Home Blog Page 38

किरण थापालाई सामाजिक जागरण सम्मान समर्पण गरिने

0

शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा हंसराज श्रेष्ठ सामाजिक जागरण सम्मान’ किरण थापा (सिन्धुली) मा समर्पण गर्ने भएको छ । समाजसेवा र सामाजिक जागरणका क्षेत्रमा आफ्ना पिता कर्मयोगी बद्रीविक्रम थापाको उत्तराधिकार ग्रहण गरी विभिन्न संस्थाहरूका माध्यमबाट समाजोत्थान र पूर्वीय आदर्शको पुनर्जागरणका लागि आवश्यक पर्ने विविध कार्यहरू सम्पन्न गरेर अनुकरणीय आदर्श कायम गर्नुका साथै कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवागुठीको अग्रसरतामा चेतनायात्रा, पुस्तक प्रकाशन आदिजस्ता कार्यक्रमहरूको आयोजना गरी नेपालका विभिन्न भूभागमा पुगेर सामाजिक जागरण गराउनका लागि सक्रिय रहनुभएकाले उहाँलाई सम्मान गर्ने निर्णय गरिएको हो । यस सम्मानका लागि समाजसेवी आनन्दराज श्रेष्ठले कोष व्यवस्थापन गर्नुभएको छ । यो सम्मान आगामी जेठ महिनाको अन्तिम सातामा समर्पण गरिनेछ । सम्मान्य व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई यो सम्मान समर्पण गर्ने निर्णय गरेको हो । सम्मान ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा किरण थापाप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार व्यक्त गर्दछ ।

वैद्य रामलाल श्रेष्ठलाई आयुर्वेद सम्मान समर्पण गरिने

0

शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा कालु वैद्य आयुर्वेद सम्मान’ वैद्य रामलाल श्रेष्ठ (काठमाडौं) मा समर्पण गर्ने भएको छ । काठमाडौंको बौद्धमा परम्परा दिव्य आयुर्वेद औषधालय सञ्चालन गर्नुभएका उहाँले आयुर्वेद र जडिबुटी उपचार पद्धतिबाट हजारौँ बिरामीहरूको उपचार गर्नुभएको छ । पूर्वीय चिकित्सा पद्धतिलाई लोप हुन नदिन र त्यसको विकास, विस्तार र विश्वसनीयता अभिवृद्धि गराउन उहाँको पनि ठूलो भूमिका रहेको छ । पारिवारिक परम्परालाई निरन्तरता दिँदै उहाँले गर्नुभएको यस्तो महत्तम योगदानका लागि उहाँलाई सम्मान समर्पण गर्ने निर्णय गरिएको हो । यस सम्मानका लागि समाजसेवी नारायणप्रसाद वैद्य र उहाँका परिवारजनले कोष व्यवस्थापन गर्नुभएको छ । यो सम्मान आगामी जेठ महिनाको अन्तिम सातामा समर्पण गरिनेछ । सम्मान्य व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई यो सम्मान समर्पण गर्ने निर्णय गरेको हो । सम्मान ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा वैद्य रामलाल श्रेष्ठप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार व्यक्त गर्दछ ।

शब्दयात्रा छात्रवृत्ति पाउनेहरू

शब्दयात्रा प्रकाशनद्वारा व्यवस्थापित छात्रवृत्ति हालसम्म पाउनेहरू — (क) शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति (धर्मपत्नीको स्मृतिमा कोष व्यवस्थापन गर्ने द्रोणप्रसाद श्रेष्ठ) — (१) रन्जिता उप्रेती, २०७६ (२) सुजाता तिमल्सिना, २०७७ (३) रोमिला लुम्बा थापा, २०७८ (४) सुम्निमा मगर, २०७९ (५) विपासना शाक्य, २०८० (सबै काभ्रेपलान्चोक जिल्लाका) (ख) शब्दयात्रा भूप–मुक्ति विकलाङ्ग छात्रवृत्ति (पितामाताको स्मृतिमा कोष व्यवस्थापन गर्ने डा. रूपनारायण श्रेष्ठ) — (१) सुजन कामी, सिन्धुली, २०७८ (२) रामकुमार दाहाल, सङ्खुवासभा, २०७९ (३) अनुग्रह प्रजापति, काभ्रेपलान्चोक, २०८० (ग) शब्दयात्रा माधवी अधिकारी छात्रवृत्ति (धर्मपत्नीको स्मृतिमा कोष व्यवस्थापन गर्ने डा. सीताराम अधिकारी) — (१) सिमोना बस्नेत, ओखलढुङ्गा, २०८० (घ) शब्दयात्रा दिव्यवती–कान्तुप्रसाद ढुङ्गाना छात्रवृत्ति, २०८० (मातापिताको स्मृतिमा कोष व्यवस्थापन गर्ने शेखरप्रसाद ढुङ्गाना) — (१) सलिना नेपाली, कक्षा १ (२) करिस्मा ठाकुर, कक्षा २ (३) समिन घोले, कक्षा ३ (तीनैजना श्रीखण्डपुर मा.वि.का) (४) ईशा तामाङ, कक्षा ४ (५) आशा गौतम, कक्षा ५ (दुवैजना धनेश्वर महादेव प्रा.वि.का) (६) सदीक्षा थापा, कक्षा ६ (७) पुष्पा जिम्बा, कक्षा ७ (दुवैजना भक्तेश्वर मा.वि.का) (८) प्रियङ्का महत, कक्षा ८ (९) राजन उपाध्याय, कक्षा ९ (दुवैजना सञ्जीवनी मा.वि.का) (१०) उमा भण्डारी, कक्षा १०, लक्ष्मीनारायण मा.वि. (सबै काभ्रेपलान्चोक जिल्लाका) । छात्रवृत्ति ४ वटा, पाउनेहरू १९ जना

किरण आचार्य पौडेललाई शिक्षक सम्मान समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा अङ्गुरबाबा जोशी शिक्षक सम्मान’ किरण आचार्य पौडेल (बाँके) मा समर्पण गर्ने भएको छ । उहाँ लामो समयसम्म अध्यापन गरी हाल निवृत्त हुनुभएको छ । आफूले अध्यापन गरेको शिक्षण संस्थाका विद्यार्थीहरूलाई शिक्षण सामग्रीबाट सुसज्जित गराउन, आफ्नो विषयमा गुणस्तरीय शिक्षा दिन, विद्यार्थीहरूको मनोवृत्ति बुझेर त्यसै अनुरूपको शिक्षण शैली अवलम्बन गर्न, पढाइमा कमजोर विद्यार्थीहरूलाई प्रोत्साहन दिई मानसिक रूपमा सबल बनाउन र विद्यार्थीहरूलाई सुसंस्कृति र सभ्यता सिकाउन उहाँले गर्नुभएको योगदानका लागि उहाँलाई सम्मान समर्पण गर्ने निर्णय गरिएको हो । यस सम्मानका लागि शिक्षासेवी तथा कवयित्री निर्मलाकुमारी यगोल श्रेष्ठले कोष व्यवस्थापन गर्नुभएको छ । यो सम्मान आगामी जेठ महिनाको अन्तिम सातामा समर्पण गरिनेछ । सम्मान्य व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई यो सम्मान समर्पण गर्ने निर्णय गरेको हो । सम्मान ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा किरण आचार्य पौडेलप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार व्यक्त गर्दछ ।

चूडाप्रसाद चौलागाईंलाई नन्दिकेश्वर अधिकारी शोध सम्मान समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा नन्दिकेश्वर अधिकारी शोध सम्मान’ लेखक चूडाप्रसाद चौलागाईं (काभ्रेपलान्चोक) मा समर्पण गर्ने भएको छ । नेपालको सामुदायिक विद्यालयका प्रथम प्राचार्यका रूपमा नियुक्त भएका शिक्षासेवी तथा संस्कृत साहित्यका खण्डकाव्यकार नन्दिकेश्वर अधिकारी र उहाँका सन्ततिको योगदानका विषयमा अन्वेषण गर्ने लेखकलाई हरेक वर्ष यो सम्मान समर्पण गर्ने गरिन्छ । आफ्ना पुस्तकहरूमा नन्दिकेश्वर अधिकारीका साहित्यिक सन्तति हरि मञ्जुश्रीको व्यक्तित्व र कृतित्वका विषयमा लेख्नुभएकोमा चूडाप्रसाद चौलागाईंलाई यो सम्मान समर्पण गर्न लागिएको हो । यस सम्मानका लागि कवयित्री तथा लेखिका गीता मञ्जुश्री अधिकारीले कोष व्यवस्थापन गर्नुभएको छ । यो सम्मान आगामी जेठ महिनाको अन्तिम सातामा समर्पण गरिनेछ । सम्मान्य व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई यो सम्मान समर्पण गर्ने निर्णय गरेको हो । सम्मान ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा लेखक चूडाप्रसाद चौलागाईंप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार व्यक्त गर्दछ ।

सुवास तामाङलाई शिक्षा सम्मान समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा होमतोत्र शिक्षा सम्मान’ शिक्षासेवी सुवास तामाङ (भोजपुर) मा समर्पण गर्ने भएको छ । उहाँले आफ्नै गाउँमा विद्यालय बनाउन २०४६ सालदेखि प्रयास गर्नुभएको थियो र आफैँले रकम सङ्कलन गरी १८ वर्षसम्म शिक्षकको तलब बेहोर्नुभएको थियो । विदेशी पर्यटकको साथमा रहेर कमाएको पैसा खर्च गरी उहाँले षडानन्द नगरपालिका क्षेत्रमा पर्ने किमालुङमा आफ्नै खर्चले चन्द्रसूर्य माध्यमिक विद्यालय बनाउनुभएको छ । आफूले पाएको पुर्ख्यौली जग्गा र आफूले कमाएको पैसाले किनेको जग्गासमेत गरी जम्मा ७८ रोपनी जग्गा उहाँले विद्यालयको नाउँमा दान दिनुभएको छ । यस वर्ष उहाँलाई सम्मान गर्न पाएर यो संस्था गौरवान्वित बनेको छ । यस सम्मानका लागि शिक्षासेवी रमेश पौड्यालले कोष व्यवस्थापन गर्नुभएको छ । यो सम्मान आगामी जेठ महिनाको अन्तिम सातामा समर्पण गरिनेछ । सम्मान्य व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई यो सम्मान समर्पण गर्ने निर्णय गरेको हो । सम्मान ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा शिक्षासेवी सुवास तामाङप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार व्यक्त गर्दछ ।

सिर्जना खनाललाई सिर्जना सम्मान समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा कल्याण लम्साल सिर्जना सम्मान’ महाकाव्यकार सिर्जना खनाल (रूपन्देही) मा समर्पण गर्ने भएको छ । उहाँद्वारा लिखित महाकाव्य ‘युगपुरुष’ २०८० साल मङ्सिरमा प्रकाशन गरिएको थियो । संस्कृत वाङ्मयका उद्भट विद्वान् भामहले काव्यिक गुणहरूको चर्चा गर्दा राम्रो काव्यमा ‘श्लेषः प्रसादः समता माधुर्य सुकुमारता, अर्थव्यक्तिरुदारत्वमोजः कान्ति समाधयः’ हुनुपर्छ भनेका छन् । सिर्जना खनालले यी विशेषताहरूबाट महाकाव्यलाई यथासम्भव पूर्णता दिने प्रयास गर्नुभएको छ । चार सय पृष्ठको उक्त महाकाव्यमा आरडी प्रभास चटौतको मन्तव्य रहेको छ । यस सम्मानका लागि कवि कल्याण लम्सालले कोष व्यवस्थापन गर्नुभएको हो । यो सम्मान आगामी जेठ महिनाको अन्तिम सातामा समर्पण गरिनेछ । सम्मान्य व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई यो सम्मान समर्पण गर्ने निर्णय गरेको हो । सम्मान ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा महाकाव्यकार सिर्जना खनालप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार व्यक्त गर्दछ ।

हरि मञ्जुश्री अभिनन्दित

शब्दयात्रा प्रकाशनका संस्थापक तथा अध्यक्ष भाषासेवी हरि मञ्जुश्रीलाई काठमाडौँमा अभिनन्दन गरिएको छ । काभ्रे सेवा समाजले आफ्नो वार्षिकोत्सवको अवसर पारी आयोजना गरेको कार्यक्रममा उहाँलाई अभिनन्दन गरिएको हो । काभ्रेपलान्चोक जिल्लालाई शब्दकर्मको तपस्थल बनाई दशकौँदेखि अनवरत रूपले नेपाली भाषा, साहित्य, संस्कृति र कलाको उन्नयनमा अथक रूपले खट्ने बहुप्रतिभाशाली सर्जकका अलावा एक कुशल साहित्यिक अन्वेषक, सङ्गठक, व्यवस्थापक, प्रकाशक, सम्पादक एवम् संरक्षकको पहिचान बनाउन सफल शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष भई सेवा गरेबापत उहाँलाई अभिनन्दन गरिएको कुरा अभिनन्दनपत्रको बेहोरामा उल्लेख गरिएको छ । उहाँका साथमा गायक दीपक खरेल, महालेखानिरीक्षक हरिप्रसाद मैनाली र राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरलीप्रसाद खरेल पनि सम्मानित हुनुभएको थियो ।

रोशन अधिकारीबाट १२ हजार रुपियाँ आर्थिक सहयोग

0

शब्दसाधक तीर्थमा जग्गादान सम्बन्धी शिला–अभिलेखपत्र राख्ने प्रयोजनका लागि शब्दयात्रा प्रकाशनका आजीवन सदस्य तथा सफ्टवेयर इन्जिनियर रोशन मञ्जुश्री अधिकारीले १२ हजार रुपियाँ आर्थिक सहयोग उपलब्ध गराउनुभएको छ । शब्दयात्रा प्रकाशनको उन्नयनका लागि आफ्नो स्वामित्वको जग्गा संस्थालाई हस्तान्तरण गर्नुभएका समाजसेवी तथा आध्यात्मिक व्यक्तित्व कृष्णमणि कुइकेलको योगदान अरूका लागि प्रेरणा बनोस् तथा समाजसेवा गर्न खोज्नेहरूमा त्याग, समर्पण र निःस्वार्थ भावना विकसित र विस्तारित होस् भन्ने ध्येयले शिला–अभिलेखपत्र निर्माण गर्न उहाँले उक्त रकम सहयोग गर्नुभएको हो । यस सहयोगका लागि शब्दयात्रा प्रकाशन परिवार सफ्टवेयर इन्जिनियर रोशन मञ्जुश्री अधिकारीप्रति हार्दिक आभार प्रकट गर्दछ ।

टेलिभिजन उपहार

0

प्रेरणादायी प्रवाचक तथा नेतृत्व विकास, आत्मिक जागरण र सामाजिक अनुसन्धान सम्बन्धी प्रशिक्षक धीरप्रसाद भण्डारीले शब्दयात्रा प्रकाशनलाई एक थान टेलिभिजन उपहारस्वरूप प्रदान गर्नुभएको छ । शब्दयात्रा प्रकाशनद्वारा निर्मित शब्दसाधक तीर्थमा समुपस्थित भएर उहाँले आज वैशाख १५ गते शनिबार टेलिभिजन हस्तान्तरण गर्नुभएको हो । शब्दयात्रा प्रकाशनका तर्फबाट उक्त टेलिभिजन संस्थापक अध्यक्षका रूपमा हरि मञ्जुश्रीले ग्रहण गर्नुभएको थियो । त्यस बखत संस्थापक सदस्य सकुल थापा र आजीवन सदस्य डा. इन्दुल केसीको पनि उपस्थिति थियो । यो टेलिभिजन शब्दसाधक अतिथिगृहका लागि उपयोग गरिनेछ । टेलिभिजन उपहार दिनुभएकोमा धीरप्रसाद भण्डारीप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार व्यक्त गर्दछ ।