शब्दयात्रा प्रकाशनको आयोजनामा यही २०७९ साल असोज ८ गते शनिबार पुरस्कार समर्पण तथा पुस्तक सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भयो । डा. शालिग्राम शर्माको सभापतित्व र डा. सुरेशराज शर्माको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको शुभारम्भ पानसमा दीप प्रज्ज्वलन गरी डा. नन्दीश अधिकारीले गर्नुभयो । सञ्चालन शिव बन्जाराले, सामग्रीको व्यवस्थापन हरिगोपाल प्रधान र सङ्गीता केसीले, छायाङ्कन तथा स्वराङ्कन प्रकृति प्याकुरेलले, मञ्चस्थ महानुभावहरूलाई रुद्राक्षको माला अर्पण केदारनाथ तिमल्सिनाले, स्वागत भाषण तथा प्रमुख अतिथि र अतिथिहरूलाई उपहार समर्पण कृष्णमणि कुइकेलले गर्नुभएको उक्त कार्यक्रममा ग्रन्थसम्पादक जीवनचन्द्र कोइरालाको तस्बिरमा माल्यार्पण र पुष्पार्पण गरी उहाँको आत्मशान्तिका लागि एक मिनेट मौन धारण गरिएको थियो । प्रजापति तिमिल्सिनाले स्वस्तिवाचन गर्नुभएको उक्त कार्यक्रममा उहाँलाई पुण्यवती घलेले टीका लगाइदिनुभयो भने पदम दाहालले दक्षिणा प्रदान गर्नुभयो । पुरस्कारका प्रमाणपत्रहरूको वाचन तथा पुरस्कारका सिफारिसकर्ताहरू र चयन समितिका सदस्यहरूलाई उपहार प्रदान शारदाप्रसाद शर्माले गर्नुभएको थियो भने संस्थाको, पुरस्कारको, पुरस्कृत व्यक्तित्वको र अतिथिहरूको चिनारी शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले गराउनुभएको थियो । कार्यक्रममा माधव काफ्ले, विश्वम्भर लामिछाने, विमला अधिकारी देवकोटा र कल्पना भट्टलाई पुरस्कृत गरिनुका साथै डा. शालिग्राम शर्माका देहात तापेर आयुर्वेद र अहर्निश उकालो तथा ढुण्डिराज पोखरेलका आत्मबोध र आत्मानुभूति नामक पुस्तकलाई सार्वजनिक गरिएको थियो ।