डा. इन्दुल केसीले सम्पादन गर्नुभएको प्रस्तुत पुस्तक ‘सावित्री स्मृति’ आफ्नी धर्मपत्नी सावित्री राणा केसीको निधनपछि उहाँले विभिन्न सामग्रीहरू सङ्कलन गरी तयार पार्नुभएको स्मृतिसँगालो हो । धर्मपत्नीलाई अर्धाङ्गिनी भनिन्छ । आधा अङ्ग गएर आधा अङ्ग रहेको अवस्था हरेक मान्छेका लागि दुःखद अवस्था हो । त्यस्तो अवस्था भोगिरहनुभएका डा. इन्दुल केसीले आफ्नो मनोव्यथालाई मुखले प्रकट नगरी अक्षरहरूमा देख्न चाहनुभयो र यो पुस्तक तयार पार्नुभयो । यस पुस्तकमा सावित्री राणा केसीको जीवनवृत्त, स्वास्थ्यसमस्याको विवरण, उहाँसँगका स्मरणहरू, उहाँको निधनसम्बन्धी समाचारहरू, निधनपछि प्राप्त भएका समवेदना सन्देशहरू र केही तस्बिरहरू सङ्कलन गरिएका छन् । त्यसैले यस पुस्तकका अक्षर–अक्षरमा डा. इन्दुल केसीभित्रका पीडाहरू पाउन सकिन्छ ।