एक दिन बिहान १० बजेतिर केशव खुलाल (केशवबहादुर खुलाल छेत्री) ले मलाई फोन गर्नुभयो र भेट्न सकिने समय सोध्नुभयो । मैले ‘आज २ बजेपछि घरैमा हुन्छु’ भनेँ । नभन्दै २ बजेपछि उहाँ आउनुभयो । करिब २५ वर्षपछि उहाँ मेरो घरमा आउनुभएको थियो । खस जाति, खुलाल थर, मस्टो देवता आदिका विषयमा कुरा भए । त्यसै क्रममा उहाँले शब्दयात्रा प्रकाशनमा अक्षयकोष राख्न चाहेको कुरा व्यक्त गर्नुभयो र ‘कुन कामका लागि राखौँ ?’ भनेर सोध्नुभयो । ‘सङ्कटमा परेका लेखक, पत्रकार र कलाकारलाई आर्थिक सहयोग गर्न सके राम्रो होला’ भन्ने उत्तर मैले दिएँ । त्यसपछि उहाँले शब्दयात्रा प्रकाशनको नाउँमा २ लाख ७ हजार ७ सय ७७ रुपियाँको चेक लेख्नुभयो र मलाई दिनुभयो । यसरी धुलिखेल नगरपालिका वडा नं. ४ बाँसघारी निवासी समाजसेवी केशव खुलालले लेखक, पत्रकार र कलाकारहरूलाई विपत्ति पर्दा शब्दयात्रा प्रकाशनमार्फत आर्थिक सहयोग गर्न सकियोस् भन्ने पवित्र उद्देश्य राखेर अक्षयकोष खडा गरिदिनुभयो । पिता टीकाबहादुर खुलाल छेत्री र माता रमाकुमारी खुलाल छेत्रीको स्मृति र सम्मानमा उहाँले यो अक्षयकोष खडा गर्नुभएको हो । विपत्तिमा परेका साधकहरूलाई आर्थिक सहयोग गर्नका लागि अक्षयकोष खडा गर्ने उहाँ पहिलो व्यक्ति हुनुभएको छ । यस अर्थमा उहाँ स्मरणीय व्यक्ति बन्नुभएको छ । शब्दयात्रा प्रकाशनले अक्षरसेवी सहयोग कोष खडा गरेर त्यसमा बेलाबखत जम्मा भएको रकमबाट विपत्तिपीडित अक्षरसेवीहरूलाई आर्थिक सहयोग गर्दै आएकोमा अब अक्षयकोष पनि थपिएपछि अझ बढी सहयोग गर्न सकिने भएको छ । प्राकृतिक प्रकोप लगायत कुनै पनि प्रकारले आपतविपतमा परेका लेखक, पत्रकार र कलाकारहरूलाई कोषका व्यवस्थापकको नाउँबाट उहाँका पितामाताको स्मृतिमा राहतस्वरूप थोरै भए पनि आर्थिक सहायता समर्पण गर्न पाउनु शब्दयात्रा प्रकाशनको सौभाग्य हो । यस्तो उदारताका लागि केशव खुलालप्रति शब्दयात्रा प्रकाशन परिवारका तर्फबाट हार्दिक कृतज्ञता ज्ञापन गर्दछु ।
बिरुवा हस्तान्तरण
अग्रज समाजसेवी तथा लेखिका सावित्री जङ्गम थापाले शब्दसाधक तीर्थ नीलकण्ठेश्वर धाम परिसरका लागि विभिन्न जातका बिरुवाहरू हस्तान्तरण गर्नुभएको छ । ती बिरुवाहरू शब्दयात्रा प्रकाशनका जग्गादाता तथा आजीवन सदस्य कृष्णमणि कुइकेलले ग्रहण गर्नुभएको छ । यस सहयोगका लागि शब्दयात्रा प्रकाशन सावित्री जङ्गम थापाप्रति हार्दिक आभार प्रकट गर्दछ ।
ज्ञान उदासबाट पुस्तक–पत्रिका प्रदान
अग्रज साहित्यकार ज्ञान उदासले आफ्ना पुस्तक ३ वटा, आफूले किनेका र उपहार पाएका पुस्तक ८५ वटा र साहित्यिक पत्रिका १४ वटा गरी जम्मा १ सय २ वटा पुस्तक–पत्रिका शब्दयात्रा प्रकाशन पुस्तकालयलाई उपहारस्वरूप प्रदान गर्नुभएको छ । ती पुस्तक–पत्रिकाहरू शब्दयात्रा प्रकाशन पुस्तकालयका तर्फबाट हरिगोपाल प्रधानले ग्रहण गर्नुभएको छ । शब्दयात्रा प्रकाशन पुस्तकालयप्रतिको यस स्नेहका लागि अग्रज साहित्यकार ज्ञान उदासप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार व्यक्त गर्दछ ।
खगप्रसाद नेपालबाट पुस्तक उपहार
पूर्वप्रशासक तथा लेखक खगप्रसाद नेपालले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि ‘इतिहासको गर्भमा नरेन्द्रनाथ बाँस्तोला’ नामक पुस्तक उपलब्ध गराउनुभएको छ । शब्दयात्रा प्रकाशन पुस्तकालयका तर्फबाट उक्त पुस्तक हरिगोपाल प्रधानले ग्रहण गर्नुभएको छ । उक्त पुस्तक ५ सय १२ पृष्ठको छ । पुस्तकमा नरेन्द्रनाथ बाँस्तोलाका विषयमा मातृकाप्रसाद कोइराला, कीर्तिनिधि विष्ट, डा. तारानाथ शर्मा, कालिप्रसाद रिजाल, कृष्ण धरावासी, खनुपरुदे रामबाबु, दान खालिङ, दीपकप्रकाश बाँस्कोटा, दीर्घराज प्रसाई, दुर्गानाथ शर्मा, नकुल काजी, पासाङ गोपर्मा, प्रेम कैदी, भरत जङ्गम, राधाकृष्ण मैनाली, लक्ष्मीनाथ शर्मा, लय सङ्ग्रौला, लीलानाथ गड्तौला, डा. सुरेन्द्र केसी, सूर्यबहादुर सेन, हरि मञ्जुश्री समेत ८३ जनाका लेख–संस्मरण समेटिएका छन् ।
अक्षयकोषमा एक लाख रुपियाँ थप
शब्दयात्रा प्रकाशनले हरेक वर्ष प्रशासनिक महिला प्रतिभा सम्मान समर्पण गर्ने गरेको छ । त्यसका लागि पूर्वसचिव तथा गायिका उर्मिला श्रेष्ठ भोजपुरेले एक लाख रुपियाँ शब्दयात्रा प्रकाशनको अक्षयकोषमा राखिदिनुभएको थियो । अहिले त्यही सम्मानको अक्षयकोषका लागि उहाँले थप एक लाख रुपियाँ उपलब्ध गराउनुभएको छ । बाबुकृष्ण महर्जन मार्फत प्राप्त भएको थप रकमको चेक उर्मिला श्रेष्ठ भोजपुरेका तर्फबाट उहाँकी नन्द लीलादेवी श्रेष्ठले हस्तान्तरण गर्नुभएको छ भने शब्दयात्रा प्रकाशनका आजीवन सदस्य कृष्णमणि कुइकेलले उक्त चेक ग्रहण गर्नुभएको छ । सम्मानको अक्षयकोषका लागि शब्दयात्रा प्रकाशनलाई थप एक लाख रुपियाँ उपलब्ध गराउनुभएकोमा पूर्वसचिव तथा गायिका उर्मिला श्रेष्ठ भोजपुरेप्रति शब्दयात्रा प्रकाशनले हार्दिक कृतज्ञता व्यक्त गरेको छ । उर्मिला श्रेष्ठ भोजपुरे हाल सपरिवार अमेरिकामा बस्नुभएको छ । उहाँ लोकप्रिय साङ्गीतिक समूह ‘लेकाली’ का संस्थापक सदस्य हुनुहुन्छ ।
शब्दयात्रालाई बिरुवा प्रदान
शब्दसाधक तीर्थ नीलकण्ठेश्वर धाम परिसरमा रोप्नका लागि लेखक तथा पूर्वप्रशासक जयनारायण नेपालले केही बिरुवाहरू उपलब्ध गराउनुभएको छ । बिरुवाहरू हलुवाबेद, इलामे अम्बक र एभोकाडोका छन् । शब्दयात्रा प्रकाशनका तर्फबाट ती बिरुवाहरू हरिगोपाल प्रधानले ग्रहण गर्नुभएको छ । शब्दयात्रा प्रकाशन यस सहयोगका लागि जयनारायण नेपालप्रति हार्दिक आभार व्यक्त गर्दछ ।
अच्युत अधिकारी आजीवन सदस्य
कवि अच्युत अधिकारीले शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता ग्रहण गर्नुभएको छ । उहाँ काभ्रेपलान्चोक जिल्लाको पनौती भिन्नालनिवासी हुनुहुन्छ । उहाँको एउटा कवितासङ्ग्रह प्रकाशन भइसकेको छ भने अर्को कवितासङ्ग्रह प्रकाशन हुन लागेको छ । उहाँसमेत शब्दयात्रा प्रकाशनका आजीवन सदस्यको सङ्ख्या ५० पुगेको छ । शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता ग्रहण गर्नुभएकोमा उहाँलाई म हार्दिक बधाई ज्ञापन गर्दछु । आज साउन ८ गते उहाँको ५९ औँ जन्मदिवस भएकाले उहाँमा शब्दसाधक तीर्थ नीलकण्ठेश्वर धाममा विराजित देवीदेवता र पितृहरूको यथायोग्य आशीर्वाद प्राप्त होस् भन्ने कामना पनि गर्दछु ।
पाँच पुरस्कार छजनामा समर्पण
शब्दयात्रा प्रकाशनले २०८० सालको प्रथम चरणमा पाँचवटा पुरस्कार हिजो साउन ६ गते छजनालाई समर्पण गरेको छ ।
लामो समयदेखि ऐतिहासिक तथ्यहरूको खोज–अन्वेषण र विभिन्न विधाका साहित्यिक तथा अनुसन्धानमूलक कृतिहरूको लेखन–प्रकाशन गर्नुका साथै रौतहटेली साहित्यिक गतिविधिमा अभिभावकीय र प्रेरणादायी भूमिका निर्वाह गर्नुभएकोमा बेलौरी कन्चनपुर जन्मस्थल भई गौर रौतहटलाई कर्मस्थल बनाउनुभएका अन्वेषक तथा लेखक शीतल गिरीलाई २५ हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, उपहार र मालासहित ‘शब्दयात्रा डा. शालिग्राम शर्मा रौतहट प्रतिभा पुरस्कार, २०८०’ समर्पण गरिएको छ । यस पुरस्कारका लागि कोषको व्यवस्थापन चन्द्रपुर रौतहटनिवासी चिकित्सक तथा लेखक डा. शालिग्राम शर्माले गर्नुभएको हो ।
साहित्यको कथा, कविता र बालकथाको त्रिवेणी बनी ग्राम्य परिवेशलाई आधारभूमि बनाएका कथा, विचारशील र राष्ट्रप्रेमयुक्त कविता तथा प्रेरक बालकथाकृतिको लेखन–प्रकाशन गर्नुका साथै विभिन्न ग्रन्थहरूको सम्पादनमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएकोमा गोलन्जोर — ५ रतनचुरा सिन्धुलीनिवासी साहित्यकार विवश वस्ती (विवशराज श्रेष्ठ) लाई १५ हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, उपहार र मालासहित ‘शब्दयात्रा जीवनचन्द्र कोइराला सिन्धुली प्रतिभा पुरस्कार, २०८०’ समर्पण गरिएको छ । यस पुरस्कारका लागि कोषको व्यवस्थापन ग्रन्थसम्पादक जीवनचन्द्र कोइरालाकी धर्मपत्नी मनिका शर्मा कोइरालाले गर्नुभएको हो ।
विभिन्न विधाका साहित्यिक कृतिहरूको सिर्जना तथा प्रकाशन गरी नेपाली साहित्यको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै गत वर्ष प्रकाशित ‘रानीतलाउ’ नामक उपन्यासका लागि नेपालगन्ज बाँकेनिवासी साहित्यकार कल्पना खरेललाई र विभिन्न विधाका साहित्यिक कृतिहरूको सिर्जना तथा प्रकाशन गरी नेपाली साहित्यको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै गत वर्ष प्रकाशित ‘अक्षुण्ण’ नामक बाछिटासङ्ग्रहका लागि तेमाल काभ्रेपलान्चोक निवासी भवानी पाण्डेलाई ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार, २०८०’ समर्पण गरिएको छ । पुरस्कारको राशी १५ हजार रुपियाँ भएकाले संयुक्त रूपमा समर्पण गर्नुपर्ने हुँदा ८–८ हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, उपहार र माला समर्पण गरिएको छ । यस पुरस्कारको कोषको व्यवस्थापन पितामाताको स्मृतिमा कवि अमर त्यागीले गर्नुभएको हो ।
आफ्ना पितामाताको स्मृति र सम्मानस्वरूप काठमाडौँमा ‘डा. रामआदर निर्मला शर्मा पाण्डेय स्मृति बाल–बृद्ध–असहाय उत्थान केन्द्र’ नामक संस्था खोली आफ्नो परिवार, नातासम्बन्धी र जनस्तरका उदारमना स्वदेशी दाताहरूसँग सहयोग मागेर करिब चार दर्जन बाल–बृद्ध–असहायहरूलाई खाने–बस्ने, पढाउने र औषधोपचार गर्नेसमेत व्यवस्था गर्नुका साथै जनस्तरकै सहयोगमा त्यस संस्थालाई दिगो बनाउन सक्रिय भूमिका निर्वाह गर्नुभएकोमा जनकपुर धनुषाकी समाजसेवी रमा पाण्डे कोइराला ‘रोहिणी’ लाई १५ हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, उपहार र मालासहित ‘शब्दयात्रा हरि मञ्जुश्री दूरदृष्टि नेतृत्व पुरस्कार, २०८०’ समर्पण गरिएको छ । यस पुरस्कारका लागि कोषको व्यवस्थापन रश्मि हुमागाईं र इन्जिनियर रोशन अधिकारीले संयुक्त रूपमा गर्नुभएको हो ।
कठिन परिस्थितिसँग सङ्घर्ष गरी उद्यमी बन्नुभएको, उद्यमीकै रूपमा सामाजिक विकासका लागि योगदान गर्नुभएको र आफ्नो उद्यमशीलताबाट केही रोजगारीसमेत सिर्जना गर्न सक्षम बन्नुका साथै देशका विभिन्न स्थानमा आफ्नो उद्यमशीलताका प्रभावहरू विस्तार गरेर प्रेरणादायी व्यक्तित्व बन्न सफल हुनुभएकोमा धुलिखेल काभ्रेपलान्चोक निवासी उद्यमी ईश्वर शर्मालाई १५ हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, उपहार र मालासहित ‘शब्दयात्रा सारथि काभ्रेपलान्चोक उद्यमशीलता पुरस्कार, २०८०’ समर्पण गरिएको छ । यस पुरस्कारका लागि कोषको व्यवस्थापन सारथि ग्रुपका अध्यक्ष, सहकारीकर्मी तथा समाजसेवी प्रह्लाद प्याकुरेलले गर्नुभएको हो ।
यी सबै पुरस्कारहरू हरेक वर्ष समर्पण गर्ने गरिएको छ । यी पुरस्कारहरूबाट पुरस्कृत हुनुभएकोमा सबैलाई हार्दिक बधाई ज्ञापन गर्दै समारोहमा समुपस्थित सहभागीहरूका तर्फबाट पुरस्कृत व्यक्तित्वहरूको कीर्तिपताका निरन्तर फैलिरहोस् भनी शब्दसाधक तीर्थ नीलकण्ठेश्वर धाममा विराजित सम्पूर्ण देवीदेवता र पितृहरूसँग प्रार्थना गरिएको छ ।
पुरस्कार समर्पण समारोह सम्पन्न
शब्दयात्रा प्रकाशनले २०८० सालको पहिलो चरणका पुरस्कारहरू समर्पण गरेको छ । कार्यक्रमका प्रमुख अतिथि साहित्यकार ज्ञान उदास र विशेष अतिथि आख्यानकार भरत जङ्गम हुनुहुन्थ्यो । कार्यक्रमको सभापतित्व संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले र सञ्चालन आजीवन सदस्य शारदाप्रसाद शर्माले गर्नुभएको थियो । कार्यक्रममा शीतल गिरी, विवश वस्ती, कल्पना खरेल, भवानी पाण्डे, रमा कोइराला ‘रोहिणी’ र ईश्वर शर्मालाई पुरस्कृत गरिएको थियो भने डा. शालिग्राम शर्माद्वारा लिखित पुस्तक ‘पहिलो अस्पताल’ सार्वजनिक गरिएको थियो । ‘पुरस्करणीय व्यक्तित्व चयन समिति’ का संयोजक गीतिभास्कर मच्छेश्वर सापकोटाले पुरस्कृत व्यक्तित्वको विशेषताका बारेमा जानकारी गराउनुभएको थियो भने पुरस्कारका अभिवन्दनापत्रहरू कवि पदम दाहालले वाचन गर्नुभएको थियो । पुरस्कृत व्यक्तित्वहरूलाई माला भरत जङ्गमले, उपहार मच्छेश्वर सापकोटाले, रकम रामप्रसाद अधिकारी, इ. रोशन अधिकारी, जयनारायण नेपाल, मनिका शर्मा कोइराला र डा. शालिग्राम शर्माले, शब्दयात्रा पट्ट हरि मञ्जुश्रीले र अभिवन्दनापत्र ज्ञान उदासले समर्पण गर्नुभएको थियो ।
प्रा. केदारनाथ श्रेष्ठले कार्यक्रमको समुद्घाटन, अमृत अधिकारीले अतिथि, पुरस्कृत व्यक्तित्व र कृतिकारलाई रुद्राक्षमाला अर्पण, इ. रोशन अधिकारीबाट कार्यक्रमको छायाङ्कन तथा स्वराङ्कन, शारदा घिमिरे भैलबाट प्रमुख अतिथिलाई र दामोदर घिमिरेबाट चयन समितिका सदस्यहरूलाई उपहार समर्पण, जयराम श्रेष्ठबाट कार्यक्रमको समीक्षासहित सभाविसर्जन गरिएको उक्त कार्यक्रममा कृष्णमणि कुइकेलले स्वागत भाषण तथा हरिगोपाल प्रधान र सङ्गीता केसीले सामग्री व्यवस्थापन गर्नुभएको थियो । सहदीप पलान्चोकेले उपस्थिति गराउनुभएको उक्त कार्यक्रममा जीवनचन्द्र कोइरालाको तस्बिरमा माल्यार्पण गरिएको थियो । सार्वजनिक गरिएको पुस्तक पदम ढुङ्गानाले कार्यक्रममा उपस्थित सबैलाई निःशुल्क वितरण गर्नुभएको थियो ।
साउन ६ गते कार्यक्रम
साउन ६ गते शनिबार दिउँसो १२ः३० बजे शब्दयात्रा प्रकाशनको सभाकक्षमा सुरु हुने कार्यक्रममा पुरस्कार समर्पण गरिने साधकहरू — १. शब्दयात्रा डा. शालिग्राम शर्मा रौतहट प्रतिभा पुरस्कार — शीतल गिरी (रौतहट), २. शब्दयात्रा जीवनचन्द्र कोइराला सिन्धुली प्रतिभा पुरस्कार — विवश वस्ती (सिन्धुली), ३. शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार — कल्पना खरेल (बाँके) र भवानी पाण्डे (काभ्रेपलान्चोक), ४. शब्दयात्रा हरि मञ्जुश्री दूरदृष्टि नेतृत्व पुरस्कार — रमा पाण्डे कोइराला (धनुषा), ५. शब्दयात्रा प्रह्लाद प्याकुरेल काभ्रेपलान्चोक उद्यमशीलता पुरस्कार — ईश्वर शर्मा (काभ्रेपलान्चोक) । उहाँहरूको योगदानप्रति नेपाली समाज कृतज्ञ छ ।

