शब्दसाधक तीर्थमा शब्दवाटिका निर्माण गर्नका लागि शब्दयात्रा प्रकाशनको निर्माण समितिका संयोजक कृष्णमणि कुइकेललाई हालसम्म निम्नलिखित महानुभावहरूले निम्नबमोजिमको सहयोग उपलब्ध गराउनुभएको छ — (१) भोजराज रेग्मी मुखालेले २० हजार रुपियाँ, (२) लीलादेवी श्रेष्ठले ११ हजार ५ रुपियाँ, (३) सोमकाजी शाक्यले ५ हजार ५ सय २५ रुपियाँ, (४) डा. ठाकुरराज अधिकारीले ५ हजार रुपियाँ, (५) सावित्री जङ्गम थापाले विभिन्न बिरुवाहरू, (६) जयनारायण नेपालले विभिन्न बिरुवाहरू । उहाँहरू सबैप्रति हामी आभारी छौँ ।
प्रेमकुमार कर्माचार्यले लेख्नुभएको ‘मानबहादुर कर्माचार्य र गुर्जन ठाकुर’ नामक पुस्तिका पठनीय छ । यस पुस्तिकामा लेखकले आफ्ना पिताजी मानबहादुर कर्माचार्यको सामाजिक तथा शैक्षिक योगदानको उल्लेख गर्नुभएको छ । यसका साथै किंवदन्तीका रूपमा रहेको तर लोप हुन लागेको गुर्जन ठाकुरको कथालाई पनि उजागर गर्नुभएको छ । कसैको पनि योगदान ओझेलमा नपरोस् भन्ने उद्देश्यले यो पुस्तिका तयार पारेर उहाँले सबैले नेपाली समाजमा यसरी नै योगदान गर्नुपर्छ भन्न खोज्नुभएको छ ।

