी सैनिकलाई अफगानिस्तान (कान्दाहार) को एउटा गुफामा ५००० साल पहिलेको महाभारतकालको विमान मिल्यो ?
    यो सबै सत्यमा आधारित कुरा हो । साइन्स हिन्दु धर्मबाट सुरु भएको हो । पैसाको लागि धर्म परिवर्तन गर्नेले बाबुआमा, छोराछोरी पनि बेच्छन् । सवैलाई चेतना भया ।

    मोबाइलको तौल बढ्छ ?
    — मुकुन्दप्रसाद उपाध्याय

    एकजना प्रसिद्ध अमेरिकी लेखिका हेलेन केलरले भनेकी थिइन् — ‘दृष्टि भएर पनि दृष्टिकोण नहुनु दृष्टिविहीन हुनुभन्दा पनि खराब हो ।’
    यथार्थमा जीवन र जगत्प्रतिका यस्ता विचारहरूको भण्डारबाट नै दर्शन बनेको हुन्छ । आध्यात्मिक क्षितिजको कुरा गर्दा पनि यस्ता टिप्पणी र विचारहरू नै समग्रमा वृहत् आध्यात्मिक वटवृक्षका पात, कोपिला र फलहरू हुन् भनेर बुझ्न सकिन्छ । जीवन, जगत् र मानवीय व्यवहारमा यस्ता सटिक विचारहरू, ससाना दृष्टिकोणहरू विद्वान्, लेखक र कलाकारहरूबाट मात्र होइन, सामान्य पाखे, खाते, अनपढ, गँवारहरूबाट पनि निःसृत हुन सक्छन् । जस्तै एउटा घटना म यहाँ उद्धृत गर्न चाहन्छु ।
    एकजना वरिष्ठ चिकित्सककहाँ दुर्गम पहाडको एकजना अनपढ केटो आश्रित रहेछ । उसलाई डाक्टरसाहेबले आफ्नो मोबाइल चार्ज गर्न दिँदा रहेछन् । २–४ दिन मोबाइल चार्ज गरेपछि त्यो केटाले भनेछ — ‘साब ! यो मोबाइल पूरा चार्ज गरेपछि अलिकति भए पनि मोबाइलको तौल बढ्छ होला, होइन ?’ उसको त्यो प्रश्नबाट विद्वान् डाक्टर झस्के र सोचे — ‘म बराबर चार्ज गर्छु, तर यो पक्ष, जुन अर्थपूर्ण छ, तिर त मेरो ध्यानै गएन !’ अनि ‘माइक्रो लेबलमा केही त तौल बढ्छ होला नि त !’ भनेर विचार गर्न बाध्य भएछन् । अर्थात् मोबाइल हेर्ने दृष्टिहरू लाखौँ छन्, मोबाइल चलाउने, बनाउने, मर्मत गर्ने, खरिद–बिक्री गर्नेहरू पनि लाखौँ छन् । तर यस्तो दृष्टिकोण पस्कने व्यक्तिहरू भने बिरलै हुन्छन् । पञ्चतàव र तीभन्दा सूक्ष्म अहङ्कार, महत्तàव र त्योभन्दा पनि सूक्ष्म आत्मतàवको पनि तौल हुन्छ भन्ने कुरा वैज्ञानिक डा. मास्क ड्याजलले परीक्षणद्वारा पुष्टि गरिसकेको स्थितिमा मोबाइलमा सूक्ष्म ऊर्जाद्वारा चार्ज गर्दा ऊर्जाको पनि तौल हुने कुरा मान्न कर लाग्छ नै ।
    त्यस्तै अर्को एउटा सामान्य घटनाको पनि चर्चा गर्न चाहन्छु । खाडीमा काम गर्ने एक युवकले एउटा दसैँमा पहाडबाट बाबुआमालाई नै दोहा बोलाउन टिकट काटेर आउन पैसा पठाइदिएछ । ती अनपढ दम्पती काठमाडौँ आई टिकट किन्न एउटा ट्राभल एजेन्सीभित्र छिरेछन् । ‘काठमाडौँबाट दोहा जान कति रुपियाँ लाग्छ ?’ भनेर सोद्धा सेल्सम्यानले भनेछ ‘इकोनोमिक क्लासमा यति रुपियाँ र बिजनेस क्लासमा यति रुपियाँ लाग्छ’ भनेर । अनि ती पहाडे बुज्रुकले भने — ‘एउटै जहाजमा दुईथरि भाडा ? त्यत्रो फरक ? के बिजनेस क्लासबाट अलि छिटो पुगिन्छ ?’ सेल्सम्यानले भने — ‘होइन, उत्ति नै समय लाग्छ ।’ ‘अनि के प्लेन दुर्घटना हुँदा बिजनेस क्लासमा यात्रा गर्नेहरूचाहिँ बाँच्छन् ?’ सेल्सम्यानले भने — ‘होइन, त्यो पनि होइन ।’ ‘अनि किन बढी रकम तिर्छन् त मान्छे ?’ यसको जवाफ थिएन । तैपनि सेल्सम्यानले भने — ‘बिजनेस क्लासका यात्रीको जीवनबीमा रकम बढी हुन्छ नि त !’ ती पहाडका निश्छल बुज्रुकले भनेछन् — ‘ए, मरेपछि लासको मूल्यचाहिँ बढी हुने रहेछ ! हाम्रो पहाडमा त जीवन अमूल्य हुन्छ, अनमोल हुन्छ भन्थे । तर सहरमा त लास पो मूल्यवान् हुँदो रहेछ !’ उनको त्यो कुरा सुनेर सेल्सम्यान पनि ती डाक्टरसाहेबजसरी नै अवाक् र स्तब्ध भएछन् ।
    अर्को एउटा घटना छ । प्रायः वैदेशिक यात्रा गर्ने, विदेश पानीपँधेरोसमान भएका एकजनाको पुरानो स्कुलको मित्र एकपटक मात्र छोराछोरी भेट्न अमेरिका गएका रहेछन् । उनीहरूबीच हवाइयात्रा र एयरपोर्टका सेवा–सुविधाहरूबारे गफ चलेछ । बारम्बार विदेशयात्रा गर्नेले भने — ‘जहाँ पनि एयरपोर्टभित्र केही पनि किन्नु हुँदैन । बजारमूल्यभन्दा ३–४ दोब्बर बढी लिन्छन् । पानी पनि बजारमूल्यमा पाइँदैन ।’ एकपटक मात्र यात्रा गरेका मित्र पनि रसिक पाराका रहेछन् । उनले भने — ‘होइन, एउटा चीजचाहिँ बाहिरकै मूल्यमा एयरपोर्टभित्र पनि पाइँदो रहेछ ।’ अनुभवीले पत्याएनन् । सोचे, गमे र भने — ‘अहँ, असम्भव ! कुनै पनि चीज छँदै छैन ।’ केही रुपियाँ बाजी थापेर एकपटक मात्र यात्रा गर्ने मित्रले भने — ‘त्यो वस्तु हो दैनिक अखबार । अखबारको चाहिँ एउटै मूल्य हुँदो रहेछ नि मित्र !’ बारम्बार यात्रा गर्ने मित्र अवाक् भएछन् । झस्के — ‘हो त नि !’ दृष्टि हुनु र दृष्टिकोण पनि हुनुको यो पनि एउटा उदाहरण हुन सक्छ ।
    वस्तुलाई हेर्ने र परख गर्ने आ–आफ्नै दृष्टिकोण हुन सक्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवनी पढ्ने द्ई पाठकमध्ये एउटाले काव्यकारिताको अनुसरण गर्छ भने अर्कोले देवकोटाले झैँ चुरोट खान सिक्छ रे ! त्यस्तै, श्रीकृष्णको चरित्र पढेर कोही निष्काम कर्मयोगी, ज्ञानी र भक्त हुन सक्छ भने कोही बहुविवाह उचित रहेछ भनेर २–४ श्रीमती थप्न पनि सक्छ ।
    यी दृष्टान्तहरू दृष्टिवान् मनुवाहरूको दृष्टिकोण कस्तो हुन सक्छ, कस्तो हुनुपर्छ भन्ने कुराका सन्दर्भमा मननीय हुन सक्छन्् ।

    कर्मचारीको नियत विकासविरोधी
    — रामचन्द्र हुमागाईं

    वैशाख ४ गते । कार्यान्वयनमा नआए पनि हिजोआज निकै चर्चामा रहेको माक्र्सवादमाथि शङ्का उत्पन्न हुन थालेको छ, ‘यो कतै ट्रमवाद र मोदीवाद त हुने होइन ?’ सत्तारुढ एमालेका उपमहासचिव घनश्याम भुसालले एउटा कार्यक्रममै भनिदिए, ‘अब माक्र्सवाद ट्रमवाद र मोदीवाद हुने त होइन ?’ अर्धसामन्तवादमा रुमलिएको नेपालभन्दा अलि फरक ढंगले चलिरहेको उत्तर कोरिया पनि सुस्तसुस्त ट्रमवादमा लस्किइरहेका वेला यो सवाल उठ्नु स्वाभाबिकै हो । तर जनताको जीवनस्तर एक इन्च पनि नउठिरहेका वेला सामन्तवाद र अर्धसामन्तवादको घेराभित्र उभिएर माक्र्सवाद भट्याइरहनुको अर्को अर्थ के नै रहन्छ र ? देशभक्तिले ग्रसित हुनेहरूले सोच्ने वेला आएन र ?
    वैशाख ५ गते । हिजोआज यातायात व्यवसायीहरूको सिन्डिकेटका विषयमा व्यवसायी र सरकारबीच निकै घम्साघम्सी चलेको छ । साँढेलाई फसल भित्र्याउने वेलामा बालीमा छोड्यो भने के गर्छ ? त्यही गरिरहेका छन् यातायात व्यवसायीहरूले । विगतको सरकारले गरेको मोनोपोलीमा रमाएका यी व्यवसायी यतिवेलाको सरकारी ऐठन सहन सकिरहेका छैनन् । सहुन् पनि कसरी ? राजश्वसमेत नतिरी सरकारले निर्माण गरिदिएको सडकमा गाडी गुडाएर आम्दानी हसुर्न पल्किएका व्यवसायीमा छट्पटाहट हुने नै भयो । यति वेला सरकारले जुन कदम चालेको छ, त्यो कदम अत्यन्तै राम्रो छ । खलासीले यात्रुलाई हप्काउँदै हिड्ने संस्कारको पनि एकैचोटी अन्त्य हुनु राम्रो हो तर विगतको इतिहास नदोहोरिएला भन्ने कुरामा शंकै छ ।
    वैशाख ६ गते । अस्ति वैशाख २ गतेदेखि प्रधानमन्त्रीदेखि प्रान्तका मुख्यमन्त्रीसम्मले अभिभावत्व ग्रहण गर्दै केही गरिब विद्यार्थीलाई विद्यालयमा भर्ना गर्दै हिँडेको समाचारले पत्रिकाका पन्ना भरिएको देखिन थालिएको छ । तर राज्यसत्ताको नेतृत्व गरिरहेका नेताहरूका लागि सबै देशवासीको आफ्नै अभिभावकत्व ग्रहण गर्नुपर्ने होइन र !
    वैशाख ७ गते । मुलुक संघीयतामा गयो । यो संघीयता देशले थाम्छ कि थाम्दैन ! थाम्छु भन्नेहरू नै जानुन्, तर प्रदेश नं. ३ को राजधानी हेटौंडामा राखेकोमा कसैले पनि त्यति चासो राखेको पाँइदैन । प्रदेश नं. तीन र मकवानपुरको हेटौंडा कहाँ मधेशको चुरेभावर कहाँ रसुवाको हिमाली पहाड र सिन्धुपाल्चोका गाउँहरू ! हो, प्रान्तीय राजधानी राख्ता त्यो ठाउँको बिकास त होला तर हिमाली भेगमा बस्ने नागरिक प्रान्तको राजधानी जान तीन दिन लाग्ने हुँदा ती नागरिकले कसरी प्रान्तिय देशको महशुस गर्लान् ? एकपटक प्रान्तको नक्सांकन गर्ने विद्वान् मित्रहरूले सोच्ने कि ?
    वैशाख ८ गते । महालेखा परीक्षकको कार्यालयले यो वर्षको लेखापरीक्षणको प्रतिवेदन राष्ट्रपतिलाई बुझायो । यस्तो प्रतिवेदन बुझ्ने र बुझाउने प्रक्रिया पुरानै हो तर प्रतिवेदनमा उल्लेख गरिएको वेरुजुको डंगुर कहिले सफा हुने हो, यो मात्रै चिन्ताको विषय हो ।
    वैशाख ९ गते । असारे विकासको मौसम सुरु भैसकेको छ । जति अर्ति दियो उति प्वाल देख्ने निजामती कर्मचारीले बिगका वर्षमा झैं यो वर्ष पनि समयमा काम नगरेरर आर्थिक वर्षको अन्त्यमा वजेट मात्रै सिध्याउने योजना बुनिरहेका छन् । दैनिक एक अर्ब खर्च गर्दा पनि असार मसान्तभित्र नसकिने बजेटको दुरुपयोगभित्र पनि वेरुजुका डंगुर लाग्छन् । यस्तो समस्याको समाधान खोज्न अर्थशास्त्रीहरू किन सक्तैनन् ?
    वैशाख १० गते । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली चीनको भ्रमण सकेर स्वदेश फर्किएका छन् । प्रधानमन्त्रीको भारत भ्रमणपछि लगत्तै चीन पुगेका ज्ञवालीको भव्य स्वागत गर्दै चीनले नेपालको विकासमा सघाउने प्रतिबद्धता व्यक्त गरेको छ । तर त्यो प्रतिबद्धताको पछि लागेर सच्चाइमा रुपान्तरण गर्ने क्षमता नेपालीसँग छैन । किनकि मित्रशक्ति र शत्रुशक्ति को हो भनेर छुट्याउने दिमाग नेपालमा छैन । केही निजामती कर्मचारीले दुतावासबाट तलव भत्ता खाएका हुन्छन् र उनीहरूकै मुलाहिजामा लाग्छन् । यो पनि एउटा विकासविरोधी संस्कार हो ।

    यसरी गरौं विकास
    — रानी शर्मा तिवारी

    झापादेखि कन्चनपुरसम्मका २२ जिल्ला मधेशी–थारूहरूको आदिभूमि कसरी नेपालको हिस्सा भयो, त्यसमा फरक विचार र तर्क भए पनि पूर्वाधार विकास र सामाजिक विकासको सवालमा मधेशमाथि विभेद भएकोमा दुई मत देखिँदैन । पञ्चायती व्यवस्थामा निर्माण गरिएको महेन्द्र राजमार्ग मधेशका मुख्य वस्तीलाई अपायक ढंगबाट निर्माण गरियो र मधेशको प्राकृतिक श्रोत वनविनासको विधिवत शुरूवात गरियो । कैयौं स्थानमा व्यवस्थित वस्ती विकास र सुकुम्बासी व्यवस्थापनको नाममा वनजंगल फडानीलाई राज्यले निरन्तरता दिइरह्यो । महेन्द्र राजमार्गबाट मधेशका जिल्ला सदरमुकाम जोड्न निर्माण गरिएका पक्की सडकहरू प्रजातन्त्र स्थापनापछि मर्मत सम्भारको अभावमा धुले सडकमा परिणत भए । नयाँ पक्की सडक थपिने कुरै भएन । मधेशमा पञ्चायत र राणाकालमा निर्माण भएका भौतिक संरचना मर्मत सम्भारको अभावमा जिर्ण भएका छन् । मधेशप्रति असहिष्णु भनेर प्रचार गरिएको राणा र शाहवंशीय शासनमा मधेशमा निर्माण गरिएको मधेशका मुख्य शहर र वस्ती जोड्ने हुलाकी राजमार्गलाई पक्की बनाउने भनी २०१५ सालमा शिलान्यास गरिएको भए पनि हाल कछुवा गतीमा काम बढेको छ । ३० वर्षे पञ्चायती व्यवस्थाभरी पूर्वाग्रहका कारण निर्माण नगरिएको भनी प्रचार गर्ने लोकतन्त्रवादीहरूले २७ वर्षको प्रजातान्त्रिक–लोकतान्त्रिक व्यवस्थामा हुलाकी राजमार्ग किन निर्माण भएन भन्ने कुराको जवाब दिन जरूरी ठानेका छैनन् । प्रजातन्त्र वा लोकतन्त्रमा देशको विकास नभएको होइन । विगत २७ वर्षमा राम्रो घोरेटो बाटो नभएका पहाडी तथा दुर्गम जिल्लाहरूमा मोटरबाटो पुगेको छ । निर्माणाधीन मध्यपहाडी राजमार्गले मध्यपहाडी भेगमा आर्थिक चहलपहल बढिरहेको छ ।
    पञ्चायती व्यवस्थामा राजनीतिक र सांस्कृतिक रूपमा मधेशलाई पूर्ण रूपमा दरकिनार गरिए पनि केही मात्रामा विकास निर्माणका काम र सरकारी संयन्त्रमा हिस्सेदारी दिइएको थियो । तर विगत २७ वर्षको र पंचायतभन्दा अगाडिको १० बर्षको प्रजातन्त्र र लोकतन्त्रमा मधेशले ठुला आन्दोलनको भरमा राजनीतिक र सांस्कृतिक अधिकार केही हदसम्म प्राप्त गरे पनि विकास निर्माणको सवालमा मधेशलाई पुरै नजरअन्दाज गरियो । राज्यले मधेशप्रति गरेको विभेद न्युनीकरण गर्न र मधेशीलाई अपनत्व महशुस गराउन संस्थागत रूपमा २०१५ सालदेखि मधेशबाट उठेको संघियताको मागले आन्दोलनका विभिन्न चरण र रूप पार गर्दै गएपछि २०७२ सालमा जारी भएको नेपालको संविधानले संघियतालाई मुर्त रूप दियो । तर मधेशले माग गरेझैं मधेश भुमीलाई मात्र समेटेर १ वा बढीमा २ प्रदेश बनाउनुको सट्टा मधेशको सप्तरीदेखि पर्सासम्मको मधेशका ८ जिल्ला समेटेर प्रदेश नं २ बनाइयो । मधेशका बाँकी जिल्लाहरूलाई प्रदेश नं १, ३, ५, ६ र ७ मा राखियो । यसबाट मधेशका जिल्लाहरू ती प्रदेशभित्र अल्पमतमा परेका छन् ।
    अल्पमतको रूपमा विभिन्न प्रदेशको हिस्सा बनाइएका मधेशका जिल्लाहरूको आर्थिक, भौतिक, सामाजिक, सांस्कृतिक विकासको गति केन्द्रिकृत राज्यमा भन्दा कम हुन सक्ने आशंका मधेशी समुदायमा छ । तर प्रदेश नं. २ मा रहेका जिल्लाहरूमा मधेशका जिल्लाहरूको आर्थिक, सामाजिक, साँस्कृतिक, विकासले गती लिने आशा पलाएको छ । केही व्यक्तिहरूले मधेश मात्र समेटेको प्रदेश निर्माण गरिनु हुँदैन भनेका थिए । तिनले प्रदेश नं. २ मा श्रोतसाधन कम भएकोले यो प्रदेशले समृद्धि हासिल गर्न नसक्ने तर्क गरिरहेका छन् । प्रदेश नं. २ मा मानव श्रोत, कृषियोग्य भुमीको उपलब्धता, औद्योगिक विकासको सम्भावना अन्य प्रदेशको तुलनामा बढी छ । निर्यातमुखि कृषिको विकास, औद्योगिकरणले यस प्रदेशलाई समृद्ध बनाउन सक्छ । यी कामका लागि दक्ष, अर्धदक्ष मानव श्रोतको उपलब्धता प्रशस्त छ । समथर भुमीका कारण पुर्वाधार विकास गर्न पनि सहज र सस्तो छ । पहाड–हिमालमा १०० किलोमिटर सडक बनाउन लाग्ने रकमले यस प्रदेशमा ५०० किलोमिटर सडक निर्माण गर्न सकिन्छ । आम्दानी कम हुने भनिएको प्रदेश नं. २ मा पूर्वाधार विकासमा खर्च कम गरे पुग्ने अवस्था छ । प्रदेशका गाउँनगरमा स्थानिय तहको निर्वाचनपछि पूर्वाधार विकासको गती पहाडी प्रदेशहरूका गाउँ नगरभन्दा बढी देखिएको छ । कारण हो सुगमता र कम खर्चमा हुने भौतिक निर्माण । गाउँपालिका र नगरपालिकाहरूले कर्मचारीतन्त्रबाट असहयोग व्यहोरेको र नयाँ संरचनाका कारण काम गर्न सहज हुन समय लागिरहेको गुनासो सुनिने गरेका छन् । अहिलेको स्थानिय सरकारको गतीलाई हेर्दा आगामी ५ वर्षमा प्रदेशका अधिकांश ग्रामीण÷नगर सडकहरू पक्की भईसक्ने अनुमान सहजै गर्न सकिन्छ । यसले कृषकको पहुँच बजारसम्म पु¥याउन सहज बनाउनेछ ।
    प्रदेश सरकार आप्mना लागि आवश्यक कानुन बनाउँदै गरेको अवस्थामा छ । विभिन्न विधेयकहरू प्रदेशसभामा पेश हुने र पास हुने क्रम जारी छ । प्रदेशका कानुनहरू बनेपछी प्रदेशले वास्तविक अर्थमा कामको थालनी गर्न सक्नेछ । तर प्रदेश सरकारले सामाजिक विकासका केही क्षेत्रमा सुधारका लागि केही कदम चाल्ने घोषणा गरिसकेको छ । केन्द्र सरकारले अगाडि सारेका हुलाकी सडक लगायतका सडकहरूको कामलाई इमान्दारीपुर्वक अगाडि बढाएमा आगामी ५ वर्षमा पक्की सडक संजाल मधेशभरी हुनेछ । प्रदेश सरकारले केन्द्र सरकारले निर्माण गरेका सडक÷राजमार्ग र स्थानिय सडकलाई जोड्ने लिङ्क रोडहरू बनाउने, सहर विकास गर्ने लगायतका भौतिक निर्माण सम्बन्धी कामहरू गर्नुपर्नेछ ।
    प्रदेश सरकारले भौतिक विकासमा अन्य प्रदेशको तुलनामा कम खर्च गरे पुग्छ । तर प्रदेशको दिर्घकालिन विकासका लागि मधेशको कृषिलाई आधुनिकिकरण गर्न जरूरी छ । टुक्रे र सिँचाई बिनाको खेतीले व्यवसायिकता पाउन सक्दैन । कृषिलाई निर्यातमुखी र आधुनिकिकरण गर्न खण्डिकृत रूपमा रहेको कृषिभुमीलाई चकलाबन्दी गर्ने र सिँचाईको व्यवस्था गर्ने कामलाई सँगै अगाडि बढाउनुपर्दछ । कृषी उपजको उच्चमुल्य प्राप्त गर्न अर्गानिक खेतीका लागि कृषकमा तालिम, प्रोत्साहन दिनु र अर्गानिक उत्पादनको सहज प्रमाणिकरणको व्यवस्था गर्नु आवश्यक हुन्छ । औद्योगिकरणका लागि उद्योगमैत्री वातावरण निर्माण हुनु आवश्यक छ । यसका लागि बन्द हडताल मुक्त माहौलको प्रत्याभुती हुनुपर्छ । कामदारको अधिकार सुनिश्चित गरिनैपर्छ, तर कुनै बहानामा उद्योगमा हडताल गर्ने परिपाटी प्रतिबन्धित गरिनुपर्छ । प्रदेश सरकारको अधिकार क्षेत्रमा भएको करमा समेत छुटको व्यवस्था गरी यस प्रदेशमा उद्योग संचालन गर्न चाहनेलाई प्रोत्साहन गरिनुपर्दछ । उद्योगहरूको सुरक्षाको लागि प्रदेश प्रहरीमा विशेष सेल बनाउनुपर्दछ । उद्योगहरूलाई निरन्तर उर्जा आपुर्तीको प्रत्याभुती गरिनुपर्दछ । यस प्रदेशमा रहेका जनकपुर, सिम्रौनगढ, सहलेश, गढीमाई, छिन्नमस्ता, जलेश्वरनाथ लगायत स्थानहरूको पर्यटकिय विकास गरी धार्मिक तथा सांस्कृतिक पर्यटनलाई प्रदेशको आयश्रोतको मुख्य आधारमध्ये एक बनाउन सकिन्छ । चुरे क्षेत्रलाई मानव वस्तीमुक्त गरी जङ्गलको रूपमा विकास गरिएमा यसले पर्यटनमा वृद्धि गर्नुका साथै मधेश भुमीलाई मरूभुमिकरणबाट बचाउनेछ ।
    कम श्रोत र सम्भावना देखिएको प्रदेश नं. २ मा योजनावद्ध रूपमा आन्तरिक श्रात साधनलाई उपयोग गरी अगाडि बढ्न सके यस प्रदेशलाई आगामी १० वर्षमा देशकै नमुना समृद्ध प्रदेशको रूपमा विकास गर्न सकिन्छ । यसले मधेशका जनताले देखेको सपना प्रदेश नं. २ का मधेशको जिल्लामा पुरा हुनेछ । (मधेश दर्पण फिचर सेवा)

    थपिँदैछन् चुनौती
    — डा. चिरञ्जीवी नेपाल

    सङ्घीयतामा साझा बजार बनाउने र मूल्य स्थिरता कायम गर्नुपर्ने चुनौती हुन्छ । नत्र यताका उता र एकतर्फका जनता अर्कोतर्फ जान्छन् । यसको मुख्य उद्देश्य प्रदेशले स्थानीय स्रोत–साधन सक्दो उपयोग गर्ने हो । यसबाट आम्दानी गरी केन्द्र सरकारलाई पनि दिने हो । केन्द्रसँगको सहकार्य नै सङ्घीयताको सोच हो । आम्दानी गर्न मनपरी वित्तीय संस्था खोल्न दिने भन्ने हुँदैन ।
    प्रदेश वा स्थानीय निकायले बनाउने बजेटले बैङ्क र वित्तीय क्षेत्रलाई असर गर्दैन । केन्द्रीय बैङ्कले जारी गर्ने मौद्रिक नीतिले नियमन गर्छ । अन्तर्राष्ट्रिय अभ्यास पनि यही हो । भारतमा रिजर्भ बैङ्क अफ इन्डियाले मौद्रिक नीति ल्याउँछ, थाइल्यान्डमा केन्द्रीय बैङ्कले ।
    प्रदेशले मौद्रिक नीति जारी गर्दैनन् । हरेक प्रदेशले आफ्नै हिसाबले यस्तो नीति ल्याउने हो भने केन्द्रीय बैङ्कको भूमिका हुँदैन । प्रदेशले बजेट बनाउँदा केन्द्रीय बैङ्कले जारी गरेको मौद्रिक नीतिसँग मिल्नुपर्छ । राष्ट्र बैङ्कको प्रत्यक्ष सम्बन्ध केन्द्र सरकारसँग हुन्छ । सरकारले आर्थिक नीति ल्याएपछि मौद्रिक नीति जारी हुन्छ । त्यसपछि प्रदेश र स्थानीय निकायले आफ्नो बजेट बनाउँदा सोही नीति अवलम्बन गर्नुपर्छ । केन्द्रीय बैङ्कले गर्ने नियमन अभ्यास संसारको कुनै पनि सङ्घीय संरचनाले असर गरेको छैन ।
    केन्द्र र प्रदेश सरकारबीच निश्चित आर्थिक तथा वित्तीय मुद्दामा केही समझदारी पक्कै हुन्छ । प्रदेश भन्नासाथ स्वविवेकले काम गर्ने भन्ने हुँदैन । निश्चित आचारसंहितामा रहेर काम गर्ने वा बजेट बनाउने हो । बजेट कार्यान्वयन गर्न आवश्यक राजस्व सङ्कलन गर्ने हो । बढी भए केन्द्र सरकारलाई दिनुपर्छ । केन्द्रको अनुदानबाट सङ्घीयता चल्दैन भन्ने प्रस्ट हुनुपर्छ । प्राप्त अधिकारअनुसार स्रोत सिर्जना गरेर आफ्नो क्षेत्र सम्पन्न बनाउने हो । केन्द्रबाट अनुदान माग्ने होइन ।
    भारतमा केही प्रान्तमा ‘फिस्कल ट्रान्सफर’ का रूपमा थोरै अनुदान दिइएको हुन्छ । विहार र उत्तरप्रदेशमा विपन्न वर्गलाई माथि उठाउन शिक्षा, स्वास्थ्य र गरिबी निवारणमा केन्द्र सरकारले रकम दिन्छ । यस्तो अनुदानमा विवाद र बहस भइरहन्छ । विवाद भए पनि त्यहाँ सन्तुलन कायम गरिएको छ । अरू देश प्रान्त वा स्थानीय एकाइकै आम्दानीले सम्पन्न छन् । निश्चित समयसम्म केन्द्रले सहयोग गर्ला तर दुई–चार वर्षपछि यो धान्नै नसक्ने हुन्छ । यही कारण संसारका धेरै देशमा सङ्घीयता अघि बढेको छैन । मुस्किलले ४–५ देशमा मात्र वास्तविक रूपमा सङ्घीयता कार्यान्वयन भएको छ । अमेरिका, बेल्जियम, स्विट्जरल्याण्ड, जर्मनी लगायतका देश मात्रै पूर्ण सङ्घीयता कार्यान्वयनमा सफल भएका छन् । दर्जनौँ देशमा सङ्घीय प्रणालीअनुसार प्रदेश र सङ्घ छन् तर केन्द्रको सहयोगमा चलेका छन् । अत्यन्त गरिब देश टुक्रिएका पनि छन् । आर्थिक स्थायित्व र साझा बजारमा असर नपरोस् भनेर मैले सङ्घीय संरचना उत्तर–दक्षिण मिलाएर गर्नुपर्छ भनेको थिएँ । नेपालका १ सय ५९ नाका दक्षिणतिर छन्, १६ नाका उत्तरतिर । दक्षिणबाट ९९ प्रतिशत आयात र निर्यात हुन्छ । उत्तरबाट १ प्रतिशत मात्रै आयात–निर्यात हुन्छ । दक्षिण छुने प्रदेश भएन र प्रदेश छुट्टै परे भने समस्या हुन्छ । अहिले सबैभन्दा प्रभावकारी ३ नम्बर प्रदेश हो । यो उत्तरदेखि दक्षिणसम्म जोडिएको छ । आयात–निर्यात उत्तर र दक्षिण दुवैबाट गर्ने सुविधा छ ।
    मानांै एउटा प्रदेशले सामान आयात गरेर निश्चित स्थानीय कर लगाउँछ । बीचको प्रदेशले पनि कर लगायो भने उत्तरतर्फका प्रदेशबासीमा चर्को मूल्यको चाप पर्छ । यस्तो अवस्थामा उत्तरका बासिन्दा अर्कोेतर्फ सर्न सक्छन्, कि सरकारले सधैँ अनुदान दिनुपर्छ । जनता जहाँ फाइदा हुन्छ, उद्योग–व्यवसाय जहाँ सजिलो छ, त्यहीँ जाने हुन् । भारत उत्तराञ्चल तथा गुजरातमा धेरै उद्योग खुल्नुको कारण सरकारले बढी सुविधा दिएर हो । प्रदेशबीच प्रतिस्पर्धा छ । तर यस्तो प्रतिस्पर्धाले विकृति जन्माउन सक्छ । उत्तर–दक्षिण जोड्ने गरी सङ्घीयता बनाउनुपथ्र्यो । त्यो भएन । यद्यपि ३ नम्बर प्रदेश यही आधारमा बनाइएको छ । उत्तर–दक्षिण नाका नछुने प्रदेशमा असहज हुन सक्छ । स्थानीय स्रोत–साधनको उपयोग बढ्यो भने नहुन पनि सक्छ । सरकारले आर्थिक विकासमा सहयोग गर्दै अघि बढे उत्पन्न समस्या समाधान हुन सक्छ । यद्यपि सङ्घीयतामा केन्द्रीय बैङ्कलाई समग्र आर्थिक स्थायित्व, साझा बजार र मूल्य स्थिरता कायम गर्न चुनौती हुनेछ ।
    पैसा तल्लो तहमा गएर खर्च हुन थाल्छ । तर साधन–स्रोत छैन । विकास निर्माणमा सिमेन्टदेखि अन्य सामग्रीको खपत बढ्छ । योसँगै आयात पनि बढ्छ । आयात बढ्दै गयो भने चुनौती थपिँदै जान्छ । प्रदेश र स्थानीय तहमा नयाँ–नयाँ निर्माणका काम बढ्छन् । साथै आयात बढ्छ । यसले स्थानीय उत्पादन घट्दै जान्छ र अप्ठ्यारो परिस्थिति सिर्जना हुन सक्छ । सङ्घीयतामा आफ्नो ठाउँ आफैँ बनाउँछौं भन्ने सङ्कल्प जनप्रतिनिधिमा हुनु जरुरी छ । केन्द्रको आस गर्नु हुँदैन । केन्द्रीय बैङ्कको भूमिका पनि यही हुन्छ ।
    सङ्घीयतामा केन्द्रीय बैङ्कको भूमिकाबारे एउटा कमिटीले काम गरिरहेको छ । यसमा श्रीलंकन परामर्शदाताले सघाएको छ । सात प्रदेशमध्ये केन्द्रमा बाहेक कार्यकारी निर्देशकसहित केही कर्मचारी राख्ने भन्ने योजना हो । सहज भुक्तानी र मुद्राको काम गराउन सक्ने गरी काम गर्छौं ।
    बैङ्क नपुगेका ठाउँमा तिनका शाखा पठाउने काम पनि केन्द्रीय बैङ्कले गर्छ । अहिले पनि शाखा खोल्न अनुदान दिएर वित्तीय संस्थालाई प्रोत्साहन गरिएको छ । सङ्घीयतामा वित्तीय क्षेत्रमा नयाँ सोच र प्रयोग आउन सक्छन् । राम्रोको कार्यान्वयन र नराम्रोलाई नियन्त्रण गर्नुपर्ने हुन्छ । (सेजनको अर्थनीतिबाट)

    सुइरो रोपेर मान्छे मार्ने ठाउँमा
    — पोष चापागाईं

    (नियात्राकार पोष चापागाईंको ‘परदेश’ नामक प्रकाशोन्मुख नियात्रासङ्ग्रहको ‘भियतनाम’ खण्डबाट यस स्तम्भमा धारावाहिक प्रकाशन गरिएको हो — सम्पादक)
    म छु टनेलनजिकै । छैन म । सँगै छ परिवार । सबै रमाएका छन् । छैन म रमाएको । हाँस्नु त के, रुन पनि सक्तिनँ म । भियतनाम युद्ध सम्झिँदा झर्न आँटेको पानी भएका छन् मेरा आँखा । युद्ध किन ? सुरुङ किन ? शक्तिको फुर्ति । हिन्दचीनमा साम्यवाद आए संसारै डगमगाउँछ भन्ने अमेरिकी राष्ट्रपतिहरूको तुजुक । कसरी पाए हुन् यिनले मान्छे मार्ने अधिकार ?
    मनमा कुरा खेल्दै थिए मेरा । ऊ हिँड्यो । हामी उसको पछि लाग्यौं । एकैछिनमा ऊ टक्क अडियो । किन उभियो ? सबैले ऊतिर हे¥यौँ । उसले दुबो भएको चउरमा लौराको टुप्पोले थिच्यो । देख्तादेख्तै दुबो चउर त माथि पो उठ्यो । आयो माथि । हरियो त्यो चउरभित्रको खाल्डोमा फलामका तिखा डन्डीहरू गाडेका रहेछन् । खाल्डोभित्र कटकटिएको पुरानो रगतको बाछिटाजस्तो देखिन्थ्यो । शत्रुलाई च्याप्प समायो । फुत्त खाल्डोमा फाल्यो । फलामको तिखा सुइरामा परेर ऊ भुतुक्कै । पछि खाडल बन्द ग¥यो । जस्ताको तस्तै । शून्य मानवता । घृणित जीवन । अनैसर्गिकता । युद्धकाल ।
    एकछिन हिँडेर अर्काे ठाउँमा ऊ अडियो टक्क । भन्यो — ‘यो युद्धमा घाइते भएकाहरूलाई उपचार गर्ने ठाउँ हो ।’ मान्छेले बोकेर ल्याएको त्यो सैनिक घाइते भएको छ । डाक्टर, नर्स उसलाई उपचार गर्दैछन् ।
    भरखरै भएको जस्तो लाग्छ हेर्दा । जमिनभन्दा ३–४ फिट तल खाल्डोमा देखाउँदै फेरि भन्यो — ‘त्यहाँ युद्धकालमा उपचार हुन्थ्यो घाइतेको ।’
    गइरह्यौँ । पात झरेको बाहेक छैन आवाज कसैको । फेरि ऊ उभियो । हामी पनि उभियौँ । अब ? प्वालतिर देखाउँदै भन्यो — ‘भित्र पस्नुस् । दस मिनेट लाग्छ । अँध्यारो छ । नडराउनुस् । गइरहनुस् । हामी पर गएर बस्छौँ ।’
    सुन्नेबित्तिकै प्वालभित्र पसि त गो गोरे ! ऊसँगै अरू पनि पसे । एक–दुईजना मजस्ता लुरुलुरु हिँडेर पर पुग्यौँ । अडिँदै उसले भन्यो — ‘भित्र पसेकाहरू यहीँ निस्किन्छन् ।’
    नभन्दै एकैछिनमा साथीहरू त्यहाँ निस्किए । भरखर बाहिर आएको साथीलाई सोधेँ — ‘भित्र कस्तो रहेछ ?’
    ‘कस्तो हुनु नि ! दुलो । मान्छे नअट्ने दुलो । मरेर छिर्न सकिने । युद्धकालमा त त्यस्तो सानो प्वालमा पनि भ्वाक्क–भ्वाक्क माटो झरेर प्वालै पुर्लाजस्तो हुन्थ्यो रे ! अचेलचाहिँ सिमेन्ट पोतपात गरेर अलि राम्रो पारेको रहेछ । तर छिर्न हम्मे–हम्मे । विशेष गरेर यहाँ द्वन्द्वकालमा सिपाहीहरू बन्दुकसहित लुक्थे रे ! वीर योद्धा लुक्ने अन्डरग्राउन्ड होला ।’ कुरा सुनेपछि पसौँ–पसौँ, हेरौँ–हेरौँ लाग्यो तर आँट आएन ।
    म एकोहोरो हेरिरहन्छु वनतिर । खाल्डोतिर । इतिहासतिर । मान्छेका चर्तिकलातिर । शक्तिशाली भनाउँदाहरूका घीनलाग्दा फुर्तिहरूतिर ।
    मौन छन् सबै रूख । छैन चिर्बिराहट चराचुरुङ्गीको । मौन छ प्रकृति । हाम्रो नजिकै रूखको बीचबाट झरेर भुइँभरि छरिएका छन् सूर्य । म मुर्दा शान्ति देखेर छक्क पर्छु ।

    २०७५ सालका सबैभन्दा उत्तम दिन
    — कविप्रसाद प्याकुरेल

    ‘मुहूर्त’ को लाक्षणिक अर्थ शुभ कार्यका लागि उपयुक्त शुभ समय हो । हामी कुनै पनि विशिष्ट कार्य शुभारम्भ गर्नुपूर्व मुहूर्त हेर्ने गर्छौँ । कुनैकुनै मुहूर्त सदासर्वदा शुभ हुन्छन् । हिन्दू तिथिअनुसार वर्षमा साढे तीन दिन सर्वाधिक शुभ मुहूर्त मानिएका छन् । यस वर्ष २०७५ मा ती दिनहरू हुन् — वैशाख शुक्ल बुध तृतीया (अक्षय तृतीया) वैशाख ५ गते, आश्विन शुक्ल भृगु दशमी (विजया दशमी) कार्तिक २ गते, कार्तिक शुक्ल गुरु प्रतिपदा (नेपाल संवत् ११४० शुभारम्भ) कार्तिक २२ गते र चैत्र शुक्ल शनि प्रतिपदा चैत्र २३ गते ।
    उपर्युक्त चार मुहूर्त स्वयंसिद्ध मुहूर्त मानिएका छन् । यी दिनमा शुभ कार्य आरम्भका लागि घडीपला जुराइराख्नुपर्दैन । भारत र नेपालमा लोकाचार देशाचार अनुसार निम्न तिथि पनि स्वयंसिद्ध मुहूर्त मानिएका छन् — आषाढ शुक्ल शनि नवमी श्रावण ५ गते, कार्तिक शुक्ल सोम एकादशी (हरिबोधिनी एकादशी) मङ्सिर ३ गते, माघ शुक्ल रवि पञ्चमी (वसन्त पञ्चमी) माघ २७ गते र फाल्गुण शुक्ल भृगु द्वितीया फागुन २४ गते ।
    उल्लिखित तिथिमा कुनै पनि शुभ कार्यका लागि पञ्चाङ्गकर्ता, विशेषज्ञ, ज्योतिषी र पञ्चाङ्गको आवश्यकता छैन । परन्तु विवाह, व्रतबन्ध इत्यादि गर्नुप¥यो भने ज्योतिषी वा पञ्चाङ्गकै मुहूर्त स्वीकार गर्नु श्रेयष्कर हुन्छ ।
    हिन्दू संस्कृतिमा अक्षय तृतीयामा गरिएका शुभ कर्मका फल अक्षय रूपमा पाइन्छ । परशुराम प्रादुर्भाव भएको यसै दिनबाट त्रेता युग सुरु भएको मानिन्छ । शिवपार्वतीको विवाह पनि यसै दिन भएको हो । भगवान वेदव्यासले यसै दिन गणपतिलाई महाभारत लेख्न लगाएका हुन् । यो कृति विश्व साहित्यको आजसम्मको सबैभन्दा विशाल ग्रन्थ हो । यस दिन नव गृह प्रवेश, पदबहाली, विवाह र सुनका गरगहना धारण गर्दा शुभ हुन्छ । भूमि तथा वाहनको क्रय, विक्रय र यस्ता सामग्रीको व्यापार व्यवसाय सुरु गर्न पनि यो दिन शुभ मानिन्छ । वैदिक ज्योतिष अनुसार सूर्य सबै ग्रहका राजा हुन् । सम्पूर्ण चराचर प्राणीका जीवन दायिनी आत्मा सूर्य नै हुन् । रोग प्रतिरोधी शक्ति, नेत्र चिकित्सा, वीर्य कन्दुर्य शक्ति, नेतृत्व शक्ति आदि सूर्य उपासनाद्वारा नै प्राप्त गर्न सकिन्छ । सूर्य आत्मा हो भने चन्द्रमा मन हो । वृष राशिमा चन्द्रमाको प्रभाव उच्च हुन्छ । अक्षय तृतीयामा सूर्य र चन्द्र दुबै उच्च राशिमा हुन्छन् । अतः यस दिन सर्वसिद्धि योग कारक रहन्छ । अक्षय तृतीयमा भएका जपतप, पितृ दर्पण श्राद्ध, पुण्य स्नान आदि सदैव अक्षय रहन्छन् । साथै, दाता पनि स्वर्गलोक पुग्छन् भन्ने विश्वास छ ।
    त्रेतायुगमा विजया दशमी पर्वका दिन ज्ञानी र सत्यात्मा भगवान् श्रीरामले क्रोध कलिरूपी रावणको संहारपछि विजय महोत्सव सुरु गर्नुभएको हो । पुराणमा यो पनि उल्लेख छ कि देवराज इन्द्रले यसै दिन महादानव वृत्रासुरमाथि विजय प्राप्त गरेका थिए । पाँच पाण्डवले यसै दिन द्रौपदी वरण गरेर ल्याएका थिए । महाभारत युद्धको आरम्भ पनि यसै दिन भएको हो । आश्विन शुक्ल दशमीमा तारा उदय हुँदाको समय विजय मुहूर्त हो । ज्येष्ठ शुक्ल दशमीलाई पनि विजया दशमीका रूपमा मनाइन्छ । यसको अर्को नाम दशहरा पनि हो । विजय पुरुषार्थको इच्छा गर्ने व्यक्तिले भगवती विजयाको पूजा गरेर यात्रा प्रारम्भ गर्नुपर्दछ ।
    चैत्र शुक्ल प्रतिपदाबाट नयाँ वर्ष सुरु हुन्छ । ब्रह्माजीले यसै दिन सृष्टिको शुभारम्भ गरेको मानिन्छ । साथै सत्य युगको सुरुवात पनि यसै दिन भएको हो । यस दिनसँग कल्पादि सृष्ट्यादिको प्राचीनता पनि जोडिएको छ । सृष्टिको गणना पनि यसै दिन सुरु हुन्छ । यस दिन स्नान, दान र निराहार व्रत गर्नाले आयु आरोग्य वृद्धि हुन्छ । यस दिन रोपेका विरुवा तथा वृक्ष स्वादिला र आरोग्यदायक हुन्छन् ।
    नेपाल संवत् शुभारम्भमा आधा दिनको मुहूर्त उत्तम छ । हाम्रो नेपालको नेवार समुदायजस्तै भारतको गुजराती समुदायले पनि यो दिनलाई नववर्ष महोत्सवका रूपमा मनाउँछन् । गोवर्धन पूजा, अन्नकट पूजा, विश्वकर्मा दिवस, बलि प्रतिपदा आदि विभिन्न नामले पनि यो पर्व प्रख्यात छ । पौराणिक मान्यता अनुसार भगवान् वामन विष्णुले यसै दिन दैत्यराज बलिलाई तिन पाउ पृथ्वी दान दिएर पाताल पठाउनुभएको हो । कृष्ण भगवान्ले सनातनदेखि सञ्चालनमा आएको इन्द्र पूजा समाप्त गरी गोवर्धन पूजाको शुभारम्भ यसै दिन गरेको मानिन्छ । यस दिन प्रातः कालमा घरको मूल द्वारमा गाईको गोबरले पर्वत बनाई, मिठाई सेल आदि चढाई पूजा गर्ने चलन छ । गाई, गोरु, हली पनि यो पर्वमा सम्मानित हुन्छन् ।

    नयाँ सम्प्रदायको जन्म
    — मुकुन्दप्रसाद उपाध्याय

    सनातन वैदिक धर्मको एउटा विशेषता अवतारवाद हो, जसका कारणले पुनर्जन्मको सिद्धान्त बलियो भएको हो । तर अवतारवादले सम्प्रदायवादलाई जन्म दियो । सम्प्रदायवादसम्म त ठिकै हो, तर जब सम्प्रदायवादभित्र अतिवादले प्रवेश गर्छ, धार्मिक कट्टरता, असहिष्णुता, जातिवाद, छुवाछुत आदिले पनि प्रवेश गर्छन्, तब विधर्मी–अधर्मीहरू सलबलाउन थाल्छन्, जबर्जस्ती इस्लामीकरण, इसाईकरण बढ्न थाल्छ । यसरी सम्प्रदायवादको चरमोत्कर्षमा अतिवादी चिन्तन बढ्न थालेपछि दिव्य महापुरुषहरूले जन्म लिने गर्दछन् । उनीहरूलाई विधिले, ब्रह्मले, ईश्वरले धार्मिक समन्वय र सामन्जस्यताका लागि धर्तीमा पठाएको हुन्छ । उनीहरूको जीवन, चरित्र र दिव्य वाणीहरूले समन्वय हुन्छ पनि । तर साथै कालान्तरमा फेरि एउटा नयाँ सम्प्रदायको पनि जन्म हुन्छ । बुद्ध, महावीर, आद्यगुरु शङ्कराचार्य, गुरु गोविन्दसिंह, चैतन्य महाप्रभु, गुरु गोरखनाथ, महामति प्राणनाथ आदिलाई पनि यसै सन्दर्भमा बुझ्नुपर्ने हुन्छ ।
    महामति प्राणनाथको प्राकट्यपूर्वको स्थितिचाहिँ द्विपक्षीय धार्मिक अतिवादको सट्टा त्रिपक्षीय धार्मिक विस्तारवादको थियो । परम्परागत राजा–महाराजाहरूले हिन्दू कट्टरतालाई प्रश्रय दिइरहेका थिए भने मुस्लिम बादशाह औरङ्गजेब आदिले इस्लामिक कट्टरतालाई प्रश्रय दिइरहेका थिए अनि मध्यपश्चिमबाट इसाई धर्मावलम्बी मिसनरीहरू व्यापक रूपमा पूर्वतिर प्रवेश गरिरहेको अवस्था थियो । त्यो बेला महामति प्राणनाथले तीनै धर्मका बीच कहाँ सामन्जस्यता छ, कहाँ–कहाँ समन्वय हुन सक्छ भन्ने कुरा पत्ता लगाई धार्मिक कट्टरता र रुढिवादका विरुद्ध बिगुल फुके । उनी सफल पनि भए । उनका दिव्य वाणीहरू प्रणामी सम्प्रदायमा वैदिक साहित्यिक सामग्री बनेका छन् । उनको प्राकट्यपछि निजानन्द सम्प्रदाय श्रीकृष्णप्रणामी सम्प्रदायमा रूपान्तरित भयो ।
    अब यहाँनेर एउटा प्रश्न उत्पन्न हुन्छ । धार्मिक सामन्जस्यता, धार्मिक सहिष्णुता वा भनौँ राम्रो गरी धर्मस्थापनार्थ भगवान्ले बेलाबखत अवतार दिनुहुन्छ । अनि हामी मनुष्यहरू, पण्डितहरू, भक्तहरू, अनुयायीहरूले चाहिँ उहाँहरूको जन्म, कर्म र नामबाट नयाँ धर्म वा नयाँ सम्प्रदायको विकास गरिदिन्छौँ । यसरी हुने विकास के वास्तवमा ईश्वरकै इच्छा, अनुकम्पा वा कृपाबाट भएको हो वा हामी मनुष्यहरूको मति, हठ वा मुण्डानुसारको दृष्टिबाट भएको हो, यस विषयमा भने आध्यात्मिक क्षेत्रका विद्यार्थीहरूले गहन अध्ययन र विश्लेषण गर्नु जरुरी छ ।
    गौतम बुद्धको जन्म पनि धार्मिक अतिवादलाई निस्तेज गरी धार्मिक सामन्जस्यता र सहिष्णुताका लागि भएको हो । उनको कर्म र उनको योगदान नै मध्यम मार्ग थियो । तर बुद्धको शेषपछि स्वयं बुद्धले नचाहेको, नसोचेको बौद्धदर्शन बौद्धधर्ममा रूपान्तरण भयो । त्यतिले मात्र नपुगी सायद तृतीय बौद्ध सम्मेलनपछि हीनयान र महायान सम्प्रदायमा विभक्त भयो अनि धेरै पछि हिन्दूधर्ममा मौलाएको तन्त्रको प्रभावले महायानमा अर्को नयाँ सम्प्रदायको जन्म हुन पुग्यो ।
    त्यस्तै, गौतम बुद्धकै समकालीन महावीर जैनले पनि सोचेका थिएनन् होला कि उनको दृष्टि र दर्शनले सनातन वैदिक धर्मभित्रै, ॐकार परिवारभित्रै एउटा नयाँ सम्प्रदायको रूप लेला अनि त्यतिले मात्र नपुगेर पछि जैन सम्प्रदायमा श्वेताम्बरी र दिगम्बरी दुई सम्प्रदायको विकास होला भनेर । अन्ततः काठमाडौँमा नै एकै टोल ज्ञानेश्वरमा दुईवटा जैनमन्दिर÷भवन बनाउनुप¥यो ।
    त्यसरी नै शैवधर्मअन्तर्गत नाथ सम्प्रदायमा भगवान् विष्णुका अंशावतार माछाको नेत्रबाट मत्स्येन्द्रनाथको प्राकट्य भयो भने स्वयं शिवांश रूपमा गोबरको थुप्रोबाट गुरु गोरक्षनाथको प्राकट्य भयो । तर पछि मल्ल राजाहरूको पालामा आएर मत्स्येन्द्रनाथलाई नै हामीले विभक्त गरिदियौँ र दुईथरि जात्रा चलायौँ रातो मत्स्येन्द्रनाथको जात्रा अनि सेतो मत्स्येन्द्रनाथको जात्रा भनेर । नाथ सम्प्रदायको विकासमा यो संस्कृति राम्रो पक्ष हो वा विसङ्गतिले प्रश्रय पाएको हो, यो पनि थप आध्यात्मिक चिन्तनको विषय हुन सक्छ ।
    यी त भए हिमवत्खण्ड आर्यावर्त भारतवर्ष (नेपालसहित) का केही प्रसङ्गहरू । तर उता उत्तरी छिमेकी मित्रराष्ट्र चीनतिरको इतिहास हेरौँ । करिब–करिब गौतम बुद्ध र महावीर जैनकै समकालमा चीनमा एक महान् दार्शनिक कन्फ्युससको जन्म भयो । कन्फ्युसस (इ. पू. ५५०) का विचार, दृष्टिकोण र वाणीहरूलाई अझै पनि चीनले ठूलो सम्मान गरेको छ । पाठ्यक्रमहरूमा कफ्युसस पढाइन्छन् । उनका दार्शनिक विचारहरू निकै मौलिक छन्, दमदार छन् । तर चीनमा कन्फ्युसस देवता भएनन् । उनको नाममा धर्म र अनेक सम्प्रदायहरूको प्रादुर्भाव भएन । एकै हिमालय (थर्ड पोल, तेस्रो ध्रुव) सभ्यताको दक्षिणमा यसरी सम्प्रदायवाद फस्टाउनु तर उत्तरमा नफस्टाउनुका सांस्कृतिक कारणहरू के–के हुन सक्छन्, त्यो पनि संस्कृति विषयका विद्यार्थीहरूका लागि थप अध्ययन–अनुसन्धानको विषय हुन सक्छ ।

    भुलभुले दूधकुण्ड
    — हरि मञ्जुश्री

    दिक्तेलबाट भोजपुर जाँदा बाटोमा पर्दो रहेछ नेर्पा । त्यहाँको भुल्के भन्ने ठाउँमा भुलभुले दूधकुण्ड भन्ने तीर्थस्थल रहेछ । त्यसलाई देउधाम पनि भनिदो रहेछ ।
    सडकसँगै जोडिएको ठाउँ रहेछ त्यो । साइनबोर्ड देखेर गाडी रोक्यौँ र ओर्लियौँ । दायाँपट्टि एउटा होटल रहेछ । बायाँपट्टि ढुङ्गाबाट बनाइएका खुड्किला थिए । हामी खुड्किला चढेर माथितिर लाग्यौँ ।
    माथि पुगेपछि पूजा गर्ने गरेको स्थान देखियो । त्यहाँ हामीले ढोग्यौँ । ठाउँ मनमोहक थियो । एकान्त थियो । बसौँ–बसौँ लाग्ने तपोस्थलीजस्तो थियो ।
    त्यहाँ लहरै बनाइएका ढुङ्गेधाराहरू थिए । हरेक धाराबाट सङ्लो पानी झरिरहेको थियो । ढुङ्गा खोपेर धारा बनाइए पनि बनोटचाहिँ प्राकृतिक नै थियो ।
    अलि मास्तिरपट्टि सानो पोखरी थियो । मूर्ति पनि थियो । हामीले आचमन ग¥यौँ । प्रणाम ग¥यौँ । परिक्रमा ग¥यौँ ।
    नजिकै सानो मन्दिर पनि थियो । भित्र शिवजीको मूर्ति थियो । ढोकाबाहिर गणेशजीको मूर्ति राखिएको थियो ।
    दक्षिण फर्केको, हरियोपरियो, जङ्गलले शोभायमान बनाएको, ठूलो बस्ती र धेरै हल्लाखल्ला नभएको त्यो देउधामले हामीलाई मोहनी नै लगायो । तर धेरै बेर त्यहाँ बस्न सक्ने अवस्था थिएन । त्यसैले बसौँ–बसौँ लाग्दालाग्दै हामी बाटो लाग्यौँ । त्यहाँका बारेमा विस्तृत रूपमा जानकारी दिन सक्ने मान्छे नभेटेकाले थक्कथक्क लाग्यो । त्यस ठाउँलाई प्रचारप्रसार र व्यवस्थित गरेर धार्मिक पर्यटनस्थल बनाउन सकिए कति राम्रो हुन्थ्यो भन्ने कुरा गर्दै हामी अघि बढ्यौँ । जय होस् भुलभुले दूधकुण्डको !

    वैदेशिक रोजगारी छाडेर बाख्रापालनमा
    — दामोदर घिमिरे

    मानिस भएर यस धर्तीमा जन्म लिएपछि आफ्नो बुद्धिविवेकले भ्याएसम्म सवैले संघर्ष गर्दछन् । कोही धेरै अवसर पाएर पनि कम मेहनत गर्छन्, कोही कम अवसरमै धेरै उपलव्धि हासिल गर्न सक्षम वन्दछन । शहर र सुगममा हुर्केका वालवालिकाले भन्दा पहाड अनि दुर्गम क्षेत्रमा जन्मेहुर्केकाले धेरै प्रगति गरेको यथार्थ हाम्रो सामु छ । शिक्षा र संस्कृतिविनाको समाज र रातविनाको संसारको परिकल्पना गर्न नसकिएझैँ जनताविनाको देश पनि वन्दैन । यसै धर्तीमा उत्पादन हुने केरा, नास्पाती, तितेकरेला, नरिवल, स्याउ, नीम, निवुवा सवैमा प्रकृतिले फरक–फरक रस प्रदान गरेकै कारण एकभन्दा अर्को भिन्न भए पनि फलफुल वर्गमा सवै पर्दछन् । फरक राजनीतिक आस्था वा विचार राखे पनि हामी नेपाली हौं र हामी हाम्रो समाजको उन्नतिका लागि आ–आफ्नो क्षेत्रवाट प्रयाुरत छौं । सवै मानिस ठुलै पदमा पुग्न सफल हुन्छन् अथवा सवैसंग यथेष्ट सम्पत्ति हुन्छ भन्ने छैन । जीरे खोर्सानी सानै भए पनि भोडे खोर्सानीको तुलनामा हजारौ प्रतिशत कडा हुन्छ भने जीरे खोर्सानीलाई तरकारी वनाएर खान सकिदैन । यस लेखमा स्वदेशमै रहेर कठिन परिश्रम गरेपश्चात ११ वर्ष विदेश वसी पुनः स्वदेशमै फर्केर व्यवसायी वन्न सफल कुलप्रसाद घिमिरेको संघर्षका वारेमा पाठकलाई जानकारी गराउन लागेको छु ।

    २०३२ साल भाद्र १५ गते माता दुर्गादेवी र पिता मेदिनीप्रसाद घिमिरेको ७ छोराछोरीमध्ये साइलो छोराको रुपमा जन्मिएका घिमिरेका आफुसहित ४ दाजुभाइ र ३ दिदी रहेछन् ।

    • २०३९ देखि २०४५ सालसम्म गाउ“कै त्रिभुवन प्राविमा अध्ययन गरेका घिमिरेले कक्षा ६ देखि १० सम्म जनकपुरमा रहेको संस्कृत मावि ज्ञानकुपमा अध्ययन गरेका रहेछन् ।
    • दुःखसंग रमाउने तर अन्याय नसहने घिमिरेले एसएलसी दिएसंगै २०५३ मा विराटनगरवाट प्रकाशित हुने ‘देउराली’ पत्रिका वेच्न शुरु गरेका रहेछन् । सिरहाको मिर्चैयामा रहेको खानेपानी प्रोजेक्टमा डेढ वर्ष, धरानस्थित विपि कोइराला प्रतिष्ठानभित्र १ वर्ष र २०५५ श्रावणवाट भारतको व्याङलोरमा १ वर्ष र हालको त्रैलोक्यनाथ उपे्रती सेन्टर धुलिखेल परिसरमा ३.५ वर्ष काम गरेका घिमिरेले विविध क्षेत्रको अनुभव वटुलेको पाइयो ।
    • २०५६ साल मङ्सिरमा सुनसरीको महेन्द्रनगर–४ निवासी रमा भट्टराईसंग मागी विवाह गरेका घिमिरेको २०६९ चैत्रमा छोरी जन्मिएकी र उनी इटहरीस्थित एसओएस वालग्राममा अध्ययनरत रहिछन् ।
    • विविध कारणले कक्षा १० भन्दा माथिको अध्ययन निरन्तर नगरेका घिमिरेले ७ वर्ष नेपालमा काम गर्दा पनि भविष्य सुरक्षित नदेखेपछि श्रीमतीको सल्लाहवमोजिम २०६० सालमा ५० हजार रुपियाँ सापटी लिई ६० हजार रुसपियाँ खर्च गरेर वैदेशिक राजगारका लागि वहराइन गएका रहेछन ।
    • उनले २०६१ सालमा सुनसरीको एकम्वामा रु. १,३५,०००।– को एक कठ्ठा जमिन किनेर २०६३ सालमा ७०० स्क्वायरको घर वनाउन शुरु गरेछन् ।
    • वहराइनमा रह“दा साझ विहान नभनी खटेका घिमिरेले महिनामा तलववापत दिनको ८ घण्टा काम गर्दा मासिक १३ हजार र अतिरिक्त (रिचार्ज कार्ड, नेटवर्क मार्केटिङ्ग, कार्गो, फलफुल र तरकारीको विज विक्री) कार्यवाट पनि कमाएर महिनामा ३० देखि ५० हजार रुपियाँसम्म नेपाल पठाउने गरे छन् । यसरी ११ वर्षमा ३१ लाख रुपियाँ आर्जन गर्न सफल भएछन् ।
    • एघार वर्ष वहराइन वस्दा ५ पटक छुट्टिमा नेपाल आएका घिमिरेले चाडवाडको समयमा छुट्टि नपाएकै कारण ११ वर्षसम्म दशै–तिहार परिवारसंग वसेर मनाउन पाएनछन । ८.५ लाखमा १ तले ४ कोठाको घर वनाउ“दा ३ लाख ऋण आफन्त र साथीभाईवाट लिएका उनले परदेश वसेको ७ वर्षमा विदेश जादाको खर्च, घडेरी किनेको र घर वनाएको ऋण चुक्ता गर्न सफल भएछन् ।
    • घर जा“दा वनतिर मन र वन जा“दा घरतिर मन भनेझै विदेश वस्दा नेपालको माया र नेपाल वस्दा विदेशको कमाइले उनलाई सताइरहन्थ्यो रे । सधै अर्काको देशमा वसेर हुन्न भन्ने लागेपछी उनी २०७१ सालको फागुनमा ११ वर्षको कर्मथलो वहराइन छाडेर नेपाल फर्केछन् ।
    • २०७२ साल वैशाखमा ७१,००० खर्च गरी ११ वटा वाख्रावोका किनेर व्यवसाय शुरु गरका घिमिरेले ५० केजीसम्मका १५ वटा खशी र केहि पाठी वेचिसकेका छन भने अहिले ५० हजार पर्ने एउटा विउ“ वोकोसहित १३ वटा वोकावाख्रा रहेको पाइयो । शुरुको लगानी ४ वटा खसी विक्रीवाट ९ महिनामै चुक्ता भएछ ।
    • विराटनगर वस्ने भाई कमल घिमिरेको सुझाववमोजिम वाख्रापालन व्यवसाय र २०७२ भाद्र २४ गते रु. २,७०,००० मा इलेक्ट्रिक रिक्सा ÷ सफारी किनेका घिमिरेको कम्तिमा ५०० देखि २२०० अर्थात दिनको सरदर १००० सम्म कमाइ ह“ुदो रहेछ । आफन्तसंग रु. २,२०,००० ऋण गरेर सफारी किनेकोमा १८ महिनाको आम्दानीले उक्त ऋण चुक्ता गर्न सफल भएछन ।
    • २०७३ असार २४ गते सफारी दुर्घटनामा परी खुट्टा भाचिएर ९ महिना थलिएका घिमिरेको उपचारको लागि करिव ३ लाख खर्च भएछ । पहिले अपरिपक्व भए पनि विगत २ वर्षवाट उनी व्यावहारिक वनेको, सामाजिक संस्कारलगायत आफन्तको दुःखसुखमा साथ दिने गरेको उनका छिमेकी र आफन्तको ठम्याइ छ ।
    • पुख्र्यौली सम्पत्ति केही नलिएका उनले इटहरीमा २ वटा घडेरी किनेर घर वनाई परिवारसंग वस्नु थोरै परिश्रम र सानो आ“टले संभव भएको पक्कै होइन । भविष्मा उन्नत जातका खसिवोका पाल्ने र घरको तला थप गर्ने योजना राखेका घिमिरे यो अवस्थामा पुग्नुमा उनकी श्रीमती रमा, दिदी भिनाजु मनमाया र नन्दराज कोइराला, ठुलीआमा महेश्वरा भट्टराईको विशेष योगदान रहेछ ।
    • विराटनगरमा रहेको घिमिरे कल्याण परिषद्लाई दिनको रु. १ का दरले खत्रुके वचत गरेका घिमिरेले सफारी चलाएको दिन दैनिक ४०० सहकारीमा वचत गर्छन भने अन्य कमाई घरखर्चमै सकिदो रहेछ । सा“झ–विहान पनि सेवा दिने उनी सामान्यतया विहान ८ देखि सा“झ ६ वजेसम्म सफारी चलाउ“छन् भने वाख्रापालन व्यवसाय र घर श्रीमतीले संचालन गरेको पाइयो ।

    कुनै पनि व्यक्ति अरुमा आश्रित हुनुभन्दा आफ्नो शीप क्षमता र योग्यतावमोजिमको पेशा व्यवसायमा लागेर आत्मनिर्भर वन्नुपर्दछ । जसरी मानिस ठुलो जातले मात्र हु“दैन उसमा जोसजागर र आत्मविश्वास पनि चाहिन्छ, त्यसरी नै भाग्यमा छ भन्दैमा भोक नलाग्ने र सिस्नाले नपोल्ने कोही हु“दैन । आफ्नो शीप, पु“जी र क्षमताले भ्याएसम्मको व्यापार, पशुपालन, कृषि वा अन्य व्यवसायमा लागेर स्वदेशमै परिवारसंग रमाउ“दै खाएको दालभात वा रोटी–तरकारीभन्दा विदेशमा खाइने डिनरले हाम्रो मनलाई सुखि वनाउ“दैन । हामिले पुजी अनुसारको प्रतिफलमा रमाउन जान्नुपर्दछ । मानिस सधै धनि, व्यापारी, जागीरवाल वा सक्षम भैरहन्छ भन्ने छैन, समयको सदुपयोग गर्दै आयमुलक व्यवसायमा आवद्ध भै आफु, आफ्नो परिवार अनि देशको सेवामा तल्लिन हुनको लागि कुलप्रसाद घिमिरे र रमा भट्टराईजस्तै हामी (जो वेरोजगार छौं) ले प्रयत्नशील हुनु जरुरी छ ।

    यो कुन दलित वर्ग हो ?
    — रामचन्द्र हुमागाई

    भ्लादिमिर इल्यिच उल्यानोभ (लेनिन) को जन्म १० अप्रिल १८७० मा सिम्बस्के (हाल उल्यानोभ्स्क) सहरमा भएको थियो । यो सहर भोल्गा नदीको किनारमा पर्छ । भोल्गा तटवर्ती सहरहरु सिम्बिस्क, काजान, सामारा (हाल कुइविसेभ) र भोल्गाका आसपासका अन्य क्षेत्रहरुमा लेनिनको बाल्यावस्था र यौवन बित्यो ।
    लेनिनका बाजे निकोलाई उल्यानोभ निझ्नी भोभगरद गुबेर्नियाको बासिन्दा हुनुहुन्थ्यो । वहाँ रुसी भूदास हुनुहुन्थ्यो । सन् १७९१ मा वहाँ अस्त्राखानमा बसाइँ सर्नुभयो । यहाँ मध्यमवर्गीय परिवारमा वहाँको नाम दर्ता भयो र अत्यन्त गरिब अवस्थामा निधन भयो । लेनिनका पिता इल्या निकोलाएभिच उल्यानोभले कलिलै उमेरमा गरिबीको मार खप्नुप¥यो । जेठो दाजुको सहायता, आफ्नै कठिन परिश्रम र असाधारण प्रतिभाको फलस्वरुप उहाँ उच्च शिक्षा हासल गर्न सफल हुनुभयो । काजान विश्वविद्यालय समाप्त गर्नुभएपछि इल्या निकोलाएभिचले विभिन्न माध्यमिक स्कुलहरुमा अध्यापन कार्य गर्नुभयो । पछि उहाँ स्कुल इन्स्पेक्टर र सिम्विस्र्क गुवेर्नियाको सार्वजनिक स्कुलहरुको डाइरेक्टर बन्नुभयो । उहाँ आफ्नो समयअनुसार प्रगतिशील व्यक्ति हुनुहुन्थ्यो । उहाँले जनसाधारणबीच शिक्षा प्रचार गर्ने काममा ठूलो देन दिनुभएको थियो । उहाँले गाउँहरुमा स्कुलहरु खोल्नुभयो, अध्यापकहरुलाई मद्दत गर्नुहुन्थ्यो । उहाँले भोल्गा तटवर्ती क्षेत्रहरुमा बस्ने गैररुसी जनजातिहरुको शिक्षादीक्षामा ध्यान दिनुभएको थियो ।
    लेनिनकी आमा मारिया अलेकसान्द्रभ्ना डाक्टरकी छोरी हुनुहुन्थ्यो । उहाँले घरैमा शिक्षा पाउनुभएको थियो । उहाँले धेरै विदेशी भाषाहरु जान्नुभएको थियो । साहित्य र संगीतप्रति ठूलो प्रेम राख्नुहुन्थ्यो । दृढ स्वभाव भएकी उहाँ शान्त र मिलनसार, वुद्धिमती र दृढनिश्चयी हुनुहुन्थ्यो । उहाँले सम्पूर्ण जीवन आफ्ना बालबच्चाहरुको हेरचाहमा लगाउनुभयो ।
    उल्यानोभ परिवारमा ६ जना केटाकेटी थिए आन्ना, अलेक्सान्दर, भ्लादिमिर, ओग्ला, दिमित्री र मारिया । आमाबाबुले केटाकेटीहरुलाई बहुपक्षीय शिक्षा दिने र परिश्रमी, इमानदार, सुशील र सार्वजनिक आवश्यकताप्रति जागरुक बनाउने भरसक प्रयास गरे । उल्यानोभ परिवारका सवै केटाकेटीहरु पछि क्रान्तिकारी बने ।
    भ्लादिमिर उल्यानोभको बाल्यावस्था ठूलो र असाधारण रुपमा मिलनसार परिवारमा बितेको थियो । उहाँ केटाकेटी उमेरदेखि साहसी, प्रफुल्ल र ठट्यौलो मिजासको हुनुहुन्थ्यो । पौडी खेल्न र स्केटिङ गर्न रुचाउनुहुन्थ्यो । साथीहरुसँग मिलेर टाढाटाढा घुम्न जानुहुन्थ्यो । पाँच वर्षकै उमेरमा भ्लादिमिरले लेखपढ गर्न सिक्नुभएको थियो । नौ वर्षको उमेरमा उहाँ सिम्बिस्र्क जिम्नेसियमको पहिलो दर्जामा भर्ना हुनुभयो । भ्लादिमिरले जोससाथ पढाइ सुरु गर्नुभयो । उहाँ असाधारण प्रतिभाशाली छात्र हुनुहुन्थ्यो । पढाइ उहाँको लागि सबभन्दा ठूलो कुरो थियो । उहाँ आफ्नो कक्षामा सधै पहिलो स्थान ग्रहण गर्नुहुन्थ्यो । आफ्ना सहपाठीहरुलाई सधै मद्दत गर्नुहुन्थ्यो र कठिन विषयहरुमा उनीहरुलाई सहायता गर्न गा¥हो मान्नुहुन्नथ्यो । जिम्नेसियमको अध्ययनकालमा उहाँले चुवास छात्र आखोत निकोभलाई प्रवेशिका परीक्षाको लागि तयार गर्न मद्दत गर्नुभएको थियो ।
    भ्लादिमिर उल्यानोभ किताबहरु पढ्न रुचाउनुहुन्थ्यो । उहाँले सानै उमेरमा पुस्किन, लेर्मन्तम, गोगल, तुर्गेनेभ, निक्रासभ, साल्तिकोभ सेद्रिन र तल्स्तोइका कृतिहरु पढ्नुभएको थियो । लेनिनले बेलिन्सकी गेर्चेन, चेर्निसेभ्स्की, दोब्रोल्युबोभ र पिसारेभजस्ता क्रान्तिकारी डेमोक्रेटहरुका कृतिहरु पढ्न भ्याउनुभएको थियो । यी लेखकहरुका धेरैजस्ता कृतिहरु त्यस बेला प्रतिबन्धित थिए । चेर्निसेम्भूकीको उपन्यास ‘के गर्ने’ उहाँलाई मन पथ्र्यो । पछि लेनिनले महान वैज्ञानिक र जारशाही तथा भूदास प्रथाका कडा विरोधीको रुपमा चेर्निसेभ्स्कीको क्रियाकलापको महत्वमाथि बारम्बार जोड दिनुभएको थियो । लेनिन बराबर भन्ने गर्नुहुन्थ्यो – चेर्निसेभ्स्कीले कडा सेन्सर लागु भएको बेलामा पनि आफ्ना लेखहरुद्वारा सच्चा क्रान्तिकारीहरु तयार गर्न सफल हुनुभएको थियो ।
    लेनिनका दृष्टिकोणहरुमाथि उहाँको परिवार र वरिपरिको जीवन, प्रगतिशील रुसी साहित्यले ठूलो प्रभाव पारेको थियो । त्यसताका रुसमा दु्रत गतिले पुँजीवादी व्यवस्थाको विकास हुदै थियो । आधुनिक मेसिनहरुद्वारा सुसज्जित हजारौं मजदुरहरु काम गर्ने फैक्ट्रीहरुको संख्या दिनप्रतिदिन बढ्दै थियो तर भूदास प्रथाका थुप्रै अवशेषहरु पनि बाँकी थिए । पुँजीवादी शोषणका साथै सामन्ती उत्पीडन पनि कायम थियो । शोषणले सहरिया मजदुर र गाउँले किसानहरुको जीवन असहनीय तुल्याएको थियो । जारको अत्याचार, जमिन्दार र पुजीपतिहरुको दमन, मजदुर र किसानहरुको पददलित अवस्थाले किशोर लेनिनको हृदयमा शोषकहरुप्रति घृणा र शोषितहरुप्रति सहानुभूति पैदा गरेको थियो । जिम्नेसियममै लेनिनको हृदयमा क्रान्तिकारी भावनाहरु उत्पन्न भइसकेका थिए । एकपल्ट लेनिनको निबन्ध फर्काउँदै जिम्नेसियमका डाइरेक्टरले जङ्गिदै भनेका थिए, यो कुन दलित वर्ग हो ? तिमीहरुलाई उनीहरुको के खाँचो ?

    रुद्री लगाएपछि पानीको वर्षा
    — रमेश खकुरेल

    कुरो २०१४–१५ सालतिरको हो । हामी सप्तरीमा हाम्रो गाउँ डिमनमा बसेका थियौं । त्यस बखत निकै दिनसम्म पानी परेन । सारा पोखरी पनि सुक्न लागे र मानिसहरू व्याकुल भए । अनि मेरा बुवा कविराज हरिप्रसाद खकुरेलले पानी माग्नका लागि स्थानीय डिहिबार स्थानमा रुद्री लगाउने कुरो उठाउनुभयो । सबै गाउँलेहरू जम्मा भए र विधिपूर्वक रुद्री लगाइयो । रुद्री सकेर केही वेर भजन गर्दागर्दै उत्तरपूर्वको कुनाबाट यौटा सानो बादलको टुक्रो देखाप¥यो । केही छिनमै हावाहुरी चलेर बादलले आकाशलाई ढाक्यो र मुसलधारे वर्षा शुरू भयो । कसैले पनि छाता लगेका थिएनन् । सबैजना निथ्रुक्क भिजेर आआफ्ना घरमा फर्के । यस घटनालाई देख्ने अझै पनि केही गाउँले त्यहाँ जीवितै छन् । यस घटनालाई के भन्ने भनेर मैले आजसम्म पनि बुझ्न सकेको छैन । (फेसबुक)

    काङ्ग्रेसको सपना सम्पत्ति थुपार्ने
    — पुरुषोत्तम दाहाल

    एकताका नेपालमा बीपीको सपनाको नारा खूव लाग्यो । नेपाली कांग्रेसका नेता, सदस्य र समर्थकहरुले यो नारा देशभरी घन्काएका थिए । अव त बीपीको सपना थाहै हुन छाडेको छ । के थियो बीपीको सपना, विस्तारै विर्सने उपक्रम सुरु भएको छ । नेपाली कांग्रेसका जनहरु आफ्नै सपना वोकेर त्यसमा मात्र अर्जुनदृष्टि दिन लागेका छन् । आफ्नो ठूलो महल, आफ्ना छोराछोरीको राम्रो शिक्षा, आफू र आफ्नो परिवारको विदेशी महँगा अस्पतालमा उपचार र पुस्तौं–दरपुस्ताका लागि सम्पत्ति धेरै कांग्रेसहरुको सपना भएको छ । कांग्रेसजनको मात्र होइन बीपीको सपनाका विरोधीहरुमा पनि यस्तै निजी सपनाको वास हुन लागेको छ । (हरेक पल डट कम)

    फेसबुकमा कसले के लेखे ?
    — रोशन मञ्जुश्री

    साहित्यकारहरु शव्दसंयोजनको हतियार बनाएर विसंगतितिर कलात्मक प्रक्षेपण गर्ने लडाकुहरु हुन् ।
    — रामशरण गैरे
    अहिलेको अवस्थामा नेपालमा लोकतन्त्र आवश्यक हो । तर २०१९ सालतिर नेपालमा लोकतन्त्रभन्दा राष्ट्रियता ठूलो कुरा थियो र त्यो बेला राजाको कदम र पञ्चायती व्यवस्था देशको लागि आवश्यक रहेछ भन्ने मनस्थितिमा म अहिले आइपुगेको छु । त्यो बेला जनताको शैक्षिक अवस्था, आर्थिक अवस्था, राजनीतिक दलका नेताहरुको चेतना स्तर, भारतको दादागिरी, नेपाली काङ्ग्रेसको झगडा र फुट आदि कारणहरुले त्यो बेला राजा महेन्द्रको कुले लोकतन्त्रको हत्या भए पनि राष्ट्रियताको जगलाई मजबुत पारेको रहेछ ।
    — सुनील सापकोटा
    समय, सत्ता, सम्पत्ति र शरीरले सधैँ साथ दिइरहँदैन तर स्वभाव, समझदारी, सत्सङ्ग तथा सच्चा सम्बन्धले सधैं साथ दिइरहनेछ ।
    — कृष्णहरि मैनाली
    प्रगतिशील स्रष्टाहरूकै लागि प्रगतिशील साहित्यिक–सांस्कृतिक सङ्घ–संस्थाहरूको सिन्डिकेट कहिले तोडिएला ?
    — चेतनाथ धमला
    लोकतन्त्रिक पद्धतिबाटै चुनाव भई बहुमत ल्याउने पार्टी सरकारमा गयो र अल्पमत ल्याउने पार्टी प्रतिपक्षमा बस्यो भने यो मानेमा लोकतन्त्रमाथि खतरा हुँदैन । सरकारले लोकतान्त्रिक मान्यता र जनआकांक्षालाई समेत ध्यान राख्दै सरकार सञ्चालन गर्नुपर्छ र प्रतिपक्षले असल कामको समर्थन गर्दै सरकारलाई खबरदारी गर्नुपर्दछ । सरकार र प्रतिपक्ष आआफ्नो काम कर्तब्य र अधिकारमा सक्षम रहेन भने लोकतन्त्र खतरामा पर्न सक्दछ ।
    — देवराज यात्री

    उडुसबाट छुटकारा पाउने उपाय
    — सुदर्शन आचार्य

    उडुसले शरीरको कुनै पनि भागमा सजिलैसँग टोक्न सक्छ । यसको टोकाइबाट शरीर चिलाउने, सुन्निने तथा एलर्जी हुने गर्छ । यस्ता विषालु किराबारे सोच्दा मात्र पनि कतिपयलाई राति निद्रा नै पर्दैन । एउटा माउ उडुसले आफ्नो जीवन कालभर ५ सय अन्डा पार्छ । ती अन्डाबाट निस्कने बच्चाले पछि फेरि अन्डा निष्कासन गर्छ । यसरी प्रत्येक पिढीमा तिनको संख्या बढ्दै जान्छ र यिनीहरू झुन्ड हुँदै पूरै घरभरि फैलिन्छन् । त्यसैले तिनको रोकथाममा जति ढिलाइ ग¥यो, त्यति नै प्रकोप बढ्छ र नियन्त्रण गर्न पनि कठिन हुन्छ । उडुसलाई नियन्त्रण गर्ने केही घरेलु उपाय यस्ता हुन सक्छन् —
    — उडुसले पुदिनाको गन्ध सहन सक्दैन । त्यसैले पुदिनाका केही पात आफ्नो ओछ्यानको नजिक राख्नुहोस् । सुत्ने बेला तपाईं पुदिनाको पात पिसेर आफ्नो शरीरमा दल्न पनि सक्नुहुन्छ । यसो गर्दा उडुसको टोकाइबाट बच्न सकिन्छ ।
    — रातो खुसार्नीको गन्धले पनि उडुसहरू छिटो भाग्छन् । तपाईंले रातो खुर्सानीको धूलो बनाएर उडुस भएको ठाउामा स्प्रे पनि गर्न सक्नुहुन्छ । यसो गर्नाले उडुस निष्क्रिय हुने गर्छन् ।
    — उडुस रोजमेरीको गन्धले पनि भाग्छ । रोजमेरीको स्प्रे बनाएर पनि सम्भाव्य ठाउँहरूमा छर्कन सक्नुहुन्छ ।
    — नीलगिरीमा औषधीय गुण हुनुका साथै उडुस मार्ने क्षमता पनि हुन्छ । यसको केही थोपा उडुस भएको ठाउँमा छर्कन सक्नुहुन्छ ।
    — नीमको तेलमा धेरै एन्टी माइक्रोबियल गुण हुन्छन् । कीराहरू टाढा राख्न यसको प्रयोग गरिन्छ । उडुस भएको ठाउँ तथा घरको सबै भागमा छर्कंदा राम्रो हुन्छ । साथै साबुनमा यसलाई मिसाएर कपडा धुने गर्नाले यसको गन्धले उडुस टाढा भाग्छ ।

    कपालमा तेल लगाउनुको कारण

    १. कपालमा नियमित रुपमा तेलले मसाज गर्नाले कपालको जरा बलियो बनाउनुका साथै कपाल लामो र सुन्दर हुन्छ । त्यसैले आजैबाट कपालमा तेल लगाउन सुरु गर्नुहोस् ।
    २. दिनहुँ कपालमा तेल लगाउनाले कपालमा आवश्यक पोषण प्राप्त हुन्छ र कपाल झर्ने, टुक्रने सम्भावना कम हुन्छ ।
    ३. टाउकोमा नियमित तेल लगाउनाले टाउकोको रगत प्रवाह बढ्छ ।
    ४. सुत्ने बेलामा कपालमा १० मिनेटसम्म तेलले मसाज गर्नाले कपालमा प्रशस्त मात्रामा पोषण मिल्छ ।
    ५. नियमित रुपमा कपालको जरासम्म तेलले मसाज गरेमा कपालमा धूलो तथा फोहर जम्न पाउँदैन र प्रदूषणबाट रक्षा गर्छ ।
    ६. दैनिक रुपमा तेलले कपाल मसाज गर्नाले कपाल सिल्की हुनुका साथै चमक पैदा हुन्छ ।
    ७. यसले कपालको चाया हटाउन मद्दत गर्छ ।
    ८. सुख्खा कपालका लागि तेल निकै उपयोगी हुन्छ । राती सुत्ने बेलामा हल्का तातो बनाएर कपालमा लगाउने र बिहान धुने गर्नाले पोषण प्राप्त हुनुका साथै कपाल चमकदार र स्वस्थ हुन्छ ।

    कपाल नरम बनाउने तरिका

    १. मुसुरोको दाललाई पानीमा भिजाएर कपाल धुँदा यसले कपाललाई नरम तथा चम्किलो बनाउँछ ।
    २. दुई गिलास पानीमा एक चम्चा चियाको पत्ती हालेर केही समय उमाल्ने । त्यसमा कागतीको रस हाल्ने । यस्तो मिश्रणले कपाल पखाल्दा कपालमा चमक आउँछ ।
    ३. एक गिलास बियर लिएर कन्डिसनरजस्तै गरी कपालमा लगाउने । यसले कपाललाई चमकदार बनाउँछ ।
    ४. कपाल सुक्खा छ, तथापि आफूलाई प्याक लगाउने फुर्सद छैन भने दुई चम्चा मह तथा दुई चम्चा रमलाई पानीमा हालेर कपाल पखाल्ने । यसले पनि कपाललाई नरम तथा चम्किलो बनाउँछ ।
    ५. कपालमा विभिन्न किसिमका केमिकल मिसिएका सामानको अधिक प्रयोग गर्नु राम्रो हुँदैन । केमिकल स्टेनिङ, कलरिङ आदि प्रक्रियाले कपाललाई कडा बनाउनुका साथै दीर्घकालीन असर गर्न सक्छ ।
    (नेपाली हेल्थबाट साभार)

    अमृत वचन
    — रामप्रसाद शर्मा तिमल्सिना

    — यो सारा संसार कसरी उत्पत्ति भयो भने अक्षरब्रह्मको मनबाट उत्पत्ति भएको अक्षरब्रह्मको मनबाट नारायणको उत्पत्ति
    भयो । यसलाई महाविष्णु पनि भनिन्छ । त्यसबाट मोहरूपी मायाजालको उत्पत्ति भयो । त्यसपछि यो झूटा खेल सञ्चालन गर्ने, नाश गर्ने कार्य प्रारम्भ भएको हो । त्यसपछि ब्रह्मा, विष्णु, महेशलाई पालन गर्ने, संहार गर्ने, सृष्टि गर्ने काम विभाजन गरी यसलाई अक्षरब्रह्मको इच्छाअनुसार सृष्टिको सञ्चालन गर्ने र नाश गर्ने गरिन्छ ।
    — ॐकार धनुष हो, आत्मा वाण हो । यसको लक्ष्यबाट परमात्माको एकाग्र ध्यान गरेर परमात्मा प्राप्त गर्न सकिन्छ । संसारमा परा र अपरा दुई किसिमका विधाहरू छन् । अपरा विधा ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेद, शिक्षा, कल्प, व्याकरण निरुक्त, छन्द, ज्योतिष हुन् । परा विधा त्यो हो जसले अक्षरब्रह्मलाई जान्दछ ।
    — कर्मको फल भोग्ने कुरा सत्य हो । हाम्रा राम्रा या नराम्रा कर्मका फल यस लोक या परलोकमा अवश्य भोग्नुपर्छ । कर्मअनुसार स्वर्ग, नरक, देवयोनि, मनुष्ययोनि, पितृयोनि, प्रेतयोनि या कुकुर–सुँगुर आदि विभिन्न योनिमा तथा लोकमा जानुपर्ने हुन्छ । यी सबै सर्वथा सत्य कुरा हुन् । बीजफलन्यायका कारण साना कर्मका पनि ठूला फल हुन सक्ने हुन्छन् र शास्त्रीय प्रायश्चित्तका कारण कर्महरू काटिने पनि हुन्छन् । देव–आराधना, ईश्वर–आराधनाबाट नयाँ प्रारब्धको निर्माण पनि हुन सक्तछ ।

    मातातीर्थ औंसी
    — अनिता भण्डारी (पौडेल)

    आमाको काखमा आउने मीठो निद्रा आउँदैन सिरानीमा
    सबैलाई भुल्छ यो मनले तर आमालाई भुल्दैन बिरानीमा
    उमेर ढल्किँदैछ, व्यवहार बढ्दैछ, आफैँ आमा छु अहिले
    रित्तिँदैनन् आमाका लागि शब्दहरू थपिन्छन् बरू कहानीमा
    आमाको भारा तिर्नुपर्छ भन्छन्, आमाले कहिल्यै माग्दिनन्
    तिर्न सकिन्छ कसरी हाम्रा लागि रित्याएका खुसी जवानीमा
    कति आवाज उठाइन् होला, कति दबाइन् होला हाम्रा लागि
    कति भोकै बसिन् होला कैयौँ रात अनिदो हाम्रो बिमारीमा
    एक दिन मात्र होइन आमाबाको सम्मान हरेक दिन गर्ने गरौँ
    आफ्ना सन्तानलाई झैँ आमाबालाई सम्झौँ हरेक बिहानीमा

    जीवन रहस्य
    — उद्धवप्रसाद भट्टराई ‘चैतन्यदीप’

    जीवनमा पूर्णता प्राप्त गर्नुछ भने
    एकाग्रता, निष्ठा र अन्तरङ्गतामा डुब्नुपर्छ
    सिद्धि र निःस्वार्थ कर्ममा भुल्नुपर्छ
    प्रेमरुपी सागरमा खेल्नुपर्छ
    किनकि जो प्रेमी छ उसैभित्र अचुक एकाग्रता हुनेछ
    प्रेमीको आँखामा नै प्रेममय पुष्प खेलेको हुन्छ
    शराव पिउनेवालाको धुन र आनन्दजस्तै
    प्रेमीको आँखामा अरु कुनै बिम्ब देखिएको हुंँदैन
    प्रेमको आनन्द अद्वितीय हुन्छ
    जहाँ पक्षीहरु नाच्न र गाउन थाल्नेछन्
    प्रकृतिको सुन्दरतामा सिरसिर हावा बहन थाल्नेछ
    धर्तीले पनि नयाँनयाँ शृंगारको सृजना गर्नेछ
    जीवनमा कला र साधनाको महत्वलाई हेर्दा
    घिसीपिटी जिन्दगी जिउनुको कुनै अर्थ छैन
    तोते सुगाको जस्तो रटेको शास्त्रको कुनै मतलब छैन
    जबसम्म नयाँ ज्ञान, नयाँ चेतना, नयाँ दृष्टि मिल्दैन
    तबसम्म जीवन पशुसरह भट्किरहन्छ
    जीवन माछाझैंं शिकारीको जालमा पर्नु नपरोस्
    अज्ञानको भुमरीको कारण कालको झालमा पर्नु नपरोस्
    गृहस्थी हुनुछ भने क्षमताको साथ
    संन्यासी हुनुछ भने पनि हिम्मत एवं हौसलाको साथ
    भोगमा डुब्नुछ भने कमलको फूलजस्तै भएर
    धन–ऐश्वर्यको मदमा रम्नुछ भने निर्लिप्त भएर
    अगाध प्रेम र त्यागका साथ
    अनासक्त कृष्णभक्तिमा समर्पित भएर ।

    मुक्तक
    — शर्मिला श्रेष्ठ

    आमाको साथमा रहँदै धेरैले माया गाँसे
    विचरा आमाविहीन मैले पुरानै फोटो टाँसेँ
    दैव पनि कति निष्ठुरी रहेछन् मेरा लागि
    रेखदेखको वावजुद पनि छिटै आमा मासेँ ।

    गौमाता
    — सरस्वती शर्मा सुवेदी

    गौमाता जननी आमाको आज यो हालत देख्नुप¥यो
    वुद्ध जन्मेको देशका हामी भन्न पनि लाज भयो
    दूध खाएर बुढी भएपछि छोडिदिन्छन् बाटोमा
    तिनका बाछा घाइते भई रुँदैछन् चौबाटोमा
    सडक पेटीमा छटपटिँदै रुन्छिन् गौमाता
    मान्छे हुनुमै हामी अझै पाल्छौँ घमण्ड ता
    धाक लाउँछौं हामी धनसम्पत्ति, ठूलो महलको
    गौमाता हाम्री सडक पेटीमा छैन है पीडा अर्को
    पानी खान नपाएर तडपिरहेकी यिनै गौमाता
    अझै पनि हामीले लाउँछौं धाक उपकारका
    मान्छेका हात सिर्कनाले चुट्छन् गौमातालाई
    मध्यरातमा कुकुरले जिउँदै लुच्छन् यिनकै बाच्छालाई
    नछोड गाईबाच्छा सडक वनमा आमाको हत्या सरी
    डस्ला है यो पापले मान्छेकै जुनीभरि
    मिलेर खोलौं सबले अव पशु उद्धार केन्द्र
    गौमाता बाच्छाको उपकार गर्न नगरौं है अबेर
    आवाजविहीन भनेर यिनलाई पीडा नदिऔं कसैले
    मानिस हौं यदि सच्चा भने सेवा गरौं प्रेमले
    मानव सभ्यता र संस्कृति जोगिन्छ पशुको संरक्षणले
    संसारमा चिनिन्छ हाम्रो नाम यही शान्तिको दीपले ।

    बलेफीमा भागवत

    शिवशक्ति विराट ज्ञान महायज्ञअन्तर्गत सिन्धुपाल्चोक जिल्लाको बलेफीमा गत मङ्सिर ८ गतेदेखि श्रीमद्भागवत ज्ञान महायज्ञको प्रारम्भ गरिएको छ ।
    पं. नवराज धितालबाट भागवत वाचन हुने गरेको छ ।

    भागबन्डामा राजदूत नबनाऊ

    कूटनीतिक अध्ययन संस्था, नेपालका तर्फबाट अध्यक्ष प्रा. डा. गोपाल शिवाकोटी र महासचिव डा. दीपेन्द्र रोकायाले प्रेस विज्ञप्ति जारी गर्दै वैशाख ५ गते सर्वोच्च अदालतले राजदुत नियुक्तिसम्बन्धी परेको रिटमा राजदुत छनौट गर्दा योग्यता र आचरणका आधारमा मापदण्ड बनाएर पारदर्शी ढंगले नियुक्ति गर्नपर्ने गरी जारी गरेको परमादेशलाई सकारात्मक रुपमा लिँदै स्वागत गरेको छ र यसलाई आरामको थलो वा भागवण्डाको आधार नबनाई नेपालको हितलाई केन्द्रमा राखी राजदुत नियुक्त गर्ने परिपाटी बसाल्नुपर्दछ भनेको छ ।
    यसै गरी चीन भ्रमणमा रहनुभएका नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको भेटमा चिनियाँ विदेशमन्त्री चाङले नेपालको विकास र समृद्धिमा भारत र चीनको त्रिदेशीय सहकार्यको प्रस्ताव गर्नु नेपालको हित र क्षेत्रीय सन्तुलनका लागि महत्वपूर्ण हुने भएकाले स्वागत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि विकास भएको सम्बन्धमा छिमेकी देश भारतले समेत त्रिदेशीय सहकार्यको प्रस्तावलाई सकारात्मक रुपमा लिई सहकार्य गर्ने आशा गरेको छ ।

    बिहावर पर्यटन महोत्सव हुने

    काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं. १ देखि ३ सम्म पर्ने कुशादेवी बिहावर क्षेत्रमा पर्यटन विकास र सम्वद्र्धन गर्ने उद्देश्यले आगामी वैशाख १५ गतेदेखि ‘विहावर क्षेत्र पर्यटन महोत्सव’ हुँदैछ । कुशादेवी क्षेत्र सरोकार समाजको आयोजनामा हुन लागेको ३ दिने उक्त महोत्सवमा ३ जना पाइलटको व्यवस्था गरी प्याराग्लाइडिङ गराउन १५ वटा छाताको व्यवस्था मिलाउनुका साथै साइक्लिङ पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
    सहआयोजक पनौती नगरपालिकाका मेयर भीम न्यौपानेका अनुसार महोत्सवमा करिब ५० लाख रकम लाग्ने अनुमान गरिएको छ । महोत्सवको तीनै दिन पनौती वडा नं. २ र ३ को संयुक्त कार्यालय अगाडिको चौर कुशादेवीमा विविध सांस्कृतिक कार्यक्रमहरू हुनेछन्, जसमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ । प्याराग्लाइडिङ, साइक्लिङ र हाफ म्याराथन महोत्सवका मुख्य आकर्षण हुनेछन् भने स्थानीय खैँजडी भवन, झाँक्रीनाच, लोकदोहोरी र कन्सर्टका साथमा विविध मनोरञ्जनात्मक कार्यक्रम, स्थानीय कृषि उपज प्रदर्शनी महोत्सवका थप आकर्षण रहने जनाइएको छ । करिब १ लाख दर्शकले अवलोकन गराउने उद्देश्य आयोजकले लिएको छ ।

    डाइनामिक युवाको कृषि अन्तक्र्रिया

    काभ्रे जिल्लाको बनेपा न.पा. – ४, शेरामा रहेको डाइनामिक युवा बचत तथा ऋण सहकारी संस्थाले कृषि तथा सामाजिक क्षेत्रका विविध कार्यक्रम गर्दै आउने क्रममा कृषिसम्बन्धी अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा किसानहरूलाई गोठ सुधार, तरकारी खेती गर्दा आउने समस्या र समाधानका उपाय, पशुपन्छी तथा बालीमा लाग्ने रोग र निदानका उपाय, विषादिको प्रयोग, विषादिबाट माटो तथा मानव शरीरमा पर्ने असर, प्राङ्गारिक मल बनाउने र प्रयोग गर्ने तरिका जस्ता विषयमा अतिथि बनेपा नगरपालिकाका कृषि प्रसार अधिकृत कृष्ण धिताल तथा बाली संरक्षण प्रमुख रीतकुमार सापकोटाले प्रकाश पार्नुभएको थियो ।
    संस्थाका अध्यक्ष माधव सिग्देलले सभापतित्व गर्नुभएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव उपेन्द्र दाहालले गर्नुभएको थियो । कार्यक्रममा नाला, शेरा भेगका किसानहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमले उक्त भेगका किसानहरूलाई बाली विकास, विषादिको उचित प्रयोग, प्राङ्गारिक मलको प्रयोग गर्न उत्साहित, गोठ सुधार गरी पशुपालन तथा खेतीपातीबाट मनग्य आम्दानी गर्न सहयोग पु¥याउने संस्थाका व्यवस्थापक रमेश दाहालले बताएका छन् ।

    ६८४ किमिमा पाइप बिछ्याइयो

    उपत्यकाको ६८४ किमि सडकमा बहुचर्चित मेलम्चीको पानी वितरणका लागि पाइप बिछ्याइएको छ । पहिलो चरणमा ७२० किमि सडकमा पाइप ओछ्याउने कार्यक्रम रहेकोमा हालसम्म ६८४ किमि सडकमा पाइप बिछ्याइएको हो ।
    ‘अबको डेढ महिनासम्म ७२० किमिमै पाइप बिछ्याउने काम सक्छौ । थोक वितरण प्रणालीको ७७ किमिमध्ये ६९ किमिमा पाइप बिछ्याइ सकिएको छ’ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले भने – ‘पहिलो चरणको पाइप बिछ्याउने काम असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ ।’
    पाइप ओछ्याइसकेको ठाउँमा कालोपत्रेको काम पनि भइरहेको छ । आठ मिटरभन्दा कम चौडाइ भएका सडकमा निर्देशनालयले नै कालोपत्रे गर्दैछ ।

    बेथानचोकमा खानेपानीले ल्यायो खुसी

    काभ्रे जिल्लाको दुर्गम क्षेत्रमा पर्ने बेथानचोक–५ कामीडाँडा साबिकको च्यासिङखर्क– ४, ५ र ६ वडाको करिब १ सय ४० घरधुरीमा खानेपानीको धारा निर्माण भएकाले स्थानीय समुदाय हिजोआज खुसीले दंग छन् । घरघरमा खानेपानीको धारा सहितको शुद्ध पिउने पानीको सुविधा पाएपछि त्यहाँका समुदाय खुसी देखिएका हुन् ।
    शान्ति जनआदर्श सेवा केन्द्रको समन्वय र ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समिति (फण्ड बोर्ड) को आर्थिक सहयोगमा महाकाल खानेपानी तथा सरसफाई आयोजनाले निर्माण गरेको खानेपानीको धारासम्बन्धी आयोजना सम्पन्न भएपछि गत शुक्रवार खानेपानी मन्त्री बिना मगरले त्यसको उद्घाटन गरेकी हुन् । समुदायको श्रमदानसहित गरी कुल ७९ लाख १९ हजार २ सय २९ रुपैयाको लागतमा सो आयोजना निर्माण कार्य सम्पन्न भएको आयोजकले जनाएको छ । खानेपानी समुदायलाई हस्तान्तरण गरिएको छ ।
    कार्यक्रममा मन्त्री बिना मगरले ‘हिमाल र पहाडमा लिफ्टिङ प्रविधि प्रभाबकारी बन्दै गएकाले यस्ता प्रविधि प्रयोग गरेर र तराईमा पनि भौगोलिक विविधताअनुसार प्रविधि प्रयोग गरी खानेपानीलाई जनताको पहँुचमा ल्याउने प्रतिबद्धता जाहेर गर्दछु’ भन्दै नेपाली जनता आधारभूत रूपमा खानेपानीको सुविधा उपभोग गर्नबाट वञ्चित रहेको बताइन् ।
    मन्त्री मगरले स्वच्छ खानेपानी संविधानमै मौलिक अधिकारका रुपमा व्यवस्था गरिएको छ भन्दै सबै जनतालाई खानेपानी पु¥याउने दायित्व बोकेको खानेपानी मन्त्रालय गम्भीर ढंगले यो दायित्व वहन गर्न लागिपरेको दाबी गरिन् । उनले मानिसमा पानीका कारण लाग्ने ८० प्रतिशत रोगबाट बच्नका लागि प्रत्येक नेपालीको घरघरमा स्वच्छ खानेपानी पु¥याउने दावी गरिन् ।
    मन्त्री मगरले वर्तमान अवस्थामा नेपालमा आधारभूत तहमा खानेपानीको पहुँच नभएकाले अबको लडाइँ समृद्ध राष्ट्रनिर्माणका लागि रहेको बताउँदै भनिन्, ‘हिजो हामी जनताकै मुक्ति आन्दोलनमा थियौँ र भोलिसम्म पनि लडिरहने छौँ । अब विकास निर्माणको कार्यक्रममा जुटनुछ ।’

    महामतिको चार सयौं जयन्ती

    सर्वधर्मसमन्वयका प्रणेता तथा श्रीकृष्णप्रणामी धर्मका आद्यप्रचारक महामति प्राणनाथको ४ सयौँ जन्मजयन्ती सातदिने महोत्सवका रूपमा मनाइँदैछ । गत वैशाख ७ गते सुरु भएको महोत्सव सप्ताहव्यापी कार्यक्रम गर्र्दै आगामी वैशाख १३ गते समापन हुँदैछ । वैशाख ६ गते बिहान विभिन्न झाँकीहरूसहित कलशयात्रा गरेर प्रारम्भ भएको उक्त महोत्सवको दोस्रो दिन वैशाख ८ गतेदेखि हरेक दिन बिहान ६ देखि बेलुका १० बजेसम्म नियमित कार्यक्रमहरू भइरहेका छन् । बिहान १० बजेदेखि १ बजेसम्मका लागि अतिथिहरूको स्वागत, मन्तव्य तथा सम्मानका लागि छुट्याइएको छ भने २ देखि ५ बजेसम्मको समय तारतमवाणी चर्चा र धर्मगुरुहरूको आशीर्वचनका लागि मिलाइएको छ । वैशाख १३ गतेका दिन पारायणको पूर्णाहूति गरेर दिउँसो २ बजे महोत्सवको समापन गरिने भएको छ ।

    पुराणको समापनमा भवनको शिलान्यास

    सिन्धुपाल्चोक बाह«बीसेको कफेश्वर महादेव मन्दिरमा वैशाख १ गतेदेखि लगाइएको भविष्यपुराणको पूर्णाहूति गत वैशाख ७ गते शुक्रबार शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले गर्नुभयो । शब्दयात्रा प्रकाशनका तर्फबाट हरि मञ्जुश्री र दीपक तिमल्सिनाले सहभागिता जनाउनुभएको उक्त अवसरमा प्रमुख अतिथिका रूपबाट हरि मञ्जुश्रीले आयोजक संस्थाका तर्फबाट पुराणवाचक पं. नवराज धिताल र उपवाचकलाई आभारपत्र पनि प्रदान गर्नुभएको थियो भने शिव र जीवको पृथकता र एकताका विषयमा प्रवचन गर्नुभएको थियो । उहाँले नै तीन वर्षअघि स्वर्णकौशिकीधामको समुद्घाटन पनि गर्नुभएको थियो ।
    पुराणको समापन समारोहमा भगवान् गौरीशङ्करका उपासक बाबा विश्वनाथले स्वर्णकौशिकीधाममा निर्माण गरिने सामुदायिक भवनको शिलान्यास गर्नुभयो । त्यस बखत उहाँले आफू ११ वर्षको उमेरमा आफ्ना पिताजीसँग यस स्थानमा आउँदा यहाँको दुरवस्था देखेर दिक्क बनेको र यस स्थानलाई सुन्दर धाम बनाउन कसरी सकिन्छ भन्ने विषयमा चिन्तन गर्ने गरेको, तर विगत केही वर्षदेखि हरेक वर्ष पुराणवाचन हुने गरेका कारण स्थानीय भक्तजनमा उत्साह बढिरहेको हुँदा यस स्थानले विकसित हुने अवसर पाएको कुरा बताउँदै अब यो स्थान वास्तविपक रूपमै स्वर्णकौशिकीधाम बन्न थालेको कुरा बताउनुभयो ।
    स्थानीय समुदायका तर्फबाट एक वर्षभित्र भवनको एक तला निर्माण गरिसक्ने र भवनमा पितृउद्धार कक्ष र वाचनालयलगायतका विभिन्न कक्षहरू राखिने जानकारी आयोजक समितिले गराएको थियो ।

    ‘मिसिगन ब्लुज’ सार्वजनिक

    उपन्यासकार अरुण शर्माद्वारा लिखित तथा डिकुरा प्रकाशनद्वारा प्रकाशित उपन्यास ‘मिसिगन ब्लुज’ लाई काठमाडौँ विश्वविद्यालयमा गत वैशाख ५ गते आयोजित एक समारोहमा सार्वजनिक गरियो । उपन्यासलाई उपन्यासकार अरुण शर्मा, विशेष अतिथि नारायण वाग्ले र प्रकाशकका तर्फबाट पुण्यप्रसाद प्रसाईले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको थियो ।
    काठमाडौँ विश्वविद्यालयका परीक्षा नियन्त्रक डा. पन्ना थापाले अतिथिहरूलाई खादा लगाइदिएर स्वागत गर्नुभएको उक्त कार्यक्रममा डा. हेमराज काफ्लेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    छतबाट धकेलेर साथीको हत्या

    हत्या गरेको अभियोगमा पर्वत जिल्लाको पैयु गाउँपालिका–४ हातेमालो चोक डेरा गरी बस्ने रुपन्देही देवदह नगरपालिका–६ घर भएका मिस्त्री काम गर्ने भीमबहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको छ । सुनारले उनीसँगै बस्ने भारतको महाराजगन्ज घर भएका ३५ वर्षीय सन्तोष साहलाई सामान्य बिवादमा डेरा घरको २ तलामाथी छतबाट धकेल्दा जमिनमा खस्न जाँदा गम्भीर घाइते भएकाले उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ स्याङ्जा पठाइएकोमा मृत्यु भएको थियो ।

    रेस्टुरेन्टमा गाँजा–चरेस

    ललितपुरको गोदावरी नगरपालिका–११ थापागाउँ बस्ने २९ वर्षीय अनिल गुरुङ, २६ वर्षीय राजन महर्जन र मकवानपुर हेटौंडा घर भएका २० वर्षीय अनिष श्रेष्ठलाई प्रहरीले कोन्जोसोम गाउँपालिका–१ चारघरेबाट १ सय ग्राम गाँजासहित पक्राउ गरेको छ ।
    यसै गरी कास्कीको पोखरा लेखनाथ महानगरपालिका–६ लेकसाइडस्थित फटकटा रेष्टुरेण्टमा बसेका इजरायली नागरिक २२ वर्षीय एलोन लोेबेल र २२ वर्षीय इरानालीलाई प्रहरीले १ सय ग्राम चरेससहित पक्राउ गरेको छ । प्रहरीले उक्त रेष्टुरेण्टका म्यानेजर रुपन्देही बुटवल उपमहानगरपालिका–७ दिपनगर बस्ने २६ वर्षीय अनुराग कार्कीलाई समेत अनुसन्धानको लागि पक्राउ गरेको छ ।
    यसै गरी प्रहरीले सोही स्थानमा रहेको फ्रिडम क्याफेको कोठामा रहेको झोलाबाट १ सय ग्राम गाँजाको धुलोसहित क्याफेका म्यानेजर रसुवा सरामथली गाउँपालिका–६ घर भएका २४ वर्षीय राजु तामाङ समेतलाई पक्राउ गरेको छ ।

    जुवाडेसँग पैसा कतिकति !

    काठमाडौंको टोखा नगरपालिका–१३ जलविनायक चोकस्थित तिलक सुनुवारको घरमा जुवातास खेलिरहेका सुनुवारसमेत ६ जनालाई प्रहरीले नगद ५२ हजार ३ सय ९० रुपैयाँ, इन्डोनेसियन डलर १५ हजार, कोरियन डलर ११ हजार, इराकी डलर १ हजार, बंगलादेशी डलर ७७ र चिनिया युआन ४ सहित पक्राउ गरेको छ ।
    काठमाडौं चन्द्रागिरी नगरपालिका–१३ नैकापमा जुवातास खेलिरहेका सोही ठाउँ बस्ने २८ वर्षीय रामकृष्ण शाही सहित ११ जनालाई नगद ५५ हजार ६ सय ५ रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको छ ।
    काठमाडौं महानगरपालिका–१३ कालिमाटी टंकेश्वर डेरा गरी बस्ने रामेछाप सुनाकोठी गाउँपालिका–२ घर भएका ३५ वर्षीय रामबहादुर खड्काको डेरा कोठामा जुवातास खलिरहेका खड्कासमेत ९ जनालाई प्रहरीले नगद ३८ हजार १ सय ६० रुपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको छ ।
    काठमाडौँ महानगरपालिका–१४ कलंकी मकालु पेट्रोलपम्प अगाडि खाली जग्गामा जुवातास खेलिरहेका नुवाकोट सूर्यगढी गाउँपालिका–५ घर भई टेकु बस्ने ३२ वर्षीय सूर्यबहादुर बोगटीसमेत ४ जनालाई नगद १३ हजार १ सय रुपैयाँ र १ बुक ताससहित प्रहरीले पक्राउ गरेको छ ।

    सुन भन्दै ठग्दै

    सुनजस्तो देखिने १ किलो पहेलो धातु लिएर ठगी गर्दै हिँडने सिन्धुपाल्चोक बाह्रबिसे घर भएका २२ वर्षीय राजकुमार तामाङ, २४ वर्षीय लिलाबहादुर तामाङ र सिन्धुपाल्चोक राम्चे बस्ने ३० वर्षीय बुद्ध लामालाई प्रहरीले भक्तपुर सूर्यविनायक नगरपालिका–२ बालकोटबाट धातु सहित पक्राउ गरेको छ ।

    खोलाको किनारमा लास

    कास्कीको रुपा गाउँपालिका–७ पिप्लेस्थित मादी खोलामा सोही ठाउँ बस्ने ४० वर्षीय बिष्णु सुबेदी मृत अवस्थामा फेला परेका छन् । तनहुँको शुक्ला गण्डकी नगरपालिका–६ बस्ने १२ वर्षीय उज्वल थापा सोही ठाउँस्थित म्यग्दे खोलाको किनारमा मृत अवस्थमा फेला परेका छन् ।

    हार्डवेयरका सामान चोरी

    काठमाडौंको तारकेश्वर नगरपालिका–८ स्थित गणेशबहादुर थापाले सञ्चालन गरेको न्यूजिके सप्लायर्सबाट २ लाख रुपैयाँ बराबरका हार्डवेयरका विभिन्न सामानहरु चोरी भएको छ ।
    भक्तपुरको सूर्यविनायक नगरपालिका–८ डेरा गरी बस्ने तनहुँ बन्दिपुर घर भएकी टिकामाया तामाङ र दोलखा सैलुङ्गेश्वरी घर भएकी अनु तामाङको कोठाबाट कोही नभएको अवस्थामा नगद २ लाख ५० हजार रुपैयाँ सहित करीव ३ लाख ६९ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

    नदीमा डुबेर मृत्यु

    मोरङको ग्रामथान गाँउपालिका–३ सिध्राहा डङटोली स्थित जुरी खोला तर्ने क्रममा कटहरी गाउँपालिका–७ बस्ने ६५ वर्षीय भिमबहादुर माझीको खोलामा लड्न गई पानीमा डुबेर मृत्यु भएको छ ।
    खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ बस्ने १७ वर्षीय दयन राई सुनकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका छन् ।

    छ्वालीमा आगो लगाउँदा मृत्यु

    पर्साको बहुदरमाई नगरपालिका–७ भौराटार बस्ने ७५ वर्षीय बासुदेव पण्डितले आफ्नो खेतमा रहेको गहुँको छ्वालीमा आगो लगाई खेतमा काम गरिरहेको अवस्थामा उक्त आगो उनको शरिरमा सल्कन गई जलेर घटनास्थमै मृत्यु भएको छ ।
    रोल्पाको रोल्पा नगरपालिका–५ भुजुङस्थित सामुदायिक बनमा लागेको आगो हावाहुरीले उडाउदा लाल बिकको कच्ची घरमा आगलागी भएर करीब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।
    अर्घाखाँचीको सितगंगा नगरपालिका–११ लामीदमार स्थित बालकुमारी खाम्चाको घरमा आगलागी हुँदा आगो बस्तीमा फैलिदा खाम्चासहित ८ जनाको ६ वटा फुसको घर र ६ वटा गोठ जलेर करीब ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
    तनहुँको रिसिङ गाउँपालिका–१ कोईदिम स्थित लोक्मागाउँमा आगलागी हुँदा गजबहादुर थापा समेत ८ जनाको घर र गोठ तथा चुरबहादुर थापाको घरमा रहेको मिलन आमा समूहको नगद २० हजार रुपैयाँ र ठाडो खोला कम्लेटी बन समूहको नगद ९३ हजार रुपैयाँ सहित करीब ४५ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।

    सवारी दुर्घटनामा मृत्यु

    डोटीको शिखर नगरपालिका — ३ स्थित ग.१ ज ५२७५ नम्बरको जिप अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खस्न गई दुर्घटना हुँदा जिपमा सवार सोही ठाउँ बस्ने ४० बर्षीया सिन्तुरी भुल, ३२ बर्षीया कली सार्की र १४ बर्षीय सुरज भुल सहित ३ जनाको घटनास्थलमै र मृत्यु भएको र मेडिकल कलेज कोहलपुर लैजाने क्रममा सोही नगरपालिका — ८ बस्ने ३५ बर्षीया झाकरी भुलको बाटोमै र २८ बर्षीया धौली भुलको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ । घाइतेहरुलाई उपचारको लागि मेडिकल कलेज कोहलपुर लगिएको छ ।

    २०७५ साल वैशाख ४ गते मङ्गलबारको अङ्कमा प्रकाशित विशेष सामग्रीहरू

    सम्पादकीय ः नयाँ रङ्ग नयाँ उमङ्ग

    विक्रम सम्वत्का आधारमा नयाँ वर्षको प्रारम्भ भएको छ । तिथिका आधारमा नमिले पनि गतेका आधारमा लागेको नयाँ वर्षले हरेक जीवको जीवनमा नयाँ रङ्ग छाओस् र नयाँ उमङ्ग ल्याओस्, हाम्रो शुभकामना !
    नयाँ वर्षले नयाँ अनुभव र नयाँ अनुभूति दिए हुन्थ्यो, तर त्यस्तो अनुभव र अनुभूतिले जीवनलाई नकारात्मक प्रभाव नपारे हुन्थ्यो भन्ने चाहना छ हाम्रो । हाम्रो भनेको नेपाली जनताको । नेपाली जनताले शान्ति पाइयोस् भन्न खोजेका छन्, आनन्दको अनुभूति चाहेका छन्, देशभित्रै काम गरेर पेट भर्न खोजेका छन् । नयाँ वर्षमा यस्तो वातावरण सिर्जना भइदिए हुन्थ्यो भन्ने भावना छ सबैको ।
    अहिले हरेक नेपालीको थाप्लोमा २५ हजार रुपियाँका दरले वैदेशिक ऋण छ । सङ्घीय संरचनाले गर्दा खर्च बढ्दैछ । आमदानीचाहिँ जतिको तति नै छ । यस्तो स्थितिमा देशले अग्रगति लिन सक्तैन । अब जन्मने हरेक बच्चाले २५ हजार रुपियाँ वैदेशिक ऋणको भारी थाप्लोमा बोेकेर जन्मनु हुँदैन । अहिले बाँचिरहेका जनताको बिजोग अब बाँच्ने जनताले भोग्नु हुँदैन । त्यसका लागि नयाँ वर्ष २०७५ देखि जनताको हितमा साँच्चै नै समर्पित हुने सङ्कल्प गरौँ । देशलाई ऋणमुक्त गराउने अभियान चलाऔँ ।

    लूटको साम्राज्य
    — प्रा. डा. गोपाल शिवाकोटी

    केही दिनअगाडि नेपालमा भएको अनियमितता र देशको ढुकुटी खाली भएको विषयमा श्वेतपत्र जारी गरिएको थियो । श्वेतपत्रमा उल्लेख भएका अनियमितता र लूटको विषयलाई लिएर काङ्ग्रेसीहरूले त्यसलाई लालपत्रका रूपमा व्याख्या गरे र काङ्ग्रेसी कर्तुतका रूपमा अनियमितताको फेहरिस्त प्रस्तुत गरेर काङ्ग्रेसीहरुलाई बदनाम गराएको भनी सत्ताधारीको आलोचना गरे । अहिले सरकारी सम्वैधानिक निकाय महालेखा परीक्षकको कार्यालयले राष्ट्रपतिसमक्ष बुझाएको प्रतिवेदनले मुलुकमा अनियमितता र आर्थिक अनुशासनहीनताको परकाष्ठा रहेको प्रमाण प्रस्तुत गरेकाले यो मुलुकमा लूटतन्त्र रहेको र नेपालको सार्वजनिक क्षेत्र लूटका लागि संरक्षित स्वर्ग भएको कुरा प्रमाणित भएको छ ।
    सर्वाेच्च अदालतले आईपीएस खरिद काण्डमा भएको अनियमितताले राष्ट्रको बेइज्जत गरेको फैसला गरेको थियो । त्यसमा सर्वाेच्च अदालत र न्यायिक निकाय भ्रष्टाचारको दलदलमा फसेको कुरासमेत उल्लेख भएको छ । ठूलाबडा न्यायाधीशबाट कति अनियमितता हुन्छ भन्ने कुरा जागिरबाट बर्खास्त भएको वर्षाैं बितिसक्ता पनि सर्वाेच्चबाट गाडी खर्च अनियमित रुपमा असुल गरिरहेको भनी त्यहाँका कर्मचारीहरुले गाडी खोसेर देखाएका छन् । पहिलेका प्रधान न्यायाधीशहरु सुशीला कार्की, गोपाल पराजुली लगायतले सरकारी गाडीको अनियमित रुपमा प्रयोग गरी चरम अनियमितता गरेको कुरा प्रकाशमा आएको छ । गोपाल पराजुलीले सात महिना दस दिनभन्दा बढी समय तलब र अन्य सुविधा लिएकाले उनीबाट दस लाखभन्दा बढी रकम असुल गर्नुपर्ने किताबखानाले ठहर गरी उनको अनियमितताको पोल खोलिदिएको छ । सबै कुराको छानबिन गर्ने जनताको प्रतिनिधिको संस्था संसदभित्रै बेथितिको चाङ लागेको छ । संसदमा ऐनविपरित करोडौँको खरिद–विक्री १२० गुणाले बढेको छ । अदालत अनियमितता र भ्रष्टाचारको अखडा भएको र आर्थिक चलखेलबाट मुद्दा हारजीत गर्ने भनी बदनाम भएको हुँदा अदालतप्रतिको विश्वास घट्तै गएको छ । अदालतमा गाईले राडी खाएको भन्ने पुरानो भनाइ नयाँ किसिमले उजागर हुँदैछ । सर्वाेच्चले लाभकर छुट नदिन दिएको आदेश कार्यान्वयन भएको छैन । एनसेललाई पैसा फिर्ता दिन गरेको छानबिन प्रक्रियामा रहेको छ । यसरी सबैको अनियमिताका जाँच गरी न्याय दिने निकाय बेथितिको संरक्षक भएकाले कसको विश्वास गर्ने भन्ने समस्या उत्पन्न भएको छ र संसदले यसलाई कसरी नियन्त्रण गर्छ र जनताको राजस्व संरक्षण गर्दछ भन्ने प्रश्न उठेको छ । प्रहरीबाट आईपीएस खरिदमा गरेको अनियमितताले राष्ट्र बदनाम भएको भनिएको अवस्थामा प्रहरी प्रशासन नै भ्रष्टाचारको संरक्षकका रूपमा रहेको छ । कर फस्र्योट आयोगले अनियमितता गरी अरबौँ खर्च गरेको भनी विशेष अदालतमा कारबाही चलिरहेको अवस्थाले यस्ता आयोग पनि आर्थिक अनियमितता र भ्रष्टाचारको अखडा बनेको देखिन्छ । अहिले ठूलाबडा र शक्तिमा पुगेकाहरुमा को भ्रष्ट छैनन् भनी सिला खोज्नुपर्ने अवस्था सिर्जना भएको महालेखाको आयोगको प्रतिवेदनले प्रस्ट गरेको छ । विशेष अदालतले अकूत धन कमाएको भनी गणेश लामामाथि दिएको मुद्दामा सम्पत्ति शुद्धीकरण ऐन आउनुअगाडि कमाएको सम्पत्ति हेर्न मिल्दैन भनी दिएको फैसलाले अदालतकै कार्यप्रति औँला उठेको छ । अपराधीको अपराधलाई नभएर प्रक्रियालाई हेरेर कुन मितिसम्म गरेको अपराधको छानबिन गर्ने र नगर्ने भन्नेजस्ता कुरा उठाएर कसैलाई निर्दाेष ठहराउनुले कस्तो खालको नजिर बसाउन खोजिएको हो, बुझ्न सकिँदैन ।
    भविष्यका कर्णधार विद्यार्थी बनाउने ठेक्का लिएका निजी विद्यालयमा भएका ब्रह्मलुटका खबरहरु आएका छन् । शिक्षकहरु विद्यार्थीको नाममा ठगी पेसामा लागेपछि भविष्यका कर्णधारको भविष्य कस्तो हुने भन्ने प्रश्न देखापरेका छन् । यस्तै वाइड बडी जहाजको खरिद कानुनविपरित भई अनियमितता गर्ने कार्यमा निरन्तरता रहेको छ । यसअगाडि गिरिजाप्रसाद कोइरालाले लाउडा काण्डमा अरबौँको भ्रष्टाचार गरेको, भीम रावलले साउथ इस्ट चाइना काण्डमा अनियमितता गरेको र पञ्चायतकालमा बोइङ खरिद गर्दा दरबार संलग्न हुने गरेको जस्ता कुराहरु राजतन्त्र हटिसकेपछि पनि कायम रहेकोले आर्थिक लुटतन्त्रको क्षेत्रमा गणतन्त्र पनि राजतन्त्रको पदचिह्नमा अगाडि बढेको देखिन्छ । यस वर्षको विद्यार्थी भर्ना अभियानमा ठूलो रकम अनियमितता हुन्छ कि भनी सबै सचेत छन् । एकजनाले अभिभावकत्व लिई विद्यार्थी भर्ना गरिदिने परम्परा राजतन्त्रमा थियो । अहिले उच्चपदस्थ अधिकारीहरुले एकजना विद्यार्थीको अभिभावकत्व ग्रहण गर्ने राजतन्त्रात्मक परिपाटीलाई कायम राखेका छन् । राजा महेन्द्रले रुक्मांगद कटुवाललाई यस्तै अभिभावकत्व दिएका थिए भने रानी ऐश्वर्यले अभिभावकत्व लिएर बाल संगठनमा राखेकी थिइन् । अभिभावकत्वको नाममा कति अनियमितता हुने हो, प्रस्ट भइसकेको छैन । शिक्षाक्षेत्रमा भएको अनियमितता र भ्रष्टाचारले सीमा नाघिसकेको छ । भ्रष्टाचारले शैक्षिक क्षेत्र अस्तव्यस्त भएको छ । यस वर्षको महालेखाको प्रतिवेदनले ४६ खर्ब ८७ अर्बको लेखापरीक्षणमा २ खर्ब ९० अर्ब बेरुजु देखिएको छ भने गत वर्ष बेरुजुको रकम १ खर्ब २० अर्ब ९१ करोड रहेको थियो । बेरुजु ५ खर्ब रुपियाँ नाघेको छ । नेपालको वार्षिक बचतभन्दा यो आधा रकम हो । बढी बेरुजु भौतिक योजना तथा यातायात मन्त्रालयले गरेको छ । १९ वटा सार्वजनिक संस्थानले लेखापरीक्षण नगराई आर्थिक अनियमितता ढाकछोप गर्ने प्रयास गरेका छन् ।
    भ्रष्टाचार र अनियमितता हुनुमा यसलाई रोक्ने जिम्मा लिएको अर्थ मन्त्रालय शुद्ध हुन नसकेको ठहर पनि गरिएको छ । माथिबाटै अनियमितता र भ्रष्टाचार भएकाले अनियमितता फस्टाएको ठहर गर्न अप्ठ्यारो पर्दैैन । बेरुजु ५ खर्बमध्ये ४ हजार ८१२ सरकारी निकायको बेरुजु ९४ अर्ब ८२ करोड, सम्पूर्ण सरकारी कार्यलयको बेरुजु २ खर्ब १२ अर्ब ६७ करोड, जिल्ला समन्वय समिति, अन्य संस्था र समितिको बेरुजु ६२ अर्ब, ७३८ स्थानीय तहको १४ अर्ब २५ करोड, सार्वजनिक खरिद ऐनविपरीत प्रतिस्पद्र्धाबिना एक अर्व ४० करोडको कार्य गराएको भन्ने रहेको छ । निर्वाचन आयोगमा भएको अनियमितता र दोहोरो खर्चजस्ता कुरा सुन्दा जिब्रो काड्नुपर्ने स्थिति छ । त्यहाँका कर्मचारीहरुले दोहोरो–तेहेरो भत्ता लिएको, पाँचतारे होटलमा खाजा खाएको भुक्तानी भनी मुलुकलाई दुहुनो गाई बनाएको देखिन्छ ।
    नेपाल भ्रष्टाचार हुने मुलुकमध्ये १३१ औँ मुलुकमा पर्ने कुरा ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदनमा रहेकोमा महालेखाको तथ्याङ्कले यसलाई झुटो सावित गरेर नेपाललाई भ्रष्टाचार र अनियमितता हुने राष्ट्रको माथिल्लो तहमा पु¥याएको छ । यस वर्ष मात्र एक खर्ब ११ अर्ब रुपैयाँभन्दा बढी अनियमित र आर्थिक अनुशासन विपरितका कार्य भएका छन् । यो खर्च पुष्टि नभएको वा हिनामिना भएको रकम हो । सार्वजनिक वित्त परिचालन गर्ने सरकारी वा सार्वजनिक निकायका कर्मचारीहरुको यो खेलबाड, अनियमितता र लूटतन्त्र हो । केन्द्रमा बसेर लुट गर्ने पाइने भएकैले अहिले कर्मचारीहरूले स्थानीय निकाय र प्रदेशमा काम गर्न जान अस्वीकार गरेको हुनुपर्दछ । उनीहरु पहिल्यैदेखि सेट भैसकेको प्रवाहलाई निरन्तरता दिई सरकारी आदेशलाई उल्लंघन गर्दैछन् । उल्लंघन पनि सरकारका वरिष्ठ अधिकारी तथा नेताहरुको पृष्ठपोषणमा भैरहेकोले भ्रष्टाचार र अनियमितताका पछाडि दल र यसका नेताहरुको पृष्ठपोषण रहेको थाहा हुन्छ ।
    आम जनताले बुझाएको करमा लुट भएको छ । विदेशी निकायहरुबाट आउने रकम बजेटभन्दा बाहिर राखेर अनियमितता गरी विदेशीहरुको नुनको सोझो गर्ने काम भएको छ । यस्तै अनियमितताले गर्दा मेलम्ची आयोजनामा विलम्ब हुँदैछ । अपर तामाकोशी विलम्ब भैरहेको छ । भारतले मिलेर बनाउने पेट्रोलको पाइप बिछ्याउने काम ढिलो गरेर अनियमितता गर्ने काम भैरहेको छ । हुलाकी राजमार्ग कमिसनको गोलचक्करमा फसेको छ । रुट पर्मिट खारेज गर्ने सन्दर्भमा समेत ठूलो आशंकाहरु पैदा भएका छन् । यातायात व्यवसायीहरु जनतालाई लुट्न पाउनुपर्छ, लुट्ने आफ्नो अधिकार हो, लोकतन्त्र भएकाले लुट्न खुला गरिनुपर्दछ भन्ने खालको माग गर्दैछन् । यातायात सेवाबाट असुल गर्ने रकममा अरबौँ लुट भएको छ, सिन्डिकेट चलेको छ । बैंकहरुमा सिन्डिकेट लागू गरेर आफूले जति ब्याज लिए पनि हुने तर निक्षेपकर्तालाई सोही रकमको ब्याज यति मात्रै दिने भनी बैंकहरुले जनतालाई खुलेआम लुटिरहेका छन् । राष्ट्र बैंक कथित नियन्त्रणको नाममा जनताको आँखामा छारो हाल्न बैंकहरुको नियमन गरेको बहाना गर्दछ । नेपालमा रहेका बैंकहरुले प्रतिवर्ष अरबौँको नाफा गरेको पनि जनतामाथि गरिएको लुटकै कारणबाट हो । सर्लाहीको नवलपुरमा रु. १० मा किनेको तरकारी काठमाडौँमा रु. ८० पु¥याएर लुट्ने व्यवस्था चलिरहेको छ । वैदेशिक ऋण र सहायताबाट प्राप्त भएको रकममा समेत कमिसन र लुट चलेको देखिन्छ । यसै वर्ष मात्र प्रत्येक नेपालीको टाउकोमा वैदेशिक ऋण २५ हजारभन्दा बढी पुगेको छ । एउटा बालक जन्मिदै २५ हजार रुपियाँभन्दा बढी ऋण लिएर जन्मिन्छ । यसलाई तिर्न खाडी मुलुकको मरुभूमिमा रगत–पसिना बगाउनुपर्दछ । वैदेशिक रोजगारीमा अनियन्त्रित लुट र बेथिति रहेको छ ।
    यस्तो लूट सरकारी र राजनीतिक तहबाट भइरहेको छ । बेलामौकामा ऐनमा सुधार गर्ने भनी गफ गरिन्छ, तर व्यवसायीको दबाबमा वैदेशिक ऐन संशोधन हुन सकेन भनी लाचारी देखाएर लुटको हिस्सेदारी बनेको पाइन्छ । सिन्डीकेट कायम राख्न आन्दोलनको धम्की दिइन्छ । कर्मचारी, नेता तथा दलका वरिष्ठहरु विदेश भ्रमणमा अरबौँ लुट गरिरहेका छन् । प्रतिमहिना यस्ता व्यक्तिहरु हजारौँको संख्यामा विदेश जाने गरेको पाइन्छ । उनीहरुले गैरसरकारी संस्थालाई संरक्षण दिएर लुट मच्चाइरहेको पाइन्छ । नेपालको विकासको लागी विदेशीहरुबाट ऋण र अनुदान माग्न खगौतो बोकेर हिँड्ने गरिन्छ । तर त्यहाँबाट प्राप्त भएको रकमको १० प्रतिशत मात्र नेपालमा खर्च भएको छ, अरु सबै भागबन्डामा सकिने गरेको छ । विदेशीहरुले बजेटभन्दा बाहिर खर्च गर्ने गरी गरिदिएको व्यवस्था पनि अनियमितता र भ्रष्टाचार गर्न सजिलो होस् भनेरै हो । हालै एक प्रतिवेदनले युरोपीय, अमेरिकी तथा अन्य दातृ मुलुकले माओवादी जनयुद्ध दमन गर्न ठूलो रकम खर्च गरेको जानकारी दिएको छ । अहिले उनीहरु आतंकवाद र अतिवादीहरुमाथि नियन्त्रण गर्न यो रकम खर्च गरिरहेका छन् । यस्तो खालको गतिविधि बढेको भनी त्यसलाई नियन्त्रण गर्न प्रधानमन्त्रीले खरिपाटीमा सैनिक प्रशिक्षार्थीहरुलाई उपाधि प्रदान गर्दा भनेकोले अहिले पनि आतंकवाद र अतिवादको नाममा अनियमितता भैरहेको देखिएको छ । यसैलाई दृष्टिगत गरी वामपन्थी सरकारले अनियमिततालाई रोकेर असफल हुनबाट बच्नुपर्दछ भनी प्रचण्डले वक्तव्य दिएका छन् । नेपाल यस्तै वित्तीय अनुशासनहीनता र भ्रष्टाचारका कारण जनतामा बढ्दै गएको वितृष्णाबाट असफल राष्ट्र हुने खतरा देखिएकाले त्यसको उपचार गर्न सल्लाह दिएको हुनुपर्दछ । तर नेपाल अहिले लुट र भ्रष्टाचारको साम्राज्य बनेको छ । लुटाहा र फटाहाहरुलाई संरक्षण दिने स्वर्ग बनेको छ । श्वेतपत्र र महालेखा परीक्षकको प्रतिवेदन तथा डोफोर्स काण्डसम्बन्धी सर्वाेच्च अदालतको फैसलाले नेपाल असफल राज्य हुन अग्रसर रहेको संकेत गरेको छ ।

    ऋणैऋणको आर्थिक समृद्धि
    — अशोकचन्द्र धुँजू श्रेष्ठ

    देशमा राजनीतिक चेतना धेरै बढिसकेको छ र शिक्षाले पनि फड्को मारिरहेको छ । यहाँ खाँचो थियो राजनीतिक स्थीरताको । देशले अग्रगति खोजिरहेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक पद्धतिअन्तर्गत देशमा नयाँ संविधान जारी भएर तीन चरणको निर्वाचन सफल पनि भएकाले नेपालले आफ्नो बलियो पक्ष विश्व समुदायलाई देखाइसकेको छ । तर मधेस र आदिवासी, जनजातिको समस्या भने सल्टिइसकेको देखिँदैन । उनीहरू असन्तुष्ट देखिएकै छन् । समाधान होला भन्नेमा विश्वास छ ।
    मुलुक गम्भीर आर्थिक संकटमा छ । मुलुकका सबै आर्थिक सूचकांक नकारात्मक छन् । राज्यले प्रशासनिक खर्च जुटाउनै आन्तरिक ऋण लिनुपर्ने अवस्था छ । व्यापार घाटा अकासिँदै गएको छ । निर्यात र रेमिट्यान्स घट्न थालेको छ । राष्ट्र बैङ्कको तथ्यांकअनुसार गत पुससम्म ३ खर्ब ४० अर्ब ३४ करोड रुपियाँ रेमिट्यान्स नेपाल भित्रिएकोमा गत वर्षको सोही अवधिमा ३ खर्ब ४२ अर्ब २३ करोड रुपियाँ भित्रिएर रेमिट्यान्स बृद्धिदर ०.५ प्रतिशतले ऋणात्मक रहेको छ ।
    प्रकाशित रिपोर्टअनुसार दैनिक उपभोग्य र विलासिताका सामग्रीको उच्च आयातसँगै निराशाजनक निर्यातले वर्षको आठ महिनामै व्यापार घाटा ६ अर्ब १४ करोड पुगेको छ । राज्यले विकास खर्च गर्न सकिरहेको छैन भने वैदेशिक लगानीसमेत बढ्न सकिरहेको छैन । मुलुकमा तीन तह स्थानीय, प्रदेश, केन्द्र सरकार र संसदको अभ्यास हुँदा राज्यको प्रशासनिक खर्च बढ्नु स्वाभाविकै हो । यस्तो अवस्थामा मुुलुकको विकास निर्माणलाई जनअपेक्षा अनुरूप तीव्र गतिमा अघि बढाउन राज्यको आम्दानी बढाउनु अपरिहार्य भएको छ । त्यसका लागि मुलुकको संघीय संसदले सामयिक र ऐतिहासिक महàवको नीति निर्माण गर्नु आवश्यक छ ।
    देशमा संघीयता आएको छ तर संघीयताले आफैं समृद्धि अर्थात सम्पन्नता दिने होइन, समृद्धिको खाका बनाउने जिम्मा प्रमुख नेताको छ । नेताहरूले बाँडेका सपना पूरा हुन उनीहरूले भन्दै गरेको समाजवाद आउनुपर्नेछ । तर आर्थिक समृद्धि र सुशासन नभई सो सम्भव छैन । यसर्थ उनीहरू यीप्रति कटिबद्ध हुनुपर्छ । अर्थिक समृद्धि र सुशासन सुन्दा मिठो लाग्छ तर व्यवहारमा कार्यान्वयन गर्न कठिन छ ।
    देशको राजनीतिक, सामाजिक र आर्थिक जीवनलाई भ्रष्टाचारले संक्रमित गरेको छ । भ्रष्टाचार र गुटबन्दीमा संलग्न सञ्जाल अर्थात कार्टेलहरूले नेपाली अर्थतन्त्रका मुख्य क्षेत्रहरूलाई नियन्त्रण गरेका छन् । तिनले थोरैलाई मात्र लाभ पु¥याउँछन् र बाँकी सबैलाई मर्का पार्छन् । यसर्थ कार्टेल व्यवस्था निर्मुल पार्नुपर्दछ ।
    देशविकासको मुख्य बाधक भ्रष्टाचार भएको ठहर सबैले गरेका छन् । छिमेकी देश चीनमा राष्ट्रपति सीले पनि उक्त कुरा महसुस गरेर अहिले त्यस विरुद्धको अभियानलाई सशक्त प्रदान गरेका छन् । हामीकहाँ पनि भ्रष्टाचार ठुलो समस्या भएको छ । केही नभएकाहरूले अकूत सम्पति कमाएकोमा राजनीतिक संरक्षण भएको छ भन्ने जगजाहेर छ । भ्रष्टाचारी आचरणले न्यायका पवित्र स्थल विथोलिएको छ । यसर्थ भ्रष्टाचार विरुद्धको शून्य सहनशीलताको प्रण कार्यान्वयन गर्नु जरुरी छ । यस सन्दर्भमा वर्तमान प्रधानमन्त्री केपी ओलीले केही दिनअगाडि आफूलाई गरेको सम्मान कार्यक्रममा ‘सरकार न्यायोचित व्यवस्था, कानुनी राज्य र सुशासनको साथ अगाडि बढ्नेछु, भ्रष्टाचार नियन्त्रण र निर्मुल पार्नेछु’ भनी जनाउनुभएको प्रतिबद्धता प्रशंसनीय छ ।
    यतिखेर राजनीतिक दलहरू देशविकासको सम्बन्धमा ‘समृद्धि’ शब्दको प्रयोग जोडतोडले गरिरहेका छन् । उक्त शब्दको प्रयोग नगरिएको कुनै कार्यक्रम छैन । समृद्धि सबैको चाहना हो । तर समृद्धिको ढोल बजाएर मात्र हुँदैन । घोषणा गरेर मात्र हुँदैन । समृद्धि विचारलाई कुविचार गर्नु हुँदैन । सुविचार गरेर कार्यान्वयनमा उतार्नुपर्छ ।
    २०६३ असार २ गते माओवादी अध्यक्ष प्रचण्डले भूमिगत जीवनबाट पहिलोपटक सार्वजनिक हुँदा ‘नयाँ नेपाल’ बनाउने भने । त्यो बेला अहिले ‘समृद्धि’ जस्तै नयाँ नेपाल खुबै चल्यो । नयाँ नेपाल वाक्यांश प्रयोग नगर्नेहरू त्यसबेला प्रतिगामी नभए पनि यथास्थितिवादीमा अवश्य दरिन्थे । कालान्तरमा प्रचण्ड स्वयं पुरानाजस्तै भइसकेपछि त्यसको प्रयोग छाडियो । समृद्धिको कामना २००७ साल फागुन ७ गतेको शाही घोषणामा राजा त्रिभुवनले पनि गरेका थिए । यो ‘समृद्धि’ शब्दको निरन्तरता गणतन्त्र आएपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र राजनैतिक दलका नेताहरूले पनि दिएका छन् ।
    भनिन्छ समृद्धि देशका शासकहरूलाई माग आएका छन् । आम जनताको निम्ति आएको छैन । जनताले समृद्धिको नारा खुबै पाएका छन् । समृद्धि शासकहरूलाई मात्र आएर हुँदैन । जनतालाई पनि आउनुपर्दछ । जनता समृद्धिका लागि आशामुखी भइरहेका छन् । यसै सन्दर्भमा व्यक्तिगत जीवनशैली गुणस्तरमा सुधार गरी व्यक्तिगत उन्नयन, स्वतन्त्रता, आत्मसम्मान लगायत समाजिक न्याय र समानताको ख्याल गरेको सन्तुलित र दिगो विकास भएको समृद्धिका लागि कतिसम्म पर्खने र त्यसका लागि कति क्रान्ति गर्ने भन्ने प्रश्न जनमानसमा उठिरहेको छ । अब क्रान्ति गर्न नपरोस् ।
    समग्रमा नेपालको समृद्धिका लागि विकासको मेरुदण्डको रूपमा रहेका आधुनिक कृषि, जलस्रोत, साना उद्योग र पर्यटनको विस्तार हुनु जरुरी छ । युवालाई विदेश पठाउनेभन्दा स्वदेशमा राखेर व्यस्त बनाउनेतर्फ केन्द्रित हुनुपर्नेछ । वैदेशिक सहयोग, सहकार्य लगानीमा अघि बढ्नुपर्दछ । प्रगतिको लक्ष्यमा उठ्नुपर्छ र उठ्ने हो । यसो गर्न सकेमा हामीले चाहेको समृद्धि साकार हुनेछ ।

    गिर्ला है रारा तालमा शाख !
    — रामचन्द्र हुमागाई

    चैत्र २७ गते । नेपाल अझै पनि जंगली युगमा रहेछ भन्ने कुरा दिनदिनै आएका समाचारले पुष्टि गर्छ । बुटवलकी किशोरी, त्यो पनि पहाडिया मूलकी युवतीलाई दाइजो नल्याएको झोकमा उनका पति र सासुले सताएर प्रहरीको शरणमा जान बाध्य भएको समाचारले आङै सिरिङ्ग गर्छ । मधेशी मूलका मानिसको त पुरानो वानी नै हो, त्यसलाई विस्तारै साम्य पार्न सकिन्छ तर पहाडियाहरूमा यो रोग कहाँबाट स¥यो ? बाल वलात्कार, वोक्सी र धामीझाँक्रीको समस्या पनि पुरानै हो । कतै ‘सौ चुहा खाकर विल्ली चली हज’ भनेको यही त होइन ?
    चैत्र २८ गते । प्रधानमन्त्री केपी ओलीले माथिल्लो तामाकोशी जलविद्युत आयोजना प्रमुखलाई म्याद जारी गरेर ‘आगामी नौ महिनामा निर्माण कार्य सक्नु’ भनेछन् । के ओलीको बोलीलाई यी प्रमुखले सुनवाइ गर्लान् त ? गरेनन् भने हाकिमको के हालत होला ? वा प्राविधिक कार्य भएकाले ढिला हुन गएको भन्दै अर्को समन जारी होला ?
    चैत्र २९ गते । गिठ्ठा भ्याकुर पनि पेटभरी खान नपाउने नेपाली जनताका सरकारी कर्मचारीले एक वर्षमा चिया मात्रै ७ अर्बको खाएछन् । नेपाली कफीले विश्व वजारमा सान देखाएको बेला ‘कफी पनि खाएका थियौ’ं भनेर विल पेश गरिएको भए हुन्थ्यो नि ! कमसेकम नेपाली पैसा नेपालमै रह्यो भनेर चित्त बुझाउन त पाइन्थ्यो ।
    चैत्र ३० गते । देख्न त परै जाओस् सुन्दा पनि कहालीलाग्दो कुरा । ५ खर्ब वेरुजु । महालेखाका कर्मचारी वदमास त होइनन्, हिसाव मिलाउनै नजान्ने ? एकजना उपसचिव स्तरका कर्माचारीले केही वर्षअगाडि भनेका थिए, ‘हामीले लोकसेवा पास गर्नु नै हाम्रो जागिर हो, आम्दानी भनेको त अतिरिक्त हुनुुपर्छ’ अर्थात् टेवलमुनीको आम्दानीलाई मात्रै सरकारी कर्मचारी आम्दानी मान्छन् । अनि भ्रष्टाचार नभए के हुन्छ !यस्ता मानिसलाई कर्माचारी भनेर पालिराख्नु सरकारको दायित्वभित्र पर्छ र ! हामीलाई त पर्लाजस्तो लाग्दैन ।
    २०७५ बैशाख १ गते । प्रधानमन्त्री केपी ओली भारतको निम्तो मानेर नेपाल फर्किएका छन् । फर्किने वित्तिकै ‘के ल्याए त ओलीले’ भन्ने विषयले निकै प्राथमिकता पायो । यो प्रसंगमा एकपटक विहारका लालुप्रसाद यादवलाई सम्झिन मन लाग्यो । उनी यतिवेला जेलमा छन्, उनको चियोचर्चो नहुनुपर्ने हो तर वलीको भ्रमण फिर्तीपछि ओलीले के ल्याए भन्ने विषयमा चासो बढेको हो । लालुप्रसाद यादव बिहारका मुख्यमन्त्री थिए । उनी दिल्ली गएर विमानस्थलमा आउँदा पत्रकारले सोधिहाले, ‘लालुजी आपने दिल्ली से क्या लेकर आया है’ । लालुको ठट्टा गर्ने वानी, प्वाक्क भनिहाले, ‘वही बनियान, तौलिया और कोलगेट, ब्रस’ । कहीँ ओलीजीले पनि यत्ती र यस्तै कुरा मात्रै लिएर आए कि अरु केही, नेपाली जनताले जान्न चाहेका छन् ।
    बैशाख २ गते । प्रधानमन्त्री ओली मन्त्रीपरिषदको बैठकमा भाग लिन रारा ताल पुगेर फर्किएका छन् । यो तामझामलाई देखेर नेपाली जनता खुशी छैनन् । माधबकुमार नेपालको प्रधानमन्त्रीत्वको शाख गिर्न शुरु गरेको पनि कालापत्थरमा क्याविनेट बैठक राख्दा हो भने पुष्पकमल दाहालको शाख गिरेको साढे दुई लाखको पलङले हो । कि सर्वहारा पार्टीको नेता भन्न छोड्नुप¥यो, कि यस्ता कुराको पछि लाग्नुको साटो मितव्ययिता अपनाएर खर्चको जोहो गर्दै विकास निर्माणका काममा लाग्नुप¥यो । अन्यथा काले खत्री र खत्री कालेमा के फरक पर्ला र !
    बैशाख ३ गते । खनालद्वयको चमत्कार देखिएको छ प्रहरी सेवामा । नेपाल प्रहरीमा रमेश खरेललाई एक नम्वरले हुत्याएर सर्वेन्द्र खनाल माथि उक्लिएका छन् भने विना प्रतिस्पर्धा शैलेन्द्र खनाल सशस्त्रमा महानिरिक्षक बनेका छन् । निजामतीमा झैं चट्टी पड्काउँदै सहर पसेका र कलेजमा मण्डले राजनीति गरेकालाई प्रहरी सेवामा लैजाने परम्परा थियो तर अब पार्टीको राजनीति गर्नेहरू प्रहरी सेवाको उपल्लो दर्जामा पुग्ने परम्परा बसिसकेको छ । अहिलेसम्म नेपाली कांगे्रसका मान्छे माथि पुग्थे, पुगिराखेकै छन् भने यि खनालद्वय कुन ड्याङका मुला हुन् ! तल देखिएको जनसेवाको नकाव माथि पुगेपछि उत्रिने गरेको छ । हेरौं यिनीहरूले फलामको नकाव लगाएका छन् कि छालाको !

    तपाईंका लागि २०७५ साल

    मेष ः यो राशिका लागि २०७५ साल राम्रै रहनेछ । त्यसमा वर्षको पूर्वाद्र्धमा बढी अनुकूलता रहनेछ । वर्षको उत्तराद्र्धमा भने केही समस्याका बाबजुद सफलता पाइनेछ । पठनपाठनमा लागेका विद्यार्थी तथा शिक्षकहरूलाई राम्रो रहनेछ । शैक्षिक व्यवसायमा लाग्नेहरुलाई राम्रै आम्दानी होला । साझेदारीमा गरेका काममा मनग्य आम्दानी होला । व्यावसायिक क्षेत्रमा लाग्नेहरुले कार्तिक महिनासम्म रामै्र आम्दानी गर्लान् । व्यापार, व्यवसाय तथा सामूहिक कामबाट लाभ हुनेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ । यस्ता क्षेत्रबाट अकस्मात लाभ मिल्नछ । नोकरी गर्नेहरुलाई फाइदाजनक रहनेछ । पारिवारिक समस्याहरू समाधान हुनाले परिवारमा शान्ति छाउला । प्रशासनिक पक्षबाट केही तनाव वा झन्झट भोग्नुपर्ला तर उन्नतिमा बाधा पुग्ने छैन । जग्गाजमिन सम्बन्धी काम गर्नेहरुका लागि त्यति राम्रो नहोला । वर्षको उत्तराद्र्धतिर कहीँ लाभ मिल्ला तर पूर्वाद्र्ध तनावग्रस्त रहला । स्वास्थ्य कमजोर रहनाले त्यसमा धनराशि खर्च होला । परिवारको स्वास्थ्यका क्षेत्रमा धन खर्च हुनेछ । असार, असोज, माघ र फागुन महिना लाभप्रद छन् ।
    वृष ः यो राशिका व्यक्तिहरूलाई यो वर्ष सामान्य रहेको छ । वृषराशिका व्यक्तिलाई यो वर्ष अढैया शनिदशा चल्नेछ । यसले यी राशिका मानिसलाई मानसिक तनाव, पारिवारिक कलह, काममा ढिलासुस्ती जस्ता समस्या भोग्नुपर्ला । वृषराशिका मानिसहरूलाई आर्थिक समस्याले पिरोल्ने देखिन्छ । अध्ययन अध्यापनमा लाग्नेहरुलाई परिश्रम अनुसारको फल नमिल्ला । व्यवसायीका हिसाबले शैक्षिक क्षेत्रमा लाग्नेहरुले अनेक समस्यासँग जुध्नुपर्ला । आँखा तथा टाउकोसम्बन्धी समस्या आउनेछन् । व्यापार–व्यवसायमा घाटा बेहोर्नुपर्ला । वर्षको उत्तराद्र्धतिरबाट केही राम्रो हुने सम्भावना रहनेछ । व्यापार–व्यवसायबाट सामान्य लाभ मिल्नेछ । वर्षको सुरुमा बनेका शत्रुहरू परास्त हुँदै जानेछन् । नोकरीमा अपजस बेहोर्नुपरे पनि पदोन्नति तथा अन्य लाभ भने हुनेछ । वैदेशिक क्षेत्रमा जाने व्यक्तिहरूलाई लाभ हुनेछ । साउन, कार्तिक, फागुन र चैत्र महिना फलदायी रहनेछन् ।
    मिथुन ः यो राशिका व्यक्तिहरूलाई यो वर्ष मध्यम फलदायी रहनेछ । वर्षको पुर्वाद्र्ध राम्रै भए पनि उत्तराद्र्ध त्यति सफल नहोला । वर्षको पूर्वाद्र्धमा अध्ययन अध्यापन सन्तोषजनक नदेखिए पनि उत्तराद्र्ध राम्रो हुनेछ । शत्रु बढ्नाले चुनौती थपिनेछ । आफन्तसँगको लेनदेन कारोबार र साझेदारीका काममा विवाद उत्पन्न हुनाले सम्बन्ध बिग्रनेछ । आम्दानीभन्दा खर्च बढ्नाले आर्थिक समस्या बढ्नेछ । गरिरहेको काममा बाधा उत्पन्न हुनाले काममा परिवर्तनको सम्भावना छ । व्यापार र पशुपालनबाट सामान्य लाभ मिल्नेछ । प्रेम तथा दाम्पत्य जीवनमा तनाव आउने देखिन्छ । पारिवारिक स्वास्थ्यमा निकै खर्च बढ्नेछ । प्रशासनिक वा अदालती काममा पनि अनेक उल्झन आइपर्नेछ । वैशाख, जेठ, भदौ, र मङ्सिर महिना लाभदायी रहलान् ।
    कर्कट ः कर्कट राशि भएका व्यक्तिका लागि यो वर्ष मिश्रित किसिमको हुनेछ । नोकरी तथा सामाजिक काममा यी राशिका व्यक्तिलाई सफलता मिल्नेछ । सामाजिक काममा मानसम्मान मिल्नेछ । आर्थिक पक्ष मजबुत हुनेछ । आर्थिक प्रगतिको नयाँबाटहरु फेला पर्नेछन् । व्यापार–व्यवसायबाट सामान्य लाभ मिल्नेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ । लामो यात्राको योग छ । पारिवारिक खर्च बढ्नेछ । नोकरीमा स्थानान्तरणको योग छ । शत्रु बढ्नाले आर्थिक हानी बेहोर्नुपर्ला । प्रेम तथा दाम्पत्य जीवनमा उतारचढाव आउला । अनावश्यक विषयमा धन खर्च होला । मुद्दामामिलामा फस्नुपर्नाले मानसिक तनाव आइलाग्लान् तर जीत हुनेछ । वैशाख, जेठ, असोज पुस महिना लाभकारी हुनेछन् ।
    सिंह ः सिंह राशि हुनेहरुका लागि यो वर्ष राम्रै हुनेछ । शत्रुहरू पराजित हुनेछन् । गुमेको धन हात पर्नेछ । पारिवारिक तथा स्वास्थ्यसम्बन्धी समस्याबाट छुटकारा पाइनेछ । विद्यार्थीहरूका लागि सफल रहनेछ । विद्या क्षेत्रमा व्यावसायिक रूपमा लाग्नेहरुका लागि सफल हुनेछ । पैतृक सम्पत्तिमा झमेला बढ्नेछ । प्रेम तथा दाम्पत्य जीवन सफल हुनेछ । व्यापार तथा कृषिबाट लाभ हुनेछ । आर्थिक मामलामा नयाँ प्रगति हुनेछ । कष्ठदायी लामो यात्रा हुनेछ । वर्षको सुरुमा अग्निभय, चोरभय र चोटपटकको योग छ । वैदेशिक क्षेत्रमा जानका लागि सहज छैन । नोकरी गर्नेहरु लागि अपजस आउने र नयाँ मुद्दामामिला लाग्न सक्नेछ । जेठ, असार, कार्तिक र माघ महिना अनुकूल देखिन्छ ।
    कन्या ः कन्या राशिहरूका लागि यो वर्ष मिश्रित किसिमको रहनेछ । यो राशिका व्यक्तिहरूलाई अढैया शनिदशा भएकाले मनमा अशान्ति हुनेछ । आरोप तथा लाञ्छना लाग्नाले मानसिक तनाव हुनेछ । कानुनी व्यवधान तथा समस्या आउने र धनको नोक्सान हुनेछ । भएका वस्तुहरू चोरी हुने वा हराउने, स्वास्थ्यसम्बन्धी समस्याहरू देखापर्ने योग छ । अध्ययन अध्यापनका कामहरू अधुरै रहने तथा व्यवसायीहरूलाई आर्थिक क्षतिको योग पनि आइपर्नेछ । पूर्वाद्र्धभन्दा उत्तराद्र्ध फलदायी रहनेछ । वैदेशिक क्षेत्रमा जानेहरुका लागि शुभदायी हुनेछ । नोकरीमा सफलता मिल्ने वा पदोन्नतिको योग छ । उत्तराद्र्धमा व्यापारबाट लाभ मिल्नेछ । असार, मङ्सिर, फागुन महिना राम्रा रहनेछन् ।
    तुला ः तुला राशिका लागि यो वर्ष मिश्रित हुनेछ । सुरुमा चोटपटक लाग्ने योग छ । प्रेमी–प्रेमिका वा श्रीमान् श्रीमतीबिचको सम्बन्धमा तनाव उत्पन्न हुनेछ । अग्रज व्यक्तिको स्वास्थ्यमा समस्या आउनाले धन खर्चको योग छ । कर्मचारीहरूलाई तनाव र खर्चको भर बढी पर्नेछ । साझेदारीका काममा झमेला आउनाले परेसानी आइपर्नेछ । वैदेशिक यात्रा गर्न खोज्नेहरुलाई समस्या आउनेछ । थालेका कामहरू परिणाममुखी हुने र नयाँ थुप्रै कामहरु हात लाग्नेछन् । आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन् । अधुरा योजनाहरु पूरा हुनेछन् । पठनपाठनमा लागेकाहरुलाई सोचे वा गरेअनुसारको सफलता मिल्नेछ । व्यापार तथा पशुपालनबाट राम्रै आम्दानी हुनेछ । सामाजिक जिम्मेवारी हात लाग्नेछ । आकस्मिक धनलाभ हुने योग छ ।
    वृश्चिक ः यो राशिका व्यक्तिहरूलाई यो वर्ष मध्यम हुनेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । परिवारमा मांगलिक कार्य हुनेछ । धार्मिक तथा आध्यात्मिक कार्यकार्यमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा लाग्नेहरुका लागि सफल बन्नेछ । नयाँ ठाउँमा नोकरी प्राप्त हुनेछ भने भएको नोकरीमा पदोन्नतिको योग छ । वैदेशिक क्षेत्रमा सफलता मिल्ने योग छ । यो राशिलाई अन्त्य साढे साती शनि दशा भएकाले काममा अपजस प्राप्त हुनेछ । काममा ढिलासुस्ती हुनेछ । मनमा अशान्ति हुने तथा कानुनी क्षेत्रमा असफलता हात लाग्नेछ । आफन्तमा वैरभाव बढ्ने र शत्रु बढ्ने योग छ । सञ्चित धनको नाश हुने र शारीरिक अस्वस्थता बढ्नेछ ।
    धनु ः यो राशिका व्यक्तिलाई यो वर्ष सामान्य फलदायी हुनेछ । लामो समयदेखि अधुरो रहेका काम बन्नेछ । वैदेशिक क्षेत्रमा सफलता प्राप्त हुनेछ । पठनपाठनमा लाग्नेहरुका लागि भने फलदायी हुनेछैन । मानसम्मानमा बढोत्तरी हुनेछ । धार्मिक तथा मांगलिक कार्यतिर रुचि बढ्नेछ । सामाजिक काममा धेरै समय जानेछ । साढेसाति शनि दशा भएका कारण आफन्तमा वैरभाव बढ्नेछ । अनावश्यक झमेलामा पर्नुपर्नेछ । अनावश्यक स्थानमा धनको हानी हुनेछ । ऋण वा कर्जामा गएका पैसाले समस्या निम्त्याउनेछ । पारिवारिक समस्या बढ्नाले तनाव हुनेछ । नोकरीमा अपजस बेहोर्नुपर्नेछ । ठुला दुर्घटनाको सामना गर्नुपर्ला । आर्थिक समस्याले पिरोल्नेछ ।
    मकर ः यो राशि हुनेहरुका लागि यो वर्ष सामान्य रहनेछ । वर्षको पूर्वाद्र्ध केही शुभदायक रहेको छ । वैदेशिक क्षेत्रमा जानेहरुका लागि फलदायी हुनेछ । सन्तान सुख हुनेछ । परिवारमा मांगलिक कार्य हुनेछन् । वर्षको पूर्वाद्र्धमा अधुरा कामहरू पुरा हुनेछन् । नसोचेका ठाउँबाट धन प्राप्त हुनेछ । साढे सातिको प्रभावले काममा ढिलासुस्ती हुनेछ । आफन्तमा वैरभाव बढ्नेछ । सञ्चित धनको नाश हुनेछ । मनमा अशान्ति हुनेछ । निराशाले मनमा डेरा जमाउनेछ । आर्थिक पक्ष कमजोर हुनेछ । पुख्र्यौली धनसम्पत्तिमा विवाद बढ्नेछ । नोकरीमा अपजस बेहोर्नुपर्नेछ । शत्रु बढ्नेछन् ।
    कुम्भ ः कुम्भ राशि हुनेहरुलाई यो वर्ष फलदायी छ । ग्रहहरू अनुकूल रहनाले नयाँ कामको थालनी हुनेछ । व्यापारिक दृष्टिले सुखद हुनेछ । साझेदारीको कामबाट लाभ मिले पनि वर्षको उत्तराद्र्धतिर साझेदारबीच फाटो आउनेछ । नोकरीमा पदोन्नति हुनेछ । सन्तान सुख मिल्नेछ । पारिवारिक कलझगडा बढ्नेछ । शत्रु बढ्नाले मनमा चिन्ता र त्रास हुनेछ । अधुरा काम पुरा हुनेछ । वर्षको अन्तिमतिर अध्यात्मतिर मन जानेछ । वैदेशिक क्षेत्रको काम अधुरै रहनेछ । आफन्तसँग शत्रुता बढ्नेछ । माया मारिसकेको वस्तु हात लागे पनि नयाँ वस्तुहरू गुम्ने वा हराउने भय छ । शरीरमा चोटपटक तथा रोग लाग्ने सम्भावना छ । वैशाख, साउन, मङ्सिर र पुस महिना लाभकारी छन् ।
    मीन ः मीन राशिका लागि यो वर्ष निकै फलदायी रहेको छ । स्वास्थ्य सम्बन्धी समस्याबाट छुटकारा मिल्नेछ । व्यापारमा राम्रो लाभ हुनेछ । व्यापार विस्तार गर्नेहरुका लागि पनि शुभ हुनेछ । नयाँ कामको थालनी हुनेछ । लामो दुरीको यात्राको योग छ । प्रेम तथा दाम्पत्य जीवनमा सफलता प्राप्त हुनेछ । जग्गाजमिन तथा विलाशिताका वस्तुमा लाभ हुनेछ । नोकरीमा स्थानान्तरणको योग छ । व्यापार तथा कृषि व्यवसायबाट लाभ मिल्नेछ । अध्ययन अध्यापनको पक्ष केही कमजोर हुनेछ । जेठ, भदौ, पुुुस र माघ महिना लाभदायी छन् ।

    आरक्षण मलाई कि कामदारलाई ?
    — राजेन्द्र लिङ्देन

    हिजो कतिपय भौगोलिक अवस्थाका कारण, राजाहरुको शासन ब्यवस्थाका कारण कोही जातिलाई या कहीं बसोबास गर्नेलाई मर्का पर्न गयो होला । हिजो कसले के ग¥यो त्यो हिजोको कुरा हो । हामी आज नेपाल कस्तो बनाउने भन्ने पृष्ठभूमिमा उभिएका छौं । नेपाल कस्तो बनाउने, हाम्रो हातमा छ । हामीले हाम्रै हातले संविधान पनि लेखिसक्यौं । अब यो बेला नेपाल बनाउनतिर लाग्ने कि सयौं वर्ष अगाडिको इतिहासमा कसले के ग¥यो भनेर त्यसकै नाममा अन्तरध्वंश चलाउने ? अव काम गर्ने बेला हो, हिजोलाई पछ्याएर बस्ने र भविष्यलाई पछि पार्ने होइन ।
    अहिले पनि हिजोलाई पछ्याउँदै बस्ने र आज पनि पछि पर्ने ? हामीले सबैको प्रतिनिधित्व हुने गरी संविधान हाम्रै हातले बनाइसक्यौं । समानुपातिक सहभागिताले पनि यी सबै कुरा समेटिसकेको छ । अझै केही भए हेरफेर गरेर अघि बढ्न सकिन्छ । कोको कसरी जाने भनेर हामीले नै संविधान बनाएको हो । अब जसले जे पाउने हो संविधानले दिन्छ, दिएको छ । जो सडकमा छन् तिनले आफूले जानेरभन्दा पनि अर्काको उक्साहटमा विरोध गर्ने काम गर्दैछन् । म तिनीहरुलाई देशको माया गर्न र राष्ट्रियता कमजोर हुने गरी अरुको एजेण्डामा नलाग्न आग्रह गर्छु । विग्रिएकै भए पनि जातभन्दा पहिले हाम्रो देश हो । अब हामी समृद्ध देश बनाउन लाग्नुपर्छ । हिजो के भयो भनेर आजको नेपाल र नेपालीलाई छिर्के लगाएर होइन ।
    संविधानले सबै समेटिसक्यो । अब केही बाँकी भए वर्गीय संरक्षण जरुरी छ । गरिवहरुको निक्र्योल गर्ने र राज्यले तिनीहरुलाई आरक्षण दिने हो । अहिलेको आरक्षणले बर्गीय खाडल झन् बढाउँछ । जातजातलाई दिएको आरक्षण तत्काल खारेज नगरी देशलाई अघि बढाउन सकिंदैन । जातको नाममा धनीले आरक्षण ओगटेर गरिव सबै पिसिइरहेको हामीले हेरिरहनु हुँदैन । आरक्षण सबै हटाउनुपर्छ । झन् यो जातीय आरक्षण देशको लागि प्रत्युत्पादक भइसकेको छ । यसले देशमा विखण्डन मात्र निम्त्याउँछ । जातीय आरक्षणले देशलाई ठिक दिशामा लांँदै छैन । म पनि पहाडमा कोदोको ढिंडो खान नपाएर तराई झरेको लिम्बुको छोरो हुँ । तराई आएपछि दुईचार कक्षा पढियो, केहि कमाइयो । मेरो घरमा एक जोडी बाहुन–बाहुनी काम गर्छन् । बाहुनी किचेनमा र बाहुन गोठमा । अब जातीय आरक्षणको कोटामा म माथि आउने र उनीहरु त्यहीँ थिचिइरहने हुन्छ । यो न्याय भयो ?
    आन्दोलनको कुनै औचित्य छैन । त्यो बेमौसमको बाजा हो । अब हामी लड्ने होइन, राष्ट्रियताको लागि एक ठाउँमा उभिनुपर्छ । यस्ता आन्दोलनले नेपालीको सार्बभौमिकतामाथि प्रहार गर्छ । अनि न रह्यो बाँस न बज्छ बाँसुरी हुन्छ । त्यसैले सरकारसँग हामी समृद्ध नेपाल निर्माण गर्नेहरुको माग छ जातीय आरक्षण हटाउँ । ईयुको इसारामा भएको आन्दोलन, माग सर्वथा अनुचित हो । यसको म निन्दा र भत्र्सना गर्न चाहन्छु ।
    हाम्रो जस्तो देशमा एउटा जातले अर्को जातलाई दवाएको छ भनेर भन्नै मिल्दैन । हाम्रो जस्तो मिक्स समाजमा सबैतिर बाहुन मात्र पदमा थियो भन्नु बेठिक छ । कतै बाहुनहरु थिए, कतै गुरुङ थिए, कतै दमार्ईंहरु मुखिया थिए । कतै बाहुन दलितबाट शासित थिए । कतै दलित बाहुनबाट शासित थिए । कतै जनजाति बाहुनबाट शासित थिए । कतै गुरुङबाट शासित थिए । बाहुनले मात्र हेपेका थिए भनेर भनिनु सर्वथा गलत छ । पछाडि पारिएको भए पनि फलानो जातका कारणले हामी पछि प¥यौं, अब त्यो जात पछाडि पारिनुपर्छ भन्ने माग अनुचित हो । सबै जातिलाई प्रतिस्पर्धी बनाउने हाम्रो संविधान छ । त्यसैलाई पछ्याउनुको विकल्प छैन ।
    धनीहरुबाट गरिवहरु दविएका छन् । तिनलाई उठाउन हामीले वर्गीय आरक्षणको ब्यवस्था गर्नुपर्छ । धनी सम्पत्तिले राज्यसत्तामा पुगिरहने, गरिव त्यसै गरि दलिएर काम गरिरहने हो भने देशले फड्को मार्न सक्दैन । यसको असर अहिले पनि अलिअलि देखिन थालेको छ । कालान्तरमा कुनै बाद र तन्त्रभन्दा ठूलो असर यही आरक्षणले गर्छ । आरक्षणले बौद्धिकतालाई एउटा कोठामा लगेर बन्द गरेको छ । बाहिर के होला अनुमान गर्नुस् त ! एउटा ९० प्रतिशत अंक ल्याएर पास गरेको बाहुनले बाहुन भएका कारण डाक्टरी पढ्न पाउँदैन । बल्लतल्ल पास भएको जनजातिले डाक्टरको कोटामा नाम निकाल्छ । त्यस्तो जबर्जस्त पढेको डाक्टरसँग बाबुले उपचार गर्न सक्दैन । मेरो छोरोले डाक्टरी पढेको भनेर उसैको बाबुले उसँग उपचार गराउन सक्दैन भने त्यसले देशलाई कहाँ लैजान्छ ? त्यसैले आरक्षणले हामीले चाहेको समृद्ध नेपाल बन्दैन, आरक्षण हटाउनुपर्छ ।
    अहिले मुल राष्ट्रिय पहिचानको कुरा कसैले गर्दैन । जातीय र क्षेत्रीय पहिचानको कुरा जोडतोडले गरिन्छ । यसको फाइदा यहाँ खेल्न चाहनेले उठाएको छ । मान्छेहरु चन्द्रमामा पुगिसके । विश्वमा १६–१७ देश हुँदा भारत र अमेरिका थिएनन्, तर नेपाल थियो । नेपाल र नेपाली भन्दा गर्वले छाती फुलाउनुपर्ने ठाउँमा खण्डखण्ड भएर सानो झुण्डको नेता बन्दा आफूलाई मालिक सम्झने मानसिकताले अहिले पनि काम गरेको छ । कहाँ छौं हामी अझै ? उसले हिजो हामीलाई पछि पा¥यो, अब म पनि त्यसलाई तल पार्छु भनेर देश कहाँ पुग्छ ? हामी बुझेका मान्छेले गर्ने काम हो त्यो ? छातीमा हात राखेर भनौं के हामी त्यो नेपाल राष्ट्रको निम्ति गरिरहेका छौं ? नेपाल समावेशीतामा अघि छ, विश्वले पछ्याएको छ । यसमा दुई मत छैन । समावेसी, समानुपातिकको हिसावले विश्वकै उत्कृष्ट संविधान छ । त्यसैले अरुका एजेण्डा बोकेर होइन, देशका एजेण्डा बोकेर हिंड्दा गर्व गरौं ।
    धतुरो रोपेर आँप फल्दैन । हिजोको आन्दोलनमा उनीहरुलाई स्वागत गरियो र अहिले इयुले खेल्न पाएको छ । यसलाई रोक्नुपर्छ । एकएक गरी यिनलाई छानेर देशमा आउनै बन्द गरिनुपर्छ ।
    राष्ट्रिय एकता मजबुत बनाउने हाम्रो धर्म थियो, भाषा थियो । पोशाककै कुरा गरौं । कुनै प्रदेशमा त राष्ट्रिय पोशाक पनि मर्यादा पालकले नै लगाउन नहुने बनाइएको छ । यसरी हाम्रा राष्ट्रिय एकताका आधारहरु खण्डित बनाएर लैजाने काम भएको छ । यी सबै कुरा भएर देश समृद्ध भएन भने गरिवहरु अरुको गुलाम गर्न जानैपर्ने परिस्थिति रहिरहन्छ । राष्ट्रियता मजबुत हुँदैन ।
    अहिले गाईको कुरा उठेको छ । विज्ञानको हिसावले, सनातन परम्पराको हिसावले र संविधानको ब्यवस्थाको हिसावले पनि अन्य जनावर त काटेर खान पाईंदैन भने गाई काटेर खान्छु भन्न पाईंदैन । यो कुरा सबैले बुझुन् ।
    केही जनजाति धनी होलान्, कतै बाहुन पनि धनी होलान् । तर अब आरक्षणको नाममा धनीले पाइरहने र अर्को जातको भएका कारण गरिव गरिवको गरिवै हुने अनि त्यसैले आरक्षण पाउने हुनु हुँदैन । गरिवलाई आरक्षण भएपछि जनजाति गरिव छ भने गरिवले पाउँछ । बाहुन गरिव छ भने पनि त्यो आरक्षण गरिवले पाउँछ । एउटा धनीको बच्चाले भन्दा गरिवको बच्चाले धेरै गर्छ । देशप्रतिको लगाव पनि त्यो गरिवलाई धेरै हुन्छ, किनभने उसले चाहेर पनि यहाँ केही हुँदा बाहिर गएर बस्ने पहुँच राख्न सक्दैन ।
    मैले एमालेको सर्मथनमा जितेको हुँ । उहाँहरुको मतको म सधैं कदर गर्नेछु । जहाँसम्म मेरो प्रतिनिधित्वको कुरा गर्नुभएको छ, अस्ती पनि संसदमा बोल्दा मैले भनेको थिएँ कि मेरो लागि भष्टाचार गर्नु आमाको रगत खाए बराबर हो । हामी सबैले देशलाई मर्का पर्ने कुरा, आमालाई दुखाउने कुरा सम्झेर काम गरौं मैले भनिरहेको छु । मेरो त्यो ठाउँमा राष्ट्रियता मजबुत बनाउने भूमिकामै रहनेछु ।
    (चक्रपथ डटकमका लागि बिनु पोखरेलले गरेको कुराकानीमा आधारित)

    ईयूको सुझाव शिरोपर
    — कृष्णविनोद शर्मा

    नेपालजस्तो पिछडिएको अविकसित मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्नु नै चुनौतीपूर्ण छ । शैक्षिक, सामाजिक र आर्थिक सूचकाङ्कहरू झन्डै–झन्डै स्केलमा भन्दा ० — ५ सम्म छ भने लोकतान्त्रिक गणतन्त्र भनेको स्केलमा ९० — ९५ सम्मको हुन्छ । जनताको सोच र शैलीदेखि यत्र–तत्र–सर्वत्र भ्रष्टाचार, त्यसमाथि सामरिक महàवको मुलुक भएकाले छिमेकी र अन्य शक्तिराष्ट्र र निकायहरूको अनावश्यक चासो, टिप्पणी र हस्तक्षेपका बीच कुनै आवधिक निर्वाचनमा कुनै दल वा गठबन्धन मोर्चाले दुई तिहाई मत नै ल्याएर सरकार बनाए पनि त्यो सरकारलाई ‘परफरमेन्स’ गर्न गाह«ो हुन्छ । फलामको चिउराजस्तै हुन्छ । सायद यही परिवेश र धरातलीय यथार्थले होला, प्रधानमन्त्री र पार्टी अध्यक्ष एउटै व्यक्ति हुँदा कुन बोली पार्टी अध्यक्षको हो र कुन बोली सरकार प्रमुखको हो, छुट्याउनै गाह«ो हुन्छ आम जनतालाई । कारण ‘एक हिउँदले जिन्दगी कट्तैन’ भनेझैँ एक आवधिक निर्वाचनले पुग्दैन, फेरि निर्वाचनमा जानपर्छ । गरिब र पिछडिएको देशमा निर्वाचन जित्न झूट–फरेब, पैसा आदि सबथोक चाहिन्छ । आफ्नै भ्रष्ट नेता तथा कार्यकर्ताको साथ चाहिन्छ । आफ्नै अराजक र उद्दण्ड पार्टी सेनामेना चाहिन्छ । यिनै सिन्डिकेट सञ्चालकहरू चाहिन्छन्, यिनै राजस्वमारा कालाव्यापारीहरू चाहिन्छन्, यिनै कामचोर र भ्रष्ट कर्मचारी र प्रहरीहरू चाहिन्छन् । के गर्ने, समस्या छ ।
    यस्तो विषम परिस्थितिमा सरकार प्रमुखको बोलाइ र कामगराइका बीच तालमेल भेट्टाउन पनि गाह«ो हुन्छ । जस्तो केही हप्ताअघि मात्रै युरोपियन युनियनले आफ्नो निर्वाचन प्रतिवेदनमा भन्यो — ‘खस आर्यहरूलाई कुनै आरक्षण दिइनु हुँदैन ।’ त्यसको सामाजिक सन्जालमा व्यापक आलोचना भएपछि परराष्ट्र मन्त्रालयले र पछि प्रधानमन्त्री केपी ओलीले अझै कडा शब्दमा प्रतिकार गरे । त्यसो गर्नु जरुरी थियो, किनकि आफ्नो वजुद, धरातल, पार्टी नेतृत्व पङ्क्ति सबैमा खस आर्यहरूकै बाहुल्य छ । २०६८ सालको राष्ट्रिय जनगणनाअनुसार पनि खस आर्यहरू करिब ३० प्रतिशत छन् । आवधिक निर्वाचनको सामना गर्नुपर्ने पार्टीले ३० प्रतिशत जनसङ्ख्यालाई उपेक्षा गर्नै सक्तैन । फेरि अर्कातर्फ देश गरिब छ । आफ्नै पार्टी पनि आईएनजीओ सन्जालको सहयोगसमेतले टिकेको छ । सहयात्री माओवादीले त झन् जनयुद्धमा युरोयियन युनियनको ठूलो भौतिक, नैतिक र आर्थिक सहयोग र समर्थन लिएकै हो । तिनीहरूकै आदेशबाट नतमस्तक हुँदै देशलाई हिन्दूराष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्र बनाएकै हो ।
    यस्तो जटिल धर्मसङ्कटमा नेपाल सरकार र प्रधानमन्त्री केपी ओलीले दुवैलाई नचिढ्याउने, दुवैको समर्थन र सद्भाव यथावत राख्ने नीति अख्तियार गरे । त्यसैकारण एकातिर ३० प्रतिशत जनसङ्ख्या भएका खस आर्यको पक्षमा कडा अभिव्यक्ति दिए भने फेरि युरोपियन युनियनलाई खुसी पार्न सरकारले आम हिन्दूहरूले वर्षौंदेखि खाइपाइआएको हिन्दूधर्मसँग सम्बन्धित पर्वहरूमा दिइँदै आएको सार्वजनिक बिदा कटौती गरेरै छाड्यो । अर्थात् खस आर्यलाई पनि खुसी पारियो भने दाता युरोपियन युनियनलाई पनि खुसी पारियो । परोक्ष रूपमा खस आर्यलाई आरक्षण दिन नहुने युरोपियन युनियनको सुझावलाई खस आर्य हिन्दूहरूको धर्मसँग सम्बन्धित बिदा कटौती गरेर पनि कार्यान्वयन गरेरै छाड्यो सरकारले । यस्तो कुटिलता, राजनीतिक चाल र धूर्तता आदिका लागि वर्तमान सरकारको मुक्तकण्ठले प्रशंसा गर्नैपर्ने हुन्छ ।

    खीर, चील र हनुमान
    — मुकुन्दप्रसाद उपाध्याय

    वर्तमान श्वेतवाराह कल्पअन्तर्गत वर्तमान मनुको शासनकाल ७१ + चतुर्युग अर्थात् ७१ + पटक सत्य, त्रेता, द्वापर र कलियुग दोहोरिनेमा वर्तमान चतुुर्युगचक्र २८ औँ मानिन्छ । अहिलेको कलि २८ औँ हो भने बितेको द्वापर, त्रेता र सत्ययुग पनि २८ औँ भनेर मान्नुपर्ने हुन्छ । हाम्रो धर्मसंस्कृति तथा परम्पराको आधार वैदिक वाङ्मय हो भने त्यो वैदिक वाङ्मय मूलभूत रूपमा २८ औँ सत्ययुगदेखि पञ्चमवेद मानिने महाभारत कालखण्ड केन्द्रित रहेको देखिन्छ । गएको त्रेतायुगसम्म सनातन वैदिक धर्ममा सम्प्रदायवादले चरम रूप धारण गरिसकेको हुनुपर्दछ । शैव सम्प्रदाय र वैष्णव सम्प्रदायले त शैव धर्म र वैष्णव धर्म भनेर सनातन वैदिक, हिन्दू आदि पक्षलाई नै ओझेलमा पार्ने देखेर सम्भवतः धार्मिक सामन्जस्यताका लागि भगवान् श्रीहरि विष्णु र भगवान् श्रीहर महादेव दुवैले त्रेतायुगमा अवतार लिनुपरेको होला । भगवान् शिवका इष्टदेवका रूपमा रामावतार र भगवान् रामका इष्ट शिवजीको अंशावतार हनुमानजीले धर्तीमा जन्म लिएको प्रतीत हुन्छ । अर्थात् शिवांश रामभक्त हनुमानजीको समग्र चरित्र र अद्भुत लीलाहरूलाई शैव मत र वैष्णव मतको फ्युजन नै मान्नुपर्ने हुन्छ । त्यसैले ‘हनुमान चालिसा’ जस्तै ‘हनुमान साठिका’ चौपाईको दोहामा गोस्वामी तुलसीदास भन्छन् — ‘वीर बखानौ पवनसुत, जानत सकल जहान । धन्य धन्य अञ्जनितनय, शङ्करसुत हनुमान ।’
    यिनै कुरा र प्रसङ्गहरूलाई थप पुष्टि गर्न ‘हनुमान चालिसा’ को एक पङ्क्तिविशेषको परिचर्चा गर्नु सान्दर्भिक देखिन्छ । ‘हनुमान चालिसा’ को १२ औँ चौपाई छ — ‘रघुपति कीन्ही बहुत बडाई, तुम मम प्रिय भरत हि सम भाई ।।’ अर्थात् भगवान् श्रीरामजीले हनुमानजीलाई यति धेरै स्नेह प्रकट गर्नुभयो र भन्नुभयो — “हे हनुमान ! तिमी त मेरा भाइ भरतसमान प्रिय छौ, अर्थात् सर्वाधिक प्रिय छौ ।”
    यो पङ्क्तिलाई लिएर मात्रै सन्तसमाजमा ठूलो बहस र तर्क–वितर्क भएको छ । एकथरिले सोचे — सुमित्रानन्दन शेषावतार श्रीलक्ष्मणजी, जसलाई पिता दशरथबाट वनवासको आज्ञा नै भएको थिएन, रामका खातिर १४ वर्ष वनवास गए र वनमा गएर १४ वर्ष निद्रालाई समेत त्यागेर सीतारामको रखवारी, सेवा, स्याहारसुसार गरे, त्यस्ता लक्ष्मणजीभन्दा भरत बढी प्रिय भए त ? यो त सरासर लक्ष्मणजीप्रति अन्याय भएन र ? यो शङ्का निवारणार्थ महात्माहरूले भने धनसम्पत्ति, सुख, ऐश, आराम र निद्रासमेतको त्यागभन्दा ठूलो त्याग हुन्छ राज्यसत्ताको त्याग, राज्यसत्ताको त्याग गर्न बडो कठिन र दुष्कर हुन्छ, त्यो त्याग भरतले गरेर देखाएकाले भगवान्ले ‘तुम मम प्रिय भरत हि सम भाई’ भनेको भनेर बताए ।
    अर्काथरि सन्तहरू भन्छन् — होइन, रामले ‘भरत हि सम भाई’ भन्नुको अर्थ छ । यो बडो गूढ रहस्यको कुरा हो । महाराज दशरथले सन्तान नभएपछि गुरु वशिष्ठजीको परामर्शमा हाल नेपालमा पर्ने गुल्मीको रेसुङ्गामा बस्ने ऋश्यश्रृङ्ग ऋषिलाई अयोध्या लगेर पुत्रेष्टि यज्ञ गरे । पुत्रेष्टि यज्ञबाट स्वयं यज्ञपुरुष हातमा पायस लिई उत्पन्न भई प्रकट भएर भने — ‘हे राजन् ! यो पायस रानीहरूलाई खान दिनुहोस्, सन्तान उत्पन्न हुनेछन् ।’ त्यसपछि रानीहरूलाई खान दिँदाको वितरणको कुरामा मतान्तर रहेको पाइन्छ । कुनै ‘रामायण’ ले भन्यो — त्यहाँ उपस्थित दुई रानी कौशल्या र कैकेयीलाई आधा–आधा बाँडियो । रानीहरू खोपीमा गई खान लाग्दा रानी सुमित्रा आइन् र आफ्नो भाग दिन आगह गरिन् । अनौनाबिलौना गरेपछि कौशल्याले आफ्नो भागबाट आधा र कैकेयीले आफ्नो भागबाट आधा दिइन् । त्यसैले सुमित्राबाट जुम्ल्याहा पुत्र लक्ष्मण र शत्रुघ्न जन्मे भन्ने भनाइ छ ।
    तर अर्को मत अलि फरक छ । सो मतका अनुसार यज्ञबाट प्राप्त पायस तीनैवटी पटरानीलाई तीन भाग लगाएर बाँडियो । दरबारका तीन रानीमध्ये सुमित्रालाई नदिई दुई रानीलाई मात्र दिने काम सूर्यवंशी पराक्रमी राजा दशरथ र वशिष्ठजस्ता गुरुबाट हुनै सक्तैनथ्यो । तीनैवटी रानीहरूले टपरीमा राखेको पायस माथि कौसीमा गएर खाने अभिप्रायले लिएर गए । माथि कौसीमा, छतमा पुगेर इष्टदेव, कुलदेव आदिलाई स्मरण गर्दै खान लाग्दा ठीक त्यही समयमा एउटा ठूलो चील आइपुग्यो र झम्टेर सुमित्राको खीर नै लिएर गयो । त्यो देखी सुमित्रा रुन लागिन् । अलौनाबिलौना गर्न लागिन् । ‘म बाँझी नै रहने भएँ’ भनी आफूलाई र आफ्नो मातृकुललाई धिक्कार्न लागिन् । त्यो देखी कौशल्या र कैकेयीलाई दया, माया, प्रेम जागेर आयो र आफ्नो–आफ्नो भागबाट आधा–आधा पायस दिएका हुन् । त्यसैले सुमित्राबाट जुम्ल्याहा पुत्र जन्मेको पनि सही हो ।
    अब त्यो चीलको प्रसङ्गतर्फ लागौँ । त्यो चील कुनै सामान्य चील थिएन, स्वर्गकी अप्सरा श्रापवश चील योनिमा आएकी थिई । के भएको रहेछ भने एक दिन ब्रह्मलोकमा इन्द्रादि देवताहरूको उपस्थितिमा अप्सराहरूको नृत्य भएको रहेछ । एउटी अप्सराले निकै राम्रो नृत्यकला प्रदर्शन गर्दै थिई । देवराज इन्द्रले आफ्नो घाँटीबाट मोतीको माला झिकेर बक्सिस दिन माला गलाबाट निकाल्नासाथ नृत्यरत अप्सराले नृत्य बीचैमा रोकेर इन्द्रछेउ गई माला थाप्न पुगिछ । ब्रह्माजीलाई रिस उठ्यो । किनकि त्यो नृत्यकलाको मर्यादाविपरीत थियो । नृत्य सकेर मात्र बक्सिस थाप्नुपर्दथ्यो । ब्रह्माजीले भने — “तैँले नृत्यकलाको मर्यादा उल्लङ्घन गरिस् । चीलले सिनो झम्टेझैँ गरी माला झम्टिन गइस् । त्यसैले चील भएस् ।”
    ब्रह्माजीको श्रापले अप्सरा तत्काल चील भइछ । ब्रह्माजीको क्रोध केही शान्त भएपछि इन्द्रादि देवताहरूले ती अप्सराको चील योनिबाट मुक्तिका लागि प्रार्थना गर्दा ब्रह्माजीले भने — “यसले मत्र्यमा एउटा देवकार्य गर्नुपर्ने हुन्छ । अनि मात्र मुक्त हुन्छे ।”
    ‘के देवकार्य पिताजी ?’ भनेर देवगणले सोद्धा ब्रह्माजीले भने — “अब केही कालमा दैत्यराज रावण आदि असुरहरूको बध गर्न श्रीहरि विष्णुले शेषजीसहित राजा दशरथका पुत्ररूपले अवतार लिनुहुनेछ । भगवान् शङ्करले पनि भगवान् रामलाई सहयोग गर्न अंशरूपले वानरराज हनुमान भएर जन्म लिनुहुनेछ । यसले (चीलरूपी अप्सराले) यज्ञपायस कुनै रानीको हातबाट झम्टेर अयोध्याबाट लगेर किस्किन्धा पु¥याई माता अञ्जलीको हातमा राखिदिनुपर्ने हुन्छ । अनि चलि योनिबाट यो मुक्त हुन्छे र हनुमानजीको जन्म हुन्छ ।”
    त्यसैले त्यही पायसबाट जन्मेकाले श्रीरामले हनुमानजीलाई ‘तुम मम प्रिय भरत हि सम भाई’ भन्नुभएको भन्ने मत रहेको छ । सायद त्यसैले होला पायसको अंशबन्डामा सबैभन्दा बढी पायसको भागबाट जन्मेकाले राम, लक्ष्मण, भरत र शत्रुघ्नभन्दा बढी बल–पराक्रमशाली भए हनुमानजी । यो मतका व्याख्याता सन्तहरू भन्छन् — त्यसैले राम, लक्ष्मण, भरत र शत्रुघ्नको जन्म चैत्र शुक्ल नवमीमा भयो भने हनुमानजीको जन्म चैत्र शुक्ल पूर्णिमाको दिन भएको हो ।
    यस्ता अद्भुत पराक्रमयुक्त, बल, बुद्धि, विद्याका प्रतीक, शिवांश अनि रामभक्त अञ्जनी–वायुपुत्र हनुमानजीलाई कोटी–कोटी प्रणाम छ ।

    सानो प्वालमा अग्लो गोरे
    — पोष चापागाई

    जोकोहीले अर्काको भाषा छिट्टै जान्न र बोल्न सक्तैन । समय र परिश्रम चाहिन्छ । यसो गर्न नसक्नेहरू हामी भाषा जान्दैनौँ भनेर भित्रभित्रै कुँडिन्छन् । अलिअलि जानेको पनि अशुद्ध होला भन्ने भयले बोल्दैनन् ।
    हेर्नुस् न, हाम्रो गाइड भियतनामी हो । उसको अङ्ग्रेजी पटक्कै शुद्ध छैन । ऊ फटाफट अङ्ग्रेजी बोलिरहेको छ । हामी उसका कुरा बुझ्दैछौँ । दोहोरो सवाल–जवाफ पनि गर्दैछौँ ।
    मलाई लाग्छ भाषा केवल सम्प्रेषणको माध्यम हो । भाषा सिक्नुपर्छ । जान्नुपर्छ । हिज्जे, उच्चारण, प्रस्तुति आदि शुद्ध हुनुपर्छ । म यी कुरामा पूर्णतः सहमत छु ।
    तर अहिले यो भियतनामी गाइडको पारा हेरेर लाग्दैछ भाषा भनेको एउटाको मनको कुरा बोलेर अर्कासम्म पु¥याउने माध्यम मात्रै रहेछ । टाकटुक । कामचलाउ । केको डर बुझ । बुझाउ । यत्ति हो भाषा ।
    निकै बेर हिँडुन्जेल केही देखिनँ । वन । रूख । जरा । मात्र वन । यस्ता वन त कति देखिए कति ! चरा छैनन् । चिर्बिराउँदैनन् । भएका रूखले पनि निन्याउरो मुख लाएका छन् । उज्यालो अनुहार छैन रूखको । डराएजस्ता, आत्तिएजस्ता रूख ।
    वातावरण अप्रत्याशित अनौठो छ । कालो माटोमा छर्किएको कालो वन पितुर्के महिलाजस्तो रुन–रुन खोज्दैछ । न चराको सङ्गीत । न मान्छेको मधुरिमा । छैन । छैन केही । शून्य जङ्गलभित्र शून्य बोकेर हामी शून्य बन्दैछौँ । निहारिका दोहन । चरा–रूख–माटो । सबै किन हामीदेखि डराएका होलान् ? होइन, सबै निसास्सिएजस्तो लाग्छ भित्रभित्रै ।
    दस मिनेटजति पैदल हिँडेपछि ठिङ्ग उभियो हाम्रो गाइड । सबै उभियौँ । परतिर देखाएर उसले भन्यो — ‘उः त्यहाँ केही देख्नुहुन्छ ?’ ‘छैन ।’
    उसले त्यो ठाउँमा हातले खोस्रियो । एउटा टिनको पातो देखियो । त्यो टिनको पातो हातले माथि उठायो । भन्यो —‘हेर्नुस् ।’
    त्यहाँ त एकजना मान्छे एक पटकमा मुस्किलले छिर्ने प्वाल पो रहेछ । उसले इसारा गर्दै भन्यो — ‘भित्र छिर्नुस् । एक–एक गरेर । नडराउनुस् । केही हुन्न ।’
    अग्लो गोरे छिर्न तयार भयो । ‘ए–ए !’ भन्दै थिएँ, छिरि त गो भित्र । प्वालको बनोट छड्के पारेर बनाएको रहेछ । प्वालमा सिधै छिर्दा नछिरिने । छड्के परेर जाँदा छिरिने । ऊ त हामी त्यहाँ उभिँदा–उभिँदै पर पुगेर करायो — ‘म निस्किएँ ।’
    अरू साथीहरू पनि पालैपालो भित्र छिरे । म पसिनँ ।

    हराएका भेडाहरू जहाँ भेटिए
    — हरिगोपाल प्रधान

    ‘पाथीभरा’ भन्ने नाउँ नसुन्ने नेपाली बिरलै होलान् । पाथीभरा भनेकी प्रसिद्ध देवी हुन्, साक्षात भगवती हुन् र तिनको दर्शन–आराधना गर्नाले सारा मनोरथ पूर्ण हुन्छ भन्ने विश्वास सबै नेपालीमा रहेको छ ।
    नेपालको पूर्वी भेगको पहाडी र हिमाली जिल्ला हो ताप्लेजुङ । चीन र भारत दुवै देशसँग सिमाना जोडिएको नेपालको एक मात्र जिल्ला पनि यही नै हो । यही जिल्लामा पर्छ पाथीभरा देवीको प्रसिद्ध मन्दिर । यो मन्दिर समुद्री सतहबाट ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको छ । यस ठाउँलाई टाढाबाट हेर्दा यो ठाउँ अन्न भरिएको पाथीजस्तो देखिन्छ । त्यस्तो चुचुरो देखिने भएकाले नै जनबोलीमा यसलाई पाथीभरा नामकरण गरिएको हो र जनविश्वास पनि यही नै छ ।
    यो एउटा पवित्र तीर्थ र पुण्यस्थल हो । यहाँ हिन्दू धर्मावलम्बी तथा बौद्धमार्गी दुवैथरि दर्शनार्थीहरू देवीको दर्शनार्थ पुगिरहन्छन् । यहाँ फागुन महिनादेखि साउन महिनासम्म दर्शनार्थीहरू प्रायः जाँदैनन् र अन्य महिनाहरूमा चाहिँ तीर्थालुहरूको घुइँचो नै हुने गर्छ । नेपाल र भारतका विभिन्न स्थानहरूबाट पाथीभरा पुग्ने गर्छन् तीर्थयात्रीहरू ।
    यस मन्दिरमा जान कुनै जात, कुनै लिङ्ग र कुनै धर्मको भेदभाव छैन । तर गर्भवती महिला, महिनावारी भएकी महिला र बरखी बारेको पुरुषले त्यहाँ जानु हुँदैन भन्ने गरिन्छ । जनविश्वास के छ भने यीबाहेक मनमा अरूको अहित हुने खालको लोभ भएको र पापकर्म गरेको मान्छे त्यहाँ जान खोज्यो भने बीच बाटैमा विभिन्न बाधा–व्यवधानहरू आइपर्छन् र त्यति हुँदा जबर्जस्ती त्यहाँ गयो भने उसको सर्वनाश नै हुने गर्छ ।
    पाथीभरा भगवती देवीको स्थापना वा उत्पत्ति कसरी भयो भन्ने सम्बन्धमा एउटा रोचक किम्वदन्ती रहेको छ । त्यो किम्वदन्ती यस्तो छ —
    कैयौँ वर्षपहिले ताप्लेजुङ इलाकाका विभिन्न पहाडहरूमा भेडीगोठ राख्ने र ठाउँठाउँका चरनहरूमा मौसम हेरेर तिनलाई चराउन लैजाने चलन थियो । भेडा पाल्नेहरू मौसमअनुसार ठाउँठाउँमा गोठ सारिरहन्थे । यस्तै क्रममा एकपटक एकजना भेडीगोठालोका सम्पूर्ण भेडाहरू गोठ सार्ने क्रममा एकैसाथ हराएछन् । भेडामालिक वा भेडागोठालाले हराएका आफ्ना भेडाहरू दिनभरि खोजेछन्, तर कतै पनि भेटेनछन् । खोज्दाखोज्दा हैरान भएर ती भेडागोठाला थकित भई सुतेछन् । राति सपनामा एउटी देवीले उनलाई दशर्न दिइछन् । त्यस बेला उनले ती भेडागोठालालाई भनिछन् — “भोलि तिमी यो पहाडको चुलीमा जानू । त्यहाँ देवी बसेकी हुन्छिन् । त्यहाँ पुगेर देवीको पूजा गर्नू र मेरा भेडाहरू भेटियुन् भनेर प्रार्थना पनि गर्नू । त्यसपछि तिम्रा हराएका सबै भेडाहरू भेटिनेछन् ।’
    त्यो भेडागोठालो भोलिपल्ट बिहान बिउँझियो । उठेर सदाझैँ नित्यकर्म गरिसकी ऊ त्यही पहाडको चुलीतिर उक्लियो । त्यहाँ पुगेर हेर्दा उसले देवीको आकृति देख्यो । त्यहीँ बसेर उसले देवीको पूजा ग¥यो र ‘मेरा हराएका सबै भेडाहरू भेट्टाइदेऊ है माता’ भनेर प्रार्थना पनि ग¥यो । उसले पूजा गरिसक्नेबित्तिकै हिजो हराएका सबै भेडाहरू त्यहीँ नजिकै प्रत्यक्ष भए, सबै सकुशल भेटिए ।
    त्यसै बखतदेखि त्यहाँ साक्षात देवी बस्तिरहिछन् र उनी मान्छेले मागेका कुराहरू पु¥याउने गर्दिरहिछन् भनेर त्यस ठाउँको नजिकैका गाउँलेहरूले थाहा पाए । त्यसपछि त गाउँलेहरू आफूलाई समस्या पर्दा त्यही ठाउँमा गएर दुःख बेसाउन थाले, रोइकराइ गरेर पुकारा गर्न थाले । देवीले पनि सबैको समस्या हल गरिदिँदै गइन् । बिस्तारै–बिस्तारै ‘त्यहाँकी देवी त साक्षात् छिन्, त्यहाँ गएर दर्शन गरी देवीको प्रार्थना गरे चिताएका सबै कुराहरू पु¥याइदिन्छिन्’ भनेर परपरसम्म चर्चा चल्न र फैलन थाल्यो । अनि सबै मिलेर त्यहाँ मन्दिर बनाइयो । पूजाको व्यवस्था पनि मिलाइयो । त्यसैले टाढाटाढादेखिका भक्तजन त्यहाँ पुग्न थाले । त्यहाँ गएर प्रार्थना गर्नेहरूको मनोकामना पुग्दै गयो । मानिसहरूमा झन् विश्वास बढ्दै गयो । पछि सञ्चार–माध्यमको विकास भयो । त्यसले गर्दा त्यस स्थानको चर्चा झन्–झन् व्यापक भयो । फलस्वरूप अहिले कुनै पनि धार्मिक आस्था बोकेका नेपालीले पाथीभरा देवीको नाम सुनेका छन् । धेरै तीर्थालुहरू त्यहाँ पुगेका छन् । त्यहाँ पुग्न नसक्ने र नसकेकाहरूले पनि पुग्न पाए हुन्थ्यो भन्ने चाहना राखेका छन् । त्यति पनि गर्न नसक्नेहरूले आफ्नो घरको पूजाकोठामा पाथीभरा देवीको तस्बिर राखेर पूजा–आराधना गर्ने गरेका छन् । तर पाथीभरा भगवतीप्रति सबैको अपार श्रद्धा, आस्था र विश्वास रहिआएको छ । जहाँ बसेर पाथीभरा देवीको पूजा–आराधना गरे पनि उनी सच्चा भक्तको इच्छा पु¥याइदिएर सङ्गटबाट भक्तलाई मुक्त गराइदिने गरेकी छन् ।
    पाथीभरा देवीकै कारणले ताप्लेजुङ जिल्ला आकर्षक पर्यटकीय गन्तव्य बन्न पुगेको छ । पाथीभरा देवीलाई शक्तिपीठ मानिन्छ । यो शक्तिपीठ तापेथोक, लिङखिम र फावाखोला भनिने तत्कालीन गाउँ विकास समितिको सिमानामा (हाल गाउँपालिका क्षेत्र) अवस्थित छ । यहाँ जानका लागि पहिले सुकेटार विमानस्थलमा पुग्नुपर्छ । त्यो विमानस्थल ताप्लेजुङको सदरमुकाम फुङलिङबाट साढे १ घन्टाको पैदल दूरीमा रहेको छ । सदरमुकामबाट साढे १९ किलोमिटर दूरी तय गरेर देउराली, रमितेडाँडा, छातेढुङ्गा, भालुगौँडा र फेदी हुँदै पाथीभरा देवीको थानमा पुग्न सकिन्छ । त्यति दूरी तय गर्नका लागि सामान्यतया पैदल ९ घन्टा लाग्ने गर्छ । ती ठाउँहरूबाट विभिन्न हिमालहरूको मनमोहक दृश्य नजिकै देख्न सकिन्छ ।
    पाथीभराको दर्शन गर्न पुगेको बेलामा ताप्लेजुङ जिल्लाका अन्य पर्यटकीय स्थलहरूको पनि दर्शन गर्नु वेश हुन्छ । फुङफुङे झरना, ओलाङचुङगोला, तिम्बूपोखरी, घुन्सा, याङमा, खोकलिङ यस जिल्लाका पर्यटकीय स्थलहरू हुन् । यी हेर्नैपर्ने र पुग्नैपर्ने ठाउँहरू पुगेपछि कञ्चनजङ्घा हिमालको दृश्यावलोकनका विषयमा त कुरै गर्नुपरेन । यस हिमशृङ्खलाको अलौकिक दृश्यले हरेक मान्छे सम्मोहित हुन्छ, स्वर्गीय आनन्द पाउँछ र भावशून्य भएर आफैँमा हराउँछ ।

    जीवित र अपराजेय शिक्षा ः २
    — रामचन्द्र हुमागाई

    आर्थिक संकटहरुले पुँजीवादको आमसंकटलाई चर्काउँदछन् र आमसंकटले पुँजीवादी समाजका आर्थिक, राजनीतिक, सामाजिक एवम् बौद्धिकलगायत समस्त पक्षहरुलाई ढाक्दछ । साम्राज्यवादले आक्रमण र युद्धद्वारा, राष्ट्रिय मुक्ति आन्दोलनको निर्मम दमनद्वारा यस संकटबाट मुक्ति पाउने प्रयास गर्दछ । साम्राज्यवादी एवम् प्रतिक्रियावादी शक्तिहरु, जनताहरु र राष्ट्रहरुका आन्तरिक मामिलाहरुमा हस्तक्षेप गर्दै, साम्राज्यवादी हैकम चलाउँदै इतिहासको पाङ्ग्रोलाई उल्टो दिशामा घुमाउन चाहन्छन् । पुँजीवादी मुलुकहरुमा नाफा कमाउने र संकटहरुको बोझ जनसमुदायमाथि थोपार्ने नीति अनुसरण गर्दै आएका बृहत् पुँजी, विशेषतः बहुराष्ट्रिय निगमहरुको विरुद्ध सर्वहारावर्ग तथा व्यापक जनसमुदायको असन्तोष बढ्दै गएको छ । पुँजीवादी मुलुकहरुका कम्युनिस्ट एवम् मजदुर पार्टीहरु प्रगतिशील शक्तिहरुको ऐक्यबद्धताको पक्षमा र साम्राज्यवाद र एकाधिकारविरुद्ध तथा प्रतिक्रियावादी र नवफासिस्टवादी शक्तिहरुको विरुद्ध लक्षित व्यापक प्रजातान्त्रि