Home Blog Page 74

शब्दयात्रा प्रकाशनबाट ‘अमरज्योति’ खण्डकाव्य

0
शब्दयात्रा प्रकाशनबाट ‘अमरज्योति’ नामक खण्डकाव्य प्रकाशित हुन लागेको छ । डा. गोपाल पौड्याल ‘मन्डने’ द्वारा लिखित यो खण्डकाव्य शब्दयात्रा प्रकाशनको १ सय ८२ औँ प्रकाशनपुष्प हो ।

बाँकी तीन सम्मानको निर्णय

0

शब्दयात्रा प्रकाशनबाट २०७९ सालको पहिलो चरणमा समर्पण गरिने १० विधाका सम्मानमध्ये बाँकी रहेका ३ वटा सम्मानका लागि पनि सम्मान्य व्यक्तित्व चयन समितिले नाम उपलब्ध गराएको छ । त्यसअनुसार सामाजिक जागरण सम्मान समाजसेवी श्रीमती दुर्गा घिमिरे (रामेछाप) लाई, आयुर्वेद सम्मान विश्वनाथ कर्माचार्य (काभ्रेपलान्चोक) लाई र दानशीलता सम्मान श्रीमती देवीमाया खड्का (खोटाङ) लाई समर्पण गरिने भएको छ । यी सम्मानहरूको आर्थिक व्यवस्थापन आनन्दराज श्रेष्ठ, कालु वैद्य परिवार र बेलप्रसाद श्रेष्ठले गर्नुभएको छ । यसअघि ७ जनाको नाउँ घोषणा भइसकेको छ ।

नवीना श्रेष्ठको अर्को पुस्तक छापिने

0
शब्दयात्रा प्रकाशनको प्रकाशकत्वमा ‘शिवपुरी बाबाको स्वधर्म रूपान्तरणको मार्ग’ नामक पुस्तक प्रकाशन हुने भएको छ । नवीना श्रेष्ठले लेख्नुभएको यस पुस्तकमा शिवपुरी बाबाद्वारा निर्दिष्ट स्वधर्मको पालना गर्दा मानवको जीवन कसरी रूपान्तरित हुन्छ भन्ने कुरा स्पष्ट पारिएको छ । नवीना श्रेष्ठद्वारा लिखित यो नवौँ पुस्तक हो । उहाँलाई शब्दयात्रा प्रकाशनले प्रशासनिक महिला प्रतिभा सम्मानद्वारा सम्मानित गरेको थियो ।

‘रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ पनि शब्दयात्रा प्रकाशनबाट

0
कवि तथा शब्दयात्रा प्रकाशनका आजीवन सदस्य अमर त्यागी (ओखलढुङ्गा, हाल अमेरिका) ले पिता रणबहादुर श्रेष्ठ र माता लक्ष्मी श्रेष्ठको सम्मान र स्मृतिमा स्थापना गरी सञ्चालन गर्नुभएको ‘रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ यस वर्षदेखि शब्दयात्रा प्रकाशनबाट समर्पण गर्ने सहमति भएको छ । शब्दयात्रा प्रकाशनको कार्यविधिअनुसार छनोट भएका साहित्यकारलाई समर्पण गरिने उक्त पुरस्कार १५ हजार रुपियाँको हुनेछ । साथमा अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, उपहार र रुद्राक्षमाला समर्पण गरिनेछ । यसअघि उक्त पुरस्कार निबन्धकार माधव काफ्ले (रौतहट) लाई समर्पण गरिएको थियो । ‘बाँसुरीमा आँसुको गीत’, ‘अक्षरहरूको देश’, ‘अनुभूतिको जुलुस’, ‘अभियुक्त ईश्वर’, ‘अन्धसत्ता’, ‘अदृश्य’, ‘अक्लान्त’ र ‘अमानव’ कवि अमर त्यागीद्वारा लिखित कृतिहरू हुन् । आफूले स्थापना गरी सञ्चालन गरेको पुरस्कारको व्यवस्थापन शब्दयात्रा प्रकाशनलाई सुम्पनुभएकोमा कवि अमर त्यागीप्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार व्यक्त गर्दछ ।

असारमै ‘समयको अन्तराल’

0
लामो समयको अन्तरालपछि कवि नरनारायण ‘वत्स’ का कविताहरू कवितासङ्ग्रहमा पढ्न पाइने भएको छ । ‘समयको अन्तराल’ नाउँ दिइएको त्यस कवितासङ्ग्रहको प्रकाशन शब्दयात्रा प्रकाशनबाट हुन लागेको छ । कवितासङ्ग्रहलाई यही असार महिनामा सार्वजनिक गर्न खोजिएको छ । कवि डा. विष्णुविभु घिमिरेको मन्तव्यसहित ३८ वटा कविता सङ्गृहीत त्यो सङ्ग्रह कवि ‘वत्स’ को दोस्रो कवितासङ्ग्रह हो । यसअघि २०२४ सालमा उहाँको पहिलो कवितासङ्ग्रहका रूपमा ‘यहाँ यस्तै छ’ छापिएको थियो । कवि ‘वत्स’ इलाम जिल्लाका साहित्यिक प्रतिभा हुनुहुन्छ ।

‘दूरदर्शी नेतृत्व पुरस्कार’ थप

0
सेवामुखी संस्थाको नेतृत्व गरी स्वदेशभित्रकै स्रोत–साधनबाट संस्थागत सुदृढीकरण र स्थायीत्वका निम्ति अनुकरणीय कार्य गरेर संस्थालाई गतिशील बनाउन सफल व्यक्तिलाई शब्दयात्रा प्रकाशनबाट यसै वर्षदेखि पुरस्कृत गरिने भएको छ । पुरस्कारको नाउँ ‘दूरदर्शी नेतृत्व पुरस्कार’ राखिएको छ । पुरस्कार हाल १५ हजार रुपियाँको हुनेछ र पछि बढाइनेछ । साथमा अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, उपहार र रुद्राक्षमाला समर्पण गरिनेछ । पुरस्कारको आर्थिक व्यवस्थापक शब्दयात्रा प्रकाशनका आजीवन सदस्यद्वय रश्मि अधिकारी हुमागाईं र इ. रोशन मञ्जुश्री अधिकारी रहनुभएको छ ।

लीलादेवी श्रेष्ठ पनि आजीवन सदस्य

0
लेखिका लीलादेवी श्रेष्ठ शब्दयात्रा प्रकाशनको आजीवन सदस्य बन्नुभएको छ । उहाँले सङ्खुवासभा प्रतिभा पुरस्कारका लागि शब्दयात्रा प्रकाशनको अक्षयकोषमा २ लाख रुपियाँ राखिदिनुभएको छ । उहाँका दुई पुस्तक ‘अठोट’ (नाटक) र ‘जिन्दगीका डोबहरू’ (कवितासङ्ग्रह) शब्दयात्रा प्रकाशनबाट प्रकाशित छन् ।

एकैपटक पाँच पुस्तक सार्वजनिक

0
शब्दयात्रा प्रकाशनको आयोजनामा २०७९ साल असार ४ गते शनिबार बनेपामा साहित्यिक कृतिहरूको सार्वजनिकीकरण समारोहको आयोजना गरी लीलादेवी श्रेष्ठ, लोकमान मास्के र हरि कोर्कालीद्वारा लिखित तथा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित पाँचवटा कृतिहरूलाई सार्वजनिक गरियो । पहिलो चरणमा लीलादेवी श्रेष्ठद्वारा लिखित ‘अठोट’ नाटक र जिन्दगीका डोबहरू’ कवितासङ्ग्रह, दोस्रो चरणमा लोकमान मास्केद्वारा लिखित ‘मनमा नअटेका कुरा’ कवितासङ्ग्रह र तेस्रो चरणमा हरि कोर्कालीद्वारा लिखित ‘जून मामा’ बालकवितासङ्ग्रह र ‘धृतराष्ट्रको शुभकामना’ व्यङ्ग्यकवितासङ्ग्रहलाई समारोहमा उपस्थित सबैले सामूहिक रूपमा एकैसाथ सार्वजनिक गर्नुभएको थियो ।
संस्कृतिविद् प्रा. डा. वीणा पौड्यालको प्रमुख आतिथ्य र शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा तीनैजना कृतिकारले मन्तव्य व्यक्त गर्नुभएको थियो । पानसमा बत्ती बालेर कार्यक्रमको समुद्घाटन साहित्यकार गायत्रीकुमार चापागाईंले र कार्यक्रमको समीक्षासहित सभाविसर्जन गायक–सङ्गीतकार बुलु मुकारुङले गर्नुभएको उक्त कार्यक्रममा केदारनाथ श्रेष्ठ, मच्छेश्वर सापकोटा र सरस्वती सापकोटाले गीत गाउनुभएको थियो भने दिलीप श्रेष्ठ र लक्ष्मी पोखरेलले कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रम सञ्चालन शिव बन्जाराले, स्वस्तिवाचन ढुण्डिराज पोखरेलले, प्रमुख अतिथि र अतिथिहरूलाई शब्दयात्रा प्रकाशनका तर्फबाट उपहार समर्पण सफ्टवेयर इन्जिनियर रोशन अधिकारीले, फेसबुकबाट लाइभ गरी मुभी खिच्ने कार्य प्रकृति प्याकुरेलले, मञ्चमा आउने महानुभावहरूलाई रुद्राक्षको माला लगाइदिने कार्य अमृत अधिकारीले र सामग्रीको व्यवस्थापन सङ्गीता केसीले गर्नुभएको उक्त कार्यक्रममा ‘गाईजात्रा’ लगायतका अन्य पुस्तकहरू पनि उपलब्ध गराइएका थिए ।

शब्दयात्रा प्रकाशनका अध्यक्षलाई सूचक प्रकाशनले सम्मान गर्ने

0

शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष, भाषासेवी एवं साहित्यकार हरि मञ्जुश्रीलाई नेपाली भाषा, संस्कृति, संस्कार र मौलिकताको उत्थान एवं विस्तार गरी राष्ट्रिय स्वाभिमान जागरण गराउन अहम् भूमिका खेल्दै आएबापत सूचक प्रकाशनले २०७९ सालको सूचक संस्कृतिसेवा सम्मानबाट यही असार १८ गते सम्मान गर्ने भएको छ । शब्दयात्रा प्रकाशन परिवार यसका लागि सूचक प्रकाशनलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

दुई संस्थाबीच सम्झौता

0

शब्दयात्रा प्रकाशन (काभ्रेपलान्चोक) र रासकोट कला–साहित्य–संस्कृति प्रतिष्ठान (कालिकोट) का बीच वाङ्मयिक क्रियाकलापमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता अनुसार शब्दयात्रा प्रकाशनले निःशुल्क उपलब्ध गराउन सक्ने पुस्तक–पत्रिकाहरू रासकोट कला–साहित्य–संस्कृति प्रतिष्ठानलाई उपलब्ध गराउनेछ र ती पुस्तक–पत्रिकाहरू कालिकोटका पुस्तकालयहरूमा वितरण गर्ने काम रासकोट कला–साहित्य–संस्कृति प्रतिष्ठानले गर्नेछ । यसै गरी रासकोट कला–साहित्य–संस्कृति प्रतिष्ठानले त्यस जिल्लाका कला, साहित्य र संस्कृति विधासँग सम्बन्धित व्यक्तिका फुटकर सिर्जनाहरू शब्दयात्रा प्रकाशनलाई उपलब्ध गराउनेछ र शब्दयात्रा प्रकाशनले त्यसरी प्राप्त भएका सामग्रीहरू आफ्ना सञ्चार–माध्यमबाट प्रकाशन–प्रसारण गराउनेछ । सम्झौतापत्रमा शब्दयात्रा प्रकाशनका तर्फबाट महाप्रबन्धक शारदाप्रसाद शर्माले र रासकोट कला–साहित्य–संस्कृति प्रतिष्ठानका तर्फबाट अध्यक्ष नगेन्द्रप्रसाद आचार्यले हस्ताक्षर गर्नुभएको छ ।