शब्दयात्रा प्रकाशनले २०८० सालको प्रथम चरणमा पाँचवटा पुरस्कार हिजो साउन ६ गते छजनालाई समर्पण गरेको छ ।
लामो समयदेखि ऐतिहासिक तथ्यहरूको खोज–अन्वेषण र विभिन्न विधाका साहित्यिक तथा अनुसन्धानमूलक कृतिहरूको लेखन–प्रकाशन गर्नुका साथै रौतहटेली साहित्यिक गतिविधिमा अभिभावकीय र प्रेरणादायी भूमिका निर्वाह गर्नुभएकोमा बेलौरी कन्चनपुर जन्मस्थल भई गौर रौतहटलाई कर्मस्थल बनाउनुभएका अन्वेषक तथा लेखक शीतल गिरीलाई २५ हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, उपहार र मालासहित ‘शब्दयात्रा डा. शालिग्राम शर्मा रौतहट प्रतिभा पुरस्कार, २०८०’ समर्पण गरिएको छ । यस पुरस्कारका लागि कोषको व्यवस्थापन चन्द्रपुर रौतहटनिवासी चिकित्सक तथा लेखक डा. शालिग्राम शर्माले गर्नुभएको हो ।
साहित्यको कथा, कविता र बालकथाको त्रिवेणी बनी ग्राम्य परिवेशलाई आधारभूमि बनाएका कथा, विचारशील र राष्ट्रप्रेमयुक्त कविता तथा प्रेरक बालकथाकृतिको लेखन–प्रकाशन गर्नुका साथै विभिन्न ग्रन्थहरूको सम्पादनमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएकोमा गोलन्जोर — ५ रतनचुरा सिन्धुलीनिवासी साहित्यकार विवश वस्ती (विवशराज श्रेष्ठ) लाई १५ हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, उपहार र मालासहित ‘शब्दयात्रा जीवनचन्द्र कोइराला सिन्धुली प्रतिभा पुरस्कार, २०८०’ समर्पण गरिएको छ । यस पुरस्कारका लागि कोषको व्यवस्थापन ग्रन्थसम्पादक जीवनचन्द्र कोइरालाकी धर्मपत्नी मनिका शर्मा कोइरालाले गर्नुभएको हो ।
विभिन्न विधाका साहित्यिक कृतिहरूको सिर्जना तथा प्रकाशन गरी नेपाली साहित्यको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै गत वर्ष प्रकाशित ‘रानीतलाउ’ नामक उपन्यासका लागि नेपालगन्ज बाँकेनिवासी साहित्यकार कल्पना खरेललाई र विभिन्न विधाका साहित्यिक कृतिहरूको सिर्जना तथा प्रकाशन गरी नेपाली साहित्यको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै गत वर्ष प्रकाशित ‘अक्षुण्ण’ नामक बाछिटासङ्ग्रहका लागि तेमाल काभ्रेपलान्चोक निवासी भवानी पाण्डेलाई ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार, २०८०’ समर्पण गरिएको छ । पुरस्कारको राशी १५ हजार रुपियाँ भएकाले संयुक्त रूपमा समर्पण गर्नुपर्ने हुँदा ८–८ हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, उपहार र माला समर्पण गरिएको छ । यस पुरस्कारको कोषको व्यवस्थापन पितामाताको स्मृतिमा कवि अमर त्यागीले गर्नुभएको हो ।
आफ्ना पितामाताको स्मृति र सम्मानस्वरूप काठमाडौँमा ‘डा. रामआदर निर्मला शर्मा पाण्डेय स्मृति बाल–बृद्ध–असहाय उत्थान केन्द्र’ नामक संस्था खोली आफ्नो परिवार, नातासम्बन्धी र जनस्तरका उदारमना स्वदेशी दाताहरूसँग सहयोग मागेर करिब चार दर्जन बाल–बृद्ध–असहायहरूलाई खाने–बस्ने, पढाउने र औषधोपचार गर्नेसमेत व्यवस्था गर्नुका साथै जनस्तरकै सहयोगमा त्यस संस्थालाई दिगो बनाउन सक्रिय भूमिका निर्वाह गर्नुभएकोमा जनकपुर धनुषाकी समाजसेवी रमा पाण्डे कोइराला ‘रोहिणी’ लाई १५ हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, उपहार र मालासहित ‘शब्दयात्रा हरि मञ्जुश्री दूरदृष्टि नेतृत्व पुरस्कार, २०८०’ समर्पण गरिएको छ । यस पुरस्कारका लागि कोषको व्यवस्थापन रश्मि हुमागाईं र इन्जिनियर रोशन अधिकारीले संयुक्त रूपमा गर्नुभएको हो ।
कठिन परिस्थितिसँग सङ्घर्ष गरी उद्यमी बन्नुभएको, उद्यमीकै रूपमा सामाजिक विकासका लागि योगदान गर्नुभएको र आफ्नो उद्यमशीलताबाट केही रोजगारीसमेत सिर्जना गर्न सक्षम बन्नुका साथै देशका विभिन्न स्थानमा आफ्नो उद्यमशीलताका प्रभावहरू विस्तार गरेर प्रेरणादायी व्यक्तित्व बन्न सफल हुनुभएकोमा धुलिखेल काभ्रेपलान्चोक निवासी उद्यमी ईश्वर शर्मालाई १५ हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, उपहार र मालासहित ‘शब्दयात्रा सारथि काभ्रेपलान्चोक उद्यमशीलता पुरस्कार, २०८०’ समर्पण गरिएको छ । यस पुरस्कारका लागि कोषको व्यवस्थापन सारथि ग्रुपका अध्यक्ष, सहकारीकर्मी तथा समाजसेवी प्रह्लाद प्याकुरेलले गर्नुभएको हो ।
यी सबै पुरस्कारहरू हरेक वर्ष समर्पण गर्ने गरिएको छ । यी पुरस्कारहरूबाट पुरस्कृत हुनुभएकोमा सबैलाई हार्दिक बधाई ज्ञापन गर्दै समारोहमा समुपस्थित सहभागीहरूका तर्फबाट पुरस्कृत व्यक्तित्वहरूको कीर्तिपताका निरन्तर फैलिरहोस् भनी शब्दसाधक तीर्थ नीलकण्ठेश्वर धाममा विराजित सम्पूर्ण देवीदेवता र पितृहरूसँग प्रार्थना गरिएको छ ।