एक दिन बिहान १० बजेतिर केशव खुलाल (केशवबहादुर खुलाल छेत्री) ले मलाई फोन गर्नुभयो र भेट्न सकिने समय सोध्नुभयो । मैले ‘आज २ बजेपछि घरैमा हुन्छु’ भनेँ । नभन्दै २ बजेपछि उहाँ आउनुभयो । करिब २५ वर्षपछि उहाँ मेरो घरमा आउनुभएको थियो । खस जाति, खुलाल थर, मस्टो देवता आदिका विषयमा कुरा भए । त्यसै क्रममा उहाँले शब्दयात्रा प्रकाशनमा अक्षयकोष राख्न चाहेको कुरा व्यक्त गर्नुभयो र ‘कुन कामका लागि राखौँ ?’ भनेर सोध्नुभयो । ‘सङ्कटमा परेका लेखक, पत्रकार र कलाकारलाई आर्थिक सहयोग गर्न सके राम्रो होला’ भन्ने उत्तर मैले दिएँ । त्यसपछि उहाँले शब्दयात्रा प्रकाशनको नाउँमा २ लाख ७ हजार ७ सय ७७ रुपियाँको चेक लेख्नुभयो र मलाई दिनुभयो । यसरी धुलिखेल नगरपालिका वडा नं. ४ बाँसघारी निवासी समाजसेवी केशव खुलालले लेखक, पत्रकार र कलाकारहरूलाई विपत्ति पर्दा शब्दयात्रा प्रकाशनमार्फत आर्थिक सहयोग गर्न सकियोस् भन्ने पवित्र उद्देश्य राखेर अक्षयकोष खडा गरिदिनुभयो । पिता टीकाबहादुर खुलाल छेत्री र माता रमाकुमारी खुलाल छेत्रीको स्मृति र सम्मानमा उहाँले यो अक्षयकोष खडा गर्नुभएको हो । विपत्तिमा परेका साधकहरूलाई आर्थिक सहयोग गर्नका लागि अक्षयकोष खडा गर्ने उहाँ पहिलो व्यक्ति हुनुभएको छ । यस अर्थमा उहाँ स्मरणीय व्यक्ति बन्नुभएको छ । शब्दयात्रा प्रकाशनले अक्षरसेवी सहयोग कोष खडा गरेर त्यसमा बेलाबखत जम्मा भएको रकमबाट विपत्तिपीडित अक्षरसेवीहरूलाई आर्थिक सहयोग गर्दै आएकोमा अब अक्षयकोष पनि थपिएपछि अझ बढी सहयोग गर्न सकिने भएको छ । प्राकृतिक प्रकोप लगायत कुनै पनि प्रकारले आपतविपतमा परेका लेखक, पत्रकार र कलाकारहरूलाई कोषका व्यवस्थापकको नाउँबाट उहाँका पितामाताको स्मृतिमा राहतस्वरूप थोरै भए पनि आर्थिक सहायता समर्पण गर्न पाउनु शब्दयात्रा प्रकाशनको सौभाग्य हो । यस्तो उदारताका लागि केशव खुलालप्रति शब्दयात्रा प्रकाशन परिवारका तर्फबाट हार्दिक कृतज्ञता ज्ञापन गर्दछु ।