Home Blog Page 39

उहाँहरूले चयन गर्नुहुनेछ

0
आगामी जेठ महिनामा शब्दयात्रा प्रकाशनबाट सम्मान समर्पण गर्ने व्यक्ति वा संस्थाको चयन गरिदिन पाँचजनालाई अनुरोध गरिएको छ — रमेश पौड्याल, निर्मला श्रेष्ठ, नारायणप्रसाद वैद्य, गीता अधिकारी र आनन्दराज श्रेष्ठ । प्राप्त भएका सिफारिसमध्येबाट उहाँहरूले एक सम्मानका लागि एक व्यक्ति वा संस्थाको चयन गर्नुहुनेछ । उहाँहरूले चयन गर्नुभएको व्यक्ति वा संस्थालाई शब्दयात्रा प्रकाशनले सम्मान समर्पण गर्नेछ ।

पुस्तक १ सय ७३ वटा

0

शब्दयात्रा प्रकाशन पुस्तकालयले विभिन्न विधाका १ सय ७३ वटा पुस्तक सहयोगस्वरूप प्राप्त गरेको छ । ती पुस्तकहरू पत्रकार तथा लेखक श्याम अधिकारीबाट प्राप्त भएका हुन् । यस सहयोगका लागि शब्दयात्रा प्रकाशन परिवार श्याम अधिकारीप्रति हार्दिक आभार प्रकट गर्दछ ।

हरि मञ्जुश्री सम्मानित

0

शब्दयात्रा प्रकाशनका संस्थापक तथा अध्यक्ष हरि मञ्जुश्री सम्मानित हुनुभएको छ । उहाँलाई ललितपुरको महालक्ष्मी साहित्य समाजले यही वैशाख ८ गते सम्मानपत्र समर्पण गरेको हो । नेपाली भाषा–साहित्यका क्षेत्रमा गरेको अतुलनीय योगदानका लागि उहाँलाई सम्मान गरिएको बेहोरा सम्मानपत्रमा उल्लेख गरिएको छ ।

‘सफल जीवनका लागि योग’ छापिँदै

0

शब्दयात्रा प्रकाशन र धुलिखेल योगसाधना केन्द्रको सहकार्यका रूपमा ‘सफल जीवनका लागि योग’ नामक पुस्तक प्रकाशन हुने भएको छ । यसअघि यी दुई संस्थाको पहिलो सहकार्यका रूपमा ‘योगदर्शन’ नामक पुस्तक प्रकाशन गरिएको थियो । सहकार्यको दोस्रो शृङ्खलाका रूपमा प्रकाशन हुन लागेको ‘सफल जीवनका लागि योग’ का लेखक तथा सम्पादक दिवाकर जङ्गम हुनुहुन्छ । शब्दयात्रा प्रकाशनको २ सय २९ औँ प्रकाशनपुष्पका रूपमा यस पुस्तकको मुद्रणकार्य यही वैशाख महिनामा गरिसकिनेछ ।

जेठमा सात सम्मान

0
शब्दयात्रा प्रकाशनबाट आगामी जेठ महिनामा निम्नलिखित सम्मानहरू समर्पण गरिनेछन् । सम्मानका लागि उपयुुक्त व्यक्ति वा संस्थाको नाउँ र योगदानबारे [email protected] मा वैशाख २० गतेभित्र जानकारी पठाइदिन अनुरोध छ । प्राप्त भएका नाउँहरूमध्येबाट तीन सदस्यीय चयन समितिले सिफारिस गरेका व्यक्ति वा संस्थालाई अभिवन्दनापत्र, किरीट, भेटी, रुद्राक्षमाला र उपहारसहित सम्मान समर्पण गरिनेछ । (१) अङ्गुरबाबा जोशी शिक्षक सम्मान, (२) नन्दिकेश्वर अधिकारी शोध सम्मान, (३) हंसराज श्रेष्ठ सामाजिक जागरण सम्मान, (४) होमतोत्र शिक्षा सम्मान, (५) रामकृष्ण श्रेष्ठ विज्ञान–प्रविधि सम्मान, (६) कल्याण लम्साल सिर्जना सम्मान, (७) कालु वैद्य आयुर्वेद सम्मान ।

नयाँ वर्षको पहिलो दिन चार पुस्तक सार्वजनिक

0

शब्दयात्रा प्रकाशनको आयोजनामा आज २०८१ सालको पहिलो दिन चारवटा पुस्तकलाई सार्वजनिक गरियो । आफ्नै सभाकक्षमा आयोजित आजको कार्यक्रममा कल्पना खरेल प्रमुख अतिथि तथा ममता मृदुल र मन्दिरा मधुश्री विशेष अतिथि हुनुहुन्थ्यो । कार्यक्रममा डा. इन्दुल केसीद्वारा सम्पादित ‘सावित्री स्मृति’ लाई मन्दिरा मधुश्री र डा. इन्दुल केसीले तथा डा. इन्दुल केसी र पदम दाहालद्वारा लिखित तथा सम्पादित ‘एक–अर्काका दृष्टिमाथि समीक्षकका पुनर्दृष्टि’ लाई मन्दिरा मधुश्री र पदम दाहालले सार्वजनिक गर्नुभयो । यसै गरी दिलहरि श्रेष्ठद्वारा लिखित ‘दिलहरि श्रेष्ठका कविता’ लाई ममता मृदुल र डा. भूषण श्रेष्ठले तथा शङ्करप्रसाद मानन्धरद्वारा लिखित ‘अध्यात्म र चिन्तन’ लाई ममता मृदुल र शङ्करप्रसाद मानन्धरले सार्वजनिक गर्नुभयो । तीनजना कृतिकार र जीवनाथ अधिकारीले पुस्तकका विषयमा आआफ्ना धारणा राख्नुभएको उक्त कार्यक्रममा ममता मृदुलले कविता वाचन र मन्दिरा मधुश्रीले कार्यक्रम समापन गर्नुभएको थियो भने डा. भूषण श्रेष्ठले कृतिकार दिलहरि श्रेष्ठका विषयमा जानकारी गराउनुभएको थियो । कल्पना खरेलले प्रमुख अतिथिका रूपमा मन्तव्य व्यक्त गर्नुभएको थियो । विष्णु ओलीले उद्घाटन गर्नुभएको आजको कार्यक्रमको सभापतित्व हरि मञ्जुश्रीले, सञ्चालन शिव बन्जाराले, स्वागत भाषण कृष्णमणि कुइकेलले, सामग्री व्यवस्थापन कालिका त्रिपाठी पन्त र केदारनाथ तिमल्सिनाले, स्वराङ्कन तथा छायाङ्कन इ. रोशन मञ्जुश्री अधिकारीले, रुद्राक्षमाला समर्पण नवराज पराजुलीले, अतिथित्रयलाई शब्दयात्रा प्रकाशनका तर्फबाट उपहार समर्पण साधुराम गिरीले गर्नुभएको थियो । कृतिकार दिलहरि श्रेष्ठ र कृतिनायक सावित्री राणा केसीको आत्मशान्तिको कामना गर्दै मानधारण गरिएको आजको कार्यक्रममा स्वस्तिवाचन, नीलकण्ठेश्वर महादेवको जयगान, राष्ट्रिय गान, शब्दयात्रा प्रकाशनको स्वागत गान र कार्यक्रम समापन गान श्रवण गराइएको थियो । कार्यक्रममा मच्छेश्वर सापकोटा, जयनारायण नेपाल, केशव रूपाखेती, डा. सीता सुवेदी पन्थी, प्रजापति तिमिल्सिना, दामोदर घिमिरे, चूडाप्रसाद चौलागाईं, प्रकाशबहादुर कायस्थ आदिसमेत विभिन्न अक्षरकर्मी तथा शब्दशिल्पीहरूको समुपस्थिति थियो ।

२२७. एक–अर्काका दृष्टिमाथि समीक्षकका पुनर्दृष्टि

डा. इन्दुल केसी र पदम दाहालले संयुक्त रूपमा लेखन तथा सम्पादन गर्नुभएको प्रस्तुत पुस्तक ‘एक–अर्काका दृष्टिमाथि समीक्षकका पुनर्दृष्टि’ त्रिकोणात्मक विषय–संयोजन भएको प्रयोगपरक कृति हो । तीन खण्डमा विभक्त यस पुस्तकको पहिलो खण्डमा डा. इन्दुल केसीको लेखन, दोस्रो खण्डमा पदम दाहालको लेखन तथा तेस्रो खण्डमा ‘एक–अर्काका दृष्टि दुई व्यक्तिका कृति’ पुस्तकमाथि डा. कृष्णप्रसाद दाहाल, डा. यज्ञेश्वर निरौला, प्रजापति तिमिल्सिना, डा. सीता सुवेदी पन्थी र चूडाप्रसाद चौलागाईका दृष्टिकोणहरू सङ्कलित छन् । यसमा जीवनाथ अधिकारीले भूमिका लेख्नुभएको छ । तेस्रो खण्डमा लेखिएका दृष्टिकोणहरू डा. इन्दुल केसी र पदम दाहालको संयुक्त लेखनमा प्रकाशित ‘एक–अर्काका दृष्टि दुई व्यक्तिका कृति’ पुस्तकमाथिका पाठकीय दृष्टिकोणहरू हुन् । यसरी यस पुस्तकले स्रष्टा र स्रष्टाको सृष्टि, द्रष्टा र द्रष्टाको दृष्टि तथा ती चारैवटाको संयोजन प्रस्तुत गरी एकै सन्दर्भका पाँच आयामलाई जोडेर नवीन र विशेष विशेषता पाठकसमक्ष प्रस्तुत गरेको छ । यस्तो मौलिक र सुन्दर सोच र सोचको कार्यान्वयनका लागि लेखक तथा सम्पादक डा. इन्दुल केसी र पदम दाहाल वन्दनीय हुनुहुन्छ ।

२२६. सावित्री स्मृति

डा. इन्दुल केसीले सम्पादन गर्नुभएको प्रस्तुत पुस्तक ‘सावित्री स्मृति’ आफ्नी धर्मपत्नी सावित्री राणा केसीको निधनपछि उहाँले विभिन्न सामग्रीहरू सङ्कलन गरी तयार पार्नुभएको स्मृतिसँगालो हो । धर्मपत्नीलाई अर्धाङ्गिनी भनिन्छ । आधा अङ्ग गएर आधा अङ्ग रहेको अवस्था हरेक मान्छेका लागि दुःखद अवस्था हो । त्यस्तो अवस्था भोगिरहनुभएका डा. इन्दुल केसीले आफ्नो मनोव्यथालाई मुखले प्रकट नगरी अक्षरहरूमा देख्न चाहनुभयो र यो पुस्तक तयार पार्नुभयो । यस पुस्तकमा सावित्री राणा केसीको जीवनवृत्त, स्वास्थ्यसमस्याको विवरण, उहाँसँगका स्मरणहरू, उहाँको निधनसम्बन्धी समाचारहरू, निधनपछि प्राप्त भएका समवेदना सन्देशहरू र केही तस्बिरहरू सङ्कलन गरिएका छन् । त्यसैले यस पुस्तकका अक्षर–अक्षरमा डा. इन्दुल केसीभित्रका पीडाहरू पाउन सकिन्छ ।

टेलिभिजन उपहार अतिथिशालाका लागि

0
शब्दयात्रा प्रकाशनलाई लेखिका, गायिका तथा समाजसेवी लीलादेवी श्रेष्ठ र प्रा. केदारनाथ श्रेष्ठले एक थान टेलिभिजन उपहार प्रदान गर्नुभएको छ । शब्दयात्रा प्रकाशन र नीलकण्ठेश्वर धाम संरक्षण समितिको सहकार्यमा प्राज्ञिक अतिथिशाला बनाइने भएकाले त्यसका लागि उहाँहरूले टेलिभिजन प्रदान गर्नुभएको हो । शब्दयात्रा प्रकाशनका तर्फबाट आजीवन सदस्य साधुराम गिरीले टेलिभिजन ग्रहण गर्नुभएको छ । लीलादेवी श्रेष्ठ र प्रा. केदारनाथ श्रेष्ठ पनि शब्दयात्रा प्रकाशनका आजीवन सदस्य हुनुहुन्छ । उहाँहरूले यसअघि पनि शब्दवाटिका, पुस्तकालय, सरस्वती मन्दिर, सभाकक्ष, शिवलिङ्ग आदिका लागि सहयोग गर्नुभएको छ । उहाँहरूले शब्दयात्रा प्रकाशनमा पुरस्कार र विद्वतवृत्तिका लागि अक्षयकोष पनि राख्नुभएको छ । आफ्नो सिर्जना, अनुसन्धान तथा सम्पादनलाई पूर्णता दिन कलाकार, साहित्यकार, अनुसन्धाता एवं सम्पादक जस्ता शब्दसाधकहरू शब्दयात्रा प्रकाशन नीलकण्ठेश्वर धाममा आएर यहाँको अतिथिशालामा केही दिन बस्नुपर्ने स्थितिमा त्यो सुविधा पनि प्राप्त होस् भन्ने उद्देश्यले प्राज्ञिक अतिथिशाला बनाउन खोजिएको हो । अतिथिशालाका कोठाहरूका लागि पलङ, टेबल, कुर्सी, सिरक–डस्ना आदिको व्यवस्था गर्नुपर्ने अवस्था छ ।

आठ व्यक्तित्वमा सम्मान समर्पण

0

आज शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित सम्मान समर्पण समारोहमा राष्ट्रका आठजना राष्ट्रिय व्यक्तित्वलाई सम्मान गरियो । समारोहमा राष्ट्रझङ्कार सम्मानबाट पूर्वप्रशासक तथा कूटनीतिज्ञ सूर्यप्रसाद श्रेष्ठ (ताप्लेजुङ), भाषासेवा सम्मानबाट भाषावैज्ञानिक डा. योगेन्द्रप्रसाद यादव (सिराहा), समालोचना सम्मानबाट समालोचक डा. सुषमा आचार्य (काठमाडौँ) र कविताकाव्य सम्मानबाट मुकुन्द शर्मा चालिसे (बागलुङ) सम्मानित हुनुभयो । यसै गरी आमसञ्चार सम्मान हरिःशरणम् आमा लक्ष्मी भुसाल (काठमाडौँ) मा, हास्यव्यङ्ग्य सम्मान चट्याङ मास्टर (भक्तपुर) मा, बालसाहित्य सम्मान डा. ध्रुव घिमिरे (नुवाकोट) मा र अनुसन्धान सम्मान डा. षडानन्द पौड्याल (पर्वत) मा समर्पण गरियो । उहाँहरूलाई सावित्री जङ्गम थापा, गोपाल पराजुली, हरिगोपाल प्रधान, शारदाप्रसाद शर्मा, कविप्रसाद प्याकुरेल, गीता अधिकारी, राजेन्द्र विरही र पूर्णबहादुर कर्माचार्यले अभिवन्दनापत्र, किरीट, भेटी, रुद्राक्षमाला र उपहारले सम्मान गर्नुभएको थियो । सम्मानित व्यक्तित्वहरूलाई भरत जङ्गम, लीलादेवी श्रेष्ठ र दीपरत्न शाक्यका तर्फबाट थप उपहारहरू समर्पण गरिएका थिए । सम्मानित व्यक्तित्वहरूको चिनारी चयन समितिका संयोजक शिक्षासेवी रामप्रसाद अधिकारीले गराउनुभएको थियो । सम्मान सामग्रीको व्यवस्थापन पुण्यवती घलेले र प्रमाणपत्रको वाचन कालिका त्रिपाठी पन्तले गर्नुभएको थियो भने सञ्चालन हरि मञ्जुश्रीबाट गरिएको थियो । समारोहमा स्वास्थ्यको प्रतिकूलताका कारण डा. योगेन्द्रप्रसाद यादव उपस्थित हुन सक्नुभएको थिएन, त्यसैले उहाँको निवाससम्म लगिदिने गरी उहाँका तर्फबाट चयन समितिका सदस्य देवीप्रसाद ढुङ्गानाले सम्मान सामग्री ग्रहण गर्नुभएको थियो ।