शब्दयात्रा प्रकाशनले गत साउन ८ गते शनिबार काभ्रे जिल्लामा सक्रिय रहेका कलाकारहरूलाई आफ्नो कार्यालयमा आमन्त्रण ग¥यो । आमन्त्रित कलाकारहरूमध्ये मच्छेश्वर सापकोटा, सरस्वती सापकोटा, हरि कर्माचार्य, रामहरि न्यौपाने, शर्मिला श्रेष्ठ, दिनेश लामा, सुरेन्द्रकुमार श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, मन्दिरा केसी, विनोद बन्जारा, रविन्सन श्रेष्ठ, प्रदीप केसी, मदन विष्ट, रामहरि अधिकारी, अनीश बस्नेत, सन्तोष ताम्राकार आदिको उपस्थिति रहेको थियो ।
शब्दयात्रा प्रकाशनका प्रबन्धक शारदाप्रसाद शर्माले कलाकारहरूलाई स्वागत गरिसकेपछि अध्यक्ष हरि मञ्जुश्रीले शब्दयात्रा प्रकाशनसँग भएको स्रोत–साधनलाई उपयोग गरेर आफ्नो कलालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय व्याप्ति दिन र काभ्रे जिल्लाबाट मुलुकलाई ‘शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठान’ नामक अनुसन्धान केन्द्र उपहार दिएर काभ्रेली कलाकारसँग भएको क्षमता नेपालभरि देखाइदिन कलाकार मित्रहरूलाई आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा मच्छेश्वर सापकोटा, हरि कर्माचार्य, रामहरि न्यौपाने, शर्मिला श्रेष्ठ, दिनेश लामा, विनोद बन्जारा र सुरेन्द्रकुमार श्रेष्ठले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
कलाकर्मीहरूबीच भएको विचार–विमर्शपछि आगामी भदौ २५ गते शनिबार कला क्षेत्रको विभिन्न विधामा काभ्रे जिल्लासँग सम्बन्धित कलाकारहरूको वृहत् भेला बनेपामा बोलाउने निर्णय गर्दै त्यसका लागि गायक–सङ्गीतकार हरि कर्माचार्यलाई संयोजक तोकिएको थियो ।
शब्दयात्रामा कलाकार भेला
शब्दयात्राले वृत्तचित्र देखाउने
काभ्रे जिल्लाका अग्रज समाजसेवी तथा राजनीतिकर्मी गणेशदास उलकका विषयमा शब्दयात्रा प्रकाशनको रेडियो कार्यक्रम ‘शब्दसञ्चार’ का सञ्चालक शिव बन्जाराको सम्पादनमा शब्दयात्रा प्रकाशनले प्रकाशन गरेको ‘गणेशदास’ नामक पुस्तकलाई आगामी साउन ५ गते बुधबार सार्वजनिक गरिने भएको छ ।
गणेशदास उलकको ७७ औँ जन्मदिवसको अवसर पारी आयोजना गरिने उक्त कार्यक्रममा गणेशदास उलकलाई सम्मान गरिने र ‘जीवनको भोगाइमा गणेशदास उलक’ नामक वृत्तचित्रको प्रदर्शन पनि गरिने भएको छ ।
तसर्थ आगामी साउन ५ गते बुधबार दिउँसो ३ बजे बनेपा नगरपालिकाको सभाकक्षमा उपस्थित हुन शब्दयात्रा प्रकाशनले आफ्ना सम्पूर्ण मित्रहरूमा अनुरोध गरेको छ ।
श्रद्धाञ्जली अङ्क ११ गते
शब्दयात्रा प्रकाशनका अध्यक्ष ग्रन्थसम्पादक हरि मञ्जुश्रीको सम्पादनमा कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीको वार्षिक प्रकाशनका रूपमा यस वर्ष पनि ‘सेवा नेपाल’ प्रकाशन हुने भएको छ । २०७३ सालको ‘सेवा नेपाल’ लाई ‘डा. स्वामी प्रपन्नाचार्य श्रद्धाञ्जली अङ्क’ बनाइएको छ ।
‘डा. स्वामी प्रपन्नाचार्य श्रद्धाञ्जली अङ्क’ मा भद्रकुमारी घले, प्रा. शिवगोपाल रिसाल, रमा शर्मा, भीमबहादुर अधिकारी, हरि मञ्जुश्री, डा. चिन्तामणि योगी, किरण थापा, नित्यराज पाण्डे, पार्थमणि भट्टराई, शीला पन्त आदिले डा. स्वामी प्रपन्नाचार्यको स्मृति र सम्मानमा लेखेका लेख–संस्मरणहरूसहित अन्य विविध सामग्रीहरू राखिएका छन् ।
आगामी साउन ११ गते मङ्गलबार काठमाडौँमा ‘सेवा नेपाल’ लाई सार्वजनिक गरिने भएको छ ।
शब्दयात्राबाट ‘डा. सुरेशराज शर्मा’ आउने
शब्दयात्रा प्रकाशनले ‘डा. सुरेशराज शर्मा’ नामक लघुकाव्य प्रकाशन गर्ने भएको छ । लघुकाव्य श्रीधर प्याकु¥यालले लेख्नुभएको हो । उक्त काव्यको केही अंश ‘नेपालभूमि साप्ताहिक’ मा धारावाहिक रूपमा दुई वर्षअगाडि प्रकाशित भएको थियो ।
हरि मञ्जुश्रीद्वारा लिखित तथा २०६६ सालमा प्रकाशित ‘शैक्षिक शिरोभूषण डा. सुरेशराज शर्मा’ नामक पुस्तिकालाई आधार बनाएर लेखिएको यो लघुकाव्यको प्रकाशनका लागि लाग्ने खर्च डा. भास्कर हुमागाईं र ‘अक्षरधाम’ (साहित्यिक पत्रिका) का सम्पादक–प्रकाशक रश्मि मञ्जुश्री अधिकारीले शब्दयात्रा प्रकाशनलाई उपलब्ध गराउनुभएको छ ।
उक्त लघुकाव्य आगामी भदौ महिनाको दोस्रो साता बनेपामा आयोजना गरिने कार्यक्रममा सार्वजनिक गर्ने निधो गरिएको छ ।
शब्दयात्रा ‘भक्तिचिन्तन’ प्रकाशन गर्दै
शब्दयात्रा प्रकाशनले ‘भक्तिचिन्तन’ नामक आध्यात्मिक साहित्य प्रकाशन गर्ने भएको छ । यस पुस्तकको सम्पादन ‘नेपालभूमि साप्ताहिक’ का सम्पादक सुमन खड्का र समाजसेवी जयप्रकाश गुरागाईंबाट भइरहेको छ ।
नवराज धितालको ‘भक्तिपुष्प’ र हरि मञ्जुश्रीको ‘अध्यात्म चिन्तन’ पुस्तकका सामग्रीहरूलाई समेटेर तयार पार्दै गरिएको ‘भक्तिचिन्तन’ को प्रकाशनार्थ लाग्ने सम्पूर्ण खर्च भगवान् गौरीशङ्करका उपासक बाबा विश्वनाथले उपलब्ध गराउनुभएको छ ।
शब्दयात्राबाट ‘गणेशदास’
शब्दयात्रा प्रकाशनले काभ्रे जिल्लाका राजनीतिकर्मी तथा समाजसेवी गणेशदास उलकको जीवनी, व्यक्तित्व र योगदान झल्काउने पुस्तक ‘गणेशदास’ प्रकाशन गर्न लागेको छ । शब्दयात्रा प्रकाशनको साप्ताहिक रेडियो कार्यक्रम ‘शब्दसञ्चार’ का सञ्चालक शिव बन्जाराको सम्पादनमा तयार पारिएको उक्त पुस्तकमा गणेशदास उलकका माध्यमबाट काभ्रे जिल्लाको राजनीतिक–सामाजिक आन्दोलनको इतिहासलाई अभिलेखबद्ध गराइएको छ ।
‘गणेशदास’ मा गणेशदास उलकमाथि मोहन दुवाल, पङ्कज चित्रकार आदिले गरेका टिप्पणीहरू पनि समावेश गरिएका छन् । उक्त पुस्तक शब्दयात्रा प्रकाशनको ६६ औँ प्रकाशनपुष्पका रूपमा आगामी साउन महिनाको पहिलो साता बजारमा आउने भएको छ ।
पुस्तकमा नाम लेखाउन आग्रह
काभ्रे गोसाइँस्थानमा बसी समाधिस्थ हुनुभएका रमेश गिरि बाबाका विषयमा शब्दयात्रा प्रकाशनबाट पुस्तक प्रकाशन हुन लागेकाले बाबामा श्रद्धा अर्पण गर्दै उक्त पुस्तकको प्रकाशनार्थ आर्थिक सहयोग गर्न चाहने व्यक्तिहरूले सुमन खड्का (९७५१०६३९७१) वा पदमनाथ ढुङ्गाना (९८४११०७३१०) वा शिवहरि के. सी. (९८४१६५२७४८) सँग सम्पर्क राख्न शब्दयात्रा प्रकाशनले अनुरोध गरेको छ । रु. ५००।– भन्दा बढी आर्थिक सहयोग गर्नेहरूको नाम र रकम पुस्तकमा प्रकाशन गरिने जानकारी पनि गराइएको छ ।
शब्दयात्राबाट ‘फालिकोटको फाली’
शब्दयात्रा प्रकाशनले ‘फालिकोटको फाली’ नामक आत्मकथात्मक कृति प्रकाशन गर्न लागेको छ । यो कृति भोजपुर जिल्लाको फालिकोटमा जन्मेर शिक्षणसेवाबाट निवृत्त भएका ज्ञानेन्द्रराज भट्टराईले लेख्नुभएको हो ।
यस कृतिमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ, जननेता मदन भण्डारी, वामनेता केशरमणि पोखरेल, वामनेता तथा साहित्यकार मोदनाथ प्रश्रित, पूर्वप्रधानसेनापति रुक्माङ्गद कटुवाल, माओवादी नेता राम कार्की, काङ्ग्रेस नेता बलबहादुर के. सी., पूर्वअञ्चलाधीश जियाउल हक, कवि युद्धप्रसाद मिश्र आदिसँग सम्बन्धित अन्तरङ्ग संस्मरणहरू समेटिएको छ ।
शब्दयात्रा प्रकाशनद्वारा पहिलोपटक जीवित समाजसेवीको प्रतिमा स्थापना
समुन्नत धुलिखेलका स्वप्नद्रष्टा तथा कार्यान्वयनका लागि जनपरिचालक बेलप्रसाद श्रेष्ठको ७७ औँ जन्मदिवस गत २०७३ साल असार १७ गते शुक्रबार शब्दयात्रा प्रकाशनबाट सार्वजनिक समारोहको आयोजना गरी मनाइयो ।
धुलिखेलमा अवस्थित होटल हिमालयन होराइजनको सभाकक्षमा विशेष समारोहको आयोजना गरी मनाइएको सो समारोहमा शब्दयात्रा प्रकाशनका सहयात्री संस्थाहरूका रूपमा सुभाष स्मृति प्रतिष्ठान, सामाजिक जागरण मञ्च, पूर्वप्रहरी कर्मचारी परिषद् र प्रसन्न सुस्वास्थ्य परामर्श सेवा केन्द्र रहेका थिए ।
उक्त कार्यक्रममा काभ्रे जिल्लामा पहिलोपटक समाजसेवी व्यक्तिको प्रतिमा जीवित अवस्थामा नै बनाई सम्बन्धित व्यक्ति र परिवारको उपस्थितिमा स्थापना गरेर अनावरण गराइयो । यस्तो कार्यबाट समुदायको हितमा समर्पित रहन सबैलाई प्रेरणा मिल्ने अपेक्षा राखिएको थियो ।
काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति नेपालका शैक्षिक शिरोभूषण डा. सुरेशराज शर्मा समारोहका प्रमुख अतिथि हुनुहुन्थ्यो । शब्दयात्रा प्रकाशनका अध्यक्ष ग्रन्थसम्पादक हरि मञ्जुश्रीले सभापतिका रूपमा कार्यक्रमबारे जानकारी गराइएको उक्त कार्यक्रमको सञ्चालन ‘नेपालभूमि’ (विचारप्रधान राष्ट्रिय साप्ताहिक पत्रिका) का सम्पादक सुमन खड्काले गर्नुभएको थियो । समारोहमा काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजका डिन डा. नरेन्द्रबहादुर राणा, स्कुल अफ इन्जिनियरिङका एसोसिएट डिन डा. रमेशकुमार मास्के र डा. बिमप्रसाद श्रेष्ठ, काभ्रे जिल्ला अदालतका न्यायाधीश लेखनाथ ढकाल, धुलिखेल, पनौती, पाँचखाल र काशीखण्ड नगरपालिकाका कार्यकारी प्रमुखहरू, विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरू, पत्रकारहरू र समाजसेवीहरूको उपस्थिति थियो ।
समारोहमा बेलप्रसाद श्रेष्ठलाई जन्मदिनको उपहारस्वरूप शब्दयात्रा प्रकाशनद्वारा निर्माण गराइएको उहाँकै प्रतिमा सुभाष स्मृति प्रतिष्ठानका अध्यक्ष चन्द्रबहादुर खड्का, सामाजिक जागरण मञ्चका अध्यक्ष ईश्वर शर्मा, पूर्वप्रहरी कर्मचारी परिषद्का अध्यक्ष जगन्नाथ गिरी र प्रसन्न सुस्वास्थ्य परामर्श सेवा केन्द्रका सञ्चालक प्रकाशबहादुर कायस्थले संयुक्त रूपमा समर्पण गर्नुभएको थियो भने उपहारपत्र र तस्बिर प्रमुख अतिथिले प्रदान गर्नुभएको थियो । कवि श्रीधर प्याकु¥यालद्वारा लिखित कवितासमेत वाचन गरिएको उक्त समारोहमा विभिन्न व्यक्ति तथा संस्थाहरूबाट बेलप्रसाद श्रेष्ठमा जन्मदिनको शुभकामना र उपहार प्रदान गरिएको थियो ।
बेलप्रसाद श्रेष्ठको प्रतिमा राख्ने स्थल उपलब्ध गराइदिएकोमा होटल हिमालयन होराइजनका लागि किरण श्रेष्ठलाई आभारपत्र प्रदान गरिएको सो समारोहमा प्रमुख अतिथिबाट बेलप्रसाद श्रेष्ठको प्रतिमा तथा शिलापत्रको अनावरण पनि गरिएको थियो । रामचन्द्र हुमागाईंले प्रमुख अतिथिमा शब्दयात्रा प्रकाशनका तर्फबाट उपहार समर्पण गर्नुभएको थियो । समारोहको व्यवस्थापन सकुल थापा, शारदाप्रसाद शर्मा, कविराज ढकाल र दीपक तिमल्सिनाले गर्नुभएको थियो ।
उक्त कार्यक्रमको विशेषताका रूपमा काभ्रे जिल्लामा पहिलोपटक समाजसेवीको सम्मानस्वरूप प्रतिमा निर्माण गराइएको, जीवित व्यक्तिको प्रतिमा राखिएको, सम्बन्धित व्यक्ति र परिवारको समुपस्थितिमा प्रतिमा र शिलापत्रलाई अनावरण गरिएको तथा प्रतिमा स्थापना गर्न होटलले स्थल उपलब्ध गराइदिएको कुरामा विशेष चर्चा भएको थियो ।
सिफारिस पठाउन आग्रह
शब्दयात्रा प्रकाशनले आगामी भदौ महिनामा सम्मान गर्ने विभिन्न चार विधाका सम्मानहरूका लागि उपयुक्त व्यक्ति वा संस्थाको नाउँ सिफारिस गरी आगामी साउन १५ गतेभित्र पठाउन सबैमा अनुरोध गरेको छ ।
भदौ महिनामा गरिने सम्मानहरू योगेन्द्र खत्रीद्वारा व्यवस्थापित साहित्यिक पत्रिका सम्मान, हरिगोपाल प्रधानद्वारा व्यवस्थापित फोटो पत्रकारिता सम्मान, प्रेमबहादुर खड्काद्वारा व्यवस्थापित आध्यात्मिक पत्रकारिता सम्मान र नेपालभूमि साप्ताहिकद्वारा व्यवस्थापित नेपालभूमि स्तम्भकार सम्मान रहेका छन् ।
ती सम्मानहरूबाट गत वर्ष क्रमशः उन्नयन साहित्यिक पत्रिका, फोटो पत्रकार श्याम चित्रकार, शारदा उपाध्याय र तीर्थ कोइराला सम्मानित भएका थिए ।